एस, हङकङ/ एचकेनेपाल डट कम-
कवयित्री केवल गंगा गुरुङको कविता संग्रह ‘कविता केवल गंगा गुरुङका’ बुधवार बिमोचन भएको छ। प्राज्ञ तथा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले हङकङस्थित हेनरी जी ल्योङ कम्युनिटी हलको सभा कक्षमा सञ्चालित साहित्यिक कन्सर्टमा गुरूङका कविता संग्रह विमोचन गरेका हुन्।
नेपाली स्रष्टाहरूको विदेश भ्रमणको क्रममा हङकङमा आयोजित साहित्यिक कन्सर्टमा गुरूङको कविता संग्रह विमोचन गरिएको हो। गुरुङले हङकङमा चार वर्षको अवधिमा लेखेका डायस्पोरीक चेतनाले युक्त कविताहरु उक्त संग्रह संग्रहित छन्। तस्वीरः टंक सम्वाहाम्फे / एचकेनेपाल डट कम
साहित्यिक कन्सर्टमा नेपालका स्रष्टाहरू सरुभक्त श्रेष्ठ, उषा शेरचन, भट्टराई, सरूभक्त, डा. ध्रुवेशचन्द्र रेग्मी, उषा शेरचन, कृष्ण प्रसाईं, महेन्द्र गुरूङ, मोमिला जोशी, राजेश्वरी कार्की, अरूणा वैद्य, महेश पौड्याल, प्रमोद उपाध्याय, श्याम नेपाली, नरेन्द्रराज गुरूङ र जयदेव भट्टराई सहभागी थिए।
नेपाली कलासाहित्य डटकमको पहलमा विश्वभरी नेपाली साहित्य, कला, संगीतको प्रचार प्रसारसाथै विश्व साहित्य यात्राको पहिलो थालनी हङकङ हुदै कोरिया सम्मको यात्रा तय गरेको छ। हङकङमा साहित्यिक कन्सर्ट सुकर्म ब्याण्डको संगीत गुञ्जनसंगै नेपालका वरिष्ठ कवि, कवयित्रीहरुले कविता वाचन गरेका थिए। कविता वाचनमा हङकङका कविहरु टंक सम्वाहाम्फे, देश सुब्बा, डि.बि.पालुङवा र वाल कवि निङवाशक्ति मादेन सहभागी थिए।
एस, हङकङ/ एचकेनेपाल डट कम-
नेपालका एक दर्जनभन्दा बढि साहित्यकार, पत्रकार र साँगीतिक समूहसहितको एक टोली अहिले विदेश भ्रमणमा छन्। हङकङ पहिलो गन्तव्य रहेको उक्त टोली मंगलवार हङकङ आएका हुन्।
साहित्यकार, पत्रकार तथा सुकर्म साँगीतिक समूहका गरी १४ सदस्सीय उक्त टोली हङकङ हुंदै शुक्रवार दिउंसो दक्षिण कोरिया प्रस्थान गर्ने छन्।
टोलीमा डा. गोविन्दराज भट्टराई, सरूभक्त, डा. ध्रुवेशचन्द्र रेग्मी, उषा शेरचन, कृष्ण प्रसाईं, महेन्द्र गुरूङ, मोमिला जोशी, राजेश्वरी कार्की, अरूणा वैद्य, महेश पौड्याल, प्रमोद उपाध्याय, श्याम नेपाली, नरेन्द्रराज गुरूङ र जयदेव भट्टराई छन्।
हङकङ रहने बेला बुधवार साँझ टोलीले याउ मा तेइस्थित कम्युनिटी सेन्टरको सभाकक्षमा पोएट्री कन्सर्ट म्युजिक विथ पेन्टिङ कार्यक्रम प्रस्तुत गर्र्यो। स्रष्टाहरूले साँगीतिक धुनमा कविता वाचन तथा मन्तव्य व्यक्त गरेका थिए।
साहित्यकार सरूभक्त श्रेष्ठ सुकर्म समूहसंग ‘चट्टानहरू’ शीर्षकको कविता वाचन गर्दै, भिडीयोः देवराज राई/ एचकेनेपाल डट कम
नेपाली कलासाहित्य डटकम, हङकङ एकीकृत नेपाली समाज तथा नेपाली साहित्य प्रतिष्ठान हङकङद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रम कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन नसकेको सहभागी एक दर्शकले बताए। प्रचारप्रसारको कमीले कार्यक्रमममा दर्शकको उपस्थिति न्यून थियो।
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
