Archive for July, 2007
एचकेनेपाल डट कम, जुलाई २७ -
हङकङमा हालै गठन भएको लोकतान्त्रिक गणतन्त्र मोर्चा नेपाल (हङकङ)ले राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना, शान्तिपूर्ण तथा धाँधलीरहित संबिधान सभाको चुनावको मागसहित संकलन गरिएको ३ हजार ६ सय ६३ हस्ताक्षर महावाणिज्यदूतमार्फत प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ।

कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईलाई ज्ञापन पत्र बुझाइदै लोकतान्त्रिक गणतन्त्र मोर्चा नेपाल (हङकङ) का अध्यक्ष रामकाजि राई। तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
विदेशमा रहेर पनि नेपालको राजनीतिक गतिविधिहरुलाई नजिकबाट हेरिरहेका नेपाली जमातले पटक पटक सरकारलाई माग पत्र तथा ज्ञापन पत्र बुझाउंदै आएकोमा पछिल्लो पटक लोकतान्त्रिक गणतन्त्र मोर्चा नेपाल (हङकङ) ले सरकारलाई अर्को ज्ञापन पत्र बुझाएको छ।
तर हङकङबाट प्रेषित ज्ञापन पत्रहरुलाई सरकार र आठ दलले कति गम्भीरतापूर्वक लिएको छ र त्यसको मूल्याङ्कन र कार्यान्वयन भएका छन् वा छैनन् स्वयं ज्ञापनपत्र दिनेहरु अनविज्ञ छन्। हङकङबाट पठाइएका ज्ञापन पत्रहरुले सरकार वा आठदलको ध्यान आकृष्ट गरेका छन् कि रद्दी टोकरी भर्ने काममात्र गरिरहेका छन्। त्यसको कुनै लेखाजोखा हुन सकेको छैन, र पनि यहाँका नेपालीहरु कुनै न राजनीति दल वा संगठनसंग आवद्ध रहेर नेपाली हुनुको दायित्व निर्बाह गरिरहेका छन्। हामी पनि नेपाली हौं र नेपालको वर्तमान परिस्थितिबाट चिन्तनशील छौं भनेर एक दुई वटा ज्ञापनपत्र महावाणिज्यदूतलाई बुझाएर मनको आगो निभाउने प्रयत्न गरिरहेका छन्।
त्यतिमात्र होइन यहाँका नेपालीले नेपालका प्रमुख दलका नेताहरुलाई समेत हङकङ आई पुगेका बेला ज्ञापन पत्रहरु बुझाएका छन्। ने.क.पा. एमालेका महासचिव माधवकुमार नेपाल, नेका महामन्त्री रामचन्द्र पौडेल, ने.क.पा. माओवादीका केन्द्रीय सदस्य देब गुरुङसमेतलाई प्रत्यक्ष भेटी ज्ञापनपत्र बुझाएका छन्। भलै ती ज्ञापन पत्रहरु विभिन्न मिति वा विषयमा लेखिएका नै किन नहोउन्। समाष्टिगत रुपमा त्यस ज्ञापनपत्रहरुमा नेपालीहरुकै समस्यालाई सम्बोधन गरिएका थिए।
विगतका दिनहरुमा यहाँका नेपालीहरुद्वारा सम्प्रेषित ज्ञापन पत्रहरुप्रति नेपाल सरकार वा नेपालका सम्बन्धित निकाय गम्भीर नरहेको स्पष्ट भएको छ। र पनि आफ्ना ज्ञापन पत्रले सरकारको ध्यान खिच्ला या नखिच्ला भन्ने अन्यौल र दि्वविधाबीच लोकतान्त्रिक गणतन्त्र मोर्चा नेपाल (हङकङ) ले एउटा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रसहित ३ हजार ६ सय ६३ हस्ताक्षर संकलन गरी हाम्रा आवाजलाई वेवास्ता नगर भन्दै प्रधानमन्त्रीलाई खबरदारी गराइएको छ।
लोकतान्त्रिक गणतन्त्र मोर्चा नेपाल (हङकङ) का अध्यक्ष रामकाजि राई र सचिव शेरबहादुर खापुङद्वारा संयुक्तरुपमा हस्ताक्षरित छुट्टाछुट्टै दुई ज्ञापन पत्र एउटा कावा महावाणिज्यदूत हेमलाल भट्टराईलाई बुझाइएको छ भने अर्को महावाणिज्यदूतवास मार्फत प्रधानमन्त्रीलाई पठाईएको छ।
