एस, हङकङ / एचकेनेपाल डट कम, नोभेम्बर २९ -
बेलायती अदालतबाट गोर्खाले आफ्नो हैसियतको पहिलो ऐतिहासिक विजय प्राप्त गरेको भन्दै हङकङका गोर्खाहरुले खुसियाली मनाएका छन्।
रात्रिभोज र नाचगानको आयोजना गरेर यहाँका गोर्खाहरुले एकआपसमा खुसियाली साटासाट गरे। वान चाईस्थित हिमालय रेष्टुरेण्टमा नोभेम्बर २९ तारिख साँझ पूर्व बेलायती गोर्खा, तिनका परिवार र शुभेच्छुकहरु भेला भै रमाइलो गरे।
गेसो हङकङ प्रतिनिधि मणिकिरात वान्तवाले गेसोको गतिविधि र हालसम्म प्राप्त उपलव्धिका बारे जानकारी दिएका थिए।
ब्रिटिश गोर्खा भूपू सैनिक संघ हङकङले संघको १३औं वार्षिक जन्मोत्सवसहित खुसियाली कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, एचकेइएसएका सभापति एमबी गुरूङ, गोर्खा सेमेटरी ट्रस्टका अध्यक्ष एकराज राई, जीफोरएसका अल्बर्ट लाम र फ्रान्क सुलेभनलगायत उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष हेमबहादुर तामाङ, स्वागत मन्तव्य उपाध्यक्ष हेमप्रताप गुरुङ र सञ्चालन सचिव नरहाङ राईले गरेका थिए।
हङकङमा भव्य तमु साँस्कृतिक साँझ (+Photo)
एस, हङकङ / एचकेनेपाल डट कम, नोभेम्बर २९ -
तमु प्ये-ल्हु संघ हङकङ शाखाले नोभेम्बर २९ तारिख युन लोङ थियटरमा नेपाली र तमु संस्कृति झल्किने तमु साँस्कृतिक साँझ कार्यक्रम प्रस्तुत गर्यो।
अक्सर हङकङमा प्रदर्शन गरिने हिन्दी र विदेशी संस्कृतिको क्रमभंगतालाई तोडेर तमु प्ये-ल्हु संघ हङकङ शाखाले दर्शकसामु विशुद्ध नेपाली र तमु संस्कृतिसहितको तमु साँस्कृतिक साँझ कार्यक्रम प्रस्तुत गर्यो।
नेपालबाट आएका करीव १ दर्जन कलाकारहरुले तमु (गुरुङ) जाति कला र संस्कृतिले धनी छन् भने उदाहरण प्रस्तुत गर्न पछि परेनन्। कलाकारहरुले घाँटु, छ्याँटु, सोरठी, लोक नृत्य र लोक दोहोरी गीत प्रस्तुत गरेका थिए।
मिलन लामा तस्वीरमा दायाँ। तस्वीरः मनु गुरुङ / एचकेनेपाल डट कम।
लोक दोहोरीमा नाम कमाएका मिलन लामाका प्रस्तुतिलाई दर्शकले खुबै मन पराए। लामाले आफ्ना चर्चित गीत हङकङ आइडीले, छम्मछम्म नाचिदेउ र पूराना गायकहरुका केही लोक गीतहरुसमेत प्रस्तुत गरे। कार्यक्रममा पदम गुरुङ, माया, हितु र दुर्गा गुरुङको लोक दोहोरी पनि निक्कै जमेको थियो।
गोरे गुरुङको कोरियाग्राफी रहेका अक्सर सबै नृत्यहरु आकर्षक र नौला थिए। गुरुङले खेमराज गुरुङका बहुचर्चित लोक गीत वारि जमुना.. पारि जमुनामा गरेको नौलो प्रस्तुतीलाई दर्शकले निकै प्रशंसा गरेका थिए।
देवराज राईले सञ्चालन गरेको कार्यक्रममा किरण गुरुङले तमु संस्कृतिबारे थप जानकारी दिएका थिए। तमु प्ये-ल्हु हङकङ शाखाका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षता र मानबहादुर गुरुङले सञ्चालन र विजय गुरूङको स्वागत मन्तव्य रहेको औपचारिक कार्यक्रममा हङकङ डेमोक्रेटिक पार्टीका सभापति अबलर्ट हो समेत उपस्थित थिए।
तमु साँस्कृतिक साँझका भिडीयो झलकहरूः
तमु साँस्कृतिक साँझका थप तस्वीरहरु हेर्न यहाँ क्लिकगर्नुहोस्।
उत्तरमान लिम्बू, हङकङ / एचकेनेपाल डट कम, नोभेम्बर २३ -
पनसेटीया प्राथमिक विद्यालय, हङकङको सहयोगार्थ डिवि १० किमि च्यारिटी रेस आइतबार डिस्कोभरी बेमा सम्पन्न भयो।
३०० जना भन्दा बढी धावकहरु सहभागी १० किमि दौड प्रतियोगितामा नेपाली धावकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। विगत ४ वर्षदेखि आयोजना हुंदै आएको दौड प्रतियोगिताबाट संकलित रकम विभिन्न परोपकारी संस्थाहरुलाई प्रदान गरिंदै आएकोमा यो वर्ष नेपाली समुदायद्वारा सञ्चालित पनसेटीया प्राविलाई सहयोग गरिएको आयोजक श्रीमति कोवी जेसन र श्रीमति मेस्सीले बताउनु भयो।
तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
दौड प्रतियोगितामा पुरुषतर्फ मार्क मोर्फी प्रथम (३६:२५), मिकेल लार्सन द्वितीय (३६:४२) र कोजी मियाजाकी तृतीय (३७:०४) भए। महिलातर्फ सुक हान चिउ प्रथम (४३:४३) आयुमी फुकुडा द्वितीय (४५:०७) र लिसा जोन्स तृतीय (४५:३७) भए।
