एचकेनेपाल डट कम जनवरी २८ -
गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङको आयोजनामा आइतबार जोर्डनस्थित किङ जर्ज बास्केटबल ग्राउण्डमा प्रथम एनआर एन बास्केटबल टुर्नामेन्ट सम्पन्न भयो।
दुई महिला र आठ पुरूषटिम गरी दश टिम सहभागी रहेको उक्त प्रतियोगितामा युन लोङ वरियार्स ए प्रथम, पुन क्लव द्धितीय र बुलेट नाइट तृतीय भएका थिए। प्रतियोगितामा पुन क्लवका खेलाडी तिलबहादुर पुन बेस्ट प्लेयर र बुलेट नाइटका खेलाडी रन्जीत गुरूङ हाइएस्ट स्कोरर घोषित भएका थिए।
हङकङस्थित कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई प्रमुख अतिथि रहनुभएको उक्त प्रतियोगितामा दुई महिला बास्केटबल टिमले पहिलो पटक उपस्थिति जनाएका थिए। प्रमुख अतिथि भट्टराई, एनआरएनका अध्यक्ष यामकुमार (त्रिलोक) गुरूङ, एनआरएनका पूर्व अध्यक्ष कृष्ण पाण्डे, उपाध्यक्ष सुमलकुमार गुरूङ, एनआरएन आइसिसी कोषाध्यक्ष प्रकाश पुन र एनआरएन आइसिसी सदस्य प्रितम श्रेष्ठले विजेता खेलाडी तथा टिमलाइ शिल्ड, नगद पुरस्कार र प्रमाण पत्र वितरण गर्नु भएको थियो।
कार्यक्रममा स्थानीय महिला कलाकारहरू सुमित्रा गुरूङ र लक्ष्मी गुरूङले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए। मानबहादुर थापा, श्याम गुरूङ र दुर्गा गुरूङको संयोजन रहेको प्रतियोगितामा सुमलकुमार गुरूङ र विजयकुमार गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचकेनेपाल डट कम जनवरी २३ -
हङकङस्थित साउदर्न डेमोक्रर्याटिक एलाइन्सका सभापति जेम्स लुङ वाईले आफ्ना दलको लागि धरमकुमार गुरुङलाई जन सम्पर्क कार्यकारिणीमा नियुक्त गरेको छ।
एचकेनेपाल डट कमद्वारा सञ्चालित सार्वजानिक मञ्च (कुराकानी फोरम) मा सभापति जेम्स लुङ वाईले प्रेषित गरेको जानकारी अनुसार हिजो गुरुङलाई त्यस दलको लागि जन सम्पर्क कार्यकारिणीमा नियुक्त गरेको जनाएको छ।
गुरुङ त्यस पदको लागि उपयुक्त र योग्य रहेको बताउंदै उनले हङकङमा रहेका गुरुङ समुदायको एकीकरणमा समेत सहयोगी भूमिका खेल्न सकिने आशा लिएको जनाएको छ।
एसडीएका संस्थापक सदस्य तथा कार्यकारिणी अधिकृत टिकाराम लिम्बुले धरमकुमार गुरुङको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको छ।
एचकेनेपाल डट कम, जनवरी २१ -
हङकङका नेपालीहरूले विभिन्न कार्यक्रमसहित आइतबार मंकी हिलमा माघे संक्रान्ति चाड मनाएका छन्। भोजपुर समाज सेवा समिति, मगर संघ हङकङ र किरात राई चाम्लिङले एकै मिति र स्थानमा छुट्टाछुट्टै माघे संक्रान्ति मनाए।
माघे संक्रान्तिको अवसरमा प्रस्तुत गरिएका साँस्कृतिक कार्यक्रमका भिडीयो झलकहरू हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।
