Archive for October, 2009

हङकङ महावाणिज्यदूतमा प्रधानमन्त्रीका भाई नियुक्त

एचकेनेपाल डट कम संवाददाता-
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री माधवकुमार नेपालको प्रस्तावमा उनका माहिला भाई विनोदकुमार उपाध्यायलाई महावाणिज्यदूत नियुक्त गरेको छ।

प्रधानमन्त्रीको दबाबमा मन्त्रिपरिषद्ले व्यापार हेर्ने अनुभवी प्रशासनका सहसचिवलाई पठाउने स्थापित परम्परा उल्ट्याई मेकानिकल इन्जिनियरलाई महावाणिज्यदूत बनाएको आजको नागरिक दैनिकले जनाएको छ। हङकङको महावाणिज्यदूत प्रशासनको सहसचिव नियुक्त भएर जाने दरबन्दी हो।

यसअघि हङकङको वाणिज्यदूतमा प्रशासनका अनुभवी सहसचिवलाई मात्र पठाउने गरिएको थियो। सरकारले महावाणिज्यदूत रहेका प्रशासनका सहसचिव केशव भट्टराईलाई सचिवमा बढुवा गरेपछि उक्त पद रिक्त थियो।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले भने संवाददाताहरूसित वाणिज्य दूतमा विनोद पाण्डे नियुक्त भएको बताएका थिए। उनले प्रधानमन्त्रीको भाई हुन् भन्ने लुकाउन थर अर्कै भनेको दाबी मन्त्रिपरिषद् स्रोतलाई उदधृत गर्दै नागरिक दैनिकले जनाएको छ।

Recent Videos:

Popularity: 3%

1 comment October 30th, 2009

दीपा गुरूङ भइन् ‘मिस पर्ल हङकङ नेपाल २००९’

‘मिस पर्ल हङकङ नेपाल २००९’ (Video update)
एस, हङकङ / एचकेनेपाल डट कम-
‘मिस पर्ल हङकङ नेपाल २००९’ (Video update)

—————

दीपा गुरूङ भइन् ‘मिस पर्ल हङकङ नेपाल २००९’
एस हङकङ /एचकेनेपाल डट कम-
हङकङमा पहिलो पटक आयोजना भएको ‘मिस पर्ल हङकङ नेपाल’ प्रतियोगितामा पोखराकी १८ वर्षीया दीपा गुरूङले ‘मिस पर्ल हङकङ नेपाल २००९’ को शीर्ष उपाधि जितिन्।



प्रतियोगितामा पोखराकी १६ वर्षीया रोजी पुन फस्ट रनरअप र पोखराकै १६ वर्षीया ज्योति गुरूङ सेकण्ड रनरअप बनिन्। १२ जना प्रतिपस्पर्धीहरूलाई पछि पार्दै दीपा गुरूङले शीर्ष उपाधिमात्र जितिनन्, उनले मिस बेष्ट एञ्जलको उपाधिसमेत जितिन्। उनकी बहिनी ज्योति गुरूङले सेकण्ड रनरअपका साथै मिस चार्मिङको उपाधि हात पारिन्। प्रतियोगिताबाट सहोदर दिदीबहिनी दीपा गुरूङ र ज्योति गुरूङले शीर्षसहित चार उपाधि आफ्नो घर भित्र्याए।

याउ मा तेईस्थित कम्युनिटी हलमा शनिवार सम्पन्न ‘मिस पर्ल हङकङ नेपाल २००९’ प्रतियोगितामा ९ प्रतिपस्पर्धीहरूले विभिन्न विधामा उपाधि जिते। दीपा गुरूङ मिस एञ्जल, ज्योति गुरूङ मिस चार्मिङ, पविता गुरूङ मिस पर्सनालिटी, रोमा घले मिस जेनियस, सुमिन गुरूङ मिस क्याटवाक, सुनिता गुरूङ मिस एटिच्युट, सुस्मिता लिम्बू मिस इन्टरटेनर, रोजी पुन अनलाइन पपुलर भोट र सोनी लिम्बूले मिस फिगरको उपाधि जिते।

