Archive for December, 2008

नेपाली सप्ताहको समापन (+Photo)

देवराज राई, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर ३१ -
नेपाली सप्ताहको अन्तिम दिन ३१ डिसेम्बरका दिन विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच प्रतिस्पर्धात्मक नेपाली भाषा विषयक संगोष्ठीको आयोजनासहित यस सालको नेपाली सप्ताह समापन भएको छ।

संगोष्ठीमा करीव १ सय विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमपछि आयोजक समितिका सदस्य आमोद राईले नेपाली सप्ताहलाई अन्त्यौलि गरिएको घोषणा गर्नु भएको थियो। संगोष्ठीमा पीएच सेन्ट्रल प्राइमरी स्कुल, टीके प्राइमरी स्कुल, आइकेटी सेकेण्डरी स्कुल,पीके कलेज, सर एलिस कादुरी स्कुल, बेथल हाइस्कुलका विधार्थीहरु बीच नेपाली भाषामा नेपाली उखानटुक्का, गाउँखाने कथा, बोधका विषयमा संगोष्ठीको अधिकतम समय खर्च गरिएको थियो। कार्यक्रमलाई एकराज राईले संचालन गर्नु भएको थियो। अभिभावकको तर्फबाट शिशिर राई, शिक्षक नन्दलाल थोकरले समेत कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।

२५ डिसेम्बरका दिन शुभारम्भ भएको नेपाली सप्ताह २००८ कार्यक्रमभित्र यसपालि युनलङ जन पुस्तकालयमा नेपाली पुस्तकहरु, डोनाल्ड चाङलाई नेपालीहरुको समुन्नति बारे ज्ञापनपत्र, विभिन्न पार्कहरुमा नेपाली भाषामा संदेशहरु लेख्ने क्रमको शुभारम्भ गरिएको थियो। पहिलो दिन झाँकी प्रदर्शनसहित वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। विभिन्न जातिय संस्कृतिको योग नै नेपाली संस्कृति भएको यथार्थलाई आधार मानी हङकङ नेपाली समुदायभित्रका जातिय संस्कृति झल्कने भेषभूषा, नेपाली बाजागाजाहरु यात्रभर प्रदर्शन गरिएको थियो। शोभायात्रामा नेपाली हृदय नजीकका नेपाली समुदायहरुलाई एकता प्रदान गर्ने नेपाली धुनहरु बजाइएका थिए। विभिन्न जातिय गीतहरु समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विभिन्न विद्यालय र नेपाली संघसंस्थाले समेत सहभागीता जनाएको थियो। हङकङ जस्तो भव्य ट्राफिक व्यस्तता हुने प्रमुख बाटाहरुमा नेपाली झाँकी र जुलुसले यातायात ठप्प बनाइ दिएका थिए।

३० डिसेम्बरका दिन हङकङका विभिन्न सरकारी नियन्त्रणमा रहेका लोकप्रिय जनप्रायोगिक ठाउँहरु जस्तै पार्क, अस्पताल, पुस्तकालय, चिडियाखाना आदिमा सरकारी अनुमतिले नेपाली भाषाको सूचनापटहरु राखिने कामको शुरुवात युनलङ पार्कबाट गरिएको थियो। नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ।


तस्वीरः जगत अम्बु गुरूङ र मातृदीप राई / एचकेनेपाल डट कम ।

Popularity: 5%

3 comments December 31st, 2008

साहित्य प्रतिष्ठानलाई नेपाली पदक - पहिलो (+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर ३१ -
हङकङका नेपाली संघसंस्थाहरुका छाता संस्था हङकङ नेपाली महासंघले महासंघको दशौं वार्षिक उत्सवको अवसरमा विभिन्न महानुभाव तथा संघसंस्थाहरुलाई बुधवार पदक, प्रमाण पत्र र कदरपत्रद्वारा पुरस्कृत गरेको छ।

सन् २००८ सालको अन्तिम दिन तथा नयाँ अंग्रेजी वर्ष २००९ को पूर्व सन्ध्या डिसेम्बर ३१ तारिखका साँझ आयोजित पदक तथा पुरस्कार वितरण समारोहमा महासंघले यस वर्ष विभिन्न क्षेत्रबाट नेपाली समाजमा योगदान पुर्‍याएका संघसंस्था तथा व्यक्तिहरुलाई ७ वटा पदकद्वारा पुरस्कृत गरेको छ।

