Archive for March, 2008

हङकङ नेपाली महासंघको अध्यक्षमा हेम लिम्बु (+Photo)

एचकेनेपाल डट कम, मार्च ३१-
लामो वहस, अन्तरद्वन्द्व र कसरतपछि हङकङ नेपाली महासंघको दुई वर्षे कार्यकालका लागि कार्यसमितिको नयाँ मेजर बडी चयन भएको छ।


नेपाली युथ क्लव हङकङका तर्फबाट हेम लिम्बु हङकङ नेपाली महासंघको अध्यक्षमा चयन भएका छन्।

जोर्डनस्थित इण्डिया क्लवमा मार्च ३० तारिख आइतबार सम्पन्न महासंघको छैंठौ अधिवेशनले दुई वर्षको लागि नयाँ कार्यसमितिको चयन गरिएको हो। नयाँ कार्यसमितिको मेजर बडीमा नेपाली युथ क्लव हङकङका तर्फबाट हेम लिम्बु हङकङ नेपाली महासंघको अध्यक्षमा चयन भएका छन्। त्यसै गरी, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः हर्क राना -हेभन्ली पाथ, वसन्त निरौला - भोजपुर समाज, दुर्गा तामाङ - तामाङ घेदुङ, टंक राना - मगर संघका रहेका छन्।

तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

हङकङ नेपाली महासंघको छैंठौ महाधिवेशनको पूर्व सन्ध्यामा एचकेनेपाल डट कमले प्रकाशित गरेको समाचारमा उल्लेख गरेको टिप्पणीमा झै अधिवेशनले केही विवादित व्यक्ति भनिनेहरुलाई कार्यसमितिको मेजर बडीमा राखिएका छैनन्। महासंघभित्र बसेर सामाजिक सदभावलाई विकास गर्नुको साटो समाजमा विखण्डन ल्याउने केही व्यक्तिहरुलाई कुनै पनि हालतमा समितिको मेजर बडीमा नराख्न एक थरी समूहले ठूलो कसरत गर्नु परेको थियो। अन्ततः लामो वहस र अन्तरद्वन्द्वहरुलाई पार गर्दै अधिवेशनले नयाँ कार्यसमिति गठन गर्न सफल भएको छ। हिजो पनि महासंघको कार्यसमितिभित्र रहेका सबैजना नराम्रा थिएनन्। तर केही व्यक्तिहरुको मनपरी र दादागिरी तन्त्रले महासंघ बदनाम भएको थियो। यस पटकको अधिवेशनले त्यस्ता पक्षहरुबाट महासंघलाई मुक्त गराउंन भरमग्दुर प्रयास गरेको थियो र सफल पनि भएको छ। यसले नेपाली समाजमा नयाँ उत्साह र आशाको तरंग पैदा गराएको छ।

‘अबको महासंघ विवादरहीत, भेदभावरहीत भएर सबैसंग सहकार्य गरी अगाडि बढ्ने छ।’ - महासंघका नवनिर्वाचित अध्यक्ष हेम लिम्बूले एचकेनेपाल डट कमसंग कुरा गर्दै भने। ‘हामी महासंघको बिग्रेको छविलाई सुधार्ने पक्षमा छौं। हामी के छापा, के अनलाईन सबै मिडीयाहरुसंग पनि सहकार्य गरेर अगाडि बढ्छौं’ लिम्बूले भने। महासंघभित्रका केही साथीहरुले अरुका कुरा नसुन्दा महासंघ अप्ठ्यारोमा परेको स्वीकार गर्दै यसले सामाजिक सद्भावमा असर परेको लिम्बूले बताए। केही समयअघि महासंघले एचकेनेपाल डट कमलगायतका अन्य अनलाइन पत्रिकाहरुको औचित्यमाथि प्रश्न उठाउंदा महासंघ विवादको घेरामा फंसेको थियो भने महासंघले चारैतिरबाट आलोचनाको सामना गर्नु परेको थियो।

मगर संघ हङकङका अध्यक्ष नेत्र पहराई मगरले अबको महासंघले सामाजिक सदभावलाई कायम गर्दै सबै संघसंस्थाहरुसंग सहकार्य गरेर अगाडि बढ्नु पर्ने सुझाब दिए। एचकेनेपाल डट कमसंग कुराकानी गर्दै अध्यक्ष पहराईले समाजमा योङ्ग जेनेरेशनको ठूलो भूमिका रहेकाले तिनीहरुलाई राम्ररी संयोजन गरेर महासंघ अगाडि बढ्नु पर्ने बताए।

महासंघबाट अपेक्षित सहयोग पाउनुभन्दा बढी उपेक्षाको सामना गरिरहेको हङकङ एकीकृत नेपाली समाजले अहिले गठित महासंघको नयाँ मेजर बडीको स्वरुप देखेर खुशी व्यक्त गरेको छ। समाजका अध्यक्ष बुद्धिबहादुर थापाले महासंघ सुधारको बाटोबाट अघि बढ्नेमा आफू विश्वास्त रहेको बताए।