श्यामसुन्दर थापा, लिलिमा गुरूङ, प्रदीप कन्दङ्वा, किसन राई र डा. शर्मिला गुरूङको पाँच सदस्यीय निर्णायक मण्डलले प्रिजजिङलगायत विभिन्न चरणको मूल्याङ्कन गरी प्रतियोगीहरूमध्येबाट टप फाईभमा परेका सुनिता गुरूङ, रोजी पुन, दीपा गुरूङ, ज्योति गुरूङ र सुस्मिता लिम्बूलाई सोधिएको लिखित जवाफको आधारमा तीन विजेताहरूको घोषणा गरिएको थियो। सहभागीहरूलाई झण्डै तीन महिनादेखि रीना गुरूङले प्रशिक्षण दिदै आएकी थिइन्।

प्रतियोगीहरूलाई एचकेनेपालका प्रधानसम्पादक पशन तमू, जेपिटी एचकेका निर्देशक लक्ष्मण गुरूङ, आईमोसन भिजनका श्यामसुन्दर थापा, एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरूङलगायतले सहभागी उपहार प्रदान गरेका थिए। त्यसै गरी, प्रायोजकका तर्फबाट तीन बालिकाहरूले विजेताहरूलाई ताज पहिराई दिएका थिए।

प्रदीप मालबोल र शान्ति राईले सञ्चालन गरेको कार्यक्रममा स्थानीय गायकहरू विकल प्रधान, अन्तिम राई, श्याम गुरूङ र टोपराज लामाले गीतहरू प्रस्तुत गरेका थिए भने जुना गुरूङ, सुमिता थापा, अलिना गुरूङ, अनिशा गरूङलगायतले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रम सकेपछि आयोजक तथा प्रायोजकका तर्फबाट हर्क गुरूङले एचकेनेपाल डट कमसंग बोल्दै कार्यक्रम सफल भएकोमा आफूलाई निकै खुसि लागेको बताए। पहिलो पटकको कार्यक्रमबाट धेरै नयाँ अनुभव सगांल्न पाएको गुरूङले बताए। ‘केही कमी कमजोरीहरू हटाउंदै अगाडि बढ्ने विचार छ’- गुरूङले भने।

तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…

Popularity: 6%

29 comments October 24th, 2009

सामान्य प्रशासन मन्त्री श्रेष्ठ हङकङमा

एस, हङकङ / एचकेनेपाल डट कम-
नेकपा एमाले हङकङ कमिटीद्वारा शनिवार साँझ आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै माओवादीका पूर्व वरिष्ठ नेता, हाल एमालेका केन्द्रीय सदस्य तथा सामान्य प्रशासन मन्त्री रबिन्द्र श्रेष्ठ। भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।
भिडीयो तथा तस्वीरः जगतअम्बु गुरुङ /एचकेनेपाल डट कम।

ईन्द्र वनेम, हङकङ / एचकेनेपाल डट कम-
सामान्य प्रशासन मन्त्री, एकीकृत नेकपा माओबादीका पूर्ब पोलिटब्युरो सदस्य हाल नेकपा एमालेका केन्द्रीय सदस्य रबिन्द्र श्रेष्ठ कोरियाको एक कार्यक्रममा भाग लिएर हिजो हङकङ आइपुग्नु भएको छ।

नेकपा एमाले हङकङ कमिटीले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठले माओबादीले सरकारबाट राजीनामा नगर्नु पर्ने थियो राजीनामा गरेपछि फेरी सत्ता प्राप्तिको घिन लाग्दो खेल नखेल्नु पर्ने बताउनु भएको छ। ‘सरकार ढाल्ने खेल माओबादीले गरेर नयाँ सरकार बनाए पनि तुरुन्त भोलि पल्ट त्यो सरकार ढाल्ने खेल सुरु हुन्छ यो मुलुक र जनताको भलो नहुने खेल हो’- सामान्य प्रशासन मन्त्री श्रेष्ठले भन्नुभयो।


