भूपू सैनिक संघलाई गोपाल चिन्तनको जवाफ चाहिइयो
एस, हङकङ / एचकेनेपाल डट कम जनवरी ३१ -
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङले गोपाल शिवाकोटी चिन्तनलाई उनको नाममा हालै विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित लेख र अभिव्यक्तिहरुको खण्डन गर्दै सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।
सैनिक संघ हङकङले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै शिवाकोटीले भूपू सैनिकहरुबीच फाटो हाल्ने प्रयास गरेको, भ्रामक तथा असत्य विचारहरु सम्प्रेषण गरेको भन्दै त्यसको घोर भत्सर्ना गरेको छ। गोपाल शिवाकोटी चिन्तनलाई आफ्ना स्पष्ट जवाफहरु दिन पनि सैनिक संघ हङकङले आग्रह गरेको छ।
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङद्वारा जारी गरिएको प्रेस विज्ञप्ति-
बि.स. २०६५/०९/२२ मा गेसोले जारी गरेको प्रेस बिज्ञप्तिलाई गहिरो अध्ययन गरी, ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङले हार्दिक समर्थन गर्दछ। गेसोका भूपू वकिल गोपाल शिवाकोटी “चिन्तन” जीले नेपालीपत्र २०६५ पौष १६-२२ मा प्रकाशित गरेका “हाम्रो प्रिय गेसो अब के हुने हो!” शीर्षकको लेख र १७ जनवरी २००९ लण्डनबाट जारी प्रेस बिज्ञप्तिको बिषय बस्तुहरु सबै भ्रमपूर्ण, असत्य र निराधार छन्। प्रस्तुत अभिब्यक्तिहरु भू.पू. सैनिकहरु माझ फुट गराएर गेसोबिरुद्ध उठाउने अभिप्राय देखिएकोले ब्रिटिश गोर्खा भूतपूर्ब सैनिक संघ हङकङ घोर भर्त्सना गर्दछ। यसरी लेख र बिज्ञप्तिमार्फत गेसोका सभापति श्री पदमबहादुर गुरुङज्यू र गेसोका केन्द्रीय समितिसमक्ष उठाउनु भएका सातवटा असहमति बुंदाहरु र मुद्धामामिला गर्ने अप्रिय कुराहरु लेखेको र तिनको दुष्परिणामप्रति आक्षेप लगाएको गोपालजीको प्रेस बिज्ञप्ति हेर्दा, हामीलाई पनि प्रश्न राख्ने जिज्ञासा उठ्यो। तसर्थ पहिले हाम्रो प्रश्न अनि तपाईंको प्रश्नको उत्तर निम्न लिखित प्रस्तुत गरिएकोछ।
हाम्रो प्रश्नहरु:-
प्रश्न नं. १: गोपालजी तपाईं गेसोको वकिल हो कि सल्लाहकार? अथवा ईतिहास कायम गरी अमर रहने कि पैसा कुम्लाउने? तपाईंले कत्ति बर्ष, कत्ति महिना, कत्ति दिन, कत्ति घण्टा, कत्ति मिनट र सेकेन्ड गेसोको निम्ति काम गर्नु भयो? आधार के छ? तपाईंको हाजिरी कितावमा गेसोका कुन कुन पदाधिकारीले प्रमाणित गरिदिएको छ? बिच-बिचमा बर्ष दिनभन्दा पनि बढी पलायन हुनु भएको हामीलाई पनि थाहा छ। कसरी तपाईं आठ बर्षसम्म गेसोको निरन्तर कानुनी सल्लाहकार रहनु भयो? जे भए पनि तपाईंलाई बस्न-खाना र बिभिन्न देश जादा उड्न भू.पू. हरुको स्वाभिमानी पसिनाले साटेको पैसा गेसोले खर्च गरेकै हो। तपाईं गेसोको वकिल हो कि सल्लाहकार? तपाईं वकिल होइन भने किन गेसोको लाखौं रुपैया लानुभो, तुरुन्त फिर्ता गर्नोस्। अनि मात्र तपाईंले सल्लाहकार हुँ भन्न मिल्छ। यदी तपाईं सल्लाहकार भनी दाबी गर्नु हुन्छ भने, कुनै पनि संघ-संस्थाको कुनै बिषयको सल्लाहकारले सरकारी कर्मचारी जस्तो तलव ज्याला पाउदैनन्।
प्रश्न नं. २: तपाईं र फिल साइनरले के कति कारणले गेसोका सभापतिज्यूको नामबाट लगाएको पेन्सनको मुद्धा छाड्नु भयो? र डेढ वर्षसम्म बिना सूचना पलायन हुनु भयो? तपाईं र फिल साइनर नबोल्ने नाटक गरी किन मुद्धा तुहाउनु भयो?
प्रश्न नं. ३: नयाँ तरिकाले नयाँ मानिसहरुको नामबाट नयाँ मुद्धा हालिदैछ भनी मकाउ र हङकङमा पनि भाषण र बचन दिनु भएको थियो। त्यस कारण कुन मितिमा कुन अदालतमा कसको नामबाट कस्तो नयाँ तरिकाले मुद्धा हालियो र मुद्दाको परिणाम के भयो? हार अथवा जित स्पष्ट उत्तर दिनुहोस्।
प्रश्न नं. ४: खाना-बस्न र जहाजमा उड्न बाहेक गेसोबाट एक पैसा लिएको छुइन र लिँदिन, तर मुद्धा सबै सकिएपछि सम्मानसहित तपाईंहरुले के गर्नु पर्ने हो? तपाईंहरु आँफै जान्नुहोस् भनी जानकारी भेलाहरुमा धेरै पटक भाषण ठोक्नु हुन्थ्यो तर हाल आएर गेसोले मलाई असी लाख मात्र दियो, अरुको बिल-भर्पाइ छैन भन्नु हुन्छ। असी लाखबाहेक अरु कत्ति लाख खानु भयो गेसोबाट?
प्रश्न नं. ५: भि.सि. तुलबहादुर पुनको २२०० पाउन्ड किर्ते हस्ताक्षर गरी झिकी खाएको हो कि होइन?
