Archive for September, 2007

इण्डियन आइडल प्रशान्त तामाङको जितमा हङकङमा खुसियाली (+Photo)

एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
हालै इण्डियन आइडल - तेस्रो उपाधि जितेर चर्चामा आएका प्रशान्त तामाङको जितको उमंग हङकङसम्म आईपुगेको छ।

दार्जिलिङबाट हङकङमा आई विभिन्न पेशामा आवद्ध रहेका नेपालीहरुको साझा संस्था कञ्चनजंगा एशोसियशनद्वारा आइतबार जोय बनाना बारमा आयोजित कार्यक्रममा प्रशान्त तामाङलाई बधाई तथा शुभकामना सन्देश व्यक्त गरिएका थिए।


आयोजक संस्थाले हङकङमा रहनुभएकी प्रशान्त तामाङकी फुपु मिना तामाङमार्फत प्रशान्तलाई बधाई पत्र प्रदान गरिएको थियो। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।


सोही दिन पोखराको कन्सर्टमा दीपाली र अंकितासंग प्रशान्त तामाङ। तस्विरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेपाली महा संघ हङकङका अध्यक्ष हेजेन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष महेन्द्र थापाले गर्नुभएको थियो। कार्यक्रममा जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, नेपाली महासंघका महासचिव हेम लिम्बु, आलोपालोका देवराज राई आदिले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बाले कार्यक्रमबारे बोल्नुभएको थियो।

कार्यक्रममा नेपाली कला मन्दिरका अध्यक्ष अमोद राई, गीतकार सोम थापाको समेत उपस्थिति रहेको थियो।

Popularity: 5%

6 comments September 30th, 2007

११औं एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप (+Photo)

भानु जवेगु / एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
सन् १९७८ मा पहिलो एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप सिंगापुरदेखि सुरु भएपछि यो च्याम्पियनसिपले निरन्तरता पाउंदै आएको छ।

यस च्याम्पियनसिपले निरन्तरता पाउने क्रममा दोस्रो च्याम्पियनसिप अप्रिल १९८० मा जाकार्ता इन्डोनिसियामा, तेस्रो मे १९८३ मा क्वालालम्पुर मलेसियामा, चौथो जुलाई १९८५मा सिंगापुरमा, पाँचौं सेप्टेम्बर १९८९ सिंगापुरमा, छैंठौं डिसेम्बर १९९१ काठमाडौं नेपालमा, सातौं अगष्ट १९९४ क्वालालम्पुर मलेसियामा, आठौं अप्रिल १९९८ मेलबोर्न अष्ट्रेलियामा, नवौं नोभेम्बर २००१ सिंगापुरमा, दसौं डिसेम्बर कोटा किनाबालु मलेसियामा सम्पन्न भै सकेको छ।


एसिया प्यासिफिक सितोरियो कराते डो हङकङको तयारी। तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

यस प्रतियोगिताको ११औं संस्करण आगामी नोभेम्बर २० देखि २६ सम्म हङकङमा हुने भएको छ। प्रतियोगितामा अष्ट्रेलिया, बंगलादेश, ब्रुनाइ, हङकङ, भारत, इन्डोनिसिया, जापान, इरान, मलेसिया, नेपाल, न्युजिल्याण्ड, प्यालेस्टाइन, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, श्रीलंका, भियतनाम, मकाउ र चाइनिज ताइपे गरी २४ राष्ट्रका करीब ७ सय ५० खेलाडीहरु सहभागी रहने छन्।

प्रतियोगितालाई सफल पार्न आयोजक समितिको सदस्य समेत रहेको सितोरियो कराते डो गोर्खा कम्युनिटीले पनि सहयोग गर्ने भएको छ। यस प्रतियोगिताको आयोजक एचके कराते युनियन रहेको छ। प्रतियोगिताका लागि हङकङ टिमको छनोट तथा तयारी कार्यहरु भै रहेका छन्। प्रतियोगितामा हङकङका ७८ जना खेलाडीहरुले हङकङ टिमको प्रतिनिधित्व गर्ने भएका छन्। जसमध्ये आयोजक एचके कराते युनियनसंग आवद्ध सितोरियो कराते डो गोर्खा कम्युनिटीका १३ जना नेपाली खेलाडीहरु छनोटमा परेका छन्।

