Archive for February, 2010

बसन्तीको सहारा विमोचित

भिडीयो अपडेटः
बसन्तीको ‘रोई रहें म..’ म्युजिक भिडीयोः

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

बसन्तीको सहारा गीति एल्बम विमोचनको भिडीयो झलकः

बसन्तीसंग एचकेनेपाल डट कमका लागि शारदा गुरूङले लिएको छोटो भिडीयो अन्तर्वार्ताः

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
______________________________________

बसन्तीको सहारा विमोचित
एस, हङकङ/ अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कम, फेब्रुअरी २८-
मिस ट्यालेन्ट हण्ट हङकङ २००६ बसन्ती पुनले बसन्तीको सहारा गीति एल्बममार्फत नेपाली साँगीतिक क्षेत्रमा डेब्यू गरेकी छिन्।


Basanti’s SAHARA: Basanti Pun - a debut musical journey….

बसन्तीले आइतवार जोर्डनस्थित कङगन रेष्टुरेण्टमा एक पत्रकार सम्मेलन गर्दै गीति एल्बम सहारा सार्वजनिक गरेकी हुन्।


वायाँबाट क्रमशः चेतमान गुरूङ, पशन तमू, दिनेश सुब्बा र बसन्ती पुन। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

वरिष्ठ संगीतकार दिनेश सुब्बा, एचकेनेपाल डट कमका डाइरेक्टर तथा प्रधानसम्पादक पशन तमू र बसन्तीकी अभिभावकका तर्फबाट संगीतकर्मी चेतमान गुरूङले संयुक्त रूपले वसन्तीको सहारालाई विमोचन गरे।

विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार दिनेश सुब्बाले आफूले सोचेंको भन्दा बढी प्रभावकारी ढंगले गीति एल्बमबाट बसन्तीले नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेको बताए। नेपालका केही गायिकाहरूसंग तुलना गर्दै बसन्तीबाट धेरै आशा गर्न सकिने संगीतकर्मी सुब्बाले बताए। ‘तर, बसन्तीले नेपाली उच्चारणमा र साधनातर्फ ध्यान दिनुपर्छ’- सुब्बाले भने।

बसन्तीको सहाराको अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कमका डाइरेक्टर पशन तमूले कार्यक्रममा बोल्दै बसन्तीका थुप्रै सपनाहरूमध्ये म्युजिक एल्बम निकाल्ने सपना पूरा भएको बताए। ‘ उनका थुप्रै सपनाहरूमध्ये एउटा सपना पूरा भएको छ’ - तमूले भने। ‘हमेशा नयाँ सोच्ने र नयाँ गर्न चाहने बसन्ती हङकङका नेपाली नयाँ पूस्तामध्ये एक प्रतिभाशाली युवती हुन्’- तमूले भने।

अभिभावकका तर्फबाट संगीतकर्मी चेतमान गुरूङले कार्यक्रममा बोल्दै बसन्तीको साँगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गरे। त्यसैगरी, कार्यक्रममा सहभागीहरूले बसन्तीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।


विमोचनपछि कार्यक्रममा बोल्दै बसन्ती पुनले आफ्ना अनुभवहरू सेयर गरिन्। ‘नेपाली लेख्न र पढ्न नजान्ने र ठूलो भएपछि पहिलो पटक नेपाल गएर गीति एल्बम निकाल्नु मेरो लागि चुनौतिपूर्ण थियो’ -बसन्तीले भनिन्। ‘तर मैले हारेश खाईंन, मैले पशन दाई र दिनेश दाईलगायत अन्य अग्रजहरूसंग बुझेर पूर्ण तयारीका साथ नेपाल गएकी थिएं।’ ‘सुरूमा केही स्ट्रगल गर्नु परेपनि पछि स्थिति सहज बन्दै गयो। अहिले बसन्तीको सहारा तयार भएको छ र मेरा थुप्रै सपनाहरूमध्ये एउटा पूरा भएको छ’ उनले भनिन्। ‘मेरो पहिलो साँगीतिक यात्राका सबै सहयोगीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’ - बसन्तीले भनिन्।

बसन्तीले आफ्ना गीति एल्बमबाट विक्री भएर उठेको रकम नेपालका अनाथ तथा बेसहारा बालबालिकालाई उपलव्ध गराउने बताईन्। ‘त्यसको लागि वरिष्ठ गायक दीप श्रेष्ठसंग छलफल जारी रहेको छ’- बसन्तीले भनिन्।

सञ्चारकर्मी देवराज राईद्वारा सञ्चालित पत्रकार सम्मेलन तथा विमोचन कार्यक्रममा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रम समापनपछि बसन्तीस डुइङ हर डेब्यू एल्बम जोर्नी… वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो। बसन्ती स्वयं र अन्य सहयोगीहरूले खिचेका र पशन तमूले समपादन गरेका वृत्तचित्रमा बसन्तीका गीत रेकर्डिङ, फोटो सेशन र म्युजिक भिडियो छायाँकनका दृश्यहरू समेटिएका छन्।

द रिबल क्रियशनले बजारमा ल्याएको बसन्तीको सहारामा ७ वटा गीत र एउटा म्युजिक ट्रयाक समावेश छन्। ‘तिमीलाई चाहें’ प्रणय गुरूङको कम्पोज र अन्य सबै गीतमा वसन्तीकै स्वर, संगीत र रचना रहेका उनका गीतका एरेञ्जरहरूमा गोपाल रसाइली, सरोज लामा र सिद्धार्थ तामाङ रहेका छन्। उनका गीतहरू द रिबल र ओपस स्टुडियोमा रेकर्ड भएका हुन्।

कान्तिपुर टेलिभिजनका सुरजसिंह ठकुरीले निर्देशन गरेको बसन्तीको ‘रोई रहें म..’ म्युजिक भिडियो नेपालका टेलिभिजनहरूबाट प्रसारण हुदै आईरहेका छन्। एचकेनेपाल डट कमले बसन्तीको सहारा म्युजिक एल्बमलाई अफिसियल मिडीया पार्टनरको रूपमा सहयोग गरेको छ।

बसन्तीको ‘रोई रहें म..’ म्युजिक भिडीयोः

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
Making of Basanti’s Music Video Royee Rahen ma…

Basanti Pun- a debut musical journey…

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

______________________________________

बसन्ती पुन गीत रेकर्डिङमा व्यस्त…
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर १९-
हङकङकी बसन्ती पुन (मिस ट्यालेन्ट हण्ट २००६) आफ्नो आगामी गीति एल्बम ‘बसन्तीको सहारा’ को लागि गीत रेकर्डिङका लागि अहिले काडमाडौंमा व्यस्त छिन्।

कलिलो ६ वर्षको उमेरमा बाबु आमाको साथ लाएर हङकङ छिरेकी २१ वर्षीया बसन्ती १५ वर्षपछि पहिलो पटक नेपाल फर्किएकी हुन्। नेपाली गीत संगीतप्रति अत्यधिक मोह राख्ने बसन्ती आफ्नै गीत, संगीत र स्वरमा गीत रिकर्डिङका लागि नेपाल गएकी हुन्। सानै उमेरमा नेपाल छोडेपछि नेपाली लेख्न र पढ्न नजान्ने बसन्ती रोमन अक्षरमा लेखेर गिटार बजाउंदै नेपाली गीत तयार पार्छिन्।

गीत रेकर्डिङमा व्यस्त बसन्ती
‘नेपाली भाषामा लेख्न र पढ्न नजान्दा सारै पछुतो लागि रहन्छ’- उनी भन्छिन्। एक महिनाको लागि नेपाल छिर्नुअघि एचकेनेपाल डट कमसंग कुरा गर्दै भनिन्। ‘समय मिल्यो भने नेपाली भाषा अध्ययनको लागि ट्युशन कक्षा लिने ईच्छा छ।’ नेपालीमा गीत रचना गर्दा उनी नजिकका साथीभाईबाट शुद्ध अशुद्ध भए नभएको बारे उनी सुझाव लिन्छिन्। ‘अहिले तन्नेरी पुस्तालाई मन पर्ने खालका गीत रचना र गाउने गरेकी छु’, उनी बताउंछिन्।

पेशाले विश्व विख्यात जेपी मोर्गन बैंककी कर्मचारी बसन्ती मिस ट्यालेन्ट हण्ट २००६ की शीर्ष उपाधि विजेता हुन्। त्यति मात्र नभएर पार्ट टाइम जबका रूपमा क्यान्टोनिज भाषाकी शिक्षिका, योगा प्रशिक्षिका, मोडल, हङकङ प्रहरी कार्यालयमा दोभाषे, सामाजिक सेवा, यस वर्षदेखि ट्यालेन्ट हण्ट (ईन हण्ट फर ए रोल मोडल) का आयोजकमध्येकी एक हुन् बसन्ती पुन। अधिकांश समय व्यस्ततामा बिताउंन मन पराउने बसन्तीले ‘साइबर अर्थ’ नामक साइबरसमेत खोलेर व्यापारमा हात बढाएकी छिन्।