माघे संक्रान्तिको औपचारिक कार्यक्रमहरूमा का.वा. महावाणिज्यदूत हेमलाल भट्टराई, नरहाङ राई, हरिप्रसाद राई, हुमबहादुर थापा मगर भिन्नभिन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसै गरी अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमहरूमा आ-आफ्ना तरिकाले माघे संक्रान्ति धुमधामले मनाएका थिए।
भोजपुर समाज सेवा समितिको कार्यक्रममा बसन्त निरौलाको अध्यक्षता, झण्ड राईको सञ्चालन, खड्ग राईको स्वागत मन्तव्य, किरात राई चाम्लिङको कार्यक्रममा पदमबहादुर राईको अध्यक्षता, झलमराज राईको सञ्चालन, बलराज राईको स्वागत मन्तव्य र मगर संघ हङकङको कार्यक्रममा नेत्रबहादुर पहराई मगरको अध्यक्षता, थलबहादुर श्रीस मगरको सञ्चालन र फिरोज रानामगरको स्वागत मन्तव्य रहेको थियो।
कार्यक्रममा परम्परागत खानाको परिकार, बिबिक्यु पार्टी तथा विविध साँस्कृतिक कार्यक्रमहरू भएको थियो।
फेन्टाको मजाः बाँदर रमाउने जंगलमा मान्छेले पिकनिक र बिबिक्यु पार्टी मनाउंन थालेपछि त्यहाँका बाँदरलाई फ्याँकिएका पेयपदार्थ र खाना खाने बानी बढ्दै गएको छ। तस्वीरः जगत अम्बु गुरूङ / थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचकेनेपाल डट कम, जनवरी १४ -
१४ जनवरी आइतबारका दिन काउलुन पार्कस्थित पियजा मञ्चमा नेपाली बृहत साँस्कृतिक झलक सम्पन्न भयो।
स्वागत मन्तव्य दिनुहुंदै गृह मामिला विभागका सचिव डा. पेट्रिक हो।
“कल्चर इन मोशन-नेपाल ” शीर्षक दिइएको उक्त साँस्कृतिक कार्यक्रम होम अफयेर्स ब्युरो, हङकङ नेपाली महासंघ र नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रमको मूख्य प्रायोजकको रूपमा होम अफयेर्स ब्युरो (गृह मामिला विभाग) रहेको थियो। नेपालबाट आएका अतिथि कलाकार नरेन्द्र आले मयुर नृत्य प्रस्तुत गर्दै।
करिव ८० हजार हङकङ डलर खर्च गरी आयोजना गरिएको उक्त कार्यक्रममा हङकङका स्थानीय नेपाली कलाकारहरुद्वारा नेपाली संस्कृति झल्किने लोक नृत्य, लोक गीत तथा आधुनिक गीतहरु प्रस्तुत गरिएका थिए। नेपालबाट आएका अतिथि कलाकारहरू नरेन्द्र आले, भूवनदास श्रेष्ठ, सावित्री के.सी. र अमिशा बस्नेतले मयुर नृत्य, लाखे, झ्याउरेलयागत नेवारी संस्कृति झल्किने आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए। साँस्कृतिक कार्यक्रमको सञ्चालन देवराज राई र सानु थापाले गरेका थिए।
चिनियाँ गीत प्रस्तुत गर्दै ६५ बर्षीय जेष्ठ गायक बीरबहादुर थापा मगर (सेतो गलबन्दीमा)। साथमा बायाँबाट वरिष्ठ संगीतकार दिनेश सुब्बा, विजय गुरूङ र धन थापा।