‘माओबादीका नेता प्रचण्डको हौवा र बाबुरामको बकबकबाट कोही आत्तिनु पर्दैन’ - श्रेष्ठले भन्नु भयो। उनीहरुको आन्दोलनको धम्की अत्तालिएको मानसिकताको उपज मात्र हो बरु क्याम्पमा इमान्दारीका साथ बस्ने पाएको तलबको आधा पार्टीलाई बुझाउने सेनाले आन्दोलन गर्छु भने कुरो सोचनीय हुन्छ। आफूलाई जम्बो मन्त्रीमण्डलको कान्छो मन्त्री बताउने मन्त्री श्रेष्ठले माओबादीले कालो झण्डा देखाउनु, ढुंगा हान्नुलाई सकारात्मक रूपले हेर्न पनि आग्रह गर्दै हिजो अपहरण हत्या गर्नेले कालो झण्डा देखाउनु प्रगति हो। हिजो बम हान्नेले आज ढुंगा हन्नुलाई नराम्रो मन्नु हुदैन श्रेष्ठले भन्नु भयो।

पूर्बाग्रह, आग्रह अथवा कसैको कृपाले माधबकुमार नेपाल प्रधानमन्त्री बन्नु भएको होइन। मुलुकको यो परिस्थितिलाई धेरै पार्टीको सबै नेतालाई मिलाएर नेतृत्व दिने नेताको चयनमा उहाँ पर्नुभएको हो। चुनाब हारेको भन्ने सवालको जवाबमा प्रचण्ड पनि राष्ट्रपतिका उम्मेदवार हुन उहाँले भित्ताभरी उम्मेदवारी दिनु भएकै हो जितेको हामीलाई थाहा छैन श्रेष्ठले भन्नु भयो। अब मुलुकको वास्तबिक समस्या राजनीति, आन्दोलन अथवा संबिधान बनाउनु होइन। संबिधान यो मुलुकमा धेरै बनि सकेको छन्। यो मुलुकमा धेरै क्रान्ति पनि भैसकेका छन् २००७ साल भन्दापछि मात्र दर्जनौं क्रान्ति भएकाछन्। अब आर्थिक क्रान्ति गर्ने बेला भएको छ उहाँको भनाई थियो। राणा प्रधानमन्त्रीपछि हालसम्म नेपालको इतिहासमा कुनै प्रधानमन्त्रीले पनि पूराकालसम्म सरकार चलाउन पाका रहेनछन् त्यसकारण स्थिर सरकार पनि हुनु पर्ने कुरामा समेत उँहाको जोड़ थियो।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…
याक एण्ड यती रेष्टुरेण्टको हलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व नेकपा एमाले हङकङ कमिटी उपाध्यक्ष भक्तबहादुर गुरुङले, सञ्चालन सत्यप्रसाद घलेले र स्वागत मन्तव्य बसन्तकुमारी राईले व्यक्त गर्नुभएको थियो।

Popularity: 3%

3 comments October 24th, 2009

हङकङमा विद्यार्थीहरुले देउसी भैलो खेले

देवराज राई, हङकङ / एचकेनेपाल डट कम-
तिहारको अवसरमा यसपालि हङकङका विद्यार्थीहरुले देउसी भैलो खेलेर नेपाली संस्कृतिलाई नजिकबाट अनुभूत गर्ने मौका पाए।

तिहारको अवसरमा विभिन्न संघसंस्थाहरुले देउसी भैलो कार्यक्रमको आयोजना गरेका थिए। सोही क्रममा तिन सु वाईस्थित पीके कलेजका शिक्षक तथा विद्यार्थीहरुलेसमेत एक विशेष देउसी भैलो कार्यक्रमको आयोजना गरे।

युनलङ तथा कामतिन क्षेत्रमा खेलिएको देउसीमा सहभागी अधिकांश विद्यार्थीहरुले नेपाली भेषभूषा सजिएका थिए। विद्यार्थीहरुमा नेपाली संस्कृतिलाई नजिकबाट अनुभूत गराउन आफूहरुले देउसी खेलेको शिक्षक विमल गुरुङले बताए।