छनोटमा परेका नेपाली खेलाडीहरुमा रबिना राई, श्रीषा श्रेष्ठ, मिनप्रसाद लिम्बु, रबिन्द्र थापा, सुबिरहाङ लिम्बु, राजेश श्रेष्ठ, टंक थापा, तेजेन्द्र राई, संगीता ज्ञवाली, बिनय गुप्ता, निलम राई, हिमाल थापा र सुनिता पुन रहेका छन्।

हालै मात्र स्थापना भएको सितोरियो कराते डो गोर्खा कम्युनिटीका खेलाडीहरुले हङकङ टिमको प्रतिनिधित्व गर्न पाउनु आफैमा एक सुखद अनुभूति हो। उच्च साहस, हौसला र दरिलो आत्मविश्वासका कारण नेपाली खेलाडीहरु हङकङ टिममा छनोटमा परेका हुन्।
च्याम्पियनसिप सम्बन्धि थप जानकारीको लागिः
http://hkska.com
http://apskf.com
http://www.karateworld.org
http://apskf.com/11thApskf

Popularity: 3%

9 comments September 28th, 2007

कांग्रेस एकीकरणको खुसियालीमा रात्रिभोज (+Photo)

एचकेनेपाल डट कम, सेप्टेम्बर २७ -
विभाजित नेपाली काँग्रेस पाँच वर्षपछि एकीकरण भएको खुसियालीमा नेपाली जनसम्पर्क समिति हङकङले जोर्डनस्थित कङगन रेष्टुरेण्टमा रात्रि भोजको आयोजना गर्‍यो।


नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष सनतोष घले। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेपाली जनसम्पर्क समिति हङकङले आयोजना गरेको रात्रिभोजमा नेपाली कांगेसप्रति आस्थावान व्यक्तित्वहरु र नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष सन्तोष घलेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समितिका प्रवक्ता जगत शाहले गर्नुभएको थियो। कार्यक्रममा समितिका भूतपूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कुलप्रसाद गुरुङले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो।


खुसियाली । थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेपाली जनसम्पर्क समिति हङकङद्वारा आयोजित बीपी जयन्तीको भिडीयो भलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

Popularity: 3%

Add comment September 28th, 2007

लिम्वुवान सीमाना सम्वन्धि हङकङ घोषणा जारी (+Photo)

एचकेनेपाल डट कम, सेप्टेम्बर २३ -
लिम्वुवान राष्ट्रिय मोर्चाद्वारा आइतबार आयोजित कार्यक्रममा लिम्वुवान सीमा सम्वन्धि जानकारी तथा वृहत छलफलपछि घोषण पत्र जारी गरेको छ।

लिम्वुवानवासीबीच भएको बृहत छलफलपछि लिम्वुवान राष्ट्रिय मोर्चाले लिम्वुवानको सीमा सम्वन्धि एक बूंदे हङकङ घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रका अनुसार -

१) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पाँनथर ३) ईलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य भनिनु पर्छ।


छलफलमा व्यस्त लिम्बुवान। तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।

उक्त क्षेत्रमा कुनै पनि हालतमा मासुको विलो बाँडेको जस्तो लिम्वुवानलाई विभक्त गरिनु नहुने सहभागीहरुले बताए। यदि कसैले त्यस्तो कार्य गरेमा लिरामो चुप लागेर नबस्ने धारणा पनि कार्यक्रममा राखिएको थियो।

इतिहासमा तराई क्षेत्रमा कहिल्यै पनि कोचिलाको प्रसंग नआएको र वि.सं. १८३१ मा लिम्वुवान गोर्खाको सह-राज्यमा रहेको अवस्थामा तराई सवै लिम्वुवान राज्यको रुपमानै गोर्खामा समावेश भएको कुरा छलफलमा उठेको थियो। कुनै कोचिला राज्य गोर्खामा प्रवेश भएको इतिहास देखिदैन। सहभागीहरुले बताए। यो कोचिला भर्खरै आएको शव्द भएको र लिम्वुवानलाई कमजोर बनाउने गम्भीर षडयन्त्र भैरहेको जनाएको छ। यसलाई लिम्वुवानको इतिहास बिगार्न ल्याईएको उपजको रुपमा छलफलले निश्कर्ष निकालेको छ। यस सवालमा लिरामोले आफ्नो मातृ रक्षाको लागि सदैव ढाल भएर अग्रपंत्तिमा रहने बताएको छ। यर्सथ सरकार र पार्टीहरुले लिम्वुवानको वास्तविकतालाई ख्याल नगरी कार्य नगर्न र श्रीलङका नवनाउन चेतावनी दिईएको थियो।