साँस्कृतिक झलकमा हिमालयन टोन्स म्युजिक एकाडमी, हङकङ पोइनसेटिया प्राइमरी स्कूल, मगर संघ हङकङ, लाङ्घाली कल्याण संघ, किरात राई हङकङ, किरात याक्थुम चुम्लुङ हङकङ, फियोना हङकङ, तमु एसोसियसन, तामाङ घेदुङ हङकङ, मोना हङकङ र नेवार समाज हङकङका कलाकारहरूबाट गीत, नृत्य तथा झाँकीहरू प्रस्तुत गरेका थिए। त्यसै गरी बीरबहादुर थापा मगर, सुनिता हिराचन, अन्तिम राई, देव गुरूङ, कमल राई, बिमला राई र एलबी मुखियाले आधुनिक तथा लोक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपथ्यका चर्चित गायक रबिन श्रेष्ठले समेत लोकप्रिय गीत छेक्यो छेक्यो देउराली डाँडा गाएका थिए। गुरूङ नृत्य प्रस्तुत गर्दै स्थानीय गुरूङ कलाकारहरू।
गृह मामिला विभागका सचिव डा. पेट्रिक होद्वारा पानसमा बत्ती बाली शुरू भएको औपचारिक कार्यक्रममा डा. पेट्रिक हो, कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई र हङकङ नेपाल महासंघका अध्यक्ष हेजेन राईले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो।
वरिष्ठ संगीतकार दिनेश सुब्बाको शव्द रचना र संगीतमा तयार गरिएको राष्ट्रिय गीत ‘नेपाल हङकङ प्यारो जननी…’ बाट आरम्भ भएको साँस्कृतिक कार्यक्रम अपरान्ह साढे २ बजे सुरु भै बेलुकी करिव ६ बजे अन्त्य भएको थियो। फोटोः जगत अम्बु गुरूङ र राजीव राई / एचकेनेपाल डट कम। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
जगत अम्बु गुरुङ सम्वाददाता एचकेनेपाल डट कम, जनवरी ११ -
हङकङस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयका दुई कर्मचारीको पदमा हेरफेर भएको छ। प्राप्त जानकारी अनुसार यसरी हेरफेर हुनेमा दुई सहचारिका छन्।
दुतावासको कार्यालयमा कार्यरत रुस कार्कीको ठाउंमा उत्तमप्रसाद न्यौपाने र शिवलाल श्रेष्ठको ठाउंमा लेखनाथ गौतम आउने भएका छन्। स्रोतका अनुसार चितवनका न्यौपाने यसअघि नेपाल परराष्ट्र मन्त्रालयमा कार्यरत थिए भने मोरङका गौतम यसअघि अमेरिकाको वासिङ्टन डीसीस्थित दूतावासको कार्यालयमा कार्यरत थिए।
दुबै जनाले निकट भविष्यमै आफ्ना कार्यभार सम्हाल्ने भएको छ।
नेपाल हङकङ प्यारो जननी - संगीतकार दिनेश सुब्बा
एचकेनेपाल डट कम, जनवरी १० -
जन्मभूमि जननी, कर्मभूमि जननी
नेपाल हङकङ प्यारो जननी
श्रद्धा छ दुबैलाई हे जननी…
वरिष्ठ संगीतकार दिनेश सुब्बाले यो राष्ट्रिय गीतलाई करिव दुई बर्षअघि तयार पारेका हुन्। उपयुक्त मौका र स्थानको अभावमा यो गीतले सार्वजनिक हुने अवसर पाएको थिएन। तर आगामी १४ तारिख जनवरी काउलुन पार्कस्थित पियजामा यो राष्ट्रिय गीतलाई सार्वजनिक गरिने भएको छ।
यहाँका कतिपय नेपालीको निम्ति ‘हङकङ कर्मभूमिमात्र होइन जन्मभूमि पनि हो’, संगीतकार दिनेश सुब्बा भन्छन्। यसैको आधारमा रचित एक सिर्जना हो नेपाल हङकङ प्यारो जननी। यो राष्ट्रिय गीत सम्भवतः हङकङप्रति श्रद्धा र स्नेहसहित रचना गरिएको नेपाली गायक तथा संगीतकारको पहिलो राष्ट्रिय गीत हो।
जन्मभूमि जननी, कर्मभूमि जननी
नेपाल हङकङ प्यारो जननी