दिनहुं जसो सिंहदरवारलाई नै घेरेर तर्साउंदै आएका जनताको आवाज नसुन्ने नेपाल सरकार विदेशबाट पठाइएको सानो कागजको खोस्टाप्रति के ध्यान जाला र? भन्न गाह्रो छ, र पनि लोकतान्त्रिक गणतन्त्र मोर्चा नेपाल (हङकङ)ले भने जस्तै सम्पूर्ण नेपाली जनताको चाहना राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाप्रति कंहीबाट कुनै पनि किसिमको षडयन्त्र, खेलवाड र दुस्साहस नहोस् भनेर नयाँ नेपालको चाहना गर्ने हरेक स्वदेशी र विदेशी नेपालीले भने अद्यावधि खबरदारी गर्दै आइरहेका छन्।
Popularity: 4%
July 30th, 2007
एचकेनेपाल डट कम, जुलाई २६ -
पनसेटिया प्राइमरी स्कुलको सहयोगार्थ साँगीतिक यात्राका क्रममा हङकङ आईपुगेका गायक तथा संगीतकार दीप श्रेष्ठको सम्मानमा यहाँका धरानेहरुले रात्री भोजको आयोजना गर्यो।

रात्रीभोजमा गीत प्रस्तुत गर्दै गायक दीप श्रेष्ठ। तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
धरानका हङकङबासीहरुको संस्था धरान हङकङ मञ्चको आयोजनामा विहीबार सम्पन्न रात्री भोजमा गायक श्रेष्ठले करीव एक दर्जन गीतहरु प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा गायक नागेन्द्र श्रेष्ठ, मनिष रायलगायतका स्थानीय कलाकारहरुले गीतहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष किसन राईले धरानका प्रतिनिधि व्यक्तित्व तथा स्रष्टाहरुलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिने क्रममा गायक तथा संगीतकार दीप श्रेष्ठको सम्मानमा रात्री भोजको आयोजना गरिएको बताए।
कार्यक्रमको अन्तमा सचिव रोशन लिम्बूले धन्यवाद ज्ञापन गरेका थिए। रात्री भोज सिम शा चुइस्थित सूर्य रेष्टुरेण्टमा आयोजना गरिएको थियो।
Popularity: 4%
July 30th, 2007
एचकेनेपाल डट कम, जुलाई २२ -
भोजपुर समाज सेवा समिति हङकङले विविध कार्यक्रमहरु आयोजना गरी आइतबार ताई मोशन कन्ट्री पार्कमा साउने संक्रान्ति मनाएको छ।
भोजपुर समाज सेवा समितिका अध्यक्ष बसन्त निरौलाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई रहनुभएको थियो भने विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित रहेका थिए। समिति सचिव झण्डा राईले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष खडकप्रसाद राईले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो।
कार्यक्रममा बिबिक्यु पार्टीका साथै साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।


तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 5%
July 24th, 2007
एचकेनेपाल डट कम-
कोरिया चुन्दो क्वान न्यु जेनेरशनको अपग्रेटिङ टेष्ट परीक्षा हालै जोर्डनस्थित गल्स गाइडमा सम्पन्न भएको छ।
