Archive for October, 2007

निवर्तमान वाणिज्यदूत भट्टराईलाई बिदाई (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर ११ -
निवर्तमान वाणिज्यदूत भट्टराई दम्पतीः हङकङमा लामो समयसम्म कार्यवाहक महावाणिज्यदूतका रुपमा कार्यरत हेमलाल भट्टराई आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनु अघि उहाँको सम्मानमा हङकङ नेपाली महासंघद्वारा बिहीबार साँझ आयोजित बिदाई कार्यक्रममा।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। ११ अक्टोबर २००७, हङकङ।

Popularity: 3%

8 comments October 11th, 2007

डांडा गाउंलेको दशैं प्रीति भोज सम्पन्न (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर ७ -
डांडा गाउंले संस्था हङकङले आइतबार मंकी हिलमा दशैं प्रीति भोजको आयोजना गरी एकआपसमा भेटघाट गरेका छन्।

संस्थाको सदस्य, इष्टमित्रहरुको भेटघाटका साथै सदस्यता नविकरण गर्ने उद्धेश्यले आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विष्णु गुरुङले गर्नुभएको थियो भने सञ्चालन प्रवक्ता मनोज गुरुङले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार क्या. धनवीर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा राफल ड्र, नाचगान, खैंजडीको ठोकाई र चुड्का समावेश गरिएका थिए। संस्थाका मनोरञ्जन सदस्य केशमाया गुरुङ र मनु गुरुङद्वारा ‘सलाम शिरैमा’ भन्ने गीत गाउंदै शुद्ध गुरुङ पहिरनमा नाँच प्रस्तुत गरेका थिए। पुराना गाऊं घरका रोधीलाई स्मरण गर्ने गरी बुढापाकाहरु कार्यक्रमको अन्ततिर खैंजडी ठटाउंदै चुड्कामा रमेका थिए।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

21 comments October 10th, 2007

गैरजनजाति महावाणिज्यदूत पठाइएकोमा बिरोध

एचकेनेपाल डट कम, अक्टोबर ७ -
नेपाल सरकारले हङकङमा गैरजनजाति महावाणिज्यदूत पठाइएकोमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले बिरोध जनाएको छ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्ना मागप्रति सरकार उदासीन रहेको निश्कर्ष निकालेको छ।

यसअघि जनजाति महासंघले हङकङमा पटक पटक जनजाति मूलका महावाणिज्यदूत नियुक्तिका लागि सरकार र राजनीति दलहरुसंग माग गर्दै आइरहेका थिए। कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले महासंघद्वारा जारी गरिएको विरोध पत्र वाचन गरी सुनाउनु भएको थियो। सोही कार्यक्रममा नेपाली जनजाति महासंघका पूर्वसचिव तथा नेपाली आदिवासी जनजाति महासंघका निवर्तमान सल्लाहकार भक्तबहादुर दुराले सरकारले गैरजनजाति महावाणिज्यदूत पठाएर जनजातिहरुको मागलाई उपेक्षा गरेको बताउंनुभयो।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।

जनजातिहरुको बाहुल्य रहेको हङकङमा जनजाति महावाणिज्यदूत नियुक्ति गर्न यहाँका जनजातिहरुले पटक पटक नेपाल सरकार र राजनीतिक दलहरुसंग आग्रह गर्दै आइरहेका थिए। जनजातिहरुको भनाई अनुसार नेपाली जनजातिहरुको बाहुल्य रहेको हङकङमा जनजातिमूलका महावाणिज्यदूतले आफ्ना समस्याहरु सहज किसिमले बुझ्न सक्ने भन्दै जनजाति महावाणिज्यदूतको माग गर्दै आइरहेका थिए।

करीब ३ वर्ष हङकङ महावाणिज्यदूतबिहीन रहेको अवस्थामा कार्यवाहकका रुपमा हेमलाल भट्टराईले सो रिक्त पदमा रहेर काम गर्दै आइरहनुभएको थियो। ४ अक्टोबरका दिन हङकङ आइ सक्नुभएका नयाँ महावाणिज्यदूत केशवप्रसाद भट्टराईले सोही दिनदेखि कार्यभार सम्हालि सक्नुभएको छ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङद्वारा जारी बिरोध पत्र