डिस्कोभरी माइण्ड किण्डरगार्टन (डिएमके) प्ले सेन्टरकी सुपरभाइजर कविता गुरुङले नेपाली समुदायद्वारा सञ्चालित पनसेटीया विद्यालयलाई सबैले मिलेर अघि बढाउनु पर्ने बताउनु भयो। कुनै पनि प्राथमिक विद्यालय सुचारु रुपले सञ्चालन गर्न फिडर स्कुलको रुपमा किण्डरगार्टन हुन जरुरी रहेको बताउनु भयो। गुरुङले आफ्नो नेपाली भाषा कमजोर रहेकोमा दुख व्यक्त गर्दै अंग्रेजी भाषामा आफू नेपाली भएकोमा गर्व गर्ने गरेको कुरा पनि बताउनु भयो।
नेपालीको तर्फबाट कार्यक्रम संयोजक वाईबी राई (तस्वीरमा दायाँ)
विगतको तुलनामा सफल मानिएको यस दौड प्रतियोगिताका लागि विभिन्न नेपाली तथा गैरनेपाली व्यापारिक संस्थाहरुले आर्थिक सहयोग गरेका थिए। सहयोग गर्ने नेपाली व्यापारिक संस्थाहरुमा अंकल रस कफी, गोर्खा एकता इन्टरनेशनल लिमिटेड, तन्त्र बार, सिङही टेल ट्रेड, कंगन रेस्टुरेण्ट, डाइनामिक ट्राभल्स एण्ड टुर्स, फिसटेल ट्राभल्स आदि थिए।
नेपाली धावकहरू।
दौड प्रतियोगिता शुरु हुनअघि पनसेटीय प्राथमिक विद्यालयका सुपरभाइजर गणेश इजमले आयोजकप्रति कृतज्ञता ज्ञापन गर्दै सम्पूर्ण सहभागी स्वयंसेवक तथा दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो। सोही अवसरमा पनसेटीया प्राथमिक विद्यालय कुनै व्यक्ति विशेषको नभएर नेपाली समुदायको पहिचानको लागि, नेपाली भाषा साहित्य संस्कृतिका लागि, नेपाली वालवच्चाहरुले र अभिभावकहरुले भोग्ने समस्याहरुलाई ध्यानमा राखेर स्थापना गरिएको कुरा बताउनु भयो। इजमले विद्यालयले बर्षेनी रजिष्टर्ड अडिटरबाट लेखा परिक्षण गराउने गरेको र हङकङको शिक्षा व्यूरोमा पेश गर्ने गरेको उल्लेख गर्दै दाताहरुको निर्देशन बमोजिम नै प्राप्त अनुदान खर्च गरिने बताउनु भयो।
पनसेटीया प्राविका सुपरभाइजर गणेश इजम (तस्वीरमा वायाँ)। थप तस्वीरहरु हेर्न यहाँ क्लिकगर्नुहोस्।
नेपाली विद्यालय सञ्चालनका लागि विदेशीहरुले गरेको सहयोग अत्यन्तै प्रशंसानीय र उदाहरणीय बनेको छ। विद्यालय सुत्रका अनुसार गैरनेपाली व्यक्तित्वहरुको संलग्नतामा विद्यालय सल्लाहकार बोर्डको गठन गरिएको र निकट भविष्यमै बोर्ड गठनको औपचारिक घोषणा गरिने जनाएकोछ।
दौड प्रतियोगितामा हङकङ डलर १ लाखभन्दा बढी रकम संकलन भएको आयोजकले जनाएको छ।
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
नेपाल चेम्बर अफ कर्मस हङकङले साना तथा मध्यम खालका व्यवसायको सम्भावना र प्रक्रियाका विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले आइतबार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा अन्तर्क्रियाको आयोजना गर्यो।
कार्यक्रममा अतिथिका रुपमा स्थानीय व्यवसायीहरु के.के. लिम, स्टेभन सि. बुक र टोम मल्डोनीको सहभागिता थियो। आफ्ना अनुभव बाँड्ने क्रममा अतिथिहरुले नेपाली व्यवसायीका विभिन्न जिज्ञासाबारे प्रष्ट पारेका थिए।
नेपाली उत्पादनका ब्रान्ड प्रवर्द्धन गर्न सके हङकङमा राम्रो बजार रहेको सम्बद्ध व्यवसायीले बताएका छन्। ‘उचित ढंगले प्रर्वद्धन गर्न सके नेपाली उत्पादनको प्रशस्त सम्भावना छ,’ नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष तेजबहादुर राईले भने। ब्रान्डको उच्च मूल्य रहेको हङकङमा नेपाली उच्च गुणस्तरीय उत्पादनको पहिचान नभएकाले बजार पाउन नसकेको उनले बताए।
साना तथा मध्यमखालका व्यवसायको सम्भावना र प्रक्रियाका विषयक गोष्ठीमा पस्मिना व्यवसायीले सस्तोमा गुणस्तरीय वस्तु उपलब्ध गराए पनि अन्य मुलुकबाट नेपालकै उत्पादन महँगोमा भित्रिने गरेको बताए।
तस्वीरः निर्मल श्रेष्ठ
पर्यटन, होटल, निर्माण, सेक्युरिटी, कफी, जडिबुटी, म्यानपावर व्यवसायमा संलग्न व्यापारीलगायत व्यवसाय गर्न उत्सुकहरूको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेपाली उत्पादनका बजार, सम्भावना, व्यवस्थापन, पुँजी लगानी, सरकारका नीतिका सम्बन्धमा छलफल भएको थियो। नेपालबाट हस्तकला, पस्मिना, जडिबुटी, गार्मेन्ट्स, चाउचाउ लगायत सामाग्रीहरु यहाँ भित्रिने गर्छन् भने इलेक्ट्रोनिक, मेसिनरी, कस्मेटिक, फार्मेसीलगायत सामग्रीहरू नेपाल निर्यात हुन्छन्।
एस, हङकङ / एचकेनेपाल डट कम, नोभेम्बर १६ -