प्रश्न नं. ६: कुन बैंकमा, कत्ति पैसा ईन्डियाको केरलामा राख्नु भयो?
प्रश्न नं ७: भू.पू. की छोरी…ले तपाईंलाई स्वीकारेकी हुन् भने किन तपाईंले विवाह गर्नु भएन? चार बर्षसम्म तपाईंकी रखौटीमात्र भएर बस्ने उनको ईच्छा थियो त? यदी तपाईंसंग सम्बन्ध राम्रो र साँचो भएको भए जब तपाईंले उनलाई मेरो भन्नसाथ बेलायतको नियम कानुन मुताविक ब्रिटिशको अड्डा अदालतमा सम्पर्क गरी वकिल लगाएर तपाईंबिरुद्ध मुद्दा किन हाल्थिन्? कि तपाईं मानव अधिकारबादी, कानुनबिद भएर अर्काको छोरीचेलीहरुलाई जिन्दगी बर्बाद पार्नु नै मानव अधिकारको बुंदामा पर्दछ?
२००९ को जनवरी २५ तारिखभित्र पदमबहादुर ज्यूको भनाइहरु फिर्ता नलिए अनेकौं मुद्दाहरु हाल्ने धम्की दिनुभएकोमा हामी पनि प्रतिउत्तरका लागि कानुनी अदालतदेखि जनताको अदलतसमक्ष तपाईंलाई उभ्याउने बाचा गर्दछौं।
गोपालजी तपाईंको प्रश्न हाम्रो उत्तर
१) बिगतमा बचन दिएअनुसार संस्थाको सम्पूर्ण हिसाब किताब पारदर्शी हुनु पर्ने।
उत्तर: गोपालजी तपाईं भू.पू. गोर्खा पनि होइन, गेसोको सदस्य पनि होइन, कार्यसमितिमा पनि छैन, तपाईं सरकारी लेखा परीक्षक पनि होइन। भाडामा काम गर्ने मानिसको संस्थाको हिसाब खोज्ने अधिकार हुँदैन।
२) मैले लिएको रकमको सबै बिल भर्पाइ दिनु पर्ने।
उत्तर: रकम लिनेले भर्पाइ दिनु पर्नेमा रकम दिनेसंग बिल भर्पाइ माग्नुको अर्थ तपाईंले असी लाखको मात्र गेसोलाई भर्पाइ दिनु भएको बुझिन्छ। बिल भर्पाइ बिना अरु कत्ति लाख लानु भएको छ?
प्रश्न ३: Howe & Co. ले सर्त बमोजिम Gurkha offer to Transfer (GOTT) का बिरुद्ध पेन्सनको मुद्धा नहालेको बारे सार्वजनिक जवाफ दिनु पर्ने।
उत्तर: GOTT घोषणा हुँदा तपाईं पनि गेसोमा नै सकृया हुनुहुन्थ्यो, तपाईं आफैं किन मुद्दा नहालेर म्याद गुज्री सकेपछि अहिले Howe & Co. लाई आरोप लगाउदै हुनुहुन्छ।
प्रश्न ४: मेरो काम, कर्तब्य, अधिकार र सुबिधाको किटान हुनु पर्ने।
उत्तर: तपाईंले ईमेलमार्फत १ जनवरी २००८ देखि म गेसोमा छुइन, म आफ्नै मन राजिखुसिले निस्कदैछु भनेर विश्वभरि छरिएर बसेका भू.पू.हरुलाई जानकारी गराउनु भाएको थियो साथै हाल गेसोले पनि तपाईंलाई निस्कासन गरिसकेको अवस्थामा के को काम, कर्तब्य, अधिकार र सुबिधाको बिषयमा लाज लाग्दो कुरा उठाउनु भएको?
प्रश्न ५: ब्यापक रुपमा गेसो युकेको संगठन बिस्तार हुनु पर्ने।
उत्तर: संगठन बिस्तार गर्ने नगर्ने गेसोको जिम्मेवार र अधिकार हो। गेसोमा पारिश्रमिकमा काम गर्ने मानिसले गेसोको काम कर्तब्यमा हस्तक्षेप गर्न मिल्दैन।
प्रश्न ६: सतप्रतिशत कानुनी सहायता पाएको अवस्थामा आवासीय भिसाको फारम भर्न ५०० पाउण्ड उठाउने कार्य अनुचित भएकोले रोक्नु पर्ने तथा उठाएको रकम फिर्त गर्नु पर्ने।
उत्तर: कानुनी सहायता पाएको अवस्थामा गेसोले ५०० पाउण्ड उठाएको छैन। गेसोको बिभिन्न भइपरि आउने खर्चलगायत तपाईं जस्ता भाडाका वकिललाई बिभिन्न देशमा लैजादा जहाजको अतिरिक्त होटेल र खान-पिनको खर्च जुटाउनको निम्ति मात्र हामीले इच्छुक भू.पू .हरुबाट केही रकम उठाउने गरेका थियौं।
प्रश्न ७: आन्दोलनको बर्तमान अवस्थामा गेसोलाई एमालेको भातृसंगठनको रुपमा अघि बढाउने सोँच बदल्नु पर्ने।
उत्तर: गेसो एमालेको भातृसंगठन होइन। बिभिन्न पार्टीमा आस्था राख्ने भु.पू.हरु आफ्नो बर्ग, हितको निमित्त गेसोमा आबद्ध भएका छन्। त्यस कारण तपाईंले गेसोलाई दोष लगाउनु मिल्दैन। र कुनै पनि नागरिकको मौलिक हक हनन गर्ने अधिकार तपाईंलाई छैन।
गोपाल जी ! अब उप्रान्त तपाईंको चतुराइ पूर्ण लेखहरुद्वारा हामी जस्ता सोझा इमान्दार भू.पू.हरु माझ फुट ल्याएर आफ्नो फाईदा उठाउने हर्कत नगर्न अनुरोध गर्दछौं।
हङकङलगायत विश्वभरि छरिएर रहेका भू.पू. सैनिक तथा परिवार जनहरुमा अब उप्रान्त गेसोको वकिलको हैसियतले “चिन्तन” सित कुनै काम कारबाही नगर्न सूचित गराउँदछौं। यदि कतै कसैले त्यस्तो कार्य गरेमा त्यस्को जिम्मेवार ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङ र गेसो नहुने पनि स्पष्ट गर्दछौं।
