देवराज राई, हङकङ / एचकेनेपाल डट कम, अक्टोबर २९ -
‘भाषा जातिको प्राण हो, भाषा समाज निर्माणको आधार हो’ भन्ने नारा लिई हङकङेली नेपाली समाज तथा यहाँका विभिन्न विद्यालयहरुको संलग्नतामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी लक्ष्मी पूजाका दिन अर्थात २८ अक्टोर साँझमा युन लङ टाउन हलमा गएको वर्षहरुमा जस्तै भव्यरुपमा सम्पन्न भएको छ।
विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा तिनका बालबालिका, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, साहित्यकार, पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको आधारमा समाज उठान, नेपाली भाषा तथा साहित्य विकासमा महाकवि देवकोटाको देनबारे चर्चा परिचर्चा गरिनुका साथै विद्यार्थी वर्गबाट देवकोटामा समर्पित कथा, कविता, लेख, गीत, निबन्ध आदि प्रस्तुत गरेका थिए। कार्यक्रममा देवकोटाका कृतिहरु वाचन तथा विभिन्न विद्यालयका विद्यार्थीहरुले नेपाली संस्कृति झल्किने लोक, आधुनिक नृत्य तथा सामूहिक गीतहरु प्रस्तुत गरेका थिए।
तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
पीएच केन्द्रीय प्राथमिक विद्यालयको सहयोगमा हङकङ नेपाली साहित्य परिषदको आयोजनामा हङकङ नेपलीज फाउण्डेशनले संयोजन गरेको कार्यक्रममा परिषदका अध्यक्ष एकराज राईको संबोधनपछि शुभारम्भ भएको कार्यक्रममा ३ घण्टासम्म नेपाली भेषभूषामा सजिएका नेपालीहरु खचाखच भरिएको हलमा विद्यार्थी वर्गले आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अतिथिहरुलाई नेपाली टोपी हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा पीएच केन्द्रीय प्राथमिक विद्यालय प्रिन्सिपल मिस्टर चोङ, तुङ कुन प्राथमिक विद्यालयका माइकल ल्याङ, हङकङ नेपाली महासंघको अध्यक्ष हेम लिम्बू, पीएच विद्यालयका अभिभावक संघका उपाध्याक्ष रत्न खिम्दिङ, सगरमाथा किन्डरगार्टेनका प्रिन्सिपल कमला राईलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। प्रिन्सिपल चोङले नेपाली भाषामा नै मन्तव्य व्यक्त गर्दै नेपाली भाषालाई हङकङमा स्थापित गराउन सहयोग गर्ने कुरा बताउनु भयो। अन्य अतिथिहरुले देवकोटाको तथा विद्यार्थीहरुको प्रगतिलाई प्रशंसा गरेका थिए।
कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरु पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, टीके प्राथमिक विद्यालय, आइकेटी कलेज, बेथल हाई स्कुल, सर कादुरी माध्यमिक विद्यालय, डेलिया स्कुल, सगरमाथा किन्डर गार्टेनका छात्र, छात्राहरुले देवकोटा जयन्ती २००८ मा सहभागिता जनाएका थिए। कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीहरु स्वयंले उद्घोषण गरी कार्यक्रम सञ्चालन गरेका थिए।
एस, हङकङ / एचकेनेपाल डट कम, अक्टोबर २५ -