नेपाली पदक पहिलोद्वारा पुरस्कृत हुने संस्थामा हङकङको जेठो नेपाली साहित्यिक संस्था हङकङ नेपाली साहित्य प्रतिष्ठान र नेपाली पदक - दोश्रोद्वारा पुरस्कृत हुनेमा हङकङको पहिलो नेपाली इन्टरनेट पत्रिका एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू रहेका छन्।

त्यसैगरी, नेपाली पदक तेश्रोद्वारा पुरस्कृत हुनेहरुमा भूपेन्द्र चेमजोङ सम्पादक - सनराइज साप्ताहिक, प्रकाश केसी सम्पादक - नेपाल डट एचके, सितारियो कराते डो ( गोरखा कम्युनिटी), एभरेष्ट फुटबल क्लव र फुटबल खेलाडी विकाश गुरुङ रहेका छन्।


पदकद्वारा पुरस्कृत व्यक्तित्वहरू । तस्वीरः लक्ष्मण गुरूङ / एचकेनेपाल डट कम।

पदक तालिकाः
नेपाली पदक पहिलो- हङकङ नेपाली साहित्य प्रतिष्ठान
नेपाली पदक दोश्रो- पशन तमू, प्रधानसम्पादक एचकेनेपाल डट कम
नेपाली पदक तेश्रो- भूपेन्द्र चेमजोङ सम्पादक - सनराइज साप्ताहिक, प्रकाश केसी सम्पादक - नेपाल डट एचके, सितारियो कराते डो ( गोरखा कम्युनिटी), एभरेष्ट फुटबल क्लव र फुटबल खेलाडी विकाश गुरुङ।

महासंघले सोही कार्यक्रममा ११ जना साहित्यिक स्रष्टा, गीत संगीत क्षेत्रबाट २१, खेलकुद क्षेत्रबाट १४, शिक्षा क्षेत्रबाट ४, पत्रकारिता क्षेत्रबाट ७ र व्यापार व्यवसाय क्षेत्रबाट ८ जनालाई प्रशंसापत्र तथा कदरपत्रद्वारा पुरस्कृत गरेको छ।

महासंघका अध्यक्ष हेम लिम्बूको अध्यक्षता रहेको कार्यक्रममा नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो। महासंघका संस्थापक र पूर्व अध्यक्षहरु मणिकिराँत वान्तवा, गणेश इजम, भोलानाथ थापा मगर, हेजेन राई, एनआरएन हङकङका अध्यक्ष यामबहादुर (त्रिलोक) गुरूङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेको पदक तथा पुरस्कार वितरण समारोह कार्यक्रमको सञ्चालन महासंघका महासचिव बसन्त निरौलाले र स्वागत मन्तव्य उपाध्यक्ष हर्क रानाले गरेका थिए। सचिवालय सदस्य किसन राईले पदक तथा पुरस्कार वितरणअघि मूल्याङ्कन तथा छनौट प्रक्रियाबारे जानकारी गराएका थिए।


नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई

नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईले हङकङको नेपाली समाजभित्र श्रम र सिर्जनाको मूल्याङ्कनको थालनी भएकोमा खुशी प्रकट गर्दै महासंघलाई धन्यवाद र पुरस्कृत सबैलाई बधाई दिए।

महासंघका अध्यक्ष हेम लिम्बूले नेपाली समाजलाई दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै महासंघले पदक तथा पुरस्कारद्वारा संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरिएको बताए।

Popularity: 4%

20 comments December 31st, 2008

नेपाली सप्ताहमा नेपाली भाषाको प्रचार

देवराज राई, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर ३०
हङकङ नेपाली कला मन्दिरको आयोजना तथा हङकङ नेपालीज फाउण्डेशनको संयोजनमा सम्पन्न भइरहेको ‘नेपाली सप्ताह २००८’ कार्यक्रम अन्तर्गत २६ डिसेम्बरका दिन युनलङको सरकारी पुस्तकालयमा नेपाली पुस्तकहरुको समाहिताको समुद्घाटन तथा युन लङ पार्कबाट नेपाली भाषाको सूचनापटहरु राखिने कामको शुरुवात गरियो।

