Archive for October, 2007
महेश राई, एचकेनेपाल डट कम, अक्टोबर २८ -
हङकङ नेप्लिज तेक्वान्दो एसोशिएशनको पाचौं वार्षिक सभा आइतबार याउमा तेइस्थित कम्यूनिटी सेन्टरमा सम्पन्न भयो।

तस्विरः प्रार्थना गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
सचिव सुधिर गुरुङको स्वागत मन्तव्यबाट विहान ११ वजे सुरु भएको सभालाई एसोशिएशनका प्रेसिडेण्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङले संचालन गर्नु भएको थियो। ब्लाक बेल्ट सदस्यता रहने उक्त वार्षिक सभामा २१ जना खलाडीहरुको उपस्थित रहेका थिए। सभामा वार्षिकउपलब्धिका वारेमा चर्चा गर्दै नयाँ कार्यकारी समितिको गठनका साथै विभिन्न योजनाका वारेमा ठोस निर्णय गरेको छ भने ब्ल्याक बेल्ट शुल्क पनि घटाएको छ।
चारवटा शाखा प्रशिक्षण केन्द्रका प्रशिक्षकहरु सहित ८ सदस्यीय कार्यकारी समिति गठन भएको छ भने समितिमा मास्टर प्रेम गुरु प्रमुख प्रशिक्षकमा, देवचन्द्र गुरुङ सहायक प्रमुख प्रशिक्षकमा, सचिवमा सुधिर गुरुङ, कार्यक्रम सचिवमा रुद्रलाल गुरुङ, कोषाध्यक्षमा याम गुरुङ र अन्य सदस्यहरुमा महेश राई, देउकाजी गुरुङ र सुश्री संजिता गुरुङ चयन भएका छन्।
अन्त्यमा पत्रकार सम्मेलनको आयोजना गरिएको उक्त सभामा विभिन्न पत्र-पत्रिकाका पत्रकारहरु पनि उपस्थित थिए। सचिव सुधिर गुरुङ र कार्यक्रम सचिव रुद्रलाल गुरुङद्वारा संयूत्तरुपमा पत्रकारहरुलाई एसोसिएसन र यसका कार्यक्रमको वारेमा जानकारी गराइएको थियो। पत्रकारहरुको प्रश्नको जवाफ प्रेसिडेण्ट तुलसीकुमार गुरुङले दिनुभएको थियो।
Popularity: 3%
October 31st, 2007
एचकेनेपाल डट कम, अक्टोबर २८ -
खोटाङ समाज हङकङले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आइतबार ताइमोशन कन्ट्री पार्कमा वार्षिकोत्सव सम्पन्न गरेको छ।

तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
समाजको दशौं वार्षिकीको अवसरमा समाजद्वारा प्रकाशित खोटाङ स्मारिका र किन्दर राईद्वारा लिखित चाइनिज पढ्न र लेख्न आफैं सिक्नुहोस् दुई पुस्तक महावाणिज्यदूत केशवप्रसाद भट्टराई र समाजका अध्यक्ष भोगेन्द्र राईले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो।
सोही कार्यक्रममा सामाजिक क्षेत्रका हेजेन राई, तेजबहादुर राई, रामकाजि राई, बसन्तकुमारी राई र साहित्यकार रामकृष्ण बान्तवालाई महावाणिज्यदूत भट्टराईबाट सम्मान पत्र प्रदान गरिएको थियो। त्यसै गरी साहित्य क्षेत्रमा मालिकराम राईलाई हाङयुग अज्ञातबाट, नरजीत राईलाई प्रदीप कन्दङवाबाट र हिमकला राईलाई बसन्तकुमारी राईबाट र किन्दर राईलाई किसन राईबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।
साँगीतिक क्षेत्रमा योगदान दिने केशव राई र कमल राईलाई समाजका निवर्तमान अध्यक्ष इन्द्रसिंह राईबाट, मिस्टर हङकङ नेपाल २००६ शम्भुकुमार तामाङलाई समाजका सल्लाहकार खडका मोक्तानबाट र १२ वर्षकै उमेरमा ब्लाक बेल्ट लिन सफल आकाश सन्तोष राईलाई हेम लिम्बुबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।
समाजका अध्यक्ष भोगेन्द्र राईको अध्यक्ष्यता, सचिव सुबास राईको सञ्चालन र सहसचिव जीतेन्द्र राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत हेमलाल भट्टराई, विशेष अतिथि हेम लिम्बु र नेपाली जनजातिका महासंघ, एचकेनेपाल डट कमलगायत अन्य क्षेत्रीय तथा जातिय संघसंस्थाका प्रतिनिधि तथा सम्मानित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थित रहेका थिए।
ताई मो सान कन्टि्रपार्कस्थित विविक्यू स्पोर्टमा सम्पन्न उक्त कार्यक्रमको दोश्रो चरणमा स्थानीय गायक तथा गायीकाहरुले विभिन्न गीतहरु गाएर मनोरन्जन दिलाएका थिए।
Popularity: 3%
October 31st, 2007
एचकेनेपाल डट कम, अक्टोबर २७ -
हङकङस्थित नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईको सम्मानमा हङकङ नेपाली महासंघले शनिवार जोर्डनको कङ्गन रेष्टुरेण्टमा एक स्वागत कार्यक्रमको आयोजना गर्यो।
करिव ३ वर्षसम्म रिक्त रहेको महावाणिज्यदूतको पदमा नियुक्त भै भट्टराई अक्टोबर ४ तारिख हङकङ आउनुभएको थियो। उहाँको सम्मानमा महासंघले एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो।

तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
महावाणिज्यदूत भट्टराईले आफ्नो कार्यक्षेत्र र कर्तव्यको दायराभित्र रही नेपाली समुदायलाई सेवा गर्न हङकङ आएको बताउनु भयो। आफू सदैव नेपालीलाई पूर्ण रुपले सहयोग गर्न तयार रहेको बताउंदै हङकङका नेपालीहरुको समस्याको पहिचान गरी समाधान गर्दै जाने बताउंनु भयो। महावाणिज्यदूत भट्टराईले आफूले गर्न नसकिने र गर्न नमिल्ने काम गर्छु भनेर झुटो आश्वासन दिन चाहन्न भन्नुभयो। सोही अवसरमा नजिक आउदै गरेको शुभ दीपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो।

हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईले महावाणिज्यदूत भट्टराईलाई हङकङमा स्थापित संघसंस्थाका बारेमा जानकारी दिनुभएको थियो। अध्यक्ष राईले केही संघ संस्थाहरु नीजि स्वार्थका लागि स्थापित भएका भए पनि अधिकांश संघसंस्थाहरु नेपाली समाजको आवश्यकता अनुसार स्थापना भएको बताउंनुभयो।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष मणिकिराँत बान्तवा, महासंघका सदस्य किसन राई र बिओसी एसोसियसनका अध्यक्ष डम्बर थापाले पनि बोल्नुभएको थियो। महासंघका अध्यक्ष हेजेन राईको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमलाई महासंघका उपाध्यक्ष भक्त गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चालन महासचिव हेम लिम्बुले गर्नुभएको थियो।
कार्यक्रममा पूर्व वाणिज्यदूत हेमलाल भट्टराईको स्थानमा गत २७ सेम्टेम्बर हङकङ आउनुभएका सुशिलकुमार लम्साल, दूतावासका सहचारीहरु उत्तमप्रसाद न्यौपाने, लेखनाथ गौतम, वायु सेवा निगमका क्षेत्रीय प्रवन्धक शान्ता बस्नेत, महासंघका सल्लाहकार भोलानाथ थापाका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
Popularity: 4%
October 28th, 2007
जनसम्पर्कको दशैं साँगीतिक कार्यक्रम सम्पन्न (+Video)
महावाणिज्यदूतको पहिलो सार्वजनिक साक्षात्कार (+Photo)
एचकेनेपाल डट कम, अक्टोबर २१ -
हिन्दूहरुको महान चाड बडा दशैं र तिहारको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति हङकङद्वारा आइतबार काउलुन पार्कमा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरियो।
काउलुन पार्कमा आयोजित साँस्कृतिक कार्यक्रमको भिडीयो झलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।
हिन्दूहरुको महान चाड दशैं र तिहारको अवसर पारेर आयोजना गरिएको साँगीतिक कार्यक्रममा शितल पुन, कमल राई, शान्तमान राई, सन्तोष गुरुङ, जौ गुरुङलगायतका नयाँ तथा पूराना दर्जनौं कलाकारहरुले आधुनिक, लोक तथा पप गीतहरु गाएका थिए। कार्यक्रममा लोक दोहोरीका साथै डाँडा गाउंलेका महिला कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए।