पर्बत पैंयूखोला समाज हङकङको दसैं तिहार कार्यक्रम अक्टोबर २५ तारिख साँझ कङ्गन रेष्टुरेण्टमा सम्पन्न भयो। समाजका अध्यक्ष चुकप्रसाद गुरुङको अध्यक्षता तथा सल्लाहकार समितिका सदस्य अम्मरबहादुर गुरुङ र कुलप्रसाद गुरुङलाई आसन ग्रहण गराउदै महासचिव खुमकुमार गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो। सचिव बलप्रसाद गुरुङले स्वागत तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा बिभिन्न समाजका सदस्यहरुलाई सम्मान गरिएको थियो। एटिभि वर्ल्ड ब्रोडकास्टिङबाट अल्पसंख्यक बर्गको बिषय बस्तुमा आधारित टिभी सिरियलमा अभिनयगरी बेस्ट एक्टिङको उपाधि प्राप्त पिटर गुरुङ, मुइ थाइ बक्सिगमा ग्रजुएशन प्राप्त प्रेमबहादुर सार्की, गत जुन महिना हङकङमा सम्पन्न पुम्से प्रतिस्पर्धामा ओभर अल च्याम्पियनको उपाधि विजेता बलप्रसाद गुरुङ र सोही प्रतियोगितामा तृतीय चुकप्रसाद गुरुङलाई बधाई तथा सम्मान पत्र प्रदान गरिएको थियो।
अन्तर बिधालय खेल प्रतियोगिता अन्तर्गत सय मिटर दौडमा स्वर्ण पदक बिजेता बिरेन गुरुङ र फुटबल खेलमा स्वर्ण पदक बिजेता पुनम गुरुङ तथा बिकाश गुरुङलाई समेत सम्मन गरिएको थियो। त्यसै गरी बिभिन्न संघ-संस्थामा आबद्ध समाजका सदस्यहरुलाई खादा तथा कदर पत्रसहित सम्मान गरिएको थियो।
तस्वीरः जगत अम्बु गुरूङ/ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्।
एस, हङकङ / एचकेनेपाल डट कम, अक्टोबर २७ -
हङकङमा रहेका नेपालीहरुले छुट्टाछुट्टै स्थान र मितिमा नेपालीहरुको महान चाड दसैं र तिहार धुमधामले मनाए।
परदेशमा दसैं तिहारको ठ्याक्कै शुभ साइतमा मनाउन नपाए पनि आफूलाई अनुकूल हुने गरी कसैले अघि कसैले पछि भएपनि मनाए। यहाँका नेपालीहरुले बिबिक्यु पार्टी, साँस्कृतिक कार्यक्रम, खेलकुद, शुभकामना आदानप्रदान, टीका ग्रहण, दीप प्रज्वलित, देउसी भैलोसहित विभिन्न कार्यक्रमहरुको आयोजना गरी नेपाली चाड दसैं र तिहार मनाएका छन्। कुनै क्षेत्रीय र जातिय संघसंस्थाले दसैं तिहार कार्यक्रम सम्पन्न गरिसकेका छन् भने कतिपय अझै मान्ने सिलसिला जारी रहेको छ।
पर्वत पैयूँखोला समाज, किरात राई चाम्लिङ, गुल्मी समाज, मगर संघ, लमजुङ सेवा समिति, स्याङ्जा सेवा समिति, पुन मगर समाज, तनहूँ समाज, धरान हङकङ मञ्च, लङघाली समाज, डाँडा गाउँले समाज, नेवार समाज, इलाम समाज गरी झण्डै एक दर्जन संघसंस्थाहरुले दसैं तिहार कार्यक्रम सम्पन्न गरिसकेका छन्।
हेर्नुहोस् भिडीयोः
दसैं तिहार कार्यक्रमका थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
एस, हङकङ / एचकेनेपाल डट कम, अक्टोबर २६ -
हङकङ विधान सभाका सभामुख (प्रमुख) चाङ योक सिंले नेपालीहरुको महान चाड दसैं र तिहारको उपलक्ष्यमा नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन्।
दसैं र तिहारको अवसरमा जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आइतवार दिउंसो आयोजित भेटघाट कार्यक्रममा बोल्दै सभामुख सिंले आफ्नो पार्टी र हङकङ सरकारको तर्फबाट नेपालीलाई शुभकामना व्यक्त गरेका हुन्।
हङकङमा अल्पसंख्याको रुपमा रहेको नेपाली समुदायमाझ सभामुख सिंको यो पहिलो उपस्थिति हो।
हङकङ विधानसभा प्रमुख चाङ योक सिं।
बेइजिङ समर्थक हङकङका प्रमुख राजनैतिक दल डमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डिएबी) का पूर्व सभापतिसमेत रहेका सिंले नेपालीहरुको महान चाड दसैं र तिहारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपालीहरुको कुनै गाह्रा अप्ठ्यारा समस्या भए अवगत गराउन आग्रह गरेका थिए।