हङकङ सार्वजानिक पुस्तकालयका अधिकारी मिस्टर चे तथा नेपाली कला मन्दिरको तर्फबाट एकराज राईले रिबन काटी नेपाली बुक क्लवको समुद्घाटन गर्नु भएको थियो। नेपाली पुस्तकहरु छपाई तथा अन्य प्राविधिक कठिनाईका कारण हाललाई नेपालीज् बुक क्लवको रुपमा संचालन गरिने भएको छ। हङकङेली नेपालीहरुका लागि ऐतिहासिक बनेको पुस्तक हस्तान्तरण कार्यक्रमले नेपाली भाषा तथा नेपाली पुस्तक पढ्न मन पराउनेहरुका लागि खुशीको खबर बनेको छ।

नेपालीज बुक क्लव हरेक आइतबार विहान १० बजदेखि १२ बजेसम्म युनलङको जन पुस्तकालयमा पुस्तकहरु पढ्नको लागि उपलब्ध हुने भएको छ। हङकङका अन्य पुस्तकालयहरुमा पनि क्रमशः नेपाली बुक क्लवको स्थापना गरिने नेपाली सप्ताह मूल आयोजक समितिका अध्यक्ष एकराज राईले बताउनु भएको छ।

नेपाली पढ्न रुची गर्ने सम्पूर्ण नेपालीहरु नेपाली बुक क्लवबाट लाभान्वित हुने बताइएको छ। हङकङ नेपलीज फाउण्डेशनको संयोजनमा लिजर एण्ड कल्चर डिपार्टमेण्ट तथा माइनोरिटी एशोशिएशनले संयुक्त रुपमा संचालन गर्ने भएको छ। विहान १० बजेको समुद्घाटन समारोहपछि विद्यार्थीहरुले पठन कार्यक्रमममा सहभागी भएका थिए।

दिउसो २ बजे युनलङ पार्कबाट नेपाली भाषाको सूचनापटहरु राखिने कामको शूरुवात गरिएको छ। हाललाई सांकेतिक रुपमा शुरुवात गरिएको सूचना पटहरु केही महिनापछि स्थायी रुपमा बोर्ड निर्माण गरी सूचना पटहरु राखिने बताइएको छ। त्यस्तै गरी डिसेम्बर २९ तारिख दिन हङकङ सरकार प्रमुख डोनाल्ड चाङलाई नेपालीहरु यहाँको स्थानीय नागरिक सोसरह अधिकार सम्पन्न भएका कारण दर्शाउदै तथा हङकङको बेसिक ल, बिल अफ् राइट्स तथा हङकङले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय कानूनबमोजिम अल्पसंख्यक जातिको भाषा, सहित्य तथा संस्कृतिको समुन्नति हुनुपर्छ भन्ने माग विषयक ज्ञापनपत्र बुझाइएको छ।

Popularity: 3%

Add comment December 31st, 2008

नेपालीद्वारा हङकङ प्रमुख चाङलाई ज्ञापनपत्र (+Photo)

देवराज राई, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर २९ -
हङकङमा बसोबास गर्दै आएका नेपालीले हङकङ सरकार प्रमुख डोनाल्ड चाङलाई अल्पसंख्यक जाति पनि यहाँका स्थानीय नागरिकसरह अधिकार सम्पन्न भएकाले उनीहरुका भाषा, साहित्य तथा संस्कृतिको समुन्नति हुनु पर्छ भन्दै सोमबार ज्ञापन पत्र बुझाएको छ।

हङकङको बेसिक ल, बिल अफ् राइट्स तथा हङकङले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय कानूनबमोजिम अल्पसंख्यक जातिको भाषा, साहित्य तथा संस्कृतिको समुन्नति हुनुपर्छ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।


सरकारका प्रतिनिधिमार्फत डोनाल चाङलाई ज्ञापन पत्र हस्तान्तरण गरिदै। तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।

हङकङ नेपाली कला मन्दिरको आयोजना तथा हङकङ नेपालीज फाउण्डेशनको संयोजनमा हङकङ सरकारलाई सो ज्ञापन पत्र बुझाइएको हो। उनीहरूले डिसेम्बर २५ देखि ३१ तारिखसम्म विभिन्न कार्यक्रमहरुसहित हङकङमा सञ्चालन भैरहेको नेपाली सप्ताहअन्तर्गत सरकारलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्।