थप तस्वीरहरू

हङकङका तन्नेरी पुस्ताहरूका लागि एक रोल मोडलका रूपमा अगाडि बढिरहेकी बसन्ती अब चाँडै गायिका भएर देखिदै छिन्। काठमाडौंबाट फोनमा बोल्दै तीन वटा गीतहरूको रेकर्डिङ कार्य सम्पन्न भैसकेको बसन्तीले बताइन्। आफ्नै शव्द रचना, संगीत र स्वरमा रेकर्ड भैसकेका गीतहरूमा ‘सम्झना…’, ‘चिनि सकें…’ र ‘रोइ रहें..’ रहेको उनले बताइन्। बसन्तीको गीतमा सरोज लामा र गोपाल रसैलीले संगीत एरेन्ज गरेका छन्। उनले ‘रोइ रहें…’ गीतमा म्युजिक भिडीयोसमेत बनाउने तयारी भैरहेको एचकेनेपाल डट कमलाई बताइन्।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

Popularity: 18%

114 comments February 28th, 2010

नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा

ईन्द्र थापा मगर, हङकङ/ एचकेनेपाल डट कम-
नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभाले पुनः तुलाजंग गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

मङककको हङकङ प्रोफेसनल टिचर्स् यूनियन हलमा सम्पन्न वार्षिक साधारण सभाको खुला सत्र यूनियनका अध्यक्ष तुलाजंग गुरुङको अध्यक्षता, सचिव होम घलेको संचालन र स्वागत भाषण सदस्य रित गुरुङको रहेको थियो। अतिथिहरुमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियानो हङकङका ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ, मोना हङकङका अध्यक्ष दल सेर्बुजा, लम्जुङ सेवा सेवा समितिका अध्यक्ष सुरेश गुरुङ, नेपाली जनसम्पर्क समितिका का.वा.अध्यक्ष कृष्ण लिंखा र तामाङ घेदुङ संघका दुर्गा तामाङ थिए।

उक्त अवसरमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियानो हङकङका ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ र नेपाली जनसम्पर्क समितिका का.वा.अध्यक्ष कृष्ण लिंखाले यूनियनको तेस्रो वार्षिक साधारण सभाको सफलताको कामना तथा ऐक्यवद्वता व्यक्त गरेका थिए। त्यसपछि अध्यक्ष तुलाजंग गुरुङले यूनियनलाई यहाँसम्म ल्याउन सहयोग गर्ने कार्यसमिति तथा शुभेच्छुकहरु सबैलाई धन्यवाद दिदै उक्त समिति विघटन गरेका थिए भने बन्द सत्र संचालन गर्नको लागि हेजेन राईको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गर्दै खुला सत्रको समापन गरेका थिए।

वन्द सत्र हेजेन राईको अध्यक्षतामा सदस्यहरु HKCTU का म्याक टक चिङ, फियानो हङकङ सदस्य भिम गुरुङ, घरेलु कामदार यूनियनका भू.पू. अध्यक्ष माया राई तथा नेपाली जनाधिकार सरोकार समाजका पूर्ण कुमार लोपसाम रहेको समितिले संचालन गरेको थियो। निवर्तमान सचिव होम घलेद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष मनिष खापुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको थियो। त्यसपछि यूनियनको विधानमा भएको निर्वाचन सम्बन्धि निवर्तमान सदस्य सत्यप्रसाद घलेले जानकारी दिएका थिए। तुलाजंग गुरुङको अध्यक्षतामा उपाध्यक्ष मोहन राना मगर, सचिव रित गुरुङ, कोषाध्यक्ष मनिष खापुङ सदस्यहरुमा सत्यप्रसाद घले, होम घले, ईन्द्र थापा, मनिष थापा, जीवन पमु, बसन्त थापा, टंक तरामु, नरबहादुर गुरुङ र बेलबहादुर गुरुङ सर्बसम्मतरुपमा निर्वाचित भएका थिए।

Recent Videos:

Popularity: 3%

Add comment February 28th, 2010

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

डा. गोविन्दराज भट्टराई -
(प्राध्यापक (अङ्ग्रेजी), त्रिभुवन विश्वविद्यालय)
घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ । यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ। यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ । त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ । किनभने यतिखेर हामी त्यो साझा भूमिमा उभिएर यसरी हृदय पोखिहेका छैनौँ टाढा छौँ, भिन्न जस्तै छौँ, एक नोस्टालिजयाले जोडिएको सम्झँदै यहाँ यो समय भोगिरहेका छौँ । यहाँ भूगोल भिन्न छ, संस्कृति भिन्न छ, भाषा परिवार भिन्न छन् । सबै पृथकताहरूको बीचमा पनि कहिल्यै भिन्न हुन नदिने एक नेपाली चेतना छ । त्यही जातीय चेतनाले हामी जोडिएका छौँ।

आज यसरी अनेक भिन्नतामा बसोबास गर्ने नेपालीको सङ्ख्या ५० लाख पुगेको अनुमान छ । यसको सही तथ्याङ्क पत्ता लगाउन, विश्वका ५५ देशमा वितरित नेपाली जातिको अवस्थिति, परिवेश र सङ्ख्याको आँकलन गर्न एसोसिएन अव् अमेरिकन नेपलिज (आना) ले हालै एउटा कार्य-प्रस्ताव राखेको छ । त्यसले एउटा ग्लोबल नेटवर्कको स्थापना गरी देशपारीय भूभागमा छरिएका पिपल अव नेपाली ओरिजिन (पी.एन.ओ.) को साझा परिचयको स्थापना गर्नेछ । पी.एन.ओ. ले ५५ देश भनेको छ । यसमा शायद भारतीय भूमि बाहेककै नेपाली होलान् । भारतीय नेपालीको आंसिक परिचय स्थापित भइसक्यो; ती पूर्णताको लागि सङ्घर्षरत छन् । यसरी भिन्न भूभागमा अनेक अन्तर भोगेर बस्ने छरिएको जातिलाई देशपारीय समुदाय (डायास्पोरिक कम्युनिटि) भनिन्छ । यी सिङ्गै देश बन्न अथवा अर्धदेश बन्न धेरै समय लाग्ला, त्यसैले ती सांस्कृतिक समुदायको रूपमा चिनिन्छन् । भारतीयले सुरिनाम क्यानाडा, बेलायत लगायतका भूभागमा राजनीतिक सामाजिक स्थान बनाइसके, नेपाली अलिक पछि छन् । म यहाँ डायास्पोराको सोसिओ-पोलिटिकल प्रसङ्ग छोडेर केवल साहित्यको चर्चा गर्न चाहन्छु; हङकङेली डायास्पोराको नेपाली साहित्यलाई छुन चाहन्छु।

यस्तरी दुर्इ भूभागमा जोडिएका जाति, तिनीहरूका भाषा संस्कृति योजक-चिन्हित (हाइफनेटिड) भनिन्छन् । अब अमेरिकी-नेपाली, भारतीय-नेपाली, हङकङे-नेपाली योजक-चिह्नीत परिचय भइसकेका छन् । यस्ता प्रकारका योजक-चिह्नीत परादेशीय केन्द्रमा बेलायत, अमेरिका, हङकङ, मलेसिया, रुस, बर्मा, खाडी मुलुक पर्लान् । अरू अनेक नयाँ मुलक थपेर ५५ पुगेका छन् ।आज म अलिकति हङकङमा अवतरण गर्न चाहन्छु । त्यो भन्दा पूर्व हाम्रो वर्तमान बँचाइलाई अर्थ्याउने विश्वपरिस्थितिको पनि चर्चा गर्न चाहन्छु।

सर्बप्रथम त म नेपाली साहित्यप्रतिष्ठान, हङकङलाई हृदयदेखि उठेको आफ्नो प्रेम अर्पण गर्न चाहन्छु । मेरो जीवनमा एक ठूलो संयोगको कुरो हो कि गतवर्ष एउटा डायास्योरिक केन्द्रबाट आरम्भ गरिएको अनलाइन प्रकाशनको दसौँ वाषिर्कोत्सवमा भाग लिन रुस पुग्ने अवसर मिलेको थियो । यशपल्ट हङकङको सबैभन्दा पुरानो संस्थाको साहित्यिक क्रियाकलापको दशवर्षे कार्यक्रममा यहाँ सहभागी हुने अवसर प्राप्त भयो । यी दशवर्षहरू नेपाली साहित्यको जस्तै मेरो मनको इतिहासमा सदा स्मरणीय रहनेछन्।