महासंघको पर्दा पछाडि बसेर अनेक तानाबाना बुन्ने किसन राईले क्या. चन्द्रबहादुर गुरुङ अध्यक्ष पदमा उठ्ने अवसर पाएमा आफूले महासचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको एचकेनेपाल डट कमलाई बताए। ‘पर्दा पछाडि बसेर मात्र के गर्ने अब नेतृत्वमै जाने मनस्थिति बनाएको थिएं। तर क्या. गुरुङको उम्मेदवारी नै रद्द भएकोले उम्मेदवारी दिईंन।’ राईले भने।

महासंघको अध्यक्ष पदमा क्या. चन्द्रबहादुर गुरुङ र भोलानाथ थापाले उम्मेदवारी दिइने भनिए पनि भोलानाथ थापा अधिवेशनमा उपस्थित भएनन् भने क्या. गुरुङ महासंघको विधान सम्मत नभएकोले गुरुङको उम्मेदवारी रद्द भएको थियो। विधान अनुसार उम्मेदवारीका लागि कम्तीमा १ वर्ष कुनै संघसंस्थाको कार्यसमितिमा रही काम गरिसकेको हुनु पर्नेमा क्या. गुरुङ त्यो क्राइट एरियाभित्र परेका थिएनन्। यद्यपि सोही समयमा विधान संशोधन गरी क्या. गुरुङलाई उक्त पदको लागि उम्मेदवारी दिने प्रयास चाहिं भएको थियो। पछि विधान संशोधन गरिने या नगरिने भन्ने विषयमा वहसहरू भएका थिए। विधान संशोधन गर्ने सहमतिमा १७ मत र नगर्ने गोप्य मतदानमा जाने २७ मत खसेका थिए। पछि गोप्य मतदान गरी विधान संशोधन गर्ने या यथावत राख्नेबीच मतदान भएको थियो। ३७ मतदाताले विधान यथावत राख्नु पर्ने र २७ मतदाताले विधान संशोधन गर्नेमा मतदान गरेका थिए।

Popularity: 26%

23 comments March 31st, 2008

जुवातास विरुद्ध चेतनामूलक कार्यक्रम (+Photo)

एचकेनेपाल डट कम, मार्च ३१ -
हङकङ एकीकृत नेपाली समाज र हङकङ युवा समूह महासंघको संयुक्त आयोजनामा मार्च ३० तारिख आइतबारका दिन काम्टिनस्थित जोसेफ प्राइमर स्कुलमा जुवातास विरुद्ध चेतनामूलक कार्यक्रमको आयोजना गर्‍यो।

नेपाली संस्था हङकङ एकीकृत नेपाली समाज र स्थानीय चिनियाँ संस्था हङकङ युवा समूह महासंघको पहलमा जुवातासले जीवन वर्वादीतर्फ धकेल्ने र समाजमा यसले नराम्रो असर पार्ने भएकाले यसबाट सचेत हुनुपर्ने जस्ता सन्देशमूलक पर्चाहरु कार्यक्रममा वितरण गरिएका थिए। ६ वर्षदेखि २५ वर्षसम्मका बालबालिका तथा युवाहरुको समूहलाई लक्षित पारि आयोजना गरिएको उक्त कार्यक्रममा जुवातास विरुद्ध जिब्रेली प्रतियोगिता (Tongue-Twister Competition) को आयोजनासमेत गरिएको थियो। प्रतियोगितामा सलिना राना, भूमिका गुरुङ र राहुल गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।


विजयी प्रतियोगीहरुलाई हङकङ एकीकृत नेपाली समाजका अध्यक्ष बुद्धिबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रमलाई समाजका महासचिव अशोक गहतराज र युवा समूह महासंघका कोलमान चाउले सञ्चालन गर्नुभएको थियो।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

2 comments March 31st, 2008

हङकङका पुस्तकालयहरुमा नेपाली पुस्तक उपलब्ध गराइने

देवराज राई / एचकेनेपाल डट कम -
हङकङ नेपलिज फाउण्डेशनको सक्रियतामा तथा लिजर एण्ड कल्चर सर्भिसेस डिपार्टमेण्टको प्रायोजन तथा व्यवस्थापनमा हङकङका पब्लिक लाइब्रेरीमा नेपाली पुस्तकहरुलाई राख्ने निर्णय भएको छ।