कार्यक्रममा सीमाना सम्वन्धि कार्यपत्र मोर्चाको महासचिव अविचन्द्र ईङनामले तयार गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अध्यक्ष दिल पालुङवा लिम्वु, सञ्चालन सचिव सुरेश सुव्वा गर्नु भएको थियो। कार्यक्रममा सदस्य एन.पी. पन्धाकले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।

अध्यक्ष दिल पालुङवा लिम्वुले घोषणा गरेको उक्त हङकङ घोषणामा लिम्वुवान विकास परिषदको प्रतिनिधि देवेन्द्र सेर्मा, किरात याक्थुङ चुम्लुङका सचिव ज्ञानु मेन्याङवो र जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष दिल फोम्वो, पत्रकार किसान राई, पत्रकार साहित्यकार प्रदिप कन्दङवा, नर कुमारी लिम्वु लगायतले हस्ताक्षर गरेका थिए।

विश्वभरका लिम्वु तथा लिम्वुवानवासीहरुको उभार दिन प्रतिदिन वढ्दै गएकोले निकट दिनमा आन्दोलनको विशाल ज्वारभाटा उठ्न सक्ने आयोजकले बताए छन्। यस्तो स्थिति आउन नदिन सरकार सचेत तथा संवेदनशील भएर लाग्नु पर्ने सुझाब लिरामोले दिएका छन्।

Popularity: 3%

12 comments September 25th, 2007

हङकङका नेपाली पत्रकारहरुद्वारा एनआरएनको कार्यक्रम बहिस्कार

एचकेनेपाल डट कम, सेप्टेम्बर २३ -
गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङद्वारा आइतबार साँझ युन लोङ थियटरमा आयोजित कार्यक्रमलाई हङकङका नेपाली पत्रकारहरुले संयुक्तरुपले बहिस्कार गरेका छन्।

सधैं विवादको घेरामा रहंदै आएको एनआरएन हङकङ यसपटक नेपाली मिडीयाप्रति गरेको अपमान र वेवास्ताका कारण पुनः विवादको घेरामा परेका छन्।

नेपाली मिडीयाले सधैं एनआरएनप्रति समर्थन र सहयोग प्रदान गरी सहकार्य गर्दै आएको भए पनि एनआरएन हङकङले हङकङको स्थानीय मिडीयालाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको पत्रकारहरुले महसुस गरेका छन्।

हङकङका जेठो पत्रिका एभरेष्ट साप्ताहिक पत्रिकाका सम्पादक किसन राई हलभित्र छिरे पनि बस्ने सिट सुरक्षित नभएको भन्दै बाहिरिएका थिए भने हङकङका पहिलो नेपाली इन्टरनेट पत्रिकाका प्रधानसम्पादक पशन तमू र सक्रिय फोटो पत्रकार जगत अम्बु गुरुङ मिडीयालाई कुनै प्रवेश पत्रको व्यवस्था नभएको जानकारी पाएपछि चुपचाप हलभित्रै नपसि बाहिरिएका थिए।

कार्यक्रम बहिस्कार गरेर हिडेको चाल पाएपछि आयोजकले पटक पटक फोन गरेर कायक्रममा उपस्थित हुन आग्रह गरेका गरेका भए पनि कार्यक्रम स्थलमा उपस्थित हुन चाहेनन्।

त्यसै गरी सनराइज साप्ताहिक पत्रिकाका सम्पादक भूपेन्द्र चेम्जोङ परिवारसंगै कार्यक्रम हेर्न गएको भए पनि पत्रकारप्रति वेवास्ता गरेको महसुस गरी हलभित्रै प्रवेश नगरी फर्केका थिए। त्यसैगरी नेपालएचके का सम्पादक प्रकाश के.सी., आलोपालोका सञ्चालक तथा हिमाल खबर पत्रिकाका हङकङ सम्वाददाता देवराज राई पनि एनआरएन हङकङले खबर नगरेका कारण कार्यक्रम स्थलमा पुग्न चाहेनन्।

