Archive for May, 2007

हङकङमा हुने भनिएको एनआरएन एसिया प्यासिफिक भेला सिंगापुर सर्‍यो

एचकेनेपाल डट कम, मे ३० -
हङकङमा हुने भनिएको गैर आवासीय नेपाली संघ (एनआरएन) को एसिया प्यासिफिक भेला अन्ततः सिंगापुर सर्ने भएको छ। एनआरएनले पहिले गत मे ६ र ७ तारिख हङकङमा सो भेलाको आयोजना गर्ने योजना बनाए पनि प्राविधिक कारणले स्थगित भएको थियो। एनआरएन प्यासिफिक भेला स्थगित भएको जानकारीसंगै नयाँ मिति तोकेर हङकङमै सो भेलाको आयोजना गरिने बताइएको थियो।

एनआरएनको पछिल्लो जानकारी अनुसार एनआरएनको एसिया प्यासिफिक भेला आगामी जुलाईको १४ र १५ तारिख सिंगापुर हुने भएको छ।

गैर-आवासीय नेपाली संघको एसिया प्यासिफिक भेला १४ र १५ जुलाईमा सिंगापुरमा हुने कुरा गैर-आवासीय नेपाली संघका उपाध्यक्ष (एसिया प्यासिफिक) देवमान हिराचनबाट थाहा हुन आएको छ। उपाध्यक्ष हिराचनले एक विज्ञप्ति प्रेषित गरी उक्त भेलामा उपस्थित हुन सम्पूर्ण गैर-आवासीय नेपालीलाई अनुरोध गर्नुभएको छ। गैर-आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. उपेन्द्र महतोको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न हुने कुरा विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, गैर-आवासीय नेपालीहरुको साझा संगठन गैर-आवासीय नेपाली­ संघ एसिया प्यासिफिक क्षेत्रको १४ र १५ जुलाईमा सिंगापुरमा हुन गइरहेको भेलामा उपस्थित भइदिन हामी सबै एसिया प्यासिफिक क्षेत्रमा रहनु भएका गैर-आवासीय नेपालीहरुलाई विनम्र अनुरोध गर्दछौं। साथै उक्त भेलामा पर्यवेक्षकका रुपमा सहभागी हुन चाहनु हुने एसिया प्यासिफिक क्षेत्र बाहेकमा रहनु भएका गैर-आवासीय नेपालीहरुलाई पनि पूर्ण रुपमा स्वागत गर्दछौं।

विज्ञप्तिमा अगाडि भनिएको छ, सो भेलामा एसिया प्यासिफिक राष्ट्रहरुमा बसोबास गर्ने नेपालहरुका साझा समस्या, यस क्षेत्रबाट राष्ट्रलाई हुन सक्ने योगदान, यस क्षेत्रका अन्य राष्ट्रहरु सिंगापुर, भियतनाम, कम्बोडिया, इण्डोनेसिया, फिलिपिन्स, ब्रुनाई, चीन, मकाउ आदिमा गैर-आवासीय नेपाली संघका राष्ट्रिय परिषदहरु गठन गरिने बारे छलफल, गैर-आवासीय नेपालीका लागि बनाइएको कानुनमा सुधार प्रस्ताव राख्ने, दोहोरो नागरिकता प्रणाली, बैदेशिक रोजगार सम्बन्धि कानुन, संविधानसभामा गैर-आवासीय नेपालीलाई मतदानको व्यवस्था, यस क्षेत्रमा रोजगारको अवसरलगायतका विषयवस्तुका साथै गैर-आवासीय नेपाली संघका आन्तरिक विषयहरुमा समेत छलफल गरिनेछ।

