निर्मल श्रेष्ठ/ एचकेनेपाल डट कम-
मकाउ, मकाउबासी नेपालीहरूले पहिलोपटक नेपाली खबरपत्रिका प्रकाशन गरेका छन्। ‘गन्तव्य मकाउ’ नामक वार्षिक खबरपत्रिकाको आइतबार हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले विमोचन गरेका हुन्।
लेखन र अध्ययनमा रुचि राख्ने केही युवाहरूका सकृयतामा करीब एक वर्षको तयारीपछि पत्रिकाले मुर्तरुप पाएको हो।
‘गन्तव्य मकाउ’ सम्पादक टोलीका सदस्य तथा मुख्य व्यावस्थापक कास्कीका पूर्ण गुरुङले स्थानीय समाचारबाट टाढिनु परेकाले यस्तो सोच आएको बताएका छन्। ‘इन्टरनेटको सुविधाले विश्व समाचार नजिकबाटै नियाल्ने सुविधा भएपनि मकाउबासी नेपाली आफ्नै समूहभित्रका खबरबाट भने वञ्चित छन’, पत्रिका निकाल्नुको उद्देश्यबारे प्रष्ट्याउदै गुरुङले भने, ‘एक आपसमै चिनिन र यहाँ कार्यरत नेपालीहरूबीच आपसी सदभाव बढाउने सोच पनि हो।’ पत्रिकामा मकाउ इतिहास र वर्तमान झल्काउने लेख लगायत कुनै जमानाका ख्यातिप्राप्त राष्ट्रिय खेलाडीहरू बक्सर चित्रबहादुर गुरुङ र मानबहादुर श्रेष्ठ, सितेरियोका कृष्ण गुरुङ, भलिबल खेलाडी दीपक ताम्राकार र मधुकर थापालगायतले खेल क्षेत्रमा पुर्याएको योगदान समेटिएका छन्।
समारोहमा गैरआवासीय नेपाली संघ हङकङका निवर्तमान अध्यक्ष त्रिलोक गुरुङले पत्रिकाले मकाउबासी नेपालीहरू बीच सूचना तिर्सना मेटन दरिलो पुलको काम गर्न सक्ने भनाई राखे। मकाउबाट नेपाली पत्रिका प्रकाशन हुनुलाई ऐतिहासिक बताउदै नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राईले यसलाई निरन्तरता दिन सबैले सघाउनु पर्ने बताए। पत्रिका तीन वा छ महिनामा एकपटक निकाल्ने सोचिएका भएपनि आर्थिक समस्या र समयाअभावमा कारण अहिलेनै त्यसो गर्न नसकिने सम्पादक मण्डलका गुरुङको भनाई थियो। पहिलोपटक ५ सयप्रति छपाउदा करिब एकलाख रुपैयाँ खर्च भएको समेत उनले जनाए। २० पटाका (करीब दुइसय रुपैयाँ) मुल्य तोकिएको पत्रिका पहिलो दिनमै असीप्रति सकिएकामा भने उनले खुशी व्यक्त गरे। सम्पादक मण्डलमा पूर्णसंगै रामेन्द्रकुमार गुरुङ र वीरबल गुरुङ छन्। पूर्ण कास्की र अन्य दुइ स्याङजाका हुन्। ‘हामी कोही पनि यसक्षेत्रका अनुभवी होइनौ’, पूर्णले भने, ‘सानैदेखिको पत्रपत्रिका पढने बानीले धेरथोर लेख्न पनि सिकिएछ, यसपटक थुप्रै कमजोरी भए अर्कोपटक सुधार गर्दै लानेछौं।’
मकाउबाट पहिलोपटक प्रकाशित खबरपत्रिका ‘गन्तव्य मकाउ’ विमोचन गर्दै हङकङ तथा मकाउका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय(बायाँबाट दोस्रो) लगायत सहभागीहरू। तस्वीरः निर्मल श्रेष्ठ मकाउबाट पहिलोपटक प्रकाशित खबरपत्रिका ‘गन्तव्य मकाउ’ विमोचन पछि सामूहिक तस्बिर खिचाउदै मकाउमा कार्यरत नेपालीहरू। तस्वीरः जगतअम्बु गुरूङ
ध्रुव पौडेल, (रासस) चीन, अषाढ ५-
चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा अपराध गर्नेहरूको सूचीमा नेपाल दोस्रो स्थानमा परेको छ। भिसाअवधि सकिएपछि पनि मुलुक नछोड्ने (ओभरस्टे) र गैरकानुनीरूपमा काम गर्ने विदेशीहरूको सङ्ख्याका आधारमा मकाउका स्थानीय सञ्चारमाध्यममार्फत् उक्त सूची सार्वजनिक गरिएको हो।