व्यस्तताका कारण मिडीयालाई खवर गर्न भूलेको हुन सक्ने आशंकामा केही पत्रकारहरु युन लोङ थियटर हलमा पुगेका थिए। तर, प्राविधिक गल्ति नभएर आयोजकले योजनाबद्ध ढंगले पत्रकारहरुलाई निःशुल्क प्रवेश दिन नचाहेको जानकारी आएको थाहा हुन आएको छ।

नेपाली पत्रकारहरुले हमेशा एनआरएन हङकङलाई सहयोग गर्दै आएको भए पनि अब एनआरएन हङकङले नेपाली मिडीयासंग लिखित माफी नमागेसम्म एनआरएनका आगामी सबै कार्यक्रमहरु बहिस्कार गर्ने भएका छन्।

एभरेष्ट साप्ताहिक पत्रिकाका सम्पादक किसन राई, सनराइज साप्ताहिक पत्रिकाका सम्पादक भूपेन्द्र चेम्जोङ, एचकेनेपाल डट कमका सम्पादक पशन तमू र फोटो पत्रकार जगत अम्बु गुरुङबीच करिव ३ घण्टा युन लोङमा बसेको अनौपचारिक छलफलपछि एनआरएन हङकङले लिखित माफी नमागेसम्म एनआरएन हङकङको आगामी कुनै पनि कार्यक्रमका समाचारहरु सम्प्रेषण नगर्ने र आयोजित कुनै पनि कार्यक्रममा सरीक नहुने निर्णय गरेका छन्।

धनी र व्यापारीहरुको संस्था भनेर चिनिएको एनआरएन हङकङले किन नेपाली मिडीयासंग सहकार्य गर्न नचाहेर अन्तर्राष्ट्रिय न्युज च्यानलहरु सीएनएन र बीबीसीहरुमात्र खोजि हिड्छ? बुझ्न सकेको छैन। कि एनआरएन हङकङले नेपाली मिडीयालाई कार्यक्रममा निमण्त्रणा गर्दा एनआरएन हङकङको स्तर र गरिमा घट्ने हो? नेपाली पत्रकारहरुले बुझ्न सकेका छैनन्।

Popularity: 6%

49 comments September 24th, 2007

नेपाली जनसम्पर्क समितिद्वारा बी.पी. जयन्ती (+Video)

एचकेनेपाल डट कम -
नेपाली जनसम्पर्क समिति हङकङद्वारा बी.पी. जयन्तीको अवसरमा आयोजित कार्यक्रमको भिडीयो झलकहरु यहाँ समावेश गरिएको छ। कारणबस समयमै अपडेट हुन नसकेका भिडीयो क्लिपहरुलाई क्रमिक रुपले अपडेट गर्ने क्रममा यसलाई पनि अपडेट गरिएको हो।

Popularity: 5%

1 comment September 23rd, 2007

प्रशान्त तामाङलाई जिताउन हङकङबाट आर्थिक सहयोग

एचकेनेपाल डट कम, सेप्टेम्बर २१ -
इण्डियन आइडलको टप टु मा पुगेका नेपाली मूलका दार्जिलिङ निवासी प्रशान्त तामाङलाई जिताउंन हङकङका केही नेपालीहरुले आर्थिक सहयोग जुटाएर दार्जिलिङ पठाएका छन्।

चार जना युवाहरुको सक्रियतामा उठेको १० हजार हङकङ डलर (५१ हजार ६ सय भारतीय रुपैयाँ) प्रशान्त तामाङकी आमा रुपा तामाङले बुझिसकेको सन्त तामाङले एचकेनेपाल डट कमलाई फोन गरी बताए।

हङकङबाट फोन र एसएमएस गरेर भोट हाल्न पाउने व्यवस्था नभएकोले केही आर्थिक सहयोग उपलव्ध गराएको तामाङले बताए। यसरी उठाएर पठाइएको रकमलाई दार्जिलिङमा प्रशान्त तामाङको पक्षमा फोन र एसएमएसमार्फत भोट हाल्न खर्च गरिने सन्त तामाङले जानकारी दिए।

सन्त तामाङ, युवराज लिम्बु, देबुराज तामाङ र अमन लिम्बुको सत्रियतामा उक्त रकम उठाएर दार्जिलिङमा पठाइएको थियो।

