Archive for September, 2010

एनआरएन हङकङ लोगो डिजाइनमा इजरायलका थापा विजयी

एस हङकङ/ एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद हङकङ (एनआरएन)ले आयोजना गरेको टिशर्ट लोगो डिजाइन प्रतियोगितामा तेल अभिभ इजरायलका कृष्ण थापा विजयी भएका छन्।

प्रतियोगितामा सहभागी ७ जनामध्ये थापाले तयार पारेको लोगो डिजाइन सर्वोत्कृष्ट घोषित भएको एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरूङले बताउनु भयो।

प्रतियोगितामा हङकङबाट पुजा सुनार, प्रिज्म गुरूङ र हरि गुरूङ सहभागी थिए। त्यसैगरी, नेपालबाट रामकृष्ण थापा, सुदिनकुमार श्रेष्ठ, शिव घले र इजरायलबाट कृष्ण थापा सहभागी थिए।


सर्वोत्कृष्ट ठहरिएका टि-सर्ट लोगो

विजयी कृष्ण थापाले नगद पुरस्कार १० हजार रूपैयाँसहित प्रमाण पत्र प्राप्त गर्ने छन्। त्यसै गरी सर्वोत्कृष्ट ठहरिएका थापाको लोगोले एनआरएन हङकङले तयार गरिन लागेको टिसर्टमा स्थान पाउने छ।

‘लोगो प्रतियोगिता एनआरएन दिवसको अवसरमा तयार गरिने टिशर्टमा छाप्ने प्रयोजनको लागि गरिएको हो’ - एनआरएन हङकङका अध्यक्ष गुरूङले भन्नु भयो। एनआरएन दिवसको प्रचारप्रसार र कार्यक्रमलाई एनआरएनमय बनाउन नेपाल र नेपाली झल्काउने लोगो अङ्कित टिसर्टको प्रयोग गरिन लागेको गुरूङले बताउंनु भयो।

एनआरएन हङकङले नेपाली मेलासहित एनआरएन दिवस भव्यरूपमा मनाइने तयारी गरिरहेको छ। अक्टोबर १० तारिख काउलुन पार्क पियाजामा विविध कार्यक्रमसहित ‘नेपाली मेला २०१०’ मनाउने तर्खरमा नेपाली तथा विदेशीहरू जुटेका छन्।

एनआरएन दिवसमा नेपाली कला, संस्कृतिको झाँकीमात्र नभएर दक्षिण एसियाली देशहरूका कला, संस्कृतिहरू समेत प्रदर्शन हुने एनआरएन हङकङका उपाध्यक्ष दुर्गा (एनडी) गुरूङले बताउनुभयो। विहान १० बजेदेखि राति १० बजेसम्म निरन्तर चलिरहने मेलामा ‘नेपाल पर्यटन वर्ष २०११’ को व्यापक प्रचारप्रसार गरिने उपाध्यक्ष गुरूङले बताउनु भयो।

यो पनि पढ्नुहोस्
‘एनआरएन दिवस’ भव्यरूपले मनाइने

Recent Videos:

Popularity: 3%

2 comments September 28th, 2010

मोना, हङकङको पाँचौ अधिवेशन सम्पन्न

ईन्द्र थापा मगर/एचकेनेपाल डट कम -
जोर्डनस्थित कंगन रेष्टुरेण्टमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको पाँचौ अधिवेशनले पुन: दल सेर्बुजाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको छ।

कार्यसमितिमा अध्यक्ष दल सेर्बुजा, उपाध्यक्ष पदम पाइजा, सचिव लोकेश वोगटी, सहसचिव रुपा चोचाङ्गी र कोषाध्यक्ष कर्ण पुन तथा सदस्यहरुमा बीना पुन, तुलादेवी तिलिजा, प्रमोद गिरी, रेणु थापा, शीला जुग्जाली, खेम जुग्जाली, राजु रोका(मन), पदम शेरचन, वीर बहादुर घर्तिमगर र लिल बहादुर रोका छन्।

हङकङका लागि नेपाली महावाणिज्यदूत विनोदकुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रको अध्यक्षता संघका अध्यक्ष दल सेर्बुजाले गरेका थिए भने संचालन सचिव लोकेश वोगटीले र स्वागत भाषण सहसचिव रुपा चोचाङ्गीले गरेका थिए। विशेष अतिथिहरुमा मोना अन्तराष्ट्र समितिका सदस्य तुल्मराज रामजाली र एनआरएनए हङकङका अध्यक्ष त्रिलोक गुरुङ थिए भने अतिथिहरुमा मोना, हङकङका आजीवन सदस्य टिका गुरुङ, थकाली समाजका अध्यक्ष तथा मोना हङकङका सल्लाहकार हर्क नारायण तुलाचन, लम्जुङ सेवा समितिका अध्यक्ष सत्य घले, पुन मगर समाज हङकङका अध्यक्ष राजु गर्बुजा, तमु ट्युह्लल हङकङ सचिव मिनबहादुर गुरुङ र पर्वत मंचका अध्यक्ष दुर्गा गुरुङ थिए।

उक्त अवसरमा अधिवेशनको सफलताको शुभकामना मन्तव्य सबै अतिथिहरुले दिएका थिए भने प्रमुख अतिथि महावाणिज्यदूत विनोदकुमार उपाध्यायले संघको दिर्घकालिन सदस्य बनेका रुपा रामजालीलाई कदर पत्र प्रदान गरेका थिए। त्यसपछि अध्यक्ष दल सेर्बुजाले अधिवेशन सफल पार्न उपस्थित सबैलाई औपचारिक रुपमा धन्यवाद दिदै वर्तमान समिति भंग गर्दै वन्द सत्र संचालन गर्न अध्यक्ष मण्डलको नामावली प्रस्तुत् गरेपछि खुला सत्रको कार्यक्रम समापन गरेका थिए।

शुरु भएको वन्द सत्रको अध्यक्षता हर्कनारायण तुलाचनले गरेका थिए भने संचालन अध्यक्ष मण्डलका सदस्य टेक पुनले गरेका थिए। अर्का अध्यक्ष मण्डलका सदस्य ई. हर्कमान मगर थिए। निवर्तमान सचिव लोकेश वोगटीले प्रस्तुत् गरेको सांगठनिक प्रतिवेदन उपर छलफलपछि सुझावसहित सर्वसम्मत पास भएको थियो भने निवर्तमान कोषाध्यक्ष निजी कारणले गर्दा उपस्थित हुन नसेको हुदाँ ईन्द्र एलजी थापामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर सामान्य सुझावसहित पारित भएको थियो।