सन् २०१० को पहिलो चौमासिक अवधिमा विदेशी नागरिकबाट गरिएकामध्ये ७३ अपराधका घटना मकाउको संयुक्त सुरक्षाबल कार्यालयमा दर्ता गरिएको छ । यसमध्ये १० वटामा नेपालीको संलग्नता भएको जनाइएको छ।
स्थानीय दैनिक पत्रिका “मकाउ डेली टाइम्स”मा प्रकाशित समाचारअनुसार मकाउको अपराधीको सूचीमा भियतनाम सबैभन्दा अगाडि छ । पहिलो चौमासिक अवधिमा दर्ता भएका अपराधका घटनामध्ये ५९ वटामा भियतनामीहरूको संलग्नता रहेको बताइएको छ।
अन्य तीन अपराधमा पाकिस्तानी र एउटामा बंगलादेशीको संलग्नता रहेको उल्लेख छ।
त्यसैगरी सन् २००९को अपराधसूचीमा पनि नेपाल दोस्रो स्थानमा नै परेको थियो । वर्षभरी दर्ता भएका २९५ अपराधका घटनामध्ये २८ वटामा नेपालीको संलग्नता रहेको थियो।
सार्वजनिक सुरक्षाको कारण देखाउँदै मकाउमा बढ्दै गइरहेको गैरकानुनी कामदारको सङ्ख्या, विदेशी नागरिकको ओभरस्टे र लागूपदार्थको कारोवारलाई नियन्त्रण गर्ने उद्देश्यले नेपालसहित छ देशका नागरिकलाई मकाउ प्रवेशमा कडाइ गर्ने चीन सरकारले निर्णय गरिसकेको छ।
आगामी असार १७ गतेदेखि लागू हुने गरी अपराध गर्नेको सूचीमा रहेका नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम र नाइजेरियका नागरिकलाई मकाउ प्रवेशको लागि अनएराइभल भिसाको सुविधा बन्द गरिएको छ भने भिसाशुल्कमा पनि वृद्धि गरिएको छ।
गैरकानुनी कामदार र ओभरस्टे गर्ने विदेशी नागरिकको सङ्ख्या सार्वजनिक गरिए पनि अन्य अपराधीको सङ्ख्याको बारेमा केही जानकारी दिइएको छैन ।समाचारमा सन् २०१०को पहिलो चौमासिक अवधिमा गैरकानुनीरूपमा काम गरिरहेका एक नेपालीलाई प्रहरीले गिरफ्तार गरेको थियो । गत वर्ष पनि एक नेपाली गैरकानुनीरूपमा काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए।
यसै वर्षको जनवरीदेखि अप्रिल महिनासम्ममा भिसाको म्याद सकिएर ओभरस्टे गर्ने ४६ जना नेपाली पक्राउ परेका छन्। अघिल्लो वर्ष यसरी ओभरस्टे गर्ने नेपालीको सङ्ख्या ३०८ थियो।
यसै वर्षको पहिलो चौमासिक अवधिमा करिब २ हजार ४ सय नेपाली मकाउ प्रवेश गरेका थिए भने अघिल्लो वर्षभरी ६ हजार ७ सय नेपाली मकाउ प्रवेश गरेको समाचारमा जनाइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली नागरिकलाई ‘अनएराइभल’ भिसा दिन बन्द गर्ने निर्णय गरेको चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले भीसाशुल्कमा पनि वृद्धि गर्ने निर्णय गरेको छ।
आगामी असार १७ गतेका दिनदेखि लागू हुने गरी नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम र नाइजेरियका नागरिकलाई मकाउ प्रवेशको लागि ‘अनएराइभल’ भिसा दिन बन्द गर्ने चीन सरकारले तीन हप्ताअगाडि निर्णय गरेको थियो।
मकाउ प्रवेशका लागि ती मुलुकका नागरिकहरुले अब कम्तिमा ३० अमेरिकी डलर (करिब रु दुई हजार २००) भिसा शुल्क तिर्नुपर्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै मकाउ डेली टाइम्सले जनाएको छ।
नेपालसहित छ देशका नागरिकहरुले मकाउ जानुअघि उनीहरु बसोबास गरिरहेको देश वा क्षेत्रमा रहेको चिनियाँ कुटनीतिक नियोगबाट अनिवार्यरुपमा भिसा लिनुपर्ने छ।