आदरणीय पत्रकारज्यूहरु तथा उपस्थित अन्य महानुभावहरुमा हार्दिक अभिवादन।
नेपालवाट हङकङ आई वसोवास गर्ने नेपाली आदिवासी जनजातिहरुवीच सुमधुर सम्वन्ध कायम गर्दै आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृति तथा इतिहासलाई अनुसन्धान, संरक्षण तथा प्रवर्धन गर्ने र नेपाली आदिवासी जनजातिहरुको राजनैतिक हक अधिकारको लागि शान्तिपूर्ण तथा दवावमूलक कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले स्थापना भएको नेपाली आदिवासी जनजाति महासंघ हङकङले वर्तमान नेपालको राजनैतिक अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्थापना कालदेखि नै नेपाली आदिवासीहरुको हक अधिकारको लगि विविध मागहरु राख्नुको साथै दवावमूलक कार्यक्रमहरु पनि सन्चालन गर्दै आएकोछ। यही सेरोफेरोमा रहेर विगत दुई वर्ष यता नेपाली आदिवासी जनजाति महासंघले हङकङमा ९८ प्रतिशत नेपाली आदिवासी जनजातिहरुको वसोवास भएको कुरालाई मध्यनजर गर्दै यहाँ महावाणिज्यदूत पठाउँदा आदिवासी जनजातिमूलकै व्यक्ति पठाएर यहाँका नेपाली आदिवासी जनजातिहरुको भावनालाई कदर गरियोस् भन्ने मागका साथ विविध समयमा नेपालबाट भ्रमणमा आउने नेपाल सरकारका उपप्रधानमन्त्री सम्मलाई लिखित तथा मौखिक रुपमा अनुरोध गरिएको सवैलाई विदितैछ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङको अनुरोधलाई वेवास्ता गर्दै केही महिना अगाडि आठदल सम्मिलित संयुक्त सरकारले केशव भट्टराईको नाम हङकङको महावाणिज्यदूतको लागि सिफारिस गरेकोथियो। त्यसको विरोध गर्दै १० जुलाई २००७ का दिन नेपालवाट प्रकाशित हुने दैनिक पत्रिका नेपाल समाचारपत्रमा भटटराईको नियुक्तिलाई तुरुन्त फिर्ता गरी आदिवासी जनजाति मूलको व्यक्तिलाई नियुक्ति गरियोस भनी एक प्रेस विज्ञप्ति आदिवासी जनजाति महासंघ हङकङले जारी गरेको थियो। तर महासंघको मागलाई वेवास्ता गर्दै सरकार पुरानो निर्णयमा अडिग रहेकोले यही महिनाको ४ तारिखका दिन केशव भट्टराई हङकङको लागि नेपाली महावाणिज्यदूतको रुपमा हाजिर भइ सकेकाछन्। त्यस्तै वाणिज्यदूत पदमा शुसीलकुमार लम्साल गत महिनाको २७ तारिखदेखि नै महावाणिज्यदूतावासमा आइसकेकाछन्।

तसर्थ आठ दल सम्मिलित संयुक्त सरकारले हङकङगे नेपाली आदिवासी जनजातिहरुप्रति देखाएको असमानुपातिक व्यवहार तथा व्यूरोक्रेटिक असहिष्णुताको नेपाली आदिवासी जनजाति महासंघ घोर निन्दा तथा भत्सर्ना गर्न चाहान्छ। यस्ता जातिय असमानुपातिक नियुक्ति नेपालको अन्तरिम सम्विधानले प्रत्याभूत गरेको समानुपातिक तथा समावेशी नीतिको विपरीत रहेकोले यो नियुक्ति अवैधानिक तथा गैर जिम्मेवारपूर्ण छ भन्ने नेपाली आदिवासी जनजाति महासंघको ठहर छ।

