Archive for April, 2007
एचकेनेपाल डट कम, अप्रिल २४ -
नेपाली महावाणिज्यदूतावासको आयोजनामा मंगलबार हङकङमा लोकतन्त्र दिवस मनाइयो। याउ मा तेइस्थित किङ्स पार्कमा दूतावासले एक कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाइएको हो।

लोकतन्त्र दिवसको अवसरमा मन्तव्य व्यक्त गर्नुहुंदै कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईले देशमा आएको परिवर्तनसंगै लोकतन्त्र दिवस मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो। देशमा शान्ति पुनस्थापना हुने मनसाय व्यक्त गर्नुहुंदै लोकतन्त्र दिवसको अवसरमा उपस्थित भएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। महावाणिज्य दूतावास र नेपाली संघसंस्था तथा समुदायबीच रहंदै आएको समुधुर सम्बन्धले निरन्तरता पाइरहनेमा आफू विश्वास्त रहेको उहाँले बताउनु भयो।
औपचारिक कार्यक्रममा दूतावासका सहचारी उत्तमप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अर्का सहचारी लेखनाथ गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लोकतन्त्रको लागि सहादत प्राप्त गरेका ज्ञात अज्ञात शहिदहरूको स्मरणमा १ मिनेट मौन धारण गरिएको थियो।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, व्यापारी, समाजसेवी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमको अघि र पछि दूतावासले जलपानको व्यवस्था गराईको थियो।

त्यसै गरी नेपालमा सोमबारदेखि बुधबार तीन दिनसम्म विभिन्न कार्यक्रहरुको आयोजना गरी भव्यताका साथ लोकतन्त्र दिवस मनाइदै छ। नेपालमा दिगो शान्ति, सबै किसिमका सशस्त्र द्वन्दको शान्तिपूर्ण निकास, अग्रगमन तथा निरङ्कुशतन्त्रको अन्तका लागि जनताले गत वर्ष देखाएको अभूतपूर्व साहसिक कार्यको स्मरणमा सरकारले तीन दिनसम्म लोकतन्त्र दिवस मनाउने निर्णय गरेको हो।
कार्यक्रम सम्बन्धि थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्। तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम।
Popularity: 4%
April 25th, 2007
एचकेनेपाल डट कम, अप्रिल २२-
गोर्खा भूपू सैनिक संघ हङकङको आयोजनामा जोर्डनस्थित इण्डिया क्लवमा आइतबार एक जानकारी सभाको कार्यक्रम सम्पन्न भयो।

प्रमुख अतिथि गेसोका सभापति पदमवहादुर गुरुङले सम्वोधन गर्नुभएको सो कार्यक्रममा गेसोको वेलायत सरकारसंगको लडाईमा साथ दिइरहेको वेलायतबाट आउनु भएका वरिष्ठ वकील मार्टिन हो , डेविभ इन्राइट तथा गेसोका कानूनी सल्लाहकार गोपाल शिवाकोटी समेतले सभालाई सम्वोधन गर्नु भएको थियो। गेसोले वेलायत सरकारसंगको कानूनी लडाईमा प्राप्त गरेका सफलता र भावी कानूनी बाटाहरुको बारेमा हङकङमा रहेका भूतपूर्व सैनिकहरु र उनका परिवारहरुलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गेसोका सभापति पदमवहादुर गुरुङले नेपाल सरकार नेपाली राजनीतिक नेता तथा बेलायत सरकारले समेत सोच्दै नसोचेको सफलता गेसोले हासिल गरेकोले गेसो उत्साहित रहेको र आफ्ना समकक्षी गोराहरु सरह सबैखाले सुविधाहरु नपाएसम्म लडाई जारी रहने वताउनुभयो।