विधायिका परिषद्का सदस्य अलबर्ट च्यान, ड्रिष्ट्रिक काउन्सिलर माक इप सि. तथा अन्य जिल्ला पार्षदहरु एवं हङकङ माइनोरिटिज एशोशिएसनको नेतृत्वमा विभिन्न मागहरु सहितको ज्ञापनपत्र सरकारको प्रतिनिधिमार्फत डोनाल चाङलाई उनको कार्यालय रहेको सेन्ट्रलमा गई हस्तान्तरण गरिएको छ।

हस्तान्तरण गर्नु अगाडि लेगको बिल्डिङ पछाडि भेला भई विभिन्न नाराहरु अंकित प्ले कार्डसहित नारा लगाई सरकारी कार्यालय पुगी ज्ञापनपत्र हस्तान्तरण गरेको थियो।

कार्यक्रममा संचारकर्मी तथा ज्ञापनपत्र बुझाउन गएका समूहलाई सम्बोधन गर्दै विधायिका सदस्य अलबर्ट चानले नेपालीहरु हङकङका नागरिक हुन् र उनीहरुका मागहरु सरकारले पूरा गर्नु पर्दछ, चानले भने।

विधायिका परिषदका सदस्य अर्ल्बर्ट च्यान, ड्रिष्ट्रिक काउन्सिलर माक इप सिं तथा माइनोरिटिज एशोशिएसनको तर्फबाट अमोद राईले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्। ज्ञापनपत्र एकाराज राई र कार्यक्रममा सहभागी सबै विद्याथीहरुका तर्फबाट सानी विद्यार्थी निस्सिमा राईले सरकारी प्रतिनिधिलाई ज्ञापनपत्र हस्तान्तरण गरेका गरेका थिए।

ज्ञापनपत्र बुझाउन गएका समूहले नेपाली कल्चर सेन्टर युन लङमा स्थापना गर्नु पर्ने, नेपाली कला संस्कृतिहरु सरकारले सम्मान गर्नु पर्ने, साउथ एशियन कल्चरहरुलाई पनि सम्मान गर्नुपर्ने, नेपाली भाषा हङकङको एक भाषा रहेकाले यसको समुन्नति तथा संरक्षण गर्नु पर्ने, अल्पसंख्यकहरुका लागि पर्याप्त अंग्रेजी माध्यमका विद्यालयहरुको स्थापना गर्नु पर्ने जस्ता नाराहरु लगाइएको थियो।

Popularity: 4%

3 comments December 29th, 2008

भलिवलमा स्याङ्जा विजयी (+Photo)

मनबहादुर थापा, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर २५ -
क्रिसमसको अवसरमा बाग्लुङ समाज हङकङले चुन मुनमा आयोजना गरेको खुल्ला भलिवल प्रतियोगितामा स्याङ्जा आँधीखोला टिम विजयी बनेको छ।

प्रतियोगितामा विजयी स्याङ्जा आँधीखोला टिमले ५ हजार हङकङ डलर, द्वितीय घान्द्रुक टिमले ३ हजार र तृतीय हुङ हाम टिमले २ हजार हङकङ डलरसहित प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी, प्रतियोगितामा स्याङ्जा आँधीखोला टिमका विराज गुरूङलाई उत्कृष्ट खेलाडी घोषित गरी ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो।

स्याङ्जा आँधीखोला टिमले घान्द्रुक टिमलाई ३-१ ले पराजित गरेको थियो। स्याङ्जा आँधीखोला टिम पर्वते, बाग्लुङ र पुन क्लवको टिमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

भलिवल प्रतियोगितामा आयोजक टिमसहित जम्मा ९ टिम सहभागी थिए। कार्यक्रममा डा. महावीर पुनको प्रमुख आतिथ्य रहेको थियो।

Popularity: 4%

3 comments December 26th, 2008

क्षमा प्रार्थी

क्षमा प्रार्थी
एचकेनेपाल डट कमको हङकङ समाचार अन्तर्गतको सेक्शनमा डाटाबेस सम्बन्धी समस्या देखिएकोले समाचार अपडेट हुन नसकेको अवगत गराउन चाहन्छौ। समस्या समाधान गर्ने प्रयाश भैरहेको छ।