विधान संशोधन समितिका संयोजक तुल्मराज रामजालीले धेरै संशोधित विधान प्रस्तुत् गरेका थिए। ब्यापक छलफलपछि संशोधित विधान पारित भएको थियो। ब्यापकरुपमा संशोधन गरिएको उक्त विधान अनुसार अब कार्य समितिको कार्यकाल ३ वर्ष, हङकङ छोडेर जाने साधारण, दिर्घकालिन र आजीवन सदस्यहरुको क्रमश ६, महिना १ वर्ष र १८ महिनापछि निष्कृय हुने, संस्थाले दिने सहयोग हङकङ बाहेक नेपालमा २०% - ५०% र अन्य देशमा हङकङ सरह पाउने, सहसमिति र विभाग रहेकोमा अब विभाग मात्र रहेन, विभिन्न प्रकारका कोषहरु स्थापना गर्न सकिने आदि विधानमा व्यवस्था गरिएको छ।

दोस्रो चरणमा अध्यक्ष मण्डलले नै निर्वाचनको जिम्मेबारी पूरा गरेका थिए। सर्वसम्मतरुपमा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन भएको थियो। माथि उल्लेखित नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष हर्कनारायण तुलाचनले गोपनियताको सपथ गराएका थिए। त्यसअवसरमा हल्का खानाको परिकार तथा पेय पदार्थहरु निशुल्क व्यवस्था गरेको थियो।

Recent Videos:

Popularity: 2%

Add comment September 27th, 2010

एभरेष्ट तेक्वान्दोका खेलाडीहरुलाई ५ पदक

एस हङकङ/ एचकेनेपाल डट कम-
हङकङ तेक्वान्दो एसोसिएसनको संयोजनमा आइतवार सम्पन्न प्रतियोगितामा एभरेष्ट तेक्वान्दो एकेडमीका खेलाडीहरुले ५ पदक प्राप्त गरेका छन्।

हङकङस्थित लाम तिन स्पोर्ट सेन्टरमा ६ वर्षदेखि माथि सबै उमेरका महिला तथा पुरुषबीच खुल्ला प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा मास्टर रविनकुमार नाल्मोको नेतृत्वमा एभरेष्ट तेक्वान्दोका १० खेलाडीहरू सहभागी थिए। पुम्से (प्याटन)मा खेलाडी सुवित सम्वाहाम्फे र मुस्वी तानीयाले स्वर्ण पदक जितेका छन्। त्यसैगरी, सुवान्तीले रजत तथा सुतिनी र मिलन राईले कास्य पदक जितेका छन्।

तेक्वान्दो पुम्से(प्याटन) खेलमा हङकङ तेक्वान्दो राष्ट्रिय स्पोर्ट काउन्सिलमा आवद्ध क्लवका ५ सय भन्दा खेलाडीहरुले सहभागिता जनाएका थिए।

तस्वीरः टंक सम्वाहाम्फे / एचकेनेपाल डट कम


Popularity: 2%

Add comment September 27th, 2010

सघन तुवाँलो विरुद्ध षडयन्त्र नहोस्

भूपेन्द्र चेम्जोङ, हङकङ-
हङकङ प्रवासका उपन्यासकार रामकृष्ण वान्तवा उनकै आफ्नै उपन्यास सघन तुवाँलोको कारण निक्कै चर्चामा छन्। उनको उपन्यास सघन तुवाँलो त्रिभुवन विश्व विद्यालयको स्नातकोत्तर तहको ऐच्छिक नवौपत्रको लागि डायस्पोरिक अध्ययन शीर्षकको पाठ्यसामग्रीमा समावेश भएको कुरा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरद्वारा रामकृष्ण वान्तवालाई पत्रद्वारा जानकारी गराएपछि रामकृण वान्तवा एकाएक चर्चामा आएका थिए।

यो चर्चा नसेलाउँदै उनको उपन्यास त्रिविविको पाठ्यक्रममा परेको छैन भन्ने हल्लाले फेरि पनि चर्चाको विषयमा पारे लेखक तथा कृति दुवैलाई। सघन तुँवालो उपन्यास पाठ्यसामग्रीको रुपमा नपरेको भन्दै एकजना वेनामेको नाममा केही व्यक्तिहरुले अख्तियारमा मुद्दा हालेको खवरले त्रिभुवन विश्वविद्यालय र नेपाली विभाग प्रमुखलाई पनि विवादमा पुर्याएको हो। कुनै पनि पुस्तक त्रिविविको पाठ्यक्रम पर्नु अगावै छनोटका थुप्रै चरणहरु पार गर्नु पर्ने हुन्छ । यो स्वभाविक हो। सर्वस्वीकृत पनि हो। तर सम्वन्धित निकायवाट पुस्तक पाठ्यक्रममा परेको भन्ने लिखित जानकारी लेखकलाई गराइसकेपछि लेखकले आफ्नो कृति पाठ्यपुस्तकमा समावेश भएको भनेर जान्नुपर्ने हुन्छ। त्रिभुवन विश्वविद्यालय केन्द्रिय नेपाली विभागका विभागीय प्रमुखले नै हस्ताक्षर गरेर ‘सघन तुवाँलो’ पाठ्यसामग्रीको रुपमा परेको व्यहोराको पत्र दिइसकेपछि उपन्यासकार वान्तवाले आफ्नो पुस्तक त्रिविविको पाठ्यसामग्रीको रुपमा समावेश भएको भन्नु किन्चित गल्ति होइन। यतिभएपछि उनले आफ्नो खुशी साथी भाइहरुलाई किन नवाँड्ने - साथी भाइ ,शुभचिन्तकहरुले किन वधाई नदिने उनलाई - वधाई दिनलाई नेपाली विषयको एमए कै विद्यार्थी भएर सघन तुँवालो पाठ्यक्रममा परेको छ कि छैन भनेर जाँचेर मात्र वधाई दिनु पर्ने हो र - त्यो अवश्य होइन । तर्सथ रामकृष्णले खुशी साटा साट गर्नु, साथी भाइ आफन्तहरुले वधाई दिनु एकदमै स्वभाविक प्रकृयाहरु हुन् । वान्तवाले कसाइलाई भ्रममा पार्न नकरात्मक प्रचार गरेको ठहरिदैन । कसैले त्यही प्रमाणपत्रको आधारमा वान्तवाको विषयमा लेख वा समाचार प्रकाशन गर्छ भनेपनि कसैलाई धोका दिएको ठहरिदैन।