गीत प्रस्तुत गर्दै स्थानीय कलाकारहरू।
कार्यक्रममा दर्शक तथा अतिथिहरुलाई निःशुल्क वितरण गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रमको बीच बीच खुलाइएको थियो। कार्यक्रममा करिव १५ जनालाई गीत संगीत सुन्ने एमपी फोर प्लेयर उपहार वितरण गरिएको थियो। समितिका अध्यक्ष सन्तोष घले, वरिष्ठ संगीतकार दिनेश सुब्बा, एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू, नेपाली बौद्ध समाजका अध्यक्ष डेनी थापा र जनसम्पर्क समितिका प्रदीप थापा र राम गुरुङलगायतले भाग्यशाली एमपी फोर विजेताहरुलाई उपहार वितरण गर्नुभएको थियो।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष सन्तोष घले।

महावाणिज्यदूत केशवप्रसाद भट्टराई दशैं तथा तिहारको शुभकामना मन्तव्य व्यक्त गर्नु हुंदै।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
वरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीत संयोजन रहेको कार्यक्रमलाई लक्ष्मी थापा र गायत्री थापाले सञ्चालन गरेका थिए। यसअघि औपचारिक कार्यक्रममा नेपाली महावाणिज्यूत केशवप्रसाद भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। पहिलो पटक सार्वजनिक समारोहमा उपस्थित हुनुभएका महावाणिज्यदूत भट्टराईले देशविदेशमा रहेका नेपालीहरुलाई बडा दशैं तथा तिहारको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
सोही दिन हङकङका नेपालीहरु हुम हामस्थित महावाणिज्यदूतको निवासमा गै महावाणिज्यदूत भट्टराईबाट दशैंको टीका र आशिर्वाद ग्रहण गर्नुका साथै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए।
Popularity: 9%
October 21st, 2007
देवराज राई हङकङ /एचकेनेपाल डट कम, अक्टोबर २० -
किन्सान चुङ एण्ड आर्टिष्ट एशोसिएशनको आयोजनामा एशियाकै संभवत विशाल पुस्ताकालय सेन्ट्रल लाइब्रेरीको प्रदर्शनी कक्षमा नेपाली कलाकार हरिप्रसाद गुरुङ लगायत स्थानीय १८ जनाभन्दा बढी कलाकारहरुद्वारा सृजना गरिएका आर्ट्सहरुलाई प्रर्दशनीकालागि राखेको छ।

अक्टोर १८ तारिखदेखि शुरु भएको उक्त प्रदर्शनी यही २१ अक्टोबरसम्म संचालन हुने छ। नेपाली कलाकार गुरुङद्वारा १० उत्कृष्ट वाटर कलर प्रयोग गरी तयार पारिएका फाइन आर्टसहरु प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ। उनले दक्षिण एशियाली राष्ट्रका महिला तथा बालबालिकाहरुका पोट्रेटहरु यसपालि प्रदर्शनमा राखेका छन्।

तस्विरः जगत अम्बु गुरुङ /एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
गुरुङका अनुसार यो प्रदर्शनी उनको १२ औं पटक हो। यस अघि पनि सेन्ट्रल लाइब्रेरी लगायतका हङकङका विभिन्न ठाउँहरुमा सामुहिक प्रदर्शनी गरी सकेका छन्। किन्सन चुङ एण्ड आर्टिष्ट एशोसिएशनकै ब्यानरमा ताइपो हङकङमा सोलो प्रदर्शनी गरी सकेको गुरुङले जानकारी गराए।

