Archive for April, 2010
श्याम इङ्नाम, हङकङ/ एचकेनेपाल डट कम-
मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङले १८ अप्रिल २०१० आइतवारको दिन हङकङ वर्कस युनिवनमा एक कार्यक्रम गरी सल्लाहकार समितिको चयन गरेको छ।
कार्यक्रममा नव प्रवेशी प्रदिप कन्दङवाको आतिथ्य, परिषदका हङकङ अध्यक्ष नबराज काम्बाङ्गको सभापतित्व र उपाध्यक्ष विष्णु इङ्नामद्वारा कार्यक्रम संचालन भएको थियो। त्यसैदिन अन्य पार्ट छाडी मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नुहुने प्रदिप कन्दङ्वा, लालवहादुर लिम्बु, सुकवहादुर नाल्वो, भिम चेम्जोङलाई स्वागत गरी सदस्यता प्रदान गरिएको थियो।
कार्यक्रमवाट परिषदको प्रवास कार्य समिति हङकङको सल्लाहकारहरुमा प्रदिप कन्दङ्वा, नविन सांवा, हेमकुमार लावती, भूपु वृटिश गोर्खा मेजर शरणकुमार पालुङ्वा, गंगावहादुर थक्लुङ, लगत साम्सोहाङ्ग चयन गरेको छ।
सो कार्यक्रममा अतिथि प्रदिप कन्दङ्वाद्वारा ऐतिहासिक लिम्बुवान प्राप्तिको लागि सवै लिम्बुवासीहरु एक हुनु पर्ने कुरा राख्नु भएको थियो। अध्यक्ष नवराज काम्बाङ्गद्वारा सल्लाहकार समितिको औचित्यवारेमा र अरुण-सप्तकोशी नदीहरु पूर्वका नौंवटा जिल्लाहरु प्राप्तिको लागि परिषदको केन्द्रिय समितिले सञ्चालन गरेको विशेष अभियान मिशन “डि एस” धनकुटा, संखुवासभा र “जे एम एस” झापा, मोरङ, सुनसरीको वारेमा संक्षिप्त जानकारी गराउदै कार्यक्रम समापन गर्नु भएको थियो।
Popularity: 3%
April 21st, 2010
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
हिमालयन टोन्स म्यूजिक एकेडेमीमा सरगम प्रशिक्षण लिई रहेका गायक कलाकारहरुको सक्रियतामा संगीतकार दिनेश सुब्बाद्वारा संगीतबद्ध कलाकारहरुको नयाँ सांगीतिक एलबम युनीसन अप्रेल १८ तारिखका दिन जोर्डन हङकङको याक एण्ड यति रेष्टरेण्टमा एक समारो बीच नेपालकी चर्चित गायिका अञ्जु पन्तले सार्वजनिक गरिन्।
युनिसन एलबममा विमला राई, हरिचन्द्र राई, विष्णुनन्द राई, शुशिला राई, मोहन गुरुङ र कमल राईको स्वर रहेको छ । एलबममा दिनेश सुब्बा, आशा विदीर्ण राई, प्रतीक चाम्लिङ, विष्णुनन्द चाम्लिङ, मोहन गुरुङ र हाङयुग अज्ञातको शब्द रहेको छ। यस एलबममा दिनेश सुब्बाले कल्चर इन मोशन कार्यक्रममा प्रस्तुत गरिएको जन्मभूमि जननी गीतसमेत संलग्न गराइएको छ।
हिमालयन टोन्सको ब्यानरमा सम्पन्न विमोचन समारोहमा हङकङेली गायक कलाकारहरुको उपस्थिति रहेको थियो। दिनेश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायिका अञ्जु पन्तलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो।
कार्यक्रममा हङकङ नेपाली कलाकार संघका अध्यक्ष सुरेन लिम्बू, गीतका टंक साम्बाहाम्फे, एनआरएनका गणेश इजम, आदिवासी गीतकार समाज हङकङका अध्यक्ष प्रदीप कन्दङ्वालगायतका व्यक्तिहरु उपस्थित थिए। गायक कमल राईले स्वागत मन्तव्य र रबीन राईले एलबमको समीक्षा गरेका थिए।
विमोचन समारोहलाई गायिका अञ्जु पन्त, टंक साम्बाहाम्फे, गणेश इजम तथा सुरेन लिम्बूले समेत शुभकामना मन्तव्य राखेका थिए। नेपाली संगीत तथा एलबम सम्बन्धि अध्यक्ष दिनेश सुब्बाले समेत विमोचन समारोहलाई सम्बोधन गर्नु भएको थियो।
Popularity: 3%
April 20th, 2010
देवराज राई, हङकङ / एचकेनेपाल डट कम-
फियोना हङकङले आयोजना गरेको हङकङ नेपाली डान्स आइडल प्रतियोगिताको दोश्रो संस्करणमा १५ वर्षीया सृजना गुरुङले शीर्ष उपाधि जितिन्। नृत्य विधाको यस प्रतियोगितामा सुनिता गुरुङ फस्ट रनरअप तथा सुकु लिम्बू सेकेण्ड रनरअप बनिन्।
विजयी कलाकारहरुले ट्रफी एवं नगद पुरस्कार पाएका थिए। पहिलो, दोश्रो र तेश्रोलाई क्रमशः हङकङ डलरमा ५ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय नगद पुरस्कारसमेत प्रदान गरिएको थियो। याउ मा तेइ कम्युनिटी हलमा खचाखच दर्शकहरु तथा सहभागी कलाकारहरुका अभिभावक, परिवारहरुको उपस्थितिमा सम्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतियोगीहरुबीच प्रतिस्पर्धा भएको थियो।