पहिलो चरणमा हङकङका ठूला पुस्ताकलयहरु सेन्ट्रल लाइब्रेरी, याउ मा तेइ पब्लिक लाइब्रेरी र युनलङ लाइब्रेरीमा नेपाली पुस्तकहरु उपलब्ध गराइने भएको छ। गत हप्ता सम्पन्न भएको अन्तिम बैठकले नेपाली भाषाका लेखकहरुको सम्पूर्ण किताबहरु व्यवस्थित राखिने निर्णय भएको हो। पुस्ताकलयमा ए लेभल तथा ओ लेभलका नेपाली पुस्तकहरु पहिलो चरणमा लगभग ५ सय विभिन्न पुस्तकहरु राखिने छ। यसमा हङकङेली नेपाली लेखकहरुका पुस्तकहरु पनि राखिने भएको छ। पुस्तकालयमा विशेष नेपाली कर्नरको व्यवस्था गरिने सम्झौता भएको छ।

नेपाली पुस्तकहरु अन्तर्राष्ट्रिय मापदण्डमा उपलब्ध नहुने भएकाले सोकालागि पुस्तकको आकार तथा कम्युटर प्रविधिकालागि रोमन नेपाली भाषाको प्रयोग गरिने भएको छ। बैठकमा फाउण्डेशनको तर्फबाट एकराज राई, आमोदकुमार राई तथा हङकङ पब्लिक लाइब्रेरीको तर्फबाट मिस्टच चे (युनलङ), मिस चु (याउ मा तेइ) र मिस्टर होङ (सेन्ट्रल) लगायतको उपस्थिति रहेको थियो। साथै फाउण्डेशनको सक्रियतामा यसै वर्षदेखि स्थानीय नेपाली विद्यार्थीहरु अध्ययनरत सरकारी विद्यालयहरु पीएच केन्द्रीय प्राथमिक विद्यालय, तुनकुन प्राथमिक विद्यालय र आइकेटी कलेजमा पनि नेपाली पुस्तकहरु राखिने निर्णय भएको छ। अन्य विद्यालयहरुमा आगामी शैक्षिकसत्रदेखि नेपाली पुस्तकहरु स्थानीय विद्यालयका पुस्तकालयहरुमा उपलब्ध गराइने भएको छ।

नेपाली भाषा विकासमा टेवा प्रदान गर्न रिडिङ डे कार्यक्रम राखिने फाउण्डेशनको उपाध्यक्ष आमोद राईले बताउनु भयो। साथै उहाँले नेपाली भाषा विकास तथा प्रचारका लागि अल्पसंख्यक जातिहरुको भाषा अंकित सूचना पाटीहरु सार्वाजानिक (पार्क, अस्पताल तथा सडक पेटी) स्थलहरुमा राखिने योजनाका बारेमा स्थानीय निकायसँग छलफल भइरहेको बताउनु भयो। विशेष जानकारीकालागि हङकङ नेपलिज फाउण्डेशनको आधिकारिक वेभ साइट अप्रिलको दोश्रो हप्तासम्ममा सार्वजानिक हुने भएको छ।

Popularity: 4%

2 comments March 28th, 2008

हङकङको जोर्डनमा नेपाली युवतीको वेवारिसे लाश

लारा, हङकङ / एचकेनेपाल डट कम, मार्च २६ -
हृङकङ, जोर्डनको सव वे मा एउटी शरणार्थी नेपाली युवतीको वेवारिसे अवस्थामा लाश पाईयो
मृत्यु आफैंमा कष्टकर शब्द हो । रातभर सोंचिरहें कसैको मृत्युलाई समाचार बनाउनु उचित नहोला। यो समाचारले अरुलाई सचेत तुल्याउन मद्धत देला या नदेला पनि तर तर लाग्यो,
केहि त लेख्नै पर्छ।

मार्च २५, हिजो विहान जोर्डनको सव वेमा एउटी नेपाली युवतीको वेवारिसे अवस्थामा लास पाईयो। पुलिसले बरामद गरेर लगेको उक्त लास गुरुङ थर भएकी एकजना मनाङे गुरुङको भएको भन्ने जानकारी उनकै साथीले दिएकी छन् तर मृतक विगत एक वर्षदेखि हङकङमा शराणार्थीका रुपमा रहँदै आएकी थिईन् र उनको मृत्यको कारण अत्याधिक अल्कोहल सेवन हो भनेर उनको साथीहरुले भनेता पनि हाल पोष्टमार्टम रिर्पोट थाहा हुन सकेको छैन। युवतीको शव क्यू इ अस्पातलमा राखिएको छ।