वकीलहरुको नेतृत्व गर्ने मार्टिन होले मार्टिन लुथर किङको भनाई उदृत गर्दै जहाँ अन्याय हुन्छ त्यहाँ न्यायलाई सधै धम्की दिइरहेको हुन्छ भन्दै गोर्खाहरुलाई समानताको व्यवहार गरिनुपर्ने वताउनु भयो। उहाँले गोर्खाहरुले वेलायतमा बसोबासको अधिकार तथा अन्य सुविधाहरु आफ्नो समकक्षीसरह समानरूपले पाउनु पर्ने बताउनु भयो।
कार्यक्रमको सभापतित्व गोर्खा भूपू सैनिक संघ हङकङका सभापति हेमबहादुर तामाङले गर्नु भएको थियो भने संचालन सचिव नरहाङ राईले गर्नु भएको थियो। स्वागत भाषण गेसोका सदस्य नरेन्द्र राई र भूपूको तर्फबाट मन्तव्य रामकाजी राईले राख्नुभएको थियो।

तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 7%
April 23rd, 2007
एचकेनेपाल डट कम -
हङकङमा रहेका नेपालीहरुले नेपाली नयाँ वर्ष २०६४ को उपलक्ष्यमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी नयाँ वर्ष मनाएका छन्।
विभिन्न क्षेत्रिय संस्थाहरुले आफ्ना गाउं ठाउंका आफन्तहरुलाई भेला गर्राई भेटघाटका साथै नयाँ वर्षका शुभकामना आदान प्रदान गरेका थिए। बिबिक्यु पार्टी, नाँचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरी नयाँ वर्ष मनाएका थिए।
धरान चौकीबारी समाज, मर्दी खोला समाज, संखुवासभा समाज र तनहूं समाज हङकङद्वारा भिन्नभिन्नै मितिमा नयाँ वर्ष २०६४ को अवसरमा आयोजित कार्यक्रमका चित्रमय झलकहरु -







थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम, ।
Popularity: 6%
April 21st, 2007
हाम्रा समस्त पाठक, बिज्ञापनदाता, सहकर्मी, शुभचिन्तक तथा मित्रहरूमा ‘नयाँ वर्ष २०६४’ को उपलक्ष्यमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना ।
- एचकेनेपाल डट कम परिवार

आफ्ना प्रियजनलाई नयाँ वर्षको शुभकामना सन्देश पठाउन माथिको कार्डमा क्लिक गर्नुहोस्। अथवा अन्य शुभकामना कार्ड पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।
Popularity: 6%
April 13th, 2007
एचकेनेपाल डट कम हङकङ, अप्रिल ४ -
एशियाकै धनि महिला मानिने नीना वाङको मंगलबार ६९ वर्षको उमेरमा मृत्यु भएको छ। हङकङका प्रसिद्ध रियाल स्टेट चाइनाचेम ग्रुपकी प्रमुख नीना वाङको अनुमानित चलअचल सम्पति करिव ४.२ बिलिओन अमेरिकी डलर रहेको बताइन्छ।

