नेपाली चलचित्र ‘साहसी’ को प्रिमियर शो सम्पन्न
एस हङकङ/ एचकेनेपाल डट कम, जुन २७-
मुनाल फिल्म प्रा.लि. र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘साहसी’ को आइतवार साँझ हङकङमा भव्यरूपमा प्रिमियर शो सम्पन्न भयो।
महावाणिज्यदूत बिनोद उपाध्याय। तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम
भिडीयो झलकः
महावाणिज्यदूत बिनोद उपाध्यायले रिबन काटेर प्रिमियर शोको उद्धाटन गर्नु भयो। याउ मा तेइस्थित कम्युनिटी सेन्टरमा सम्पन्न उद्घाटन समारोहमा बोल्दै उपाध्यायले चलचित्रले विदेशमा नेपाली भाषा, कला र संस्कृतिको विस्तारमा टेवा पुग्ने बताउनु भयो। त्यसै गरी, चलचित्र निर्माता झमबहादुर गुरूङले चलचित्र हेर्न आएका दर्शक, सहयोगी संघ संस्था तथा चलचित्र युनिटका सबै कलाकार, प्राविधिकज्ञहरूलाई धन्यवाद ज्ञापन गरे। चलचित्र हेर्ने दर्शकको ठूलो उपस्थितिले हौसिएका गुरूङले तुरून्तै अर्को चलचित्र निर्माण गर्न उत्साह बढेको बताए। गुरूङले दुई वर्षभित्र अर्को नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरे। ‘अहिले अंग्रेजी नाम ‘गड गिफ्ट’ जुरे पनि नेपालीमा ‘भगवानको वरदान’ या अरू केही हुन सक्छ।’ -गुरूङले भने। उद्घाटन समारोहको सञ्चालन कलाकार भिम गुरूङले गरेका थिए।
निर्माता झमबहादुर गुरूङ। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
उद्धाटन समारोहपछि प्रदर्शन गरिएको चलचित्र साहसीलाई दर्शकले निकै रूचाएका थिए। एक्सन प्याक फिल्ममा अधिक मात्रामा द्वन्द दृश्यहरू समेटिएका छन्। चलचित्रमा राजेश हमाल, गणेश उप्रेती, स्नेहा शर्मा, भोजबहादुर गुरुङ, राजु अधिकारी, ज्याक गुरुङ, शर्मिला श्रेष्ठ, मणिरत्न पौडेल, राजेन्द्र अधिकारी, छवि सुवेदी, योगेन्द्र श्रेष्ठलगायतले अभिनय गरेका छन्।
सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्।
चलचित्र ‘साहसी’को भिडीयो प्रोमो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्
हङकङमा नेपाली चलचित्र ‘साहसी’ को प्रथम प्रदर्शन गरिने
मनु गुरूङ, हङकङ/ एचकेनेपाल डट कम, मे ३१-
मुनाल फिल्म प्रा.लि. र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘साहसी’ को हङकङमा प्रथम प्रदर्शन हुने भएको छ।
जुन २७ तारिख साँझ याउ मा तेइ कम्युनिटी सेन्टरमा प्रिमियर शो हुने जानकारी साहसी चलचित्रका निर्माता झमबहादुर गुरुङले दिनुभएको हो।
‘नेपाल भ्रमण बर्ष २०११ लाई सफल पारौं, नेपाली चलचित्रलाई माया गरौं’ भन्ने मुल नाराका साथ साहसी चलचित्रको प्रदर्शन प्रारम्भ हुन लागेको हङकङका निर्माता झमबहादुर गुरूङले बताउनु भयो। खासगरी नेपाली चलचित्र साहसी नेपालकै उत्कृष्ट गन्तव्यहरुमा छायाँकन गरिएको हुनाले दृश्य प्रधान बनेको निर्देशक बासुदेव पोख्ररेल बताउनु हुन्छ। उच्च हिमाली क्षेत्रको रंगीविरगी लेकाली फूल, हिमाली दृश्य एवं करिब ४००० मिटर भन्दा माथिको उच्च पहाडी र हिमाली भेगमा छायाँकन भएकोले दर्शकको मन लोभ्याउन सक्ने विश्वास लिईएको छ।
साहसी चलचित्रमा समावेश गरिएको रोइला भजनले नेपाली चलचित्रमा संस्कृति र आफ्नोपनलाई थप टेवा दिएको छ। फलस्वरुप यस चलचित्र पृथक बनेको अनुमान गरिएको छ।