विद्यार्थीहरुको समूहले नेपालीहरुको अधिक जनघनत्व भएको क्षेत्रहरुमा देउसी खेलेका थिए।


Popularity: 3%

Add comment October 22nd, 2009

मोना हङकङको शुभकामना आदनप्रदान

ईन्द्र एलजी थापामगर, हङकङ /एचकेनेपाल डट कम -
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले दशै र तिहारको उपलक्ष्यमा ‘शुभकामना आदनप्रदान तथा भेटघाट कार्यक्रम’सहित विविक्यू, देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम साथ भव्यरुपमा सम्पन्न ग-यो।


उक्त अवसरमा साँझपख मोना महिला समितिको संयोजकत्वमा खेलिएको देउसी भैलो कार्यक्रम अत्यन्तै रमाइलोको साथ करीब डेढ घण्टा लगाएर उपस्थित महानुभावहरुको चुला चुलामा गएर खेलिएको थियो। देउसी भट्याउनेमा दलिमा पुन र कर्ण पाईजा थिए भने मादल बजाउनेमा पनि कर्ण पाईजा र धनबहादुर फगामी थिए। दिपसहित फलफूल तथा परिकारले भरिएको चन्दा सकंलन नाङलो संयोजक तथा कार्यसमितिका सदस्य बिना पुनले लिएका थिए। महिला समितिका पदाधिकारी तथा सदस्यहरुको साथ अन्य गन्यमान्य व्यक्तिहरु भैलोमा सहभागी थिए। उक्त दिउसी भैलोमा नगद झण्डै हङकङ डलर २२ हजार जति दक्षिणा संकलन भएको थियो।

यसरी नै मोना साँस्कृतिक समितिकाका संयोजक तथा कार्यसमितिका सहसचिव रुपा चोचाङ्गीको संयोजकत्वमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरिएको थियो। मोनाका कलाकारहरु रामकुमार तिलिजा, लिलाकुमार फगामी र सोम थापाले एकल गीत गाएका थिए भने मेरिन पाईजा, सबिना पाईजा, एङगोस पुन, मेलिस पाईजा, अनिता थापा, मनु पुन, ईश्वरी पुन, भ मायाँ पुन, डलिमा पुन, बबिता पुन, चिजा पुन, राम पुन, धन कुमारी गर्बुजा, जुना पुन, बिजया पुन, एलिसा गुरुङ र तासकुमारी पुनले कौरा, म्याग्दीको पहिचान ‘थाली नाँच’ लगायत एकल, युगल र सामूहिक नृत्यहरु प्रस्तुत गरेका थिए। गोमा पुन, शिला जुगजाली र सफल पाईजाले कार्यक्रम संचालन गरेका थिए भने डिजेमा टेक पुन, गिरी सेर्बुजा र दिपक पुन थिए।

कार्यक्रमको शुरुमा संघका अध्यक्ष दल बहादुर सेर्बुजाको अध्यक्षता एक औपचारिक कार्यक्रम भएको थियो। कार्यवाहक सचिव तथा सहसचिव रुपा चोचाङ्गीले कार्यक्रम संचालन गरेका थिए भने सदस्य तिपेन गर्बुजाले स्वागत भाषण गरेका थिए। छोटो समयमै सम्पन्न गरिएको उक्त औपचारिक कार्यक्रमको अतिथिहरुमा निवर्तमान अध्यक्ष तथा मोना आईसिसिका सदस्य तुल्म राज रामजाली, ‘वन डलर अ मन्थ,’ हङकङका संयोजक नेत्र पहराई, मगर संघ हङकङका सल्लाहकार प्रेम गलामी, पुन मगर समाज, हङकङका अध्यक्ष राजु गर्बुजा, संघका सल्लाहकारहरु ई. हर्कमान मगर, रुपप्रसाद पुन, कमल रोका, समाजसेवीहरु क्या. हर्कबहादुर पुर्जा पुन, प मायाँ फगामी पुन, कविर अर्मजा र गायक सोम थापा थिए भने अतिथिहरुको तर्फबाट अतिथि नेत्र पहराईले शुभकामनाको मन्तव्य दिएका थिए। औपचारिक कार्यक्रमलाई समापन गर्दै अध्यक्ष सेर्बुजाले सम्पूर्ण उपस्थित महानुभावहरुलाई दशै र तिहारको उपलक्ष्यमा व्यक्तिगत तथा संघको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै यसरी नै संघले आगामी दिनमा आयोजना गर्ने हरेक कार्यक्रमहरुमा सहयोग र शुभेच्छा रहने विश्वास व्यक्त गरेका थिए। मोना, हङकङले ‘शुभकामना आदनप्रदान तथा भेटघाट कार्यक्रम’ हरेक वर्ष दशै र तिहारको अवसरमा गर्दै आइरहेको छ।