याउ चिम मोङ जिल्ला परिषद सदस्यद्वय क्रिस इप र बेनी योङद्वारा विशेषतः नेपालीको लागि आयोजित कार्यक्रममा सभामुख सिंसहित विधान सभा सदस्य स्टेरी ली, याउ चिम मोङस्थित याउ मा तेइ र जोर्डनका प्रतिनिधि जिल्ला परिषद सदस्यहरु उपस्थित थिए।
डिएबीका तर्फबाट याउ चिम मोङ जिल्ला परिषद सदस्य तथा हङकङ टिभी स्टार डेविड लाउको आकस्मिक निधनका कारण रिक्त रहेको पदका लागि अक्टोबर ५ तारिख सम्पन्न जिल्ला परिषद उपनिर्वाचनमा इप विजयी भएका थिए। उनी आफ्ना प्रतिद्वन्दीभन्दा करीव डेढ सय बढी मत पाई विजयी भएका थिए। इपलाई नेपाली समुदायबाट निर्णायक मत प्राप्त भएको बताइन्छ। उनले चुनावी अभियानमा नेपाली समुदायबाट प्राप्त सहयोगको सराहना गर्दै आभार प्रकट गरेका थिए।
तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
डिएबी पार्टीसंग निकट रहेका कुलप्रसाद गुरुङले भेटघाट कार्यक्रमको संयोजन गरेका थिए। कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, एनआरएन हङकङका अध्यक्ष यामकुमार (त्रिलोक) गुरुङ र डिएबीसंग लामो समयदेखि सापीप्य रहंदै आएका बुद्धिबहादुर थापालगायत अन्य संघसंस्था अध्यक्ष तथा प्रतिनिधि, व्यापारी र पत्रकारहरु उपस्थित थिए।
कार्यक्रममा नमो बुद्ध आमा समूहले विधानसभा प्रमुख सिं, विधानसभा सदस्य स्टेरी ली, याउ चिम मोङ जिल्ला परिषद सदस्यहरूलगायतलाई खादा ओडाई दसैं र तिहारको शुभकामना व्यक्त गरेका थिए।
Yang Memorial Methodist Social Service
Job Advertisement
Date: 24/10/2008
Job Post: Assistant Instructor in Cleaning Industry
Job Vacancy: 2
Job Format: Temporary Job (Start working from 24/11/08 to 12/12/08)
Salary: Hourly Pay $65/hr Job Location & Address:
Yang Memorial Methodist Social Service, 2/F, No 54, Waterloo Road, Yau Ma Tei, Kowloon
Working Days per week: 2-5 Days per week
Working Time: From 10 a.m. to 7p.m. Job Nature:
1. Assisting trainee during the retraining course
2. Interpretation of English and Cantonese to Nepali and/or Hindi Job Requirement:
1. Able to speak English, Cantonese and Nepali or Hindi Other Information:
Job seekers may e-mail (spdd@yang.org.hk ) resume to Yang Memorial Methodist Social Service or contact Ms Angel Ho at 2251-0893.
देवकोटा जयन्ती (28 October 2008)
हङकङ नेपाली साहित्य परिषद्
महोदय,
देवकोटाजयन्ती २००८
विभिन्न विद्यालयहरुको संलग्नतामा अन्य नेपाली कार्यक्रमहरु जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउंदै आएका छौँ । यस सालको जयन्ती निम्न स्थान र समयमा सम्पन्न हुने जानकारी गराउंदै समारोहमा उपस्थितिकोलागि तपाईँलाई हार्दिक निमन्त्रण गर्दछौं। जयन्ती मितिः २८ अक्टोवर २००८ स्थानः युनलङ टाउन हल समयः बेलुकीको ६:३० बजे
कार्यक्रमभित्र विशेष
भाषा, साहित्य र संस्कृतिको आधारमा समाज उठानः सन्दर्भ हङकङ