वैधानिकताको कुरा
स्नातकोत्तर तहको नेपाली विषयको पाठ्यक्रममा समावेश हुनलाई जुनसुकै लामो वा जटिल प्रकृया पार गर्नु पर्ने भएतापनि त्यसलाई अनुमोदन गरेर लागु गर्ने अन्तिम निकाय नेपाली केन्दीय विभाग नै हो । कृनै कृति त्रिविविको नेपाली विषयको पाठ्क्रममा परिसकेपछि सम्वन्धित लेखक वा उपन्यासकार वा रचनाकारलाई जानकारी गराउने वैधानिक संस्था पनि केन्द्रिय नेपाली विभाग नै हो । यहाँ नेपाली केन्द्रीय विभाग भन्नु र त्रिभुवन विश्व विद्यालय भन्नु एकै हुन् । त्रिभुवन विश्व विद्यालयले कसैको पुस्तक कुनै तहको पाठ्यक्रममा पर्यो भनेर नेपाली केन्द्रीय विभागको लेटर प्याडमा विभागीय प्रमुखले हस्ताक्षर गरेर विभागको छाप लगाई प्रमाणपत्र दिइसकेपछि फेरि अर्कोचोटि ‘सरी परेको छैन भूलवस दिइएछ’ भन्न मिल्छ - त्रिभुवन विश्व विद्यालयले दिएको कुनै ग्रेजुएसनकेा र्सर्टिफिकेट पछिवाट कपी जाँच गर्ने मास्टरले राम्रो जाँच गरेनछ तर्सथ तिमी फेल भयौ तिम्रो सर्टिफिकेट फिर्ता भन्न मिल्छ र ? नेपाली विभागका विभागीय प्रमुख प्राध्यापक राजेन्द्र सुवेदी केवल माध्यम मात्र हुन्। उनले गरेका हरेक आधिकारिक कागजहरु त्रिभुवन विश्वविद्यालयका हुन्छन।उनले विभागीय प्रमुखको हैसियतले दिएका सवै प्रमाणपत्रहरु त्रिभुवन विश्व विद्यालयले दिएको ठहरिन्छ । तर्सथ त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभागको लेटरप्याडमा विभागीय प्रमुखले हस्ताक्षर गरेर दिएको कागजको जिम्मेवार त्रिभुवन विश्व विद्यालय हुन्छ । राजेन्द्र सुवेदीले नदिनु पर्ने मान्छेलाई दियो राजेन्द्र सुवेदीले गल्तिले दिइएछ सघन तुँवालो पाठ्पुस्तकमा पर्दैन भनेर फेरि र्सर्टिफिकेट फिर्ता गर्न मिल्दैन । त्रिभुवन विश्वविद्यालयले पत्रलेख्न प्रकृया पुर्यायो पुर्याएन त्यो त विश्वविद्यालयको आन्तरिक मामला हो छलफल र वहसको कुरा हो । प्रकृया नपुर्याई प्रमाणपत्र दिएको हो भने प्राध्यपक सुवेदी कारवाहीमा पर्न सक्छन् । तर वान्तवाको प्रमाणपत्र फिर्ता हुन सक्दैन । पुस्तक स्तरिय भए नभएको र कुरा प्रम्ााणपत्र दिन अगावै निक्र्यौल त्रिविवि नेपाली केन्द्रीय विभागले गर्ने कुरा हो । पुस्तक स्तरीय भएन,सघन तुँवालो उपन्यास पाठ्यक्रममा पारिनु हुन्न आदि कुराहरु प्रमाणपत्र प्राप्त भइसकेको अवस्थामा वैधानिक रुपमा उठन सक्दैनन् । छानवीन गरिसकेपछि प्रमाणपत्र दिइन्छ तर प्रमाणपत्र दिइसकेपछि छानवीन हुँदैन। तसर्थ सघन तुँवालो उपन्यास भोलि षडयन्त्रपूर्वक पाठ्यक्रममा समावेश नगरिएको अवस्थामा त्रिभुवन विश्वविद्यालयको विरुद्ध प्रकाशक वा वान्तवाले मुद्दा हाल्न सक्छन् । यसको लागि प्रकाशक वा वान्तवाले पाठ्यक्रमको पूर्ण खाका आइन्जेलसम्म पर्खनु पर्दछ । यदि सघन तुँवालो पाठ्यक्रममा पारिएको रहेनछ भने मात्र कदम अगाडि वढाउनु पर्ने हुन्छ।