सन् २००१ मा आयोजित एक च्यारिटी कार्यक्रममा कमिक्स क्यारेक्टरमा तस्विर खिचाउंदै नीना वाङ। तस्विरः REUTERS/Bobby Yip/Files (CHINA)
उनका पति टेडी वाङलाई सन् १९९० मा अज्ञात समूहले अपहरण गरी वेपत्ता बनाएका थिए। त्यसपछि उनी कहिल्यै देखिएनन् । टेडी वाङको बारे कुनै जानकारी प्राप्त गर्न नसकिएपछि सन् १९९९मा उनको मृत्यु भएको घोषणा गरिएको थियो।
पति टेडीको मृत्युपछि एक्लो रहेकी नीना वाङ आफ्ना पतिको चलअचल सम्पतिको हकदार बन्न उनले थुपै संर्घष र कानुनी लडाईको सहारा लिनु परेको थियो। न्यायीक मुद्दा जित्न आठ वर्ष कुर्नु परेको थियो भने पति बेपत्ता भएको १० वर्षपछि मात्र चाइनाचेम ग्रुपकी प्रमुख बन्ने कानुनी अधिकार नीनाले प्राप्त गरेकी थिइन्।
छोराछोरीसमेत नभएकी नीना वाङ ५० जना अंगरक्षकहरुको सुरक्षा घेरामा रहेर हिडडुल गर्ने गर्थिन्। फरबेस म्यागजिनले सन् २००६ मा उनलाई विश्वकै १५४ औं धनि व्यक्तिको रूपमा गणना गरिएको थियो।
बिरामीको कारण नीना वाङको मृत्यु भएको उनका स्वकीय सचिवले जनाएका छन्। क्यान्सर रोगसंग संघर्षरत वाङले आफ्ना मृत्युपछि थुप्रै अनुत्तरित प्रश्न र अरबौं-खरबौं सम्पति छोडेर गएकी छन्।
तस्विर साभारः प्रोफाइल एएफपी
Popularity: 5%
April 4th, 2007
एचकेनेपाल डट कम, अप्रिल २ -
विश्व शान्ति र बन्धुत्वको नारा लिएर विश्वयात्रामा निस्केका साइकलयात्री ढाकेश्वर क्षेत्री हङकङ आईपुगेका छन्।
क्षेत्री द.कोरिया र जापान हुंदै हङकङ आइपुगेका हुन्। नेपाल र भारत हुंदै विश्व साइकलको यात्रा तय गरेका ५० वर्षीय क्षेत्री दमक नगर पालिका-१० झापाका नागरिक हुन्। सन् २००४ डिसेम्बर महिनामा विश्व साइकलयात्रा शुरु गरेका क्षेत्रले अहिलेसम्म १७ वटा राष्ट्रको भ्रमण गरिसकेका छन्।
नौ वर्षभित्र विश्व यात्रा पूरा गर्ने लक्ष्य राखेका क्षेत्रीले हङकङपछि मकाउ, फिजी हुंदै अष्ट्रेलियातर्फ लाग्ने एचकेनेपाल डट कमलाई बताए।
एनआरएन हङकङले अप्रिल १ तारिख आयोजित एक कार्यक्रममा विश्व साइकलयात्री ढाकेश्वर क्षेत्रीलाई विश्वयात्राको शुभकामना व्यक्त गर्दै २ हजार हङकङ डलर आर्थिक सहयोग प्रदान गरेका थिए।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम।