वायाँबाट क्रमशः सुकु लिम्बू, सृजना गुरूङ र सुनिता गुरूङ, तस्वीरः जगतअम्बु गुरूङ /
एचकेनेपाल डट कम
विजयी सृजना गुरुङले खुशी हुँदै सफलताको श्रेय परिवार आमाबुबा, भाइबहिनी, विद्यालय तथा गुरुहरुलाई जाने बताइन्। मेहनत र लगनशीलताले सफलता पाएकोम आफू प्रशन्न भएको बताईन्। उनले भनिन् -”नृत्यमा पाएको यो ठूलो सफलता हो। यो मेरो सातौ पुरस्कार हो। यस अघि पनि विद्यालयहरुबाट धेरै पटक थुप्रै ट्यालेण्ट शोहरुमा भाग लिई पुरस्कार पाएकी छु।”
हङकङमा जन्मिएर यतै हुर्किएकी उनी सर एलिस कादुरी उच्चतर माध्यमिक विद्यालयको फर्म ४ मा अध्ययनरत छिन्। गत साल समेत आइडलमा सहभागी भई उत्कृष्ट पाँचौ स्थानसम्म पुगेकी थिइन्।
भानु जयन्ती, देवकोटा जयन्ती, नेपाली सप्ताह, पुर्खादिवस जस्ता कार्यक्रमहरुमा समेत अग्रपंक्तिमा देखा परिरहेकी सृजना गुरुङ कविता तथा कार्यक्रम सञ्चालन गर्दै आफ्ना पुस्ताका साथीहरुलाई डोर्याउँदै आएकी छिन्।