नेपाली साहित्यको दीर्घ इतिहासमा दशवर्षको अवधि नगन्य हो त जब हङकङतिर फर्किहेर्छौं यो नवीन इतिहासको प्रथम माइलखुट्टी एक दशकसम्म अविचलित भई चलिरहनु, अनेक अभावमा, कष्टमा, वातावरण प्रतिकूल भएको स्थानमा लागिरहनु र एउटा सुदृढ भविष्यको दिशाबोध गराइरहनु सानो तपस्या होइन । सन् २००० मा रार्इचन्द्र दुमी अध्यक्ष भएको आरम्भविन्दुदेखि आज टंक सम्बाहाम्फेको पालामा आयोजित यो कार्यक्रम र यसले निर्माण गर्ने इतिहास हेर्दा हाम्रो मनमा हर्ष शिवाय केही बाँकी छैन।

त्यसो त यो मनमा ‘हङकङ’ शब्द कहिलेदेखि ध्वनित भयो म भन्न सक्तिन हाम्रा वरिपरि तल्ला क्याप्टन, माथ्ला क्याप्टन, सत्ताइस जस्ता सेवानिवृत्तहरू दमक वरिपरि थिए । क्याप्टेन भगतबहादुर रार्इले रोमन लिपिमा पर्वते पत्रिका लगेर मलाई देखाउँथे- हेर्नुस् गुरुजी हाम्रोमा सबै कुरा अङ्ग्रेजीमा हुन्छ । पछि १९९७ को ऐतिहासिक सन्धीकाल भोग्दै गुज्रिरहेको उद्वेलित हङकङलाई टाढाबाट हेर्‍यौँ । त्यसमा मुक्ति र बन्धनका दुवै सन्देश थिए । नेपालीको एक पुस्ताले अनुभव गर्‍यो । लेख्यो पनि।

सुदूरको इतिहासदेखि यहाँ नेपाली जाति गोर्खा भएर पसेको कथा छ । त्यसको जीवन्त प्रस्तुति छ गणेश रार्इको युद्ध एम्बुसमा राइफलको सङ्गीत । त्यो पढ्दा यो धरती नेपाली रगत पसिनाले उसैबेला भिजेको देखाउँछ तर इतिहासको परिवर्तनले कत्राकत्रा सभ्यतामा भूकम्प ल्याउँछ; त्यहाँ पहिरो चल्छ फेरि त्यहाँ नयाँ उत्तीस पलाउँछ । सायद हङकङको नेपालीलाई १९९७ ले अर्कै कालखण्डमा उतार्‍यो । पछिको हङकङ एक पहिरोपश्चात् नयाँ विरुवा पलाएको भयो । यसपाली भारत-नेपाल कविता सम्मेलनमा सहभागी भै देहरादून पुग्दा देखेँ- त्यहाँको नेपाली जाति सुगौली सन्धीको पहिरामा पलाएको उत्तीस झै छ।

यहाँको ‘बिएफबिएस’ मा लामो समय सेवा गर्ने श्री किशोर गुरुङलाई पछि नेपालमा स्वागत गर्‍यौँ । रुसमा त्यस्तै भएको थियो । १९९० को परिवर्तन पश्चात् रेडियो मस्कोको नेपाली सेवा सदाको लागि बन्द भयो । एउटा मर्छ अर्को कतै पलाउँछ पनि । क्षतिपूर्ति भएकै छ । बेलायतमा, अमेरिकामा आज आफ्नै भाषामा पत्रपत्रिका, रेडियो, टि.भि. चलेको सुन्दा हामीलाई यस्तो लाग्छ।

त्यो नयाँ समयपश्चात् यहाँ स्थापित हुन थालेका मेरा पुराना विद्यार्थी टंक सम्बाहाम्फे मलाई भेट गर्न एकदिन मेरोमा (काठमाडौँ) पुग्नु भयो । त्यहाँदेखि भिडियो क्यामेरामा मेरो अन्तर्वार्ता भरेर यता ल्याई अविरामको एक अङ्कमा छाप्नु भयो । पछि चौवीसेको गोरेटोमा पनि अर्को रचना छापिदिनु भयो । ती दिनमा नेपाली साहित्य प्रतिष्ठानको स्थापना भइसकेको थियो । अघिको नेपाल पोस्टमा केही लेखेँ र भर्खरको सनराइजको प्रवेशाङ्कमा पनि लेख्न थालेको थिएँ । तर ती प्रकाशनले यतिखेर थकाइ मारिरहेका छन् जस्तो लाग्छ।

म टंक भाइका कविता पढ्न थालेँ, पछि गीत सुन्न लागेँ । एक साहित्यचेतना भएका अग्रणी युवा, निःस्वार्थ र प्रचारको मोह नगर्ने टंकको विनम्रताले मलाई अझै छोएकै छ ।म यी अन्तरालका वर्षहरूमा धमीलो गरी मात्र हङकङसित जोडिएर रहेँ । यहाँबाट प्रतिष्ठानले प्रकाशित गरेका शिव श्रेष्ठको छरिएको सिन्दुर, टंक सम्बाहाम्फेको युद्धभित्र उभिएका बुद्धहरू, दिल पालुङ्वाको त्यान्द्रो, संयुक्त कथासङ्ग्रह यथार्थका चोइटाहरू जस्ता कृति पढ्दै गएँ । नेपाली माध्यमको उच्चशिक्षालय, प्रकाशन संस्थान, पुस्तकालय, विश्वविद्यालय नभएको नयाँ ठाउँमा जेजति हुन्छ त्यो सारा नेपालमै शिक्षा ग्रहण गरेर आएका जातिप्रेमीहरूले लिएको उत्साहले मात्र भएको छ । उनीहरूले कठोर श्रमबाट समय उभारेर रचेका, गाँस काटेर छपाएका कृतिको अर्थात् अँध्यारोमा जलाएका ससाना दीपकको आज ठूलो ऐतिहासिक महत्त्व छ।

विस्तारै यताका वर्षा अरू लेखकसित म कृतिमार्फत अनि व्यक्तिगत भेटमा पनि नजिकिँदै गएँ । यसैबेला साहित्य सिद्धान्तको जगत्मा नयाँ अवधारणा आयो- डायास्पोरिक लेखन, यसको विशेषता, यसको मूलधार लेखनसितको सम्बन्ध, समानता र भिन्नताका सिद्धान्त आए, यसरी म हङकङतिर तिनै दृष्टिले पनि हेर्न लागेँ । भिन्न मातृभाषी विविध संस्कृतिका स्रष्टाले गर्ने सिर्जनामा जातीयता र वहुल संस्कृतिको प्रभाव र त्यसको महङ्खवको व्याख्या गर्ने साहित्य सिद्धान्त निस्किए, सिद्धान्तकार निस्किए । म त्यसरी पनि हङकङलाई हेर्न लागेँ । गर्दागर्दै अघिदेखि नै उदाएका त्यस्ता नयाँ चेतना बोकेर आउने स्रष्टासित पनि मेरो सम्पर्क बढ्दै गयो- रामकृष्ण वान्तवाको आमा छोरी र सघन तुवाँलो (त्यसको रूपान्तरण स्रिल मिस्ट) हेरेँ; देश सुब्बाको अपमान हेरेँ, सृजनशील साहित्य समाजको हङकङमा कविता हेरेँ, हाङयुगहरूको सृजनशीलता विषयक समीक्षा हेरेँ, देश सुब्बाको भयवादको अवधारण र पछिको आदिवासी हेरेँ । नरेश सुनुवारको ‘जिन्दगीको पहाड र अस्तित्वको रा“कुदेले सेक्सेलेले…’ पढेँ । अन्त्यमा दीपा एवार्इ रार्इको अर्धवृत्त पढेँ । यसबिचमा मैले टंक सम्वाहाम्फे, हाङयुग, देश सुब्बा, नेपाल कुश्शा, डीवी पालुङवा, नरेश सुनुवारबारे केही बोलेको लेखेको पनि छु । उनीहरूका योगदानको चर्चा गरेको छु । यसबारे प्रकाश पार्दै आएको छु।

अघि हङकङ बसेर अहिले बसाई सरेका गणेश राईका शक्तिशाली सिर्जना कृतिहरू र जया रार्इको डम्बरी बारे लेखेको छु, मदन माबोको बारे बोलेको छु।

सकेसम्म बुझौँ भन्छु कति सम्पर्क र समयको अभावले कति आफ्नै अज्ञानताले हङकङमा अन्धकार दिनहरूमा नेपाली संस्कृतिको जगमा ढुङ्गा चढाउनेहरू महलमा गारो लगाउनेहरू कति छोपिएका होलान् । यो ठूलो अनुसन्धानले मात्र उद्घाटन गर्न सक्तछ । म यसतर्फसचेत छु।