मितेरी सेवा समिति हङकङले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवयित्री रीता गुरुङले ‘पोखरेली झ्याल २००८ - कवयित्री’ उपाधिसहित १ हजार हङकङ डलर, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन्।
पोखरेली स्रष्टा सरूभक्त श्रेष्ठ र ‘पोखरेली झ्याल २००८ - कवयित्री’ उपाधि विजेता रीता गुरूङ।
पोखरेली झ्याल अन्तर्गत पहिलो चोटी आयोजना गरिएको प्रतियोगितामा रीता गुरुङ प्रथम, लक्ष्मी थापा राई द्वितीय, राजेन्द्रकुमार थापा तृतीय, कमल पौड्याल चौथौं र चन्द्र मादेन आन्छान पाँचौं भए। विजयी कवि तथा कवयित्रीहरुलाई पोखरेली श्रष्टा सरुभक्त श्रेष्ठ र समितिका अध्यक्ष तुलसीकुमार गुरुङले नगद, ट्रफी, मेडल, घडी र प्रमाणपत्र प्रदान गरेका थिए।
विजयी कविता वाचन गर्दै कवयित्री रीता गुरूङ। तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।
प्रतियोगितामा हङकङका १२ जना कवि र कवयित्रीहरु सहभागी थिए। प्रतियोगिताको निर्णायकहरुमा नेपालबाट आएका पोखरेली स्रष्टाहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी ‘शिव’ रहेका थिए। प्रतियोगिता नोभेम्बर ११ तारिख जोर्डनस्थित नेपाल क्लवमा सम्पन्न भै पाँच सर्वोत्कृष्ट कवि तथा कवयित्रीको अन्तिम नतिजा पोखरेली झ्यालको मूल कार्यक्रममा नोभेम्बर १६ तारिख आइतबार घोषणा गरिएको थियो।
प्रतियोगितात्मक कविता वाचन कार्यक्रम सफल पार्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय सचिव पशन तमू कार्यक्रम संयोजक र अनेसास हङकङ च्याप्टरका कोषाध्यक्ष प्रकाश केसी सहसंयोजक रहेका थिए।
विजेता र पाँच सर्वोत्कृष्ट कवि तथा कवयित्रीहरु
१ - रीता गुरुङ - पोखरेली झ्याल - २००८ उपाधि विजेता
२ - लक्ष्मी थापा राई - द्वितीय
३ - राजेन्द्रकुमार थापा - तृतीय
४ - कमल पौड्याल - चौथौं
५ - चन्द्र मादेन आन्छान - पाँचौं
सहभागीहरुः
चन्द्र मादेन आन्छान
केवल गंगा गुरुङ
मोती चाम्लिङ
कमल पौड्याल
राजेन्द्रकुमार थापा
आशा दाहाल
लक्ष्मी राई
सोम थापा मगर
प्रकाश छान्छा राई
मोहन गुरुङ
रीता गुरुङ
डिल्ली बिक
कविता मूल्यांकनको आधारः
विषय वस्तु / भाव - ५० अंक
शैली - २५ अंक
प्रस्तुती - २५ अंक
पूर्णाङ्क १०० अंक
प्रतियोगितामा प्रथम कविता स्वप्न तिर्खा
- रिता गुरुङ
जहाँ चारैतिर समुद्र छन्
मान्छे निल्न आतुर
जिजिविषाका लागि
लडिरहेछु, म तिम्रो काख छोडेर
पग्लिरहेछु म पल पल
आफैभित्रको स्वप्न क्यानभाषमा
आमा! म तिम्रो तिर्खाहरु हुन चाहन्छु
आमा! म तिम्रो काखमा नदी भएर रुन चाहन्छु !
भोकका लागि हामी धेरै लड्यौं
शोखका लागि पनि हामी धेरै सड्यौं
जीवनलाई सपनाहरुले सजाउने उत्कण्ठामा
कहिले थोरै माथी चढ्यौं, कहिले तल झर्यौं
माटो बिनाको मानिस र
आकाश विनाको धर्ती
उस्तै उस्तै रहेछ,
पसिना बिनाको निधार र
पौरख विनाको हत्केला
उस्तै उस्तै रहेछ,
अब म अठोट गर्छु
मान्छे - मान्छे हुनुको अस्तित्वले ठूलो हुंदो रहेछ,
बाँच्नका निम्ति सम्पन्नता भन्दा
सपनाहरु प्रिय हुंदा रहेछन्
आफ्नो हुनुको दुःखले भन्दा
आफ्नो नहुनुको सुखले टोक्दो रहेछ,
यो व्यस्तताले रेटिएको सम्पन्नताको नगरीमा
शिरमा हिमाल, रगतमा गुराँस र
आँखामा नेपाल बोकेर
आमा! म तिम्रो गरिमा हुन चाहन्छु
आमा! म तिम्रो काखमा नदी भएर रुन चाहन्छु
जहाँ चारैतिर समुन्द्रहरु छन्
मान्छे निल्न आतुर,
जिजिविषाका लागि
लडिरहेछु, म तिम्रो काख छोडेर…!!!
पोखरा,
हालः युन लोङ, हङकङ
प्रतियोगितामा द्वितीय कविता कमरेडलाई स्वेत सलाम !
- लक्ष्मी राई
१।
अनिंदो कैयन् रातहरुसँगै
छिचोलेर लासहरुको पहाड
टेकेर सिन्दूर पोखिएको जमीन
कमरेडको आरोहण !
शहरकी चर्चित नायिकासँगै
समयान्तरका होर्डिङ्-बोर्डहरुमा
ठिङ्ग,
एक्लै,
विस्थापित एउटा मन,
इ….! हेरिरहेछु-
रक्तिम क्रान्तिको विजय
मरणासन्न राजधानीको
ब्यस्त चौकमा
हावामा लहराउँदै माथि
उचालिएका कमरेडका
दाहिने हातको मुट्ठी
रङ खुइलिंदै गरेको तुलहरुमा
उप्कँदै गरेका जर्जर भित्ताहरुमा
अग्ला होर्डिङ्-बोर्डहरुमा
यथावत अझै नाराहरु -
“गणतान्त्रिक नयाँ नेपालका
भावी नायक, कमरेड……………..”