यस कार्यक्रमको तयारीका लागि भेला आयोजक समितिका संयोजक एवम् गैर-आवासीय नेपाली संघका केन्द्रीय सदस्य डा. कुमार बस्नेत र अर्का केन्द्रीय सदस्य प्रीतम श्रेष्ठले सिंगापुरको स्थलगत भ्रमणका साथै त्यहा“ बसोबास गर्ने गैर-आवासीय नेपालीहरुस“ग अन्तरक्रिया गरी कार्यक्रमस्थल सिंगापुर बनाउने बारे छलफल गर्नुभएको थियो । फलस्वरुप त्यहा“का गैर-आवासीय नेपालीहरुको हार्दिक र्समर्थनका साथ सिंगापुरमा यो कार्यक्रम आयोजना गर्न स्थानीय नेपालीहरु अमर चित्रकार, अजम्बर बस्नेत र सुनिल शर्माको अग्रसरतामा एक कार्यदल गठन गरी तयारी अगाडि बढिरहेको छ। उक्त कार्यक्रममा सहभागी हुन चाहनु हुने सबैलाई आ-आफ्ना देशका गैर -आवासीय संघका राष्ट्रिय परिषद् अथवा संघका केन्द्रीय सदस्यहरु डा. कुमार बस्नेत (जापान), प्रीतम श्रेष्ठ (हङकङ), रुद्र शर्मा (दक्षिण कोरिया), रमेश श्रेष्ठ -थाइल्याण्ड), छोलानाथ बञ्जाडे (म्यान्मा), विश्व प्रकाश गिरी (सिंगापुर) र मलेसियामा सुरेश मानन्धरका साथमा सिंगापुरस्थित अजम्बर बस्नेत र सुनिल शर्मा संग सम्पर्क गर्नु हुन विज्ञप्तिमा अनुरोध गरिएको छ।

Popularity: 3%

Add comment May 30th, 2007

२५५१औं बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न (+Photo)

एचकेनेपाल डट कम -
२७ मे २००७ का दिन हेन्री जि. लियोङ्ग कम्यूनिटी सेन्टर याउ मा तेइमा नेपाली बौंद्ध समाज हङकङको आयोजना तथा नमो बुद्ध आमा समूहको सह-आयोजनामा र विभिन्न १५ वटा जातिय तथा क्षेत्रिय संस्थाहरुको समन्वयतामा धर्मगुरु प्रोफेसर किरण तुलाचन (खेम्पो खेन्से पाल्देन रिम्पोछे) ज्यूको प्रमुख आतिथ्यमा २५५१ औं बुद्ध जयन्ती भब्यताका साथ सु-सम्पन्न भयो ।

प्रमुख धर्मगुरु तथा अन्य लामागुरुहरु र उपस्थित हङकङ नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आसन ग्रहण गराउदै कार्यक्रमको थालनी नेपाली बौंद्ध समाज हङकङ सह-सचिव भिम थापा मगरले गर्नु भएको थियो । कार्यक्रमको शुरुवातमा नेपाली बौंद्ध समाजका अध्यक्ष धन बहादुर थापा मगर -डेनी) ले उपस्थित धर्मगुरुहरु, अतिथिहरु श्रद्धालु भक्तजनहरुलाई हार्दिक स्वागत गर्दै भगवान बुद्धको अमूल्य उपदेश, विश्व शान्ति र विश्व भातृत्वकोबारे प्रकाश पार्दै आङ्खनो मन्तब्यमा कार्यक्रमको सहयोगी सवैमा धन्यवाद ज्ञापन गर्न भएको थियो ।

प्रमुख धर्मगरु तथा अन्य धर्मगुरुहरुले पूजापाठ तथा मन्त्रोचरण गर्नु भएको थियो । प्रमुख धर्मगुरुले मन्त्रोचारण सरल नेपाली भाषामा अनुवाद गरी सुनाउन भएको थियो । उक्त पूजा कार्यक्रममा हंगकंगमा बसोवास गरीरहनु भएका नमो बुद्ध धर्म सेन्टरका लामाद्वय देवी रास गुरुङ तथा डिलबहादुर गुरुङ पनि सरिक हुन भएको थियो ।


