Archive for December, 2007
एचकेनेपाल डट कम, डिसेम्बर ३० -
तमु ट्हो हृयुल हङकङको आयोजनामा डिसेम्बर ३० तारिख मंकी हिलमा तमुहरुको महान पर्व ल्होछार तथा आसिमाला आदानप्रदान सम्पन्न भयो।

फो ल्होको विदाई तथा च्यु ल्होको स्वागत गर्दै आयोजित उक्त कार्यक्रमको अध्यक्षता तमु ट्हो हृयुल हङकङ अध्यक्ष एकबहादुर गुरुङले गर्नुभएको थियो। हङकङ नेपाली महासंघको प्रमुख आथित्य रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा लोकतान्त्रिक तमु मञ्चका सचिव शिवजी गुरुङ रहनुभएको थियो भने अतिथिको रुपमा नेपाल वायु सेवा निगमकी प्रवन्धक शान्त बस्नेत, आदिवासी जनजाति महासंघ हङकङ अध्यक्ष भूपेन्द्र चेम्जोङलगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
तमु ट्हो हृयुल हङकङकी उपाध्यक्ष इच्छाकुमारी गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सचिव गणेश गुरुङ सञ्चालन गर्नुभएको थियो।



ल्होछारको अवसरमा आयोजित कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमका साथै डोरी तान्ने, ठेलो, म्युजिकल चियर र भेषभूषा प्रतियोगिताहरु आयोजना गरिएका थिए। ठेलोमा गमबहादुर गुरुङ प्रथम र राजेन्द्र गुरुङ द्वितीय, डोरी तान्नेमा लमजुङ समाज प्रथम र घान्द्रुक समाज द्वितीय, म्युजिकल चियरमा निशा गुरुङ, सारा गुरुङ र दीपा गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय, भेषभूषामा मेरी गुरुङ, सविना गुरुङ र कुमारी गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।

तस्विरः जगत अम्बु गुरुङ र प्रार्थना गुरुङ / थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 11%
December 30th, 2007
हङकङ नेपाली सप्ताह (+Photo)
देवराज राई, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर २६ -
नेपाली भेषभुषामा सजिएर डिसेम्बर २६ तारिखका दिन हङकङको व्यस्त युनलङको सडकमा निस्किएका नेपालीहरुको एक ठूलो समुहले झाँकी प्रदर्शन गर्दै युनलङ परिक्रमा गर्यो। झाँकीमा ३ वर्षको सानो बालकदेखि बृद्धा समेतको सहभागीताले युनलङ नेपालीमय बनेको थियो। हरेक वर्ष, वर्षको अन्तिम सप्ताहलाई हङकङ नेपाली कला मन्दिरले ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह’ को रुपमा आयोजना गर्दै आएको छ।

सबै तस्विरहरूः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
आयोजकका अनुसार नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै यसैको आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा हङकङका नेपाली समुदायको सहभागीतामा झाँकी प्रदर्शन गरिएको थियो।

हङकङका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका शिक्षक, नेपाली विद्यार्थीहरु तथा अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङको घडी पार्कदेखि यावसान स्ट्रीट, होपयिक रोड, ताइतोङ रोड, काउयुक रोड तथा ताइयुक रोड हुँदै युनलङ रोड परिक्रम गरी युनलङ टाउन हल पुगी विविध नेपाली साँस्कृति कार्यक्रम सम्पन्न भएको थियो।
विभिन्न जातिय संस्कृतिको योग नै नेपाली संस्कृति भएको यथार्थलाई आधार मानी हङकङ नेपाली समुदायभित्रका जातिय संस्कृति झल्कने भेषभुषा, नेपाली बाजागाजाहरु यात्रभर प्रदर्शन गरिएको थियो। पदयात्रामा नेपाली हृदय नजीकका नेपाली समुदायहरुलाई एकता प्रदान गर्ने नेपाली धुनहरु बजाइएका थिए। कार्यक्रममा विभिन्न विद्यालयका साथ नेपाली संघसंस्थाले समेत सहभागीता जनाएको थियो। यसरी सहभागी हुने संस्थाहरुमा किरात राई यायोक्खा, तमू प्ये ल्हु संघ, हेभेनली पाथ, खोटाङ समाज, भोजपुर समाज, सितोरियो कराते डो गोर्खा जीसी, शेर्पा समाज, तामाङ घेदुङ, उर्गेन दोर्जे बुद्धिष्ट सेन्टर लगायतका विभिन्न संघसंस्थाहरुले यात्रामा सहभागिता जनाएका थिए।