यसो गर्दागर्दै साइबर जगत्को उदय भयो । यहाँ समाचार र अझ साहित्यका साइटले नेपाली वाङ्मयको निर्माणमा अत्यन्तै ठूलो योग्दान गर्दैछन्- बगैँचा, सिर्जना, मूलबाटो आदि चलेका छन् । अझ कविताकुसुम ता नेसाप्रको समानान्तर उत्थापक भएर इ-विश्वमा वितरित छ। अरू छन् एचके नेपाल, नेपाल एचके, फियरिजम, लिम्बुवान- प्रत्येकले नेपालीको समाचार, सूचना, चेतना, भावना अनेक कुरा बोकेर उडिरहेका छन् । हङकङ यसप्रकारले दृश्य अदृश्य दुवै माध्यमले उठ्दै छ । यो टाढाबाट देखिने सुनिने हुँदैछ । यसरी यसलाई चिनाउने शक्ति नेपाली जातिको सङ्ख्या होइन उनीहरूमा रहेको साहित्य कला सङ्गीतप्रतिको चेतना हो जुन कुरालाई विश्वले सभ्यताको मार्ग ठान्दछ, यो तिनैको अनुशरण हो । यसतर्फलाग्ने अग्रणी चेतनामध्ये, जगको ऐतिहासिक ढुङ्गोमध्ये नेपाली साहित्य प्रतिष्ठान र यसलाई निरन्तरता दिनेहरू हुनुहुन्छ । आज म तपाईंहरू सबैप्रति सम्पूर्ण नेपाली साहित्यकारको तर्फबाट विशेष कृतज्ञता र साधुवाद अर्पण गर्दछु।

नेपाली साहित्य प्रतिष्ठानको दशौँ वाषिर्कोत्सव स्मारिकाले धेरै कुरा प्रकट गरेको छ । यसले द वेष्ट अफ हङकङलाई समाहित गरेको छ । सङ्गीत, कला, खेलकुद, पत्रकारिता लगायतका जीवनका अन्य पक्ष समेट्ने अन्य माध्यम र इतिहास होलान् तर हङकङको साहित्यको उज्यालो, यसमा लाग्ने हुर्किने एकमत हुने अनेकमतले हेर्नै सबै शक्तिलाई यहाँ भेटेँ । यो एक अत्यन्तै ठूलो महत्त्वको ऐतिहासिक प्रकाशन हो । यसमा खारिएका चिन्तक अध्येता, स्रष्टा, समालोचक, समीक्षक, पत्रकारको एउटा जुझारु एलिट समूहको उपस्थिति छ । हङकङेली साहित्य के हो, यो कसरी उठेर कता जाँदैछ, यसका विशेषता के हुन्, यसले भोगेका अभाव र अप्ठ्यारा के हुन् अनि उपलब्धी के हुन् ? ती सबै कुरा यहाँ प्रस्टिएका छन्।

हङकङ एक मार्जिनल समुदाय हो । वर्तमान परिस्थितिले हेर्दा कुनै पनि मर्जिनालिटि लोप हुनेछैन । किनभने विश्वमानवतावाद त्यहाँसम्म पुगेको छध्र त्यो अर्धविलयनसम्म पुग्छ तर त्यसले अस्तित्व रक्षाको लागि प्रयास गरिरहनु पर्दछ । यो कुरा स्वीकार्दै देश सुब्बा बोलेका छन्- “हामी यहाँको जातिको अहिले नभए पनि भविष्यमा मिसिने प्रजाति हौँ । जातिसँगै भाषा, लिपि, धर्मसंस्कार गाँसिन्छ । त्यो नै साहित्य हो ।” हो पनि अहिलेको साहित्य संस्कृतिको मात्र होइन, सभ्यताकै एक पाटो यस्तो मिश्रति हुँदैछ । मस्कोमा देखेँ- नयाँ पुस्ताका नानीहरू रुसी माध्यममा पढिरहेका छन्; परिणामस्वरूप एकप्रकारको हाइब्रिड संस्कृतिको स्वीकृति चेतनाले प्रवेश गर्दैछ । फेरि अङ्ग्रेजीको प्रवेशले गर्दा विश्वको नयाँ पुस्ता झन्डै झन्डै एकाम्मे हुँदैछ । मैले यहाँका साइटतिर पनि डुल्दा देखेँ- एक नवीन पुस्ताको र्सवत्र नै उदय हुँदैछ । बेलायती-नेपाली, अमेरिकी-नेपाली आफ्ना सन्तानको अङ्ग्रेजीकरण भएकामा हर्षले उचालिएका र सँगसँगै चिन्ताले सुकेका पनि छन् । यहाँ हङकङमा, मलेसियामा, कोरिया, जापान तथा अन्य नन-इङ्ग्लिस स्पिकिङ कन्ट्रिको अभिभावकको मनमा नानीहरूको शिक्षामाध्यमप्रतिको केकस्तो चिन्ता छ मलाई थाहा छैन । यद्यपि नेपाली साहित्य प्रतिष्ठान हङकङको एघारौँ उद्देश्यमा भनिएको छ- हङकङ सरकारसँग नेपाली भाषा पढ्न पाउने व्यवस्थाका लागि आवश्यक पहल गर्ने।

वास्तवमा तपाईंहरूका अनेक गन्तव्यमध्ये एक यही हो । बेलायतका पुराना यति नेपाल एसोसिएसन नेपाली साहित्य विकास परिषद अनि हालैको नेपाली प्रतिभा प्रतिष्ठानले पनि यस्तै एक उद्देश्य राखेका छन् भने अनेसासले आफ्ना मूल अभियानमा एक यही राखेको छ । त्यतातिर काम गर्दैछ । यतिखेर अमेरिकी-नेपाली भाषा संस्कृतिको विस्तार हुन थालेको र बेलायतमा त्यसको तयारी हुन थालेको कुराले हामीलाई कत्रो आनन्द दिन्छ!

प्रत्येक डायास्पोराले आफ्नो प्रकृतिको भाषा, साहित्य, संस्कृति- सभ्यताका सबै पक्षको स्थापना र विस्तारमा लागिपर्नु पर्ने हुन्छ । हङकङको साहित्यले पनि त्यही भन्छ । यसैले गर्दा भोलि भाषिक मान्यता भएपछि आफ्नो माध्यमका आफ्नो जलवायुमा हुर्केका पाठ्यपुस्तकदेखि यावत सामग्री तपाईहरूद्वारा उत्पादित नै प्रयोग हुने छन् । गतवर्षसिलाङको यात्रामा देखेँ- स्थानीय विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठयसामग्री उनीहरू आफैले बनाएका छन् । हङकङ पनि भोलि यसरी इन्डिपेन्डेन्ट र आत्मनिर्भर बन्ने दिन आउनेछ।

त्यसैले आज हङकङले उत्पादन गरेको एकएक अक्षरको भोलि पूजा हुनेछ । यसले कथा, कविता, उपन्यास, उत्पादन गरेको छ । यसबाट निबन्ध, समालोचना, यात्रा संस्मरणलगायतका विविध विधामा आफ्ना स्रष्टा उभ्याउनु पर्दछ । यसपाली पाँचथर जाँदा पनि मोहन दुखुनसित भेट भयो- भारतीय नेपाली साहित्यको उचाइ देखाउन उनलाई भारतीय-नेपाली साहित्यका महाकवि पदवी प्रदान गरिएको थियो । पारसमणि प्रधानले नेपाली भाषाको मान्यता खोज्दा अङ्ग्रेजले दिएनन्, तर आज भारतीय-नेपाली हरेक विधामा बराबरी छ । हङकङमा, बेलायतमा, अमेरिका सम्पूर्ण नेपाली डायास्पोरामा यही नियम लागू हुनेछ।

तपाईंहरू यो ठाउँमा रहँदा कतिपल्ट अन्तरात्माको पुकारले साहित्यमा लाग्नु भयो, कति जातीय पहिचानको लागि पनि । यस सन्दर्भमा भोगेन एक्लेका शब्द मननीय छन्- हङकङको दशकभन्दा लामो बसाइमा रसिलो महसूस भएको छ त केवल साहित्यले गर्दा । यसरी सृष्टिको एकान्तिकतामा पनि मानव साहित्यसँग संवाद गर्दै बाँच्ने उपाय गर्दछ । अशोक रार्इको तथ्याङ्क छ- हङकङेली डायास्पोरामा ९५ प्रतिशतभन्दा ज्यादा नेपाली आदिवासी छन् र उनीहरूको सामाजिक, वैचारिक र सांस्कृतिक आग्रहलाई साहित्यको माध्यमले वकालत गरिरहेका छन् । यसरी एकतिर व्यक्तिगत अभिव्यञ्जना र सामाजिक वाणी भएर साहित्य उभिएको छ भने अर्कातिर साहित्यको माध्यम भएर अत्यन्तै उच्च समयातीत मूल्य बोक्ने सिर्जनाहरू आउँदैछन् । यहीँको भाषासाहित्यले अभ्यास गर्दागर्दै जन्माएका राम्रा चिन्तकहरू तपाईंमाझ देखेँ मैले । डीवी पालुङ्वाको भनाइमा रहेको शास्वतताले हामीलाई अल्टिमेट र इन्फीनिट गोलतिर लान्छ- साहित्य आफैमा सुन्दर विचार र आदर्श बोकेर आएको सभ्य र सुसंस्कृत शब्द हो । साहित्यलाई स्वीकार गर्नु भनेको सभ्य शिक्षित र सुसंस्कृत समाजलाई स्वीकार्नु जस्तै हो । अथवा जीवन र जगत्लाई हेर्ने अनेकौँ प्रविधिमध्ये एक उच्च र विशिष्ट खाले माध्यम शायद साहित्य नै हुनुपर्छ । यस्तो सोच्नेहरू के हङकङेली साहित्यले जन्माएका प्रतिभा होइनन् ?त्यसैगरी डीबी पालुङवाको हृदय गम्भीरताले छाएको छ- हाम्रो भाषा, लिपि र धर्मविनाको कुनै तुक छैन । विमल र्राईको भावनामा पनि तात्कालिकभन्दा परका, जीवनको कठोर यथार्थका आस्तित्विक प्रश्न उठेका छन्।