आदरणीय पत्रकार महानुभावहरु
महासंघ यसै विज्ञप्ति मार्फत के पनि अनुरोध गर्न चाहान्छ भने नेपाली आदिवासी जनजाति महासंघ कुनै एक व्यक्ति वा जाति विषेशको विरोधी कदापि होइन। आदिवासी जनजाति महासंघको नीतिगत माग तथा विरोध जहिले पनि नेपाल सरकारसंग हुनेछ, नकि कुनै व्यक्ति वा जाति विषेशसंग। तसर्थ आदिवासी जनजाति महासंघ हङकङको माग तथा विरोधले हङकङगे नेपाली समाजको एकता तथा जातीय सहिष्णुतामा कहिले आँच नआउने दृढ विश्वास गर्दछ। महासंघ उग्रजातीय भड्काउमा विश्वास नराख्ने तथा सवै समस्या वार्ता र सहमतिको आधारमा हुनुपर्दछ भन्ने मान्यता राख्दछ।

नेपाली आदिवासी जनजाति महासंघ, हङकङ ।

मिति: ७ अक्टोवर २००७ , हङकङ ।

Popularity: 3%

14 comments October 10th, 2007

हङकङमा नयाँ महावाणिज्यदूत

एचकेनेपाल डट कम, अक्टोबर ४ -
हङकङस्थित नयाँ नेपाली महावाणिज्यदूतको लागि केशवप्रसाद भट्टराई आज बिहान हङकङ आईपुग्नु भएको छ।

नयाँ महावाणिज्यदूतको पदमा आउनु भएका केशवप्रसाद भट्टराईले आजदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईले एचकेनेपाल डट कमलाई बताउनु भयो।

झापा स्थायी घर भएका नयाँ महावाणिज्यदुत भट्टराई यसअघि अर्थमन्त्रालयमा सह-सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो। पूर्व महावाणिज्यदूत माधवप्रसाद घिमिरे ७ सेप्टेम्बर २००४ मा सचिव पदमा बढुवा हुनु भएपछि महावाणिज्यदूतको पद लामो समयसम्म रिक्त रहेको थियो। महावाणिज्यदूत भट्टराई हङकङमा नियुक्त हुनुअघि सोही पदमा टंकमणी शर्मा र पछि प्रेम राई आउने चर्चा चलेको थियो।

त्यसै गरी महावाणिज्यदूतको पद रिक्त रहेका कारण लामो समयसम्म कार्यवाहक महावाणिज्यदूतका रुपमा कार्यरत हेमलाल भट्टराईको स्थानमा झापा स्थायी घर भएका सुशिलकुमार लम्साल गत २७ सेप्टेम्बरमा हङकङ आईपुग्नु भएको छ।

कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई आफ्नो कार्यकाल पूरा गरी यही महिना अक्टोबर १३ तारिखका दिन नेपाल फर्कनु हुने जानकारी उहाँले एचकेनेपाल डट कमलाई दिनुभयो।
(HKNepal.com, Last updated:17:45 HKST)

Popularity: 3%

15 comments October 4th, 2007

प्रो. तेक्वान्दो एकाडेमीको ५०औं अप-ग्रेडिङ (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर ४-
हङकङ प्रो. तेक्वान्दो एकाडेमीको ५०औं अप-ग्रेडिङ परीक्षा गत आइतबार क्वीन एलिजावेथ स्टुडियममा सम्पन्न भयो।

हरेक तीन महिनामा हुने अप-ग्रेडिङमा १ सय २८ जना परीक्षार्थीहरु सहभागी रहेका थिए। सो परीक्षामा ब्लाक बेल्ट लिनेहरुमा थर्ड डान किसन थापा, सेकेण्ड डान प्रदीपकुमार गुरुङ, सेकेण्ड डान सिलाबहादुर गुरुङ, सेकेण्ड डान इन्द्रबहादुर गुरुङ र फस्ट डान दुराकमल गुरुङ रहेका छन्।

त्यसैगरी ब्लाक बेल्ट परीक्षा दिनेहरुमा सेकेण्ड डान यामबहादुर गुरुङ, फस्ट डान लियोङ र ब्लाक बेल्ट फस्ट डान आरोन गुरुङ छन्।