नेपाली चलचित्रका महानायक राजेश हमाललाई विल्कुलै नयाँ भूमिकामार्फत साहसीमा चिनियाँ मार्शल आर्ट खेल उसु अर्न्तगत पर्ने ‘ताईची’ को प्रमुख कोचको रुपमा उतारिएको छ। यता चलचित्र साहसीका प्रस्तुतकर्ता एवं नायक भोजबहादुर गुरुङको जोखिम दृश्य (स्टन्ट) ले चलचित्रलाई थप रोचक बनाएको छ। चलचित्र ‘साहसी’को कथाबस्तुले देशको बर्तमान राजनैतिक परिवेशलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।
२७ जून २०१० मा हङकङ प्रदर्शन भएपश्चात अष्ट्रेलिया, बेलायत, बेल्जियम, जर्मन, फ्रान्स, स्पेन, अमेरिका, जापान, मलेसिया, दार्जीलिङ्गलगायतका विश्वका प्रमूख देशका प्रमुख शहरहरुमा प्रदर्शन हुने जनाइएको छ। विदेशका विभिन्न मुलुकमा साहसी प्रदर्शनपछि नेपालमा प्रदर्शन गरिने निर्माता गुरुङले जानकारी दिनुभयो।
थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
चलचित्र साहसीका निर्माताहरुमा झमबहादुर गुरुङ, कुविना गुरुङ र धनमाया गुरुङ हुनुहुन्छ। प्रस्तुतकर्ता भोजबहादुर गुरुङ, कथा/निर्देशक बासुदेब पोख्रेरल, कार्यकारी निर्माता मनिरत्न पौडेल, पटकथा/संवाद पद्मकृष्ण पौडेल, द्वन्द योगेन्द्र श्रेष्ठ, नृत्य अजय विष्ट, क्यामरा सुमनकुमार तण्डुकार, कला निर्देशक पासाङ्ग टि शेर्पा, सम्पादक रोशन लामिछाने हुनुहुन्छ। त्यसैगरी, गीत/संगीत लोकनाथ सापकोटाको रहेको छ। गीतमा स्वर अन्जु पन्त, राजेश पायल राई, अन्जना गुरुङ, लोकनाथ सापकोटा र शान्ति प्रियको रहेको छ। कलाकारहरुमा राजेश हमाल, गणेश उप्रेती, स्नेहा शर्मा, भोजबहादुर गुरुङ, राजु अधिकारी, ज्याक गुरुङ, शर्मिला श्रेष्ठ, मणिरत्न पौडेल, राजेन्द्र अधिकारी, छवि सुवेदी, योगेन्द्र श्रेष्ठलगायत रहेका छन्।
सानु गुरूङ दुई वर्षका लागि प्रतिबन्धित
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन २४-
नेपालको धर्मश्री उपाधि र हङकङमा विभिन्न उपाधि जितेका सानु गुरूङ दुई वर्षका लागि प्रतिबन्धित भएका छन्। गुरूङलाई इन्टरनेशनल नेचुरल बडी बिल्डिङ एसोसिएसन (आइएनबीए) ले शारिरीक सुगठनका सबै खेलहरूमा प्रतिस्पर्धा गर्न दुई वर्षका लागि प्रतिबन्धित गरेको हो।
जुन ६ तारिख हङकङमा सम्पन्न शारिरीक सुगठन प्रतियोगितामा डोपिङ टेष्ट गर्न इन्कार गरेको आरोपमा अन्तर्राष्ट्रिय नियम र अनुशासन उलंगन गरेको भन्दै आयोजक संस्था हङकङ चाइना बडी बिल्डिङ एसोसिएसनले गरेको सिफारिसको आधारमा आइएनबीएले गुरूङलाई कारवाही गरिएको हो।
सानु गुरूङले सो प्रतियोगितामा मास्टर्स र ७५ केजी तौल समूह दुबैमा फस्ट रनअपसहित दुई बेस्ट पोजिङ उपाधि जितेका थिए। गुरूङ अनुशासनको कारवाहीमा परेपछि इरानको राजधानी तेहरानमा अगष्ट महिनामा हुने ‘मिस्टर एसिया’ शारीरिक सुगठन प्रतियोगिताका सहभागी हुन बञ्चित भएका छन्। उनी त्यस प्रतियोगिताका लागि तयारी गरिरहेका थिए।