हङकङमा नेपाली जातिको अस्तित्व चिन्तनमा समर्पित प्रकारान्तरले नेपाली वाङमयको श्रीवृद्धिमा चिन्तित चन्द्र रार्इ दुमी, टंक सम्वाहाम्फे, क्रान्ति वनेम, शिव प्रधान, देश सुब्बा, शरण सुब्बा, बसन्त निरौला, जया रार्इ, विमल रार्इ, दिल पालुङवा, राम अङ्दम्बे, विमला सुच्चा रार्इहरूको चेतना परिस्कृत छ।

नरेश सुनुवार, हाङयुग अज्ञात, प्रकाश केसी, प्रदीप कन्दङ्बा, भोगेन एक्ले, अशोक रार्इ, चन्द्र मादेन, हनेसाभित्रका, बाहिरका जता रहेर पनि हङकङमा नेपाली जातिको चिन्तामा समर्पितहरूप्रति हृदयले सम्मान र प्रेम अर्पण गर्दछु।

कति स्रष्टाले हङकङेली साहित्यमा स्तरीयताको अभावको चिन्ता पनि गर्नु भएको सुन्दैछु । तर अहिले त्यस्तो भावनालाई स्थान दिनु हुँदैन । चरीको सवाइदेखि अनेक प्रकारका लहरी साहित्य र स्तोत्रावलीबाट सुरु भएको नेपाली साहित्यले आज एकैचोटी एउटा भिन्न भूभागबाट उपन्यास, कथा, कविताका सङ्ग्रह पाउनु सानो कुरा होइन । यतिखेर गुणात्मकभन्दा बढी यहाँका प्रयत्नलाई र सङ्ख्यालाई नै आधार मान्नु पर्छ । वाङमय विकासको उपयुक्त वातावरण नभएको यस्तो ठाउँबाट जीवनका विविध कटु यथार्थता झेल्दै साहित्यमा गरिएको लगानी प्रशंसनीय छ । बरु यहाँ हङकङेली समालोचना, नाटक, काव्य, महाकाव्य, जीवनी, बालसाहित्य र यहीँको जीवनलाई छोएर लेखिएका अरू कृति चाहिएका छन् । यतिबेला प्रत्येक डायास्पोरिक केन्द्रले सबै विधामा आफ्नो शक्ति उत्पन्न गर्नु पर्दछ । आज गरिएको कर्म प्रथम हुनेबेला छ, प्रथम कार्य गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बेला छ । भयवाद र आदिवासीसँग सम्बद्ध एक रचना प्रकाशनपश्चात प्रकाश केसीले आफ्ना केही आलोचनात्मक धारणा प्रस्तुत गर्नु भएको थियो । त्यसमा मेरा केही अनभिज्ञता पनि पनि थिए, तर डायास्पोरामा दुःखमा हुर्किरहेकाहरू, भौतिकबाट सांस्कृतिक आध्यात्मिक मार्गतिर समर्पितहरूको प्रथम यात्रा हो । कटु आलोचनाले त्यो कोपिलैमा ओइलाउने डर हुन्छ, यसप्रति म सधैँ सचेत छु।

विश्वपरिस्थितिको नवीन प्रभावमा परेर नेपाली साहित्यले देखाएको दिशापरिवर्तनको चेष्टाबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा अवगत गराएको थिएँ । त्यसका नयाँ सिमाना अन्तर्गतका रचनाले त्यो बताउँछन् । नयाँ वाङमयिक केन्द्रहरूको विस्तार शीर्षक रचनाको अन्त्यमा लेखेको थिएँ अब यस्तो प्रकृतिको साहित्यलाई डायास्पोरिक साहित्यको विशेषता अनुसार अध्ययन र विश्लेषण गर्नुपर्दछ । यसको समालोचना समेत फरकै हुन्छ।

नयाँ दिशा बुझाउने प्रत्यनमा म निरन्तर लागिरहेँ । अन्तरार्ष्ट्रिय नेपाली समुदायाबट अरू प्रोत्साहन र प्रेरणा प्राप्त गरें । त्यसको दुर्इवर्ष पश्चात प्रकाशित उत्तरआधुनिक विमर्श (२०६४) मा डायास्पोरा/आप्रवासी साहित्य शीर्षक एउटा लामो खण्ड समर्पित गरेँ । त्यसैमा हङकङेली साहित्यबारे पनि केही चर्चा प्रस्तुत गरेको छु । ती दिनमा पनि ममा अध्ययनको कमी थियो । धेरै स्रोत मैले कवि भाई हाङयुगबाट लिएँ । लेखको एउटा सारांश छ- हङकङेली साहित्यकारहरू विविध रुचिका हुनाले संस्था धेरै खुल्छन्; धेरै निष्क्रिय रहन्छन् । तर त्यस्तो सारांशमा टुङ्ग्याउनु हुँदैन थियो जस्तो ठान्दछु किनकि बहुलताको समयमा हामीले जगत्को विविधतालाई प्रोत्साहित गर्नु पर्छ । धेरैबाट प्रतिस्पर्धाले, प्रतियोगिताले छानेर समयले आफै राम्रो विरुवा हुर्किन्छ । यो चिन्ताको विषय होइन । करिब एक दशकको प्रयत्न पश्चात् डायास्पोरा साहित्य त्रिभुवन विश्वविद्यालको दृष्टिमा पर्न थालेको छ । एउटा विद्यावारिधी प्रदान भइसकेको छ भने एम.ए. लेभलको शोधार्थीले यस कार्यको थालनीसमेत गरेका छन्।

यस बर्ष देखि त्रि.वि. नेपाली केन्द्रीय विभागमा डायास्पोरा अध्ययन कक्ष खुल्ने र एम.फिल., पिएचडी तहको शोधार्थीको लागि एनआएन र अनेसासले छात्रवृत्ति दिने घोषणा गरेको छ, यो ऐतिहासिक निर्णयको नेपालीविश्वले स्वागत गरिरहेको छ।

त्यसकारण तपाईंहरू उत्साहित भइरहनोस् । भोलि तपाईंका प्रत्येक साहित्यिक योगदानको मूल्याङ्कन र सम्मान हुनेछ । मेरो दृष्टिमा अमेरिका, बेलायत पछि हङकङ डायास्पोराको स्थान आउँछ । लेख्नुहोस्, पढ्नुहोस्, प्रिन्ट र इलेक्ट्रोनिक दुवै माध्यममा जानुहोस्, हङकङलाई साहित्यका सबै विधाले भर्नोस्- संस्थाहरू अरू बढाउनोस्, हङकङप्रति विश्वनेपालीले सदा गौरब गर्नेछन् । हङकङ अत्यन्तै सचेत स्रष्टा चिन्तक र बौद्धिक व्यक्तित्वले भरिएको लाग्यो।