पदयात्रापछि सम्पन्न भएको सांस्कृति कार्यक्रममा पीएच सेन्ट्रल प्राइमरी स्कुल, टीके प्राइमरी स्कुल, आइकेटी सेकेण्डरी स्कुल, डेलिया स्कुल हिपओ, डेलिया ब्रडवे, सर एलिस कादुरी स्कुल, पीके कलेज, यिङयिप प्राइमरी स्कुल, सगरमाथा किण्डर गार्टेनका विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए। सोही सांस्कृति कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सृब्बाले गीत तथा नेपाली लोक सांस्कृतिक समूहबाट यज्ञबहादुर तामाङले सारंगी धुन प्रस्तुत गर्नु भएको थियो। साथै तामाङ घेदुङबाट कुलमान मोत्तानले सेलो नृत्य, हेभेनली पाथ समूहले लोक नृत्य, किरात राई यायोक्खाले साकेला सिलीसमेत प्रस्तुत गरिएका थिए। सांस्कृतिक कार्यक्रमलाई हङकङ नेपालीज फाउण्डेशनका अध्यक्ष एकराज राई, हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई, सगरमाथा किन्डरगार्टेनकी प्रिन्सिपल कमला राई, नेपाली कला मन्दिरबाट सो साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।

नेपाली सप्ताहको पहिलो दिन डिसेम्बर २५ तारिखका दिन फुङकाम स्पोर्टस सेन्टरको एक्जिबिशन हलमा नेपाली कला प्रदर्शनी गरिएका थिए। हङकङका चर्चित नेपाली कलाकार हरि गुरुङले रचना गर्नु भएका १२ उत्कृष्ट फाइन आर्टहरुका साथै विश्वका चर्चित कलकारहरुका आर्टहरु, नेपाली विद्यार्थीहरुले तयार पारेका लगभग २ सय आर्टहरुलाई प्रदर्शनमा राखिएको थियो।
नेपाली सप्ताहको अन्तिम दिन आगामी डिसेम्बर ३१ तारिखका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्धयनरत नेपाली विद्यार्थीहरुबीच प्रतिस्पर्धात्मक नेपाली विषयक कार्याशाला सम्पन्न हुने भएको छ।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
…………………………………………………………………..
नेपाली भाषा साहित्य संस्कृति सप्ताह २००७ (25, 26 & 31 December 2007)
भाषा हो साहित्य हाम्रो सारा उदय उन्नति
जीत वैभव भाषा मै बाँच्दछन् पछिसम्म ती…
सप्ताहव्यापी कार्यक्रममा सहभागी बनौं
२५ डिसेम्बर - नेपाली कला प्रदर्शनी
२६ डिसेम्बर - झाँकी र साँस्कृतिक कार्यक्रम प्रदर्शन
३१ डिसेम्बर - नेपाली विषयक कार्याशाला
आयोजकः हङकङ नेपाली कला मन्दिर
संयोजनः हङकङ नेपाली फाउण्डेशन
थप जानकारी पिडीएफ फाइलमा हेर्नका लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्।

Popularity: 5%
December 26th, 2007
एचकेनेपाल डट कम, डिसेम्बर २५ -
किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा मंकी हिलमा यस वर्षको चासोक तङनाम भव्यताका साथ सम्पन्न भएको छ।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
चुम्लुङका अध्यक्ष ज्ञानु माङयुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा लिम्बु प्रथम उपन्यासमा आधारित चलचित्र थत्थामा की अभिनेत्री तथा निर्मात्री शोभा खजुम हुनुहुन्थ्यो। त्यसै गरी अतिथिका रुपमा आदिवासी जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, हास्यव्यंग्य कलाकार तथा लेखक मनोज गजुरेललगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो।

चासोक तङनामको औपचारिक कार्यक्रममा भूपेन्द्र चेम्जोङ, शोमा खजुम, मनोज गजुरेल र हेजेन राईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। तुलचन्द्र पँङ्माको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई चुम्लुङका सचिव ज्ञानु मेन्याङबोले सञ्चालन गर्नुभएको थियो।





थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 16%
December 25th, 2007
देवराज राई, हङकङ / एचकेनेपाल डट कम-
नेपाली गीत संगीतलाई हङकङेली नेपालीहरु माझ विशेष गरी विद्यार्थीहरुमा यसको अभिरुची प्रदान गर्न नेपाली विधार्थीहरु अध्ययनरत सरकारी विद्यालयहरुमा नेपाली गीत संगीतको अध्ययन अध्यापन गराउने कार्य शुभारम्भ भएको छ।
यसकालागि नेपाली संगीतका आदरणीय तहका वरिष्ठ संगीतकार दिनेश सुब्बाले हङकङ नेपाली पाठयक्रम विकास परिषद्को सक्रियतामा अध्यापन गराउनु हुनेछ। यसबाट नेपाली विधार्थीहरु तथा तिनका अभिभावकहरु लाभान्वित हुने भएका छन्।
युनलङ क्षेत्रमा सर्वाधिक नेपाली अभिभावकहरुको प्रथम छनौटमा परेको सरकारी विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालयमा डिसम्बर १४ देखि कक्षा संचालन भएको छ। नेपाली गीत संगीत कक्षा हाललाई हरेक हप्ता शुक्रबारको दिन संचालन हुने भएको छ। विद्यालयहरुमा अध्यापन भइरहेको नियमित संगीत कक्षामा समेत नेपाली गीत संगीतलाई औपचारिक रुपमा अध्यापन गराउँदै लगिने योजना रहेको विद्यालयले जनाएको छ।
चिनियाँ भाषा बोल्न नजान्ने (एनसीएस) विधार्थीहरुका लागि विशेष रुपमा निर्धारण गरिएको डेजिगनेटेड प्राथमिक विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालय युन लोङमा हाल लगभग १ सय ५० जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन्। युन लोङ, तिन सुइ वाई, कामतिन तथा चुनवानमा बसोबास गरिरहेको नेपाली विद्यार्थीहरु उक्त विद्यालयमा अध्ययन गरिरहेका छन्। अन्य प्राथमिक तथा माध्यमिक विद्यालयहरुमा आगामी नव वर्षको आरम्भसंगै कक्षाहरु संचालन हुने पाठयक्रम विकास परिषद्का अध्यक्ष एकराज राईले जानकारी दिनु भयो।
आगामी नव वर्षसंगै नेपाली गीत संगीत पढाइ हुने विद्यालयहरुमा टिके प्राथमिक विद्यालय, पिके कलेज र आइकेटी कलेज चाइवानमा समेत नेपाली विधार्थीहरुलाई नेपाली गीत तथा संगीतका बारेमा कक्षाहरु संचालन हुने भएका छन्।
Popularity: 3%
December 17th, 2007
अधिराज राई, हङकङ / एचकेनेपाल डट कम -
खोटाङ समाज हङकङद्वारा डिसेम्बर ९ तारिख आयोजना गरेको खोटाङ च्याम्पियन कप उपाधि प्रिभ फुटबल क्लवले जितेको छ। विजयी भएको प्रिभ फुटबल क्लवले पुरस्कार स्वरुप १० हजार १ सय हङकङ डलर र उपविजेता हिमालयन क्लवले ५ हजार ५ सय ५५ हङकङ डलर प्राप्त गरे।

फुटबल प्रतियोगितामा हङकङका स्थानीय १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रिभे फुटबल क्लव, चुम्लुङ, धरान, हिमालयन, देउराली, वी वीन, युनाइटेड आइल्याण्डर, मंगोलियन, साम सुइ पो, जिभियल लिमिटेड सहभागिता रहेको थियो। प्रतियोगितामा म्यान अफ द म्याच सेमिफाइनलमा नरेन लिम्बु, दोश्रो सेमिफाइनलमा दिपेन आले र फाइनलमा प्रिभेका बेल गुरुङ चुनिएका थिए। नवोदित खेलाडीको उपाधि धरान क्लबका मिलन गुरुङ, टप स्कोरर हिमालयनका अनिल गुरुङ, उत्कृष्ट गोल रक्षक हिमालयनका जगत गुरुङ र हिमाल घलेले उत्कृष्ट डिफेण्डर उपाधि जितेका थिए। प्रतियोगितामा विजयी टिम, खेलाडी तथा स्वयंसेवकहरुलाई आयोजक संस्थाका अध्यक्ष भोगेन्द्र राई, खेलकुद संयोजक अधिराज राईलगायत कार्यक्रमका अतिथि र प्रायोजकहरुले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो।

