एस, हङकङ /एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङ (एनआरएन) ले हिन्दूहरूको महान चाड दशैं र तिहारको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
दशै तिहार शुभकामना साँझ नाम राखिएको सो कार्यक्रमका लागि नेपालबाट वरिष्ठ गायक दीप श्रेष्ठ, निमा रुम्बा, सविन राई, हास्यकलाकार रबि डङ्गोल, दोहोरी गायक गायिका विष्णु खत्री र चन्द्रा गुरुङ हङकङ आउने भएका छन्। कार्यक्रममा हङकङका स्थानीय साँगीतिक समूह इष्टवेष्ट ब्याण्डले वाद्यवादनमा सघाउने छ।
तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आइतवार आयोजित एक औपचारिक कार्यक्रममा एनआरएन हङकङले साँस्कृतिक कार्यक्रमबारे जानकारी सार्वजनिक गर्दै कार्यक्रमलाई यादगार बनाउने जनाएको छ। सोही कार्यक्रममा आगामी अक्टोबर १३ देखि १५ तारिखसम्म काठमाडौंमा हुन गैरहेको गैरआवासीय नेपाली संघको चौंथो विश्व सम्मेलनबारे जानकारी गराइएको थियो।
कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्सालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष यमकुमार (त्रिलोक) गुरूङले र सञ्चालन सचिव अर्जुनकुमार गुरूङले गरेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका हङकङ संयोजक कृष्ण पाण्डे, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, नेपाल वायुसेवा निगमका हङकङ प्रवन्धक किरण पन्त, जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ र नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष जेएन ज्ञवाली विशेष अतिथि रहेका थिए।
त्यसैगरी, दशै तिहारको अवसर पारी हङकङ नेपाल बडीबिल्डीङ एसोशियनका अध्यक्ष मेख गुरूङले ‘डान्स पार्टी धमका’ आयोजना गरिने भएको छ।
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।
गिरीराज पुन, हङकङ -
हङकङ सरकारद्वारा नेपाली समुदायको लागि प्रायोजन गरिएको एक मात्र नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश बन्द गराउने षड्यन्त्र भएको छ। सोही षड्यन्त्र स्वरूप एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले केही नेपालीहरू माझ रेडियो कार्यक्रम बारे सर्भे गरी एभरेष्ट साप्ताहिककै मुख्य लेख बनाएका छन्। जानकारी अनुसार किसन राईले कार्यक्रम संचालक चुरा थापासंगको रीसका कारण नेपाली समुदायको कार्यक्रम नै बन्द गराउने षड्यन्त्र गरेका हुन्।
हंगकंग सरकारद्वारा प्रायोजित साप्ताहिक सन्देश कार्यक्रम हंगकंगको सरकारी रेडियो संस्था आरटीएचकेको रडियो ३ बाट प्रसारण हुंदै आएको छ।
विगत ४ वर्षसम्म प्रत्येक हप्ता आधा घण्टा मात्र समय भएको नेपाली रेडियोको कार्यक्रम साप्ताहिक सन्देश गत वर्ष वर्तमान सञ्चालक चुरा थापाले सञ्चालन गर्न थालेपछि एक वर्षमै गत जुलाईको अन्तिम साताबाट एक घण्टामा बढाइएको छ। शुरूमा पुष्पराज राईले दुई वर्ष सञ्चालन गरेपछि त्यसको सञ्चालनको अभिभारा हुम गुरुङले लिएका थिए। गुरुङबाट लगभग डेढ वर्ष सञ्चालन गरिएपछि, सोको अभिभारा चुरा थापाको हातमा आएको थियो। हङकङमा बीसौं हजार अल्पसंख्यक नेपालीहरु रहेको आधारमा नेपाली समुदायहरुका लागि सरकारले सहयोग स्वरूप बिगत ५ वर्षदेखि यो कार्यक्रम प्रायोजन गरिरहेको छ। वर्तमान सञ्चालक चुरा थापाको प्रभावकारी प्रयासले नै सरकारले यस वर्षदेखि सो कार्यक्रमको समय बढाएर एक घण्टा बनाएको बताइन्छ। जब कि विगतमा ४ वर्षसम्म पनि सो कार्यक्रमको समय आधा घण्टा मात्र रहेको थियो।