कार्यक्रममा अप-ग्रेडिङ, डिमोस्टे्रशनका साथै नाँचगानका कार्यक्रमहरु भएका थिए। ग्राण्ड मास्टर एनजे गुरुङको अध्यक्षतामा भएको अप-ग्रेडिङ परीक्षामा युन लोङ सिनियर डिस्ट्रीक कन्सुर फिलिप वाङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन सेकेण्ड डान उत्तर र्राईले गर्नुभएको थियो।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

3 comments October 4th, 2007

एचकेएनटिएको २२औं अप-ग्रेडिङ सम्पन्न (+Photo)

महेश राई / एचकेनेपाल डट कम, अक्टोबर ४ -
हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनको २२ औं अप-ग्रेडिङ टेष्ट परीक्षा गत आइतवार ३० सेप्टेम्वरका दिन युन लोङको लोङ पीङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो।

अपरान्ह २ वजेबाट सुरु भएको उत्त कार्यक्रममा एक सय पाँच प्रशिक्षार्थीले भाग लिएका थिए भने एसोसिएसनका सचिव सुधिरकुमार गुरुङको मन्तव्यवाट कार्यक्रमको सुरु भएको थियो। कार्यक्रमको योजना र संचालन, कार्यक्रम सचिव रुद्रलाल गुरुङबाट भएको थियो भने सम्पूर्ण परीक्षा एसोसिएसनको अध्यक्ष ग्राण्ड मास्टर तुलसीकुमार गुरुङबाट लिईएकोथियो।


परीक्षामा ब्लाक बेल्ट दिने प्रशिक्षार्थीको संख्या पाँच रहेकाछन् भने फस्ट डान दिने प्रशिक्षार्थीहरुमा कविराज आले, सुमन थापा, सन्दिपकुमार गुरुङ, र मिस सीमा मासितो थिए। सेकेण्ड डान दिने प्रशिक्षार्थी राजु गुरुङ र थर्ड डान दिनेमा महेश राई रहेका छन्। परीक्षामा ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङबाट मौखिक प्रश्न समेत सोधिएको थियो। विशेष ब्लाक बेल्ट प्रशिक्षार्थीलाई विभिन्न तेक्वान्दो सम्वन्धि शैक्षिक सवाल जवाफ पनि गरिएको थियो।

अन्तमा, खेलाडीले उत्कृष्ट डेमोस्ट्रेसन देखाएर मनोरञ्जन दिएका थिए। खेलाडीहरुका अविभावकहरु नै अतिथिरुपमा उपस्थित रहेको कार्यक्रममा कुनै औपचारिकरुपमा अतिथिहरु आमन्त्रण गरिएको थिएन। अध्यक्ष ग्राण्ड मास्टर तुलसीकुमार गुरुङबाट अघिल्लो टेष्टमा उतीर्ण ब्लाक बेल्ट खेलाडीलाई बेल्ट तथा प्रमाण-पत्र र अन्य उपलब्धिका प्रमाण-पत्र पनि प्रदान गरिएको थियो। अध्यक्ष गुरुङले तेक्वान्दोमा खेल खेल्ने शिप मात्र नभएर यसको दर्शनबाट असल नागरिक बनाउने गुण समेत रहेको बताउंदै शुभ-कामना व्यक्त गर्नुभएको थियो।

Popularity: 3%

2 comments October 4th, 2007

हङकङमा मगर चलचित्र ‘आशे’ प्रदर्शित (+Photo)

एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
मगर संघ हङकङको आयोजनामा आइतबार युन लोङस्थित टाउन हलमा मगर चलचित्र ‘आशे’ भव्यतासाथ प्रदर्शन भयो।

मगर भाषामा निर्मित चलचित्र आशे हेर्न हङकङका मगर जातिको ठूलो भीड लागेको थियो। संजोक लाफाद्वारा निर्माण तथा निर्देशन गरिएको चलचित्र मूख्यतय मगर संस्कृतिमा आधारित रहेको छ।