पाठक वर्गलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं।

धन्यवाद
एचकेनेपाल डट कम

Popularity: 3%

Add comment December 24th, 2008

हङकङ नेपाली महासंघको जरुरी सूचना

साहित्य प्रतिष्ठान र एचकेनेपाल डट कमलगायत पुरस्कृत
एस, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर ३१ -
हङकङका नेपाली संघसंस्थाहरुका छाता संस्था हङकङ नेपाली महासंघले महासंघको दशौं वार्षिक उत्सवको अवसरमा विभिन्न महानुभाव तथा संघसंस्थाहरुलाई बुधवार पदक, प्रमाण पत्र र कदरपत्रद्वारा पुरस्कृत गरेको छ। (more…)

Popularity: 4%

Add comment December 22nd, 2008

सभासदसंग एनआरएनको अन्तर्क्रिया (+Photo)

एस, जोर्डन हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर २२ -
गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङले नेपालबाट आएका नेपाली काँग्रेसका उपसभापति तथा सभासद प्रकाशमान सिंह र सभासद तथा चर्चित युवा नेता गगन थापाको उपस्थितिमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।


नेपाली काँग्रेसका उपसभापति तथा सभासद प्रकाशमान सिंह। तस्वीरः जगत अम्बु गुरुङ, एचकेनेपाल डट कम।

नेका उपसभापति तथा सभासद प्रकाशमान सिंहले नयाँ संबिधान लेख्ने कार्यमा प्रवासमा रहेका नेपालीहरुबाट पनि सुझावहरु आउनु पर्ने बताउंदै गैरआवासीय नेपालीबाट प्राप्त भएका मेजर इष्युहरु समेटिने बताए। सभासदहरुलाई मात्र होइन, दलका नेताहरुलाई पनि प्रवासी नेपालीले झक्झकाई रहनु पर्ने आग्रह गरे। नयाँ संबिधान निर्माण भएपछि प्रवासी नेपालीहरुले नेपालमा पनि सुरक्षित र ढुक्क भएर लगानी गर्ने वातावरण तयार हुने बताए।


सभासद तथा चर्चित युवा नेता गगन थापा।

सभासद तथा चर्चित युवा नेता गगन थापाले दोहोरो नागरिकताको चर्चा गर्दै प्रवासबाट संकलित सुझाबहरुबारे गम्भीररुपले छलफल गर्ने बताए। नयाँ संबिधानमा प्रवासमा भएका नेपालीहरुको मौलिक र विशेष अधिकारबारे अवधारण तयार पार्ने गृहकार्य भैरहेको बताए। थापाले संबिधान लेख्ने प्रक्रियामा प्रवासी नेपालीहरु पनि निरन्तर सहभागी भैरहनु पर्ने बताए। प्रवासी नेपालीहरुको महत्व र भूमिकाबारे आफ्नो धारणा राख्दै थापाले भने - ‘विदेशबाट रेमिट्यान्स नभित्रिएको भए नेपालको अर्थतन्त्र पहिल्यै कोल्याप्स भैसक्थ्यो।’

एनआरएन हङकङ अध्यक्ष यामबहादुर (त्रिलोक) गुरुङको अधयक्षतामा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रमलाई सचिव अर्जुन गुरुङले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा एन्डी गुरुङले प्रकट गरेका थिए। कार्यक्रममा वाणिज्यदूत सुशिलकुमार लम्सालले मन्तव्य प्रकट गरेका थिए। फ्लोरबाट एनआरएन एशिया प्यासफिक संयोजक गणेश इजमले दोहोरो नागरिता र आदिवासी जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले आदिवासी जनजातिका विषयमा जिज्ञासाहरु प्रकट गरेका थिए।

कार्यक्रममा नेपाली जनअधिकार सरोकार समाजका अध्यक्ष मंगलबाबु मालबुलले सभासद्वयलाई नयाँ संबिधान लेख्न कलम उपहार प्रदान गरेका थिए। सोही कार्यक्रममा एनआरएन हङकङले नेका सभापति सिंहलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ। ज्ञापन पत्रमा दोहोरो नागरिकता, मित्र राष्ट्र चीनसंग उच्चस्तरीय आधिकारिक वार्ता हुनु पर्ने जस्ता विषयवस्तु उल्लेख गरिएको छ।

Popularity: 3%

1 comment December 22nd, 2008

नेपाली सम्पर्क समितिको पाँचौ अधिवेशन सम्पन्न (+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर २१ -
नेपाली सम्पर्क समिति हङकङले डिसेम्बर २१ तारिखका दिन जोर्डनस्थित इण्डिया क्लवमा भव्यताका साथ समितिको पाँचौ अधिवेशन सम्पन्न गरेको छ।