ती कूटनीतिक नियोगहरुले मकाउको अध्यागमन कार्यालयबाट अन्य जानकारी लिन आवश्यक ठानेमा भिसा आवेदकले थप २० अमेरिकी डलर (रु एक हजार ५००) तिर्नुपर्ने समाचारमा जनाइएको छ।
यसरी आवेदकले भिसा प्राप्त गरेको अवस्थामा पनि मकाउ प्रवेश गर्ने बेलामा भ्रमणका लागि आर्थिकरुपमा सक्षम भएको प्रमाणिक आधार, स्वदेश फर्किने हवाई टिकट, क्रेडिट कार्डलगायतका अन्य जानकारी मकाउ अध्यागमन कार्यालयले माग्न सक्ने जनाइएको छ।
हालसम्म नेपालीहरुलाई एक महिना लामो ‘अनएराइभल’ भिसाको लागि मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारले १०० चिनियाँ युआन (करिब रु एक हजार) वा १०० मकाउ पेक्टा लिदैँ आएको छ।
सार्वजनिक सुरक्षाको कारण देखाउँदै मकाउमा बढ्दै गइरहेको गैरकानुनी कामदारको संख्या, विदेशी नागरिकको ‘ओभरस्टे’ र लागूपदार्थको कारोबारलाई नियन्त्रण गर्ने उद्देश्यले जुलाई महिनाबाट नेपालसहित छ देशका नागरिकलाई मकाउ प्रवेशमा कडाई गर्ने निर्णय तीन हप्ताअगाडि गरिएको थियो।
एस, हङकङ/ एचकेनेपाल डट कम-
मकाउ सरकारले जुलाई १ तारिखदेखि लागु हुने गरी नेपालसहित पाँच एसियाली र एक अफ्रिकी मुलुकका नागरिकलाई आगमन भिसामा प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
चीनको विशेष प्रसाशनिक क्षेत्र मकाउले नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम र नाइजेरियाका नागरिकका लागि भिसा बन्द गर्ने निर्णय गरेपनि कारण भने खुलाइएको छैन।
मकाउमा अवैधरूपमा विदेशी कामदार तथा लागु पदार्थको कारोवार बढ्न थालेपछि भिसा प्रतिबन्ध गर्न थालिएको अनुमान गरिएको छ।
सुरक्षा गार्ड तथा घरेलु सहायकका रूपमा हाल २ हजारको हाराहारीमा नेपालीहरू मकाउमा कार्यरत रहेका छन्। तीमध्ये करीव डेढसय घरेलु सहायकका रूपमा कार्यरत रहेका छन्।
मकाउ सरकारले पछिल्लो पटक अध्यागमन नीतिमा परिवर्तन ल्याउने भएपछि मकाउ भ्रमणका लागि सम्बन्धित देशका चिनीयाँ दूतावासबाट भिसा लिनु पर्ने भएको छ।
दलालहरूको लोभ र प्रलोभनमा परेर अवैध रूपमा मकाउ छिरेका नेपाली लुक्ने आश्रयस्थल बन्दै गएको मकाउमा अब भने उनीहरूका लागि त्यति सहज अवश्य हुने छैन।
मकाउले केही महिनाअघि देखिनै आगमन भिसा रोक्ने संकेत दिएपनि हालै मात्र यो निर्णय सार्वजनिक गरिएको हो। हङकङले भने सन् २००५ देखि नै नेपालीलाई आगमन भिसामा प्रतिबन्ध लगाइ सकेको छ।
एस, मकाउ/ एचकेनेपाल डट कम-
मकाउमा हालै सम्पन्न २८ औं ग्यालेक्सी इन्टर्टियन्टमेन्ट अन्तर्राष्ट्रिय म्याराथन प्रतियोयितामा दुई नेपाली धावकलाई सफलता मिलेको छ।
मिनी म्याराथन महिला समूहको प्रतियोगितामा नेपालकी शान्तिदेवी अधिकारीले पहिलो स्थान र पुरूष ‘सी’ समूहमा बलराम श्रेष्ठले दोश्रो स्थान हासिल गरेका छन्।
मकाउबाट राम कार्कीले एचकेनेपाल डट कमलाई दिएको जानकारी अनुसार अधिकारीले २००७ मा मकाउमा सम्पन्न प्रतियोगितामा पनि पहिलो स्थान हासिल गरेकी थिइन्।
प्रतियोगितामा ८० भन्दा बढी देशका खेलाडीहरू सहभागी थिए।
एस हङकङ/ एचकेनेपाल डट कम-