Popularity: 4%
April 2nd, 2007
एचकेनेपाल डट कम, अप्रिल २ -
एनआरएन (गैर आवासीय नेपाली संघ) हङकङले आइतबार नाँचघरको सभाकक्षमा एक गोलमेच बैठकको आयोजना गरी संबिधानसभाको निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउंनु पर्ने मागसहित आन्दोलन गर्ने भएको छ।
.jpg)
एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य गणेश इजमले आगामी संबिधानसभाको निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउंनु पर्ने राय व्यक्त गर्दै बैठकमा कार्यपत्र पेश गर्नु भएको थियो। इजमले नेपालको ऐतिहासिक निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउनु उसको नैर्सर्गिक अधिकार भएको जनाउंदै सरकारले प्रवासी नेपालीलाई मतदानबाट वञ्चित गराउन मिल्दैन भन्नु भयो। प्रवासमा रहेर मतदान गर्न प्राविधिक दृष्टिले कठिनाइहरु रहे पनि त्यसलाई मात्र एक प्रमुख कारण मानेर सरकार यस महत्वपूर्ण विषयबाट उम्कन मिल्दैन इजमले भन्नुभयो।
.jpg)
गोलमेच बैठकका कतिपय सहभागीले संबिधानसभा निर्वाचानको तिथि तोकिसकेको अवस्थामा एनआरएन हङकङ ढिलो गरी ब्यूझिएकोमा असन्तुष्टी व्यक्त गरेका थिए। यता एनआरएन हङकङले मतदान प्रक्रियामा प्रवासी नेपालीले सहभागी बन्न पाउंनु पर्ने माग उर्ठाई रहेको ठीक सोही दिन, उता आठ दलको बैठकले संविधानसभाको चुनाव असार ६ गते गर्ने प्रस्ताव पेश गरिसकेको थियो।
गोलमेच बैठकमा सहभागी हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईले आन्दोलनको नेतृत्व एनआरएनले गर्नु पर्ने जनाउंदै समय अभावका कारण यथासिघ्र आन्दोलनको पहल गरिहाल्नु पर्ने सुझाव दिनुभएको थियो। एनआरएन हङकङले विश्वभर छरिएका गैर आवासीय नेपाली संघहरुसंग समन्वय गरी तुरुन्त आन्दोलन गरिनु पर्ने राय व्यक्त गर्नुभयो। सहभागीहरुले हङकङका नेपाली महावाणिज्यदूतावासलाई ज्ञापन पत्र मात्र बुझाउंदैमा आन्दोलन प्रभावकारी हुन नसक्ने बताउंदै गोर्खा भूपू सैनिकहरुले गत २८ मार्चमा गरिए जस्तै सबै देशका प्रवासी नेपालीहरुले सम्बन्धित नेपाली दूतावासहरुमा एकैदिनमा विरोध तथा ज्ञापन पत्र बुझाइएमा आन्दोलन प्रभावकारी हुने बताए।
.jpg)
कार्यक्रमका मुख्य प्रवक्ता गणेश इजमद्वारा बैठकमा प्रस्तुत गरिएका विषयबस्तुमाथि सहभागीहरुले छलफल गरी मुख्यतयः २ बुंदागत निश्कर्ष निकालेको छ जसमध्ये - 1) सरकारसंग प्रवासी नेपालीलाई मतदानको व्यवस्था गराउनु पर्ने र 2) संबिधानसभामा प्रवासी नेपाली (एनआरएन) को प्रतिनिधिको व्यवस्था हुनु पर्ने माग राख्ने रहेका छन्। यसका लागि फ्लोरले अन्य सहायक बुंदागत निश्कर्षहरु समेत निकालेका छन् जसमध्ये ती मागहरुप्रति सरकारको ध्यान आकृष्ट गराउंन -
1) एनआरएनको नेतृत्वमा आन्दोलन गर्ने,
2) आन्दोलनको कार्यक्रम यथासिघ्र गर्ने,
3) हङकङको सवालमा - एनआरएन हङकङ, हङकङ नेपाली महासंघ, र आदिवासी जनजाति महासंघ मिलेर समायोजन गरी अघि बढ्ने आदि रहेका छन्।
एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरुङको अध्यक्षतामा बसेको गोलमेच बैठकलाई सचिव विजय गुरुङले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुमलकुमार गुरुङले व्यक्त गर्नुभएको थियो।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद कोषाध्यक्ष प्रकाश पुन, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य प्रितम श्रेष्ठसमेतको उपस्थिति रहेको गोलमेच बैठकमा हङकङ नेपाली महासंघ अध्यक्ष हेजेन राई, आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष नरहाङ राई र महासचिव तथा सनराईज पत्रिकाका सम्पादक भूपेन्द्र चेमजोङ, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, एचकेनेपाल डट कमका सम्पादक पशन तमू र फोटो पत्रकार जगत अम्बु गुरुङ, फियोनाका संयोजक प्रेम राई तथा अध्यक्ष सत्य घले, एकीकृत समाजका बुद्धिबहादुर थापा, लिम्बुवान राष्ट्रिय मञ्चका संयोजक दिल पालुङ्वा, गोर्खा भूपू सैनिक संघका केन्द्रीय सदस्य तथा हङकङ मकाउ प्रमुख मणिकिराँत बान्तवालगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको रहेको थियो।
.jpg)
सोही कार्यक्रममा हङकङ आइपुगेका झापा दमकका विश्व साइकलयात्री ढाकेश्वर क्षेत्रीलाई एनआरएन हङकङको तर्फबाट अध्यक्ष त्रिलोक गुरूङले सफल विश्वयात्राको शुभकामना व्यक्त गर्दै २ हजार हङकङ डलर आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 4%
April 2nd, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली जनसम्पर्क समिति, हङकङका संस्थापक अभिभावक शङ्करबहादुर खड्काको शव पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
उहाँको ९१ वर्षको उमेरमा हङकङस्थित प्रिन्स अफ वेल्स अस्पतालमा उपचारका क्रममा यही चैत १३ गते निधन भएको थियो। उहाँको शवलाई नेपाल वायुसेवा निगमको विमानबाट नेपाल ल्याइएको थियो।
उहाँको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका उपसभापति सुशील कोइरालाले पशुपति आर्यघाट पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेसका उपसभापति कोइरालाले उहाँको निधनमा विज्ञप्तिमार्फत् दुःख व्यक्त गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तै नेपाली काङ्ग्रेसले पनि खड्काको निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।
Popularity: 3%
April 2nd, 2007