तस्विरः भोगेन राई, अधिराज राई र मिलन राई / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
काउलुन पार्कस्थित सकर ग्राउण्डमा खेलाईने भनिएको प्रतियोगिता मैदानमा रुख ढलेको कारण अनिश्चिकालका लागि बन्द गरिएकोले प्रतियोगितालाई अर्कै मिति र स्थानमा सारिएको थियो। च्याङ सा वानस्थित सकर पिचमा खेलाईको प्रतियोगितामा दर्शकको कमी रहे पनि हालसम्म नेपालीले आयोजना गरिएको प्रतियोगिताहरुमध्ये यस प्रतियोगितामा सबैभन्दा ठूलो धनराशि पुरस्कारको व्यवस्था गरिएको थियो।
Popularity: 3%
December 16th, 2007
देवराज राई / एचकेनेपाल डट कम, डिसेम्बर ५ -
हङकङ एक्जामिनेशनस एण्ड एशेसमेन्ट अथोरिटीले युनिभर्सिटी अफ क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेशनस अन्तर्गत जीसीइ ओ लेभलको परीक्षा आगामी बर्षको मे महिनाको १५ तारिख २००८ का दिन गराउने भएका कारण नेपाली भाषालाई हङकङेली नेपाली माटोमा फुलाउने फलाउने अभियोजना सफल भएको छ।
हङकङ नेपाली पाठ्यक्रम विकास परिषद् तथा विभिन्न विद्यालयहरुको प्रयासमा नेपाली भाषालाई समेत हङकङमा स्थापित गराउनका लागि ओ लेभलको परीक्षाको शुरुवात गरिनुले नेपालीहरुकालागि गौरवको विषय बनेको छ।
आगामी वर्ष हुने परीक्षाका लागि यही दिसम्बर ५ तारिखदेखि १० तारिख भित्रमा इच्छुक १४ वर्ष नाघेका विद्यार्थीहरुले दर्ता फारम भर्न सक्नेछन्। यसका लागि हङकङ नेपाली पाठ्यक्रम विकास परिषद्लाई हङकङ एक्जामिनेशनस एण्ड एशेसमेन्ट अथोरिटीले जीसीइ ओ लेभलको नेपाली परीक्षा विषयलाई परिचालन गर्न अख्तियार प्रदान गरेको छ। इच्छुक विद्यार्थीहरुले नेपाली भाषालाई अध्यापन गराइने विभिन्न विद्यालयहरु मार्फत परीक्षाका लागि फारम दर्ता गर्न सक्नेछन्। परीक्षा १५ मे २००८ का दिन दिनको २ बजेदेखि ५ बजेसम्म संचालन हुने भएको छ।
ओ लेभलको नेपाली विषयको परीक्षाफल एचकेसीइइ परीक्षाको प्रोगेस रिपोर्टमा समेत राख्न सकिने छ। हाल नेपाली विधार्थीहरुले फ्रेन्च तथा चिनियाँ भाषा लिनु पर्ने बाध्यतामा नेपाली भाषा लिन सक्नेछन्। ओ लेभल परीक्षाका लागि हङकङ डलर ९ सय ५५ डलर दर्ता शुल्क लाग्ने छ। नेपाली भाषामा भएको यो ठूलो सफलताले नेपाली भाषालाई हङकङको विश्वविद्यालयमा ६ वटा विषय लिनुपर्नेमा १ विषय नेपाली भाषाले समेत ओगट्न सक्ने छ। यसकालागि हाल सम्भावनाको खोजी भइरहेको छ जसका कारण हङकङको प्राथमिक तथा माध्यमिक विद्यालयहरुमा नेपाली विषयको पठनपाठनबारे सरकारको सरोकार रहने छ।
यसै विषयलाई लिएर दिसम्बर ५ तारिखका २००७ को दिन युनलङ फुङकाम स्पोर्टस् सेन्टरको बैठक कक्षमा विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु तिनका अभिभावक, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थितिमा पहिलो पटक हङकङ नेपाली पाठ्क्रम विकास परिषद्ले यसबारेमा एक जानकारी कार्यक्रम तथा रजिष्ट्रेशन डेको रुपमा कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा परिषद्का अध्यक्ष एकराज राईले हालसम्म भएका उपलब्धिहरुका बारेमा जानकारी दिंदै यसको महत्वका बारेमा चर्चा गर्नु भएको थियो। ओ लेभल परीक्षाका लागि हङकङ एक्जामिनेशनस एण्ड एशेसमेन्ट अथोरिटीले उपलब्ध गराएको दर्ता फारम इच्छुक तथा परीक्षा दिन उमेर पुगेका विधार्थीहरुलाई वितरण गरिएको थियो।
हङकङ नेपलीज फाउण्डेशनको संयोजनमा सम्पन्न भएको कार्यक्रममा प्रथामिक विद्यालयमा अध्ययनरत कक्षा ६ श्रेणीका विधार्थीहरुको समेत सहभागिता रहेको थियो। नेपाली पाठ्यक्रम विकास परिषद् अन्तर्गत हाल हङकङका विभिन्न सरकारी विद्यालयहरुमा नेपाली भाषालाई पठनपाठन गराउने कार्य संचालन भइरहेको छ र यही डिसेम्बर महिनादेखि नेपाली गीत संगीतलाई समेत अध्यापन गराउने प्रक्रिया शुरु भएको छ।
Popularity: 5%
December 6th, 2007
गुल्मेलीहरुको तेस्रो अधिवेशन (30 December 2007)
गुल्मी रेसुङ्गा परिवार हङकङको तेस्रो अधिवेशन निम्न मिति, स्थान र समयमा सम्पन्न हुने भएकोले सम्पूर्ण हङकङवासी गुल्मेलीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
मितिः- ३० डिसेम्बर २००७
समयः- दिनको २:३० बजे
स्थानः- युन लोङ थियटर, लेक्चरर् हल
आयोजकः गुल्मी रेसुङ्गा परिवार हङकङ
सम्पर्क नं:- 91601054, 63525245, 60316245, 95151024
Popularity: 4%
December 5th, 2007