क्रमशः
रुपान्तरित
सत्ता र सरकारमा ।
२।।
तैपनि,
किन अझै खुम्चिरहेका छन्,
आम जनताका दैनिकीहरु ?
गणतान्त्रिक नयाँ नेपालको
आयतनभित्र
निर्धक्क किन हाँस्न सकिरहेका छैनन् ?
निर्दोष जिन्दगीहरु
गणतान्त्रिक नयाँ नेपालको
अनुहारभित्र
किन अझै बेखबर छन्,
हराइरहेका हरि बहादुरहरु ?
गणतान्त्रिक नयाँ नेपालको
मानचित्रभित्र
भोग्दैछन् किन अझै पनि
विस्थापित मनहरु ?
असह्य पीडा र वेदना
बेस्कन दुखेको विगतसँगै
गणतान्त्रिक नयाँ नेपालको
आँगनभित्र
कमरेड !
क्रान्तिको उद्घोषसँगै
कुल्चिएका तरुनी सपना र,
गुराँसका रक्तिम थुङ्गाहरु
किन अझै बल्झिरहेका छन्,
संवेदनाविहीन मान्छेहरुको हूलभित्र ?
३।।।
भो !
अपार असहमति छ मेरो
संवेदनाविहीन मान्छेहरुका हूलसँग
यदि,
बेहिसाब मृत्युको मूल्य
आहुति र सपनाहरु सहिदका
फगत, सत्ता आरोहण मात्रै होभने,
केवल, फगतले
कज्याएको सरकार
फगतले ठडाएका तुलहरु
आस्थाको फूलसँगै
च्यातिएर झर्नेछन् जमीनमा
मानौं,
विज्ञापन हो समय पनि
खस्कँदो लोकप्रियतासँगै
उँधोमुण्टो हुने
शहरकी नायिकाको
होर्डिङ्-बोर्डहरु जस्तै
मरणासन्न राजधानीको
ब्यस्त चौकमा
के थाहा !
पुनः फेरिनेछन्
फगतले ठडाएका
होर्डिङ्-बोर्डहरु अनि,
तोडिनेछन् आरोहणहरु
ऐतिहासिक शालिकहरुजस्तै
समयको प्रहारमा ।
४।।।।
किनभने,
तातिने क्रममा छन्
जितेको ठानेर सर्वस्व
हिजो गुमेकाहरु पनि
खोज्दै अधिकार सडकमा
त्यसैले,
अवका समयहरुसँग
अनुदित होइन हामीले
परिष्कृत बन्दै जानुपर्छ
अतः
लाल-त्रासदीबाट मुक्त
अहिले र यहीँबाट,
बस्ती, शहर र समग्र मुलुकमा
कमरेड !
आस्थाका फूलहरु फुलाउनुपर्छ
शान्ति एवं सदभावनाको तुलहरु टाँग्नुपर्छ
एकता एवं प्रेमका होर्डिङ्-बोर्डहरु ठडाउनुपर्छ ।
५।।।।।
नत्र,
देशको अर्को दुर्भाग्य !
फेरि दुख्नेछन् मुटुहरु,
कुल्चिनेछन् तरुनी सपना र,
गुराँसका रक्तिम थुङ्गाहरु,
बल्झिनेछन् चोट र घाउहरु,
अनि,
पलायन हुनेछन् भविष्यहरु,
ठिङ्ग,
एक्लै,
चिन्तित,
विस्थापित एउटा मन,
इ…! हेरिरहेछु-
उभिएर अघिल्तिर
मरणासन्न राजधानीको
ब्यस्त चौकमा
हावामा लहराउँदै माथि
उचालिएका कमरेडका
दाहिने हातको मुट्ठी
रङ खुइलिँदै गरेको तुलहरुमा
उप्कँदै गरेका जर्जर भित्ताहरुमा
अग्ला होर्डिङ्-बोर्डहरुमा
कमरेड !
त्यो मुट्ठीलाई
मेरो पनि सलाम !
तर,
लालहीन स्वेत सलाम !
रक्तपातविहीन
आस्थाको/शान्तिको
सदभावनाको/एकताको
प्रेको
कमरेडलाई
निख्खर स्वेत सलाम !!
प्रतियोगितामा तृतीय कविता
मैले आखिर के गरें ?
- राजेन्द्रकुमार थापा
जन्मँदा हिमालरुपी छाना, अनि तराई रुपी काख दिने,
चोट लाग्दा मलाई, माटोरुपी मलहम दिने,
निन्द्रा लाग्दा मलाई, घाँसरुपी ओच्छ्यान दिने,
मेरी मातृभूमिका लागि मैले के गरेँ ?
हिमाल चढे उनकै शिर, तराई झरे उनकै पाउ
आशीर्वाद सँधै उनको, जता जता म जाऊँ,
जन्मे त्यहीं, हुर्कें त्यहीं, पाखुरीमा बल चढेपछि
विदेशिएँ सम्पन्न बन्न, बिर्सिई सबै प्लेन चढेपछि,
तर मेरी मातृभूमि भएकिछिन् विपन्न,
ऋणले उठ्नै नसक्नेगरी थला परिछिन् रे !
बनेका संरचना पनि भत्किए रे, भत्काइए रे !
हडताल गर्नेहरुको होडबाजी चलेको छ रे !
आजकल त उनले घुम्टो उघार्नै पाउँदिनन् रे !
किनकि हरदिन नयाँ बन्दको घोषणा हुन्छ रे !
आफ्ना सन्तानलाई खुवाउन अन्नको जोहो गर्न पाउँदिनन् रे !