तस्विरः प्राथना गुरूङ एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

पूजा कार्यक्रम पश्चात नेपाली बौंद्ध समाजका उपाध्यक्ष अर्जुन गुरुङले समाजको स्थापनाकालदेखि नै बौंद्ध धर्ममा आस्था राख्नु हुने विभिन्न श्रद्धालु भक्तजनहरुको सहयोगवाट नै संचालन भई राखेको तथा भविष्यमा पनि यस्तै अपेक्षा राखिएको जनाउदै उक्त कार्यक्रमलाई भब्य रुपमा सफल पार्न नगद तथा जिन्सी रुपमा सहयोग गर्नु हुने महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सम्मानित महानुभावहरुलाई समाजले तयार बनाएको कप प्रमुख धर्मगुरु प्रोफेसर किरण तलाचनज्यूको बाहुलीवाट प्रदान गरिएको थियो । आर्थिक सहयोग गरी सम्मानित संस्था तथा महानुभावहरुमा तमु ट्हो ह्यूल हंगकंगको तर्फवाट अध्यक्ष एकबहादुर गुरुङ, आर्थर डाँडा खर्क समाजका तर्फवाट अध्यक्ष मिनबहादुर गुरुङ, उर्गेन दोर्जे छोलिङ्ग सेन्टर (युन्लोङ्ग गुम्बा) र ब्यक्तिगत तर्फबाट डिलबहादुर थापा मगर, क्या. रत्नबहादुर पुन, क्या. उदयबहादुर गुरुङ्ग, प्रेमबहादुर गलामी मगर, डिज सपका दिपक गुरुङ र हस्तबहादुर र्राई हुनुहुन्थ्यो । यसैगरी नेपाली बौंद्ध समाज हङकङको गत फोल्हो ल्होसार (मृग बर्ग) कार्यक्रमलाई मनोरञ्नात्मक रुपमा भब्य सफल बनाउन सहयोग गर्नु हुने कलाकारहरुलाई पनि सम्मान गरीएको थियो । सम्मानित कलाकारहरुमा वरिष्ठ संगीतकार दिनेश सुब्बा, गितारीष्ट विजय गुरुङ, गायिका रोजा लिम्बु, गायिका मोना लिम्बु, गायिका हर्षित आले मगर र लोक दोहोरी गायिका मञ्जु थापा हुनुहुन्थ्यो ।

एन.आर.एनका अध्यक्ष त्रिलोक गुरुङ्गले कार्यक्रममा सहभागी सवैलाई पिउने पानीको ब्यवस्था गर्नु भएको थियो । सह आयोजक नमो बुद्ध आमा समूहद्धारा उपस्थित सवैलाई शाकाहारी खाना तथा हल्का पेय पदार्थको ब्यवस्था गरिएको थियो । त्यस्तै गरी अन्य सहभागी संघ संस्थाका तर्फबाट पनिस्वयंसेवक तथा स्वयंसेविकाहरु परिचालन गरी कार्यक्रमलाई सफल गराउन सह्रानीय सहयोग प्राप्त भएको थियो ।


तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

कार्यक्रम स्थल बौद्ध धर्मको लुङ्गदार, ध्वजा पताका तथा थान्काहरुले सजीसजाउ पारिएको थियो जसले गर्दा पूर्ण रुपमा धार्मिक स्थलको भान हुन्थ्यो । नमो बुद्ध आमा समूहका सदस्यहरु एकै किसिमको पोशाकमा सजिनु भएको थियो भने कार्यक्रमको स्वयसेविकाहरुले आङ्खनै मौलिक परम्परागत भेष भुषा पहिरिएका हुनाले कार्यक्रमको शोभा बढेको थियो । कार्यक्रममा हङकङ चाइनिज मूलका ब्यक्तिहरु पनि उस्थित रहेको थियो ।

सम्मान कार्यक्रम पश्चात प्रमुख अतिथि धर्मगुरु प्रोफेसर किरण तलाचनज्यूले सरल नेपाली भाषामा बुद्ध धर्मवारेमा प्रवचन दिनु भएको थियो । उहांले मनुष्य जीवनको बिभिन्न उदाहरण तथा उपमा राखि ब्याख्या गर्नु भएको थियो । बुद्ध धर्ममा पूजिने देवी देवताको बारेमा पनि सविस्तार वर्णन गर्नु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथि तथा धर्म गुरुज्यूले उपस्थित सवैलाई तारा देवीको वाङ्ग (अभिषेक) प्रदान गर्नु भएको थियो । कार्यक्रममा तमु ट्हो ह्यूलका अध्यक्ष एक बहादुर गुरुङ्ग, मगर संघ हंगकंगका अध्यक्ष नेत्र पहराई मगर, फियोना हंगकंगका अध्यक्ष सत्य धले, पुन मगर समाजका अध्यक्ष मेजर गम बहादुर पुन मगर, एन. आर. एन.का अध्यक्ष त्रिलोक गुरुङ्ग, लमजुङ्ग सेवा समितिका अध्यक्ष दिलिप गुरुङ्ग, थकाली सेवा समितिका अध्यक्ष हर्क तुलाचन, तामाङ्ग घेदुङ्ग संघको तर्फबाट कुलमान तामाङ्ग, शेर्पा समाजको अध्यक्ष पासाङ्ग शेर्पा, उर्गेन दोर्जे छोलिङ्ग सेन्टर (युन्लोङ्ग गुम्बा)का अध्यक्ष खड्ग मोक्तान, मितेरी समाजको तर्फबाट मान प्रसाद गुरुङ्ग, पञ्चासे समाजका तर्फबाट सुमल गुरुङ्ग, चार भञ्ज्याङ्ग समाजका अध्यक्ष राजु गुरुङ्ग, आर्थर डाँडा खर्क समाजका अध्यक्ष मिन बहादुर गुरुङ्ग, मोर्दी खोला समाजका अध्यक्ष आई बहादुर गुरुङ्ग, सोंपाल समाजको तर्फबाट तोरण गुरुङ्ग, तनहु“ समाजको तर्फबाट गणेश गुरुङ्ग, गोर्खाज फोरमका अध्यक्ष भक्तबहादुर दुरा, घान्द्रुक समाजका अध्यक्ष नारायण सिङ्ग गुरुङ्ग, पर्बत पैंयु खोला समाजका अध्यक्ष चुक गुरुङ्ग, र ब्यापार ब्यवसायी प्रकाश पुन, तेज बहादुर र्राई साथै अन्य संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा गन्यमान्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