यस भन्दा अघिका सञ्चालक हुम गुरूङले तत्कालीन नेपाली रेडियो नेपाल दर्शनबाट राजीनामा दिएपछि हंगकंगका करीब आधा दर्जन पत्रकारहरूले उक्त कार्यक्रम सञ्चालनको लागि अन्तरवार्ता दिएका थिए। तिनीहरू मध्ये एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले हंगकंग नेपाली महासंघ र हंगकंगस्थित तत्कालीन कार्यवाहक नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईको सिफारिस लिएर अन्तरवार्ता दिएका थिए। तर उनी अन्तरवार्तामा फेल भएका थिए।
त्यस बाहेक साप्ताहिक सन्देश रेडियोका सञ्चालक चुरा थापा र किसन राईको विगतदेखि नै विभिन्न विषयहरूमा मतान्तर रहंदै आएको छ। चुरा थापाका विरूद्द कैयै पटक किसन राईले आफ्नो नीजि पत्रिका एभरेष्ट साप्ताहिकमा उनको मानमर्दन गरेर समाचारहरू तथा लेखहरू छपाएका थिए। त्यसपछि चुरा थापाले पनि किसन राईका विरूद्द हंगकंगका विभिन्न वेभ पत्रिकाहरूमा कलम युद्द छेडेका थिए।
हुन त नेपाल डट एचके मा किसन राईले उक्त सर्भे बन्द गराउने षड्यन्त्र नभएको बताएका छन्। तर नेपाल डट एचके का सम्पादक प्रकाश के.सी.को भनाइमा किसन राईले सर्भेमा सोधेको प्रश्नहरूको स्वभावलाई मध्यनजर गर्दा बन्द गराउने नै उद्येश्य रहेको छ जसमा प्रकाश के.सी.ले पनी प्रस्तुती र जातीयताको कारण देखाइ समर्थन जनाएका छन्।
विगतमा नेपाल दर्शन नाम राखिएको नेपाली भाषाको रेडियो कार्यक्रम चुरा थापाले सञ्चालन गर्न थालेपछि साप्ताहिक सन्देश राखिएको थियो। हुम गुरूंगको पालामा कमर्सियल रेडियो नामक संस्थाबाट प्रशारण हुंदै आएको कार्यक्रम थापा पुगेपछि सरकारी रेडियोको च्यानलमा सरेको थियो। कार्यक्रममा दिइने विषय वस्तुका विषयमा सञ्चालकसंग छलफल गर्ने र सल्लाह सुझाव दिने गर्नुको सट्टा सिमत नेपनलीहरू माझ सर्भे गरेर यसको अलोकप्रियता सावित गर्दै बन्द गराउने षड्यन्त्र स्वरूप किसन राईले उक्त कार्य थालेको बताइन्छ।
तनहुं समाजका सदस्य भीम गुरूंग किसन राईले आफूले गर्न नपाएपछि डाह स्वरूप हंगकंग जस्तो विदेशी भूमिमा नेपाली भाषाको एक मात्र रेडियो कार्यक्रम बन्द गराउने कुचेष्टा गरेको कुरा बताउंछन्। “यो अरू केही होइन, आफूले गर्न पाएन अनि त कसरी बन्द गराउने भन्ने कुचेष्टा मात्र हो।” उनी भन्छन्।
किसन राईले बताए अनुसार उनले उक्त सर्भे गरेर आरटीएचकेलाई बुझाउने बताएका छन्। तर आरटीएचकेलाई नेपाली भाषाको कार्यक्रम कतिलाई थाहा छ वा छैन र कतिले सुन्छन् वा सुन्दैनन् भन्ने प्रश्न भरेर पठाउनुको नियत के त? यस बारे भने उनी मौन छन्।
साप्ताहिक सन्देशमा अहिले समाचार पनि नेपाल र हंगकंग गरी दुई भागमा दिइन्छ। त्यसै गरी हप्तैपिच्छे प्राप्त हुने श्रोतापत्रहरू, विभिन्न सरकारी सूचनाहरू, गीत संगीतहरू र हंगकंगका विभिन्न पेशामा संलग्न नेपालीहरूसंगको अन्तरवार्ता पनि नियमित राख्ने गरिएको छ।
कार्यक्रमको समय एक घण्टा भएपछि महिनाको पहिलो र अन्तिम हप्ता हंगकंगका टिनेज नेपालीहरूबाट “साथीसंग मनका कुरा” नामक कार्यक्रम शुरू गरिएको छ। यसबाट हंगकंगभर रहेका नेपाली युवाहरूको आकर्षण ह्वात्तै बढेको बताइएको छ।
साप्ताहिक सन्देश नेपाली रेडियोका सञ्चालक चुरा थापाका अनुसार किसन राईको उक्त कार्य गैरजिम्मेवार हर्कत हो। “हंगकंगको नेपाली समुदायले नेपाली रेडियोलाई राम्ररी ग्रहण गरेरै सरकारले म गएको एक वर्षमै रेडियोको समय आधा घण्टाबाट एक घण्टा बनाएको छ। यस्तो बेलामा सबै नेपाली खुशी हुनुपर्नेमा किसनजी भने बेखुशी हुनुभएको रहेछ। त्यसैले उहांले यसलाई बन्द गराउन यस्तो गैरजिम्मेवार हर्कत गर्नुभएको छ।” उनी भन्छन्।