षड्यन्त्रको गन्ध
धेरै लामो जानु पदैन। नेपाली राष्ट्रिय गान छनोट सम्म पुग्दा पुग्छ । नेपाली राष्ट्रिय गान छनोट समितिले व्याकुल माइलाको राष्ट्रिय गीत छनोट गर्यो,न राष्ट्रकवि मानिएका माधव घिमिरेको गीत नै चुनियो न कुनै अन्य विव्दानको नै । जव लेखक व्याकुल माइला राइंको छोरो हो भन्ने थाहा पाइसकेपछि केही कथित विव्दान जाति वादीहरुले त्यस समितिले छनोट गरेको भएन,अर्कै समति गठन गर्नु पर्दछ भन्ने आवाज उठाए । माइलालाई राजावादी समेत भने । उनीहरुको आशय राईको छोराले यतिका गीत लेख्न सक्दैन र राईको छोरोको गीत सवै नेपालीहरुको राष्ट्रगानको रुपमा राख्नु उचित हुँदैन भन्ने नै थियो । उनीहरुले झण्डै माइलालाई खाडलमा हाले । अन्तिममा जनस्तरवाट छनोट समितिले छानेको गीत नै हुनुपर्दछ भन्ने दवाव सृजना हुन थालेपछि वल्ल माइलको गीत स्वीकारिएको थियो । यही कुरा रामकृष्ण वान्तवामा लागु नहोला भन्न सकिन्न। नेपाली डायस्पोरामा लेख्ने कैयो अन्य गैर जनजातिहरु विदेशमा वसोवास गर्दछन् । सयौ पुस्तकहरु लेखिएकाछन् । ती पुस्तकहरुलाई छोडेर वान्तवाको उपन्यास कसरी पर्न सक्छ भन्ने एक किसिमको जातीय अहमता यसमा लुकेको हुनसकने सम्भावना पनि छ । अख्तियारमा उजुर गर्ने व्यक्तिहरु नै वेनामे हुनु अर्को शंकाको विषय हो । संकायभित्रै रहेका प्राध्यपाकज्यूहरुको आफ्ना कुनै आफन्तका डायस्पोरिक उपन्यासहरु पार्नलाई रामकृष्ण वान्तवालाई खाडलमा हाल्ने कोशिस गरिएको भन्न सकिने अवस्था पनि विद्यामान छ। रामकृष्ण वान्तवाको किताव त्रिविको पाठ्यक्रममा परेको भन्ने खवर आएको त ६ महीना वितिसक्यो । के त्रिविविका कुनै कर्मचारी वा प्राध्यपकहरु कान्तिपुर दैनिक कोहिले हेर्दैनन् । राजेन्द्र सुवेदीले अख्तियार दुरुपयोग गरे भन्ने वल्ल एकहप्ता अगाडि मात्र किन थाहा पाएर अख्तियार गए । प्राध्यापक सुवेदीले अख्तियार दुरुपयोग गरेको चिन्ता हो भने त कान्तिपुरमा समाचार निस्केको भोलिपल्टै मुद्दा हाल्न नगएर ६ महिना किन पर्खन पर्यो र -त्यो पनि वेनामेले मुद्दा लगाउने । यदि वास्तविक रुपमा राजेन्द्र सुवेदीले अख्तियार दुरुपयोग गरेको चिन्ता भएको भए र त्रिभुवन विश्वविद्यालय वा राजेन्द्र सुवेदीलाई सच्याउन चाहेको भए पानी मरुवा भएर वान्तवालाई पत्र दिइएको ६ महीनापछि वेनामे निवेदन हाल्नु पर्ने अवस्था थिएन ।साथी प्रकाशनव्दारा त्रिविवि पाठ्यक्रमो लागि भनेर छापिएका पुस्तकप्रतिहरु जफत गर्नुपर्ने जुन वेनामेको जिकिर छ त्यो पनि सरारस गलत कुरो हो । वान्तवाले आफ्नो पुस्तक त्रिविविको पाठ्यक्रममा समावेश भएको चिठी पाइसकेपछि छापेका पुस्तकहरुहुन् यी । त्रिविविको पत्रवमोजिम छापिएको पुस्तकहरु कसरी जफत गर्न मिल्छ - वान्तवा जस्ता सयौ निरिह व्यक्तिहरुलाई नातावाद कृपावादको छालले हुत्याएर सागरको कुनामा थान्को लाइसकेपछि फेरि अर्को शिकार रामकृष्ण वान्तवा वनाउन खोजिदैछ।

हामी भित्रको सोच
रामकृष्ण वान्तवाको सघन तुँवालो त्रिभुवन विश्वविद्यालयको पाठ्यसामग्रीमा पर्नु हङकङवासी सवैको खुशीको विषय हो । हामी सवैले खुशी मान्नु पर्दछ । हामी सवैले रामकृष्ण वान्तवालाई वधाई दिनुपर्ने विषय हो । तर रामकृष्ण वान्तवाको उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यसामग्रीको स्पमा समावेश हुनलाग्दा हामीलाई किन दुःखलाग्छ । हामी हङकङवासीहरु केही व्यक्तिहरु किन रामकृष्ण वान्तवाको खुट्टा वेस्सरी तानिरहेका छौ । कथित वेनामेहरुले वान्तवाको उपन्यास पाठ्यक्रममा समावेश गर्नुर्ु हुन्न भन्दै त्रिविविको निर्णयलाई उल्टाउन अख्तियारमा मुद्दा हाल्न पुग्दा हामी किन गन्हाउने काखी वजाएर वसेका छौं । हामी हङकङवासीहरुले त्रिविविले दिएको प्रमाणपत्रको आधारमा हङकङवासी लेखकको प्रतीरक्ष गर्न हामी किन अनकनाइरहेका छौ? के वेनामेहरुको पंक्तिमा हाम्रो नाम मुछिएको त छैन? भोलि वान्तवालाई खाने वाघले आफूलाई खायो भने नि?

यो पनि पढ्नुहोस्
‘सघन तुवाँलो’ विवादमा/ प्रा. सुवेदीविरुद्ध अख्तियारमा उजुरी

Popularity: 3%

3 comments September 24th, 2010

तीजले दिएको सन्देश- भूपेन्द्र चेम्जोङ

भूपेन्द्र चेम्जोङ/ एचकेनेपाल डट कम-
हिन्दू नेपाली नारीहरुको चाड तीज हालै मात्र समाप्त भएकोछ। तीज पर्व नेपाली हिन्दू नारीहरुको एकमात्र महान् चाड हो। तीजपर्वलाई नेपालका विग हाउस भनिने मिडियाहरुले अत्यन्तै चर्चामा ल्याए। देशमा समतामूलक वहुसंस्कृतिक तथा वहुभाषिक तथा भौगोलिक विविधतालाई सम्वोधन गर्दै धर्म निरपेक्ष संविधान वनाउने तरखरमा नेपालको संविधानसभा रहेको अवस्थामा आफूलाई विग हाउस भन्ने तर जहिले एकीकृत नेपाल राज्य र जातीय स्वयत्ताको विरोधी आवाजहरुको नेतृत्व गर्दै आएका मिडिया तथा सरकारी संचार माध्यमहरुले तीजलाई अतिरंजित ढंगले प्रचार प्रसार गरे।