अपग्रेटिङ टेष्ट परीक्षामा १ सय १० जना परीक्षार्थी सहभागी रहेका थिए। परीक्षाको परिक्षण ग्राण्ड मास्टर उ जुङ पिलद्वारा गरिएको यस क्लवका प्रमुख प्रशिक्षक राजु खड्का हुनुहुन्छ। वान चाई, जोर्डन, चुन वान र युन लोङगरी चार शाखामा झण्डै २ सय विद्यार्थीले प्रशिक्षण लिईरहेका छन्।
क्लवका प्रमुख प्रशिक्षक राजु खड्काले हालै कोरियामा सम्पन्न विश्व योङ मु डो प्रतियोगीतामा तेस्रो स्थान हासिल गर्नुभएको थियो।
तस्विरः आशिष र अधिराज राई “प्रकाश” / एचकेनेपाल डट कम।
Popularity: 4%
July 24th, 2007
एचकेनेपाल डट कम, जुलाई १५ -
खोटाङ समाज हङकङको आयोजनामा यहाँका नेपालीले आइतबार चुनवानस्थित रेडक्रस सोसाइटी शाखामा गएर रक्तदान गरेको छ।
रेडक्रससंग भएको सम्झौतामा बढीमा २५ जनाले मात्र रक्तदान गर्न सकिने प्रावधान रहे बमोजिम खोटाङ समाज हङकङद्वारा आयोजित रक्तदानमा २० जना नेपालीले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरुमा समाजका अध्यक्ष भोगेन एकले राईसहित समाजका अन्य पदाधिकारीहरु देवीदास राई, अधिराज राई, टुकादेव राई, जितेन्द्र राई र समाजका निवर्तमान सचिव किन्दर राईले रक्तदान गरेका थिए। त्यसै गरी अन्य संघसंस्थाको तर्फबाट किराया र आदिवासी जनजाति हङकङका अध्यक्ष नरहाङ राई, धरान हङकङ मञ्चका अध्यक्ष किसन राई, रोबिन राई र कमला राईले रक्तदान गरेका थिए।
कार्यक्रमका फोटो झलकहरु हेर्न तलको भिडीयो प्लेयरमा क्लिक गर्नुहोला। तस्विरः आयोजक / खोटाङ समाज हङकङ।
Popularity: 4%
July 19th, 2007
पहिरो पीडितलाई सहयोगको याचना
आदरणीय हङकङ तथा विश्वका विभिन्न स्थान रहनु हुने दाजुभाई तथा दिदी बहिनीहरु,
शायद यहांहरुले गत जुलाई १४ मा प्रकाशित कान्तिपुर दैनिकलगायत अन्य राष्ट्रिय पत्रपत्रिकाहरु पढिसक्नु भएको होला।
बाग्लुंगको जलजला र ग्वालिचौर गाबिसमा गएको भीषण बाढी पहिरोका कारण करीब २३ जना भन्दा बढीको ज्यान गइसकेको छ भने दर्जनौं घाइते अवस्थामा पोखरा र बाग्लुंग बजारको अस्पतालहरुमा छटपटाइरहेका छन्। पहिरोले उनीहरुको घरबारी सम्पूर्णरुपमा बगाएर लगेको छ। जसका कारण उनीहरुको न त बस्ने बासको ठेगान छ न त खाने गासको नै।
कैयनका परिवारमा बावुआमा पहिरोले बगाउनाले बालबच्चाहरु बिचल्लीमा परेका छन् भने कतिका बालबच्चा बगाउनाले आमा बावु शोकमग्न छन्। पश्चिमाञ्चल क्षेत्रको मध्य भागमा पर्ने बाग्लुंग जिल्लाका मानिसहरुको यस्तो भयंकर संकटमा साथ दिएर हामीले उनीहरुको अलिकति भएपनि राहत दिन सक्छौं कि भन्ने आसाका साथ सबै नेपाली तथा गैर नेपाली महानुभावहरुबाट सहयोगको लागि याचना गर्दै हिंडेका छौं । यस कार्यमा बाग्लुंग समाज हंगकंगले सहयोग उठाएर नेपालमा बाढी पहिरो पिडित जनहरुसम्म तपाईहरुको सहयोग पुर्याउने काममा सहयोग गरिरहको छ । त्यसैले सोही समाजको तर्फाट यहांहरुको सक्दो सहयोगको लागि हार्दिक अनुरोध गरेका छौं। सहयोग गर्न चाहनुहुने महानुभावहरुले तलका फोन नम्बरहरुमा सर्म्पर्क गर्नुहोला र सहयोग गरिदिनुहोला ।
धन्यवादः
सम्पर्क फोन नम्बरहरुः