हंगकंगमा नेपालीहरूको अन्य रेडियो कार्यक्रम छैनन्। विगत वर्षहरूमा नीजि रेडियो सञ्चालन गर्ने प्रयास गरिए पनि नेपालीहरूको सानो जनसंख्या र रेडियो कार्यक्रम अति महंगो पर्ने भएकाले हंगकंग सरकारले नै नेपाली भाषाको रेडियो कार्यक्रम प्रायोजन गरेको छ। हंगकंग सरकारले नेपाली भाषाका अलावा उर्दु, मन्डारिन, इन्डोनिसियनलगायत करीब आधा दर्जन अन्य भाषाका रेडियो कार्यक्रमहरूको प्रायोजन गरेको छ। तर नेपाली समुदायभित्रका कतिपय नकारात्मक सोंच राख्ने व्यक्तिहरूका कारण नेपाली भाषाकै रेडियो कार्यक्रमको भविष्य भनि धरापमा पर्न सक्छ।
सञ्चालक थापाका अनुसार उनले नेपालीहरूको उक्त कार्यक्रमलाई आफ्नो व्यक्तिगत प्रयास र मेहनतकै कारण आधा घण्टाको समयबाट एक घण्टामा बढाउन सफल भएका हुन्। “मैले नेपाली भाषाको रेडियो कार्यक्रम भएकाले यसको समय बढाउन अथक प्रयास गरें। मेरै प्रयासका वावजुद सरकारले समय पनि बढायो। तर किसनजी जस्ता मानिसहरूबाट यसमा भांजो हाल्ने काम हुन थालिएको छ।” उनले भने।
“नेपाली समुदायको लागि भनेर सरकारद्वारा सहयोग स्वरूप प्रायोजन भएको कार्यक्रमलाई सबैले सुन्ने र रचनात्मक सल्लाह सुझाव दिइ यसको समय अझै बढाउने प्रयास गर्नुको साटो यसलाई बन्द नै गराउने षड्यन्त्र गरिनु दूर्भाग्यपूर्ण छ।” उनले थप भने।
जानकारी अनुसार नेपाली समुदायको लागि काम गर्छु भन्ने यूनिसनकी निर्देशक फर्मी वंगले विगतमा पटक पटक यो कार्यक्रम कुनै नेपालीले सुन्दैन भनेर बन्द गराउने प्रयास गरेकी थिइन्। तर नेपाली समुदायका प्रतिनिधिहरूको प्रतिवादका कारण यसले निरन्तरता पाएको थियो। तर अब नेपाली समुदायकै कारण यसमा समस्या सृजना हुन सक्ने कुरा विश्लेषकहरू बताउंछन्।
पाठक विचार- प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्…
के छ त एभरेष्ट पत्रिकामा ?
रेडियो ‘साप्ताहिक सन्देश’ सुन्ने नेपाली एक प्रतिशत मात्र
हङकङ सरकारद्वारा प्रायोजित नेपाली भाषाको रेडियो कार्यक्रम ‘साप्ताहिक सन्देश’ नियमित सुन्ने नेपाली एक प्रतिशत मात्र रहेका छन्।
पाँच वर्षदेखि साप्ताहिक रुपमा सञ्चालित रेडियो कार्यक्रमको बारेमा एभरेष्ट साप्ताहिकले गरेको एक सर्वेक्षणले उक्त वास्तविकता उजागर गरेको हो। सर्वेक्षणले नियमित रेडियो श्रोता १.४२ प्रतिशत देखाएको छ । सबैभन्दा आर्श्चर्य त यो छ कि ४६.६६ प्रतिशतलाई यस कार्यक्रमको बारेमा जानकारीसमेत छैन।
रेडियो कार्यक्रमको बारेमा थाहा पाउने ५३.३३ प्रतिशतमध्ये पनि ३५.७१ प्रतिशतले पाँच वर्षको दौरानमा १-२ पटकमात्रै सुनेका छन्। महिनामा एक पटकमात्रै कार्यक्रम सुन्ने प्रतिशत १०.९५ रहेको छ।
हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, गैरआवासीय नेपाली (एनआरएन) संघ हङकङका अध्यक्ष यमकुमार गुरुङ र नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष जगन्नाथ ज्ञवालीले कार्यक्रमको बारेमा थाहा पाएको भएपनि एउटै कार्यक्रम सुनेका छैनन्।
अध्यक्षत्रय भन्छन्, “हप्तामा एक पटक त्यही पनि आधा घण्टा आउने कार्यक्रम के सुनाइ भो । कार्यक्रमको दिन र समय याद गर्नै सकिन्न । जमाना कहाँबाट कहाँ पुगिसक्यो रेडियो कसले सुन्ने - टीभीसम्म भए हेरिन्थ्यो कि?”