नेपाली काँग्रेसका उपसभापति तथा सभासद प्रकाशमान सिंह, सभासद तथा चर्चित युवा नेता गगन थापा र काँग्रेस महिला नेतृ सिर्जना सिंहको आथित्यमा अधिवेशन सम्पन्न भएको हो।


अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका उपसभापति तथा सभासद प्रकाशमान सिंह। तस्वीरः जगत अम्बु गुरूङ, एचकेनेपाल डट कम।

निवर्तमान अध्यक्ष सन्तोष घलेको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई इश्वर खाँडले सञ्चालन गरेका थिए भने प्रदिप थापामगरले स्वागत मन्तव्य प्रकट गरेका थिए।

नेपाली सम्पर्क समितिले हङकङका नेपाली समाजलाई विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महानुभावहरुलाई प्रशंसा र कदरपत्र प्रदान गरिएको थियो। यसरी, प्रशंसा र कदरपत्र प्राप्त गर्ने पत्रकारहरुमा पशन तमू, किसन राई र प्रकाश केसी, व्यापार व्यवसाय तथा संघसंस्थाका क्षेत्रबाट प्रशंसा र कदरपत्र प्राप्त गर्नेहरुमा यामकुमार (त्रिलोक) गुरुङ, तेजबहादुर राई, तुलसीकुमार गुरुङ, कृष्णबहादुर पाण्डे, कमल पौड्याल, कालु घले, वाई बी राईलगायतका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका उपसभापति प्रकाशमान सिंहले प्रशंसा र कदरपत्रहरु वितरण गरेका थिए।


सभासद तथा चर्चित युवा नेता गगन थापा र समितिका निवर्तमान अध्यक्ष सन्तोष घले।

कार्यक्रममा बोल्दै नेका उपसभापति तथा सभासद प्रकाशमान सिंहले नेपाली काँग्रेसले नै नेपालमा प्रजातन्त्र भन्ने शव्दको पहिचान गराएको बताउंदै प्रजातन्त्र र लोकतन्त्रको लागि नेपाली कांग्रेसको लडाई जारी रहने बताए। देशलाई गृह युद्धको दलदलबाट उकास्न आफ्नो पार्टीले हार्छ भनेर थाहा पाउंदा पाउंदै पनि संबिधानसभाको निर्वाचन गराएको हो सिंहले भने - ‘यो हाम्रो पार्टीको प्रजातन्त्र र लोकतन्त्रप्रतिको प्रतिबद्धता हो।’ नेपाली काँग्रेसले सरकार चलाउन कसैलाई बाधा अप्ठ्यारो पारेको छैन। सरकारको नेतृत्व गरेको माओवादीले नै विभिन्न बहानाबाजी गर्दै कांग्रेसलाई सरकार चलाउन नदिएको आरोप लगाएको बताए। ‘माओवादीले देश चलाउन सक्तैन भने नेपाली कांग्रेसले टेकओभर गर्छ।’ सिंहले भने - माओवादीले शान्ति सम्झौताभित्रका प्रतिवद्धताहरु पूरा नगरेको बताउंदै प्रधानमन्त्रीको कुर्सी जंगलको जस्तो होइन भन्ने बल्ल प्रचण्डले बुझेका छन्।


नेपाली काँग्रेसका उपसभापति तथा सभासद प्रकाशमान सिंह।

सभासद तथा चर्चित युवा नेताले मर्नुभन्दा पहिले आफ्नो जीवन कालमा नेपालको मुहार फेरेको हेर्न चाहेको बताए। ‘म आफ्नै जीवनकालमा मेरो देश हङकङ, सिंगापुर र मलेसिया जस्तो भएको हेर्न चाहन्छु’, थापाले भने - असम्भव जस्तो केही छैन। कुनै समय गरिबीका कारण नेपालले समेत सहयोग गरेको दक्षिण कोरियाले ज्ञान र विज्ञानमा गरेको प्रगतिको उदाहरण दिंदै नेपालले पनि त्यसैको अनुशरण गर्नु पर्ने बताए। थापाले नेपालको हरियो पार्सपोर्टको मूल्य र महत्व बढाएर मात्र मर्ने इच्छा व्यक्त गरे। युवा नेता गगन थापाले भने -’युवाहरु सुन र हिराहरु हुन्। जसलाई नेपालले राम्ररी चिन्न सकेन। हाम्रा युवाहरुले विदेशमा आफ्ना योग्यता र क्षमताहरुलाई प्रमाणित गरिसकेका छन्। तर त्यही युवाहरुले नेपालमा अवसर पाएका छैनन्।’