कास्की हंसपुर ७ स्याक्लुङ घर भइ हङकङमा रोजगारीमा रहेका स्याक्लुङबासीले स्याक्लुङकोट भ्यु टावर निर्माणका लागि सहयोगार्थ संकलित १ लाख २४ हजार १ सय २६ रुपैयाँ आज पोखरामा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ।
हङकङमास्थित डाँडा गाउंले समाजका कार्यसमिति सदस्य उदयकुमार तमुले स्याक्लुङकोट गाँउ पर्यटन विकाश समितिका उपाध्यक्ष चन्द्रप्रसाद तमुलाई हस्तान्तरण गर्नुभएको हो।
रकम हस्तान्तरण गर्दै उदयकुमार तमु
भ्यु टावरका लागि स्याक्लुङ, थुम्की, माझठाना, रुपाकोट, थप्रेकबाट रोजगारीका लागि हङकङ पुगेकाहरुसँग सहयोग संकलन गरिएको उदयकुमार तमुले जानकारी दिनुभयो।
कार्यक्रममा गुरुङ फिल्म एशोसियसनका अध्यक्ष माओत्से तमु, इन्सेकका सनबहादुर थापालगायतले जन्म ठाँउको विकासको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो।
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि स्याक्लुङकोट गाउँ विकास समिति र सेभेज स्टार युथा क्लवको पहलमा ८ लाख रुपैयाँमा निर्माण भएको टावर पैतिस फिट अग्लो रहेको छ।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
प्राय ठूलठूला कर्न्र्सटहरु मात्र आयोजना हुने युनलङ थिएटरमा जुलाई १३ तारिखका दिन खचाखच नेपालीहरुको उपस्थितिमा भानुजयन्ती सम्पन्न भयो।
आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिसँगै नेपाली समाज बसाऔँ भन्ने अभियोजना बोकेर हरेक वर्ष आयोजना हुँदै आएको भानुजयन्ती यसपालि पनि बृहतरुपमा सम्पन्न भएको हो।
कार्यक्रमको भिडीयो झलकहरूः भिडीयो ३ भागमा विभक्त छन् अन्तिम भागमा ‘भानु काठमाडौंमा’ लघु नाटक समावेश छ।
पहिलो भागः
दोस्रो भागः
‘भानु काठमाडौंमा’ लघु नाटक
फूल मञ्जरीले (नृत्य) - सृजना गुरूङ
भानु गीत- चेतमान गुरूङ र हरि श्रेष्ठ
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
नेपाली विद्यार्थी, अभिभावकहरु, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा भानुजयन्ती धुमधाम मनाइएको हो।
साँझ साढे सात बजे सुरू भएको भानुजयन्तीको मूख्य आकर्षण ‘भानु काठमाडौंमा’ लघु नाटक समेत मंचन गरिएको थियो।
रामायणको सम्पूर्ण कथालाई विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । भानुजयन्ती २०१० कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले भानुभक्त बारे चर्चा, परिचर्चा गरेका थिए।
नेपाली भाषा, साहित्य र संस्कृति नै आफ्ना सकली पहिचानहरु हुन। नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना नै आफ्नै जगेर्ना हो भन्दै भानुजयन्ती विशेषरुपमा मनाइएको थियो । भानुजयन्तीमा भानुभक्त तथा नेपाली भाषालाई सम्बोधन हुने खालका विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।
हङकङ नेपलिज फाउण्डेशन्को संयोजन तथा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु एवं शिक्षकहरुको व्यापक सक्रियता देखिएको थियो।
कार्यक्रममा भानुभक्तको जीवनी तथा नेपाली भाषाकै सेरोफेरोमा रहेर बालबालिकाहरुले आफ्ना मौलिक गीत, कविताहरु वाचन गरिका थिए । कार्यक्रममा गायक चेतमान गुरुङ र तबलावादक हरि श्रेष्ठले भानु भक्तको घाँसी गीत प्रस्तुत गरेका थिए।