हङकङ तेह्रथुम मञ्चको वार्षिक कार्यक्रम
हङकङ तेह्रथुम मञ्चको वार्षिक कार्यक्रमलाई भव्यताका साथ सफल पार्न हङकङका सम्पूर्ण तेह्रथुमबासीहरुलाई हार्दिक अनुरोध गरिन्छ।
आयोजकः हङकङ तेह्रथुम मञ्च स्थानः मंकी हिल मितिः २२ फेब्रुवरी २००९ समयः विहान ११ बजेदेखि साँझ ८ बजेसम्म
कन्स्ट्रक्सन वर्कर्सको दोश्रो वार्षिक साधारण सभा
नेपाली कन्स्ट्रक्सन वर्कर्स युनियन, हङकङको दोश्रो वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा आयोजना गरिने भएको हुंदा यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
आयोजकः नेपाली कन्स्ट्रक्सन वर्कर्स युनियन, हङकङ स्थानः याक एण्ड यति, जोर्डन मितिः २२ फेब्रुवरी २००९ समयः अपरान्ह १ बजेदेखि
एस, हङकङ / एचकेनेपाल डट कम -
पर्बत पैंयू खोला समाजले नयाँ कार्यसमिति चयनसहित टाइमोशन कन्ट्री पार्कमा सोमबार बिबिक्यु तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
निवर्तमान अध्यक्ष चुकप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका बरिष्ठ सदस्यहरु अतिथि, कार्यक्रम सञ्चालन महासचिव खुमकुमार गुरुङले र सदस्य नन्दबहादुर थापाले स्वागत मन्तब्य व्यक्त गरेका थिए।
सोही अवसरमा अमरबहादुर गुरुङको अध्यक्षता १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा झमबहादुर गुरुङ, कोषाध्यक्ष महासचिब र सचिबमा क्रमश: बिकाश गुरुङ, खुमकुमार गुरुङ, प्रेमबहादुर सार्की र सदस्यहरुमा किरणप्रताप सेन, हुमाबहादुर गुरुङ, मेख गुरुङ, सुरेश सेन, खेमबहादुर थापा, दुर्गाबहादुर थापा, दुई महिला सदस्यहरु लक्ष्मी गुरुङ र कुमारी गुरुङ रहेकाछन्।
त्यसैगरी ६ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरिएको छ। प्रमुख सल्लाहकारमा नन्दबहादुर थापा र सदस्यहरूमा चुकप्रसाद गुरुङ, भूपाल राना, यामप्रसाद गुरुङ र सन्त गुरुङ रहेका छन्।
देवराज राई, हङकङ / एचकेनेपाल डट कम, जनवरी २७ -
यस वर्षको बुढासुब्बा फुटबल प्रतियोगिताको गोल्ड कप उपाधि हिमालयन फुटबल क्लवले जितेको छ।
नेपलीज युथ अर्गनाइजेशनको आयोजनामा सम्पन्न प्रतियोगिताको तेश्रो संस्करणमा हिमालयन फुटबल क्लवले प्रिभे फुटबल क्लबलाई पराजित गर्दै ठूलो धनराशीसहित यो उपाधि जितेको हो।
तस्वीरहरूः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
प्रतियोगिता कउलुन पार्कको मिनी सकर पिचमा चिनिया नयाँ वर्षको अवसरमा जनवरी २६ र २७ तारिखका दिन सम्पन्न भएको प्रतियोगितामा हिमालयन फुटबल क्लबका दिपेन आलेले वेष्ट प्लेयर तथा हाई स्कोरको उपाधि हात पारेका थिए। अर्का ७ गोल अर्थात समान गोल गर्ने खेलाडी केम लिम्बूलाई पनि हाइस्कोररको उपाधि प्रदान गरिएको थियो।
हङकङका पुरानो एवं चर्चित फुटबल क्लव हिमालयन फुटबल क्लवले ५० मिनेटको निर्धारित समयमा १ गोलका विरुद्धमा २ गोल गरी उपाधि जितेको थियो। प्रतियोगितामा हिमालयन फुटबल क्लवका खेलाडी इश्वर आलेले आफ्नो टिमकोलागि महत्वपूर्ण २ गोल गरेका थिए। विपक्षी टिमको तर्फबाट भूपेन्द्र लिम्बूले १ गोल पुर्याएका थिए यद्यपि उनको गोल प्रयाप्त हुन सकेन।
नेपाली समुदायका ११ वटा टिमहरुले सहभागिता जनाएको प्रतियोगितामा एभरेष्ट फुबटल क्लव, हिमालयन फुटबल क्लव, जेपीसी फुटबल क्लव र प्रिभे फुटबल क्लबमात्र पुग्नमात्र सफल भएका थिए। यि क्लबहरुमध्ये एभरेष्ट फुटबल क्लव र जेपीसीले सेमी फाइनल चरण पार गर्न सकेनन्। उनीहरु मध्येमा हिमालयन फुटबल क्लवले एभरेष्ट फुबटल क्लबलाई तथा प्रिभे फुटबल क्लबले जेपीसी फुटबल क्लबलाई पराजित गरेको थियो।