अर्को एउटा गौरव गर्नयोग्य प्रमाण छ- हङकङका आभाङगार्डहरू । यसको सन्दर्भमा म तीन जनाको नाम लिन चाहन्छु- हाङयुग अज्ञात, देश सुब्बा र हालैकी दीपा रार्इ । त्यसो त हाङयुगले सिर्जनशील साहित्य समाजको स्थापना र विस्तार नेपालमै गरेर आएका हुन्, तर त्यस व्यानरसबाट यहाँको केन्द्र विस्तारमा अत्यन्तै ठूलो योगदान पुर्‍याएका छन् । हङकङकै माटोमा सिर्जनालाई आकार दिँदै आएका देश सुब्बा एक अविष्कारक चेतना भएका चिन्तक स्रष्टा हुन् । उनको भयवाद नेपाली साहित्यिक आन्दोलनमा एक महत्वपूर्ण विषय भएर आएको छ । उनमा पनि गहिरो दर्शन चेतना छ । दर्शनबेगरको सिर्जना दिशाहीन शब्दजङ्गल मात्र हुन्छ । करिब तीन दर्जन साहित्यिक आन्दोलनमा भारतभूमीबाट दुर्इवटा जन्मिए समुद्रपारबाट सोचिएको भयवाद पहिलो हो । नेपाली साहित्यको अमर इतिहासमा देश कहिल्यै नमर्ने गरी रहने छन् । सृजनशीलताको पनि सम्पोषण त यहीँबाट हुँदैछ भने हालै मात्र प्रकाशमा आएको दीपा रार्इको अर्धवृत्त, मोतीराम भट्टको मोतीमण्डलीदेखि आज सम्मको इतिहासमा जन्मेको पहिलो नारी स्रष्टाद्वारा आविष्कृत एक नवीनतम विचार हो । यो कुरा पनि नेपाली इतिहासमा अमर भै रहनेछ । यसबाट हामीलाई नेपाली साहित्य आज कहाँ पुग्यो, यसले कत्रा फड्का नाघ्दै छ यो थाहा हुनेछ यस्ता उपलब्धी सम्झिँदा हृदय गौरवले भरिन्छ । हाङयुग, देश, दीपा तीनै विचारक असल दर्जाका मौलिक स्रष्टा पनि हुन्।

अन्त्यमा, यी सबैभन्दा फरक, कतै कुनै फलको आशा नगरी केवल त्याग र तपस्याको मात्रै भावले नेपाली साहित्यको सेवामा लागिरहने टंक सम्बाहाम्फेप्रतिको स्नेह, प्रेम र प्रसंशाभावले यो हृदय भरिएको छ । आज खुसी, आनन्द र हर्षको अपार तरङ्ग उठेको बेला तपाईंहरू सम्पूर्ण हङकङे नेपालीप्रति शिर निहुराउँदै म यहीँ रोकिन्छु । धन्यवाद।

(नेपाली साहित्य प्रतिष्ठान हङकङको दसौँ वार्षिकोत्सवको उपलक्ष्यमा १ फागुन २०६६ (१३ फेव्रुवरी २०१०) को दिन हङकङमा प्रस्तुत विचारपत्र)
१५ माघ २०६६
कीर्तिपुर, काठमाडौँ, नेपाल

Recent Videos:

Popularity: 3%

2 comments February 26th, 2010

हङकङ नेप्लीज टेनिस सोसाईटीको प्रथम अधिवेशन सम्पन्न

सन्तोष, हङकङ/ एचकेनेपाल डट कम -
हङकङ नेप्लीज टेनिस सोसाईटीले हालै काउलुन करी हाउसको कक्षमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरि मगेन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय कमिटीको सर्वसम्मत चयन गरिएको छ।

सोसाईटीको अपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्षमा क्रमशः मधु राई, सन्तोष राई, खिम पून, नविन देवान, इन्द्रहाङ्ग राई र सदस्यहरुमा मान गुरुङ, सञ्जय लिम्बू, आदम पून, डेनी राई, प्रतिष्टा राई, आशा राई रहेका छन् भने संरक्षक तथा विशेष सल्लाहकारमा वाई.वी. राई तथा भूपू अध्यक्ष गेरी लिम्बू र धन सुनुवारलाई सल्लाहकारमा चयन गरिएको छ।

सोसाईटीले टेनिस खेललाई नेपाली समुदाय माझ लोकप्रिय बनाउन, शारीरिक चुस्ती र स्फूर्ति, स्वच्छ मनोरञजन तथा आपसी भाइचारा र वन्धुत्वको भावना विकाश गर्दै खेलकुद क्षेत्रमा नयाँ आयाम स्थापना गर्न, भविष्यमा कुशल खेलाडीहरु उत्पादन गरि आम नेपालीहरुको प्रतिष्ठा बढाउने लक्ष्य राखेको छ। साथै सोसाईटीले आफ्नो साधारण सदस्य-पत्र विस्तार-वितरण गर्ने, सदस्यहरुलाई निशुल्क टेनिस सिकाउने, त्रैमासिक रुपमा डिभिजन लिग म्याच खेलाई वरियता क्रम निर्धारण गर्ने र उत्कृष्ठहरुलाई कम प्रदान गर्ने र हरेक वर्ष वार्षिक च्याम्पियनशिप आयोजना गर्ने जानकारी गराएको छ।

स्मरण रहोस् निवर्तमान अध्यक्ष गेरी लिम्बूको नेतृत्वमा गठित तदर्थ समितिले प्रथम टेनिस च्याम्पियनशिप सफलताका साथ सम्पन्न गरि सकेको छ। जसमा नेपाल क्लबले प्रायोजन गरेको थियो भने सोसाईटीका संरक्षक तथा विशेष सल्लाहकार वाई.वी. राईले प्राविधिक तथा आर्थिक सहयोग गर्नु भएको थियो।

Popularity: 4%

5 comments February 24th, 2010

संघिय लिम्बुवान सिंगापुर र हङकङ प्रवास कार्यसमिति गठन

संघिय लिम्बुवान गोर्खा भूपू सैनिक तथा भूपू सिंगापुर प्रहरी परिषदको हङकङ प्रवास कार्य समिति गठन
श्याम इङ्नाम, हङकङ/एचकेनेपाल डट कम -
अव वन्ने नेपालको संघिय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा विशिष्ट स्वायत्त राज्य हुनु पर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला- अरुण- सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनु पर्छ भन्ने दृढ संकल्पका साथ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको भात्रृ संगठन संघिय लिम्बुवान गोर्खा भूपू सैनिक तथा सिंगापुर प्रहरी परिषद गठन भएको छ।

जोर्डन, काउलूनस्थित हङकङ नेपाली महासंघको कार्यालयमा २१ फेब्रुअरी २०१० आइतवारका दिन अधिवेशन गरी हङकङ प्रवास कार्य समिति गठन गरिएका हो। सो कार्यक्रममा प्रमुख अतिथि संलिरा परिषदका अध्यक्ष नवराज काम्वाङ्ग लिम्बू, अतिथि नवप्रवेशी भूपू गोर्खा मेजर शरण कुमार पालुङ्वा, कार्यक्रम सञ्चालन संलिराप हङकङ प्रवास समितिका जनसंगठन सचिव गजवहादुर काम्वाङ्गवाट भएको थियो भने गोर्खा भूपू सैनिक तथा सिंगापुर प्रहरी परिषदका संयोजक तथा प्रमुख मनप्रसाद आङ्देम्वेको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमवाट भूपू गोर्खा डबलूओटु मनप्रसाद लिम्बू आङ्देम्वेलाई निर्विरोध अध्यक्षमा चुनिएको छ। त्यस्तै उपाध्यक्षमा मनवहादुर चोङवाङ, सचिवमा देउवहादुर लिम्बु, अर्थ सचिवमा तर्नवहादुर लिङ्देन, सल्लाहकारहरु भूपू गोर्खा मेजर शरणकुमार पालुङ्वा, गोर्खा भूपू सैनिकलगायत साम्सोहाङ, चिनाहाङ पन्धाक र सदस्यहरुमा कृष्णप्रसाद मादेन, के.वि. मादेम्बा, श्री प्रसाद योङहाङ, एल.वि.काम्वाङ, गौरीप्रसाद राई, ज्ञानवहादुर खेवा लिम्बू र जि.एन. हुक्पाचोङवाङहरु चुनिएका छन्। नवनिर्वाचित पदाधिकारीहरुलाई परिषदका अध्यक्ष नवराज काम्वाङ्गद्धारा संलिरापको विधान २०६२ अनुसार पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम पनि सम्पन्न गरिएको छ। त्यसै दिन अन्य पार्टी छोडी संघिय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नु हुने यामवहादुर सैम्वु, डम्वर वनेमलाई परिषदको साधारण सदस्यता प्रदान गरिएको छ।

Popularity: 3%

2 comments February 23rd, 2010

धरान हङकङ मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न

प्रदीप मेन्याङ्वो, हङकङ /एचकेनेपाल डट कम-
धरान हङकङ मञ्चको आइतबार सम्पन्न १० औं वार्षिक उत्सवको अवसरमा भाष शास्त्री डा. टंक न्यौपाने, धरानका संचारकर्मी तथा कथाकार प्रदीप मेन्याङ्वो सम्मानित भएका छन्।

जोर्डनको याक एण्ड यति रेष्टुरेण्टमा सम्पन्न वार्षिक उत्सवमा सम्मानित डा. न्यौपाने, संचारकर्मी कथाकार मेन्याङ्वोलाई मञ्चका अध्यक्ष प्रदीप थापा मगर, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू र प्राज्ञ डा. गोविन्दराज भट्टराई, धरान हङकङ मञ्चका भूपू अध्यक्ष इन्द्र वनेमले सम्मानपत्र प्रदान गरेका थिए।