क्यानाडाको टोरन्टो शहरमा नोवेम्बर १४-१५ सम्म सञ्चालन भएको “२००९ टोरन्टो इन्टरनेशनल ओपेन तेक्वान्दो च्याम्पियनशिप”मा सहभागी भएका नेप्लिज तेक्वान्दो क्लब मकाउका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री धिरेन्द्रकुमार शाहीलाई क्यानाडा तेक्वान्दो महासंघ अन्तर्गत रहेको ओन्टारियो तेक्वान्दो संघले प्रथम श्रेणीको मानार्थ निर्णायकको प्रमाण पत्र प्रदान गरी सम्मान गरेको छ।
शाहीले उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रीको भूमिका निर्बाह गर्नु भएको थियो। त्यसै गरी, उक्त प्रतियोगितामा नेप्लिज तेक्वान्दो क्लबका खेलाडी बाबुलाल गुरुङले पुम्से र स्प्यारिङ्ग बिधामा प्रतिस्पर्धा गर्दै पुम्सेतर्फ स्वर्ण पदक र स्प्यारिङतर्फ रजत पदक प्राप्त गर्न सफल हुनु भएको छ।
शाही र गुरुङलाई प्रतियोगिता आयोजक तेक्वान्दो ग्रान्ड मास्टर योङ सु चोङले प्रमाण पत्र तथा पदक प्रदान गर्नु भएको थियो। प्रतियोगितामा बिभिन्न देशका गरी ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो।
एस, हङकङ/ एचकेनेपाल डट कम-
मकाउमा कार्यरत नेपालका दुई पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक धिरेन्द्रकुमार शाही र बाबुलाल गुरूङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका छन्।
चीनको सुझोउमा सम्पन्न ५४औं अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा सहभागी हुदै विश्व तेक्वान्दो महासंघले लिएको निर्णायकको परीक्षामा उतीर्ण भएपछि शाही र गुरूङले क्योरूगी (स्पायरिङ) विधाको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका हुन्।
शाहीले पूम्से विधातर्फको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता भने यसअघि नै प्राप्त गरिसकेका छन्।
मकाउ क्यासिनोमा कार्यरत शाही र गुरूङलाई सेमिनारमा सहभागी गराउन मकाउ तेक्वान्दो संघले आवश्यक सिफारिस गरेको थियो। शाही मकाउ तेक्वान्दो संघका सदस्य तथा रेफ्री कमिटीका उपाध्यक्ष हुन् भने गुरूङ राष्ट्रिय निर्णायक हुन्।
नेपाल तेक्वान्दो संघद्वारा स्वीकृत प्राप्त नेपालीज तेक्वान्दो क्लव मकाउका संस्थापक एवं मुख्य प्रशिक्षक शाही र प्रशिक्षक गुरूङले हाल मकाउमा कार्यरत नेपालीहरूलाई तेक्वान्दोको प्रशिक्षण दिदै आइरहेका छन्।
एस, हङकङ / एचकेनेपाल डट कम-
मकाउमा हालै सम्पन्न शारिरीक सुगठन प्रतियोगितामा नेपाली खेलाडी भोजबहादुर आले र अनिल थापा मगरले क्रमशः स्वर्ण र कास्य पदक जितेका छन्।
ढिलो गरी प्राप्त जानकारी अनुसार आलेले ७० केजी तौल समूह र मगरले ८० केजी तौल समूहमा स्वर्ण र कास्य पदक प्राप्त गरेका हुन्।
प्रतियोगिता एबीबीएफ, आइबीबी र एमबीएफएको संयुक्त आयोजनामा मकाउको पोलिटेक्निक इन्स्टिच्युटमा जुलाई २७ तारिख सम्पन्न भएको थियो। बडी बिल्डिङ (शारिरीक सुगठन) प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूसहित दुई नेपाली खेलाडी भोजबहादुर आले र अनिल थापा मगर सहभागी थिए।
नेपाली खेलाडी आले र अनिल थापा मगरले आ-आफ्ना तौल समूहमा क्रमशः प्रथम र तृतीय भएका हुन्।
‘स्रोत र साधनले सम्पन्न विदेशी खेलाडीहरूसंग नेपालीले प्रतिस्पर्धा गर्नु कम साहसको कुरा होइन’- आले भन्छन्। ‘आफ्नो ड्युटीको व्यस्तताबीच खेलको कडा अभ्यास गरेर विदेशीलाई जित्न पाउंदा गर्व लागेको छ।’