सेक्युरिटी गार्डले त सुन्लान् कि भन्ने जिज्ञासामा गोर्खा सेक्युरिटी गार्ड यूनियन हङकङका अध्यक्ष दिलबहादुर पालुङ्वा भन्छन्, “कता रेडियो सुन्नु हौ दाइ ! एक त ड्यटिमा सुन्न पाइन्दैन, अर्को कामको सुरमा कार्यक्रम आउने दिन नै थाहा हुन्न।”
“सेक्युरिटी भनेपछि फुर्सदिलो हुन्छ भन्ने सम्झन्छन् कि क्या हो मान्छेले ? रेडियो सुन्ने फुर्सद कहाँ हुन्छ ? त्यही पनि बेलुका ७-८ बजे।” गोर्खा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष हेमबहादुर तामाङ।
गोर्खा सेक्युरिटी यूनियनका अध्यक्ष विष्णु गुरुङ पनि रेडियो कार्यक्रमको बारेमा थाहा पाएको भए पनि आजसम्म एकपटक पनि नसुनेको बताउँछन्। फियोना हङकङका भूपू अध्यक्ष सत्यप्रसाद घले कार्यक्रमको प्रस्तुति तातो न छारोको रहेको बताउँदै भन्छन्, “मनगढन्ते समाचारमा एमाले र काँग्रेसलाई गालि र माओवादीको बढिबढाउ गर्ने कार्यक्रम पनि कसैले सुन्छ?”
स्मरण रहोस् कार्यक्रम सञ्चालक चुराबहादुर थापाले केही समयअघि विज्ञप्तिमार्फत एमाले परित्याग घोषणा गरेका थिए। उनीलगायत माओवादीमा प्रवेशका लागि तयारीमा रहेको चर्चा चलिरहेको छ। नेपाली साहित्य प्रतिष्ठान हङकङका भूतपूर्व अध्यक्ष शरण सुब्बाको ठहरमा कार्यक्रममा प्रयोग भएका भाषा स्तरीय छैनन्। कार्यक्रममा गीतमात्रै बज्ने गरेकोमा उनको टिप्पणी छ, “गीतको लागि एमपी थ्री र फोर सुन्ने जमानामा रेडियो सुन्ने ?” नेपालमा रहदा सप्तकोशी एफएमका कार्यक्रम निर्माता तथा सञ्चालक र आलोपालो डटकमका सञ्चालक देवराज राई आधा घण्टाको समयमा पनि स्तरीय कार्यक्रम बनाउँन सकिने दावी गर्दै भन्छन्, “रेडियो कसरी चलाउने भन्ने आइडिया नै छ जस्तो लाग्दैन सञ्चालकहरुमा ।”
गृह मामिला विभागको प्रायोजनमा शुरु भएको रेडियो कार्यक्रम हाल मूलभूमि तथा संवैधानिक मामिला विभागले प्रायोजन गरिरहेको छ। कार्यक्रमको बारेमा थाहा भए नभएको, थाहा भए सुन्ने गरे नगरेको र सुन्ने भए महिनाको कतिपटक सुन्ने गरेको तीन प्रश्नसहितको सर्वेक्षणमा २ सय १० जनालाई सहभागी गराइएको थियो। पाठक विचार- प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्…
हङकङ-
स्व. दिलबहादुर लिम्बू हत्या प्रकरण संर्घष समिति संयोजक हङकङ नेपाली महासंघ र युनिसन हङकङले संयुक्त रुपमा वक्तव्य प्रकाशित गरी आगामी सेप्टेम्वर ७ देखि शुरु हुने स्व. दिलवहादुर लिम्वूको मुद्दा सुनुवाईमा क्यान्टोनिज भाषा प्रयोग गर्ने निर्णयको विरोध गरेकाछन्।
स्व. दिलबहादुर लिम्बू हत्या प्रकरण संघर्ष समिति संयोजक हङकङ नेपाली महासंघ र हङकङ यूनिसनको संयुक्त रुपमा विहीवार जारी गरेको प्रेस वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ- ‘मृतक लिम्वूको मुद्दा सुनुवाईमा कोरोनर (न्यायधीश) विलियम ङसिं वाईको क्यान्टोनिज भाषा प्रयोग गरिने कुराको संघर्ष समिति संयोजक हङकङ नेपाली महासंघ र हङकङ यूनिसनले गहिरो खेद प्रकट गर्दछ।’ स्वर्गीय लिम्वूको मुद्दामा धेरै भन्दा धेरै नेपालीभाषीहरुको उपस्थिति हुने हुनाले सुनुवाईको भाषा नेपाली होस भनी अनुरोध गरिएकोछ। उनीहरुले लिम्वूको परिवारको तर्फबाट वोल्ने वकील समेत गैर चीनीया भएकोले क्यान्टोनिजमा मुद्दा अगाडि वढाइएमा दिलवहादुरको परिवारले निष्पक्ष न्याय नपाउने चिन्ता समेत व्यक्त गरेकाछन्। यता अदालतले भने सुनुवाईको भाषा क्यान्टोनिज माध्यम प्रयोग गरेपनि पर्याप्त अनुवादकहरुको व्यवस्था गरिने जनाएको छ।