नेपाली समाज विकासमा महाकवि देवकोटाको सृजनात्मक देनबारे चर्चा/परिचर्चा
विद्यार्थीविशेषबाट कथा, कविता, लेख, निबन्धादि प्रस्तुति
महाकवि देवकोटाको कृति वाचन
महाकवि देवकोटाका कृति तथा कृतिबारे प्रदर्शनी
लोक तथा आधुनिक नृत्यहरु विद्यार्थीवर्गबाट प्रस्तुति
प्रधानाध्यापक, अध्यापक तथा अतिथिवर्गबाट सम्बोधनहरु
हङकङका नेपाली र्सजक र उनका सिर्जनाहरु
धन्यवाद ज्ञापन
कार्यक्रमसहभागी विद्यालयहरु निम्न छन्-
पीएच केन्द्रीय प्राथमिक विद्यालय
पिके कलेज
टीके प्राथमिक विद्यालय
आइकेटी कलेज
लिपो चुन वर्ल्ड कलेज
सर कादुरी प्राथमिक विद्यालय
डेलिया उच्चतर माध्यमिक विद्यालय
सर कादुरी माध्यमिक विद्यालय
बेथेल हाई स्कूल
सगरमाथा किन्डरगार्टेन
आयोजकः हङकङ नेपाली साहित्य परिषद् संयोजकः हङकङ नेपलीज फाउन्डेशन्
हङकङ नेपाली साहित्य परिषद्को पक्षमा
एकराज राई
बाग्लुङ समाज, हङकङको हार्दिक अपिल
बाग्लुङ समाज हङकङका निवर्तमान अध्यक्ष तथा हङकङमा रहेका विभिन्न संघ संस्थाहरुमा आवद्ध रही सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका साथै आफ्नै व्यक्तिगत संघर्षवाट हङकङेली नेपाली समुदायमा एकेडेमिक तहमा गनिन सफल व्यक्तित्व श्री चुराबहादुर थापामाथि सुनियोजित ढंगले गुण्डागर्दी तवरवाट अत्यन्तै लज्जास्पद पारामा आक्रमण भएकोमा बाग्लुङ समाज हङकङ मर्माहत बनेको छ। उहाँ जस्तो व्यक्ति असुरक्षित रहनु हामी सबैको खतराको संकेत हो। बाग्लुङ समाज हङकङ यस सम्वेदनशील घटनामा संलग्न दोषीलाई यथाशक्य छिटो पत्ता लगाई कानुनी कठघरामा उभाएरै छोड्ने प्रतिवद्धता जाहेर गर्दै साथै हङकङ नेपाली महासंघलगायत अन्य सबै संघ संस्था अनि सम्पूर्ण शुभचिन्तकहरुमा आ-आफ्नो क्षेत्रवाट सक्रिय सहयोगको लागि बाग्लुङ समाज हङकङ हार्दिक अपिल गर्दछ।
आशीष, हङकङ/ एचकेनेपाल डट कम -
हङकङ तेक्वान्दो संघले हरेक वर्ष आयोजना गरिने राष्ट्रिय प्याट्रन प्रतियोगितामा यो वर्ष हङकङ नेपाली तेक्वान्दो संघका खेलाडीहरुले २ स्वर्ण र ४ कास्य गरी जम्मा ६ वटा पदक प्राप्त गरेका छन्।
क्वाइ चुङमा आइतवार सम्पन्न प्रतियोगितामा संघका खेलाडीहरू मास्टर देवचन्द्र गुरुङ र राजु गुरुङले २ स्वर्ण पदक जितेका छन् भने अन्य खेलाडीहरुले चार कास्य पदक जितेका छन्। स्पाइरिङको दाँजोमा प्याट्रन कलामा पोख्त मानिने यो क्लवले २००४ मा एक स्वर्ण हात पारेको थियो। क्लवका पहिलो प्याट्रन विजेता हङकङ प्याट्रन च्याम्पियन महेश राई भने यस पल्टको प्रतियोगितामा पहिलो राउण्डबाट नै बाहिरिए।
प्रतियोगितामा ३९ वटा तेक्वान्दो संगठनका खेलाडीहरू सहभागी भए पनि यस प्रतियोगितामा अन्य नेपाली क्लवहरुको सहभागिता रहेन।
प्रतियोगितामा विजयी देवचन्द्र गुरुङ एचकेएनटीए स्वर्ण पदकका साथमा सर्वोकृष्ट खेलाडीसमेत भैसकेका छन् र राजु गुरुङ हङकङ प्रहरी तेक्वान्दो संघको प्रतियोगिताका स्वर्ण पदक विजेता मात्र नभएर क्लवका होनहार खेलाडी मानिन्छन्। गत सालको प्याट्रन प्रतियोगितामा क्लवका अर्का खेलाडी विशाल गुरुङले स्वर्ण पदक हात पारेका थिए।
मंकी हिल जाऔं, खुशियाली मनाऔं !
बेलायतको उच्च अदालतले आवासीय भिसा सम्बन्धी मुद्दामा ब्रिटिश गोर्खाको पक्षमा फैसला सुनाउँदै बेलायती सरकारलाई बिना भेदभाव सम्पूर्ण ब्रिटिश गोर्खा भूतपूर्व सैनिकलाई आवासीय भिसा उपलब्ध गराउँन व्यवस्था गर्न आदेश दिएको खुसीयालीमा हङकङमा रहेका ब्रिटिश गोरखा भूतपूर्व सैनिक तथा सन्ततिबीच उत्सव मनाइने भएकोले उक्त कार्यक्रममा उपस्थित भइदिनहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं।
आयोजकः ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ, हङकङ स्थानः मंकी हिल मितिः १२ अक्टोवर २००८ समयः दिनको १२ बजेदेखि सम्पर्क:
अध्यक्ष- ९८४९ ५८६४
सचिव- ६०१२ २७९७ सशुल्क बीबीक्यूलगायत पेयपदार्थको व्यवस्था गरिएको छ।
ईन्द्र थापा मगर, हङकङ / एचकेनेपाल डट कम -
म्याग्दी प्रवासी नेपाली संघ (मोना) ,हङकङको चौथो अधिवेशन सेप्टेम्बर २८ का दिन याउ मा तेइस्थित कम्युनिटी सेन्टरमा सम्पन्न भयो।
चौथो अधिवेशनबाट अध्यक्ष दलबहादुर सेबुर्जाको नेतृत्वमा उपाध्यक्ष अमृत गर्बुजा, सचिव लोकेश बोगटी, सहसचिव रुपा चोचाङ्गी, कोषाध्यक्ष कर्णबहादुर पुर्जा, सदस्यहरुमा पदम पाईजा, आशा पुन, तुला देवी तिलिजा, बिना पुन, कर्ण पाईजा, रेणु थापा, टिपेन गबुर्जा ,शिला जुग्जाली, महेश पाईजा र राजेन्द्र तिलिजा निर्वाचित भएका छन्।
प्रमुख अतिथि नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई, विशेष अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, मोना अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक प्रकाश पुन र मोना हङकङका सल्लाहकार तथा भूपू माननिय नरबहादुर पुन साथै अतिथिहरुमा नेपाली आदिबासी जनजाति महासंघका अध्यक्ष भूपेन्द चेम्जोङ, हेभन्ली पाथका अध्यक्ष बालकुमार राई, एनआरएन हङकङका उपाध्यक्ष दुर्गाप्रसाद गुरुङ, पुन मगर समाज, हङकङका अध्यक्ष राजु गर्बुजा, एमाले, हङकङकका सचिव ओमराज सम्बाहाम्पे साथै सल्लाहकारहरु संस्थापक अध्यक्ष गणेश फगामी, रुपनाराण पुन, क्यापटेन इन्द बहादुर अधिकारी, पुन मगर समाज हङकङका भूपू अध्यक्ष गो.मे.गमबहादुर बुदुजा, भक्त रोका, कर्ण पुन र संस्थापक सल्लाहकार फक्त बहादुर गर्बुजाको उपस्थिति रहेको थियो।
खुला सत्रको अध्यक्षता अध्यक्ष तुल्मराज रामजालीले स्वागत भाषण सहसचिव लोकेश बोगटीले र कार्यक्रम संचालन सचिव इन्द्र थापा मगरले गरेका थिए। उक्त अवसरमा संस्थाका दिर्घकालीन सदस्य बन्नेहरु निवर्तमान उपाध्याक्ष घनबहादुर गर्बुजा, भूपू मोना, हङकङ कार्यसमितिका सदस्य अमर भण्डारी (हाल यू.के.), मोना महिला समितिका निवर्तमान सदस्य लक्ष्मी थापा मगर र मोना साँस्कृति समितिका निवर्तमान सदस्य मनकुमारी पुनलाई क्रमश प्रमख अतिथि केशवप्रसाद भट्टराई, विशष अतिथिहरु नरबहादुर पुन र प्रकाश पुनलगायतले कदरपत्र प्रदान गर्नुका साथै म्याग्दीबासी कुनै पनि सस्थाको नेतृत्व तहमा निर्वाचित भए संस्थाले अझ अभिप्रेरित गर्नको लागि सम्मान गर्ने भएका हुदाँ हालै मगर संघ, हङकङमा उपाध्यक्षमा निर्वाचित भएका दल पुनलाई खादा ओदाएर सम्मान गरिएको थियो।
वन्द सत्रको संचालन गणेश फगामीको अध्यक्षतामा सदस्यहरु गो.मे. गमबहादुर बुदुजा र कृष्ण तिलिजाले गरेका थिए भने दल पुनको अध्यक्षतामा सदस्यहरु रुपप्रसाद पुन र राजु गर्बुजा रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो। निवर्तमान सचिव ईन्द्र थापा मगरले कार्यप्रतिवेदन र निर्वतमान कोषाध्यक्षको तर्फबाट सहसचिव लोकेश बोगटीले पेश गरेको आर्थिक प्रतिवेदन सबै सर्वसम्मत पारित भएको थियो भने प्रस्तुत प्रस्तावहरु उपर छलफल भै सुझावसहित पारित भएको थियो। विगतको अधिवेशनमा भन्दा यस पटक म्याग्दीबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।