श्रद्धा छ दुबैलाई हे जननी…
हिमालकी रानी नेपाल कहीं दूरमा छ
मायाको एउटै निशानी मेरो शिरमा छ
नेपाली रगत लिई यो भूमिमा जन्मे
जहाँ जहाँ जन्मे पनि नेपाली भै जन्मे
जन्म दिने भूमि हाम्रो जन्म जननी हो
कर्म दिने भूमि पनि प्यारो जननी हो
श्रद्धा छ दुबैलाई हे जननी…
बाजेले लडेको लडाईं उसको मुखैमा छ
बाबाले छेकेको सीमाना मेरो आँखामा छ
नेपाली पौरखलाई यो भूमिमा सिंचे
मन बचन र भावनाले यहाँ साईनो गाँसे
परदेशमा बस्ती बस्नु हाम्रो गौरव हो
पूर्खाको बीरतालाई पुज्नु हाम्रो धर्म हो
श्रद्धा छ दुबैलाई हे जननी…
…………………………………………………………………………. संगीतकार सुब्बा संगीतका गुरु बने
एचकेनेपाल डट कम, १ जुलाई २००६-
वरिष्ठ संगीतकार दिनेश सुब्बा संगीतका गुरु बनेका छन्। केही समय यता यहांका नेपाली गीत संगीतका पारखीहरुलाई संगीत प्रशिक्षण दिनु उनको दैनिकी बन्दै गएको छ।
उनका संगीत प्रशिक्षणमा झण्डै ३ दर्जनभन्दा बढी बिद्यार्थीहरु सहभागी छन्। संगीत सिक्न मन लागे पनि नेपाली भाषामा र नेपालीद्वारा दिइने संगीत प्रशिक्षण कक्षा नभएर चुकचुकाएका संगीत प्रेमीहरुले यति बेला सुब्बालाई संगीतका गुरुको रुपमा पाउंदा उनीहरु उत्साहित बनेकाछन्।
उनीहरुले आफ्ना व्यस्त समयबाट बचेको समयलाई संगीत साधनामा लगानी गर्न तल्लिन छन्। परदेशमा रहेर पनि आफ्नै भाषामा गीत संगीतको अध्ययनप्रति बढेको रुचिले यहांको नेपाली संगीतको भबिष्य उज्वल देखिएको छ।
नेपाल र हंगकंगमा आफ्ना कर्णप्रिय स्वरले प्रसिद्धी कमाएका गायक ज्ञान सुब्बा र गायिका सरला गुरुंगले पनि सुब्बाबाट शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेको सहयोगी धन थापा बताउंछन्। त्यसैगरी स्थानीयरुपमा ख्याति कमाएका गायक कमल राईले पनि संगीत प्रशिक्षण लिई रहेका छन्।
हिमालयन टोन्स नाम दिइएको उक्त संगीतालयले गत १ जुलाई शनिबार साँझ आफ्ना प्रशिक्षणार्थीबीच चिम सा चुइस्थित एशिया क्लवमा एक भेटघाट कार्यक्रमको आयोजना गरेका थिए। कुमार सुब्बा लिङदेनले सञ्चालन गरेको त्यस कार्यक्रममा एचकेनेपाल डट कमका प्रतिनिधिहरुको उपस्थिति देखेर बोल्नै पर्ने भएर बोलेको भन्दै संगीतकार सुब्बाले आफ्ना छोटो र सरल मन्तव्य व्यक्त गरेका थिए।
धरानमा छंदा लामो समयसम्म संगीतकार सुब्बाको सांगीतिक साथमा रम्ने अवसर पाएका लिटल बड्स किण्डरगार्टनका प्रवन्ध निर्देशक धन थापाले हिमालयन टोन्स र प्रशिक्षार्थीहरुको बारेमा मन्तव्य प्रकट गरेका थिए।
त्यस कार्यक्रममा संगीतकार सुब्बाद्वारा प्रशिक्षित संगीतका लगभग सबै बिद्यार्थीहरुले गीत गाएर एक अर्कालाई सुनाएका थिए। उनीहरुलाई वाद्यवादनतर्फ कि बोर्डमा संगीतकार दिनेश सुब्बा, बेस गिटारमा धन थापा, तवलामा हरि श्रेष्ठ, रिदम गिटारमा निसाद सुब्बा र ड्रममा सुनिल थापाले साथ दिएका थिए।
