देवराज राई, हङकङ / एचकेनेपाल डट कम -
चितवन नेपालबाट हङकङ आई विभिन्न क्षैत्रहरुमा कार्यरत चितवनवासीहरुको संस्था चितवन समाजले नेपाली नयाँ वर्ष २०६६ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गर्यो।
जोर्डनस्थित इण्डियन क्लवमा शनिवार विविध कार्यक्रमहरुसहित सम्पन्न भएको कार्यक्रममा समाजका अध्यक्ष चित्रबहादुर गुरुङले अध्यक्षता गरेका थिए। कार्यक्रममा दिलबहादुर गुरुङ (राजमान) प्रमुख अतिथि, नेपाल एयरलायन्सका क्याप्टेन ओमबहादुर गुरुङ विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।
नेपाली महावाणिज्यदूतावासको तर्फबाट उत्तम न्यौपानेसमेत अथितिका रुपमा उपस्थित थिए। बेलबहादुर गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव ओमराज गुरुङले संचालन गरेका थिए। कार्यक्रममा विविध साँस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।
तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
हङकङ नेपाली महासंघको अत्यन्त जरुरी सूचना !
प्रहरीको गोलीद्वारा मारिएका दिलबहादुर लिम्बूको परिवारको सहयोगार्थ भइरहेको आर्थिक संकलन कार्य यही अप्रिल महिनाको ३० तारिखसम्ममात्र सञ्चालन हुने सम्बन्धित सम्पूर्णलाई जानकारी गराउँदै उक्त कार्यमा सहयोग पुर्याइदिन हुन सर्वसाधरण सम्पूर्णमा अनुरोध गर्दछौं।
विस्तृत जानकारीको लागि सम्पर्कः ९८८० ८१९४
आर्थिक समिति
दिलबहादुर लिम्बू हत्या विरुद्ध संघर्ष समिति
हङकङ नेपाली महासंघ
रेणु थापा भइन् प्रथम नेपाली डान्स आइडल..
एस, हङकङ / एचकेनेपाल डट कम, अप्रिल १९ -
हङकङको पुरानो नेपाली संस्था फियोनाको आयोजनामा मंकी हिलमा आइतवार सम्पन्न ‘प्रथम नेपाली डान्स आइडल हङकङ - १’ प्रतियोगितामा रेणु थापा प्रथम नेपाली डान्स आइडल घोषित भइन्। मगर संघ हङकङबाट सहभागी उनले २७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै ५१ हजार नेरु पुरस्कार राशिसहित ‘प्रथम नेपाली डान्स आइडल हङकङ - १’ को आइडल ट्रफी जितिन्। जम्मा २८ जना प्रतियोगी सहभागी रहेको उक्त प्रतियोगितामा सन्ध्या गुरूङ फस्ट रनरअप र कृष्टिना लिम्बू सेकेण्ड रनरअप भए। फस्ट रनरअप सन्ध्या गुरूङले फियोना ट्रफी हात पारिन्। वायाँबाट क्रमशः सन्ध्या गुरूङ फस्ट रनरअप, रेणु थापा आइडल उपाधि विजेता र कृष्टिना लिम्बू सेकेन्ड रनरअप। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।
‘प्रथम नेपाली डान्स आइडल हङकङ - १’ को उपाधि जितेपछि सहकर्मी जगतअम्बु गुरूङको सहयोगमा एचकेनेपाल डट कमलाई टेलिफोनमा प्रतिक्रिया दिदै रेणु थापा। साथमा फस्ट रनरअप सन्ध्या गुरूङ, सेकेण्ड रनरअप कृष्टिना लिम्बू र आयोजक संस्था फियोनाका अध्यक्ष वसन्त राईको प्रतिक्रिया सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।
प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिकगर्नुहोस्।तस्वीरहरू अपडेट हुन बाँकी….