आफ्नो मुलुक र परिवार छोडेर प्रवासमा बसोबास गर्ने जो कोहीलाई पनि मनोवैज्ञानिक असर त पर्छ नै अझ, शराणार्थीको रुपमा बसोबास गर्ने कतिपय मानिसहरुमा हिन भावना ग्रसित भएको पनि मैले भेटेकी छु र त्यतिमात्रै होईन, हङकङका स्थानीय नेपालीहरुले उनीहरुलाई हेर्ने दृष्टिकोण पनि अलिक फरक नै छ तर, एकपक्षीय दृष्टिकोणमात्रै राख्नुहुँदैन केही त्यस्ता कारण र विकृतिहरु फैलिएको भन्ने समाचार बेला बेला पढ्न पाईन्छ त्यसकारणले पनि स्वंय नेपाली शराणार्थीहरु आफैं पनि भन्छन्- ‘हामी जस्तो पीडित र असली शराणार्थीहरुलाई नक्कली शराणार्थीहरु जो हङकङमा केवल काम गर्ने ध्येयले मात्रै आएका छन्, उनीहरुले गर्दा हाम्रो केसलाई मर्कामा पारेको छ।’

पीडा त उनीहरुलाई नै थाहा हुन्छ जसको पाईतालामा साँच्चै नै निवार्सनको काँडा विझेको हुन्छ। कारण जेहेास्, समस्याको समाधान सबवेमा भेटिनु निश्चय नै दुःखदायी समाचार हो। यसका लागि पीडितहरु आफैं पनि सचेत र एकजूट हुनसक्नु पर्छ। सम्बन्धित निकायमा आफ्ना केसहरुका बारेमा सजग र तयारी हुनसक्नु पर्छ। मनोवैज्ञानिक तवरमा पीडितहरुले आफूले आवदेन दिएको यूएनको कार्यालय र अन्य एनजिओहरुमा पनि मनोवैज्ञानिक परामर्शको लागि सोधपुछका लागि सम्पर्क गर्न सक्छन्। मृत्यु नै अन्तिम समाधान होईन यसले त अझ धेरै समस्या निम्त्याउँछ-प्रियजन, परिवार, आफन्त र साथीभाईहरुलाई। यतिबेला सोच्दैछु, उनका ती नाबालक दुई नानीहरुलाई। ठूलो भएपछि उनीहरुको सर्वाङ्ग विकासमा कति असर पर्छ होला ?

लारा, हङकङ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

9 comments March 26th, 2008

हङकङमा लिम्बुवान सम्बन्धी जनजागरण अभियान (+Photo)

एचकेनेपाल डट कम -
किरात याक्थुङ चुम्लुङ हङकङले मार्च २३ तारिख आइतबारका दिन जोर्डनस्थित याउ मा तेइस्थित कम्युनिटी सेन्टरमा लिम्बुवान सम्बन्धी जनजागरण अभियान सञ्चालन गर्‍यो।


नेपालबाट आउनुभएका किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव योगराज लिम्बुको प्रमुख आथित्य रहेको सो कार्यक्रमको अध्यक्षता चुम्लुङ हङकङका अध्यक्ष ज्ञानु लिम्बू, स्वागत मन्तव्य तुलचन्द्र लिम्बू र सञ्चालन सचिव ज्ञान मेन्याङवोको रहेको थियो। कार्यक्रममा विशेष अतिथिको रुपमा हङकङ नेपाली महासंघका महासचिव हेम लिम्बू र अतिथिहरुमा आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङलगायत पत्रकारहरु रहेका थिए।

“भोट कसलाई ? लिम्बूवान भन्छन् जसलाई..” भन्ने नाराका साथ संबिधानसभाको निर्वारचनमा मतदान गर्न आग्रह गरिएको थियो। जुन सुकै पार्टीका उम्मेदवार भए पनि जसले लिम्बूवान सम्बन्धी नारा बोकेर चुनावी मैदानमा उत्रिएको छ। उनलाई मतदान गरेर सहयोग गर्न अपिल गरिएको थियो। नेपालमा हुन गै रहेको संबिधानसभाको निर्वाचनमा प्रवासमा रहेका नेपाली प्रत्यक्ष सहभागी हुन नसके पनि नेपालमा रहेका परिवार, आफन्त र साथीभाईहरुलाई खबर गरी उक्त निर्वाचनमा सहभागी बन्न आग्रह गर्न भनिएको थियो।

संबिधानसभाको निर्वाचनले नयाँ नेपालको लागि मूल कानुन नयाँ संबिधान बनाउनलाई ठूलो भूमिका खेल्ने भएकाले सो निर्वाचनमा सहभागी हुन वक्ताहरुले आग्रह गरेका थिए। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य योगराज लिम्बू, चुम्लुङका भूपू केन्द्रीय सदस्य गणेश इजम, भगत सुब्बा, लिम्बूवान राष्ट्रिय मोर्चाका महासचिव अविचन्द्र इङ्नाम, चुम्लुङ हङकङका कोषाध्यक्ष हस्त लिम्बू आदिले आफ्ना विचारहरु राख्नुभएको थियो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

10 comments March 26th, 2008

गणतन्त्र मोर्चा हङकङले संविधानसभालाई झक्झक्याए (+Photo)