फोटोः एचकेनेपाल डट कमका लागि जगत अम्बु गुरूंग । थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचकेनेपाल डट कम, जनवरी ७ -
फियोना हङकङको आयोजना तथा होमअफेयर्स व्यूरो इक्वयल अपरचुनिटी (रेश) फन्डीङ स्किमको प्रायोजनमा जातिय भेदभाव सम्वन्धि एक कार्यशाला गोष्ठी आइतवार जोर्डनको नाँचघरमा सम्पन्न भयो।
एचके सिटीयुका कुन क्वान, एएमसिबीका एमन र फियोना अध्यक्ष सत्य घले वक्ता रहनु भएको सो कार्यक्रमको सञ्चालन फियोना सचिव कर्ण गुरुङले गर्नु भएको थियो। नेपाली निर्माण क्षेत्रमा भएका समस्या र भेदभावका सम्बन्धमा सत्य घलेले, घरेलु कामदारको समस्याका बारेमा एमन र हङकङको निर्माण क्षेत्रका समस्या साथै लेवरडिर्पाटमेन्टका सम्बन्धमा हङकङ कन्सट्रक्सन यूनियनका सचिव कुन क्वानले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। प्रस्तुत कार्यपत्रमाथि घरेलु कामदार समूह र निर्माण क्षेत्रमा काम गर्नेहरुको छुट्टाछुट्टै समूह बनाई छलफल चलाएको थियो।
छलफलबाट निकालिएका निश्कर्षहरुलाई कार्यक्रममा हङकङ नेपाली महासंघका सचिव इन्द्र थापा र नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष श्याम माया लामाले बूदाँगत रुपमा प्रस्तुत गर्नु भएको थियो। यस कार्यशाला गोष्ठीमा सहभागीहरुबाट प्रस्तुत जातिया भेदभाव सम्वन्धि समस्याका निश्कर्षहरुलाई समाधानका निमित्त सम्वन्धित निकायमा पुर्याउन फियोनाका अध्यक्षले प्रतिवद्धता जाहेर गर्नु भयो।
गोष्ठीमा आगामी संसदको अधिवेशनमा प्रस्तुत गरिन लागिएको जातिय भेदभाव सम्वन्धि विद्येयकका सम्बन्धमा पनि छलफल चलाइएको थियो । छलफलका क्रममा भाषालाई जातिय भेदभावको विषयमा समावेश नगरिएकोमा असन्तुष्ट व्यक्त गरेका थिए। साथै सो विद्येयकमा आवाश्यक भन्दा ज्यादा अपवादहरु राखिएकोमा पनि यसलाई गहन अध्ययन गरी अपवादहरुलाई सही ठाउँमा मात्र प्रयोग गर्न सुझाव दिएको थियो। गोष्ठीलाई रोचक बनाउन बीचबीचमा फियोनाका कलाकारद्धय लक्ष्मी गुरुङ र राजु लामाले नृत्य प्रस्तुत गर्नु भएको थियो। झण्डै पचास जनाको उपस्थिति रहेको सो गोष्ठी दिनको एक वजे सुरु भई छ बजे अन्त भएको थियो। फोटोः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
हङकङमा ल्होछार
एचकेनेपाल डट कम, जनवरी ४ -
हङकङमा रहेका गुरुङहरुले आफ्नो महान चाड ल्होछार (नयाँ बर्ष) भव्यताका साथ मनाएका छन्। गुरुङको परम्परागत पात्रो अनुसार पुस १५ देखि नयाँ बर्ष सुरु हुन्छ। यो बर्ष फो ल्हो (मृग बर्ग) हो।
विदेशमा आफ्ना संस्कृति, भाषा, भेष र परम्परालाई निरन्तरता दिन यहाँका गुरुङले ल्होछार मनाइएका हुन्। तमु ट्हृयो हृयुल हङकङले ३१ डिसेम्बर मंकी हिलमा र तमु प्ये ल्हृलु - संघ हङकङले १ जनवरी ताई मोशन कन्ट्रीमा विभिन्न कार्यक्रमहरुसहित ल्होछार मनाए।