हङकङ नेपाली महासंघ र युनिसनले धेरै चोटि अनुदित भएर आएको कुरामा विषय वस्तुको भाव विग्रेर आउन सक्ने चिन्ता व्यक्त गरेकाछन्। सोही वैठकले हङकङ नेपाली महासंघ र युनिसन हङकङ मिलेर सुनुवाईको भाषा अंग्रेजी हुनुपर्ने माग राख्दै एक पत्र कोरोनरलाई पठाउने निर्णय गरेको छ। यदि अदालतले त्यसको वेवास्ता गरेमा दवाव दिनको लागि सेप्टेम्वर १ तारिख साईवान हो स्थित इर्स्र्टन कोर्ट अगाडि एक सानो प्रदर्शन गरिने छ। फेरिपनि अदालतले वेवास्ता गरेमा ७ सेप्टेम्वरका दिन एक वृहत विरोध प्रदर्शन गर्ने समेत वक्तव्यमा उल्लेख छ। कोरोनर्स कोर्टमा नेपाली भाषा प्रयोग हुनु पर्दछ भन्ने मागलाई हङकङ न्याय विभागलाई पनि पत्र लेखिने कुरा महासंघका अध्यक्ष हेम लिम्वूले वताए।
उपस्थित हुने स्थान, मिति, र समय
स्थानः इर्स्र्टन कोर्ट, साईवान हो
मितिः १ सेप्टेम्बर, २००९
समयः १ः३० बजे (सार्प)
आयोजकः
हङकङ नेपाली महासंघ
संयोजक स्व. दिलबहादुर हत्या प्रकरण संघर्ष समिति
तथा हङकङ यूनिसन
ईन्द्र एलजी थापामगर -
मोना महिला समितिको आयोजनामा शनिवार महिलाहरुले मनाउने ‘तीज पर्व’ मोना कार्यलयको सभाकक्षमा भव्यरुपमा सम्पन्न भयो।
कार्यक्रममा पहिला तीजको दर भोजपछि औपचारिक कार्यक्रम मोना, हङकङका सदस्य तथा मोना महिला समितिका संयोजक बिना पुनको अध्यक्षतामा, संचालन संघका सदस्य तथा मोना महिला समितिका सहसंयोक शीला जुग्जालीले र स्वागत भाषण मोना महिला समितिका अध्यक्ष धन कुमारी गर्बुजाले गरेका थिए।
संघका सदस्य तुलादेवी तिलिजाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त औपचारिक कार्यक्रमा संघका भूपू सदस्य तथा मोना साँस्कृतिक समितिका भूपू संयोजक गोमा पुन पुन, मगर समाज हङकङका आमा समूहबाट पबि पुन र सरमाँया पुन थिए भने अन्य अतिथिहरुमा संघका भू.पू. अध्यक्ष तथा पदाधिकारीहरु वर्तमान सल्लाहकारहरु लगायतका व्यक्तिहरु थिए।
पारिवारिक जमघटको रुपमा म्याग्दीवासीहरु बीच तीज पर्व मनाउने गरेकोले हङकङमा स्थापित संघ/संस्थाहरुलाई अतिथिकोरुपमा विगत वर्ष झै यस पटक पनि निमन्त्रण गरिएको थिएन।
उक्त अवसरमा तीज पर्वबारे अतिथि गोमा पुनले बोलेका थिए भने संघका सहसचिव रुपा चोचाङगीले तीज पर्वलाई समयअनुसार राम्रा पक्षहरुलाई निरन्तरता र नराम्रा पक्षहरुलाई त्याग्दै जानुपर्ने धारण राख्दै साचो अर्थमा पर्व सबैको हुनुपर्ने विचार राखेका थिए। त्यस पछि औपचारिक कार्यक्रमको अध्यक्ष बिना पुनले उपस्थित सबैलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो।
दोस्रो चरणमा दर भोजसहितको साँस्कृतिक कार्यक्रममा तीजको गीत धनकुमारी गर्बुजा, अनित फगामी र भ माँया गर्बुजाले गायका थिए भने त्यसपछि स्थानीय चर्चित गायक मञ्जु थापा र मोना कलाकार मनु पुनले पनि गायका थिए। सोँझ ६ बजेदेखि शुरु भएर रातको झण्डै ३ बजे सम्म कार्यक्रम चलेको थियो।
स्मरणरहोस्, मोना महिला समिति हङकङले गत ३ वर्ष देखि दर भोज सहितको तीज पर्व मनाउदै आइरहेको छ।