चन्द्र मादेन, एचकेनेपाल डट कम -
एक युगमा एक दिन हुने संविधानसभा सफल र पारदर्शी बनुन् भन्ने उद्धेश्यले नेपाली लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङले मार्च २२ तारिख शनिवारका दिन जोर्डनस्थित कुन्चुङ स्पोर्ट सेन्टरमा एक वृहत्त भेलाको आयोजना गर्‍यो।


नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई आफ्नो मन्तव्य प्रकट गर्दै।

भेलालाई नेपालबाट आएका ने.क.पा.माओवादीका अध्यक्ष प्रचण्डका जेष्ठ सुपुत्र एवं सो पार्टीका कृयाशिल सदस्य प्रकाश दाहालले आसन ग्रहणसगै प्रमुख वक्ताको रुपमा सम्वोधन गरेका थिए। उक्त भेलालाई प्रमुख अतिथि नेपाली महावाणिज्यदूत हङकङका केशव भट्टराई, विशेष अतिथि नेपाली महासघं हङकङका अध्यक्ष हेजेन राई, नेपाली जनसरोकार समाज हङकङका अध्यक्ष मङ्गलवावु माल्वुल, किरात राई यायोख्खा हङकङ एवं एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, चाम्लिङ्ग खाम्वातिमका ज्ञानु राई, खोटाङ्ग समाज हङकङका भोगेन्द्र राईले सम्वोधन गरेका थिए। भेलामा अतिथिका रुपमा नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे, एचकेनेपाल डट कमका प्रधान सम्पादक पशन तमू पनि हुनुहुन्थ्यो।

नेपाली लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङका वाल कुमार राईको सभापतित्वमा सम्पन्न सो भेलालाई मोर्चाका प्रवक्ता राई चन्द्र दुमीले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन मोर्चाका महासचिव चन्द्र मादेनले गर्नुभएको थियो। मन्तव्य दिने अधिकांश वक्ताहरुले २४७ वर्ष अघिदेखि नेपाली जनताको रगत र पसिना खाने सामन्ती शाही राजतन्त्रको कडा आलोचना गर्दै पूर्ण रुपले राजतन्त्र अन्त्य हुनु पर्ने धारणा व्यक्त गरेका थिए। साथै मुलुकमा हुन गईरहेको संविधानसभाको चुनाव शान्तिपूर्ण, पारदर्शी र निश्पक्षताका साथ सपन्न हुन सकोस् भन्ने कामना व्यक्त गरेका थिए। वक्ताहरुले नयां सविधानले प्रत्येक नेपालीको मर्म र भावनालाई कदर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुने कुरामा विश्वास व्यक्त गरेका थिए।

तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

स्मरणीय रहोस्, ‘नेपाल लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङमा’ नेपालका विभिन्न प्रमुख पार्टीका भातृ संगठनहरु, संघसंस्था, पत्रकार, साहित्यकार, नागरिक समाज र क्षेत्रका आधारमा प्रत्येक जात जातिको साझा संगठन २१ सदस्यीय मोर्चा गत वर्ष मे १३, २००७ मा गठन गरिएको थियो। मोर्चाले गत अगष्ट २००७ मा मुलुकमा सविधान सभाको चुनाव, सामन्ती राजतन्त्रको पूर्ण अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि तीन हजार पाँचसय हस्ताक्षर संकलन गरी प्रतिनिधि नेपाल गएर प्रधानमन्त्री र सभामुखलाई वुझाएका थिए।
चन्द्र मादेन, हङकङ ।

Popularity: 4%

3 comments March 26th, 2008

टंक सम्वाहाम्फेको दोश्रो गीति एल्बम - ‘सार’ विमोचित (+Photo)

एचकेनेपाल डट कम, मार्च २३ -
साहित्यकार टंक सम्वाहाम्फेको दोश्रो गीति एल्बम - ‘सार’ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा मार्च २३ आइतबारका दिन विमोचन गरियो।


सम्वाहाम्फेको दोश्रो गीति एल्बम ‘सार’ लाई वरिष्ठ संगीतकार दिनेश सुब्बा, चर्चित संगीतकार नागेन्द्र श्रेष्ठ र अन्तर्राष्ट्रिय साहित्य समाज वासिङ्टन डिसीका केन्द्रीय सदस्य तथा हङकङ च्याप्टरका अध्यक्ष पशन तमूले संयुक्त रुपले विमोचन गर्नुभएको थियो।