पोखरा लेक साइड घर भएका ३५ वर्षीय गुरुङ हाल जोर्डनमा बसोबास गर्दै आएका छन्। स्थानीय चिनिया कलाकारहरु भन्दा फरक शैली र विषय समेत छनौट गरेका उनको कलाले स्थान पाइरहेको छ। किन्सान चुङकै ग्यालरीमा विगत ३ वर्ष यतादेखि आर्टसमा साधनारत हरिले सन् २००२ सालमा सम्पन्न भएका अल ओभर हङकङ आर्टस एक्जिविसनमा सान्त्वना पुरस्कार पाएका थिए।
Popularity: 4%
October 20th, 2007
एचकेनेपाल डट कम, अक्टोबर १७ -
हंगकंगस्थित चुनमुन क्याफे समुद्रको बालुवामाथि उभेर हङकङका पत्रकार, कवि लेखक तथा वुद्घिजीविहरुको बाहुलीवाट बुधबार सृजनशील साहित्य समाज हङकङद्वारा अर्धबाषिर्क रुपमा प्रकाशित साहित्यिक पत्रिका सृजनशील साहित्य नामक पत्रिकाको सामूहिक र अत्यन्तै नौलो ढंगबाट विमोचन गरीयो।


कार्यक्रमको अध्यक्षता नेपाली प्रतिष्ठान हङकङका सदस्य तथा भयवादका प्रवर्तक उपन्यासकार देश सुब्बाले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली महासंघ हङकङका अध्यक्ष हेजेन राई साथै विशेष अतिथिहरुमा नेपाली प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे, जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथिहरुमा कथाकार प्रदिप कन्दङवा कथाकार प्रकाशकृष्ण वाक्सिला कवि आशिष लिम्वु कथा तथा गीतकार हिमकला राई कवियत्री आशा राई विदिर्ण हुनुहुन्थ्यो ।
सृजनशील साहित्य समाज हङकङका अध्यक्ष तथा सृजनशील अराजक समूहका सदस्य कवि हांयुग अज्ञात सोही समाजका सचिव कवि नरेश सुनुवारले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो भने सो कार्यक्रम कवि खेरेश देवेन्द्रले सञ्चालन गर्नु भएको थियो। विमोचन कार्यक्रम पश्चात विविक्यु स्पटमा बसेर चियापान र मासु खादै त्यहा उपस्थित कवि कवियत्रीद्वारा कविता वाचन गरिएको थियो। कवि हांयुग अज्ञातले आगामी दिनहरुमा पनि निरन्तर अर्धबाषिर्क रुपमा सृजनशील साहित्य पत्रिका प्रकाशन गर्दै लैजाने योजना रहेको कुरा बताउनु भयो। सृजनशील साहित्य पत्रिका तीन खण्डमा विभाजित गरी प्रकाशित गरिएको छ । पहिलो खण्डमा नेपालका कवि साहित्यकार तथा समालोचकका उत्कृष्ठ रचनाहरु छन् भने दोस्रो खण्ड हङकङमा क्रियाशील साहित्यकारहरुका रचना रहेकाछन् । तेस्रो खण्ड अंग्रेजीमा लेखिएका र अनुवाद गरिएका विभिन्न नेपाली साहित्यकारका रचनाहरु समेटिएकाछन्।