समारोहमा डा. न्यौपानेले धरानेहरुले हङकङमा बसेर पनि नेपाली मन बोकेर सामाजिक कार्यमा समेत सकृय रहेकोमा प्रशंसा गरे। उनले धरान हङकङ मञ्च नमूना सामाजिक संस्था रहेको उल्लेख गर्दै मञ्चले धरानमा घण्टाघर, धरान रंगशाला निर्माणमा समेत आर्थिक सहयोग गरेर धराने मन जितेको बताए। कार्यक्रममा डा. भट्टराईले धरान हङकङ मञ्च हङकङमा स्थापित भइसकेको संस्थाले हङकङमा नेपाली समुदायलाई एकजुट बनाइ सहयोग आदनप्रदान गर्नकालागि एकजुट बनाएको बताए।

समारोहमा सम्मानित पत्रकार तथा कथाकार प्रदीप मेन्याङबोले हङकङमा वसोवास गर्ने नेपालीले आफूलाई मात्र आर्थिक रुपले आत्मा निर्भर नबनाएर मातृभूमिलाई पनि वर्षेनी रेमिट्यान्स पठाएर आर्थिक सहयोग गरिरहेको बताए। समारोहमा गायक सुभान लिम्बू, बालगायक तुहिन लिम्बूलाई पनि प्रशंसा गरिएको थियो। हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बूले नेपालबाट हङकङ आएका नेपालीहरुले आफ्नो भविष्य सुनिश्चित गर्न हङकङमा संघर्ष गरिरहेको बताए।

सांगीतिक कार्यक्रम समेत गरिएको वार्षिक समारोहमा मञ्चका पूर्व अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए। मञ्चका अध्यक्ष प्रदीप थापाको सभापतित्वमा सम्पन्न समारोहलाई मञ्चका पूर्व सदस्य देवराज राईले कार्यक्रम संचालन गरेका थिए।

Popularity: 3%

2 comments February 21st, 2010

हङकङमा ‘केवलपुरे किसान कविता मेला’

एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङका साहित्यकर्मी तथा व्यवसायी कमल पौड्यालले आफ्नै कङ्गन रेष्टुरेण्टमा आइतवार केवलपुरे किसान कविता मेला आयोजना गरे। अन्तर्राष्ट्रिय साहित्य समाज हङकङ च्याप्टरका उपाध्यक्षसमेत रहेका पौड्यालले अर्धवार्षिकीका रूपमा आयोजना गर्दै आएको कङ्गन कवि गोष्ठीको यो चौंथो संस्करण थियो।

नेपाली प्रगतिशिल साहित्य र समाज सुधारक आन्दोलनमा छुट्टै पहिचान बोकेका कवि देवीप्रसाद पौडेल “केवलपुरे किसान” का छोरा कमल पौड्यालले यस पटक बाबुको नाममा केवलपुरे किसान कविता मेला मात्र आयोजना गरेनन्, पौड्यालले बाबुको नाममा रेष्टुरेण्टमा पुस्तकालयसमेत स्थापना गरेका छन्।

हङकङ भ्रमणमा रहेका प्रा. डा.द्वय गोविन्दराज भट्टराई र टंक न्यौपानेले पुस्तकालयको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै प्रा. डा.भट्टराईले बाबुको नाममा साहित्यिक कार्यक्रम आयोजना र पुस्तकालयको स्थापना जस्ता कार्यबाट आफू ज्यादै भावुक भएको बताए। ‘यही नै बाबुप्रति सच्चा सम्मान हो’ -उनले भने। यस्ता विशुद्ध कार्यहरूबाट देशवाहिर नेपाली भाषा र साहित्यको विस्तारमा टेवा पुग्ने भट्टराईको भनाई थियो।

प्रा. डा. टंक न्यौपानेले कार्यक्रममा बोल्दै केवलपुरे किसानको मन खोलेर खुबै चर्चा गरे। बाहुनले हलो जोत्न नहुने अन्धविश्वासले व्याप्त समाजमा बाहुनको छोरोले पहिलो पटक हलो जोतेर समाज सुधार्ने बाटोतर्फ केवलपुरे किसान लागेको न्यौपानेले बताए। ‘समाजमा केवलपुरे किसानजस्ता स्रष्टा र समाज सुधारकहरूको सम्मानमा यस्ता कार्यहरू हुनु गर्व कुरा हो’ उनले भने।

केवलपुरे किसान कविता मेलामा हङकङ र हङकङ वाहिरबाट पठाइएका गरी २६ जना नवोदित तथा परिचित कवि कवयित्रीहरूका कविता, गीत तथा गजलहरू वाचन गरिएको थियो। कार्यक्रममा कमल पौड्याल, प्रकाश केसी, रामजी अधिकारी, प्रकाश रोदुङ, भोगेन एक्ले, पिताम्बर राई, पवित्रा राई, ईप्सु मगर, पूर्णिमा शाह, चन्द्र मादेन, बालकवि निङ्वा मादेन, किन्दर राई, टंक सम्वाहाम्फे, टिका माखेम, दिल पालुङ्वा, रिता गुरूङ, राजेन्द्र थापा, अनिता गुरूङ, एनबि थापा, विष्णुचन्द्र चाम्लिङ, विमल राई, प्रकाश छान्छा राई, भूपेन्द्र चेम्जोङ र कल्पना तिम्रोकका रचनाहरू वाचन भएका थिए। कार्यक्रममा रचना पठाएर उपस्थित हुन नसकेका कवि तथा कवयित्रीहरूको रचना देवराज राई, रिता गुरूङ र कमल पौड्यालले वाचन गरेका थिए।

Popularity: 3%

Add comment February 21st, 2010

हङकङमा भयवाद

प्रदीप मेन्याङ्वो, हङकङ /एचकेनेपाल डट कम-
कान्छो दर्शनको रुपमा रहेको देश सुब्बाद्वारा प्रतिपादित ‘भयवाद’ दर्शनमाथि हङकङको जोर्डनमा श्रष्टाहरु र नेपालदेखि आएका श्रष्टाहरु बीच बहस भएको छ।

भयवाद अध्ययन केन्द्र हङकङको संयोजनमा सम्पन्न विमर्शमा उक्त दर्शनका प्रतिपादक देश सुब्बाले जीवनको दर्शनलाई भयावदी दृष्टिकोणबाट आफूले व्याख्या विश्लेषण गरेको बताए। उनले भने, ‘भयवादी दर्शनलाई थप व्यापक बनाउने क्रम जारी छ। खोज अनुसन्धान भइरहेको छ। दर्शन केन्द्रित चेतनामा प्रयोग हुने क्रम पनि जारी छ।’


हङकङको जोर्डनमा शनिवार आयोजित भयवाद दर्शनमाथि छलफल गर्दै भयवादका प्रवर्तक देश सुब्बा, प्राज्ञ डा. गोविन्दराज भट्टराई, प्राध्यापक डा. टंक न्यौपाने। तस्बीरः प्रदीप मेन्याङ्वो

भयको परिचय, श्रोत, कारण, अवस्था, प्रकार, साँस्कृतिक, अध्यात्मिक, आणविक, प्राकृतिक, भयको विश्वरुप, भयवादको उद्धेश्य र भयको प्रयोग, मनोविज्ञानसंग भयवादको सम्बन्ध आदि बारे व्याख्या र विश्लेषण भइरहेको बताए। भयवादको दर्शनलाई उनले ज्ञान, चेतना र प्रकटसंग जोडेर हेरेको बताए। जोर्डनको कंगन रेष्टुरेण्टमा भएको छलफलमा भयवादी दर्शनमाथि प्रकाश पार्दै प्रवर्तक देश सुब्बाले भने, ‘बहस र छलफल गर्नेकोलागि वैचारिक स्वतन्त्रता छ।’ उनले आफ्नो भयवादी दर्शनमा धेरै विषयहरु थपेको बताए।

छलफलमा उत्तरआधुनिक विमर्शका व्याख्याता प्राज्ञ डा. गोविन्दराज भट्टराईले भयवादको दर्शन पछिल्लो समयमा हङकङबाट प्रतित्पादन भएकोमा खुशी व्यक्त गर्दै नेपालबाट विश्वव्यापी दर्शनतिर लम्किरहेको बताए। उनले भने, ‘ भयवाद नेपाली चिन्तनबाट उत्पन्न भए पनि हङकङको सामाजिक परिस्थिति, चुनौति, वैश्विक वातावरणबाट उत्पन्न एउटा नयाँ दर्शन देश सुब्बाले प्रतित्पादन गरेका हुन्।’ नेपालदेखि हङकङमा भविष्य खोज्दै आएका नेपाली श्रष्टाहरुले आफ्ना सृजनामार्फत नेपाल चिनाउने काम मात्र नगरी देश सुब्बाको भयवादले भविष्यमा हङकङलाई पनि चिनाउने प्राज्ञ डा. भट्टराईले बताए।