६२५८६५०७ (चुरा), ६१८७११२२ (राजेश), ९७१७६८१३ (कृष्ण पून), ६२४१४९०१ (याम बुढाथोकी)
Popularity: 3%
July 18th, 2007
एचकेनेपाल डट कम, जुलाई १६ -
नेपाली सम्पर्क समिति हङकङले जननायक स्व. वीपी कोइरालाकी धर्मपत्नी सुशिला कोइरालाको सम्झनामा सोमबार जोर्डनस्थित नाँच घरको सभाकक्षमा श्रद्धाञ्जलि तथा शोक सभाको आयोजना गर्यो ।
नेपालका पूर्व प्रधानमन्त्री स्व. वीपी कोइरालाकी धर्मपत्नी सुशिला कोइरालाको ८४ वर्षको उमेरमा गत शुक्रबार बिहान निधन भएको थियो। कार्यक्रममा उहाँको मृतात्मप्रति हार्दिक श्रद्धाञ्जलि तथा शान्तिको कामना गर्दै शोक संतप्त परिवारप्रति हार्दिक सहानुभूति प्रकट गरिएको थियो। बाँकी भिडीयोमा -


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।
Popularity: 4%
July 17th, 2007
एचकेनेपाल डट कम, जुलाई १३ -
भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न र यसको समृद्धिले नेपाली समाजको विकासमा टेवा पुर्याउने उद्देश्यले विगत वर्षहरुमा झै यसपालि पनि भानुभक्तको १९३ औँ भानुजयन्ती विविध कार्यक्रहरु सहित टिके प्राथमिक विद्यालय, पिङसान हङकङको सभाहलमा नेपाली विद्यार्थी तथा लेखक साहित्यकारहरुद्वारा धुमधाम मनाइयो।
Video:

भानु जयन्तीको अवसरमा “भक्त भानुभक्त” नामक नाटकमा अभिनय गर्दै विद्यार्थी। तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। (Click here to view more pictures)
विभिन्न सरकारी विद्यालयहरुमा अध्ययानरत नेपाली विद्यार्थीहरु एवं शिक्षकहरुको व्यापक सक्रियतामा सम्पन्न भएको कार्यक्रमलाई हङकङ नेपलिज फाउण्डेशन्ले संयोजन तथा हङकङ साहित्य परिषद्ले आयोजना गरेको थियो। जुलाई १३ अर्थात असार २९ गतेका दिन बेलुकी ५ बजेदेखि ३ घंटासम्म संचालन भएको कार्यक्रममा हङकङेली नेपाली लेखक, पत्रकार, साहित्यकार, संघसंस्थाका प्रतिनिधिहरु, किन्डरगार्टेन, प्राथमिक तथा माध्यमिक तहका विधार्थीहरु, तिनका अभिभावकहरुको उपस्थिति रहेको थियो।

वरिष्ठ संगीतकार दिनेश सुब्बा भानुभक्तको तस्विरमा फूलको गुच्छा अर्पण गर्दै।
कार्यक्रममा भानुभक्तको जीवनी तथा नेपाली भाषाकै सेरोफेरोमा रहेर नेपाली गीत, कविताहरु वाचन गरिएको थियो। टिके प्राथमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, सर एलिस कादुरी माध्यमिक विद्यालय, आईकेटी माध्यमिक विद्यालय चाईवानका नेपाली विधार्थीहरुले कविता, जीवनी, नाटक नृत्यहरु प्रस्तुत गरेका थिए।
“भानुजयन्ती २००७” नाम दिइको कार्यक्रममा पिके कलेज हङकङको नेपाली विद्यार्थीहरुले हङकङमा पहिलो पटक बालकृष्ण समद्वारा रचित नाटक ‘भक्त भानुभक्त’ आंशिक मञ्चन गरिएको थियो। उक्त नाटककोलागि नेपाली वरिष्ठ संगीतकार दिनेश सुब्बाले संगीत संयोजन तथा हङकङेली गायक टोपराज तामाङ, मुना साम्सोहाङ लगायतका कलाकारहरुबाट स्वर संयोजन गरिएको थियो । संगीतकार सुब्बाले समेत गीतमा आफ्नो स्वर दिनु भएको थियो भने पिके कलेजबाट राहुल लिम्बू (भानुभक्त), अमर गुरुङ (ठूले घाँसी), कृष्ण थापा (घाँसी), सुप्रिया गुरुङ, सोनाम राना, अनिता गुरुङ (घँसेनीका) भुमिका निर्वाह गरेका थिए।