- विश्व गुरुङ

Popularity: 4%

3 comments May 29th, 2007

हङकङमा कवि श्रवण मुकारुङको एकल कविता वाचन (+Photo)

एचकेनेपाल डट कम -
नेपालबाट यलम्बर नाइट तथा सम्मान कार्यक्रममा सहभागी हुन हङकङ आएका कवि श्रवण मुकारुङ मे २७ तारिख आफ्ना एकल कविता वाचन कार्यक्रममा सरीक भए।


कविता वाचन गर्दै कवि श्रवण मुकारूङ। तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम।

उनले एकल कविता वाचन कार्यक्रममा विभिन्न अवस्थामा लेखिएका करिव १ दर्जन जति कविता वाचन गरेका थिए। उनको एकल कविता वाचन कार्यक्रम सशुल्क आयोजना भएको थियो। कवि मुकारुङ बिसे नगर्चीको बयान (कविता पढ्न यहाँ क्लिक गर्नुहोस्) शीर्षकको कवितासंगै अझ चर्चाको शिखरमा पुगेका कवि हुन्। शाही कालमा रचित बिसे नगर्चीको बयानमा शाह वंशीय राजाप्रति सर्वसाधारण रैती बिसे नगर्चीको भक्तिभावमा आएको असन्तुष्टीलाई उजागर गरेका छन्। कवितामा राजा महाराजाप्रति सोझा र इमान्दार रहेका बिसे नगर्चीको सर्वसुलभ आक्रोश व्यक्त भएको छ।

पूर्णकालीन साहित्य लेखनमा समर्पित श्रवण मुकारुङ कविताबाहेक श्रोताका मनलाई सजिलै जित्ने मिठा मिठा गीतहरु लेख्छन्। श्रवणका करिव अढाई सयजति गीत रेकर्ड भै सकेका छन्।

कविता वाचन कार्यक्रममा ७ हजार ६ सय ४० हङकङ डलर संकलन भएको आयोजकले बताएका छन्। संकलित रकमपछि कवि मुकारूङलाई सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो। नेपाली कविता लेखन क्षेत्रमा एक सशक्त हस्ताक्षर मुकारुङका यसभन्दा अघि राजधानीलगायत अन्य शहरहरुमा एकल कविता वाचन कार्यक्रम भएका थिए।

कार्यक्रम जनजाति साहित्य समूह हङकङ र सृजनशील साहित्य समाज हङकङको आयोजनामा जोर्डनस्थित नाँचघरको सभा कक्षमा सम्पन्न भएको थियो। कार्यक्रममा नयाँ राष्ट्रगानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) र हङकङका स्थानीय कविहरुले समेत कविता वाचन गरेका थिए।

सोही कार्यक्रममा जनजाति साहित्य समूह हङकङले प्रत्येक वर्ष जनजाति प्रतिभालाई प्रदान गरिने गरी स्थापना गरिएको जनजाति प्रतिभा पुरस्कार यस वर्ष नयाँ राष्ट्र गानका सर्जक व्याकुल माइलालाई प्रदान गरिएको छ।

स्वतन्त्र पत्रकार राई चन्द्र दुमीले सञ्चालन गरेको कार्यक्रममा साहित्य समाज हङकङका संयोजक भूपेन्द्र चेम्जोङको अध्यक्षता र स्वागत मन्तव्य सिर्जनशील साहित्य समाज हङकङका अध्यक्ष हाङ युग अज्ञातको रहेको थियो। कार्यक्रममा नेपाली महासंघका अध्यक्ष हेजेन राई, हङकङको पहिलो साहित्यिक संस्था नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम।