सोही हलमा चलचित्रबाहेक हङकङका स्थानीय मगर कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमलाई चलचित्र प्रदर्शन र विविध साँस्कृतिक गरी दुई चरणमा विभाजन गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको सञ्चालन मनोज सूर्यवंशी र प्रिथिमा थापाले गर्नुभएको थियो।


मगर संघ हङकङका सचिव एन थापाद्वारा सञ्चालन गरिएको छोटो औपचारिक कार्यक्रममा संघका अध्यक्ष नेत्र पहराईले उपस्थित सबै अतिथि तथा दर्शकलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा हङकङस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

तस्विरः कुलप्रसाद गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

16 comments October 3rd, 2007

क्वीन्स गोर्खा इन्जिनियरहरुको भेटघाट (+Photo)

एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
हङकङमा रहेका क्वीन्स गोर्खा इन्जिनियर र तिनीहरुको परिवारबीच आइतबार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा भेटघाटको कार्यक्रम आयोजना गरियो।

ब्रिटीस सैनिकमा भर्ती भै क्वीन्स गोर्खा इन्जिनियरमा आवद्ध रहेका ब्रिटीस सैनिकका साझा संस्था क्वीन्स गोर्खा इन्जिनियरको ५९औ वार्षिक उत्सवको अवसरमा उक्त भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो।

एक्स गोर्खा मेजर क्युजिइ खर्दाजंग गुरुङकी श्रीमती गंगादेवी गुरूङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको भेटघाट कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा मेजर मानबहादुर गुरुङ र क्या. भक्तबहादुर गुरुङ हुनुहुन्थ्यो। भेटघाट कार्यक्रमलाई खड्का राईले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य जगत गुरूङले दिनुभएको थियो।

सोही कार्यक्रममा लामो समयदेखि हङकङमा फोटो पत्रकारिता गर्दै आउनु भएका एचकेनेपाल डट कमका फोटो पत्रकार जगत अम्बु गुरुङलाई सम्मान गरिएको थियो। क्वीन्स गोर्खा इन्जिनियरका परिवारलाई समेत प्रशंसा स्वरुप सम्मान गर्दै आइरहेकोमा इन्जिनियरका भाञ्जा फोटो पत्रकार गुरुङलाई यस पटक सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

3 comments October 2nd, 2007

हङकङमा चीनको राष्ट्रिय दिवस (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर १ -
मुख्य भूमि चीन, चीनको स्वशासित क्षेत्र हङकङ र मकाउमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी अक्टोबर १ तारिख चीनको राष्ट्रिय दिवस मनाइयो।

नयाँ चीन स्थापनाको ५८औं वार्षिकोत्सवको अवसरमा अक्टोबर १ तारिखलाई चीनको राष्ट्रिय दिवसको रुपमा मनाउंदै आइरहेको छ। जनवादी गणतन्त्र चीनको स्थापना १ अक्टोबर १९४९ मा भएको थियो।

सोही अवसरमा बिहान चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा विशेष कार्यक्रमको आयोजना गरी चीन र हङकङको झण्डोत्तलन गरिएको थियो। कार्यक्रममा हङकङका कार्यकारी प्रमुख डोनाल्ड च्याङलगायत सरकारी उच्च अधिकारी, काउन्सिलर, बिधायक र विदेशी पाहुनाहरु गरी करीब २५ सय जना उपस्थित थिए।

यसै अवसरमा राति ९:१५ बजे काउलुन पेनिन्सुला र हङकङ आइल्याण्डबीचको भिक्टोरिया हर्बरको आकाशमाथि आतिशबाजी (Fireworks display) गरिएको थियो। रंगीचंगी, मनमोहक र आकर्षकरुपले आकाशमाथि भएको आतिशबाजीलाई करीव ४ लाख मानिसहरुले हेरेको अनुमान गरिएको छ।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम, अक्टोबर १, २००७ हङकङ। थप तस्विरको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

4 comments October 1st, 2007

Next Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2007
M T W T F S S
« Sep   Nov »
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category