Popularity: 3%
October 18th, 2007
एचकेनेपाल डट कम, अक्टोबर १४ -
लोकतान्त्रिक सरकारको प्रहरीद्वारा मारिएका राजकुमार आङदेम्बे लिम्बुलाई शहीद घोषणा गरिनु पर्ने माग राख्दै लिम्बुवान राष्ट्रिय मोर्चाले हत्याको घोर निन्दा र भत्सर्ना गरेको छ।
लिम्बुवान स्वायत्त आन्दोलनमा सक्रिय रहंदै आएका आङदेम्वे लिम्बुको लोकतान्त्रिक सरकारको प्रहरीले चलाएको गोली प्रहारबाट अक्टोबर ७ तारिख मृत्यु भएको थियो। लिम्बुवान झापा केर्खामा प्रहरीले विना चेतावनी गोली हानी आङदेम्वे लिम्बुको हत्या गरेका थिए।
लिम्बुवानमा राजकुमार आङदेम्वे लिम्बुलाई लिम्वुवान स्वायत आन्दोलनको पहिलो शहीद घोषणा सकेको छ भने सरकारबाट तत्काल आङदेम्वेलाई शहीद घोषणा गरिनु पर्ने माग राख्दै आइरहेका छन्।
लिम्बुवान मुक्ति मोर्चाद्वारा अक्टोबर १४ आइतबारका दिन आयोजित शोक सभा तथा श्रद्धाञ्जलि कार्यक्रममा वक्ताहरुले हत्याको घोर निन्दा र भत्सर्ना गरेका थिए। मोर्चाका महासचिव अविचन्द्र इङनामले लिखित मन्तव्य सुनाउंदै हत्याको निन्दा गर्नुभएको थियो।

राजकुमार आङदेम्बे लिम्बु।
मोर्चाका अध्यक्ष दिल पालुङ्वाले लिम्बुवान क्षेत्रका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौला भएता पनि लिम्बुवानको शान्तिपूर्ण आन्दोलनमा कर्फ्यु लगाइनु र लिम्बुवानको छोरो आङदेम्वेलाई मारिनु नियतवस भएको बताउनु भयो। उहाँले आङदेम्वेको आलो रगतले लिम्बुवानको आन्दोलनमा थप उर्जा र शक्ति प्रदान गरेको बताउंनु भयो। आङदेम्वेको आलो रगत, रक्तवीज जस्तै अझ बढ्दै जाने उहाँले बताउंनु भयो। अध्यक्ष पालुङवाले आङदेम्वेलाई लिम्बुवान स्वायत्त आन्दोलनको पहिलो शहीद घोषणा गर्दै सरकारले पनि तत्काल शहिद घोषणा गर्न माग गर्नुभयो।
सोही कार्यक्रममा आङदेम्वेको परिवारलाई आर्थिक सहयोग स्वरुप उठाइएको ४० हजार रुपैयाँ मोर्चाले चाँडै नेपाल पठाइने जनाएको छ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा लिम्बुवान विकास परिषदका अध्यक्ष प्रकाश याक्सो, किरात याक्थुङ चुम्लुङका कोषाध्यक्ष हस्त मास्वा र किरात धर्म तथा साहित्य उत्थान संघका कमल लिङदेनले पनि मन्तव्य प्रकट गर्नुभएको थियो। मोर्चाका सचिव सुरेश सुब्बाले सञ्चालन गर्नुभएको कार्यक्रममा नवराज काम्वाङले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।
Popularity: 3%
October 17th, 2007
एचकेनेपाल डट कम, अक्टोबर १६ -
हिन्दूहरुको महान चाड दशैं तथा दीपावलीको सुखद अवसरमा फियोनाले भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो।

गत आइतबार मङ्की हिलमा आयोजित कार्यक्रममा बिबिक्यु पार्टी, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका थिए।

फियोनाका अध्यक्ष सत्य घलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रुपमा सल्लाहकार ओमराज सम्वाहाम्फे, कमल पौडेल, रमेश गुरुङ, च्याम्बर अफ कमर्सका अध्यक्ष तेजबहादुर राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
कार्यक्रममा सल्लाहकार रमेश गुरुङको शुभकामना मन्तव्य, उपाध्यक्ष बसन्तकुमारी राईको स्वागत मन्तव्य र सञ्चालन सचिब कर्ण कोरंगीको रहेको थियो।
Popularity: 3%
October 16th, 2007
एचकेनेपाल डट कम अक्टोबर १४ -
हङकङका तमु सञ्चारकर्मीहरुलाई तमुहरुको साझा संस्था तमु ट्हो हृयुल हङकङले आइतबार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा एक समारोहबीच सम्मान गर्यो।
भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।
तमु ट्हो हृयुल हङकङद्वारा सम्मानित सञ्चारकर्मीहरुमा एचकेनेपालका प्रधानसम्पादक पशन तमू, सोही वेब साइटसंग आवद्ध फोटो पत्रकारद्वय जगत अम्बु गुरुङ र प्रार्थना गुरुङ, नेपाल पोष्टका कुलप्रसाद गुरुङ र खुर्सानीका सञ्चालक हुमबहादुर गुरुङ रहेका छन्।

एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू।
तमु ट्हो हृयुल हङकङले हङकङमा रहेर पनि सञ्चार क्षेत्रमा तमु सञ्चारकर्मीहरुले दिनुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाएको छ। सम्मान पत्रमा तमु जातिको इज्जत र प्रतिष्ठालाई दिगो बनाउन सञ्चारकर्मीको अहम भूमिका रहने जनाउदै सम्मानित सञ्चारकर्मीहरुको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।

फोटो पत्रकार जगत अम्बु गुरूङ।
हङकङको तमु सञ्चारकर्मीहरुले दिनुभएको योगदानको उच्च मूल्याङन गरेर दिइने सम्मान अत्यन्त महत्वपूर्ण हुने हुंदा यसको गरिमा ठूलो रहेको अध्यक्ष एकबहादुर गुरुङले भन्नुभयो। तमुहरुको गरिमा, इज्जत र प्रतिष्ठालाई उच्च बनाउन तमु सञ्चारकर्मीहरुले दिनुभएको योगदानको हामी प्रशंसा र सम्मान गर्छौं भन्नु भयो।

नेपाल पोष्टका कुलप्रसाद गुरूङ। तस्विरः जगत अम्बु गुरुङ र प्रार्थना गुरुङ एचकेनेपाल डट कम।
संस्थाका सल्लाहकार अर्जुन गुरुङले तमु सञ्चारकर्मीहरुलाई सम्मान गरिएको देख्न पाउंदा आफूलाई अत्यन्त गर्व लागेको बताउनुभयो। हङकङको व्यस्त समयमा पनि आफ्ना केही महत्वपूर्ण समय सञ्चार क्षेत्रमा लगानी गरेर हामीलाई सुसूचित हुने अवसर दिनुभएकोमा सञ्चारकर्मीहरूलाई धन्यवाद दिनुभयो। त्यसै गरी सचिव गणेश गुरुङले तमु सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहको बताउंदै तमु सञ्चारकर्मीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

फोटो पत्रकार प्रार्थना गुरूङ।
संस्थाका वरिष्ठ तमु व्यक्तित्वहरुले तमु परम्परा अनुसार शिरमा सेतो फेटा र घाँटीमा खादा लगाई तमु सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो। हङकङका नेपाली संस्थाले स्थानीय सञ्चारकर्मीहरुको मूल्यांकन गरी सम्मान गरिएको हङकङमा सम्भवतः यो पहिलो पटक हो।
तमु ट्हो हृयुल हङकङका अध्यक्ष एकबहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष इच्छाकुमारी गुरुङको स्वागत मन्तव्य र सञ्चालन सचिव गणेश गुरुङको रहेको थियो। कार्यक्रममा संस्थाका सल्लाहकारहरु र तमुहरुको क्षेत्रीय समितिका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा तमु ट्हो हृयल हङकङको आधिकारिक वेब साइट एचकेतमु डट कमलाई सार्वजनिक गरिनुका साथै संस्थाद्वारा आगामी डिसेम्बर २ तारिख युन लोङ थियटर हलमा प्रदर्शन गरिन लागेको रोधी साँझ चौथोका बारे जानकारी दिइएको थियो।
Popularity: 4%
October 15th, 2007
एचकेनेपाल डट कम, अक्टोबर १४ -
हङकङमा रहेका तमु -गुरुङ) हरुको साझा संस्था तमु ट्हो हृयुलको आधिकारिक वेब साइट एचकेतमु डट कम ( HKTamu.com )आइतबार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा एक समारोहबीच सार्वजनिक गरियो।
तमु ट्हो हृयुल हङकङ अध्यक्ष एकबहादुर गुरुङले एचकेतमु डट कमको गृह पृष्ठमा औलाले इन्टर बटन दबाएर वेब साइटको औपचारिक उद्घाटन गर्नुभएको थियो।