Popularity: 3%

1 comment May 28th, 2007

तमु प्ये ल्हुको चौंथो वार्षिकोत्सव सम्पन्न (+Photo)

एचकेनेपाल डट कम -
तमु प्ये ल्हुको चौंथो वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित काम्तिन कन्ट्री पार्कमा मे २० तारिख सम्पन्न भएको छ।

कार्यक्रममा गत वर्ष तनहूंस्थित घाँसे कुवामा माइकोबस दुर्घटनामा परी मृत्युभएका चन्द्रकुमारी गुरुङ, मिनबहादुर गुरुङ र नरमाया गुरुङको स्मृतिमा १ मिनेट धारण गरी मृतात्मको चीरशान्तिको कामना गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तमु ट्हो हृयुलका अध्यक्ष एकबहादुर गुरुङले हामी गुरुङ जाति एकार्कामा एक जुट हुनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रम राजु गुरुङको अध्यक्षतामा किरण गुरुङको स्वागत मन्तव्य र सञ्चालन रितबहादुर गुरुङको रहेको थियो।

कार्यक्रममा क्लेब्रि संस्कार अनुसार जन्म र मृत्युमा प्रयोग गरिने भेषभूषाको फोटो प्रदर्शनी, केन्द्रीय कार्यालय पोखराबाट पठाइएको आजीवन सदस्यता वितरण र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका थिए।


कार्यक्रम सम्बन्धि थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 7%

19 comments May 28th, 2007

हप्तामा २८ यात्रु सेवा, क्याथे लगायतले उडान भर्न पाउने (Breaking News)

हप्तामा २८ यात्रु सेवा, क्याथे लगायतले उडान भर्न पाउने
एचकेनेपाल डट कम, मे २४ -
नेपाल र हङकङ सरकारबीच २२ र २३ मे, २००७ मा सम्पन्न द्विपक्षीय हवाई सेवा सम्झौतामा केही नयाँ सहमतिहरु थपिएका छन्।


तस्विर -इतिहासको पानाबाटः हङकङस्थित नेपाली पूर्व महावाणिज्यदूत र हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव माधवप्रसाद घिमिरे। आजभन्दा करिव तीन वर्षअघि एचकेनेपाल डट कमको समुद्घाटन कार्यक्रममा । फाइल फोटोः १० अप्रिल २००४, हर्बर सिटी गोल्डेन थाइ रेष्टुरेण्ट, हङकङ।

नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव माधवप्रसाद घिमिरेको नेतृत्वमा र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका तर्फबाट अर्थ विकास र श्रम विभागका प्रिन्सिपल एसिस्टेन्ट सेक्रेटरी अल्बर्ट टानको नेतृत्वबीच भएको वार्ता हार्दिक र मित्रवत वातावरणमा सम्पन्न भएको बताइएको छ।


नेपाल र हङकङ सरकारबीच २३ मे, २००७ मा सम्पन्न द्विपक्षीय हवाई सेवा सम्झौता-पत्रमा दुबै पक्षबाट हस्ताक्षर गरिदै।

‘राम्रो अध्यायको शुरुवात भएको छ। खास गरी नेपालीको लागि। म एकदम खुशी छु।’ एचकेनेपाल डट कमसंग संक्षिप्त कुराकानी गर्दै घिमिरेले भन्नु भयो।

नेपाल सरकार र हङकङ सरकारबीच १९ अक्टोबर, १९९८ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौतामा पुनरावलोकन गरी नयाँ हवाई सेवा सम्झौता गर्न उहाँहरु हङकङ आउनु भएको हो।

उहाँले भन्नुभयो - ‘मे २२ र २३ तारिख दुई चरणमा भएको वार्तापछि द्विपक्षीय सम्झौतामा केही नयाँ कुराहरु थपिएका छन्। ‘ वार्ता टोलीका प्रमुख घिमिरेले भन्नु भयो - ‘नेपाल र हङकङ दुई पक्षबीच हप्तामा १४ वटा यात्रु सेवा र असिमित पारवाहन सेवा सञ्चालन गरिने सहमति भएको छ।’


कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई (फाइल फोटो)।

सोही सम्बन्धमा हङकङस्थित कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईले भन्नुभयो - ‘नेपाल र हङकङ दुई पक्षबाट प्रति हप्ता १४/१४ यात्रु सेवा उडान गरी २८ वटा उडान भर्न सकिने सहमति भएको छ।’ उहाँले एचकेनेपाल डट कमसंग भन्नु भयो - ‘तर नेपाल बायु सेवा निगमले मात्र धान्न सकिने अवस्था छैन। त्यसैले प्राइभेट सेक्टरका हवाई कम्पनीहरुले राम्रो अवसर पाउन सक्छन्।’

‘दुबै पक्षबीच ५ वटा इन्टरमिडियट र ५ वटा बियोन्ड पोइन्ट्स गरी बिना पाँचौं स्वतन्त्र उडान सेवा सञ्चालन गर्न सकिने छ।’ उहाँले थप्नु भयो। हङकङबाट बैंकक हुदै नेपाल जाने बिमानले बैंककसम्म जाने यात्रुलाई लाने पाउने सहमति भएको छ भने बैंककबाट नयाँ यात्रु भने थप्न पाईदैन। त्यसै गरी नेपालबाट उडान भर्दा पनि त्यही नियम लागु हुनेछ।’ भट्टराईले भन्नुभयो।

‘हामीले दुबै देशबीच पर्यटन विकासको सम्भावनालाई अभिवृद्धि गर्न नेपालीलाई लगाउंदै आएको प्रवेश आज्ञा (भिषा) प्रतिबन्दलाई फुकुवा गरिदिन पनि आग्रह गरेका छौं।’ घिमिरेले भन्नु भयो। ‘उहाँहरुले सम्बन्धित निकायमा हाम्रो प्रस्ताव पुयाइदिने बताउंनु भएको छ।’

लामो समयदेखि नेपाल बायु सेवा निगमबाट तिता मिठा अनुभव संगालेका यात्रीको लागि अव विकल्पको लागि नयाँ सम्भावनाका ढोकाहरु खुलिदिएको छ। पछिल्लो पटकको सम्झौताले प्राइभेट सेक्टरका हवाई कम्पनीहरुलाई आफ्ना सेवा विस्तार गर्ने अवसर प्रदान गरेको छ।

स्मरणीय छ, हङकङस्थित क्याथे प्यासिफिक एवरवेजको १ सय २७ जहाजले विश्वका १ सय ५ गन्तव्यहरुमा उडान सेवा विस्तार गर्दै गरेकोमा अब निकट भविष्यमा नेपालका लागि सेवा विस्तार गर्ने जनाएको छ। यसको लागि एयरलाइन्सका मध्यपूर्व भारत र अफ्रिकाका लागि महाप्रवन्धक टम राइटले काठमाडौंमा गत २ फेब्रुवरीमा एक पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए।

क्याथे प्यासिफिक समूह अन्तर्गत हङकङको ड्रागन एयरलाइन्सले अमरावती ट्राभल्ससंग बिक्री प्रतिनिधि (जीएसए) सम्बन्धी सम्झौता समेत गरिसकेको छ।
एचकेनेपाल डट कम

…………………………………………………………………………………………….

हवाई सम्झौता पुनरावलोकन गर्न टोली हङकङमा
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकार र हङकङ सरकारबीच १९ अक्टोबर, १९९८ मा भएको द्विपक्षीय हवाई सेवा संझौतामा पुनरावलोकन गरी नयाँ हवाई सेवा संझौता गर्न एक टोली हङकङ आइपुगेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव माधवप्रसाद घिमिरेको नेतृत्वमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमसमेतका प्रतिनिधि रहेको सात सदस्य टोली हङकङतर्फ आएको हो।

उक्त टोलीले नेपाल सरकार र हङकङ सरकारबीच नेपाली पक्षको आवश्यकताअनुसार हवाई सिट क्षमता बढाउने, थप हवाई ट्राफिक अधिकार प्राप्त गर्ने, रुट सेड्युलमा पुनरावलोकन गर्ने, कोड शेयर र अन्य प्राविधिक विषयसमेतमा द्विपक्षीय वार्ता गर्नेछ।

वार्तापछि तय हुने हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर र सहमति/समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

Popularity: 5%

42 comments May 24th, 2007

लिम्वुवान राष्ट्रिय मोर्चा (लिरामो) को घोषणा पत्र जारी (+Photo)