अन्तिम चरणको एक प्रतियोगिताको नतिजा घोषणा भएलगत्तै गुरूङमाथि भेदभाव गरिएको भन्दै हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनका अध्यक्ष मेख गुरूङसहित गुरूङका समर्थकहरूले तत्काल प्रतिक्रिया र आपत्ति जनाएका थिए (हेर्नुहोस् भिडीयो)। एसोसियसनका अध्यक्ष गुरूङले तत्काल संस्थाको झण्डा लिएरै स्टेचअघि गएर विरोध जनाएका थिए।
भिडीयोः
प्रतियोगिता भइरहंदा गलत ढंगले प्रस्तुत भएपछि रूष्ट भएको आयोजकले सानु गुरूङलाई डोपिङ टेष्ट गर्न वाध्य पारेका थिए। प्रतियोगिता अघि नै अनिवार्य गर्नु पर्ने डोपिङ टेस्ट आयोजकले नगरेपनि गुरूङ पक्षले पछि भेदभाव भएको आवाज उठाएपछि अप्ठ्यारो पार्न गुरूङलाई डोपिङ टेस्ट गर्न वाध्य पारेका थिए।
डोपिङ टेस्टका लागि आग्रह गर्न स्टेच पछाडि आएका आयोजक पदाधिकारीलाई गुरूङ पक्षले अहिले डोपिङ टेस्ट गर्न नसकिने बताएका थिए (हेर्नुहोस् भिडीयो)। प्रतियोगितापछि थाकेको र पराजित मनस्थितिमा मुड अफ भएको कारण जनाउंदै गुरूङले डोपिङ टेस्ट नगर्ने मौखिक जवाफ दिएर गुरूङ पक्ष त्यहाँबाट हिडेका थिए।
प्रतियोगिता सकेपछि पनि सानु गुरूङको पक्षबाट रूष्ट बनेको आयोजक संस्था त्यतिकै चुप लागेर बसेन। गुरूङलाई कारवाही गर्न संस्थाले आइएनबीएलाई सिफारिस गर्यो। अन्ततः आयोजक संस्थाको सिफारिसमा आइएनबीएले गत विहीबार गुरूङलाई दुई वर्षको लागि प्रतिबन्धित गर्ने निर्णय गरेको छ।
पाठक प्रतिक्रिया तथा शुभकामना व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्
——– ————–
शारीरिक सुगठनमा सानु र लोकेन्द्रलाई सफलता
भिडीयो अपडेटः सानु गुरूङ र लोकेन्द्र परियार
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन ८-
Hong Kong Miss body fitness 2010:
शारीरिक सुगठनमा सानु र लोकेन्द्रलाई सफलता
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन ६-
हङकङ चाइना बडीबल्डिङ एसोसियशनद्वारा आइतवार साँझ आयोजित शारीरिक सुगठन प्रतियोगितामा दुई नेपालीलाई सफलता मिलेको छ।
मिस्टर नेपाल सानु गुरूङले मास्टर तथा ७५ केजीको तौल गरी दुई समूहमा दुई फस्ट रनरअपसहित दुई बेस्ट पोजिङ उपाधि जितेका छन्। त्यसै गरी, मिस्टर हङकङ नेपाल २००८ लोकेन्द्र परियारले नोभाइस समूहमा शीर्ष उपाधिसहित ८० केजी तौल समूहमा सेकेण्ड रनरअपको उपाधि जितेका छन्।
लोकेन्द्र परियार नोभाइस समूहको शीर्ष उपाधि लिंदै। तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम।
सानु गुरूङ फस्ट रनरअपको उपाधि थाप्ने क्रममा … थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्।
वान चाईस्थित क्वीन एलिजावेथ स्टेडियममा आइतवार साँझ सम्पन्न प्रतियोगितामा सानु गुरूङ हङकङ नेपाल बडीबिल्डिङ एसोसियशनको तर्फबाट सहभागी थिए। प्रतिगोगितापछि एचकेनेपाल डट कमसंग बोल्दै गुरूङले निर्णायक टोलीले दिएको परिणामप्रति आफू सन्तुष्ट हुन नसकेको बताए। उनले भने- ‘राम्रो जर्जमेन्ट भएन। यस्तो भेदभाव होला जस्तो लागेको थिएन।’ गुरूङले गत साल पनि प्रतियोगितामा सहभागिता जनाएका थिए। उनले त्यसबेला दुई सेकेन्ड रनरअपसहित दुई बेस्ट पोजिङका उपाधि जितेका थिए। यस पटक गत सालको भन्दा राम्रो नतिजासहित शीर्ष उपाधि जित्ने आशाका साथ उनी जुन १ तारिख नेपालबाट हङकङ आएका थिए।