अनि सुत्केरी व्यथा लागेकी छोरीलाई
अस्पताल पठाउन पाउँदिनन् रे !
सुन्दर शान्त र विशाल भनिन्थिईन् पहिले
भत्किएकी, झगडाकी खानी अनि
साँध मिचिएकी छिन् रे अहिले !
न नयाँ बाटो छ, न नयाँ संरचना
केवल नयाँ नयाँ रुपका द्वन्द्व छन्
मेरी मातृभूमिको काखमा अहिले ।
म सम्पन्न भएकोले के पाएँ ?
आमाले दुःख पाएको बेला,
वलिष्ठ पाखुराले के बनाएँ ?
आमाको काख भत्किएको बेला,
वुद्धिजीवी कहलिएर के भयो र ?
आमाको मनस्थिति बिग्रिएको बेला,
जन्मको सार्थकता भोग्ने धूनमा
यसो सोंच्दछु, मैले के गरें ?
मातृभूमिको लागि,
मैले आखिर के नै गरें ?
एस, हङकङ / एचकेनेपाल डट कम, नोभेम्बर १६
देवी गुरुङले यस वर्षको ‘पोखरेली झ्याल आइडल - २००८’ उपाधिसहित ५० हजार रुपैयाँ हात पारिन्। पोखरेली झ्याल आइडल नृत्य प्रतियोगितामा ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै देवी गुरुङले ‘पोखरेली झ्याल आइडल - २००८’ उपाधिसहित ५० हजार रुपैंया र ट्रफी जितेकी हुन्। प्रतियोगितामा फस्ट रनरअप सुनिता गुरुङ र सेकेन्ड रनरअप कविता गुरुङले क्रमशः हङकङ डलर ३ हजार र १ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
विजेता देवी गुरूङलाई गत वर्षकी पोखरेली झ्याल आइडल विजेता विनिता गुरूङ (तस्वीरमा वायाँ)ले ट्रफी प्रदान गर्दै। साथमा समितिका अध्यक्ष तुलसीकुमार गुरूङ। तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।
योगिता गुरुङ, गुमन गुरुङ, जौ गुरुङ र पेन्टल सोनु गुरुङ निर्णायक रहेका टोलीले १० जना प्रतिस्पर्धी अनु गुरुङ (बी), देवी गुरुङ, अनु गुरुङ (ए), सुनिता गुरुङ, कविता थापा, रेणु थापा, सुनिता थापा, सन्ध्या गुरुङ, सावित्री गुरुङ र अमर गुरुङहरु मध्येबाट टप फाइफ छनौट गरेको थियो।
टप फाइफमा परेका सन्ध्या गुरुङ, रेणु थापा, कविता गुरुङ, सुनिता गुरुङ र देवी गुरुङमध्येबाट पक्लिक भोटका आधारमा पोखेरेली झ्याल आइडल २००८ छनौट गरिएको हो। दर्शकले आफ्ना मन परेका प्रतियोगीको ट्याग नम्बर र नाम अंकित बक्समा डलर खसालेर भोट हालेका थिए। ५ डलर बराबर १ भोट निर्धारण गरिएकोमा कुनै दर्शकले एकै पटक ५ सय डलरसम्मको भोट हालेका थिए।
टप फाइभका भोटिङ बक्सहरू।
पोखरेली झ्याल आइडल २००८ विजेता देवी गुरुङलाई गत सालकी विजेता विनिता गुरुङले ट्रफी प्रदान गरेकी थिइन्। विजेता देवी गुरुङले ताइ मोशान कन्ट्री पार्कमा भेला भएका हजारौं दर्शक सामु आफ्नो विजयीप्रति खुसी प्रकट गर्दै भनिन् - ‘आइ लभ पोखरा….’।
पोखरेली झ्यालमा अनुप गुरुङ, रोजी, सन्द्रा, विनिता गुरुङ, सुनिता हिताङ र राम गुरुङले सौजन्य नृत्यहरु प्रस्तुत गरेका थिए।
पोखरेली झ्याल आइडल खुल्ला नृत्य प्रतियोगिता मितेरी सेवा समिति, हङकङले गत सालदेखि सञ्चालन गरेको हो। समितिले आयोजना गर्दै आएको पोखरेली झ्याल मेला अन्तर्गतको यो एक मूख्य आकर्षक प्रस्तुती हो। पोखरेली झ्याल मेलालाई भने समितिले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको छ।
टप फाइभ
आइतवार दिन भर सञ्चालन भएको पोखरेली झ्याल मेलाको औपचारिक कार्यक्रमको समितिका अध्यक्ष तुलसीकुमार गुरुङले अध्यक्षता गरेका थिए। उपाध्यक्ष रक्षा गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सह-सचिव निरन्जण गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा पोखरा बौद्ध सदनका संस्थापक अध्यक्ष क्या. बिलबहादुर गुरुङको प्रमुख आतिथ्य रहेको थियो। पोखरेली झ्याल आइडललाई पशन तमू, सुवर्णाकिरण गुरुङ, नरजंग गुरुङले सञ्चालन गरेका थिए।
समितिले आयोजना गरेको प्रथम खुल्ला कविता प्रतियोगिताको पाँच सर्वोत्कृष्ट कवि तथा कवयित्रीहरुको गोप्य राखिएको परिणामलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सचिव तथा कविता वाचन प्रतियोगिताका कार्यक्रम संयोजक पशन तमूले घोषणा गरेका थिए।
विजेता रीता गुरूङ र देवी गुरूङ।
प्रतियोगितामा रीता गुरुङले पोखरेली झ्याल २००८ कवयित्री उपाधिसहित १ हजार हङकङ डलर, ट्रफी र प्रमाणपत्र हात पारिन्। प्रतियोगितामा लक्ष्मी राई द्वितीय र राजेन्द्रकुमार थापा तृतीय, कमल पौड्याल चौथो र चन्द्र मादेन आन्छान पाँचौ भए। प्रतियोगितामा १२ जना कवि तथा कवयित्रीहरू सहभागी थिए। विजेताहरुलाई पोखरेली स्रष्टा सरुभक्त श्रेष्ठ र समितिका अध्यक्ष तुलसीकुमार गुरुङले ट्रफी, मेडल, नगद, घडी र प्रमाणपत्र वितरण गरेका थिए।