देवराज राई, हङकङ / एचकेनेपाल डट कम -
के तपाई युनलङमा बस्नुहुन्छ? वा चुनमुन, लङपिङ अथवा तिनसुवाई ? दुईतले बस चढेर जोर्डनमा आफन्तहरु भेट्न गइरहँदा दिक्क हुनुभएको छ भने अब चिन्ता लिनु नपर्ने भएको छ।
२० मिनेटदेखि ३० मिनेट भित्रमा तपाईले चाहेको ठाउँ पुग्नुहुनेछ। समय, अर्थ सबै बचत गर्न सक्नुहुनेछ। यसको कारण हो, एमटीआर कम्पनीले नामचोङदेखि आस्टिन जोर्डन, चिम सा चुइ र हुङ हमसम्म आफ्नो सेवालाई आज अगष्ट १६ देखि संचालनमा ल्याएको छ।
तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
वेष्ट रेल र इष्ट रेलले हुङहम स्टेशनलाई आफ्नो अन्तिम स्टेशनको रुपमा प्रयोगमा ल्याइएको छ। अब यात्रुहरुले छोटो दूरी हिडेर पूर्वी तथा पश्चिम दिशामा चल्ने रेल परिवर्तन गर्न सक्नेछन्। नेपाली समुदायका कार्यक्रमहरु युनलङ तथा जोर्डनमा बढी मात्रामा आयोजना हुने भएका कारण यस सेवाबाट नेपालीहरु बढी मात्रामा लाभान्वित हुने भएका छन्। यद्यपि भाडादरमा डबल डेकर बस बराबर नै रहने छ। भाडदर महंगो भयो भनी स्थानीय नेताहरुले विरोधसमेत गरेका छन्।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
यदि तपाई दैनिक रुपमा जोर्डनदेखि युनलङ, वा युनलङदेखि जोर्डन गइरहनु परेको छ भने मासिक टिकट ४ सय ७० डलरमा खरिद गरी महिनादिन भरी यात्रा गर्न पनि सक्नु हुनेछ। युनलङदेखि जोर्डन अस्टिन रोडसम्म पुग्नका लागि २० मिनेट समय लाग्ने छ। हङकङमा जोर्डन र युनलङमा सर्वाधिक नेपालीहरुको बसोबास रहेको छ।
एस, हङकङ/ एचकेनेपाल डट कम-
मकाउमा कार्यरत नेपालका दुई पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक धिरेन्द्रकुमार शाही र बाबुलाल गुरूङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका छन्।
चीनको सुझोउमा सम्पन्न ५४औं अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा सहभागी हुदै विश्व तेक्वान्दो महासंघले लिएको निर्णायकको परीक्षामा उतीर्ण भएपछि शाही र गुरूङले क्योरूगी (स्पायरिङ) विधाको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका हुन्।
शाहीले पूम्से विधातर्फको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता भने यसअघि नै प्राप्त गरिसकेका छन्।
मकाउ क्यासिनोमा कार्यरत शाही र गुरूङलाई सेमिनारमा सहभागी गराउन मकाउ तेक्वान्दो संघले आवश्यक सिफारिस गरेको थियो। शाही मकाउ तेक्वान्दो संघका सदस्य तथा रेफ्री कमिटीका उपाध्यक्ष हुन् भने गुरूङ राष्ट्रिय निर्णायक हुन्।
नेपाल तेक्वान्दो संघद्वारा स्वीकृत प्राप्त नेपालीज तेक्वान्दो क्लव मकाउका संस्थापक एवं मुख्य प्रशिक्षक शाही र प्रशिक्षक गुरूङले हाल मकाउमा कार्यरत नेपालीहरूलाई तेक्वान्दोको प्रशिक्षण दिदै आइरहेका छन्।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ भ्रमणमा रहेका एकीकृत नेकपा माओवादी तथा जनजाति नेता सुरेश आलेमगरले जनजातिहरुको इतिहास, पहिचान र अधिकारका लागि आफूहरूले जातिय स्वायत्त शासनको माग गरेको बताएका छन्।