एचकेनेपाल डट कम -
लिम्वुवान राष्ट्रिय मञ्च (लिराम) को नाममा स्थापना भएको मञ्चलाई लिम्वुवान राष्ट्रिय मोर्चा (लिरामो) मा परिणत गर्दै लिरामोले मोर्चाको संशोधित घोषणा पत्र जारी गरेको छ।

याउ मा तेइस्थित कम्युनिटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा लिम्वुवान राष्ट्रिय मोर्चा (लिरामो)का संयोजक दिल पालुङ्वाले मोर्चाको घोषणा पत्र जारी गर्नुभएको हो।

घोषणा पत्रमा राष्ट्रिय मञ्च (लिराम) लिम्वुवान राष्ट्रिय मोर्चा (लिरामो)मा परिणत भएको जनाएको छ।


तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

घोषणा पत्र अनुसार पूर्वमा मेची, पश्चिममा संखुवा, अरुण तथा सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत यती चार किल्ला भित्रको भूमि अर्थात ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ सम्पूर्ण ९ जिल्ला ऐतिहासिक लिम्वुवान भएको र यही ऐतिहासिक आधारमा लिम्वुवान स्वायत्त राज्य घोषणा गरिनु पर्ने, यदी सो कार्य सत्ताधारी वर्गवाट ससम्मान नभएमा चरणवद्ध कार्यक्रमको साथै सशस्त्र आन्दोलन गर्न आवश्यक पर्ने कुरा रहेको उल्लेख गरिएको छ।

लिरामोको अनुसार लिम्वुवान र तत्कालिन गोर्खाबीच वि.सं १८३१ मा स्वायत्त सम्वन्धी सन्धी भएको र उक्त सन्धी वि.सं.२०२१ मा महेन्द्रद्वारा तथाकथित भूमिसुधार लागु गरी एकतर्फी ढंगले सन्धी खारेजीको नाटक रचिएको भन्दै लिरामोले पुनस्थापना हुनु पर्नेमा जोड दिएको छ।

लिरामोको सचिव अविचन्द्र इङनामवाट अव नेपालमा हुन गईरहेको संविधान सभाको चुनावमा लिम्वुवानवासीहरुले लिम्वुवान स्वायत्त राज्यको वकालत गर्ने पक्षलाई समर्थन गर्नु पर्ने वताउनु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङले लिम्वुवान त्यहांको आदिवासी लिम्वुहरु भएकाले उनीहरुले आफ्नो भूमिको शासन गर्न पाउनु पर्ने राय व्यक्त गर्नु भयो।

जातिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संयोजक दिल पालुङवाको अध्यक्षता, सञ्चालन सदस्य डि.बी. पालुङ्वाको र स्वागत मन्तव्य नवराज काम्वाङको रहेको थियो।

एचकेनेपाल डट कम।

Popularity: 5%

37 comments May 22nd, 2007

एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया

एचकेनेपाल डट कम सम्बन्धि तपाईंका कुनै जिज्ञासा तथा सुझाबहरू भए कृपया तलको कमेन्ट बक्समा पोष्ट गर्नुहोला। हामीलाई एचकेनेपाल डट कम सम्बन्धि कतिपय मेलहरू प्राप्त भएका र मेलको अक्सर एकै खालका जवाफ धेरैलाई पठाई रहनु पर्दा प्राविधिक कारणले कठिनाई परेकोले अन्य पाठकहरूलाई पनि सजिलो होस् भनेर जिज्ञासा तथा सुझाव पेटिकाको रूपमा यसलाई प्रयोग गरिएको हो।

If you have any queries, Comment and feedback about HKNepal.com. Please post in the Comment Box.

एचकेनेपाल डट कम
HKNepal.com

Popularity: 60%

93 comments May 19th, 2007

हङकङ लोकतान्त्रिक गणतन्त्र मोर्चा गठन (+Photo)

एचकेनेपाल डट कम, मे १३ -
हङकङमा रहेका केही राजनीतिकर्मीहरुको एक भेलाले जोर्डनस्थित नाँचघरको सभाकक्षमा आइतबार हङकङ लोकतान्त्रिक गणतन्त्र मोर्चा गठन गरेको छ।

देशमा चलिरहेको लोकतान्त्रिक गणतन्त्रको माहौलसंगै यहाँका नेपालीहरुले लोकतान्त्रिक गणतन्त्र मोर्चा गठन गरेर संगठित भएका हुन्। उनीहरुले नेपालको ऐतिहासिक आन्दोलनको भावनाको मर्मलाई बोध गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको संघर्षलाई सहयोग गर्ने उद्धेश्यले सो मोर्चा गठन गरिएको जनाएको छ।