पीएच केन्द्रीय प्राथमिक विद्यालय, टिके प्राथमिक विद्यालय, बेथल हाईस्कुल, पिके कलेज, सर एलिस कादुरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले कविता, जीवनी र नृत्यहरु प्रस्तुत गरेका थिए।
हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज राईले सम्बोधन गरी कार्यक्रमको आयोजना बारे स्पष्ट पार्नु भएपछि शुभारम्भको कार्यक्रममा नेपालबाहिर नेपाली भाषाको महत्व, हङकङमा नेपाली भाषाको विकासक्रम बारेमा विभिन्न विद्यालयहरुका नेपाली शिक्षकहरुले प्रष्ट पारेका थिए । भानुभक्तको देन तथा नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएका थिए।
कार्यक्रममा स्थानीय सरकारी विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रधानाध्यापक चोङ का लेउङले भानुभक्तको तस्बीरमा माल्यर्पण गरी सम्मान व्यक्त गरेका थिए। टिके प्राथमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, पीके कलेज, सर एलिस कादुरी माध्यमिक विद्यालयका छात्र छात्राहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए।
विभिन्न विद्यालयहरुले भानुजयन्तीलाई आफ्नो वार्षिक कार्यक्रम पुस्तिकामा प्रकाशित गरेका कारण कार्यक्रममा व्यापकता आएको आयोजक हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज राईले बताए।
नेपाली भाषालाई स्थापना गर्नका लागि वातावरण तयार गरेको अवस्थामा सम्बन्धित विद्यालयका चिनिया मूलका शिक्षकहरु, विदेशी मूलका शिक्षकहरुले कार्यक्रम सफल बनाउनलागि विशेष भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा उपस्थित नेपालीहरुलाई नन्दलाल थकरले धन्यवादसहित कार्यक्रमको अन्त्यौलि गरेका थिए। गत वर्षहरूमा झै यस पटक पनि अफिसियल मिडीया पार्टनरको रूपमा एचकेनेपाल डट कमले सघाएको थियो।
थप तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोस्
कोरङ्गी प्रेम, / हङकङ/ एचकेनेपाल डट कम -
हङकङमा विद्ममान नेपाली संघ संस्थाहरुमा छुट्टै पहिचान बनाउन सफल संखुवासभा समाजले सन २००८ बाट शुरु गरेको वृक्षरोपण कार्यक्रमलाई यो साल पनि निरन्तरता दिएको छ।
बिदेशमा बसे पनि हङकङ हाम्रो कर्म थलो बनेकोले हामीरुले यहाँको बिकासमा टेवा पु-याउन केही योगदान गर्नु पर्ने हुनाले यहांको वातावरणलाई प्रदुषण मुक्त राख्न यो कार्यक्रमलाई निरन्तरता दिएको कुरा अध्यक्ष हेम राईले बताउनु भयो।
गतिविधीहरुको हिसावले हाम्रा कार्यक्रमहरु नितान्त नौलो हुने भएकोले संखुवासभा समाजको छुट्टै पहिचान बनेको बताउनुहुन्छ सल्लाहकार उपेन्द्र कोरंगी। ४० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा यो वर्ष २ सय नयां बिरुवाहरु थपिएका छन्।
सधैं जागिर, घर धन्दा र भीडभाडबाट मुक्त रहन र नेपालको डांडाकांडा वन जंगल अनि उकाली ओरालीको तिर्सना मेटाउन यस्तो कार्यक्रम समय समयमा आयोजन गर्नु पर्ने कुरामा जोड दिनुहुन्छ अर्का सल्लाहकार चक्रबहादुर राई।