प्रतियोगीहरुले एकल, सामूहिक तथा युगल नृत्यहरु प्रस्तुत गरेका थिए। नेपाली डान्स आइडल ग्राण्ड फिनाले नाम दिएको कार्यक्रममा सहभागीहरु यस अघिको अडिसन राउण्ड तथा फस्ट राउण्ड पार गरी टपटेनमा छनौट भएका थिए। उत्कृष्ट १० औं स्थानमा परेकाहरुलाई नेपालबाट आएका नृत्य निर्देशक मनकुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए।
जौं गुरुङ, विनोद चौलागाई, योगिता गुरुङ, राजु श्रेष्ठ तथा रोशन गुरुङले निर्णायकको भूभिका निर्वाह गरेका थिए। हङकङ नेपाली डान्स आइडल प्रतियोगिताका लागि १९ जना महिला कलाकारहरुले आइडलमा सहभागी हुन नाम दर्ता गराएका थिए। ग्राण्ड फिनालेमा हङकङका उत्कृष्ट कोरियोग्राफरहरुले समेत आफ्ना सीप खर्चेका थिए।

ग्राण्ड फिनाले नाम दिएको कार्यक्रममा सहभागीहरु यस अघिको अडिसन राउण्ड तथा फस्ट राउण्ड पार गरी टपटेनमा छनौट भएका थिए। दान्सिङ सेवा समितिको तर्फबाट सहभागी भएकी विजेता सृजना गुरुङलगायत नमो बुद्ध आमा समूहबाट आएकी सुनिता गुरुङ, किरात याक्थुङ चुम्लुङबाट सहभागी सुकु लिम्बू, पैंयु खोला समाजबाट आएकी प्रिया गुरुङ र तमू ट्यो हृयुलबाट आएकी देवी गुरुङ मात्र प्रतियोगिताको टप फाइभमा परेका थिए।

अडिसन राउण्ड गत महिनाको २१ मार्चमा सम्पन्न भएको थियो। टप टेनमा पुगेकाहरु पूर्ण केसी, बिपना गुरुङ, सबनम गुरुङ, सोनी गुरुङ र सजना गुरुङले टप फाइभमा पुग्न सकेनन्। आयोजकले उत्कृष्ट १० औं स्थानमा परेकाहरुलाई नेपालबाट आएका नृत्य निर्देशक मनकुमार श्रेष्ठले कडा प्रशिक्षण दिइएको जानकारी गराएको थियो।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा छोटो औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। फियोनाका अध्यक्ष वसन्त राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हङकङस्थित नेपाली महावाणिज्यदूत विनोदकुमार उपाध्याय प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। फियोनाका सदस्य इन्द्र वनेमले स्वागत मन्तव्य तथा फियोनाका सचिव गंगा खतिवडाले पहिलो चरणको कार्यक्रम संचालन गरेका थिए। याउ चि मोङ जिल्ला पार्षद डेरेक हङ तथा पाकिस्तानी, भारतीय तथा अन्य चिनीयाँ मुलका व्यक्तिहरूको उपस्थिति देखिएको थियो। कार्यक्रमको संयोजन भिम गुरुङ र श्याममाया लामाले गरेका थिए।
Popularity: 4%
April 18th, 2010
एचकेनेपाल डट कम सम्वाददाता-
हङकङका नेपालीहरूले नेपालका मृगौला पीडित यासेली योङहाङलाई आर्थिक सहयोग गरेको छ।
लिम्बू तथा नेपाली भाषा, लिपी, धर्म, साहित्य तथा कलाको संरक्षण, संवर्द्धनको लागि समर्पित युवा गायक, गीतकार, नाटककार, कवि तथा कलाकार यासेली योङहाङको जीवन रक्षाको कामना गदैं हङकङवासी नेपालीहरुबाट संकलन भएको १ लाख ८३ हजार ७ सय रुपैयाँ किरात याक्थुङ चुम्लुङ हङकङले गत आईतबार नेपालस्थित किरात याक्थुङ चुम्लुङ नेपाल मार्फत पीडित योङहाङलाई पठाइएको हो।
रकम प्राप्त हुनासाथ पीडित योङहाङले इमेलमार्फत- ‘मेरो जीवन रक्षाको निम्ति सहयोग गर्नुहुने सम्पूर्ण महानुभानवहरुमा आभार तथा धन्यवाद ब्यक्त गर्दछु। तपाईहरुको सद्भाव, सहयोग र मायाँले केही विसेक भएको महसुस गरेकोछु। त्यति टाढाबाट मलाई मायाँ गरेर पठाई दिनु भएको रकमले चाँडै उपचार गरी नव जीवन प्राप्त गर्नेछु, र लिम्बू तथा नेपाली कला साहित्यमा आजीवन समर्पित रहने समेत प्रतिवद्धता गर्दछु’- इमेलमा लेखेकाछन्।
पीडित यासेली योङहाङको जीवन रक्षाको लागि अमेरिका, बेलायत, यूएइलगायतका देशहरुमा पनि त्यहाँका नेपालीहरुले आर्थिक संकलन गरिरहेकाछन्। हङकङवासीहरुका लागि किरात याक्थुङ चुम्लुङ हङकङले निरन्तर आर्थिक संकलन गरिरहेकोले इच्छुक महानुभावहरुले किरात याक्थुङ चुम्लुङ हङकङसंग सर्म्पक गरी मृगौला पीडित योङहाङलाई आर्थिक सहयोग गर्न सकिने कुरा किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष निरप्रसाद लिम्बूले बताए।
स्मरण रहोस्, यासेली योङहाङको २०६१ सालमा पहिलो तथा २०६३ सालमा दोस्रो शल्यकृया असफल भएको थियो। उक्त कारणले गर्दा शारीरिक तथा मानसिक रुपमा विक्षिप्त भएर कयौं पल्ट आफूले आफूलाई मायाँ मारिसकेका थिए। तर आज पूनः बाँच्ने आशा पालेकाछन्। केहि गर्ने अठोट गरेकाछन्।
Popularity: 3%
April 11th, 2010
देवराज राई, हङकङ /एचकेनेपाल डट कम-
नेपाली नयाँ वर्ष २०६७ सालको उपलक्ष्यमा हङकङकमा नयाँ वर्षको रमझम छाएको छ। विभिन्न संघसंस्थाहरुले ११ अप्रिल आइतबारका दिन मंकी हिलमा विविध प्रस्तुतीसहित शुभकामना आदनप्रदान कार्यक्रम राखे।

तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
मंकी हिलको प्रमुख वनभोज स्थलमा मोना हङकङ, पर्वत मञ्च हङकङ, संखुवासभा समाज हङकङ र नेपाली क्लवले विविध कार्यक्रमहरुसहित एक ठाउँमा बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरे। आइतबारको दिन भएका कारण भीडभाड देखिएको कार्यक्रममा मोना हङकङ र पर्वत मञ्चले नेपाली कला संस्कृति झल्कने लोक नृत्यहरु प्रस्तुत गरेका थिए। उता नेपाली क्लवले आधुनिक नृत्यहरुसहित डान्स पार्टीको आयोजना गरेको थियो। नयाँ वर्षको रमझम मनाउन आएका युवायुवतीहरु अबेरसम्म नाचि रहेको थिए।

संखुवासभा मञ्चले भने नयाँ वर्षको उपलक्ष्यमा संखुवासभा नामक स्मारिका सार्वजानिक गर्दै गाउँघरको चर्चा परिचर्चासहित बीबीक्युको आयोजना गरेको थियो। एकै स्थलमा बनाइएका आआफ्नै स्टेजमा पालैपालो सम्पन्न भएको औपचारिक कार्यक्रममा हङकङस्थित नेपाली महावाणिज्यदूत विनोद उपाध्याय मोना हङकङ र पर्वत मञ्चको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
कार्यक्रममा विविध मनोरञ्जनका लागि खेलहरु खेलाइएका थिए। सबै संस्थाहरुमा उपस्थित महावाणिज्यदूतले नेपाली एकता, शान्ति, संस्कृति विषयमा शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। महावाणिज्यदूत उपस्थित दुवै संस्थाको कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको थियो।
Popularity: 3%
April 11th, 2010
देवराज राई, हङकङ /एचकेनेपाल डट कम -
विगत ५ वर्षहरुमा जस्तै यसापालि पनि ५ अप्रिलको दिन हङकङमा पुर्खादिवस भव्यरुपमा सम्पन्न भएको छ। गोर्खा समाधिस्थल हङकङमा सम्पन्न भएको पुर्खादिवस २०१० कार्यमममा बृहत नेपालीहरुको उपस्थिति रहेको थियो।