इण्डियन आईडलका भिडीयो र न्युज अपडेटको लागिः www.dhukdhuki.com/mano/?p=46

Popularity: 4%

4 comments September 21st, 2007

हङकङमा तीज कार्यक्रम (+Photo)

एचकेनेपाल डट कम सेप्टेम्बर १६ -
एकीकृत नेपाली समाज हङकङ र चोमालोङमा बहूसाँस्कृतिक सामुदायिक केन्द्रको संयुक्त आयोजनामा आइतबार युन लोङ टाउन हलमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

त्यसै गरी, हङकङ नेपाली घरेलु कामदार युनियनले पनि सोही दिन याउ मा तेइ कम्युनिटी हलमा तीज कार्यक्रम भव्यताका साथ मनाएको छ।


तस्विरः प्रार्थना गुरुङ / एचकेनेपाल डट कम। हङकङ नेपाली घरेलु कामदार युनियनद्वारा आयोजित तीज कार्यक्रमको थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

हङकङमा रहेका नेपाली चेलीबेटीहरु एकै ठाउंमा भेला भै तीज पर्व मनाउने उद्धेश्यले हङकङ नेपाली घरेलु कामदार युनियनद्वारा आयोजित तीज कार्यक्रममा तीजका गीतहरुमा नाँचगान गरिएको थियो। श्याममाया लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई शोभा लामा र गायत्री थापाले संयुक्त रुपले सञ्चालन गरेका थिए। कार्यक्रममा फियोना महिला विभागकी अध्यक्ष बसन्तकुमारी राईले तीजको उपलक्ष्यमा आफ्ना मन्तव्य प्रकट गर्नुभएको थियो। कार्यक्रममा गृहमामिला विभागबाट प्रतिनिधिका रुपमा अरूणा गुरुङको उपस्थिति रहेको थियो।

दुबै कार्यक्रमहरुमा नेपाली महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

एकीकृत नेपाली समाज हङकङद्वारा सेप्टेम्बर १६ तारिख युन लोङ टाउन हलमा आयोजित कार्यक्रममा हङकङका नेपाली समाजमा योगदान गरेका केही नेपाली महिलाहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मान गरिने महिलाहरुमा पूर्णश्री गुरुङ, लक्ष्मी थापा राई, कान्त राई, भगवती मल्ल, कुमारी थापा, खेममाया पुन, ममता गुरुङ, इन्द्रकुमारी गुरुङ र बबिकुमारी गुरुङ रहेका छन्। सम्मानित महिला व्यक्तित्वहरुलाई प्रमुख अतिथि, अतिथि र अध्यक्षले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। एकीकृत नेपाली समाज हङकङद्वारा आयोजित तीज कार्यक्रमको थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

कार्यक्रममा गृह मामिला विभाग रेस रिलेशन युनिटकी सिर्ली चान र कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो।

हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईलगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता बुद्धिबहादुर थापा र सञ्चालन अशोक गहतराजले गर्नुभएको थियो।

रेन्बो महिला भोलन्टियर टिमका महिला दिदीबहिनीहरुले सो कार्यक्रममा तीजका गीतहरुमा नाँच गान गरेका थिए।

करिव ३ घण्टा लामो सो कार्यक्रमलाई हङकङमा पहिलो नेपाली इन्टरनेट पत्रिका एचकेनेपाल डट कमले पहिलो पटक सार्वजनिक कार्यक्रमलाई कार्यक्रम स्थलबाट प्रत्यक्ष भिडीयो प्रसारण गरिएको थियो। परीक्षणको रुपमा प्रसारण गरिएको उक्त कार्यक्रमलाई देश विदेशका करिव ३ हजार दर्शकले प्रत्यक्ष हेरेका थिए।

हङकङमा आयोजना गरिने अन्य कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्थाहरुले कार्यक्रम आयोजना गरिने दिनभन्दा दुई दिन अघि एचकेनेपाल डट कमसंग सम्पर्क गर्न सकिने पनि एचकेनेपाल डट कमले जनाएको छ।

Popularity: 5%

5 comments September 16th, 2007

मगर संघ हङकङको दशौं वार्षिकोत्सव (+Video)