सबै भन्दा रोचक पक्ष त संखुवासभा जिल्ला निवासी ८० बर्षीय बृदद्वय भक्तबहादुर गुरुङ र टेकबहादुर गुरुङ सो कार्यक्रममा सहभागी हुन पाएकोमा असाध्यै खुशी देखिन्थे। समुद्र सतहबाट ३ सय ४० मीटर उचाईमा रहेको सो डांडा चढ्ने सवालमा स्वां स्वां र फ्वां फ्वां गर्दै कठिनाईको महशुस गर्दा संखुवासभा जिल्लामा गाईने हाक्पारे कुर्रै ढाडे गीतको बोल गाएर सहभागीहरु सबैलाई हौस्याएको देख्न पाइन्थ्यो।
हेम राईको संयोजन रहेको उक्त कार्यक्रमको उपाध्यक्ष तुलबहादुर गुरुङ, एमबी राई, कुमार गुरुङ, कृष्ण गुरुङ, बीरबहादुर राईले ब्यबस्थापन गरेका थिए। वार्षिक रुपमा आयोजना गरिने सो कार्यक्रम यो पटक तेश्रो हो। सन् २००८ बाट शुरु गरिएको यो कार्यक्रमलाई भबिष्यमा पनि निरन्तरता दिने बताउंछन भूपू अध्यक्ष खेमाहाङ्ग जिमी।
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ भ्रमणमा रहेकी सिंगापुरियन युवतीलाई सामुहिक बलात्कार गरेको अभियोगमा हङकङ प्रहरीले एक नेपाली युवकलाई पक्राउ गरेको छ।
हङकङ न्युजपेपर सिङ ताओ दैनिकले जनाए अनुसार गत महिना सामुहिक बलात्कारको शिकार भएकी सिंगापुरियन युवतीको उजुरीपछि ती नेपाली युवकलाई हङकङ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका नेपाली युवक तथा बलात्कृत युवतीको नाम भने सार्वजिनक गरिएको छैन।
सेन्ट्रलको लन क्वाइ फोङस्थित एक बारमा एक्लै पुगेकी २२ वर्षीया युवतीलाई त्यहाँ बारमा कार्यरत तीन जना नेपाली युवकहरूले पार्टीमा सरीक हुन आग्रह गरेपछि उनीहरूको आग्रह मान्दै उनले मदिरा पान गरेकी थिइन्। एक्लो र मदिराले लठ्ठिएकी ती युवतीलाई कजवे बे क्षेत्रमा ६ पटक बलात्कार गरेर एक्लै छाडिएको समाचारमा जनाइएको छ।
युवतीले विहान पख प्रहरीलाई उजुरी गरेपछि उनलाई परीक्षणका लागि अस्पताल लगिएको थियो। परीक्षणपछि उनीमाथि पटक पटक बलात्कार गरिएको पुष्टि भएको समाचारमा जनाएको छ।
प्रहरीले त्यस बारमा राखिएको सिसी टिभि हेरेर घटनामा संलग्न तीन जनाको पहिचान गरेको छ। प्रहरीले घटनामा संलग्न तीन जनामध्ये लन क्वाइ फोङबाट एक जनालाई पक्राउ गरेको हो।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
धरान हङकङ मञ्चको छैटौ अधिवेशनले बुद्धिमान सुनुवारको अध्यक्षतामा आइतवार नयाँ कार्य समिति चयन गरेको छ।
नयाँ कार्य समितिको उपाध्यक्षमा मधुकुमार राई, सचिव पदमा चन्द्र लिम्बू, सहसचिव पदमा दिपक रसाइँली र कोषाध्यक्षमा कृष्णवहादुर लिम्बू रहेका छन्।
कंगन जोर्डनमा सम्पन्न मञ्चको अन्य कार्यसमितिको सदस्यहरुमा प्रदीप थापा, बालकुमार राई, मनिकुमार लिम्बू, डिल्लीराज एभेङ, पुष्प राई, गोपाल थापा मगर र कुमार गुरुङ निर्विरोध निर्वाचित भए। कार्यक्रमको उद्घाटन शत्र अध्यक्ष प्रदीप थापा मगरको अध्यक्षतामा भएको थियो। सचिव चन्द्र लिम्बूले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष मधुकुमार राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रममा हङकङ नेपाली महासंघ उपाध्यक्ष विष्णु पाख्रिन प्रमुख अतिथिको रुपमा उपस्थित थिए। धरान सरोकार समाज नेपालका प्रवक्ता डम्बरकृष्ण श्रेष्ठ, भूपू अध्यक्ष किसन राई, भूपू नेपाली महासंघका अध्यक्ष हेम लिम्बू लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा भूपू अध्यक्ष प्रेम सुब्बाले अधिवेशन संचालनका लागि निर्वाचन मण्डलको अध्यक्षता गरेका थिए। भूपू अध्यक्ष इन्द्र वनेमलगायत कार्यक्रममा सक्रिय सहभागी थिए।