नेपाल जनअधिकार सरोकार समाज हङकङका अध्यक्ष मंगल बाबु माल्बुलको अध्यक्षतामा बसेको भेलाको सञ्चालन सचिव जिमी किरात र स्वागत मन्तव्य कोषाध्यक्ष नरबहादुर गुरुङको रहेको थियो। सोही अवसरमा हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई र आदिबासी जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङको उपस्थिति रहेको थियो।

नव गठित मोर्चाको अध्यक्षमा रामकाजी राई रहनु भएको छ भने उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षमा क्रमशः गणेश राना, शेरबहादुर खापुङ, पूरण लोकसाम्वा, बालकुमार राई र एलबी गुरुङ रहनुभएको छ। त्यसै गरी सदस्यहरुमा राई चन्द्र दुमी, नरेन्द्र राई, कृष्ण लिङ्खा, प्रेमचन्द्र राई, त्रिभूवन लुङफुवा, गीता पालुङ्वा, बसन्ती राई, सिके तामाङ, पवन बस्नेत, राजकुमार राई, जगत गुरुङ र चन्द्र मादेन हुनुहुन्छ।

तस्विरः
जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

10 comments May 16th, 2007

हङकङमा साकेला उभौली (+Photo)

एचकेनेपाल डट कम मे ६ -
हङकङमा रहेका किरात राईहरुले आफ्ना महान चाड साकेला उभौली आइतबार ताइ मोशन कन्ट्री पार्कमा धुमधामले माने।

किरात राई यायोक्खा हङकङद्वारा आयोजित साकेला उभौली चाडमा किरात राईहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।


सबै तस्विरहरुः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

आयोजक संस्था यायोक्खाका अध्यक्ष नरहाङ राईको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि रामकाजि राई हुनुहुन्थ्यो भने विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनुभएको थियो। संस्थाका उपाध्यक्ष गेनप्रसाद राईको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई देवराज राईले सञ्चालन गर्नुभएको थियो।

साकेला उभौलीको अवसरमा हङकङ नेपाली महासंघका महासचिव हेम लिम्बु र कार्यक्रमका प्रमुख अतिथि रामकाजि राईले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो।

साकेला सम्बन्धि पूजापाठपछि साकेला सिली प्रदर्शन गरिएको थियो। विदेशी भूमिमा किरात राईहरुको कला, संस्कृति र परम्परालाई निरन्तरता दिने क्रममा गत सालहरुमा झै यो वर्ष पनि किरात राई यायोक्खा हङकङले कार्यक्रमको आयोजना गरिएको हो।




थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

34 comments May 7th, 2007

एनआरएनको एसिया प्यासिफिक (हङकङ) भेला स्थगित

एचकेनेपाल डट कम, मे ४ -
गैर-आवासीय नेपालीहरुको संस्था एनआरएनको यहि मे ६ र ७ मा हङकङमा आयोजना गरिने भनिएको एसिया प्यासिफिक भेला स्थगित भएको छ।

एनआरएन (एसिया प्यासिफिक) का उपाध्यक्ष देवमान हिराचनले दिनुभएको जानकारी अनुसार उक्त भेला स्थगित हुनको मूख्य कारण भने हङकङ इम्रिगेसनले बाहिरबाट जाने नेपालीहरुलाई भिसा दिनमा ढिलाई गरेको कारण स्थगित गरिएको हो।

गैर-आवासीय नेपाली संघलाई हङकङबाट प्रतिनिधित्व गर्ने एनआरएन केन्द्रीय सदस्य प्रीतम श्रेष्ठ भन्नु हुन्छ - “हंगकंग इम्रिगेसनले कार्यक्रमको मितिलाई ध्यान नराखि भिसा दिने कार्यमा ढिलाई गरिरह्यो जसले गर्दा यो भेला स्थगित गर्न बाध्य भयौं”।

एसिया प्यासिफिकमा बस्ने नेपालीहरुका विभिन्न समस्या बारेमा विचार विमर्श गरिने उक्त भेला पुन नयां मितिका साथ घोषणा गरिने कुरा उपाध्यक्ष हिराचनले जानकारी दिनु भएको छ।

Popularity: 3%

1 comment May 4th, 2007

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2007
M T W T F S S
« Apr   Jun »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category