आदिवासी जनजाति महासंघद्वारा आइतवार आयोजित कार्यक्रममा बोल्दै नेता आलेमगरले भने- ‘सबै जाति शासक बनुन् र शाषित नबनुन् भन्ने हाम्रो माग हो।’ १५ औं आदिवासी दिवस कार्यक्रममा बोल्दै आलेमगरले नेपालमा संबिधान लेख्ने काम भैरहेकाले जनजातिहरू चनाखो हुनु पर्ने बताए। ‘संबिधानमा हाम्रा मागहरू समेटिनु पर्छ’ उनले भने।
आदिवासी जनजाति नेता आलेमगरले भने- ‘हामीले चाहेको जातिय स्वायत्त शासनका लागि यसैबेला केही गरिएन भने फेरि जनजातिहरु पछाडि पर्नेछन्। हामीले जातिय शासनकालागि संघर्ष उठान गर्नु पर्ने बेला भएको छ।’
सभासदसमेत रहेका आलेमगरले कार्यक्रममा बोल्दै भने- ‘लिम्बुवानमा लिम्बूले, मगरातमा मगरले शासन गर्ने अधिकार प्राप्त गर्ने छन् तर त्यहाँ रहेका अन्य जातिहरुलाई दमन गर्न पाउने छैनन्। हामीले अन्य जातिलाई दमन गर्नका लागि जातिय शासनको माग गरेका होइनौं।’
जनजातिका संस्कृति झल्किने झाँकी तथा नृत्यहरूलगायत विविध कार्यक्रमसहित सम्पन्न आदिवासी दिवस कार्यक्रममा नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई, अष्ट्रेलियाकालागि नेपाली अवैतानिक वाणिज्यदूत चन्द्र योञ्जनसमेत उपस्थित थिए।
जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षता, विष्णु पाख्रिन र भक्त दुराको मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव दलबहादुर पुनले गरेका थिए। कार्यक्रममा गत वर्षहरूमा झै यस वर्षको वर्ष पुरूष र वर्ष महिलामा क्रमशः किसन राई र ईच्छाकुमारी गुरूङलाई प्रदान गरिएको छ। राई हङकङका पूराना पत्रकार र एभरेष्ट साप्तहिकका सम्पादक हुन् भने गुरूङ तमु ट्हो ह्युलकी अध्यक्ष हुन्। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
एस, हङकङ / एचकेनेपाल डट कम-
गायिका रोशा लिम्बू (साम्सोहाङ) को गीति एल्बम ‘पन’ बजारमा आएको छ। हङकङ भ्रमणमा रहेका वरिष्ठ गायक दीप श्रेष्ठले रोशाको पनलाई विमोचन गरेका हुन्।
पन विमोचन गर्दै वरिष्ठ गायक दीप श्रेष्ठ। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
हिमालयन टोन्स म्युजिक एकडेमीको आयोजनामा आइतवार साँझ जोर्डनस्थित एक रेष्टुरेण्टमा पनको विमोचन भएको हो। स्थानीय कलाकार र पत्रकारहरूको उपस्थिति रहेको विमोचन कार्यक्रममा बोल्दै गायक श्रेष्ठले विदेशमा रहेका दिदीबहिनीहरूले नेपाली संगीतप्रति देखाएको मोहप्रति खुसि व्यक्त गरे। निजी भ्रमणमा हङकङ आइपुगेका गायक श्रेष्ठले रोशा लिम्बूको गीति एल्बम विमोचन गर्न पाउंदा गर्व लागेको बताउंदै आफ्नो हङकङ यात्रा सार्थक भएको बताए।
गायिका रोशाले यसअघि दुई गीति एल्बम तयार पारेपनि आफू ती गीतहरूबाट सन्तुष्ट नभएकोले बजारमा नल्याएको बताइन्। उनको यो तेश्रो गीति एल्बम हो। ‘यसपटक पनि त्यति मिहेनत गर्न पाईंन।’ उनले एचकेनेपाल डट कमलाई बताइन्। ‘व्यस्तता र समय अभावका कारण ७ दिनभित्रै सबै गीत हतारमा रिकर्ड गर्नु पर्र्यो’ उनले भनिन्। जेभए पनि हेरौं मलाई माया गर्ने श्रोता तथा दर्शकले कस्ता सल्लाह र सुझाव दिनुहुन्छ।
वरिष्ठ संगीतकार दिनेश सुब्बाले कार्यक्रममा बोल्दै पन गीति एल्बमबारे थप जानकारी दिए। एल्बमको एउटा गीतमा सुब्बाले समेत संगीत दिएका छन्। कार्यक्रममा हङकङ नेपाली कलाकार संघका उपाध्यक्ष रबिन श्रेष्ठ र गीतकार टंक सम्बाहाम्फेले रोशाको सफल साँगीतिक यात्राका लागि शुभकामना व्यक्त गरे।