सानातीना तीजका कार्यक्रमहरुमा समेत मंत्री महोदयहरु उपस्थिति भएर तीजको महिमा गाए। सम्पूर्ण नेपाली महिलाहरुको एकमात्र तीज भने। यस्ता क्रियाकलापले नेपालका सत्ताधारीहरु पुनः धर्म सापेक्ष राज्यको लागि जनमत जुटाउन लागेकाछन् भन्ने अनुमान हामी गर्न सक्छौ। सत्ताच्युत भएका पूर्वराजा ज्ञानेन्द्र आफू हिन्दू धर्ममार्फत सत्तामा छिर्ने प्रयास गरिरहँदा नेपाल सरकारले तीजलाई प्राथमिकताकासाथ सवै नेपाली नारीहरुको नाममा मनाइरहनु कागताली मात्र नहुन सक्छ। तीज वा दशैं जस्तै ल्होछार,चासोक तङनाम,भिन्तुना वा अन्य चाडहरुलाई नेपालीहरुको महान् चाड भनेर यी विग मिडियाहरुले वा नेपालका मंत्रीहरुले अवश्य भन्ने छैनन् । उनीहरुले किरातीहरुको चाड चासोक तङनाम, वौद्ध मार्गीहरुको चाड ल्होछार वा गुरुङ वा तामाङको ल्होछार भनेर अवश्य अगाडि विशेषण झुण्डिनेछन्। तर्सथ हामीसंग दुइवटा नेपाली चाडहरु हुने भए एक थरी चाडहरु नेपालीका अर्का थरीका चाडहरु जातीय चाडहरु जसलाई नेपाली चाड भन्न हिकिचाइन्छ। यसले एक किसिमको विभेदको सृजना गर्नेछ। देश भित्र रहेको चाड पर्वहरुको विभेद जसलाई हिन्दू संस्कृतिको दवदवा भन्न सकिन्छ। भाषाको कुरामा पनि त्यही कुरा लागु गर्न खोजिएको छ । खस नेपाली भाषालाई नेपाली राष्ट्रिय भाषा र अन्य जातजातिका भाषाहरुलाई राष्ट्रभाषा। यसरी भाषिक रुपमा समेत विभेद सृजना गरिदैआएको छ। जुनकुरा आजको समानुपातिक तथा समावेसी समाजमा अस्वीकार्य हुन्छ।

नेपाल वाहिर जानेहो भने पनि आज त्यही कुराको झल्को पाउँछौ। आफूलाई विग मीडिया भन्नेहरुले आफ्ना वेवसाईटका टाउकामा ठूलाठूला अक्षरले तीज चाडको प्रचार प्रसार गरे। तीज पर्व अति उत्साह, भव्य र धुमधामका साथ मनाइयो भनेर जोड दिएका पाइयो। यसवाट के वुझ्न सकिन्छ भने विदेशी मुलुकमा नेपाली संस्कृति भनेर चिन्नलाई हिन्दू सँस्कृतिलाई अगाडि ल्याउने प्रयत्नमा भइरहेको भन्ने स्पष्ट वुझन सकिन्छ। विडम्वनाको कुरो आफूलाई जनजाति आदिवासी हुँ भन्नेहरुद्वारा नै तीजको विषयलाई लिएर सर्वसाधारणलाई अलमल्याउने प्रयत्न गरिदैछ। हङकङका आदिवासी जनजाति भनिने केही लेखकहरु समेतले तीजपर्वलाई नेपाली चाडको रुपमा स्थापित गर्न र हिन्दू धर्म नेपाली आदिवासी नारीहरुमा स्लोप्वाइजनको रुपमा भित्र्याउन लागिपरेकाछन्। कतिले वुझेर वा कतिले नवुझेर।

नमोवुद्ध आमा समूहले तीज पर्वको आयोजना गरेको पाइयो र सो संस्थाका अध्यक्ष तीज मेलामा प्रमुख अतिथि भए। त्यस्तै यस वर्षको आदिवासी चेली घोषित व्यक्तिले तीजपर्वमा संचालकको भूमिका निभाइन्। नेपाली आदवासी जनजाति महासंघका उपाध्यक्ष वाग्लुङगे तीजे मेलामा प्रमुख अतिथि।

नमोवुद्ध आमा समूह नामैले वौद्ध धर्म अन्तरगतको संस्था हो। यसको वौद्ध गुम्वामा वुद्धको पूजा आजा हुन्छ। यस संस्थाको उद्धेश्य वुद्ध धर्मलाई परिस्कृत गर्नु र गौतम वुद्धको सन्देश विश्वभरि फैलाउनु नै हो तर हिन्दू धर्मको प्रचार प्रसार गर्नु र आदिवासी महिलाहरुमा हिन्दू धर्म प्रचार गर्नु पक्कै होइन। त्यसैले नमोवुद्ध आमासमूहको कृयाकलापले नेपाली समुदायमा सन्देश के दिन सक्ला एकचोटि गम्भीर भएर सोच्नु पर्ला कि? त्यस्तै नेपाली आदिवासीहरु चेलीहरुलाई दिइने सर्वोच्च सम्मान नेपाली आदिवासी चेली हो हङकङको परिवेशमा। आदिवासी चेलीले आदिवासीहरुको चाडलाई वढाउनको सट्टा हिन्दू नारीहरुको चाडलाई नेपाली सवै नारीहरुको चाड भन्दै आदिवासी चेलीहरुमा हिन्दू धर्मको मोह फैलाउने सहयोग गर्न हुन्छ कि हुन्न? नेपाली आदिवासी जनजाति महासंघद्वारा सम्मान गरिएका आदिवासी चेलीहरुले महासंघको कुनै अनुसाशनको पालना गर्नु नपर्ने हो र? हङकङमा हुने गरेका मिस नेपाल हङकङ, मिस पर्ल, ट्यालेन्ट हन्ट जस्ता विजेताहरुले त सामान्य रुपमा एक वर्षसम्म केही न केही नियम पालन गर्नुपर्ने हुन्छ। कुनै त्यस्ता विवादास्पद कार्यक्रमहरुको उपस्थितिमा सम्वन्धित संस्थाको अनुमति लिनुपर्ने हुन्छ। हाम्रा आदिवासी चेली कल्पना तुम्व्रोकले आदिवासी जनजाति महासंघवाट अनुमति लिइन कि लिइनन् ?