कुनै संघसंस्थाको सहयोग बिना प्रतियोगितामा एक्लै भिडेका लोकेन्द्र परियारले नोभाइस समूहमा शीर्ष उपाधि नै जितेर चिनीयाँ र नेपाली दर्शकलाई छक्क पारे। उनी प्रतियोगितामा सहभागी हुंदै छन् भन्ने जानकारी स्थानीय नेपाली मिडीया तथा दर्शकलाईसमेत थिएन। स्टेशमा एकै चोटी देखिएका उनले नोभाइस समूहमा शीर्ष उपाधिसहित ८० केजी तौल समूहमा सेकेन्ड रनरअप भएर चर्चित भए। उनले एचकेनेपाल डट कमसंग बोल्दै शीर्ष उपाधि जित्न पाएकोमा खुशी र गर्व लागेको बताए। उनले बोल्ने क्रममा खुशी साटासाट मात्र गरेनन्, अन्य नेपालीहरूबाट सहयोग तथा समर्थन नपाएकोमा गुनासोसमेत व्यक्त गरे। ‘म पनि नेपाली नै हुं, नेपाली नै भएर प्रतियोगितामा सहभागी भएको छु। कसैलाई काखा कसैलाई पाखा गर्नु उचित हुंदैन।’ उनले भने- ‘म नेपालीकै रूपमा सहभागी भएर शीर्ष उपाधि जितेकोमा गर्व लागेको छ।’
प्रतियोगितामा महिला तथा पुरूषतर्फ बडीबिल्डिङ, एथलेटिक र मोडल फिजिक समावेश थिए।
पाठक प्रतिक्रिया तथा शुभकामना व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्
_________________________________________
सानु गुरूङ फेरि भिड्ने/ प्रतियोगिता जुन ६ तारिख
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन ३-
हङकङमा हुन लागेको शारीरिक सुगठन प्रतियोगितामा मिस्टर नेपाल सानु गुरूङ फेरि भिड्ने भएका छन्।
हङकङ चाइना बडीबिल्डिङ एसोसियशनको आयोजनामा जुन ६ तारिख हुने प्रतियोगितामा भाग लिन गुरूङ मंगलबार नेपालबाट हङकङ आएका छन्।
नेपालको प्रतिनिधित्व गर्दै गुरूङले गत सालको प्रतियोगितामा नन क्याटोगरी र ८० केजी समूहमा सेकेण्ड रनरअप र बेस्ट पोजिङको उपाधि जितेका थिए।
वान चाईस्थित क्वीन एलिजावेथ स्टेडियममा जुन ६ तारिख साँझ हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भिड्न लागेका गुरूङको हौसला बढाउन एसोसियशनका सदस्य तथा हङकङबासी नेपालीलाई कार्यक्रमको दिन उपस्थित हुन एसोसियशनले आग्रह गरेको छ।
हङकङ नेपाल बडीबिल्डिङ एसोसियशनका सदस्यसमेत रहेका गुरूङले आगामी अगष्ट महिनामा हुने ‘मिस्टर एसिया’ प्रतियोगितामा समेत सहभागी हुने एसोसियशनले जनाएको छ। मिस्टर एशिया प्रतियोगिता इरानको राजधानी तेहरानमा सम्पन्न हुंदैछ।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
समकालिन पाश्चात्य संगीत र नेपाली संगीतको एक विशिष्ट सांगीतिक कार्यक्रम २० जुन आइतबारका दिन याउ मा तेइ कम्युनिटी सेन्टरमा सम्पन्न भयो। इष्ट मिट्स वेष्ट नामक सांगीतिक कार्यक्रममा युके, हङकङ तथा नेपाली कलाकारहरु सहभागी भएका थिए।
कार्यक्रममा पश्चिमा संगीत ज्याजमात्र होइन । चिनियाँ संगीत, नेपाली संगीतका विभिन्न धारहरु प्रस्तुत गरियो । हिमालयन टोन्स म्युजिक एकेडेमीका संगीत निर्देशक दिनेश सुब्बाको संयोजनमा पूर्वीया तथा पश्चिमा संगीतहरुलाई फ्युजन गरी प्रस्तुत गरिएको थियो।
इष्ट मिट्स वेष्ट सांगीतिक कार्यक्रमको भिडीयो झलकः
समाजसेवी डेनी थापाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा द सान्स फ्रन्टियर्स युकेका संगीत निर्देशक केभिन थापाले सेक्साफोन र युकेकी रेबिका निकोल्सले क्लारिनेट वादन गरेकी थिइन् । कार्यक्रममा पश्चिमा संगीतलाई आधार मानी तयार पारिएको ज्याज संगीतहरु केभिन र रेबिकाले प्रस्तुत गरेका थिए।
तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
चिनीया शास्त्रीय बाजा गु जेङ बाजा कलाकार मिङ सि लुइले प्रस्तुत गरेकी थिइन् । नेपालीहरुको तर्फबाट दिनेश सुब्बाको नेतृत्वमा संतोष गुरुङ, टोपराज लामा, रोशा लिम्बू, सोनाम महर्जन र वसन्ती पुनले गीत प्रस्तुत गरेका थिए । राजु गुरुङ, यादव राई, कृष्ण महर्जन, हरि श्रेष्ठ, रमेश राई, सिमा लिम्बू, केशव राईलगायतका कलाकारहरुले नेपाली वाद्यावादनमा साथ दिएका थिए।
नेपाली नयाँ पुराना ज्याज, ब्लुज, रागासँग नजिक गीतहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा दिनेश सुब्बाले पाश्चात्य संगीत र नेपाली संगीतको सम्बन्ध र यसका भिन्न भिन्नै महत्वका बारेमा प्रकाश पार्दै गीतहरु प्रस्तुत भएका थिए।
कार्यक्रममा आयोजक डेनी थापाले संगीतले मानिसलाई विविधतामा एकता बनाउँन सक्ने भएका कारण एउटै मञ्चमा सबैलाई प्रस्ततु गर्ने वातावरण निर्माण गरेको कुरा सार्वजनिक गर्नु भएको थियो। कार्यक्रममा थोरै दर्शक भएपनि वास्तविक संगीत श्रोताहरुको उपस्थिति भएकोमा खुशी प्रकट गर्दै संगीत संयोजक दिनेश सुब्बाले नेपालीहरु पनि संगीत प्रेमी छन् भन्ने कुरा स्थानीय चिनियाँ तथा विदेशी मूलका मानिसहरुलाई अवगत गराउन सकिएको बताएउनु भयो।
कार्यक्रममा याउ चि मोङ जिल्ला पार्षदहरु, प्रहरी निरीक्षक एमएम खान, संगीतकार विक्रम गुरूङलगायतका व्यक्तिहरु कार्यक्रममा उपस्थित भएका थिए। केभिन थापाले आफ्नो म्युजिक एलबम अतिथिहरुको हातबाट सार्वजनिक गरेका थिए। कार्यक्रमको मध्य भागमा चा झी यान हङ समूहले चीनीयाँ तथा तिब्बती नृत्य प्रस्तुत गरेका थिए।
मगेन्द्र राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेप्लीज टेनिस् सोसाइटीद्वारा सञ्चालित टेनिस् लिगको फाइनल खेल जोर्डनस्थित किङ्गस् पार्क टेनिस कोर्टमा आइतबार सम्पन्न भयो।
“ए” र “वि” गरी दुई डिभिजनमा खेलाइएको उक्त लिग गत मार्च महिनाबाट आरम्भ भएको थियो। ओलम्पीएन सिटीस्थित वाटरफल क्लवको टेनिस कोर्टमा पहिलो चरणदेखि सेमि फाइनलसम्मको लिग खेलाइएको थियो।
डिभीजन “ए” सिङ्गलस् को फाईनल खेलमा उदय राईले नविन देवानलाई ५-७, ६-३, ६-४ ले हराएका थिए भने डिभिजन “वि” को फाईनलमा सञ्जय सुब्बाले मनबहादुर गुरुङलाई ५-७, ६-१, ६-४ ले पराजित गरेका थिए। बिजेता तथा उपविजेता खेलाडीहरुलाई सोसाइटीका संरक्षक वाइवि राई तथा सोसाइटीका सल्लाहकार गेरी लिम्बु र अध्यक्ष मगेन्द्र राईले पुरस्कार वितरण गरेका थिए।
सोसाइटीका अध्यक्ष राईले सोसाइटी वैधानिक रुपमा दर्ता भइ सकेको तथा सदस्य वितरण तिव्र रुपमा भइ रहेको बताए। बाल-बालिका र युवा वर्गहरुलाई लक्षित गरी निःशुल्क टेनिस सिकाउने तयारी भैरहेको राईले जानकारी दिए। आगामी नयाँ वर्ष २०११ को जनवरीमा वार्षिक वर्ष च्याम्पियनसिप र आगामी अगस्टबाट अर्को लिग सञ्चालन हुने बताए। हङकङको विभिन्न टेनिस क्लवहरुसंग सम्बन्ध स्थापित गरी विभिन्न टुर्नामेन्टहरुमा सहभागी जनाउंने जानकारी दिए। कार्यक्रम सोसाइटीका सचिब सन्तोष राईले सञ्चालन गरेको थिए।