लिग कम नक आउट प्रणालीमा सम्पन्न बूढासुब्बा गोल्ड कप फुटबबल प्रतियोगितालाई तीन समुहमा विभाजन गरी खेलाइएको खेलमा समुह ए बाट ३ क्लवहरु धरान फुटबल क्लव रातो, हिमालयन फुटबल क्लव र हर्ेइ हर्ेइ फुटबल क्लब दोश्रो चरण अर्थात क्वाटर फाइनलमा प्रवेश गरेका थिए। यस्तै गरी समुह बी बाट एभरेष्ट फुटबल क्लव, धरान फुटबल क्लव निलो टिम र फेण्ड्स फुटबल क्लव त्यस्तै गरी समूह सी बाट प्रिभे फुटबल क्लव र जेपीसी फुटबल क्लवले नकआउट चरणकालागि स्थान सुरक्षित गर्न सफल भएका थिए।
लिग चरणबाट सण्डे युनाइटेड फुटबल क्लब, चुम्लुङ फुटबल क्लव र वानचाई फुटबल क्लवले क्वाटर फाइनलमा पुग्न नसकी पहिलो चरणबाट नै बिदा हुनु परेको थियो। फाइन खेलसहित २२ खेलहरु सम्पन्न भएको प्रतियोगिताको पहिलो दिन लिग चरणका खेलहरु सम्पन्न भएका थिए। दोश्रो दिन नक आउट खेलहरु सम्पन्न भएका थिए। विजयी टिम तथा खेलाडीहरुलाई हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, आयोजन क्लवको तर्फाट सर्गेस राई, नारद राई, मिडियाको तर्फबाट किसन राई, याउ चि मोङ जिल्ला पार्षद् मिस्टर हङ, नेपाली फुटबल संघका अध्यक्ष राजिव हिराचनलगायतले प्रमाणपत्र, मेडल, ट्रफी प्रदान गरेका थिए।
प्रतियोगिताको विजयी टिमबाट जगत गुरुङ, पुष्प थापा, इश्वर आले, तिलक गुरुङ, हरि पुन, दिपेन आले, ध्रुव गुरुङ, दिल घले, प्रताप लिम्बू, राजन लिम्बू, चन्द्रकाजी गुरुङ, देव गुरुङ खेलाडीहरु सहभागी थिए। उता उपविजेजा टिमबाट सुरने गुरुङ, नेरेन लिम्बू, हिमाल घले, भूपेन लिम्बू, इन्द्रजीत राना, संदीप गुरुङ, सुदीप गुरुङ, राजेन्द्र पुन, शिव थापा चक्र राना रेहका थिए। उपविजय टिमका टिम म्यानेजर देवेन्द्र क्षेत्री रहेका थिए।
प्रतियेगितामा विजय भएपछि खुशी हुदै विजय टिमका म्यानेजर प्रेम शेर्पाले आफूहरुले कडा मेहनत गरेका कारण त्यसैको फल प्राप्त भएको भएको बताए। उनले हिमालय फुटबल क्लब प्रतियोगिताको उत्कृष्ट टिम रहेको बताए।
हिमालयन फुटबल क्लबले यसअघि नेपाल कप २००८, डायमण्ड क्लव २००६, हिमालयन कप २००१, राईजिङ कप २००२ उपाधि जितिसकेको छ भने नेपाल कप २००५, बूढासुब्बा गोल्ड कप २००५ र खोटाङ कप २००७ उपविजेता बनेको थियो।
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ भ्रमणमा रहेका हिमाल खबरपत्रिकाका विशेष सम्वाददाता डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ले यहाँका स्थानीय पत्रकारहरुलाई सोमबार पत्रकारिता सम्बन्धी प्रशिक्षण दिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षदसमेत रहेका श्रेष्ठलाई हङकङका पत्रकार देवराज राईले सघाएका थिए। कार्यशाला एभरेष्ट मिडियाको आयोजनामा जोर्डनस्थित सुनकोशी कम्पनी ट्रेनिङ हलमा सम्पन्न भएको थियो। पत्रकार श्रेष्ठले ‘आधारभूत पत्रकारिता तथा लेखन कार्यशाला’ सम्बन्धी जानकारी दिदै आफ्ना अनुभवहरू सुनाएका थिए। केही दिनअघि हिमाल खबरपत्रिकामाथि आक्रमण हुंदा वाइसीएल कार्यकर्ताहरूबाट घाइतेसमेत भएका श्रेष्ठले आफू पत्रकार भनेपछि उनीहरूले कुटेको बताए। घाइते भएको केही दिनपछि हङकङ आएपुगेका श्रेष्ठले १३ वर्षभन्दा बढी पत्रकारिता क्षेत्रमा विताएका आफ्ना अनुभवहरू सुनाए। कार्यक्रममा स्थानीय पत्रकार र पत्रकारितामा रूचि राख्ने व्यक्तिहरू उपस्थित थिए।
नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईले कार्यक्रम समापनपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। यस कार्यक्रमलाई एचकेनेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो।
पत्रकारिता क्षेत्रमा १३ वर्षभन्दा बढी अनुभव संगालेका श्रेष्ठले यहाँका नेपाली पत्रकारहरुलाई प्रशिक्षण दिएको यो दोश्रो पटक हो। चार वर्षअघि हङकङ भ्रमणका बेला पनि नेपाली युवा सञ्चारकर्मीहरू डम्बरकृष्ण श्रेष्ठसहित जसकुमार राई, यात्रा थुलुङ र मोजेश राईले पत्रकारिता, फोटो पत्रकारिता, रेडियो पत्रकारिता र भिडीयोग्राफी सम्बन्धी आधारभूत प्रशिक्षण दिएका थिए।
पत्रकार श्रेष्ठसंग एचकेनेपाल डट कमले लाइभ प्रसारण बेला लिएको भिडीयो अन्तर्वार्ता
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २५ -
संखुवासभा समाज हङकङको पांचौ अधिवेशन आइतवार जोर्डनस्थित कंगन रेष्टुरेण्टमा सम्पन्न भयो।
तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम।
संखुवासभाली टेकवहादुर गरुङबाट उद्घाटन भएको पांचौ अधिवेशनको अध्यक्षता खेमाहाङ जिमी र कार्यक्रम सञ्चालन निवर्तमान सचिव कर्ण कोरङीले गरेका थिए।
पांचौ अधिवेशनले हेम राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। समितिमा उपाध्यक्ष तुलवहादर गरुङ, सचिव प्रेमकुमार कोरङी, सहसचिव शान्ता गरुङ, कोषाध्यक्ष कृष्ण गरुङ, सदस्यहरु नैनसिं गुरुङ, कुमार गुरुङ, चन्द्रवहादुर राई, एमबी राई, बालकुमार घले र वीरवहादुर राई रहेकाछन्।
कुरा मिल्यो, आन्दोलन स्थगित (News update + Audio)
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २४ -
जिफोरएस कम्पनीको व्यवस्थापन र नेपाली आन्दोलनकारी पक्षबीच शुक्रबार साँझदेखि शनिवार बिहानसम्म भएको करीव ८/९ घण्टा लामो वार्तापछि जारी आन्दोलन स्थगित भएको छ।
व्यवस्थापन पक्षले आन्दोलनकारीहरुले राखेका अधिकांश माग पूरा गरेपछि आन्दोलनकारीहरुले सोमबारदेखि जारी आन्दोलनलाई रोक्ने निर्णय गरेका हुन्।
‘यसलाई आन्दोलनकारीहरुले आफ्नो विजय ठानेका छन्,’ सहकर्मी निर्मल श्रेष्ठले भने- ‘उनीहरु विजय कार्यक्रमको तयारी गर्दैछन्।’
‘व्यवस्थापन पक्षले अधिकांश माग पूरा गरेकाले हामीले आन्दोलन रोक्ने निर्णय गर्यौं,’ आन्दोलनको नेतृत्व गरिरहेकामध्ये एक नरेन्द्र राईले एचकेनेपाल डट कमलाई भने- ‘यसलाई हामी हाम्रो विजयको रुपमा लिएका छौं।’
आन्दोलनकारीहरुले सोमबारदेखि तलव वृद्धि र अन्यसुविधासहित नौ बुंदे माग राख्दै लाइ चि कोकस्थित कम्पनीको प्रधानकार्यालय अगाडि धर्ना दिंदै आइरहेका थिए।
कम्पनी व्यवस्थापन पक्षले आन्दोलनकारीको मागलाई सम्बोधन गर्दै मासिक ३ सय डलर बिना सर्त बृद्धि गराउने, अस्थायीलाई ६ महिनाभित्र स्थायी गराउने, ४५ वर्ष उमेरकालाई प्रत्येक वर्ष पुनः सम्झौता गर्नुपर्नु प्रावधान हटाउने, एनसिओ र जिसिओको विभेद हटाएर सबैलाई जिसोओ बनाउने, एनसिओलाई दिइदै आएको ओभर टाइम भत्ता १८ बाट बृद्धि गरेर ४० डलर बनाउने, आन्दोलनका क्रममा निष्कासित गरिएका सबैलाई पुनर्वहालीलगायतका माग पूरा भएका छन्।
थप जानकारीको लागि अडियो भर्सन सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्। अडियो भर्सनमा सहकर्मी निर्मल श्रेष्ठ र आन्दोलनको नेतृत्व गरिरहेकामध्ये एक नरेन्द्र राई।
थप अडियो भर्सन (Day 1, 2, 3 and 4) सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्।
पाठक प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
न्युज अपडेटः शनिवार ६ बजे
आन्दोलनको सफलतापछि शनिवार अपरान्ह जोर्डनस्थित इण्डिय क्लवमा आन्दोलनकारीहरुले विजय समारोह सम्पन्न गरेका छन्। कार्यक्रममा नेपालीको हक, हित र अधिकारका लागि आन्दोलनमा उत्रेका सबै आन्दोलनकर्मीहरुलाई आन्दोलन सफल भएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरिएका थिए।
आन्दोलनको सफलतापछि आन्दोलनलाई नेतृत्व दिइरहेका बिष्णुकुमार गुरुङ (त.मा वायाँ) र नरेन्द्र राई। तस्वीरः निर्मल श्रेष्ठ / एचकेनेपाल डट कम।
विजयी आन्दोलनकारीहरूलाई शुभकामना तथा बधाई दिन चाहने पाठकले यहाँ क्लिकगर्नुहोस्।
_________________________________________________
आन्दोलनकारी र व्यवस्थापन पक्षबीच वार्ता जारी
धर्नाको पाँचौ दिन
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २३ -
आन्दोलनकारीहरुले आन्दोलनको पाँचौ दिन शुक्रवार कम्पनीको कार्यालय अगाडि धर्ना दिइरहेका छन्।
विहीवार करीव डेढसय नेपालीलाई कम्पनीले निष्कासन गरेपछि आक्रोशित बनेका आन्दोलनकारीले धर्नालाई जारी राख्ने बताउंदै आएका छन्।
धर्ना स्थल पुगेका सहकर्मी निर्मल श्रेष्ठ र जगतअम्बु गुरुङले व्यवस्थापन पक्ष र आन्दोलनकारीबीच वार्ता भैरहेको जनाएका छन्। शुक्रवार साँझ करीव ६३० बजे सुरू भएको वार्ता शनिवार विहानसम्म जारी रहेको थियो….