‘सार’ मा गीतकार टंक सम्वाहाम्फेका १० वटा गीतहरु समेटिएका छन् भने आठ वटा गीतमा कृष्णभक्त महर्जन र एक एक गीतमा दिनेश सुब्बा र हेमन्त शिशिरको संगीत रहेको छ। सबै गीतहरु कृष्णभक्त राईका सुमधुर स्वरले सजिएका छन्। गीतकार तथा कवि टंक सम्वाहाम्फेका यस अघि ‘मनोभाव’ गीति एल्बम र ‘युद्धभित्र उभिएका बुद्धहरु’ कविता संग्रह प्रकाशित भै सकेका छन्। हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य समाज हङकङ च्याप्टरका महासचिव समेत रहनुभएका सम्वाहाम्फेको सार गीति एल्बमलाई अन्तर्राष्ट्रिय साहित्य समाज हङकङको आयोजनामा र एचकेनेपाल डट कमको प्रायोजनमा विमोचन गरिएको हो।


अनेसास हङकङ च्याप्टरका सल्लाहकार तथा भयवादका प्रवर्तक देश सुब्बाद्वारा सञ्चालित विमोचन कार्यक्रमको अध्यक्षता पशन तमूले गर्नुभएको थियो भने प्रमुख अतिथि र विशेष अतिथि क्रमशः दिनेश सुब्बा र नागेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो। कार्यक्रममा एनआरएन प्रशान्त क्षेत्रीय संयोजक गणेश इजम, अनआरएन हङकङ अध्यक्ष यामकुमार गुरुङलगायत साहित्यकार, बुद्धिजीवि, कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

विमोचन कार्यक्रमलाई अनेसास साउदी अरबका निवर्तमान अध्यक्ष मोती चाम्लिङले स्वागत मन्तव्यका साथै अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)को संक्षिप्त परिचय दिनुभएको थियो। चाम्लिङले अन्तर्राष्ट्रिय साहित्य समाज देश विदेशमा छरिएर रहेका नेपाली भाषी साहित्यकारहरु बीच अनलाइनमार्फत सहकार्य गर्दै नेपाली साहित्यको संरक्षण, सम्वर्द्धन र विकासको लागि स्थापित अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो भन्नुभयो। अनलाइनको माध्यमद्वारा एकआपसमा सरसल्लाह, बैठक र साहित्यिक गतिविधि गरिदै आएकोले अनेसासले केही गरेन भन्नु नहुने बताउंनु भयो।


विमोचित गीति एल्बमका संगीतकार कृष्णभक्त राईलाई नजिकबाट चिन्नुभएका संगीतकार शिव सुब्बाले संगीतकार राई नेत्रहीन भएपनि उनी संगीतमा परिपक्व रहेको बताउंनु भयो। वरिष्ठ संगीतकार दिनेश सुब्बाले गीतकार टंक सम्वाहाम्फे र संगीतकार कृष्णभक्त राईलाई नयाँ गीति एल्बम ‘सार’ को सफलताको लागि शुभकामना दिनुभएको थियो। सुब्बाले गीतकार सम्वाहाम्फेसंगको सहकार्य सुखद रहेको बताउनु भयो। उहाँले संगीतकार कृष्णभक्त राई नेत्रहीन भए पनि बहुप्रतिभाशाली व्यक्तित्व भएको उल्लेख गर्दै राईको तीक्ष्ण बुद्धि र क्षमताको प्रशंसा गर्नुभयो। केही समयदेखि रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आएका राईको उक्त स्टुडियो बन्द हुने स्थितिमा पुगेको सुन्दा दुःख लागेको बताउंनु भयो। यसको मुल कारण आर्थिक समस्या हुन सक्छ त्यसैले बहुप्रतिभाशाली राईको उत्साहलाई मर्न दिनु हुदैन भन्दै उनको कार्यक्रम हङकङमा आयोजना गरेर आर्थिक सहयोग गर्नु पर्छ भन्ने सुझाव वरिष्ठ संगीतकार दिनेश सुब्बाले दिनुभयो।

त्यसै गरी शुभकामना दिनेहरुमा संगीतकार नागेन्द्र श्रेष्ठ, आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ, एनआरएन प्रशान्त क्षेत्रीय संयोजक गणेश इजम, आदिवासी समाज हङकङका अध्यक्ष प्रदीप कन्दङ्वा, धरान मञ्च हङकङका अध्यक्ष तथा एभरेष्ट सम्पादक किसन राई, साहित्यकार कमल पौडेल र लिम्बु भाषी साहित्यकार भगत सुब्बा हुनुहुन्थ्यो।

विमोचन कार्यक्रममा कङ्गन रेष्टुरेण्टका प्रोपाइटर कमल पौडेलले जलपानको लागि प्रायोजन गर्नुभएको थियो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

7 comments March 24th, 2008

एनआरएन हङकङद्वारा डोल्माको जीवन रक्षाको लागि आर्थिक सहयोग (+Photo)