तमु ट्हृयो हृयुल हङकङको ल्होछारको चित्रमय झलकहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
तमु प्ये ल्हृलु - संघ हङकङको ल्होछारको चित्रमय झलकहरु हेर्न यहाँ क्लिक गर्नुहोस्। फोटोः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।
तमु प्ये ल्हृलु - संघ हङकङको ल्होछारको भिडीयो झलक हेर्न माथिको प्ले बटनमा क्लिक गर्नुहोस्।
कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहेको तमु ट्हृयो हृयुल हङकङको कार्यक्रममा अन्य संघसंस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित रहेका थिए। क्या. कमल गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सचिव सुरेश गुरूङले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष भक्त गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ठेलो, नृत्य तथा भेषभूषा प्रतियोगिता समेत भएको थियो।
त्यसै गरी हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईको प्रमुख आतिथ्य रहेको तमु प्ये ल्ह्यु संघको कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राजु गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मनबहादुर तमु र स्वागत मन्तव्य खगेन्द्र पच्युँ तमुले दिनु भएको थियो।
कार्यक्रममा बिबिक्यु पार्टी, नाँचगान र ट्होटेंका झलकहरू प्रस्तुत गरिएका थिए।
……………………………………………………………………………….. हङकङका तमुहरुद्वारा छुट्टाछुट्टै ल्होसार ??
देव गुरुङ / एचकेनेपाल डट कम, डिसेम्बर ८-
हङकङका तमुहरुले आफ्नो महान चाडको रुपमा मनाइदै आएको नयाँ बर्ष (ल्होछार) यो बर्ष पनि छुट्टाछुट्टै स्थान र मितिमा मनाउने भएको छ।
प्राप्त समाचार अनुसार तमु ट्हो हृयुल हङकङले डिसेम्बर ३१ तारिख आइतबार मङ्की हिलमा ल्होछार मनाउने भएको छ भने तमु प्ये - हृलु संघ हङकङले जनवरी १ तारिख सोमबार ताइ मो शानमा ल्होछार मनाउंने कार्यक्रम राखेको छ।
सबै तमु (गुरुङ) हरुले एकै थलोमा भेला भै ल्होछार मनाउने प्रयास भै रहे पनि सफल हुन नसकेको जानकारी प्राप्त भएको छ। यसले तमुहरुबीच एकता हुन नसकेको आभाष दिलाएको छ। परदेशको भूमिमा एक भै आफ्ना संस्कृति र परम्परालाई अगाडि बढाउंन सकिएमा राम्रो हुन सक्ने महुशुस गरिए पनि त्यस्तो हुन सकेको छैन।
तमु जातिकै सबै भन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा रहेको ल्होछार यहाँका सम्पूर्ण तमु बन्धुहरुको हित र एकता स्वरुप एकै दिन र एउटै स्थानमा भेला भएर हर्षोल्लासका साथ मनाऔं भन्ने अभिप्रायले तमु प्ये - हृयुल संघसंग वार्ताको लागि तमु ट्हो हृयुलले एउटा समन्वय कमिटी गठन गरिएको थियो। शुरुमा तमु ट्हो हृयुले तमु प्ये ल्हुसंग विनम्र आहृवान गरिए पनि सकरात्मक जवाफ आउन सकेको छैन। सहमतिको लागि समय अझै रहेकोले वार्ताको लागि पहल जारी भै रहेको जनाएको छ।