एस, हङकङ/ एचकेनेपाल डट कम-
संविधानसभाका महिला सभासदद्वय पुष्पा भुसाल र उषाकला राईले निर्धारित समयभित्र संविधान निर्माण हुन नसक्नुमा शीर्ष नेताहरू दोषी रहेको बताएका छन्।
सभासदद्वय पुष्पा भुसाल र उषाकला राई। तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम
हङकङ नेपाली महासंघद्वारा शुक्रवार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बोल्दै सभासद भुसालले नेताहरूको गैरजिम्मेवारीपनले निर्धारित समयभित्र संविधान बन्न नसकेको बताइन्। राज्यले दिएको जिम्मेवारीप्रति नेताहरू गम्भीर हुन सकेनन् भुसालले भनिन्। ‘म्याद थप्ने सहमति भएपनि नेताहरू अझै मुल मुद्दामा प्रवेश गर्न सकेका छैनन्’, भुसालले भनिन्।
त्यसै गरी, सत्ता मोह र लुछाचुडीका कारण संविधान बन्न नसक्नुमा शीर्ष नेताहरू दोषी रहेको सभासद राईले बताइन्। ‘नेताहरूले चाहेमा १ वर्ष होइन, ६ महिनामै संविधान बन्छ’, उनले भनिन्। ‘नेताहरू शान्ति प्रक्रिया र संविधान निर्माणप्रति जिम्मेवार देखिएको छैन।’
सभासदद्वय भुसाल र राई इन्टरनेशनल गर्भरमेन्टल अर्गनाइजेशनको आयोजनामा एसियाली द्वन्द्वपीडित राष्ट्रहरुबीच द्वन्द्व समाधान तथा संविधान निर्माण विषयक अन्तर्क्रियामा सहभागी हुन हङकङ आएका हुन्।
कार्यक्रममा नेपाली महावाणिज्यदूत विनोद उपाध्याय, संसद सचिवालयका उप-सचिव सुर्दशन खड्का, आइडिया इन्टरनेशनलका संयोजक खुशी चौधरी, नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू उपस्थित थिए।
ध्रुव पौडेल, (रासस) चीन, अषाढ ५-
चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा अपराध गर्नेहरूको सूचीमा नेपाल दोस्रो स्थानमा परेको छ। भिसाअवधि सकिएपछि पनि मुलुक नछोड्ने (ओभरस्टे) र गैरकानुनीरूपमा काम गर्ने विदेशीहरूको सङ्ख्याका आधारमा मकाउका स्थानीय सञ्चारमाध्यममार्फत् उक्त सूची सार्वजनिक गरिएको हो।
सन् २०१० को पहिलो चौमासिक अवधिमा विदेशी नागरिकबाट गरिएकामध्ये ७३ अपराधका घटना मकाउको संयुक्त सुरक्षाबल कार्यालयमा दर्ता गरिएको छ । यसमध्ये १० वटामा नेपालीको संलग्नता भएको जनाइएको छ।
स्थानीय दैनिक पत्रिका “मकाउ डेली टाइम्स”मा प्रकाशित समाचारअनुसार मकाउको अपराधीको सूचीमा भियतनाम सबैभन्दा अगाडि छ । पहिलो चौमासिक अवधिमा दर्ता भएका अपराधका घटनामध्ये ५९ वटामा भियतनामीहरूको संलग्नता रहेको बताइएको छ।
अन्य तीन अपराधमा पाकिस्तानी र एउटामा बंगलादेशीको संलग्नता रहेको उल्लेख छ।
त्यसैगरी सन् २००९को अपराधसूचीमा पनि नेपाल दोस्रो स्थानमा नै परेको थियो । वर्षभरी दर्ता भएका २९५ अपराधका घटनामध्ये २८ वटामा नेपालीको संलग्नता रहेको थियो।
सार्वजनिक सुरक्षाको कारण देखाउँदै मकाउमा बढ्दै गइरहेको गैरकानुनी कामदारको सङ्ख्या, विदेशी नागरिकको ओभरस्टे र लागूपदार्थको कारोवारलाई नियन्त्रण गर्ने उद्देश्यले नेपालसहित छ देशका नागरिकलाई मकाउ प्रवेशमा कडाइ गर्ने चीन सरकारले निर्णय गरिसकेको छ।