नेपाली लेखन साहित्यमा अहिलेसम्म बुटपालिस, तरलतावाद, संरक्षण कविता आन्दोलन, सृजनशील अराजकता, रंगवाद, चक्रव्यूह संचेतना, विलायन, उत्तरवर्ति संचेतनापछि भयवाद दर्शनको प्रतित्पादन भए पनि अरु वादहरु साहित्यसंग प्रत्यक्ष सम्वन्ध राख्ने विषय परे भने भयवाद एक विशुद्ध जीवनको दर्शनको रुपमा विकसित भएको प्राज्ञ डा. भट्टराईले बताए।

छलफलमा भयवाद अध्ययन केन्द्र धरानका अध्यक्ष प्राध्यापक डा. टंक न्यौपानेले भयवाद दर्शन हङकङबाट शूरु भई नेपालसम्म आइपुग्दा धेरैलाई आकर्षित गर्न सफल भएको बताए। छलफलमा संगीतकार दिनेश सुब्बा, संचारकर्मी देवराज राई, कवि तथा समालोचक प्रदीप कन्दङ्वा, नेपाल साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष तथा कवि टंक साम्बाहाम्फे, कथाकार चन्द्र दुमी, सनराइज साप्ताहिकका सम्पादक भुपेन्द्र चेम्जोङ, साहित्यकार कमल पौड्याल लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो।

Popularity: 3%

Add comment February 20th, 2010

आठ वर्षपछि नेपथ्यका अमृत गुरूङ हङकङमा

आठ वर्षपछि नेपथ्यका अमृत गुरूङ हङकङमा
लाली गुराँस नाइट छैटौं भव्यताका साथ सम्पन्न

एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुअरी १६-
आठ वर्षपछि हङकङको दर्शकमाझ आउंदा नेपथ्यका अमृत गुरूङको गेटअप चेञ्ज भइसकेको थियो। लामो कपाल र अलिअलि फुलेका केश बाँधेर मञ्चमा प्रवेश गर्दा दर्शक दिर्घाले एकैचोटी ताली र हुटिङ दिएर गायक अमृत गुरूङको हङकङमा भव्य स्वागत गरे।

‘भेंडाको उन जस्तो..’ गीतबाट गीत आरम्भ गरेका अमृतले ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘जोमसोमे बजारमा..’, ‘चरी मर्र्यो सीसाको गोलीले..’, ‘हिमाल चुचुरे’, ‘तालको पानी माछीले खानी’, ‘रेशम..’लगायत आफ्ना चर्चित र लोकप्रिय गीतहरू प्रस्तुत गरे। चिसोले गाँजिदै गएको वातावरणमा अमृतको गीतले दर्शकलाई तताएनन् मात्र, गर्मीले आत्तिएका गायक स्वयंले आफूले लगाएको ज्याकेट खोलेर गाउंदा उनको टिसर्टसमेत भिझेको थियो। हरेक गीत सकेपछि दर्शकबाट वान्स मोरका अफर पाएका अमृतले समय अभावका कारण अरू धेरै गीतहरू गाउन पाएनन्।

आठ वर्षपछि हङकङ आएका गायक अमृत पहिलेको भन्दा बढी क्रेज बढेको पाउंदा मख्ख थिए। दर्शकले दिएको न्यानो माया, ताली र हुटिङले उनको लोकप्रियताको पारो सोझै बढेको देखिन्थ्यो। ‘म आठपछि मात्र हङकङ आएं’-अमृतले भनें। ‘यसबीच कसैले बोलाएनन्.., कसैले बोलाए आउंला भनेर सोचेंको थिएं..’ -उनले ठट्टै ठट्टामा भने। ‘आयोजक भाईहरूले बोलाएपछि यो मौका मिल्यो।’ उनले आयोजकलाई धन्यवाद ज्ञापन गर्दै भने।
कार्यक्रमको भिडीयो झलकः

कार्यक्रममा गायक विजय लामा र द एज ब्याण्डका जीवन गुरूङले आफ्ना चर्चित गीतहरू गाए। हास्य कलाकार जितु नेपाल (मुन्द्रे)को चोटिलो उद्घोषण रहेको कार्यक्रममा मदन केसी र शिवहरि पौड्यालले ‘इमरजेन्सी वार्ड’ नामक प्रहसन प्रस्तुत गरेर दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। सोही कार्यक्रममा स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।


चिनीयाँ नयाँ वर्षको अवसरमा लाली गुराँस एशोसियनले छैटौं संस्करणको रूपमा आयोजना गरेको लाली गुराँस नाइट हेर्न मंगलवार साँझ नेपाली दर्शक युन लङ थियटर हलमा ओरिएका थिए। कतिले टिकट नपाएर कार्यक्रम हेर्न नपाएपछि रित्तो मन लिएर फर्किएका थिए।

लाली गुराँस एशोसियनले यसअघि पनि पाँचवटा सफल कार्यक्रमहरू सम्पन्न गरिसकेको छ। गत साल कार्यक्रममा चलचित्र नायक दीलिप रायमाझी, अमुल स्टार भ्वाइस अफ इण्डिया- २ का चर्चित प्रतियोगी रोहित सुनार, अमुल स्टार भ्वाइस अफ इण्डिया छोटे उस्तादकी टप थ्री प्रकृति गिरी र मुन्द्रेका समूहलगायत हङकङ आएका थिए।

Popularity: 3%

3 comments February 16th, 2010

हङकङकमा साव्लाबुङ

प्रदीप मेन्याङ्बो, हङकङ / एचकेनेपाल डट कम-
नेपालीहरुका लागि पछिल्लो समयमा दोश्रो कर्मथलो बनेको हङकङमा नेपाली साहित्यिक पत्रिकाले पनि प्रकासित हुने अवसर पाउन थालेको छ। पछिल्लो समयमा नेपाली साहित्यप्रति रुची राख्दै आएका हङ्कङस्थित जोर्डनमा बसेका राजकुमार लोहोरुङ राईको सम्पादकत्वमा साव्लाबुङ त्रैमासिक साहित्यिक पत्रिकाको विमोचन भयो।

पत्रिकाको संयुक्त विमोचन गरेका थिए लोहोरुङ भाषाका व्याकरण लेखक तथा भाषा शास्त्री डा. टंक प्रसाद न्यौपाने र उत्तर आधुनिक विमर्षका व्याख्याता प्राज्ञ डा. गोविन्दराज भट्टराईले। हङकङमा बसोवास गरिरहेका लोहोरुङ राई जातिको सामाजिक संस्था लोहोरुङ याख्खाबा युयङ हङकङका लागि राजकुमार राईको प्रयासमा साव्लाबुङ साहित्यिक त्रैमासिक पत्रिकाको पहिलो अंक बुधबार हङकङको जोर्डनमा सार्वजनिक भएपछि हङकङमा नेपाली साहित्यको कान्छो पत्रिका साव्लाबुङ थपिएको समालोचकद्वय डा. भट्टराई र डा. न्यौपानेले बताए।

विमोचन समारोमा डा. न्यौपानेले राई जनजातिका वीच अन्तर भाषिक विवाहका कारण समेतले धेरै जसो राई समूहका भाषाहरु लोप हुन लागेको हुदा यी भाषाको अभिलेखन र सुरक्षा तर्फसवैले ध्यान दिनु पर्नेमा जोड दिए। यसै गरी, प्राज्ञ डा. भट्टराईले जनजातिहरुमा नयाँ सांस्कृतिक जागरण आउन थालेकोमा यसबाट नेपालीहरुमा एकता सवल हुने विश्वास व्यक्त गरे। समारोहमा पत्रिका सम्पादक राजकुमार लोहोरुङ राईले हङकङमा रहे पनि आफ्नो जाति भाषा र संस्कृतिलाई निरन्तरता दिन लागि साव्लाबुङ त्रैमासिक साहित्यक पत्रिका प्रकाशन गर्नु परेको बताए। उनले लोहोरुङ राई जनजातिय संस्थाबाट प्रकाशित भए पनि हङकङमा बसोवास गर्ने नेपालीहरुलाई पनि टेवा दिने विश्वास व्यक्त गरे। याख्खावा हङकङका सल्लाहाकार समेत रहेका राईले विश्वमा छरिएर रहेका नेपालीहरुमा नेपाली भाषा र संस्कृतिको प्रचार प्रसार गर्नु प्रयास गरेको बताए। रङ्गीन आवरणको सो पत्रिका ८२ पन्नाको रहेको छ। उक्त अवसरमा लोहोरुङ याख्खाबा युयङ हङकङ र साव्लाबुङका तर्फबाट डा. न्यौपाने र डा. भट्टराईको सम्मान गरेको थियो।

Popularity: 3%

3 comments February 16th, 2010

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2010
M T W T F S S
« Jan   Mar »
1234567
891011121314
15161718192021
22232425262728

Posts by Month

Posts by Category