प्रतियोगिताका सहभागीहरू। तस्वीरः जगतअम्बु गुरूङ र हेम गुरूङ / एचकेनेपाल डट कम
अडिसन दिंदै एक प्रतियोगी…
प्रतियोगिताका लागि पहिलो चरणको अडिसन राउण्डबाट २८ जना प्रतियोगीमध्ये पाँच जना टप फाइभमा छनौट भएका थिए। टप फाइभमा पर्नेहरूमा कृष्टिना लिम्बू, रेणु थापा, सुनिता थापा, सृजना गुरूङ र सन्ध्या गुरूङ थिए। राम गुरूङ, जौ गुरूङ, योगिता गुरूङ, गणेश इजम, सुरेन लिम्बू र भीम पुनको निर्णायक मण्डलले उनीहरूलाई टप फाइभमा छनौट गरेका थिए।
त्यसैगरी, टप फाइभमध्ये तीन जना प्रतियोगीहरू सन्ध्या गुरूङ (जेपिटीएचके), कृष्टिना लिम्बू (राइजिङ नेपाल सोसियल एशोसियशन) र रेणु थापा (मगर संघ हङकङ) अन्तिम फाइनलमा पुगेका थिए। तीन जना प्रतियोगीहरूमध्येबाट निर्णायकको मूल्याङ्कनको आधारमा रेणु थापा ‘प्रथम नेपाली डान्स आइडल हङकङ - १’ छानिएकी हुन्। प्रतियोगिताको संयोजन र सञ्चालन भीम गुरूङले गरेका थिए।
अवेर रातिसम्म जारी रहेको प्रतियोगितामा सहभागीहरुको संख्या उल्लेखनीय रहेको हुनाले पहिलो अडिसन राउण्डका कारण प्रतियोगिता सम्पन्न हुन अवेर भएको फियोनाका अध्यक्ष बसन्त राईले एचकेनेपाल डट कमलाई बताए। फियोनाले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितालाई अर्को साल पनि निरन्तरता दिने अध्यक्ष राईले बताए। प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिकगर्नुहोस्।
देवराज राई, हङकङ / एचकेनेपाल डट कम-
नेपाली पार्श्व गायनमा सर्वाधिक चर्चित गायक राजेशपायल राईलाई अहिले हङकङमा सम्मानको ओइरो लागेको छ। २०६५ सालको अन्तिम हप्तामा आयोजना भएको एकल साँझमा सहभागी हुन हङकङ आइपुगेका उनलाई अघिल्लो कार्यक्रमहरुमा भन्दा बढी क्रेज पनि मिलेको छ।
अप्रिल ९ तारिखका दिन हङकङ प्रवेश गरेदेखि नै उनी यति ब्यस्त बनेका छन् कि राम्ररी सुत्न र आरामसम्म गर्न पाएका छैनन्। यस बारेमा राजेशले हामीसँगको भेटमा भने ‘यसपालि हङकङवासी नेपालीहरुले ठूलो जिम्मेवारी महशुस गराइदिनु भएको छ। हुनत म साँगीतिक यात्राको एक यात्री हुँ, यति धेरै सम्मानले मलाई साथ र हौसला मिलेको छ।’
‘धरतीमा बसेर आकाश छुनेले’ बोलको म्युजिक भिडीयो सुटिङमा गायक राजेश। iPhone Photo: देवराज राई, हङकङ / एचकेनेपाल डट कम
राईचाम्लिङ खाम्बातिमको एक सम्मान कार्यक्रममा किरात राई जातिहरुले फेटा गुथाएपछि आफू गम्भीर भएको र नेपाली गीतसंगीतको श्रीपेच राखेको अनुभव गर्दै यसपालि हङकङ भ्रमण सम्झना लायक बनाएकोमा कृतज्ञता व्यक्त गरे।
उनी अहिले ‘धरतीमा बसेर आकाश छुनेले’ बोलको म्युजिक भिडीयो सुटिङमा ब्यस्त बनेका छन्। यस गीतलाई मातृदीप राईले निर्देशन गरिरहेका छन्। यसै बीच, अप्रिल १८ तारिख साँझ आदिवासी गीतकार समाज हङकङले नेपाली गीत संगीतमा पुर्याएको योगदानको कदर गर्दै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा राजेशपायल राईको सांगीतिक यात्रा एवं नेपाली गीत संगीतको चर्चासमेत गरिएको थियो।
गायक राजेश अप्रिल २१ तारिखका दिन नेपाल फर्कदै छन्। त्यसपछि सिंगापुर र इजरायलमा हुने कार्यक्रममा सहभागी हुने उनले बताए।