सहमतिपछि कम्पनी व्यवस्थापन र आन्दोलनकारीका वार्ता टोली।तस्वीर सौजन्यः जिफोरएस
___________________________________________
झन चर्क्यो हङकङमा नेपालीको आन्दोलन धर्नाको चौथौं दिन
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २२ -
जिफोरएसले आन्दोलनमा उत्रेका नेपालीहरुलाई कम्पनीबाट निष्कासन गरेपछि आन्दोलनकारीहरु विहीवार झन् आक्रोशित बनेका छन्।
तलव बृद्धि र अन्य सुविधासहित नौ बुंदे माग राख्दै कम्पनीको लाई चि कोकस्थित प्रधानकार्यालय अगाडि धर्ना दिएका नेपालीहरु कम्पनीबाट टर्मिनेशन लेटर पाएपछि झन् आक्रोशित भएका हुन्।
आन्दोलनमा सहभागी नरेन्द्र राईले एचकेनेपाल डट कमसंग बोल्दै भने - ‘पाँच / छ जना नेपालीले टर्मिनेशन लेटर पाइसकेका छन्। कतिको सायद घरमा पुगिसकेको होला। घर पुगेपछि मात्र थाहा हुन्छ।’
कार्यक्रम स्थलबाट सहकर्मी जगतअम्बु गुरुङले भने - ‘झण्डै १ सय जति नेपालीलाई निष्कासन गरिएको अनुमान छ। तर, अहिले यकिन गरेर भन्न सकिने अवस्था छैन।’
आन्दोलनको नेतृत्व गरिरहेका विष्णुकुमार गुरुङले आन्दोलनलाई अझ प्रभावकारी ढंगले अगाडि बढाएर लैजाने बताए। नेपालीको आन्दोलनप्रति समर्थन गर्दै दर्जनभन्दा बढी नेपाली संघसंस्थाहरुले ऐक्यवद्धता जाहेर गरेका छन्।
भोलि अपरान्ह १ बजे धर्ना कार्यक्रम सुरु हुने बताउंदै ४ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नरेन्द्र राईले एचकेनेपाल डट कमलाई बताए।
थप जानकारीको लागि तलको अडियो प्ले बटनमा क्लिक गरी सुन्नुहोस्। Day-4
थप अडियो भर्सन (Day 1, 2, 3 and 4) सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्।
पाठक प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
_________________________________________________________________
धर्नाको तेश्रो दिन
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २१ -
जिफोरएसमा कार्यरत नेपालीहरुको सोमबारदेखि सुरु भएको धर्ना कार्यक्रम बुधवार पनि दिनभर जारी रह्यो। उनीहरुले तलव बृद्धि र अन्य सुविधाहरुसहित नौ बुंदे माग राख्दै जिफोरएसको प्रधानकार्यालय अगाडि धर्ना दिएर अनिश्चितकालीन आन्दोलन गरिरहेको यो तेश्रो दिन हो।
साँझको सात बजिसक्दा पनि व्यव्यस्थापन पक्षबाट वार्ताको पहल नभएको सहकर्मी निर्मल श्रेष्ठले एचकेनेपाल डट कमलाई जानकारी दिए। ‘आज वार्ताको सम्भावना छैन।’ उनले भने - नौ बुंदे मागमध्ये अहिलेसम्म दुइवटा मात्र पूरा भएका छन्। १) ४५ वर्ष उमेर नाघेका सुरक्षाकर्मीलाई ६५ वर्षसम्म वर्षेणी पुनः सम्झौता गरिरहनु पर्ने प्रावधान कम्पनीले हटाएको छ। त्यसै गरी, २) नेपाली सेक्युरिटी अफिसर र गोरखा सेक्युरिटी अफिसरको विभेद हटाएर सबैलाई गोरखा सेक्युरिटी अफिसरमा वर्गीकृत गरिएको छ।
सशर्त मासिक ३ सय डलर बृद्धि गर्ने कम्पनीको निर्णयलाई आन्दोलनकारीले इन्कार गरेको छ।
यसैबीच, हङकङका नेपालीहरूको छाता संस्था हङकङ नेपाली महासंघ र नेपाली जनाधिकर सरोकार समाजले नेपालीको आन्दोलनप्रति समर्थन जनाउंदै ऐक्यवाद्धता जाहेर गरेको छ। महासंघका अध्यक्ष हेम लिम्बूले एचकेनेपाल डट कमसंग बोल्दै भने - ‘यो हङकङका नेपालीको समस्या हो, त्यही भएर महासंघले आन्दोलनप्रति समर्थन जनाउंदै ऐक्यवाद्धता जाहेर गरेको हो।’ सरोकार समाजका अध्यक्ष मंगलबाबु मालबुलले पनि आन्दोलनप्रति नैतिक समर्थन र ऐक्यवाद्धता रहेको बताए।
जिफोरएसका कार्यरत तथा गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णुकुमार गुरूङले जारी आन्दोलनप्रति नैतिक समर्थन र ऐक्यवाद्धता जाहेर गर्न हङकङका सम्पूर्ण नेपालीहरूलाई आह्वान गरेका छन्।
आन्दोलनकारीले भोलि विहीबार पनि धर्ना कार्यक्रम जारी राखेको सहकर्मी जगतअम्बु गुरूङले कार्यक्रम स्थलबाट जानकारी दिए, उनले भने -’भोलि पनि आन्दोलनकारीले धर्ना कार्यक्रमलाई जारी राखेको छ।’
धर्नाको दोश्रो दिन
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २० -
तलब बृद्धि र अन्य सुविधाको माग गर्दै नेपालीले सुरु गरेको आन्दोलन अन्तर्गत दोश्रो धर्नाको दिन ज्यादै प्रभावकारी रह्यो। आफू कार्यरत जिफोरएस कम्पनीको व्यव्यस्थापन पक्षलाई दबाव दिन सयौंका संख्यामा लाई चि कोकस्थित कम्पनीको प्रधानकार्यालय अगाडि नेपालीहरुले मंगलवार पनि दिनभर धर्ना दिए।