९ वटा गीतहरू समाविष्ट पन गीति एल्बममा शिलाबहादुर मोक्तान, अशोक राई, दिनेश सुब्बा, शान्तिराम राई, नरेश कुमार, अनिल लामा र पारस मुकारूङले संगीत दिएका छन्। पनमा नन्द चङ्सु, सुरेश कुमार, दिनेश राज र सुशन साम्सोङको शव्द रहेका छन्। एउटा गीत सोल्टीनी लुङ्गामा रोशा लिम्बूलाई सुशन साम्सोङले साथ दिएका छन्।
हङकङ भ्रमणमा रहेका गायक दीप श्रेष्ठसंग एचकेनेपाल डट कमले गरेको संक्षिप्त भिडीयो कुराकानीः
एस, हङकङ / एचकेनेपाल डट कम-
मकाउमा हालै सम्पन्न शारिरीक सुगठन प्रतियोगितामा नेपाली खेलाडी भोजबहादुर आले र अनिल थापा मगरले क्रमशः स्वर्ण र कास्य पदक जितेका छन्।
ढिलो गरी प्राप्त जानकारी अनुसार आलेले ७० केजी तौल समूह र मगरले ८० केजी तौल समूहमा स्वर्ण र कास्य पदक प्राप्त गरेका हुन्।
प्रतियोगिता एबीबीएफ, आइबीबी र एमबीएफएको संयुक्त आयोजनामा मकाउको पोलिटेक्निक इन्स्टिच्युटमा जुलाई २७ तारिख सम्पन्न भएको थियो। बडी बिल्डिङ (शारिरीक सुगठन) प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूसहित दुई नेपाली खेलाडी भोजबहादुर आले र अनिल थापा मगर सहभागी थिए।
नेपाली खेलाडी आले र अनिल थापा मगरले आ-आफ्ना तौल समूहमा क्रमशः प्रथम र तृतीय भएका हुन्।
‘स्रोत र साधनले सम्पन्न विदेशी खेलाडीहरूसंग नेपालीले प्रतिस्पर्धा गर्नु कम साहसको कुरा होइन’- आले भन्छन्। ‘आफ्नो ड्युटीको व्यस्तताबीच खेलको कडा अभ्यास गरेर विदेशीलाई जित्न पाउंदा गर्व लागेको छ।’
एस, हङकङ / एचकेनेपाल डट कम-
जुलाईको तेस्रो साता सचिवमा बढुवा भएका हङकङका लागि नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईलाई नेपाली संघसंस्थाहरूले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बधाई ज्ञापन गरेका छन्।
पत्नी गीताका साथ महावाणिज्यदूत केशवप्रसाद भट्टराई, तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
भट्टराईले ४ अक्टोबर २००७ देखि महावाणिज्यदूतको रूपमा हङकङमा कार्यभार सम्हालेका थिए।
सचिवमा बढुवा भएका महावाणिज्यदूत भट्टराई केही दिनभित्र नेपाल फर्कदैछन्। भट्टराई हङकङमा महावाणिज्यदूत छंदै सचिवमा बढुवा भएका हुन्। हङकङमा सेवारत भट्टराई सचिवमा बढुवा भएपछि यहाँको सेवा छोट्याएर नेपाल फर्कदै छन्। ‘बाँकी केही कामहरू सकेपछि अर्को हप्ताको मंगलवार या विहीबार नेपाल फर्कने तयारी गर्दैछु’- एचकेनेपाल डट कमसंगै बोल्दै भट्टराईले भने। ‘लोक सेवा आयोगमा पोष्टिङ भएको छ, त्यहाँ रहेर सेवालाई निरन्तरता दिनेछु’ भट्टराईले जानकारी दिए।
नेपाल जानुअघि भट्टराई रात्रिभोज र भेटघाटहरूमा व्यस्त छन्। भट्टराईको सेवाको कदर र योगदानको सम्मान गर्दै यहाँका संघसंस्थाहरूले औपचारिक कार्यक्रमहरू आयोजना गरी बधाई तथा विदाई कार्यक्रमहरू राखे। यसरी विदाई कार्यक्रम राख्नेहरूमा हङकङ नेपाली महासंघ, नेपाली जनसम्पर्क समिति, नेपाल च्याम्बर्स अफ कमर्स, एनआरएन हङकङलगायत थिए। विदाई कार्यक्रममा वक्ताहरूले भट्टराईको उज्वल भविष्यको कामना, बधाई ज्ञापन, सम्मान पत्र र मायाका चिनो उपहार दिएका थिए। कार्यक्रममा भट्टराईकी पत्नी गीता भट्टराईसमेत उपस्थित थिइन्।