Popularity: 3%

1 comment October 18th, 2009

संखुवासभा समाजको देउसी भैलो

कोरङ्गी प्रेम, हङकङ/ एचकेनेपाल डट कम-
करिव डेढ दशकको यात्रामा अगाडि बढिरहेको संखुवासभा समाज हङकङले आफ्नो वार्षिक देउसी भैलो कार्यक्रम जोर्डनस्थित इण्डिया क्लवमा अक्टोबर १७ तारिखका दिन भव्यताका साथ सम्पन्न गर्यो।

औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष हेम राईले गर्नु भएको थियो । समाजका सल्लाहकारहरु र हङकङ नेपाली महासंघका भूपू अध्यक्ष भोलानाथ थापामगरलगायत एचकेनेपाल डट कमका फोटो पत्रकार अम्बु गुरुङ र “हाम्रो संखुवासभा” मुख पत्रिकाको फोटो पत्रकार दिवस जिमीलाई मखमली फूलको माला पहिर्याईको थियो भने उपस्थित जिल्लावासीहरु मध्येबाट ज्येष्ठ नागिरक हर्कबहादुर गुरुङले मैन वत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। कार्य समितिका अध्यक्ष नयनसिंह गुरुङले सबैलाई स्वागत गर्नुभएको थियो। सल्लाहकारहरुको तर्फबाट कर्ण कोरङ्गीले संखुवा सभावासी एवं सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा २०६६ सालको दिपावलीको शुभकामना व्यक्त गर्नु भएको थियो। संखुवा सभा समाज यु.के. बाट सल्लाहकार धर्मराज गुरुङ र अन्यमा रमेश गुरुङ, अमृत घले, बाबुराम गुरुङ, युवराज गुरुङ, मणि गुरुङ, बमबहादुर गुरुङ र पदम राईले फोन तथा इमेल मार्फत पठाउनु भएको शुभकामनालाई सचिव कोरङ्गी प्रेमले कार्यक्रममा सुनाउनु भएको थियो। त्यस्तै गरी, सिंगापुरबाट लिलानाथ राई र अमेरिकाबाट अनु गुरुङ र ललितजंग शेर्पाले पठाउनु भएको शुभकामना सन्देशसमेत कार्यक्रममा सुनाइएको थियो।

समाजलाई सबै जिल्लावासीहरु र नेपालीहरुको बीचमा पुर्याउन अहम भूमिका खेल्ने समाजको मुखपत्र “हाम्रो संखुवासभा” को बारेमा चर्चा गर्दै सल्लाह र सुझावको साथ अगामी तेस्रो अंकको निम्ति लेख, रचना सामग्रीहरु उपलब्ध गराईदिन सल्लाहकार खेमाहाङ्ग जिमीले सबैमा आग्रह गर्नु भएको थियो।

सन् २००७ मा विश्वको सर्वोच्व शिखर सगरमाथाको सफल आरोहण गर्नु भएका मकालु गा.वि.स. ९ निवासी निमा दोर्जे शेर्पालाई कार्यक्रममा सम्मान गरिएको थियो।