पोखरेली झ्याल मेलामा बिबिक्यु, निःशूल्क स्वास्थ्य परीक्षण, दुर्व्यसन विरुद्ध जानकारीलगायत कार्यक्रमको अन्त्यमा डिजे डान्सहरु भएका थिए।
पोखरेली झ्याल २००८ को भिडीयो झलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्।
एस, हङकङ / एचकेनेपाल डट कम, नोभेम्बर १५ -
पोखरेली तीन स्रष्टाहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी ‘शिव’ हङकङ आएको बेला अनेसास हङकङले नोभेम्बर १५ तारिख शनिवार देउराली - भन्झ्याङ कविता यात्रा कार्यक्रम सम्पन्न गरेको छ।
अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) हङकङको पुनर्गठनपछि यो दोश्रो कविता यात्रा हो। यसअघि अनेसास हङकङले लाम्मा आइल्याण्ड (हङकङको तेश्रो ठूलो टापु) मा बतासे डाँडा कविता यात्रा गरेको थियो। लाम्मा आइल्याण्डमा कवि र कवयित्रीहरुले अन द स्पोट कविता कोरेर वाचन गरेका थिए भने यस पटकको देउराली भन्झ्याङ कविता यात्रामा हङकङका कवि तथा कवयित्रीहरुले आगन्तुक स्रष्टाहरुलाई आ-आफ्ना पूर्वलिखित कविता सुनाए भने स्रष्टाहरुले पनि आफ्ना सुनाए।
तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
अनेसासले यस पल्ट हङकङको समुद्र सतहभन्दा १ हजार ८ सय १० फिट उचाईमा रहेको भिक्टोरिया पिकलाई कविता यात्राको गन्तव्य बनाएको थियो। जहाँबाट हङकङ, काउलुन र भिक्टोरिया हार्वरको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
हङकङ भित्रिने पर्यटकहरुको पहिलो आकर्षक गन्तव्य रहेको भिक्टोरिया पिकमा कविता यात्रा गर्नु सुखद अनुभूति थियो। कहिले तेर्सो र कहिले ठाडै उकालो हुंदै ७ मिनेटको ट्राम यात्रापछि पिकमा पुगेका कविता यात्रीहरु जलपानपछि सोझै पिक भिक्टोरियाको उत्तर पूर्व देउराली- भन्झ्याङमा पुगेका थिए।
अनेसास हङकङका अध्यक्ष मोती चाम्लिङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमका प्रमुख अतिथि अनेसासका केन्द्रीय सचिव पशन तमू रहेका थिए भने औपचारिक कार्यक्रमलाई अनेसास हङकङका महासचिव टंक सम्वाहाम्फले सञ्चालन गरेका थिए।
कविता यात्रामा सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, पशन तमू, मोती चाम्लिङ, कमल पौड्याल, टंक सम्वाहाम्फे, लक्ष्मी थापा राई, सुरेन लिम्बू, जगत अम्बु गुरुङ, भोगेन एक्ले, उत्तम न्यौपाने, चन्द्र मादेन आन्छान, उदय गुरुङ, प्रेम पुन, कल्पना आङबोहाङ र रेशमकिरण गुरुङ गरी १७ जना कवि तथा कवयित्रीहरु सहभागी थिए। कार्यक्रममा तीन श्रष्टासहित मोती चाम्लिङ, कमल पौड्याल, लक्ष्मी थापा राई, सुरेन लिम्बू, भोगेन एक्ले, उत्तम न्यौपाने, चन्द्र मादेन आन्छान, कल्पना आङबोहाङ र रेशमकिरण गुरुङले नयाँ पुराना गीत, गजल र कविताहरु वाचन गरे। टंक सम्वाहाम्फेले कार्यक्रममा समय अभावका कारण उपस्थित हुन नसकेका सोम थापा पीडित मगरको कविता वाचन गरेका थिए। यस अघि पीडित मगरले बाटोमा पर्खेर स्रष्टाहरुलाई कलम उपहार दिएका थिए। त्यसैगरी पशन तमूले स्रष्टातयलाई कार्यक्रममा मायाको चिनो उपहार दिएका थिए।
स्रष्टा सरुभक्तले हङकङमा आएपछि कोर्दै गरेका नवीत्तम कवितासहित आफ्ना प्रतिनिधिमूलक कविता वाचन गरे। सौभाग्यले अनेसास हङकङको कविता यात्रामा सहभागी हुन पायौं सरुभक्त श्रेष्ठले भने। यो विशेष र अवस्मरणीय सम्झना हुने छ। कविता यात्राको बारे चर्चा गर्दै पोखरामा संरक्षण कविता यात्रा र अक्षर यात्राले निरन्तरता पाइरहेको बताए।
स्रष्टा तीर्थ श्रेष्ठले बाघ, हिउंमा लेखिएका नामहरुलगायतका कविताहरु वाचन गरे। श्रेष्ठले आफूहरु आवद्ध पोखरेली युवा साँस्कृतिक परिवार २०३४ सालदेखि क्रियाशील हुंदै कला, साहित्य र संगीत तीन फाँटमा वर्षमा २२ नियमित र अन्य गरी झण्डै ३६ वटा कार्यक्रमहरु आयोजना गर्दै आएको बताए।
अर्का स्रष्टा प्रकट पगेनी ‘शिव’ले भने- हङकङमा अक्षरका खेतालाहरु भेट्दा खुशी लाग्यो। त्यस समय पनि प्रकटले आफ्ना प्रिय पात्रा अन्नालाई भुल्न सकेनन् र सुनाए गजल - स्वीटर बुनेकी छु, साँझ थियो तिमी थियौ…।
बिहान ९ बजे सुरु भएको अनेसास हङकङ कविता यात्रा दिउंसो करीव साढे २ बजे टुङ्गिएको थियो।