विभिन्न विद्यालयका विद्यार्थीहरु तिनका अभिभावक,प्रधनाध्यापक,शिक्षक कर्मचारी, स्थानीय नेता,विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो।

तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
गोर्खा सिमेट्री ट्रष्टकोको आयोजना तथा हङकङ नेपलीज फाउण्डेशनको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थी वर्गबाट पुर्खालाई श्रद्धाञ्जलि सिर्जनाहरु प्रस्तुत गरेका थिए। एकराज राईले कार्यक्रमको उद्धेश्यहरु बारे प्रकाश पारेपछि शुभारम्भ भएको कार्यक्रममा बृटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष हेमबहादुर तामाङले समेत सम्बोधन गर्नु भएको थियो।

गोर्खा इतिहास र गोर्खा विभूतिहरुलाई नेपाली पाठ्यक्रमभित्र ल्याउने काम भइरहेको सम्बोधनको क्रममा गोर्खा सेमेइट्रीजका अध्यक्ष एकराज राईले बताउनु भयो। उहाँले अगाडि थप्नु भयो -”नेपाली इतिहासमा छाँयामा पारेर यतिञ्जेलसम्म यति ठूलो गोर्खा इतिहासको हिस्सालाई नेपाली समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई पूर्णता दिने कार्यमा मद्दत गर्ने काममा हामी लागि परेका छौं।”

समाधिस्थलमा तस्बीरहरु तथा गोर्खा सिमेट्री ट्रष्टले प्रकाशन गरेका पुस्तकहरु प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा समाधि स्मारिकाको ५ अंकलाई प्रदर्शनी गरिएको थियो। यस अघिका समाधि पत्रिकामा प्रथम तथा दोश्रो विश्वयुद्धमा हताहत भएका २० हजार अधिक मृत्युवरण गरेका गोर्खालीहरुको नामावली समेत प्रकाशन गरिसकेको छ। पुर्खादिवसलाई विश्व पुर्खा पुर्खादिवसको रुपमा विकास गर्दै लैजाने हेतुले आयोजना हुँदै आएको पुर्खादिवस सन् २००४ यता सम्पन्न भइरहेको र २००५ यता बृहत कार्यक्रमको रुपमा पुर्खादिवस मनाउँदै आइएको छ।

सरकारी विद्यालय तथा केही नीजि विद्यालयहरुमा समेत पुर्खादिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराइ पुर्खादिवस मनाउन थालिएको हो। हाल विद्यालयहरुमा पुर्खादिवस सम्बन्धि बिभिन्न कार्यक्रमहरु सम्पन्न भइरहेको गोर्खा सिमेट्रज ट्रष्टले जानकारी दिएको छ।
ट्रष्टले पुर्खादिवसलाई विश्व पुर्खादिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ। बेलायत सरकार, कमनवेल्थ वार ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्यसम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबर्द्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजाने, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
हङकङमा सम्पन्न पुर्खादिवसमा पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाइस्कुल, पीके कलेज, टिके प्राथमिक विद्यालय, सगरमाथा किन्डर गार्टेन, सर एलिस कादुरी माध्यमिक विद्यालय, डेलिया हिप ओ, डेलिया ब्रोड वे, सगरमाथा किन्डरगार्टेका विद्यार्थीहरू उपस्थित भएका थिए। पुर्खादिवस २०१० कार्यक्रमलाई मिडिया पार्टनरको रूपमा एचकेनेपाल डटकमले सहयोग गरेको थियो।
Popularity: 2%
April 5th, 2010