आगामी असार १७ गतेदेखि लागू हुने गरी अपराध गर्नेको सूचीमा रहेका नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम र नाइजेरियका नागरिकलाई मकाउ प्रवेशको लागि अनएराइभल भिसाको सुविधा बन्द गरिएको छ भने भिसाशुल्कमा पनि वृद्धि गरिएको छ।
गैरकानुनी कामदार र ओभरस्टे गर्ने विदेशी नागरिकको सङ्ख्या सार्वजनिक गरिए पनि अन्य अपराधीको सङ्ख्याको बारेमा केही जानकारी दिइएको छैन ।समाचारमा सन् २०१०को पहिलो चौमासिक अवधिमा गैरकानुनीरूपमा काम गरिरहेका एक नेपालीलाई प्रहरीले गिरफ्तार गरेको थियो । गत वर्ष पनि एक नेपाली गैरकानुनीरूपमा काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए।
यसै वर्षको जनवरीदेखि अप्रिल महिनासम्ममा भिसाको म्याद सकिएर ओभरस्टे गर्ने ४६ जना नेपाली पक्राउ परेका छन्। अघिल्लो वर्ष यसरी ओभरस्टे गर्ने नेपालीको सङ्ख्या ३०८ थियो।
यसै वर्षको पहिलो चौमासिक अवधिमा करिब २ हजार ४ सय नेपाली मकाउ प्रवेश गरेका थिए भने अघिल्लो वर्षभरी ६ हजार ७ सय नेपाली मकाउ प्रवेश गरेको समाचारमा जनाइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली नागरिकलाई ‘अनएराइभल’ भिसा दिन बन्द गर्ने निर्णय गरेको चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले भीसाशुल्कमा पनि वृद्धि गर्ने निर्णय गरेको छ।
आगामी असार १७ गतेका दिनदेखि लागू हुने गरी नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम र नाइजेरियका नागरिकलाई मकाउ प्रवेशको लागि ‘अनएराइभल’ भिसा दिन बन्द गर्ने चीन सरकारले तीन हप्ताअगाडि निर्णय गरेको थियो।
मकाउ प्रवेशका लागि ती मुलुकका नागरिकहरुले अब कम्तिमा ३० अमेरिकी डलर (करिब रु दुई हजार २००) भिसा शुल्क तिर्नुपर्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै मकाउ डेली टाइम्सले जनाएको छ।
नेपालसहित छ देशका नागरिकहरुले मकाउ जानुअघि उनीहरु बसोबास गरिरहेको देश वा क्षेत्रमा रहेको चिनियाँ कुटनीतिक नियोगबाट अनिवार्यरुपमा भिसा लिनुपर्ने छ।
ती कूटनीतिक नियोगहरुले मकाउको अध्यागमन कार्यालयबाट अन्य जानकारी लिन आवश्यक ठानेमा भिसा आवेदकले थप २० अमेरिकी डलर (रु एक हजार ५००) तिर्नुपर्ने समाचारमा जनाइएको छ।
यसरी आवेदकले भिसा प्राप्त गरेको अवस्थामा पनि मकाउ प्रवेश गर्ने बेलामा भ्रमणका लागि आर्थिकरुपमा सक्षम भएको प्रमाणिक आधार, स्वदेश फर्किने हवाई टिकट, क्रेडिट कार्डलगायतका अन्य जानकारी मकाउ अध्यागमन कार्यालयले माग्न सक्ने जनाइएको छ।
हालसम्म नेपालीहरुलाई एक महिना लामो ‘अनएराइभल’ भिसाको लागि मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारले १०० चिनियाँ युआन (करिब रु एक हजार) वा १०० मकाउ पेक्टा लिदैँ आएको छ।
सार्वजनिक सुरक्षाको कारण देखाउँदै मकाउमा बढ्दै गइरहेको गैरकानुनी कामदारको संख्या, विदेशी नागरिकको ‘ओभरस्टे’ र लागूपदार्थको कारोबारलाई नियन्त्रण गर्ने उद्देश्यले जुलाई महिनाबाट नेपालसहित छ देशका नागरिकलाई मकाउ प्रवेशमा कडाई गर्ने निर्णय तीन हप्ताअगाडि गरिएको थियो।
एस, हङकङ/ एचकेनेपाल डट कम-