आज आफूलाई स्वतन्त्र भन्ने संस्था मोना, फियोना तथा वाग्लुङ समाज जस्ता आदिवासी जनजातिहरुको वाहुल्य भएको संस्थाहरुले तीज पर्वलाई सम्पूर्ण नेपाली नारीहरुको पर्वको रुपमा स्थापित गर्नु खोज्नु कतै आफ्नो पहिचान आफै गुमाउन सहयोग गर्नु त होइन ? फेरि ती संस्थाहरुले तीज तथा दशै तिहार वाहेक अन्य आदिवासी जन्य नेपाली पर्वहरुको वास्ता गरेको पनि देखिएको छैन। त्यसो भए अव ती संस्थाहरुलाई हामीले कसरी वुझ्ने ? आज नेपाल राज्यले समेत जात जाति तथा धर्मका चार्डपर्वहरुलाई मान्यता दिदै धमाधम ती जाति या धर्मावलम्वीहरुलाई ती दिनहरुमा राष्ट्रिय विदा घोषणा गर्न लागेको अवस्थामा विदेशमा चाहि के नेपाली संस्कृति भन्नाले हिन्दू संस्कृति वाहेक अरु संस्कृति स्थापना गर्ने संभावना कतै देखिएको छैन ? त्यसमा ९८ प्रतिशत नेपाली आदिवासी वसोवास गर्ने हङकङमा हिन्दू चाड वाहेक अन्य नेपाली चाड हङकङमा स्थापित हुन सक्दैन? यी यावत प्रश्नहरु जन्मन वाध्य भएकाछन् हाम्रा क्रियाकलापले।

आदिवासी नारीहरु परपूर्वदेखि स्वतन्त्र छन्। उनीहरुमा वेहुला खोज्ने संस्कार कहिले छैन। वरु वेहुलाले दुलही खोज्दछ। आदिवासी वुहारीले सासु ससुरा वा श्रीमान्संग चित्त नवुझेको कुरा तुरुन्तै जवाफ दिन मिल्ने हुनाले विलौना पोख्नको लागि तीज पर्खन पर्दैन। उनीहरुमा रातो सारी, चुरा, टीका वा पोते अनिवार्य हुँदैन। तर, तीजमा देखा सिखी गर्दै रातो साडी अनि चुरा पोते र सिन्दूरको चलनले भविष्यम त्यही संस्कृति स्थापित भएर उनीहरुको वास्तविक संस्कृति धरासायी हुने धेरै सम्भावना वढेर गएको छ। पृथ्वीनारायणकै सोचाइमा हिन्दू चाडहरुलाई विदेशमा स्थापित गर्न खोजिदैछ। एकताको छाला ओडेर हिन्दू संस्कृति नेपाली संस्कृतिको नाममा उभाइनु खोजिदैछ। यो अत्यन्तै दुखदायी र जातीय हैकमको चरम सीमा हो।

तसर्थ चाड पर्व आयोजना हुँदा आफ्नो पहिचान खोज्नु जरुरी छ। तीज पर्व, दशैं तिहार, इद, उधौली, चासोक, ल्होछा वा माघे संक्रान्ति वा छट पर्व सवै नेपालीका चाडहरु हुन् सवैले स्वेच्छाले मनाउन पाउनु पर्दछ र रमाउनु पाउनु पर्दछ तर कुन चाड कुन जाति वा विशेष धर्मको पहिचान हो भन्ने कुरालाई भुल्न हुन्न। किनभने नेपाली भन्ने राष्ट्रियता एक सिंगो एक जाति होइन। यहाँका संघसंस्थाहरुले चार्डपर्ववहरु मनाउंदा समानुपातिक तथा समतामूलकताको सिद्धान्त अपनाउनुपर्दछ।

(लेखक आदिवासी जनजाति महासंघ, हङकङका पूर्व अध्यक्ष तथा सनराईज पत्रिकाका सम्पादक हुन्। सं.)

Popularity: 3%

9 comments September 20th, 2010

मञ्चसम्बद्ध लिम्बुवान हङकङ आइल्याण्ड इलाका समिति गठन

श्याम इङ्नाम, हङकङ/ एचकेनेपाल डट कम-
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्यसमितिको सीसीओ अभियानअन्तर्गत हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्यसमिति हालै गठन भएको छ।

संघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण-सप्तकोशी नदीपूर्वको नौं जिल्लाहरुसहितको हुनुपर्छ भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सी.सी.ओ. अभियानअन्तर्गत् हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समिति गठन भएको हो।

हङकङ आइल्याण्डस्थित वान्चाईमा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको पहलमा भएको बृहत भेलाले कुमार हाङस्रुङ्को अध्यक्षतामा हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समिति गठन भएको हो।

भेलामा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष नबराज काम्बाङ्को आथित्य र कार्यक्रम सञ्चालन बी.बी. लिम्बूबाट भएको थियो।

हङकङ आइल्याण्ड क्षेत्रीय कार्यसमिति हङकङका पदाधिकारहरू निम्न बमोजिम छन्:
१. अध्यक्षः कुमार हाङस्रुङ
२. उपाध्यक्षः डम्बर कुमार काम्बाङ्
३. सचिवः उर्मिला बेघा
४. अर्थसचिवः मोहन केदेम
५. सङ्गठन सचिवः बमबहादुर काम्बाङ्
६. सदस्यः डम्बर चोङ्बाङ लिम्बू
७. सदस्यः हेम येङ्देन
८. सदस्यः योगेन्द्र पन्धाक
९. सदस्यः नेत्र बेघा
१०. सदस्यः अशोक माबॊ
११. सदस्यः नविन पन्धाक
१२. सदस्यः हिमाल केदेम
१३. सल्लाहकारः सुरेन्द्र योङ्हाङ
१४. सल्लाहकारः कुलबहादुर एभेङ
१५. सल्लाहकारः कुलमान तामाङ
१६. सल्लाहकारः काजिमान थेबे

Popularity: 2%

Add comment September 20th, 2010

‘सघन तुवाँलो’ विवादमा/ प्रा. सुवेदीविरुद्ध अख्तियारमा उजुरी

साहित्यप्रेमी, काठमाडौं/ एचकेनेपाल डट कम-
त्रिभुवन विश्वविद्यालयको मानविकी संकायतर्फ केन्द्रिय नेपाली विभाग प्रमुख प्रा. राजेन्द्र सुवेदीले आफ्नो पदको दूरुपयोग गर्दै अनुचित कार्य गरेको आरोप लगाउँदै उनीविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