करीव आधा घण्टाको औपचारिक कार्यक्रमलाई सभापति हेम राईले सबैमा २०६६ सालको दिपावलीको शुभकामना दिंदै भविष्यमा संस्था अगाडी बढाउन सबै जिल्लाबासीहरुमा सहयोगको आग्रह गर्दै कार्यक्रमको समापन गरिएको थियो।

दोस्रो अनौपचारिक कार्यक्रममा भैलेनीको नांचगानबाट आमा दिदीबहिनीहरुबाट शुरु गरिएको थियो। करिब २ बजेसम्म संचालित उक्त कार्यक्रममा हाक्पारे र दोहरीको तालमा सबै जिल्लावासीहरुले कम्मर मर्काएको देख्न पाइन्थ्यो। सो क्रमलाई दक्षिण स्वरुप बिटीसी ग्रुप एवं संखुवासभा समाजका भूपू कोषाध्यक्ष वषन्त राईको समूहबाट हङकङ डलर ५,००० प्रदान गरिएको थियो भने करीव २५० जनाको संख्यामा उपस्थित जिल्लावासीहरुको तर्फबाट समेत गरि हङकङ डलर १९,७८४ दक्षिणा संकलन भएको थियो। यसरी संकलित रकम जिल्लावासीहरुलाई आपत विपत र समस्या पर्दा सहयोग गर्ने काममा प्रयोग गरिने र गर्दै रहेको कुरा सल्लाहकार सलबहादुर कोरङ्गीले बताउनु भयो।

स्मरणीय रहोस् गत जुलाईमा जिल्लास्थित ताम्कु सिक्दिम ९ मा गएको बाढी पहिरोबाट पीडितहरुको उद्धार कार्यको निम्ति संखुवासभा समाज हङकङले ने.रु. २ लाख ५० हजार प्रदान गरिसकेको छ। उक्त सहयोग गर्ने सवालमा अहम भूमिका खेल्नु हुने ताम्कु निवासी राजकुमार राई र धनबहादुर राईलगायत सबैलाई धन्यवाद दिईएको थियो।

Popularity: 3%

4 comments October 17th, 2009

हङकङमा देवकोटा जयन्ती २००९ सम्पन्न

देवराज राई, हङकङ /एचकेनेपाल डट कम-
भाषा जातिको प्राण हो, भाषा समाज निर्माणको आधार हो भन्दै यसपालि पनि हङकङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती लक्ष्मी पूजाका दिन अर्थात १७ अक्टोर साँझमा तुनकुन प्राथमिक विद्यालयको हलमा भव्यताका साथ सम्पन्न भयो।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम

गएको वर्षहरूरुमा जस्तै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विधार्थी, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, साहित्यकार, पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको आधारमा समाज उठान, नेपाली भाषा तथा साहित्य विकासमा महाकवि देवकोटाको देनबारे चर्चा परिचर्चा गरिनुका साथै विधार्थीहरूले देवकोटामा समर्पित कथा, कविता, लेख, गीत, निबन्धादि प्रस्तृत गरे।

देवकोटा जयन्ती कार्यक्रममा हङकङका नेपाली विद्यार्थीहरुको रचनासंगालो अनुभव अनुभूति साहित्यक पत्रिकाको विमोचन सगरमाथा किण्डरगार्टेनकी प्रिन्सिपल कमला खप्तावलीले गर्नुभयो। अनुभव अनुभूति पत्रिकामा हङकङमा जन्मिएका, यही हुर्किएर नेपाली भाषा अध्ययन गरिरहेका नेपाली नानीहरुको रचनाहरुलाई संग्रह गरिएको छ।

देवकोटाजयन्ती २००९ कार्यक्रममा देवकोटाद्वारा लिखित कुञ्जिनीको कथावस्तुमा बेथल हास्कुलका छात्रछात्राहरुले एक लघुनाटक नाटकको रुपमा प्रस्तुत गरेका थिए। देवकोटाका कृतिहरु वाचन तथा विभिन्न विद्यालयहरुले नेपाली संस्कृति झल्किने लोक तथा आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए।

हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा हङकङ नेपलीज फाउण्डेशन्ले संयोजन गरेको कार्यक्रममा परिषद्का अध्यक्ष एकराज राईले सम्बोधन गरेपछि शुभारम्भ भएको कार्यक्रम २ घण्टासम्म सञ्चालन भएको थियो। नेपाली भेषभूषामा सजिएका नेपालीहरु खचाखच भरिएको हलमा विद्यार्थीहरूले आफ्ना कला प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरु पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, टीके प्राथमिक विद्यालय, आइकेटी कलेज, बेथल हाई स्कुल, सर कादुरी माध्यमिक विद्यालय,डेलिया स्कुल, सगरमाथा किन्डरगार्टेनका छात्र, छात्राहरुले देवकोटाजयन्ती २००९ मा सहभागिता जनाएका थिए।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…

साँझ ६ बजेदेखि ८ बजे साँझसम्म सञ्चालन भएको कार्यक्रमलाई छात्रा सृजना गुरुङले संचालन गरेकी थिइन्। देवकोटा जयन्ती २००९ कार्यक्रममा एचकेनेपाल डटकमले अफिसीयल मिडीयाको भूमिका निर्वाह गरेका थियो। देवकोटा जयन्तीको कार्यक्रमलाई अन्त्यौली अमोद राईले गर्नुभएको थियो।

————————————————————-

देवकोटा जयन्ती २००९
हङकङका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई देवकोटा जयन्ती समारोहमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

आयोजकः हङकङ नेपाली साहित्य परिषद
संयोजकः हङकङ नेपालीज फाउन्डेशन
अफिसियल मिडीया पार्टनरः एचकेनेपाल डट कम

मितिः १७ अक्टोबर २००९
समयः साँझ ६ बजे
स्थानः टिके प्राथमिक विद्यालय, लङपिङ, युन लोङ

थप जानकारीको लागि तलको भिडीयोको प्लेयरमा क्लिक गर्नुहोस्…

Popularity: 3%

1 comment October 17th, 2009

हङकङ नेपाली महासंघबाट ४ सक्रिय संस्थाहरू बाहिरिए

एस हङकङ/एचकेनेपाल डट कम-
हङकङको छाता संस्था हङकङ नेपाली महासंघमा आवद्ध चार सक्रिय संस्थाहरूले औपचारिक रूपमा महासंघबाट बाहिरिएको घोषणा गरेका छन्।

हङकङ नेपाली महासंघको हालैका कार्यशैलीहरूप्रति असन्तुष्टि जनाउंदै महासंघबाट बाहिरिएका संस्थाहरूमा भोजपुर समाज सेवा समिति हङकङ, बृटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङ, हेभेन्लि पाथ हङकङ र हङकङ नेपलीज फाउण्डेशन् रहेका छन्। ती संस्थाहरूले यही अक्टोबर १ तारिखदेखि महासंघसंग कुनै सम्बन्ध नरहने जानकारी दिएका छन्।

विगत केही वर्षदेखि हङकङमा विशुद्ध सामाजिक गतिविधि गर्दै आएको भोजपुर सेवा समिति हङकङले भोजपुर जिल्लामा अस्पताल निर्माण गर्न एकै दिनमा १९ लाख रूपैयाँ अर्थ संकलन गरेपछि चर्चामा आएको थियो। बृटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङ यहाँका बृटिश गोर्खा भूतपूर्व सैनिकहरूलाई एकीकृत गर्दै उनीहरूको हक, हित र अधिकार प्राप्तिका लागि संगठित हुंदै आएको संस्था हो। हेभन्लि पाथ हङकङ धार्मिक सुधार र मानव एकताको नारासहित विगत केही वर्षदेखि हङकङमा सक्रिय रहंदै आएको अर्को संस्था हो। त्यसैगरी, हङकङ नेपलीज फाउण्डेशन् हङकङमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका लागि नेपाली समुदायको गौरव बढाउने खालका विभिन्न महत्वकांक्षी कार्यक्रमहरू पूर्खा दिवस, नेपाली सप्ताहलगायत नेपाली साहित्यका अग्रजहरूको जन्म जयन्तीहरू आयोजना गर्दै आएको संस्था हो।

