Archive for June, 2006

लमजुङ्ग सेवा समितिको अधिवेशन सम्पन्न

राई चन्द्र दुमी, एचकेनेपाल डट कम -
गत १८ जुन २००६ आईतबारको दिन लमजुङ्ग सेवा समितिले पाँचौं अधिवेशन सम्पन्न गरेको छ । चोमोलुङ्गमा मल्टी कल्चरल कम्युनिटी सेण्टर युन लोङमा सम्पन्न अधिवेशनको खुल्ला सत्रलाई समितिका अध्यक्ष एकबहादुर गुरुंगले अध्यक्षता गर्नु भएको थियो। त्यसै गरी सचिव प्रकाश गुरुंगले सञ्चालन र कोषाध्यक्ष बिजय गुरुंगले स्वागत भाषण गर्नु भएको थियो।


प्रमुख अतिथि महाबाणिज्यदूत हेमलाल भट्टराई हुनुहुन्थ्यो। नेपाली महासंघ हंगकंग अध्यक्ष हेजेन राई, एन. आर. एन. हंगकंगका अध्यक्ष त्रिलोक गुरुंग, गणेश इजम, फियोना हंगकंगका अध्यक्ष सत्य घले, गोर्खा फोरमका अध्यक्ष भक्त दुराले शुभकामना मन्तव्य दिनु भएको थियो।


कार्यक्रममा कृष्ण गुरुंग र प्रकास गुरुंग निर्माता रहेको ‘हंगकंग बजारमा..’ भन्ने लोक दोहोरी गिती संगालोको सि. डी. पनि बिमोचन भयो। धनबहादुर गुरुंग र दुर्गा गुरुंगको संगीत संयोजन रहेको एल्बममा शर्मिला गुरुंग, हर्षित आले, बिमा कुमारी दुरा र राजु परियारका साथमा स्वयं निर्माताद्वयको स्वर पनि रहेको छ। फोटोः एचकेनेपाल डट कमका लागि जगत अम्बु गुरूंग।

Popularity: 3%

2 comments June 23rd, 2006

एन. आर. एन. हंगकंगको जानकारी सभा

राई चन्द्र दुमी, एचकेनेपाल डट कम -
जर्मनीको बोन शहरमा भर्खरै सम्पन्न गैर आवासीय नेपाली क्षेत्रीय दोश्रो सम्मेलनमा हंगकंगबाट भाग लिई फर्केका प्रतिनिधिहरुले गत १७ जुन २००६ शनिबारको दिन मेरीनार्स क्लवमा एक जानकारी सभा गरी त्यहाँ पारित भएका महत्वपूर्ण निर्णयहरु अवगत गराए।

नेपालमा हालै भएको ऐतिहासिक राजनीतिक परिवर्तनको स्वागत गर्दै देशको सर्बाङ्गिन बिकास, स्थायी शान्ति र संबिधान सभाको सफलताको लागि गैरआवासीय नेपालीहरुबाट आवश्यक सबै प्रकारका सक्दो सहयोग गर्ने निर्णयको साथै विश्वभर छरिएर रहेका १४ लाख नेपालीले समेत मतदान गर्न पाउनु पर्ने, दोहोरो नागरिकताको लागि पहल गरिने जस्ता सम्मेलनले पारित गरेका थुप्रै महत्वपूर्ण निर्णयका बुँदा उपबुँदाहरु अवगत गराईएको थियो।

गत जुन २, ३ र ४ मा जर्मनीमा सम्पन्न दोश्रो गैर आवासीय नेपाली क्षेत्रीय सम्मेलनमा हंगकंगबाट प्रतिनिधिहरु आई. सि. सि. कोषाध्यक्ष प्रकाश पुन, सदस्य गणेश इजम र सदस्य प्रितम श्रेष्ठले भाग लिनु भएको थियो। जर्मनी, नेपाल, अमेरिका, अष्ट्रेलिया, अष्ट्रिया, कतार, क्यानाडा, बेलायत, बेलारुस, बेल्जियम, जापान, दक्षिण कोरिया, पोर्चुगल, फ्रान्स, म्यानमार, नेदरल्याण्ड, साईप्रस, हंगकंग, रुस, संयुक्त अरब इमिरेटेस, लगायत २० देशका करिव १७० जना नेपालीहरु पनि उक्त सम्मेलनमा सहभागी रहेको प्रतिनिधिहरुले जानकारी गराएका थिए।