तमु ट्हो हृयुल हङकङको आधिकारिक वेब साइटको समुद्घाटन गर्दै तमु ट्हो हृयुलका अध्यक्ष एकबहादुर गुरुङ (तस्विरमा बायाँ)। तस्विरः प्रार्थना गुरुङ / एचकेनेपाल डट कम। १४ अक्टोबर २००७ हङकङ।
वेब साइटको समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले कम्प्युटरको युगमा एउटा सानो गाउं कम्प्युटरको माध्यमद्वारा विश्व संजालमा फैलिसकेको अवस्थामा हामी हङकङमा रहेका तमुहरुले त्यसकै अनुसरण गरेको बताउंनु भयो। हामी पनि यही माध्यमबाट अगाडि बढ्ने प्रयासमा छौं।
हङकङमा रहेका तमुहरुको गतिविधि, तमु भाषा, कला, साहित्य तथा संस्कृति सम्बन्धि लेख रचनाहरु प्रकाशन गर्दै जाने र तमुहरुको सूचना तथा जानकारीको संबाहकका रुपमा वेब साइटलाई निरन्तरता दिदै जाने तमु ट्हो हृयुल हङकङले जनाएको छ।
उक्त वेब साइटलाई एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमुले फोटो पत्रकार जगत अम्बु गुरुङ र मनसुन भिजनका मनु गुरुङको सहयोगमा निर्माण गर्नुभएको हो।

सोही अवसरमा हङकङका तमु सञ्चारकर्मीहरुलाई तमु ट्हो हृयुल हङकङले सम्मान गरेको थियो। तमुहरुको गरिमा र प्रतिष्ठालाई उचो बनाउन गरेको योगदानको कदर गर्दै सम्मान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ। यसरी सम्मानित हुने सञ्चारकर्मीहरु पशन तमू, जगत अम्बु गुरुङ, कुलप्रसाद गुरुङ, हुमबहादुर गुरुङ र प्रार्थना गुरुङ रहेका छन्।
त्यसै गरी ड्रिम्स अनलिमिटेडले आयोजना गरिएको ट्यालेन्ट हण्ट प्रतियोगितामा शीर्ष उपाधि जितेका सुश्मिता गुरुङ (हाल नेपालमा) र फस्ट रनर अप सुनिता गुरुङलाई समेत सम्मान गरिएको थियो।
सोही अवसरमा तमु ट्हो हृयुल हङकङको आयोजनामा आगामी डिसेम्बर २ तारिखका दिन युन लोङ थियटर हलमा प्रदर्शन गरिन लागेको रोधी साँझ चौथोका बारेमा जानकारी गराइएको थियो। नेपालबाट ६ जना कलाकार निम्ताएर प्रदर्शन गरिन लागेको रोधी साँझ चौथोको लागि संयोजकमा वरिष्ठ संगीतकार बिक्रम गुरुङ र उपसंयोजकमा देउमान गुरुङ रहनुभएको छ।

रोधी सांझ चौथोका लागि नेपालबाट आउने कलाकारहरुमा दोहोरी गायक धम्पुस गाविसका पदमबहादुर गुरुङ, दोहोरी गायिका धादिङका रीता थापा, पप गायक मिङ्मा शेर्पा, गायिका रिमा गुरुङ र तीतो सत्यका पात्र -सुब्बा साहेब) पूर्णकुमार थापा रहेका छन्।

तस्विरः जगत अम्बु गुरुङ र प्रार्थना गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
तमु ट्हो हृयुलका अध्यक्ष एकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि क्या. चन्द्रबहादुर गुरुङ रहनुभएको थियो भने अतिथिहरुमा सल्लाहकार अर्जुन गुरुङ, लालबहादुर गुरुङ, विष्णुबहादुर गुरुङ लगायत तमुहरुको क्षेत्रीय समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
उपाध्यक्ष इच्छाकुमारी गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव गणेश गुरुङले गर्नुभएको थियो।
Popularity: 4%
October 15th, 2007
Previous Posts