उजुरीमा उनलाई अख्तियार दूरुपयोग ऐन २०४८को दफा ३ अनुसार कारवाही गर्न समेत माग गरिएको छ।

उजुरी अनुसार हाल निर्माणाधीन अवस्थामा रहेको नेपाली बिषयको स्नातकोत्तर तह पाठ्यक्रममा पाठ्यक्रमले अन्तिम स्वरुप लिन बाँकी रहेको अवस्थामा सुवेदीले आफ्नो पदको दूरुपयोग गर्दै २०६६ साल चैत १६ गतेको मितिमा एक पत्र लेखी हङकङबासी रामकृष्ण बान्तवालाई उनको उपन्यास ‘सघन तुवाँलो’ स्नातकोत्तर तहको दोस्रो बर्षको नवौं पत्रमा रहेको डायास्पोरिक अध्ययनका लागि पाठ्य सामग्रीका रुपमा समावेश भएको जानकारी गराएका थिए।

त्रिविको पाठ्यक्रम छनौट प्रक्रिया अनुसार कार्यकारीका रुपमा रहेको विषय समितिको स्थायी समितिले निर्धारण गरेको पाठयक्रम विषय समितिमा लैजानुपर्ने तथा विषय समितिले पास गरेको पाठ्यक्रम फ्याकल्टी बोर्ड हुदै प्राज्ञिक परिषदमा पुग्ने र प्राज्ञिक परिषदले निर्णय गरेपछि मात्रै पाठ्यक्रममा लागू हुने प्रावधानविपरित कुनै वैधानिक निर्णय बिनानै प्रा. सुवेदीले सघन तुवाँलो नामको उपन्यासका लेखकलाई पत्र पठाएर उनको पुस्तक पाठ्यसामग्रीको रुपमा समावेश गरिएको घोषणा गरेपछि उनीविरुद्ध सार्वजनिक पदको दुरुपयोग गर्दै अनुचित कार्य गरेको भनी उनीविरुद्ध अख्तियारमा गत मंगलबार उजुरी पत्र दर्ता गरिएको हो।

उनको पत्रको आधारमा उपन्यासका लेखक हषिर्त हुदै हङकङमा सार्वजनिक रुपमा बधाई तथा सम्मान ग्रहण गरेको तथा त्यसैको आधारमा सघन तुवाँलोलाई पाठ्यसामग्रीका रुपमा सार्वजनिक घोषणा गर्दै साथी प्रकाशन प्रालिले पुस्तकको तेस्रो संस्करण बजारमा ल्याएपछि पुस्तकका प्रकाशकलाई पनि लाखौं विद्यार्थीलाई भ्रम र अन्यौल फैलाउने काम गरेकोले हदैसम्मको कारवाही गर्न उजुरी पत्रमा माग गरिएको छ।

गत बर्षको असार महिनामै पुस्तकका लेखक रामकृष्ण बान्तवाले विभिन्न अखबारहरुमा आफ्नो पुस्तक त्रिविको पाठ्यक्रममा समावेश भएको भनी अखबारहरुमा पटकपटक सार्वजनिक रुपमा बधाई ग्रहण गरेकोले उनले त्रिविको प्राज्ञिक मर्यादालाई असर पारेको भन्दै उनलाई झिकाई आवश्यक स्पष्टिकरण लिन पनि माग गरिएको छ । यसैगरी सोही समयमा महेन्द्रमोरङ क्याम्पस, विराटनगरमा अर्थशास्त्र अध्यापन गर्दै आएका उपप्राध्यापक देवी पन्थीले अखबारमा सो पुस्तक आफ्नो प्रयत्नमा त्रिविले पाठ्यक्रममा समावेश गरेको भनी अन्तर्वार्ता सार्वजनिक गरेकोले मतियारका रुपमा देवी पन्थीले काम गरेको र उनले प्रा. सुवेदीलाई प्रभावित बनाएको भन्दै उनीविरुद्ध पनि हदैसम्मको कारवाही गर्न उजुरी पत्रमा माग गरिएको छ।

दर्ता नम्बर २९८१ रहेको उजुरी पत्रको पूर्ण पाठ यस्तो छः
श्रीमान सचिवज्यू, मिति २०६७ भदौ २८
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं ।

बिषयः अनुचित कार्यमा संलग्नलाई हुदैसम्मको कारवाही गरी पाऊँ।
महोदय,
उपरोक्त बिषयमा एक जना राष्ट्रसेवक जस्तो सार्वजनिक पद ब्यक्तिले एक पुस्तकका लेखकसँग आर्थिक लेनादेना गरी निजी लाभ देखिएकोले निजलाई हदैसम्मको कारवाही गरी पाऊँ भनि यो उजुरी निवेदन आयोगसमक्ष पेश गरेको छु।

वास्तविक सूचना यस्तो छः
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत अहिले केन्द्रिय नेपाली विभागले स्नातकोत्तर तहको नयाँ पाठ्यक्रमका लागि पाठ्यक्रम निर्धारणको प्रक्रिया जारी रहेको छ । यसै क्रममा पहिलो बर्षो पाठ्यक्रम समेत र्सार्वजनिक नहुदै एउटा पुस्तक दोस्रो बर्षो ऐच्छिक बिषय अन्तरगत पाठ्यक्रममा परेको भनी बजारमा आएको छ । हङकङमा बस्दै आएका रामकृष्ण बान्तावाले लेखेको ‘सघन तुँवालो’ नामको उक्त उपन्यास काठमाडौं, बागबजारस्थित साथी प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो। पुस्तकको माथिल्लो भागमा लेखिएको छ,’त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह नेपाली बिषय अर्न्तर्गत ऐच्छिक पाठ्यक्रममा समावेश भएको।’ तर त्रिभुवन विश्वविद्यालयले उक्त पुस्तकलाई नयाँ पाठ्यक्रममा समावेश गरेको छैन। किनकि नयाँ पाठ्यक्रमको घोषणा नै भएको छैन। त्यसैले त्यो पुस्तकको प्रकाशक र पुस्तक पाठ्यक्रममा समावेश भएको भनी पत्र लेख्ने अधिकारीले अख्तियारको दूरुपयोग गर्दै अनुचित लाभका लागि कानुनविपरित पुस्तक बजारमा ल्याएको तथ्य फेला परेको छ।