आफ्ना रचना पाठ गर्दै एक छात्रा।
हङकङ नेपलिज फाउण्डेशन्का अध्यक्ष एकराज राईले सम्बोधन गरी कार्यक्रमको आयोजना बारे स्पष्ट पार्नु भएपछि शुभारम्भको कार्यक्रमा टिके प्राथमिक विद्यालयकी प्रधानध्यापिका मिस ईपले आफ्नो विद्यालयहरुको गतिविधिरुका बारेमा स्पष्ट पार्नु भएको थियो। वरिष्ठ संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रमुख अतिथि सुब्बा, विशेष अतिथि हङकङ नेपाली महासंघका महासचिव हेम लिम्बू, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। कमलप्रसाद पौड्याल, महासंघका अध्यक्ष हेजेन राईले भने सम्बोधन सहित आफ्ना रचनाहरु पाठ गर्नु भएको थियो। प्रमुख अतिथिद्वारा भानुभक्तको तस्बिरमा मार्ल्यापण तथा दीप प्रज्वलन गर्दै भानुभक्तले नेपाली भाषामा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा विधार्थीहरुले आफ्ना तथा पाठ्क्रममा रहेका नेपाली कविताहरु सुनाएका थिए।
कविता सुनाउनेहरुमा चंचल गुरुङ, प्रतिक लिम्बू, सुमी राई, गरिमा गुरुङ, भिक्टोरिया राई, जेनेथ पुन, मनिसा गुरुङ,निसिम्मा राई, रुक्शना श्रेष्ठ, सृजना गुरुङ रहेका थिए। भानुजयन्तीमा विभिन्न विद्यालयका विद्यार्थीहरुले सामुहिक नृत्यहरु प्रस्तुत गरेका थिए। टिके प्राथमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, पीके कलेज, सर एलिस कादुरी, डेलिया मेमोरियल स्कुल छात्र छात्राहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए। यसरी नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरुमा सोनी गुरुङ, आरती गुरुङ, चंचल गुरुङ, सुप्रिया गुरुङ, संजिता गुरुङ, सुस्मिता गुरुङ, एरिका गुरुङ, सोनिया परियार, पूर्णिमा थापा, पूर्णिमा तामाङ, रक्षा साई, सुस्मिता, निस्सिमा राई, एरोन गुरुङ, विकल गुरुङ, निश्चल गुरुङ, मनिषा राई, अनिता गुरुङ, सोनामा राना, पुनम गुरुङ, फरहिन लिम्बू, ज्योति गुरुङ, दीपा गुरुङ सोनी लिम्बू, सृजना गुरुङ लगायतका विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए।

दर्शकको उत्साहजनक उपस्थिति। (Click here to view more pictures)
पीएच केन्द्रीय प्राथमिक विद्यालयका नेपाली विभाग प्रमुख देवराज राईले संचालन गर्नु भएको सो कार्यक्रममा पिके कलेजका शिक्षक विमल गुरुङले विद्यार्थी संयोजन, डेलिया उच्चतर माध्यमिक विद्यालयका शिक्षक दिपक गुरुङले स्टेज संयोजन, अमोद राई एवं एकराज राईले व्यवस्थापन संयोजन गर्नु भएको थियो। अन्तमा अमोद राईले धन्यवाद सहित कार्यक्रमको अन्त्यौलि गर्नुभएको थियो।
Popularity: 4%
July 13th, 2007
देवराज राई /एचकेनेपाल डट कम, जुलाई ९ -