आदिवासी जनजाति महासंघ हङकङको पाचौँ महाधिवेशनले एमबी थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ।
समितिका उपाध्यक्ष महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रिता गुरुङ, निमादोर्जी शेर्पा, राम सुनुवार र किरात याक्थुङ चुम्लुग निर्विरोध निर्वाचित भएका छन्। भर्खरै हङकङ आएका संखुवासभा निवासी महासचिव निमादोर्जी शेर्पा सन् २००७ को सगरमाथा सफल आरोही हुन्। उनलाई अध्यक्ष भुपेन्द्र चेम्जोङले सोही समारोहमा खादा ओढाई साहसको कदर गर्दै सम्मान गरेका थिए।
हेनरी जि लेयङ कम्युनिटी सेण्टरमा सम्पन्न अधिवेशनमा तामाङ संस्कृतिको लामो समयदेखि संरक्षण गर्दैआएका गान्वा समग्र जनजातिकै मानार्थ अविभावक कुलमान तामाङ प्रमुख अतिथि थिए।
अध्यक्ष भुपेन्द्र चेम्जोङले आफ्नो कार्यकालमा आफूलाई सहयोग गर्ने कार्य समितिका सम्पूर्ण निवर्तमान सहयात्री सदस्यहरुलाई धन्यवाद दिंदै विधानत समिति बिघटन भएको घोषणा गरेका थिए।
इन्द्रसिंह राईको अध्यक्षतामा चुनी गुरुङ र डम्बर गुरुङ सदस्य रहेको अध्यक्ष मण्डलले बन्द सत्रको कार्यक्रम अगाडि बढाएको थियो। तीन महिनाभित्र तयार पार्ने गरेर भक्त दुरा, निवर्तमान जनजाति अध्यक्ष भुपेन्द्र चेम्जोङ र किरात राई यायोक्खा अध्यक्ष किसन राईको एक विधान समिति विधिवत खडा गरिएको छ।
नबराज काम्बाङ, हङकङ/ एचकेनेपाल डट कम-
नेपाल किरात याक्थुङ चुम्लुङ हङकङको संयोजन तथा संयुक्त लिम्बुवान मोर्चा नेपाल हङकङको आयोजनामा लिम्बुवान जनजागरण सभा सम्पन्न भएको छ।
मङ्की हिल बीबीक्यू स्पटमा आयोजित जनजागरण सभाका अध्यक्षता किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष नीरप्रसाद जबेगूले गरेका थिए।
कार्यक्रममा वक्ताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सङ्खुवा-अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने कुरामा जोड दिएका थिए।
वक्ताहरुले लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै कुनै पनि हालतमा ऐतिहासिक लिम्बुवान भूमिलाई टुक्र्याउन नहुने कुरामा एकसाथ जोडदिँदै त्यसका लागि देश- विदेशमा रहेका सम्पूर्ण लिम्बुवानवासीलाई साथ सहयोग गर्न र एकजुट भई आन्दोलनमा उत्रनसमेत आह्वान गरेका थिए।
विविध लिम्बुवानी साँस्कृतिक कार्यक्रमहरुको समेत प्रस्तुती रहेको उक्त कार्यक्रममा पदम लाओतीको स्वागत मन्तव्य तथा चुम्लुङका सहसचिव टिका माखिमले कार्यक्रमको सञ्चालन गरेका थिए।
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङगकङ तेह्रथुम मञ्चले नेपाल चलचित्र महासंघका अध्यक्ष तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिब उदय सुब्बा इङनामको सम्मानमा भेटघाट कार्यक्रम गरेको छ।
इङनाम हङकङ आएको अवसरमा नेपाली सिने जगतमा इङनामले गरेको योगदानको कदर गर्दे सो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए।
तेह्रथुम मञ्चका अध्यक्ष त्रिभूवन लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इङनामले नेपाली चलचित्रको बारे जानकारी दिएका थिए।
इङनाम नेपाली चलचित्रको बारेमा प्रकाश पार्दै। तस्वीरः जगतअम्बु गूरूङ/ एचकेनेपाल डट कम