Popularity: 3%

8 comments October 14th, 2009

हङकङ नेपाली महासंघबाट बाहिरिएको बारे जानकारी

हङकङ नेपाली महासंघबाट बाहिरिएको बारे जानकारी
हामी सदस्य संस्थाहरु भोजपुर समाज सेवा समिति हङकङ, बृटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङ, हेभेन्ली पाथ हङकङ र हङकङ नेपलीज फाउण्डेशन् यहि १ अक्टोबर २००९ देखि हङकङ नेपाली महासंघबाट बाहिरिएको सर्वसाधारण तथा सम्बन्धित सबैलाई जानकारी गराउँछौं।

तसर्थ, उल्लेख मितिदेखि हङकङ नेपाली महासंघसँग हाम्रा संस्थाको कुनै पनि सम्बन्ध नरहेको जानकारी गराइन्छ।
धन्यवाद।

भोजपुर समाज सेवा समिति हङकङ
बृटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङ
हेभेन्ली पाथ हङकङ
हङकङ नेपलीज फाउण्डेशन्

Popularity: 4%

11 comments October 14th, 2009

हङकङमा नेपाली बक्सरलाई स्वर्ण पदक

एस हङकङ/एचकेनेपाल डट कम-
द टेन्नर डे वीटले हङकङमा आयोजना गरेको बक्सिङ प्रतियोगितामा नेपाली बक्सिङ खेलाडी सुरेश गुरूङले स्वर्ण पदक हासिल गरेका छन्।

हङकङ फूटबल क्लव कजवे बेमा शनिवार सम्पन्न प्रतियोगितामा फूलबारी, पोखराका १९ बर्षीय सुरेश गुरूङले चीनका खेलाडी जु रन लोङलाई पराजित गरी स्वर्ण पदक जितेका हुन्। विपक्षी चिनीयाँ बक्सिङ खेलाडी लोङ २००८ का गाउनडोङ प्रान्तका स्वर्ण पदक विजेता बक्सिङ खेलाडी हुन् भने सोही प्रान्तका २००९ मा सम्पन्न प्रतियोगितामा रजत पदक विजेता हुन्।


तस्वीरमा दायाँ नेपाली बक्सर खेलाडी सुरेश गुरूङ

स्थानीय लाली गुराँस एसोशियशनमा आबद्ध बक्सिङ खेलाडी सुरेश गुरूङले विगत केही वर्षदेखि हङकङ पुलिस क्लवबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुदै आएका छन्। हालसम्म १३ वटा प्रतिस्पर्धामा सहभागिता जनाएका गुरूङले प्रत्येक प्रतियोगितामा जित हासिल गर्दै आएका छन्।

नेपाली बक्सिङ खेलाडी सुरेश गुरूङले हङकङबाहेक अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमासमेत जित हासिल गरेका छन्। गुरूङले थाइल्याण्डमा त्यहाँका बक्सिङ खेलाडीलाई नकाउटमा पराजित गरेका थिए। नर्देन आयल्याण्ड युकेमा भएको प्रतियोगितामा ईरिस बक्सिङ खेलाडीलाई पराजित गरेका थिए। त्यसैगरी, मकाउ र चीनमा भएका प्रतियोगिताहरूमा गुरूङले अंकको आधारमा जितेर स्वर्ण पदकहरू हासिल गरेका थिए।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…

सुरेश गुरूङले स्वर्ण पदकलगायत ब्रिटिश च्याम्बर बक्सिङ स्मोकर २००८ प्रतियोगितामा द बेस्ट बक्सर अवार्ड र पुलिस अफिसर क्लव- बेस्ट फाइटर अफ द नाइट अवार्ड २००७ प्राप्त गरिसकेका छन्।

Popularity: 5%

18 comments October 14th, 2009

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2009
M T W T F S S
« Sep   Nov »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category