_____________
अनेसास हङकङको पहिलो कविता यात्रा - लाम्मा आइल्याण्ड बतासे डाँडा कविता यात्राको भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्। दोश्रो देउराली भन्झ्याङ कविता यात्राको भिडीयो केही दिनपछि उपलव्ध हुने छ। INLS HK Poetry Tour
तपाईहरु पनि अनेसास हङकङको आगामी कविता यात्रामा सहभागी हुन चाहनु हुन्छ भने अनेसास हङकङलाई सम्पर्क गर्नुहोला। हामी अनेसास हङकङको रमाइलो कविता यात्रामा तपाईलाई सहयात्री बनाउन चाहन्छौं।
मितिः नोभेम्बर १५ तारिख शनिवार समय र स्थानः बिहान ठीक ९ बजे चिम सा सुइ, स्टार फेरी गन्तव्यः पिक - भिक्टोरिया उत्तर पूर्वको देउराली
आयोजकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ सम्पर्क फोनः
९०४२ ७१५४, ९७१८ ५९४७, ६६८० २४७५, ६८५९ ३६९२, ६४९७ ४०१९, ६४०८ २०१५
एस, हङकङ / एचकेनेपाल डट कम, नोभेम्बर १३ -
पोखरेली युवा परिवार हङकङको आयोजनामा नेपालका वरिष्ठ तीन स्रष्टाहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी ‘शिव’का साहित्यिक कार्यक्रम ‘विम्बहरुका साथ एक दिन’ बिहीवार याउ मा तेइस्थित कम्युनिटी हलमा सम्पन्न भयो।
संगीतकार विक्रम गुरुङले सहयोगी संघ संस्था र साथीभाईहरुलाई धन्यवाद दिंदै सुरु भएको कार्यक्रममा हङकङेली साहित्यप्रेमीहरु झण्डै २ घण्टा सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी ‘शिव’का साहित्यिक मधुशालामा लठ्ठ परे।
पागल बस्ती उपन्यासका लागि मदन पुरस्कार विजेता तथा शून्यवादका प्रवर्तक सरुभक्त श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा स्वयं सरुभक्त, तीर्थ श्रेष्ठ र प्रकट पगेनी शिवले पालै पालो आफ्ना चर्चित र प्रतिनिधिमूलक कविता, गीत, गजल र मुक्तकहरु हङकङका साहित्यप्रेमी श्रोतामाझ सुनाए।
टिकट काटेर लाइभ कन्सर्ट शो हेर्ने बानी परेका दर्शकहरुको लागि टिकट काटेर कविता, गीत, गजल र मुक्तक सुन्न पाउनु गजबको नौलो अनुभूति थियो। टिकट काटेर नेपाली स्रष्टाहरुको सृजना श्रवण गर्न पाउनु हङकङेली साहित्यप्रेमीलाई यो पहिलो अवसर थियो। पिन ड्रप साइलेन्समा दर्शकहरु पोखरेली स्रष्टाहरुद्वारा वाचित सृजनाहरुसंगै दर्शक कहिले खुसिले रमे भने कहिले पीडाले दुखे।
प्रकट पगेनी ‘शिव’
स्रष्टा प्रकट पगेनी ‘शिव’ले काइली दिदी, चट्ट रुमाल क्या मालुम, ती नशालु आँखाभित्र, तिमी बोल्दा बोलेकै छु, जाँदा जाँदै दोबाटोमा, हेर्दैमा चट्ट ती आँखाहरु लठ्ठ, मलाई स्वप्न खोस्ने बिहान मन पर्दैन र आमा शीर्षकलगायतका गीत, गजल, मुक्तक र कविताहरु वाचन गरेका थिए। दर्शकले मलाई स्वप्न खोस्ने विहान र आमा कवितालाई औधी मन पराए।
तीर्थ श्रेष्ठ
तरलवादी कवि तीर्थ श्रेष्ठले आफ्ना बहुचर्चित कविता लाहुरे फूल.. म तिम्रो नाम फेर्न चाहन्छु, तानसेन कवितासहित तिमी पुष माघमा जाडो लाग्छ, बाघ, शहरमा आगो लागेछ, भयो आज केही कुरा नगरौं, हिउंमा लेखिएका नामहरु, राजधानी शीर्षकलगायतका गीत, गजल, मुक्तक र कविताहरु वाचन गरेका थिए। संसारमा आमाभन्दा मिठो शव्द अरु केही हुदैन कवि श्रेष्ठले आमाप्रति अगाध स्नेह प्रकट गर्दै आमाबाट सुरु गरेको आफ्ना वाचनको सिलसिलालाई आमा शीर्षकमै अन्त्य गरे।
सरूभक्त श्रेष्ठ
विलियम शेक्सपियर झै देखिने सरुभक्तले प्रवासी कवि स्व. हरिभक्त कटुवालका नाममा समर्पण गर्दै वाचन गरेका प्रवासीहरुको नाममा कविताले दर्शक दीर्घामा घनघोर शून्यता छाएको थियो। सरुले बम खसेको पहाडबाट नयाँ वर्षको शुभकामना, मारिया ! म तिमीलाई प्रेम गर्न सक्तिंन, खुकुरी अघि सारेर हामी, सम्बोधन, बहुलाई आमाहरुको जुलुस र सर्वहारा धर्तीभरी यज्ञका काला घोडाहरु जस्ता आफ्ना बहुचर्चित तथा प्रतिनिधिमूलक कविता, गीत गजल र मुक्तकहरु वाचन गरे।
सुन्दा सुनाउंदा समय काटेको पत्तो नपाई कार्यक्रम सकियो। धैर्य र शान्त भएर स्रष्टाहरुलाई तालीले साथ दिइरहेका दर्शक कार्यक्रम चाँडै सकिंदा जिल्लिए। अझै सुनाउने मन थियो तर समय पुगेन कवि सरुभक्तले करीव २ घण्टाको कार्यक्रम सकेपछि नेपालबाट सुनाउने भनेर ल्याएका आफ्ना कृति संग्रह देखाउंदै एचकेनेपाल डट कमलाई भने।