Popularity: 3%

Add comment June 23rd, 2006

हंगकंगमा बुद्ध जयन्ती

एचकेनेपाल डट कम सम्वाददाता-
भगवान गौतम बुद्धको २५५०औं जन्मजयन्ती हंगकंगमा भव्यताका साथ सम्पन्न भयो। नेपाली बौद्ध समाज हंगकंगको आयोजना र तमु ट्हो हयुल हंगकंग, मगर संघ हंगकंग, एन.आर.एन. हंगकंग, पुन मगर समाज हंगकंग, थकाली समाज हंगकंग, मितेरी सेवा समिति पोखरा हंगकंग, सोंपाल समाज हंगकंग तथा नमो बुद्घ आमा समूह हंगकंगको सहआयोजनामा याउ मा तेइस्थित कम्युनिटी सेन्टरमा र हंगकंग उर्गेन दोर्जे छ्योलिङ्ग बुद्धिष्ट सेन्टरको आयोजनामा युन लोङस्थित टाउन हलमा छुट्टाछुट्टै कार्यक्रम गरी भगवान गौतम बुद्धको जन्म जयन्ती मनाए।


बिहान युन लोङ टाउन हलमा र दिउंसो याउ मा तेइ कम्युनिटी सेन्टरमा सम्पन्न बुद्ध जयन्ती समारोह गत ११ जुन आइतबारको दिन सम्पन्न भएको थियो। युन लोङ टाउन हलमा सम्पन्न बुद्ध जयन्ती समारोह बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा र धर्मगुरुहरु श्री फुग्याल्गे शेर्पा, श्री प्रेम बहादुर गुरूंग, श्री राम बहादुर गुरूंग र श्री भेष बहादुर गुरूंगको उपस्थितिमा पुजाआजा गरी भव्यताका साथ सुसम्पन्न भएको थियो। त्यसैगरी याउ मा तेइ कम्युनिटी सेन्टरको हलमा बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेज्यूको प्रमुख आतिथ्य र बरिष्ठ धर्मगुरु प्रोफेसर डा. श्री किरण तुलाचन खेन्पोज्यूको आतिथ्यमा २५५० औं बुद्ध जयन्ती समारोह भव्यताका साथ सुसम्पन्न भएको थियो।


कार्यक्रमको थालनीमा समाजको निमन्त्रणालाई सहर्षस्वीकार गरी सिंगापुरबाट पाल्नु भएका बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेज्यू तथा ताईवानबाट पाल्नु भएका बरिष्ठ धर्मगुरु प्रोफेसर डा. श्री किरण तुलाचन खेन्पोज्यू र धर्मगुरु श्री फुग्याल्गे शेर्पा तथा अन्य लामागुरुहरुद्वारा बुद्धको पुजाआजा गरी धार्मिक कार्यक्रमको सुरुवात गरिएको थियो।


प्रमुख अतिथि बरिष्ठ धर्मगुरुद्वारा शान्तिप्रेमी श्रद्धालु भक्तजनहरुलाई बुद्घ धर्ममा वाङ्गको महत्व विषयमा प्रवचन दिनु भएको थियो। श्रद्धालु भक्तजनहरुले धुपबत्ती बालेर प्रमुख धर्मगुरुबाट वाङ्ग ग्रहण गरेका थिए । सबैका लागि समाजले खादा, प्रसाद (छो) तथा खानपिनको व्यवस्था पनि गरेको थियो।

हंगकंगकस्थित कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको समारोहमा आयोजक तथा सहआयोजक संस्थाका पदाधिकारीहरुका साथै श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन समाजका उपाध्यक्ष अर्जुन गुरूंग र सचिव विश्वजङ्ग गुरूंगले गर्नुभएको थियो।

थप फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्। एचकेनेपाल डट कमको लागि सबै फोटोहरु जगत अम्बु गुरुंग।

Popularity: 3%

6 comments June 20th, 2006

सहयोग चाहिइएमा भन्नुस् है

एचकेनेपाल डट कम सम्वाददाता -
तपाईहरुलाई सहयोग चाहिइएमा अब हंगकंगका बलिष्ठ नेपाली युवाहरुले सहयोग गर्न तयार भएका छन्। उनीहरुले आफ्नो समय अनुकूल हुने गरी स्वयंसेवकको रुपमा विभिन्न संघसंस्थालाई सहयोग गर्न सकिने बताएका छन्।