सभासद तथा चर्चित युवा नेता गगन थापा।

सभासद थापाले नयाँ नेपाल निर्माणका लागि नयाँ संबिधान लेख्ने गृहकार्य भैरहेको बताउंदै भने- ‘निश्कर्ष र सहमतप्रति इमान्दार रहे १७ महिनाभित्र नयाँ संबिधान लेखिसक्छ।’

कार्यक्रममा नेपाली वाणिज्यदूत सुशिलकुमार लम्साल, जगत शाह, यामकुमार गुरुङ, कुलप्रसाद गुरुङ, ओम सम्बाहाम्फे, राजमान गुरुङलगायतले आफ्ना मन्तव्य राखेका थिए।

Popularity: 5%

2 comments December 21st, 2008

‘आदिवासी’ गीति एल्बम विमोचित (+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम, डिसेम्बर २० -
आदिवासी गीतकार समाज हङकङले पहिलो प्रस्तुतिका रुपमा ‘आदिवासी’ गीति एल्बम बजारमा ल्याएको छ।

समाजले शनिवार जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा आदिवासीको विमोचन गरेको हो। हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू र एनआरएन एशिया प्यासफिक संयोजक गणेश इजमले संयुक्तरुपमा गीति एल्बमको विमोचन गरेका थिए। प्रदिप कन्दङ्वाको अध्यक्षता रहेको विमोचन कार्यक्रमलाई अशोक राईले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य हाङयुग अज्ञातको रहेको थियो। नयाँ विमोचित आदिवासी गीति संग्रहको सफलताका लागि विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार र पत्रकारहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।

हङकङका आदिवासी गीतकारहरुका शव्द रचना रहेको आदिवासी गीति एलबममा नेपाल र हङकङका स्थानीय गायक गायिकाहरुका स्वर सजिएका छन्। ९ वटा गीत रहेको आदिवासी गीति एलबममा संगीतकार दिनेश सुब्बाले ४, नागेन्द्र श्रेष्ठले ४ र बुलु मुकारुङले १ गीतमा संगीत दिएका छन्।

एलबममा दिनेश सुब्बा र टोपराज लामाले एक एक गीतमा स्वर दिएका छन् भने अन्य गीतहरुमा युगल र सामुहिक स्वर रहेका छन्।

आदिवासी गीति एलबममा चन्द्र मादेन, डि.बी. पालुङ्वा, नरेश सुनुवार, प्रदिप कन्दङ्वा, प्रतिक चाम्लिङ, भोगेन किराँती ‘एक्ले’, भूपेन्द्र चेम्जोङ, रामकृष्ण वान्तवा र हाङयुग अज्ञातका शव्दहरु र स्वरमा हङकङबाट मनिष राय, टोपराज लामा, महेश शिल्पकार, सुनिता हिराचन, सुनिता प्रधान, सुशिला राई, विमला राई, कमल राई, हरिचन्द्र राई, विष्णुचन्द्र चाम्लिङ, सन्तोष गुरुङ, डोलमान लिम्बू, मोहन गुरुङ, रोशा लिम्बू, अन्तिम राई र वीरबहादुर थापाका रहेकाछन् भने नेपालका आभा मुकारुङ, जगदिश समाल, अञ्जना गुरुङ र भिषण मुकारुङले समेत स्वर दिएका छन्।

‘आफ्नै स्टुडियोमा रेकर्डिङ र मिक्सिङ गरिएका हुन्।’ हिमालय टोन्स म्युजिक एकाडेमीका प्रवन्धक तथा व्यवस्थापक समेत रहेका संगीतकार दिनेश सुब्बाले एचकेनेपाल डट कमलाई भने- आफ्नै स्रोत र साधन प्रयोग गरी कमभन्दा कम मूल्यमा एल्बम निकालिएको हो।

संगीतकार सुब्बाले केही समय यता नेपाली गीत संगीत सिक्न अभिरुची राख्ने संगीतप्रेमीहरुलाई प्रशिक्षणसमेत दिंदै आएका छन्।

Popularity: 3%

1 comment December 20th, 2008

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2008
M T W T F S S
« Nov   Jan »
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category