हङकङ सरकारले वर्षेनी प्रदान गर्दै आएको ‘हार्मोनी स्कोलरसिप स्किम’ यस वर्ष अधिकमात्रामा गैर चिनिया विद्यार्थीहरु अध्यायनरत १२ प्राथमिक तथा ३ माध्यामिक विद्यालयका ४० जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ। त्यस मध्येमा विभिन्न विद्यालयहरुमा अध्ययन गरी रहेका ७ जना नेपाली विद्यार्थीहरु समेत रहेकाछन्।
प्राथमिक विद्यालयका विद्यारथीहरुलाई जनही २५ सय हङकङ डलर र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ५ हजार हङकङ डलर प्रतिव्यक्ति र प्रमाणपत्र प्रदान गरिएको छ। विद्यार्थीहरुको एकडेमीक रिजल्ट, बानी व्यवहार तथा आफ्नो समुदायमा उल्लेख्य भुमिका निर्वाह गरेका र गरी रहेका विद्यार्थीहरुलाई उनीहरुको प्रस्तुतिका आधारमा अवार्ड प्रदान गरिएको थियो।
शैक्षिकसत्र २००३ /२००४ देखि प्रदान गर्दै आएको यस स्कोलरसिप यस वर्ष पीएच केन्द्रीय प्राथमिक विद्यालय, डेलिया इङलिस प्राइमरी स्कुल, हङकङ ताओइष्ट एशोसिएसन स्कुल, इस्लामिक द्वारवुड प्राइमरी स्कुल, मान किउ एशोसिएशन प्राइमरी स्कुल, पो लेउङ कुक तान सिउ लिन प्राइमरी स्कुल, उमा इन्टरनेशनल प्राइमरी स्कुल, इस्लामिक प्राइमरी स्कुल, लि सिंङ ताई प्राइमरी स्कुल, सर एलिस कादुरी प्राइमरी स्कुल र याउमाताइ काइफोङ एसोशिएसन प्राइमरी स्कुलका विद्यार्थीहरुले प्राथमिक तहबाट अवार्ड प्राप्त गरेका थिए। प्राथमिक विद्यालयबाट दुई-दुईजना विद्यार्थीहरु छनौटमा परेका थिए। माध्यमिक विद्यालयहरुमा डेलिया मेमोरियल ब्रड वे, डेलिया मेमोरियल हिपवो र सर एलिस कादुरी सेकेण्डरी स्कुल वेष्ट कउलुनका जम्मा १६ जना विद्यार्थीहरुलाई समेत अवार्ड प्रदान गरिएको थियो।
सरकारी तथा गैर सरकारी विद्यालयहरुमा अध्ययन गरी रहेका नेपाली विद्यार्थीहरुमा पीएच केन्द्रीय प्राथमिक विद्यालयबाट चंचल गुरुङ र सेण्डीदिप श्रेष्ठ, इस्लामिक प्राइमरी स्कुलबाट निशा राई र सरला राना त्यस्तै गरी उमा इन्टरनेशनल प्राइमरी स्कुलबाट विपिन विश्वकर्मा र रबिन्द्र थापालाई २५ सय हङकङ डलर तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो। त्यस्तै गरी डेलिया मेमोरियल सेकेण्डरी स्कुल हिपवोबाट सुकु लिम्बूलाई ५ हजार डलर तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो।
जुलाई ९ तारिखका दिन जोर्डनमा अवस्थित स्काउट सेन्टरको एक विशेष सभाहलमा आयोजित समारोहमा कनस्टिच्युसन एण्ड मेनल्याण्ड अफेयर्सका उपसचिव मिस्टर हवार्ड चानले विद्यार्थीहरुलाई पुरस्कर तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रम कनस्टिच्युसन एण्ड मेनल्याण्ड अफेयर्सले कै आयोजना सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली संघसंस्थाको तर्फबाट बुद्धिबहादुर थापा र कुलप्रसाद गुरुङ उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाली विद्यार्थीहरु, अभिभावक, शिक्षक तथा विभिन्न देशका महावाणिज्यदूतहरुको समेत उपस्थिति रहेको थियो।
देवराज राई / एचकेनेपाल डट कम।
Popularity: 3%
July 11th, 2007
Previous Posts