एचकेनेपाल डट कम, मार्च २३ -
कुवेतको तल्लो अदालतबाट मृत्युदण्डको फैसला सुनाइएकी नेपाली चेली सिन्धुपाल्चोककी डोल्मा शेर्पाको जीवन रक्षाका लागि एनआरएन हङकङले संकलन गरेको रकम एनआरएन आईसीसी हङकङ प्रतिनिधि कृष्ण पाण्डेलाई मार्च २३ तारिख आइतबारका दिन हस्तान्तरण गरेको छ।


एक फिलीपिनी महिलाको हत्याको आरोपमा कुवेतको अदालतले मृत्युदण्डको सजाय सुनाइएकी डोल्माको कमजोर आर्थिक पारिवारिक पृष्ठभूमि भएकोले प्रतिरक्षार्थ वकिल सेवावापत र मृतकको परिवारलाई दिइने क्षतिपूर्ति रकमका लागि डोल्मालाई मोटामोटी ५० लाख रुपैयाँ आवश्यक पर्ने भएकोले सो रकम संकलनमा नेपाल सरकारले देश विदेशमा रहेका नेपालीहरुलाई मानवीय आधारमा सहयोग गर्न अपिल गरेको थियो।

सोही अपिल बमोजिम गैरआवासीय नेपाली संघले समेत डोल्माको जीवन रक्षाका लागि विश्वव्यापि आहृवान गरिएको थियो। त्यसै अभियान अन्तर्गत एनआरएन हङकङले हङकङ र मकाउका नेपालीहरुबाट संकलन गरिएको ४४ हजार २ सय ३२ हङकङ डलर रकम एनआरएन आईसीसी हङकङ प्रतिनिधि कृष्ण पाण्डेलाई हस्तान्तरण गरेको छ। एनआरएन हङकङले सो रकम विदेशबाट नेपालीहरुले अहिलेसम्म संकलन गरेको मध्ये सबैभन्दा ठूलो धनराशि भएको दावी गरेको छ।

जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा बोल्दै आईसीसी हङकङ प्रतिनिधि कृष्ण पाण्डेले डोल्माको जीवन रक्षाको लागि एनआरएन हङकङले देखाएको चासोप्रति खुशी व्यक्त गर्नुभएको थियो। उहाँले संकलित रकम भरपर्दो माध्यमद्वारा सम्बिन्धित ठाउंमा पुर्‍याउने जानकारी दिनुभयो। उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५०० ट्रली उपलव्ध गराउने कार्यमा एनआरएन हङकङ लागि परेको समेत जानकारी दिनु भयो।

प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईले श्रम बेच्न कुवेत पुगेकी नेपाली चेलीलाई मृत्युदण्डको फैसला सुनाएको सुन्दा दुःख लागेको बताउनु भयो। उहाँले एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो।

एनआरएन हङकङका अध्यक्ष यामकुमार गुरुङको अध्यक्षतामा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष सुमलकुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव अर्जुन गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा एनआरएन आइसीसी पूर्व कोषाध्यक्ष प्रकाश पुन, शेर्पा समाज हङकङका अध्यक्ष पासाङ शेर्पा र स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

2 comments March 23rd, 2008

बाँसुरी वादक गुरुङलाई ससम्मान बिदाई (+Photo)

एचकेनेपाल डट कम, मार्च २३ -
हङकङका एक मात्र कुशल बाँसुरी वादक पदम गुरुङलाई हिमालयन टोन्स एकेडमीले चिम शा चुइस्थित सूर्य रेष्टुरेण्टमा मार्च २२ तारिख शनिबार साँझ एक कार्यक्रमको आयोजना गरी ससम्मान बिदाई गरेको छ।

हङकङको रंगमञ्च र साँगीतिक मौहालहरुमा गुञ्जिने बाँसुरी धुनका कुशल वादक पदम गुरुङ हङकङ छोडेर बेलायत प्रस्थान गर्नु अघि हिमालयन टोन्सले बिदाई कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा हङकङका अधिकांश नेपाली कलाकारहरुको उपस्थिति रहेको थियो। कलाकारहरुले बाँसुरी वादक गुरुङलाई विशुद्ध नेपाली गीत संगीतका कोसेलीहरु पस्केर शुभ यात्राको कामना व्यक्त गरेका थिए। अप्रिलको पहिलो सप्ताह बाँसुरी वादक गुरुङको बेलायत जाने योजना रहेको छ।

हिमालयन टोन्स एकेडमीका प्रशिक्षक तथा वरिष्ठ संगीतकार दिनेश सुब्बा आयोजक रहनुभएको उक्त कार्यक्रममा सुब्बाले कार्यक्रम दुई उद्धेश्यले आयोजना गरिएको जानकारी दिनुभयो। पहिलो बाँसुरी वादक गुरुङको विदाई र दोश्रो विशुद्ध नेपाली गीत गायन। कार्यक्रममा वरिष्ठ संगीतकारद्वय दिनेश सुब्बा र विक्रम गुरुङले बाँसुरी वादक पदम गुरुङलाई सम्झनाको उपहार र प्रमाण पत्र वितरण गर्नुभएको थियो। केही समयपछि नेपाल फर्कन लाग्नुभएका ६६ वर्षीय तन्नेरी गायक बीरबहादुर थापा मगरलाई पनि सोही कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो।