हङकङमा रहेका अधिकांश तमुहरु भने एकै स्थान र एउटै मितिमा एकै साथ भेला भएर ल्होछार मनाउंन उत्सुक छन्।
बुढा सुब्बा गोल्ड कप जेपीसीलाई
एचकेनेपाल डट कम -
क्रिसमस र नयाँ बर्षको उपलक्ष्यमा काउलुन पार्कस्थित फुटबल मैदानमा सम्पन्न दोश्रो बुढा सुब्बा गोल्ड कप टुर्नामेन्टमा जुनियर पुलिस फुटबल क्लव (जेपीसी) विजयी भएको छ।
हङकङका स्थानीय १६ टिमले सहभागिता जनाएको बुढा सुब्बा गोल्ड कप टुर्नामेन्टमा जेपीसी फुटबल क्लब विजयी भएको छ भने युनाइटेड नेप्लीज आइल्याण्डर सहविजेता भएका छन्। विजेता टिमलाई याउ चिम मोङ डिस्ट्रीक काउन्सीलर चाउ सिउ तोङ र क्लवका अध्यक्ष बलराम राई सरगेसले नगद पुरस्कार, ट्रफी तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो।
डिसेम्बर २४ देखि २६ सम्म तीन दिन सञ्चालन भएको उक्त प्रतियोगिता सन्त राईको संयोजनमा नेप्लीज युथ अर्गानाइजेशनले आयोजना गरेको थियो।
फोटोः जगत अम्बु गुरुङ र डिल्ली एभेन लिम्बु / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
……………………………………………………………………………………………………. हंगकंग बुढा सुब्बा गोल्ड कप हेई हेई फुटबल क्लवलाई
एचकेनेपाल डट कम -
अक्टोबर ११ र १२ तारिख काउलुन पार्कमा सम्पन्न हंगकंग बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिताका हेई हेई फुटबल क्लव विजयी भएको छ।
प्रतियोगितामा हेई हेई फुटबल क्लवले हिमालयन फुटबल क्लवलाई ट्राई ब्रेकरमा १ गोलका विरुद्ध २ गोलले पराजित गरी हंगकंग बुढा सुब्बा गोल्डकप हात पारेका थिए।
प्रतियोगितामा विजेता टिमका हिमाल घलेलाई म्यान अफ द म्याच र न्यु डायमण्ड फुटबल क्लवका नरेन्द्र लिम्बुलाई बेस्ट प्लेयर घोषणा गरिएको थियो। प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीमा हिमालयन क्लवका खेलाडी दिपक आले थिए जसले ५ गोल गरेका थिए।
प्रतियोगितामा ११ वटा स्थानीय फुटबल क्लवका खेलाडीहरु सहभागी थिए।
हंगकंग बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता धरान फुटबल क्लव, धरानको सहयोग र नेप्लीज युथ अर्गनाइजेशन हंगकंगको आयोजनामा काउलुन पार्कमा सम्पन्न भएको थियो।
एचकेनेपाल डट कम, डिसेम्बर २५ -
हङकङमा देखा परेको इन्टरनेट नेटवर्कको समस्याका कारण समयमै अपलोड गर्न नसकिएको क्रिसमसका भिडीयो झलकहरू ढिलै भए पनि यहाँ राखिएको छ।
हङकङमा रहेका अधिकांश पाठकहरूलाई यहाँको क्रिसमस रमझम बारे अवगत नै छ, तर हङकङबाहिरका पाठकहरूलाई पनि रमाइलै होला भनि भिडीयो झलक यहाँ राखिएको हो। यहाँहरूलाई कस्तो लाग्यो आफ्नो विचार पनि व्यक्त गर्नुहोला।