MAGAR ASSOCIATION HK
10th Anniversary
मगर संघ हङकङको दशौं वार्षिकोत्सव

Date: 12 August 2007
Venue: India Club Jordan

Popularity: 12%

38 comments September 15th, 2007

मन्त्री पृथ्वीसुब्बा गुरुङ जापान हुदै हङकङमा (+Photo)

एचकेनेपाल डट कम, सेप्टेम्बर ७ -
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङ जापानको ४ दिने भ्रमणपछि शुक्रबार हङकङ आइपुग्नु भएको छ।

सेप्टेम्बर ३ मा जापान पुग्नु भएका मन्त्री गुरुङले भ्रमणको क्रममा त्यहाँका शिक्षा, संस्कृति, खेलकुद तथा विज्ञान प्रविधि मन्त्रीसंग नेपालमा पर्यटन विकासको लागि विभिन्न विषयमा छलफल भएको थियो। मन्त्री गुरुङका स्वकीय सचिव पारुराम (प्रभु) थापाका अनुसार निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखरामा क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, पहाडका विभिन्न १४ वटा विमानस्थलहरुलाई सुदृढीकरण, सुधार तथा कालो पत्र गरिने साथै लुम्बिनी र पशुपतिको विकासको लागि छलफल भएका थिए।


रात्रीभोजमा मन्तव्य प्रकट गर्नुहुदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङ। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेपाल सरकारको तर्फबाट मन्त्री गुरुङले राख्नु भएको प्रस्तावप्रति जापान सरकार सकारात्मक रहेको मन्त्री गुरुङले एचकेनेपाल डट कमलाई बताउंनु भयो। ‘उहाँहरु सहयोगको लागि सकारात्मक हुनुहुन्छ’- मन्त्री गुरुङले भन्नुभयो। ‘उहाँहरु बीचको छलफलपछि नेपाल सरकारलाई सहयोग उपलव्ध हुन्छ,’ - उहाँले भन्नु भयो।

भ्रमणको क्रममा मन्त्री गुरुङले जापानमा रहेका नेपालीहरुसंग भेटघाट गर्नुभएको थियो। नेकपा एमाले केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको कार्यक्रम र नेकपा एमाले जापान कमिटीद्वारा आयोजित रात्रीभोजमा सहभागी हुनु भएको थियो।


जापानको भ्रमणपछि हङकङ आइ पुग्नु भएका मन्त्री गुरुङ सबभन्दा पहिले हङकङस्थित नेपाल वायु सेवा निगमको कार्यालयमा पुग्नु भएको थियो। उहाँले निगमका कर्मचारीहरुलाई स्वार्थरहित भावनाले काम गर्न निर्देशन दिनु भएको थियो। मन्त्री गुरुङले असल कामको सही मूल्याङ्कन गरिने र खराब काम गर्ने कर्मचारीलाई कडा कारबाही गरिने चेतावनी समेत दिनुभएको विशेष सूत्रले एचकेनेपाल डट कमलाई बताए।

हङकङमा रहेका गृह जिल्लाबासी ‘लमजुङ सेवा समिति’द्वारा जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित रात्रीभोजमा सरीक हुनुभएका मन्त्री गुरुङले जिल्ला र देशको समसामायिक विषय बस्तुहरुमा केन्द्रीत रहेर बोल्नु भएको थियो। एक वर्षभित्र लमजुङमा जहाज पुर्‍याउने आफ्नो प्रयास रहेको मन्त्री गुरुङले बताउंनु भयो। ‘शितल स्वाँरा भञ्ज्याङमा विमानस्थल निर्माण गर्ने निर्णय सरकारलाई पेश गरेको छु’ -उहाँले भन्नु भयो।

लमजुङ जिल्लाबासीको उल्लेखनीय उपस्थिति रहेको रात्रीभोजको औपचारिक कार्यक्रमको अध्यक्षता लमजुङ सेवा समितिका अध्यक्ष दिलीप गुरुङले गर्नु भएको थियो। उपाध्यक्ष सूर्यबहादुर गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव मोहन रानाले गर्नु भएको थियो।


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

8 comments September 8th, 2007

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2007
M T W T F S S
« Aug   Oct »
 12
3456789
10111213141516
17181920212223
24252627282930

Posts by Month

Posts by Category