गायक बीरबहादुर थापाले वरिष्ठ संगीतकार विक्रम गुरुङद्वारा संगीतबद्ध तथा स्व. गायक अरुण थापाका गीतहरु भूलुं भूलुं लाग्यो मलाई… र चोट के हो व्यथा के हो बाट गीत गुञ्जनको कार्यक्रम आरम्भ गर्नु भएको थियो। कार्यक्रममा सुनिता हिराचनले - हेरेको तिमीलाई आँखाले होइन.., विजय श्रेष्ठले - लोलाएका ती ठूला दुई नजरले .., रोशा लिम्बू - सबैले भन्थे मायालु फूल भै.., श्याम गुरुङ - असारे महिनामा पानी .., सुनिता प्रधान - हाँसे राखे बोली राखे नि..र मन लागे जोडी दिन.., टोपराज लामा - तिमीलाई भूल्दा… र तिमीले भनेका सारा देव छोएर.., डोलमान लिम्बू - हेलम्बुको चिसो हावाले…, मनिष राय - हारी सकें यति धेरै.., रविन श्रेष्ठ (नेपथ्य) - याद गर ती दिनहरु …र केही मिठो बात गर…, अन्तिम राई - हाम्रो सुन्दर संसार थियो…, विशाल गुरुङ - तिमी यसै लजायौ.., सन्तोष गुरुङ - लोलाएका ती दुई नजरले …र श्रृतुहरुमा तिमी हरियाली वसन्त हौ .., नन्द राई - टाढा भए के भो मायालु .., कमल राई र विमला राई - यो दाजुको मिरमिरे आँखा .., मनोज घले - कस्तुरी हे वास आउछ भन्छन्.., केही मिठो वात गर..र आज मलाई के भा छ के भा छ.. र गणेश पराजुलीले मेरो आँखालाई राखने फूलवारी छैन.. र जुन फूल मैले चाहेको थिएं जस्ता लोकप्रिय र कर्णप्रिय गीतहरु प्रस्तुत गरेका थिए। त्यसै गरी गायन वाहेक वाद्यवादनमा विजय गुरुङ, मनोज घले, दिपेश लामा, डोलमान लिम्बु, यादव राई, भीम पुन, पदम गुरुङ, कुलप्रसाद गुरुङ, डोलमान लिम्बु आदि रहेका थिए।

वरिष्ठ संगीतकार दिनेश सुब्बाले - जति भोग्छु आफैंसित…र सम्झि बसें तिमीलाई.. र विक्रम गुरुङले आफ्नै संगीतमा स्व. अरुण थापाद्वारा स्वरबद्ध लोकप्रिय गीत - आँखाको निंद खोसि लाने .. गाउनुभएको थियो। बाँसुरी वादक पदम गुरुङको विदाईमा विक्रम गुरुङले फूल फुल्छ फूल झर्छ .. भन्ने आफ्नै संगीतमा पूराना रेकर्ड नभएको विदाई गीत गाउनु भएको थियो।

कार्यक्रमको पूर्वाद्ध लक्ष्मी थापा राईले र पछि दिनेश सुब्बाले सञ्चालन गर्नुभएको थियो। नितान्त अनौपचारिक रुपमा आयोजित उक्त कार्यक्रममा पत्रकारहरु पशन तमू, जगत अम्बु र देवराज राईको उपस्थिति रहेको थियो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

4 comments March 23rd, 2008

पर्वत पैंयूंखोला समाजको छैंठौ वार्षिकोत्सव समारोह ( 5 April 2008)

पर्वत पैंयूंखोला समाजको छैंठौ वार्षिकोत्सव समारोह ( 5 April 2008)
पर्वत पैंयूंखोला समाजको छैंठौ वार्षिकोत्सव समारोह तथा नयाँ वर्ष २०६५ को पावन अवसरमा संसारभर छरिएर रहेका नेपालीहरुप्रति पर्वत पैंयूंखोला समाज हङकङ सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सोही अवसरमा आयोजना हुन गैरहेको कार्यक्रममा यहाँहरुको सुखद उपस्थितिका लागि समाज हार्दिक अनुरोध गर्दछ।

आयोजकः पर्वत पैंयूंखोला समाज, हङकङ
समयः बेलुकी ७ बजेदेखि
मितिः ५ अप्रिल २००८
स्थानः कङ्गन रेष्टुरेण्ट, जोर्डन
थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्।

Popularity: 4%

10 comments March 21st, 2008

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category