टिका गुरुङ, मकाउ / एचकेनेपाल डट कम-
चीन र हङकङको औपचारिक भ्रमणपछि सोमबार मकाउ आइपुगेका परराष्ट्रमन्त्री उपेन्द्र यादवको सम्मान तथा स्वागतमा यहाँ कार्यरत नेपालीहरुले एक कार्यक्रमको आयोजना गरे।
ताइपा स्क्वायर होटलमा सम्पन्न उक्त कार्यक्रममा सिटी अफ ड्रिम्समा कार्यरत दिलीपसिंह गुरुङले यहाँका नेपालीहरुको समस्याहरुलाई स्पष्ट पार्दै स्वागत मन्तब्य दिए। गुरूङले यहाँका नेपालीको समस्याहरुको लिखित ज्ञापनपत्र समेत मन्त्री यादवलाई हस्तान्तरण गरे।
कार्यक्रममा सभासद तथा पूर्व ने.रा. बैंकका गभर्नर डा. तिलक रावल, हङकङका लागि नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई, एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरूङलगायतले मन्तव्य व्यक्त गरेका थिए।
मकाउमा कार्यरत नेपालीहरुलाई सम्वोधन गर्दै मन्त्री यादवले यहाँको समस्याप्रति सरकार अत्यन्तै सजग रहेको बताए।
लुम्बिनी साँझ तथा आठौं वार्षिक उत्सव
लुम्बिनी मञ्च हङकङको आठौं वार्षिक उत्सव तथा नयाँ वर्ष २०६६ को शुभ उपलक्ष्यमा आयोजित ‘लुम्बिनी साँझ’ कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
आयोजकः लुम्बिनी मञ्च हङकङ स्थानः इण्डिया क्लव जोर्डन, भूइं तल्ला मितिः २ मे २००९ समयः साँझ ६:३० बजेदेखि
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङका विभिन्न संघसंस्थाहरुले छुट्टा छुटै रुपमा कार्यक्रमहरु आयोजना गरी आइतवार मंकी हिलमा भव्यताका साथ नेपाली नयाँ वर्ष २०६६ धुमधामले मनाए।
पान्थर मञ्च हङकङ, संखुवासभा समाज हङकङ, तनहूं समाज, पर्वत मञ्चले भेटघाट, शुभकामना आदानप्रदान, बिबिक्यु तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरी नयाँ वर्षको धुमधामले स्वागत गरे।
संखुवासभा समाज हङकङले सोही अवसरमा संखुवासभामा उत्पादित घरेलु सामान, पुस्तक एवं फोटो प्रदर्शनी गरेको थियो। कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू प्रमुख अतिथि रहेका थिए भने अन्य संघसंस्थाका प्रतिनिधिहरु विभिन्न कार्यक्रमहरुमा अतिथिका रुपमा उपस्थित थिए।
त्यसै गरी हङकङ नेपाली अल्पसंख्यक संगठनले आइतवार साँझ जोर्डनस्थित इण्डिया क्लवमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भेटघाटको आयोजना गर्यो। कार्यक्रममा बमबहादुर बम्जन प्रमुख अतिथिका रुपमा उपस्थित थिए। नयाँ वर्षको उपलक्ष्यमा हङकङ सेभेन समूहले साँगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङस्थित नेपाली महावाणिज्यदूतावासले परराष्ट्रमन्त्री उपेन्द्र यादवको स्वागत तथा सम्मानमा आइतवार साँझ हुम हामस्थित होटल पेनिनसुलामा एक रात्रिभोजको आयोजना गर्यो।
कार्यक्रममा छोटो मन्तव्य व्यक्त गर्दै महावाणिज्यदूत केशवप्रसाद भट्टराईले परराष्ट्रमन्त्री उपेन्द्र यादव, सभासद तथा पूर्व गभर्नर डा. तिलक रावल, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेका थिए। तस्वीरःदेवराज राई र जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
मन्त्री यादवको स्वागत तथा सम्मानमा महावाणिज्यदूतावासद्वारा आयोजित रात्रिभोजको अवसरमा महावाणिज्यदूत भट्टराईले मन्त्री यादवसंग यहाँका विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुको परिचय गराएका थिए।
रात्रिभोजमा नेपाली संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यापारी, विद्यार्थी र पत्रकारहरु उपस्थित थिए।
थप जानकारीको लागि कार्यक्रम स्थलबाट सहकर्मी जगतअम्बु गुरुङको सहयोगमा देवराज राईले दिएको रिपोर्ट सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।
एस, हङकङ / एचकेनेपाल डट कम -
नेपाल च्याम्बर्स अफ कमर्स हङकङले परराष्ट्रमन्त्री उपेन्द्र यादवको सम्मानमा आइतवार दिउसों चिम सा चुइस्थित सूर्य रेष्टुरेण्टमा एक दिवाभोज कार्यक्रमको आयोजना गर्यो।
चीनको औपचारिक भ्रमणपछि गत शुक्रवार हङकङ आईपुगेका परराष्ट्रमन्त्री उपेन्द्र यादव यहाँका नेपालीसंग नियमित रुपमा भेटघाटमा व्यस्त रहेका छन्। परराष्ट्रमन्त्री उपेन्द्र यादव। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।
हङकङमा रहेका नेपालीको अवस्था र समस्याबारे जानकारी लिने क्रममा परराष्ट्रमन्त्री यादव च्याम्बर्सद्वारा आयोजित दिवाभोज कार्यक्रममा समेत उपस्थित भएर यहाँका नेपाली व्यापार र व्यवसायबारे जानकारी लिए। कार्यक्रममा मन्त्री यादवसहित भ्रमण दलका सदस्यहरु सभासद डा. तिलक रावल, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य उपस्थित थिए।
महावाणिज्यदूत केशवप्रसाद भट्टराईको समेत उपस्थिति रहेको दिवाभोज कार्यक्रममा समसामायिक विषयमा छलफल भएको थियो। नेपाली र नेपाली व्यापारीहरूलाई हङकङको लागि भिसा अत्यन्तै आवश्यक पर्ने भएकोले सोको व्यवस्था मिलाई दिन नेपाल सरकारले पहल गर्नुपर्ने, विश्व आर्थिक मन्दीले नेपाललाई प्रभाव पर्ने या नपर्ने जस्ता विषयलगायत व्यापार व्यवसायसम्बन्धी छलफल भएको थियो।
अनौपारिक रूपमा भएको कार्यक्रममा विशेषतः व्यापार व्यवसायसम्बन्धी एकआपसमा छलफल भएको थियो। सोही कार्यक्रममा गत वर्ष नेपाल च्याम्वर्स अफ कमर्स हङकङलाई सहयोग गर्ने विभिन्न कम्पनीहरुलाई परराष्ट्रमन्त्री यादवद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। दिवाभोज कार्यक्रममा च्याम्बर्सका सदस्यहरु, व्यापारी र पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमपछि एचकेनेपाल डट कमसंग कुराकानी गर्दै नेपाल च्याम्बर्स अफ कमर्स हङकङका अध्यक्ष जेएन ज्ञवाली र सचिव डासुराम पराजुली। कुराकानी सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।
खुल्ला पुरुष भलिबल प्रतियोगिता
नेपाली नयाँ वर्ष २०६६ को सुखद अवसरमा आयोजना हुने खुल्ला पुरुष भलिबल प्रतियोगिता, शुभकामना आदानप्रदान र बिबिक्यु कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं।
आयोजकः स्याङ्जा जनसेवा समिति, हङकङ मितिः १ मे २००९ समयः बिहान १० बजेदेखि स्थानः बटर फ्लाई विच, चुन मुन