हंगकंग नेपाल बडीबिल्डर एसोसिएसनद्वारा आयोजित एक कार्यक्रममा बोल्नुहुदै एसोसिएसनका अध्यक्ष रोशन लिम्बुले उक्त जानकारी सार्वजनिक गर्नु भएको हो।

शारिरीक सुगठनप्रति रुची राख्ने युवकहरुको संस्था हंगकंग नेपाल बडीबिल्डर एसोसिएसनले गत ११ जुनमा आरजे रेष्टुरेण्टमा भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा हेमन्तकृष्ण लिम्बुले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा एसोसियसनका सदस्यहरुका साथै आमण्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो। फोटोः एचकेनेपाल डट कमको लागि जगत अम्बु गुरुङ, राजिव राई, डिल्ली एभेङ लिम्बु ।




थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Popularity: 3%

8 comments June 16th, 2006

एनआरएन हंगकंगद्वारा जनआन्दोलनका घाईतेहरुलाई सहयोग

एचकेनेपाल डट कम हंगकंग सम्वाददाता-
एनआरएन हंगकंगले जन आन्दोलनका क्रममा घाईते भएकाहरुका उपचार लागि जुटाएको सहयोग रकम ४३ हजार ७ सय ३ हंगकंग डलर एक अनौपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ।


अध्यक्ष यमकुमार गुरुङ र कोषाध्यक्ष बिद्या राईले उक्त सहयोग रकम गत मे ३० तारिख मंगलबार ICC Co-opted Member गणेज इमजलाई हस्तान्तरण गर्नु भएको हो।

हंगकंग र मकाउमा कार्यरत नेपालीहरुद्वारा संकलन गरिएको उक्त रकम जन भावना अनुरुप देशमा दिगो शान्ति र मौलिक हक अधिकारको निम्ति जीवन बलिदान दिने वीर शहीदका परिवार र घाइतेहरुको पुनर्स्थापनाको निम्ति उक्त रकम बिनियोजन गरिने एनआरएन राष्ट्रिय संयोजक इ. विजयकुमार गुरुङले बताउनु भएकोछ।

आर्थिक सहयोग संकलनमा प्रत्यक्ष वा अप्रत्यक्षरुपले सहयोग गर्ने हंगकंग र मकाउका नेपालीहरुलाई अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गर्नुभएकोछ।

Popularity: 2%

1 comment June 3rd, 2006

ड्रिम्स अनलिमिटेडद्वारा सहयोगीहरुलाई धन्यवाद

एचकेनेपाल डट कम हंगकंग सम्वाददाता -
ट्यालेन्ट हण्ट प्रतियोगिताका आयोजक संस्था ड्रिम्स अनलिमिटेडले सो कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रायोजक, निर्णायक मण्डल, सहयोगी तथा प्रतियोगीहरुलाई जोर्डनस्थित कङगन रेष्टुरेण्टमा गत मे २८ मा एक थ्यान्क्स गिभिङ पार्टीको आयोजना गरेर धन्यवाद ज्ञापन गर्‍यो।


सिमित व्यक्तिहरुलाई आमन्त्रण गरिएको कार्यक्रममा ट्यालेन्ट हण्ट प्रतियोगिता सम्पन्न गराउन सहयोग पुर्‍याउने विभिन्न क्षेत्रका महानुभावलाई धन्यवाद स्वरुप प्रमाण पत्र प्रदान गरेका थिए।





ड्रिम्स अनलिमिटेडले यसै बर्षदेखि आरम्भ गरिएको युवा बर्ष पुरस्कार प्रदान गरेर अमोद राईलाई सम्मान गरिएको थियो।

शुरुदेखि नै ट्यालेन्ट हण्ट प्रतियोगिताका लागि आवश्यक प्रचार प्रसार गरिदिए वापत सहयोगीका रुपमा स्थानीय मिडिया एभरेष्ट साप्ताहिक र एचकेनेपाल डट कमलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सुनकोशी गोर्खा सेक्युरिटी लिमिटेडका प्रवन्धक तेजबहादुर राई, लिटल बड्स किन्डरगार्टनका संस्थापक तथा प्रबन्धक धन थापा, विद्या राई, सुधिर गुरुङ, भक्त गुरुङ लगायतको उपस्थिति रहेको थियो भने आयोजक संस्थाका तर्फबाट लक्ष्मी थापा राई, ममिता गुरुङ र तारा सुब्बा रहनुभएको थियो।

फोटोः राजिव राई एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 3%

20 comments June 3rd, 2006


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2006
M T W T F S S
« May   Jul »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category