‘आन्दोलनकारीहरु हिजोको भन्दा दोब्बर संख्यामा छन्।’ कार्यक्रम स्थलबाट सहकर्मी निर्मल श्रेष्ठले भने। ‘आन्दोलनकारीहरुले भोलि पनि धर्ना कार्यक्रमलाई जारी राख्ने बताएका छन्।’
आफ्ना हक, अधिकारका लागि आन्दोलन गरिरहेका बिष्णुकुमार गुरुङले भने -’आज पनि कम्पनी व्यवस्थापन पक्षसित वार्ता भए पनि उपलव्धीमूलक हुन सकेन।, सर्तबमोजिम मासिक ३ सय डलर थप्ने कम्पनीले बतायो। तर, सिक लिभ वा अन्य कारणले कार्यक्षेत्रमा अनुपस्थित रहे सो रकम कटौती हुने बतायो।’ गुरुङले कार्यक्रम स्थलबाट एचकेनेपाल डट कमलाई फोनमा भने - ‘साथीहरुले यस कुरामा सहमति जनाएनन्।’
उनीहरुको मूख्य माग तलव बृद्धि रहेको कारण आन्दोलनकारीहरुले कम्पनीले केही मागहरु पूरा गर्ने सहमति जनाए पनि उपलव्धीहीन रहेको बताए।
‘भोलि बिहानदेखि पुनः जिफोरएस कम्पनी अगाडि धर्ना दिने गरी आन्दोलनकारी घर फर्केका छन्,’ धर्नाको अन्तिम समयसम्म कार्यक्रम स्थलमा रहेका सहकर्मी जगतअम्बु गुरुङले बताए।
उनीहरुले कम्पनी व्यवस्थापन पक्षलाई सातदिने अल्टिमेटम दिदैं आफना माग पूरा नभएसम्म धर्नालाई जारी राख्ने बताउंदै आएका छन्।
धर्नाको पहिलो दिन
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी १९ -
हङकङका नेपालीहरुले तलब वृद्धि तथा अन्य सुविधाहरुको माग गर्दै सोमबार आन्दोलनमा उत्रेका छन्।
विश्वविख्यात कम्पनी जीफोरएसमा सुरक्षाकर्मीका रूपमा कार्यरत नेपालीहरुले आफ्नो मागप्रति कम्पनी उदाशिन रहेको जनाउंदै कम्पनीको लाइ चि कोकस्थित कार्यालय अगाडि दिनभर धर्ना दिए।
तस्वीरःजगत अम्बु गुरूङ, एचकेनेपाल डट कम।
आन्दोलनकारी र कम्पनीको व्यवस्थापन पक्षबीच वार्ता असफल भएपछि धर्नालाई निरन्तरता दिने उनीहरुले बताए। वार्तामा आन्दोलनकारीको तर्फबाट विष्णुकुमार गुरुङ, सुरज गुरुङ, भूपेन्द्र गुरुङ, निरज पुन र विकाश पुन सहभागी थिए।
बिहान ९ बजेदेखि जारी रहेको धर्ना साँझ ८ बजेसम्म बस्ने र भोलि बिहान सोही समयदेखि धर्नालाई निरन्तरता दिने उनीहरुले बताएका छन्।
आन्दोलनको अगुवाई गरिरहेकामध्ये एक विष्णुकुमार गुरुङले माग पूरा नभए धर्ना जारी रहने एचकेनेपाल डट कमलाई बताए। ‘हामीले तीन चार महिनादेखि कम्पनीसमक्ष हाम्रा मागहरू राख्दै आइरहेका छौं, तर कम्पनी हाम्रा मागहरूप्रति गम्भीर नदेखिएकोले आन्दोलनमा उत्रिएका हौं। हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ’, उनले भने - ‘कम्पनी अब पनि हाम्रो मागप्रति गम्भीर नभए रिले अनशनमा बस्ने छौं।’
वार्तामा कम्पनीका व्यवस्थापन पक्षले कामदारको माग पूरा गर्न नसक्ने आफूहरूलाई बताएको जानकारी उनले दिए। गुरुङले भने - ‘कम्पनी व्यवस्थापन पक्षले काम गर्न नचाहनेलाई राजीनामा दिएर छोड्नु भनेको छ।’
आन्दोलनमा उत्रेका नेपालीले प्रतिमहिना न्यूनत्तम १४ हजार हङकङ डलर तलब हुनुपर्ने, बोनस र ओभर टाइम भत्तामा बृद्धि गर्नुपर्ने, ४५ वर्ष उमेर काटेकालाई प्रत्येक वर्ष पुनः सम्झौता गर्नुपर्ने नियम हट्नुपर्ने, हङकङको नियमबमोजिम तीन महिनाभित्र स्थायी गराउनु गर्ने र भेदभावको अन्त्यलगायतका मागहरु राखेका छन्। नेपालीको आन्दोलनमा ऐक्यवद्धता जनाउंदै यहाँका ट्रेड युनियन तथा मजदुर संगठनहरु धर्ना तथा प्रदर्शनमा सहभागी थिए।
एचकेनेपाल डट कमले जिफोरएसका लाइजन अफसर मेजर मानबहादुर गुरुङलाई सम्पर्क गर्दा उनले आफ्नो काम कम्पनीको व्यवस्थापनभित्र नपर्ने बताउंदै आफूले केही गर्न र भन्न नसक्ने बताए। ‘म नै कम्पनीको सर्वेसर्वा हुं भन्ने भ्रममा नेपाली दाजुभाइ छन्। तर, त्यो गलत हो,’ उनले भने। हङकङको जीफोरएसको व्यवस्थापनभित्र अरू नै छन्। मेरो काम योग्य र क्षमतावान सुरक्षागार्ड बनाउन तालिम दिने मान्छेमात्र हुं। अहिले धेरै क्लाइन्टले सुरक्षागार्ड घटाउंदा कम्पनी घाटामा गएपनि नेपालीलाई कामबाट निस्काशन नगरिएको उनले बताए। ‘हङकङबाट कम्पनीलाई घाटा छ’, गुरूङले भने - ‘यसको सबै व्यवस्थापनको निर्णय बेलायतबाट हुन्छ।’ कम्पनी घाटामा चलिरहेको बेला तलव बृद्धि असम्भव जस्तै रहेको गुरूङले जानकारी दिए।
जिफोरएस हङकङमा करीव ६ सय नेपाली र २ सय चिनीयाँहरु सुरक्षाकर्मी (सुरक्षा गार्ड) का रुपमा कार्यरत छन्। बेलायतमा मुख्य कार्यालय रहेको जीफोरएस विश्वका विभिन्न मुलुकहरुमा सुरक्षाकर्मी आपूर्तिबाहेक विभिन्न क्षेत्रमा सुरक्षा प्रदान गर्ने एउटा अन्तर्राष्ट्रिय सुरक्षा समाधान समूह हो।
सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील !
सर्वप्रथम, हामी हाम्रो G4S आन्दोलनको वारेमा ध्यनाकर्षण गराउन चाहन्छौं।
हामी G4S मा कार्यरत सम्पूर्ण अग्रपङ्तिका साथीहरु जो यस कम्पनीमा वषौंदेखि आफ्नो पसिना, परिश्रम र योगदान दिदैआएका छौं। तर यी सबै कुराको वाबजूत पनि माथिका ओहदामा आसिन व्याक्तिहरुले हामी निम्न स्तरका श्रमीकहरुलाई उचित पारिश्रमिक र आवश्यक सुविधावाट वञ्चित गराई आफू मात्र मोटाउने काम भएको र यी व्याक्तिवाट ठूलो भेदभाव र अन्याय अत्याचारको कारणले हामी सबै एकजुट भई ती शोसक र सामन्तको विरुद्घ आन्दोलनमा उत्रिएका छौं।
यो शुभकार्यको लागि हामी मात्र नभएर विभिन्न संघ संस्थाले साथ दिईरहेकाछन् जसमा HKCTU ले हामीलाई नेतृत्व दिईराखेको छ भने नेपाली महासंघलगायत अरु अधिकांश संघ संस्थाहरुले पनि ऐक्यवद्घता जनाएको छ। यस्तो राम्रो कार्यको ठिक विपरित G4S कम्पनीका दलालहरुले वार्ता सफल भयो भन्दै रातारात झुठो प्रचार गर्दै भ्रम र लालच देखाएर डर धम्की दिदै हाम्रो आन्दोलनलाई असफल पार्ने दुस्साहस गरिराखेकाछन् र अफिसमा भर्ना नलिएर सार्वजनिक स्थलहरुमा वा घर घरमा गएर भर्ना लिई गार्डपोष्टमा मान्छे परिपूर्ति गर्ने काम गरिराखेका छन्।
हामी पहिलो दिन, दोस्रो, तेस्रो, गर्दै आज चौथो दिनसम्म आएकाछौ, हामी के कस्ता अन्याय, अत्याचार र भेदभावका निमित्त आन्दोलित भएका हौ यो सवैमा विविध नै छ तर हामी यो आन्दोलनको मागले पूर्ण सफलता नपाएसम्म लडिरहनेछौ चाहे त्यो चार दिन चार हप्ता चार महिना वा चार वर्षनै किन नलागोस्। हामी आफ्नो आन्दोलनप्रति विश्वस्त छौं। तर आज आएर G4S ले हाम्रो मागलाई सम्वोधन गर्नुको साटो हाम्रा मित्रहरुलाई धम्क्याउने, काममा नगए निकालिदिने र सहमती भैसक्यो भने जस्ता कायरपूर्ण विभिन्न चालवाजि खेलिराखेको छ। हुन त हामी सबैलाई नै एउटा न एउटा समस्याले अवश्य गाजेको छ तर यो समय भनेको हाम्रो व्यक्तिगत समस्या र व्यक्तिगत स्वार्थको नभएर एउटा आम नेपालीको साझा समस्या हामीले बुझ्नु पर्ने अवस्था आएको छ। आजको यो संघर्ष भनेको G4S का कार्यरतहरुको समस्या मात्र नभएर गैर G4S र आम नेपालीका समस्याको आवाज मान्नु पर्दछ। हामीले हाम्रो अधिकार मात्र मागेका छैनौ, सम्पूर्ण गोर्खाली भनेर चिनिने नेपालीहरुको गुमेको, दवाइएको, शोषण गरिएको हक, अधिकारका लागि लडेका छौ। हाम्रो आन्दोलनमा हाम्रो अधिकार सुनिश्चित गर्न मात्र आएका छैनौ यसमा हामी र हाम्रो सन्तान र दरसन्तानका सुनौलो भविश्य पनि गासिएको छ। हाम्रो जित भनेको सम्पूर्ण नेपालीको जित हो भने हाम्रो हार सम्पूर्ण नेपालीको हार हुनेछ।
यसर्थ, हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा यस संघर्षको घडीमा सहयोगको निम्ति हार्दिक अपिल गर्दछौं। G4S का सहकर्मी मित्रहरु र नयाँ भर्ना भएका मित्रहरुमा पनि यी दलालहरुको प्रलोभन र भ्रममा नपरी हामीलाई साथ दिदै सम्पूर्ण नेपालीको विजयको निम्ति कार्यस्थल (Duty Post) त्यागेर हाम्रो आन्दोलन र धर्नामा सहभागी हुन हामी हार्दिक अपिल गर्दछौं।
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी १८ -
एउटै रंगमञ्चमा विभिन्न देशका साँस्कृतिक झलकहरु प्रस्तुत हुनु रमाइलो र सुखद संयोग हो। जोर्डनस्थित याउ मा तेइ कम्युनिटीहलमा आइतवार नेपाली, चिनीयाँ, भारतीय, इन्डोनिसियाली, मलेसियन र पाकिस्तानीलगायतका कलाकारहरुले विभिन्न भेषभूषामा आफ्ना देशका संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरे।
वायाँबाट विधान परिषदका अध्यक्ष जास्पर चाङ (योक सिङ) र महावाणिज्यदूत केशवप्रसाद भट्टराई।तस्वीरःजगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
हङकङ एकीकृत नेपाली समाजले आयोजना गरेको बहुसाँस्कृतिक कार्यक्रमको औपचारिक कार्यक्रममा हङकङ विधान परिषदका अध्यक्ष जास्पर चाङ -योक सिङ), नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई, संवैधानिक तथा मूख्यभूमि मामिला विभागका सहायक सचिव हवर्ट लाउलगायत उपस्थित थिए।
समाजका अध्यक्ष बुद्धिबहादुर थापा चिनीया कलाकारलाई प्रशंसापत्र वितरण गर्दै।
समाजका अध्यक्ष बुद्धिबहादुर थापाको अध्यक्षता रहेको औपचारिक कार्यत्रमलाई महासचिव अशोक गहतराजले सञ्चालन गरेका थिए। समाजले विभिन्न सहयोगी संस्था, कलाकार एवं स्वयंसेवकहरुलाई प्रशंसापत्र प्रदानपछि सुरु भएको बहुसाँस्कृतिक कार्यक्रमलाई चुरा थापा र सुस्मिता गुरुङले सञ्चालन गरेका थिए।
कार्यक्रममा भारतीय कलाकार कविता गुप्ताले कत्थक नृत्य, नेपाली कलाकार अनु र साथीहरुले कौडा, नेपाली संगीता समूहले माइती घर गीतमा नृत्य, सुमात्रा आइल्याण्डबाट स्थानीय नृत्य, चिनीयाँ कलाकारले बेले डान्स, क्यारिटस कम्युनिटी स्कुलका विद्यार्थीहरु नेपाली लोक नृत्य, पाकिस्तानी कलाकारले गजल गायन, निसाद सुब्बा, इन्द्र गुरुङले हिप हप गीत गायन र हरि श्रेष्ठले रिमिक्स तबला बादन प्रस्तुत गरेका थिए।
अन्तर्राष्ट्रिय बहुसाँस्कृतिक कार्यक्रमलाई एचकनेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो।