एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङस्थित नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन्। मन्त्रीपरिषदको शुक्रवार बसेको बैठकले भट्टराईसहित २४ जनालाई सचिवमा बढुवा गरेको हो। लामो समयसम्म रिक्त रहेको उक्त पदमा बढुवा हुनेमा हङकङमा बहालवाला महावाणिज्यदूत भट्टराईसमेत परेका हुन्।
भट्टराईले ४ अक्टोबर २००७ देखि महावाणिज्यदूतको रूपमा हङकङमा कार्यभार सम्हालेका थिए।
हङकङका नेपालीका निम्ति दिलो ज्यानले सेवा गरिरहेका महावाणिज्यदूत भट्टराई हङकङमा छंदै सचिवमा पदोन्नति हुनु भट्टराई स्वयं र हङकङका नेपालीका लागि गर्वको विषय हो। हङकङका नेपालीबीच भावनात्मक एकता बढाउन र हङकङ र नेपाल सरकारबीच प्रगाढ सम्बन्ध र समन्वय कायम राख्न महावाणिज्यदूत भट्टराईले खेलेको भूमिकालाई यहाँका नेपालीहरूले भूल्ने छैनन्।
सोझा तथा सरल स्वभावका भट्टराईको कार्यकाल नेपालीका निम्ति निश्चित रूपमा सुखद र सौहार्दमय रह्यो। नेपालको व्यवसाय र पर्यटन क्षेत्रको प्रवर्धनका लागि भट्टराईले नेपाल च्याम्बर्स अफ कमर्स हङकङलगायत नेपाली संघसंस्थाहरूको सहकार्यमा आफ्ना क्षमताले भ्याएसम्म गरे।
महावाणिज्यदूत भट्टराई सचिवमा बढुवा भएपछि एचकेनेपाल डट कमसंग कुरा गर्दै सबै शुभेच्छुकहरूको हार्दिक सहयोग, सदाशयता र आत्मियताका कारण सचिवमा बढुवा भएकोमा खुसि व्यक्त गरे। भट्टराईले भने ‘आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयाश गरें।’ ‘हङकङका नेपाली साथीभाईहरूबाट पाएको हार्दिकता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’ भट्टराईले भने।
भट्टराईले महादूतावासका तर्फबाट केही गर्ने कामहरू गर्न बाँकी रहेको बताउंदै आगामी दिनमा त्यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताए। भट्टाई सचिवमा बढुवा भएपछि दस दिनभित्र नेपाल फर्कदै छन्। मन्त्रीपरिषदको पत्र आइतवारसम्म प्राप्त भैसक्ने उनले बताए। भट्टराई नेपाल फर्केपछि सरकारले हङकङका लागि अर्को महावाणिज्यदूत नियुक्त नगरेसम्म वाणिज्यदूत सुशीलकुमार लम्सालले कार्यवाहक महावाणिज्यदूतका रूपमा कार्यभार सम्हाल्ने छन्।
केशवप्रसाद भट्टराईअघि हङकङमा माधवप्रसाद घिमिरे नेपालका लागि महावाणिज्यदूत थिए। घिमिरे पनि हङकङमै रहंदा सचिवमा बढुवा भएपछि नेपाल फर्केका थिए। घिमिरेलाई शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले मुख्य सचिवमा नियुक्त गरेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव माधवप्रसाद घिमिरेलाई सरकारले तीन वरिष्ठ सचिवबाट निजामती सेवाको सर्वोच्च पदको जिम्मेवारी दिएको हो। इतिहासको पानाबाटः पूर्वमहावाणिज्यदूत माधवप्रसाद घिमिरे। इन्टरनेट पत्रिका एचकेनेपाल डट कमको औंपचारिक समुद्घाटन कार्यक्रममा। फाइल तस्वीरः १० अप्रिल २००४, हर्बर सिटी गोल्डेन थाइ रेष्टुरेण्ट, हङकङ।
देवराज राई, हङकङ /एचकेनेपाल डट कम-
‘आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिसँगै नेपाली समाज बसाऔँ’ भन्ने अभियोजना बोकेर हरेक वर्ष हङकङमा आयोजना हुँदै आएको भानु जयन्ती यो वर्ष पनि नेपालीहरुको व्यापाक उपस्थितिमा सोमवार साँझ भव्यरुपमा सम्पन्न भएको छ। नेपाली विद्यार्थी, अभिभावक, शिक्षक, संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको १९६औं जन्मजयन्ती धुमधाम मनाइएको हो।
युनलङ टाउन हलको सभाहलमा सम्पन्न भानु जयन्तीको मूख्य आकर्षण रामायणको सम्पूर्ण कथालाई विभिन्न विद्यालयका विद्यार्थीहरुले गरेका प्रस्तुती थिए। व्यापक उपस्थितिका कारण बस्ने सिट अभावले उभिएरै नेपालीले भानुजयन्ती २००९ कार्यक्रम अवलोकन गरे। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
नेपाली भाषा, साहित्य र संस्कृति नै आफ्ना सक्कलि पहिचानहरु हुन्। नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना नै आफ्नै जगेर्ना हो भन्दै भानुजयन्ती विशेषरुपमा मनाइएको थियो। भानुजयन्तीमा भानुभक्त तथा नेपाली भाषालाई सम्बोधन हुने खालका विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएका थिए।
हङकङ नेपलिज फाउण्डेशनको संयोजन तथा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत नेपाली विधार्थी एवं शिक्षकहरूको व्यापक सक्रियता थियो। सुन्दर साजसज्जा भएको कार्यक्रममा भानुभक्तको जीवनी तथा नेपाली भाषाकै सेरोफेरोमा रहेर बालबालिकाहरुले आफ्ना मौलिक गीत, कविताहरु वाचन गरेका थिए।
टिके प्राथमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाईस्कुल, पिके कलेज, सर एलिस कादुरी माध्यमिक विद्यालय, आईकेटी माध्यमिक विद्यालय चाईवानका नेपाली विधार्थीहरुले कविता, जीवनी र नृत्यहरु प्रस्तुत गरेका थिए। भानुभक्तद्वारा लिखित भानुभक्तिय प्रश्नोत्तरी, भक्तमालाको केही अंशहरुसमेत पाठ गरिएको थियो। कार्यक्रममा भानुभक्तको देन तथा नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएका थिए।
हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज राईले कार्यक्रमको आयोजनाबारे जानकारी मन्तव्य दिएपछि सुरू भएको कार्यक्रममा नेपालबाहिर नेपाली भाषाको महत्व, हङकङमा नेपाली भाषाको विकासक्रमबारे विभिन्न विद्यालयका नेपाली शिक्षकहरुले आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय सरकारी विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रधानाध्यापक चोङ का लेउङले भानुभक्तको तस्बीरमा माल्यर्पण गरी सम्मान व्यक्त गरेका थिए। विभिन्न विद्यालयहरुले भानुजयन्तीलाई आफ्नो वार्षिक कार्यक्रम पुस्तिकामा प्रकाशित गरेका छन्। नेपाली भाषालाई स्थापना गर्नका लागि वातावरण तयार भैरहेको अवस्थामा सम्बन्धित विद्यालयका चिनिया मूलका शिक्षक, विदेशी मूलका शिक्षकहरुले कार्यक्रम सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गरेका थिए।
नन्दलाल थकरले धन्यवादसहित अन्त्यौलि गरेको भानुजयन्ती कार्यक्रमलाई एचकेनेपाल डट कमले अफिसियल मिडियाका रूपमा सघाएको थियो।
थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस् भिडीयो प्रोमो
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङमा अलपत्र पर्ने नेपालीको संख्या बृद्धि हुंदै गएपछि हङकङस्थित नेपाली महावाणिज्यदूतावासले गम्भीर चिन्ता व्यक्त गरेको छ।
महावाणिज्यदूतावासले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै गैरकानुनी ढंगले दलालमार्फत हङकङ छिरेका नेपालीहरू अलपत्र पर्ने क्रम जारी रहेपछि महावाणिज्यदूतावासले गम्भीर चिन्ता व्यक्त गरेको हो।
हङकङ सरकारले सन् २००५ मा नेपालीलाई रोजगार प्रवेशाज्ञा पूर्णतय बन्द गरेपनि दलालहरूले सर्वसाधारण नेपालीलाई राम्रो तलवको लोभ देखाउंदै गैरकानुनी ढंगले हङकङ छिराउने काम बन्द गरेका छैनन्।
हङकङमा उनीहरूलाई रोजगारको अवसर छंदै छैन। तर, दलालहरूले शरणार्थीका रूपमा दर्ता भएकाले रोजगार पाउन सक्छन् भन्ने भ्रम पारेर सर्वसाधारणलाई फँसाउंने गरेका छन्। हङकङले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघ महासन्धिमा हस्ताक्षर नगरेको हुंदा हङकङमा शरण दिने व्यवस्था नरहेकाले रोजगार पाउने सम्भावना पनि छैन।
तर, नेपालीहरूले तीनदेखि ६ लाख रूयैयाँसम्म दलाललाई तिरेर काठमाडौंबाट बैंकक वा क्वालालम्पुर हुंदै मकाउ पुग्छन्। मकाउबाट चीन हुंदै जोखिमपूर्ण यात्रा गर्दै हङकङ आइपुगेपछि मात्र आफूहरू ठगिएको चाल पाउंछन्। उनीहरू सेन्जेन र जुहाईलगायत चीनका सीमावर्ती शहर हुंदै प्रहरी र अध्यागमन विभागको आँखा छलेर हङकङ छिर्छन्। तर, उनीहरूको यात्रा भने त्यति सहज हुदैन। माछा मार्ने सानो डुंगाको जोखिमपूर्ण यात्रा सकेर हङकङको विकट पहाडी सीमा क्षेत्रमा छोडिन्छन्। त्यसपछि, उनीहरूको थप कष्टकर दैनिकी सुरू हुन्छ। खानाबस्न नपाएर पार्क र सार्वजनिक स्थलहरूमा रात गुजार्न वाध्य हुन्छन्। हङकङमा अलपत्र परेपछि हार गुहार गर्ने गर्छन्।
दिनहूं जस्तो हङकङमा नक्कली शरणार्थीहरू भित्रिएपछि गोर्खाको रूपमा प्रख्याति पाएका नेपाली समुदायको प्रतिष्ठामाथि आँचमात्र पुगेको छैन, नेपाली महावाणिज्यदूतावासलाई समेत अप्ठ्यारोमा पारेको छ।
मोटो रकम कुम्लाएर शरणार्थीका रूपमा नेपाली भित्र्याउने मानव तस्करका गिरोहमध्ये कोही हङकङभित्रै सक्रिय रहेको स्रोतले जनाएको छ। केही संघसंस्थामा पदासिन व्यक्तिहरू नै सक्रिय रहेको हल्ला बाहिर आएपनि खुलासा हुन सकेको छैन। नेपालीले नेपालीलाई ठग्ने गिरोहको छानविन गरी कारवाही गर्न महावाणिज्यदूतावास आफैं अघि सरेको छ।
महावाणिज्यदूतावासले शंकास्पद मानव तस्करका गिरोहबारे जानकारी भए हङकङमा महावाणिज्यदूतावासलाई र नेपालमा श्रम तथा गृहमन्त्रालयलाई सूचित गर्न आग्रह गरेको छ।
त्यसैगरी, सर्वसाधारणबाट प्राप्त सूचनाको आधारमा हङकङ प्रहरीले ठगी गर्ने उक्त गिरोहको खोजी गरिरहेको स्रोतले जनाएको छ। प्रहरीले गोप्यरूपमा शंकास्पद व्यक्तिहरूमाथि निगरानी सुरू गरेकोसमेत स्रोतले जनाएको छ।
महावाणिज्यदूतावासद्वारा जारी प्रेस विज्ञप्तिको लागि यहाँ क्लिक गर्नुहोस्
एस, हङकङ / एचकेनेपाल डट कम-
नेपालको सप्तकोसी तटबन्ध फुटेर विस्थापित बाढीपीडितहरूको पुनःस्थापनाका लागि हङकङका नेपालीद्वारा संकलन गरिएको आर्थिक सहयोग हङकङस्थित महावाणिज्यदूतावासलाई हस्तान्तरण गरिएको छ।
हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बूसहित पूर्वअध्यक्ष तथा महासंघमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरू विहीवार महावाणिज्यदूतावासको कार्यालय गै महावाणिज्यदूत केशवप्रसाद भट्टराईलाई हङकङ डलर ४१ हजार ४ सय ९१ (करीब ४ लाख १५ हजार रुपैया) को चेक हस्तान्तरण गरेका हुन्।
गत साल सप्तकोसी तटबन्ध फुटेर अलपत्र र विस्थापित भएका बाढीपीडितलाई सहयोग गर्न उठाइएको रकम महासंघले हालै हस्तान्तरण गरेको हो। प्राविधिक कारणले आर्थिक सहयोग हस्तान्तरण गर्न केही ढिलाई भएपनि पुनःस्थापना र पुनर्निमाण कार्य भर्खरै थालिएको महासंघका अध्यक्ष हेम लिम्बूले एचकेनेपाल डट कमलाई बताए। ‘धेरै वा थोरै जति भएपनि नेपालीलाई पर्ने आपदविपतहरूमा मानवीय सहयोग गर्नु हामी सबैको धर्म र कर्तव्य हो’- उनले भने।
एस, हङकङ / एचकेनेपाल डट कम-
तनहूँ जिल्लाको भौगोलिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक विषय वस्तुमाथि निर्माण गरिएको पहिलो वृत्तचित्र ‘तनहूँ एक परिचय..’ आइतवार हङकङमा भव्यताका साथ प्रदर्शन भयो। याउ मा तेइस्थित हेन्री जि. लियोङ कम्युनिटी हलमा प्रदर्शन गरिएको वृत्तचित्र हेर्न तनहूँबासीको ठूलो उपस्थिति रहेको थियो।
तनहूँ जिल्लासंग आत्मिय भावना राख्ने जिल्लाबासीहरूले वृत्तचित्रलाई प्रेमपूर्वक अवलोकन मात्र गरेनन् हुर्की बढेका गाउं, पाखा पखेरू आफ्नै आँखा अगाडि देख्न पाउंदा हर्षले विभोर भए।
हङकङका श्यामसुन्दर थापाले करीव १८ महिना लगाएर तनहूँका सम्पूर्ण गामवेंशीका मनोरम दृश्यहरू क्यामरामा कैद गरी वृत्तचित्रमा रूपान्तरण गरेका हुन्। थापालाई हङकङमा रहेका तनहूँबासी भीम गुरूङ, याम थापा, लिल गुरूङ, कुश थापा, सूर्य गुरूङ, सुवित गुरूङ, लाल थापा र पिताम्बर गुरूङले होस्टेमा हैंसे गरे। उनीहरूको सक्रिय पहलमा थापाले वृत्तचित्र निर्माण गर्न कस्सिएका हुन्।
भारतीय सेनाका छोरा थापालाई बन्दुक बोक्नुभन्दा क्यामरा बोक्न रहर जाग्यो। त्यही रहरले भारतमै श्रव्य दृश्यका औपचारिक शिक्षा लिएका थापा हङकङमा आएपछि त्यही पेशामा आवद्ध रहे। थापाले मुश्किलले एक वर्षको मात्र वाल्यकाल तनहूँमा विताए पनि मातृभूमिप्रतिको मोहले उनलाई तनहूँ वृत्तचित्र निर्माण गर्न प्रेरित गरेको हो। उनी किहूं गाविसका हुन्।
वृत्तचित्रमा तनहूँ जिल्लाका एक नगरपालिका व्याससहित ४६ गाविसका भौगोलिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक स्थलका साथै शैक्षिक संस्थान र स्वास्थ्य चौकीहरू समेटिएका छन्। वृत्तचित्रमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले चर्चा गरेका रम्घाको घाँसे कुवा पनि देख्न सकिन्छ। गरिव घाँसीद्वारा निर्मित त्यस कुवाबाट प्रेरित भएर भानुभक्त आचार्य कवि बनेको स्वयं आचार्यले आफ्नो कृतिमा वर्णन गरेका छन्।
विभिन्न जनजातिहरूका साँस्कृतिक झलक र तनहूँ महोत्सवका झलकहरूसमेत समेटिएको वृतचित्रमा प्रख्यात गीतकार क्षेत्रप्रताप अधिकारी, राजनीतिकर्मीहरू नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौड्याल, बनमन्त्री किरण गुरूङलगायत जिल्लाका समाजसेवीहरूका विचारहरू समेटिएका छन्।
तनहूँ जिल्लाबासीका लागि एउटा जीवन्त दस्तावेज बनेको तनहूँ वृत्तचित्र खासगरी विदेशमा बस्ने तनहूँबासीका लागि (केही प्राविधिक पक्षलाई छोडेर) यो एउटा संस्मरणको सुन्दर एल्बम बन्न सफल भएको छ। गाउंघरको यादले सताउंदा एल्बमको पाना पल्टाए झै वृत्तचित्रमा सिङ्गो तनहूँ जिल्लाका हरेक गाउं, बस्ती, पाखा पखेरूहरू आँखा सामुन्ने पढ्न, सुन्न र देख्न सकिन्छ।
‘वृत्तचित्र निर्माणमा धेरै परिश्रम र खटान गरेको रहेछ’- वृत्तचित्र हेरिसकेपछि एचकेनेपाल डट कमसंग बोल्दै हङकङ नेपाली महासंघ अध्यक्ष हेम लिम्बूले भने। ‘त्यहाँका स्थानीयहरूको पीडा र समस्यालाई थोरै भने पनि उनीहरूकै मुखबाट व्यक्त गरिएका भए अझ सुनमा सुगन्ध हुन्थ्यो’- उनले भने।
‘मलाई यो डकुमेन्टरी हेरेपछि नेपाल जाउं जाउं लाग्यो’- मिस ट्यालेन्ट हण्ट २००७ सुस्मिता गुरूङले एचकेनेपाल डट कमसंग भनिन्। ‘मलाई नेपालकै हरियाली डाँडाकाँडा, गाउं र घर रमाइलो लाग्छ’, उनले भनिन्।
‘डकुमेन्टरी निर्माण गर्ने आ-आफ्नै शैली हुन्छ। तर यसलाई ट्राभल डकुमेन्टरीको रूपमा बनाइएको भए अझ रूचीपूर्ण र प्रभावकारी हुन सक्थ्यो।’ टिके प्राइमरी स्कूलका शिक्षक अमोद राईले भने। तर, भन्न र गर्नमा गाह्रो हुन्छ। यद्दापि, यसो गरेको भएको भए अझ राम्रो हुने मेरो सुझाव हो’ उनले भने।
वृत्तचित्र निर्माण र प्रदर्शनमा विशेष भूमिका निर्वाह गरेका भीम गुरूङले वृत्तचित्रलाई बेलायतलगायत अन्य देशहरूमा प्रदर्शन गरिने योजना रहेको बताए। ‘तनहूंका चलचित्र भवनहरूसंग कुराकानी गरेर वृत्तचित्र प्रदर्शन गर्नेबारे विचार विमर्श भैरहेको छ।’ उनले एचकेनेपाल डट कमसंग भने। ‘त्यसबाट उठेका रकम जिल्लाका जेहनदार विद्यार्थीलाई छात्रवृत्ति, दुर्गम गाउंहरूमा खानेपानीको व्यवस्थालगायतमा सहयोग गर्न योजना छ’- गुरूङले भने।
थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङका केही संघसंस्थाहरूले मिस्टर नेपाल तथा धर्मश्री उपाधि विजेता सानु गुरूङलाई बधाई तथा सम्मान व्यक्त गरेका छन्।
गुरूङले गत जुन १४ तारिख सम्पन्न ‘हङकङ बडीविल्डिङ च्याम्पियनशिप २००९’ मा दुई सेकण्ड रनर अपसहित दुई सर्वश्रेष्ठ पोज उपाधि हासिल गरेका थिए।
तमु ट्हो ह्युल हङकङ, तमु प्ये ल्हु संघ हङकङ शाखा र हङकङ नेपाल बडीबिल्डिङ एशोसियशनले सानु गुरूङलाई सम्मान गर्दै बधाई ज्ञापन गरेका हुन्। तमु ट्हो ह्युल हङकङले तमु ट्हो बृहत भेलामा सम्मान गरेको थियो भने तमु प्ये ल्हु संघ हङकङ शाखाले हङकङ नेपाल बडीबिल्डिङ एशोसियशनले याक एण्ड यति रेष्टुरेण्टमा आयोजित कार्यक्रममा सम्मान गरेको हो।
एसोसियशनका सचिव लोकराज लिम्बूको सञ्चालन, मेख गुरूङको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि गोरखा इन्टरनेशलका त्रिलोक गुरूङले सानु गुरूङप्रति बधाई ज्ञापन गर्दै गुरूङको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस् प्रतियोगिताको भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्..
देवराज राई, हङकङ / एचकेनेपाल डट कम-
तमु जातिहरुको चौतर्फी विकास र तमु कला संस्कृतिबारे छलफल गर्ने उद्धेश्यले जुलाई १ तारिखका दिन तमु ट्यो हृयुल हङकङले बृहत तमू भेला युनलङको टाउन हलमा आयोजना गर्यो।
राष्ट्रिय संरक्षण कोषका सदस्य सचिव जुद्धवहादुर गुरुङ प्रमुख अतिथि रहेको औपचारिक भेलालाई तमु ट्हो हृयुल हङकङकी अध्यक्ष इच्छाकुमारी गुरुङले अध्यक्षता गरेकी थिइन्। भेलामा मिस्टर नेपाल सानु गुरुङ एवं क्या. चन्द्रवहादुर गुरुङ विशेष अतिथिको रुपमा उपस्थित थिए।
औपचारिक कार्यक्रममा उपाध्यक्ष कोमल गुरुङले स्वागत मन्तव्य, प्रवक्ता नारायण गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको संचालन संस्थाको सचिव मिनवहादुर गुरुङले गरेका थिए।
हङकङमा रहेका तमुहरूको उपस्थिति रहेको भेलामा तमु अतिथि जुद्धवहादुर गुरुङ र शारीरिक सुसगठनमा चर्चित खेलाडी सानु गुरुङलाई सम्मान गरिएको थियो। भेलामा उपस्थित तमु वक्ताहरूले तमू एकतामा जोड दिएका थिए। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…
देवराज राई, हङकङ / एचकेनेपाल डट कम
करीव दुई साता लामो चीन यात्रापछि नेपाली साहित्यकर्मी, सञ्चारकर्मी र संस्कृतिकर्मीहरू नेपाल फर्केका छन्। साहित्यकार रामबाबु सुवेदीको नेतृत्वमा ५४ जनाको टोली चीन यात्रामा सरीक थिए।
चिनियाँ संस्कृति, कला, सम्पदा तथा साहित्यका अनुभव संगाल्न चिनियाँ अन्तर्राष्ट्रिय लेखक संघ, मित्रताका लागि चिनियाँ जनसंघ र चीनको संस्कृति मन्त्रालयले नेपाली टोलीलाई चीन भ्रमणको निम्तो दिएका थिए। जुन १६ तारिख सुरू भएको उनीहरूको करीव दुई साताको चीन यात्रामा ल्हासा, सियान, बेइजिङ, तियानजिङ, संघाई, सेञ्जेन र हङकङ परेका थिए।
चीनको भ्रमणपछि एक समूह चीनबाटै नेपाल फर्के भने एक समूह सोमबार हङकङ आई पुगेको थियो। हङकङ आई पुग्नेहरूमा रामबाबु सुवेदी, हरिहर खनाल, डा. मोदनाथ प्रश्रित, रामेश, रायन, निनु चापागाई, डा. तुलसी भट्टराई, केके कर्माचार्य, विष्णु प्रभात, सुधा त्रिपाठी, शारदा शर्मा, डा. घनश्याम ढकाल, हरिगोविन्द लुइँटेल, रामकृष्ण दुवाल, घनश्याम शर्मा पौड्याल, बद्रीनाथ खनाल, शारदा भट्टराई र उर्मिला अर्याल थिए। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
हङकङमा नेपालीको पूरानो संस्था फियोना र सिर्जनशील साहित्य समाजले उनीहरूको स्वागतमा मंगलवार साँझ करी किङ रेष्टुरेण्टमा भेटघाट कार्यक्रम राखेका थिए। बसन्त राईको अध्यक्षता र गणेश पराजुलीको सञ्चालन रहेको कार्यक्रममा हाङयुग अज्ञातले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा रामेश र रायनले जनवादी गीतहरू प्रस्तुत गरेका थिए। कविता वाचनसमेत रहेको कार्यक्रममा मोदनाथ प्रश्रित र निनु चापागाईले चीन यात्राका रमाइला अनुभव सुनाएका थिए। हङकङ आइपुगेका सो टोली बुधवार विहान नेपाल फर्किएको छ।