स्रष्टाहरुलाई सुन्न नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईदेखि हङकङका नेपाली कवि, कवयित्री र साहित्यप्रेमीहरु हलसम्म ओइरिएका थिए। कार्यक्रम डिसेन्ट भयो पत्रकार देवराज राईले सबैलाई सुनाउंदै थिए। कार्यक्रम हुनु त यस्तो। कार्यक्रम ठीक साढे सात बजे सुरु भएर साढे नौ बजे सकियो। दर्शकले स्रष्टाहरुको मुक्तकण्ठले प्रशंसा गर्न थाकेका थिएनन्। नेपाली साहित्य लेखेर सेलेब्रेटी बनेका यी स्रष्टाहरुका पछि फोटो खिचाउनेका भीड पनि कम रहेन।
तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
तीन स्रष्टाहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी ‘शिव’ पोखरेली युवाहरुको निम्तोमा नोभेम्बर १२ तारिख हङकङ आईपुगेका हुन्। नमो बुद्ध आमा समूह र गैरआवासीय नेपाली संघ हङकङलगायतले आफ्ना कार्यक्रमहरुमा स्रष्टाहरुलाई निम्ताई स्वागत गरे। मितेरी सेवा समितिले स्रष्टाहरु हङकङ आएको अवसरमा प्रतियोगितात्मक कविता वाचन कार्यक्रमसमेत आयोजना गरी ससम्मान निर्णायक समितिमा राखेका थिए।
अनेसास हङकङले स्रष्टाहरुको सम्मानमा शनिवार देउराली कविता यात्रा आयोजना गर्दैछ। स्रष्टात्रय सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी ‘शिव’ नोभेम्बर १६ तारिख ताइ मोशान कन्ट्री पार्कमा हुने पोखरेली झ्याल कार्यक्रममा सरीक भै मंगलबार नेपाल फर्कदै छन्।
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
नेपाल चेम्बर अफ कर्मस हङकङले साना तथा मध्यम खालका व्यवसायको सम्भावना र प्रक्रियाका विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले आइतबार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा अन्तर्क्रियाको आयोजना गर्यो। (more…)
एस, हङकङ / एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ एनआरएन हङकङले नोभेम्बर ९ तारिख आइतवारका दिन जोर्डनस्थित इण्डिया क्लवमा एनआरएन दिवस सम्पन्न गरेको छ।
तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
एनआरएन हङकङले कोसी बाढी पीडितका निम्ति संकलित रकम हस्तान्तरण, त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलका लागि ट्रलीको व्यवस्था, एनआरएन हङकङका विशेष सहयोगीहरुलाई प्रमाणपत्र प्रदान र विविध साँस्कृतिक कार्यक्रमसहित एनआरएन दिवस मनाएको छ।
एनआरएन हङकङका अध्यक्ष यामकुमार (त्रिलोक) गुरुङले कोसी बाढी पीडितका लागि संकलित १० लाख रुपैयाँको चेक एशिया प्यासिफिक संयोजक गशेण इजमलाई र त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलका लागि सुविधायुक्त ट्रलीको व्यवस्थाको लागि संकलित रकम ४० हजार हङकङ डलरको चेक एनआरएन हङकङका संयोजक कृष्ण पाण्डेलाई हस्तान्तरण गरेको छ।
सोही अवसरमा एनआरएन हङकङले नेपालका बालबालिकाहरुलाई निरन्तर सहयोग गर्दै आएका चाइल्ड केयर स्कीमका गोल्डेन वल्डधामलागयत एनआरएन हङकङका सहयोगी तथा संघसंस्थाका अध्यक्षहरुको योगदानको प्रशंसा गर्दै प्रमाणपत्र प्रदान गर्यो।
आक्सफाम हङकङद्वारा आयोजित ट्रेलवाकर प्रतियोगितामा नयाँ किर्तिमानसहित प्रथम भएको नेपाली समूहका खेलाडीहरु प्रेमबहादुर महत, राइबत बहादुर दाहाल, नयन्द्र राई, रामकुमार खत्री र सहयोगीहरु चन्द्रबहादुर महतो र राम भण्डारीलाई एनआरएन हङकङले शुभकामना र बधाई ज्ञापन गरेको छ। अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सो समूहले १०० किलोमीटरको दूरीलाई ११ घण्टा ५२ मीनेटमा पुरा गरी नयाँ किर्तीमान कायम गरेको थियो।
कार्यक्रममा नेपालबाट आएका वरिष्ठ साहित्यकारहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी ‘शिव’लाई फूलका गुच्छा र खादासहित स्वागत गरिएको थियो। साहित्यकारहरु विम्बहरुका साथ एक दिन कविता वाचन कार्यक्रमका लागि हङकङ आएका हुन्।
नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संघका अध्यक्ष यामकुमार (त्रिलोक) गुरुङको अध्यक्षता, उपाध्यक्ष दुर्गा गुरुङ एनडीको स्वागत मन्तव्य र सचिव अर्जुनकुमार गुरुङको कार्यक्रम सञ्चालन रहेको थियो। कार्यक्रममा हङकङ नेपाली महासंघ अध्यक्ष हेम लिम्बू, जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ नेपाल वायु सेवा निगमकी प्रवन्धक शान्त बस्नेत, नेपाल च्याम्बर्स अफ हङकङका अध्यक्ष तेजबहादुर राई, मितेरी सेवा समिति तथा एचकेएनटीएका अध्यक्ष तुल्सीकुमार गुरूङलगायत अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित थिए।