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङमा नेपाली संघसंस्थाको विविध कार्यक्रमहरु जुलाई ४ तारिखका दिन सुनकोशी कम्पनीको तालिम कक्षमा सम्पन्न भयो।
कार्यक्रममा किराँती भोगेल एक्लेको पुस्तक विरुद्धमा सार्वजानिक गरिएको छ। कवि भोगेनको पुस्तक विरुद्धमा एक विशेष कार्यक्रममा लेखक तथा साहित्यकार गणेशवहादुरले विमोचन गर्नु भयो। सृजनशील साहित्य समाजको आयोजनामा सम्पन्न कायर्यक्रममा हङकङका नेपाली साहित्यिक पत्रकारहरुको उपस्थिति समेत देखिएको थियो।
सृजनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नरेश सुनुवारले गरेका थिए। हङकङेली नेपाली कविताको एक दशक नामक कवि गोष्ठी समेत गरिएको थियो। विमोचन समारोहमा हङकङ नेपाली साहित्य प्रतिष्ठाका अध्यक्ष टंक साम्बाहाम्फेको समेत उपस्थिति देखिएको थियो।
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङबाट मकाउका लागि उडेको हेलिकप्टर शनिवार दिउंसो भिक्टोरिया हारबरको समुद्रमा खसेको छ।
हेलिकप्टर समुद्रमा खसेपनि त्यसमा सवार चालक दलसहित १३ जना यात्रुको सकुशल उद्धार गरिएको छ।
एडब्लु १३९ हेलिकप्टर हङकङ आइल्याण्डबाट उडेको केही मिनेटमा सेङ वानको सामुद्रिक क्षेत्रमा आकस्मिक अवतरण गर्नु परेको थियो।
चालकले हेलिकप्टरको पछिल्लो भागमा ठूलो आवाज आएको सुनेपछि आपतकालिन अवतरण गर्नु परेको नागरिक उड्डयन विभागका सहायक महानिर्देशक लेङ यु कियुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
हेलिकप्टरका टुटेका भागहरू अनुसन्धानको लागि इटाली पठाइने जनाइएको छ। सो हेलिकप्टर इटालीमा निर्माण भएको हो।
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ स्थापना दिवस (जुलाई १) को अवसर पारेर हङकङ सरकारले अल्पसंख्यक समुदायबाट दुई जनालाई ‘मेडल अफ अनर’ प्रदान गर्ने निर्णय गरेको छ।
अल्पसंख्यक समुदायबाट ‘मेडल अफ अनर’ प्राप्त गर्नेहरूमा नेपालीतर्फ बुद्घिबहादुर थापा र अर्का भारतीय कानुन व्यवसायी बन्दना राजवानी रहेका छन्। यसअघि, हङकङ सरकारबाट डा. शर्मिला गुरूङ र पुष्पा गुरूङले पदक प्राप्त गरिसकेका छन्।
चीनको राष्ट्रिय दिवसका अवसरमा अगष्ट १ तारिखका दिन थापालगायत अन्यलाई पदक प्रदान गरिने छ।
हङकङ एकीकृत नेपाली समाजका अध्यक्षसमेत रहेका थापा सरकार निकट मानिन्छन्। स्थापना कालदेखि समाजको सदाबहार अध्यक्ष रहेका थापाले सरकारबाट बजेट लिएर नेपाली तथा अल्पसंख्यक जातिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्ने गर्छन्।
सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिनको सम्झनामा प्रत्येक वर्ष जुलाई १ तारिख ‘हङकङ स्थापना दिवस’को रूपमा मनाइन्छ।