यसरी हुदै नभएको निर्णय भएको छ भनी पुस्तक पाठ्यक्रममै परेको घोषणासहित पुस्तक बजारमा आउनुमा त्रिवि केन्द्रिय नेपाली विभागमा प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीको संलग्नता छ । उनले २०६६ साल चैत २० गते पुस्तकका लेखक रामकृष्ण बान्तवाको नाममा दुइ वटा पत्र लेखी उपन्यास सघन तुँवालो त्रिविको मानविकी तथा समाजिक शास्त्र संकायअन्तरगत केन्द्रिय नेपाली विभाग स्नातकोत्तर तहमा अध्ययनरत छात्रा छात्राहरुको नेपाली विषय ऐच्छिक नवौं पत्रको डायास्पोरिक शीर्षकमा पाठ्यसामग्रीमा परेको भनी जानकारी दिएका छन्।
यसरी पाठ्यक्रमको छनौट प्रक्रिया नै पुरा नभई पुस्तकका लेखकलाई पुस्तक पाठ्यक्रममा परेको भनी प्राध्यापक राजेन्द्र सुवेदीले पदीय मर्यादाको दूरुपयोग गर्दै आर्थिक लाभका लागि अनुचित कार्य गरेको तथ्य प्रमाणबाट पुष्टि हुन्छ।

त्रिभुवन विश्वविद्यालयको नियम र प्रचलन अनुसार नयाँ पाठ्यक्रम निर्धारणका लागि विषय समितिको पनि स्थायी समिति (कार्यकारी)ले पाठ्यक्रमका लागि पुस्तक छनौट गर्ने कानुनी प्रक्रिया छ । त्यसलाई बिषय समितिले पास गर्छ । यसैगरी फ्याकल्टी बोर्ड हुदै विद्या परिषदले पास गरेपछि मात्र त्यो पुस्तक पाठ्यक्रमको रुपमा लागू भएको मानिन्छ । यी कुनै पनि प्रक्रिया पुरा नभइकन नेपाली विभाग प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीले अख्तियारको दूरुपयोग गर्दै लेखकलाई पत्र लेखी पुस्तक नै बजारमा ल्याउन उत्प्रेरित गरी स्नातककोत्तर तहमा नेपाली विषयका विद्यार्थीहरुलाई भ्रम र अन्यौल सिर्जना गरेका छन् । यसरी प्राध्यापनजस्तो पवित्र पेशामा रहेर पनि राष्ट्रसेवकको पद दूरुपयोग गर्दै त्रिविको प्राज्ञिक मर्यादा ध्वस्त बनाउने उद्योगतिर गरेकाले यो कार्य तुरुन्तै रोकियोस्।

यस्तै पुस्तकका लेखक रामकृष्ण बान्तवाले पदको अनुचित प्रयोग गर्दै प्राध्यापक राजेन्द्र सुवेदीको पत्रको आधारमा आफ्नो पुस्तक (सघन तुँवालो) पाठ्यक्रममा लागू भएको भनेर विभिन्न लेखकहरुलाई लेख, समाचार, टिप्पणी लेख्न लगाइएको छ । साथै विभिन्न संस्थाहरुलाई सम्मानसमेत गर्न लगाएर विभिन्न संस्था र ब्यक्तिहरुको नाममा बधाईका विज्ञापनहरु प्रकाशित गरी साहित्य र सिर्जनाको क्षेत्रलाई सार्वजनिक बेइज्जति गरेको प्रष्ट भएकोले उनीमाथि पनि आवश्यक कानुनी कारवाही गरी पाऊँ।

उजुरकर्ताको मागहरु
१. त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत केन्द्रिय नेपाली विभागका प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीजस्ता सार्वजनिक पद धारण गरेका ब्यक्तिले पदको दुरुपयोग गर्दै हङकङमा रहेका लेखक रामकृष्ण बान्तवालाई पाठ्यक्रममा छनौटमै नपरेको पुस्तकलाई पाठ्यक्रममा परेको भनी पत्र पठाएर अनुचित कार्य गरेका छन्। यसरी कानुनको उल्लंघन गरी पत्र लेख्ने प्राध्यापक सुवेदीलाई अख्तियारको ऐनको दफा ३ अनुसार हदैसम्मको कारवाही गरियोस । यसैगरी उनले मिति २०६६ साल चैत २० गते लेखकलाई पठाएको पत्रको छपाई तथा अनुवाद भनी सीटी स्कड कोर्टियर प्रा. लि. बिराटनगर, नेपालको छाप भएको अँग्रेजी भाषामा लेखिएको पत्र पनि छ। यसरी अनुवादित पत्रमा पनि उनै प्राध्यापक राजेन्द्र सुवेदीका हस्ताक्षर रहेको छ। यसरी पनि उनले अनुचित कार्य गरेको देखिन्छ।

२. उपन्यासका लेखक रामकृष्ण बान्तवाको सम्पर्क र सम्बन्ध बिराटनगर बस्दै आएको देवी पन्थीसँग रहेको छ। फाट्टफुट्ट लेख लेख्ने देवी पन्थीको आर्थिक चरित्र विगतदेखि नै निक्कै शंकास्पद रहदै आएको छ। लेखकले प्राध्यापक राजेन्द्र सुवेदीलाई देवी पन्थीमार्फत रिसवत पठाएको आशंका छ। किनभने २०६६ सालको असार २७ गते नेपाल र हङकङबाट प्रकाशित हुने सनराइज पोस्ट नामको अखबारमा उनले सघन तुँवालो नामको उपन्यास पाठ्यक्रममा पर्दैछ भनी अन्तरवार्ता दिएका छन्। यसको फोटोकपि यसै उजुरी पत्रकासाथ संलग्न छ। लेखक बान्तवाले पैसाकै बलले धेरै काम गर्न सकिने दावी गर्दै त्यस्तै किसिमका शंकास्पद गतिविधि गर्दै आएका छन् । त्यसैले प्राध्यापक राजेन्द्र सुवेदीले देवी पन्थीमार्फ लेखकलाई पुस्तक पाठ्यक्रममा पारिदिन्छु भनी रिसवत लिएको आशंका उत्पन्न भएको छ। महेन्द्रमोरङ कलेज, बिराटनगरमा प्राध्यापन गर्दै सार्वजनिक पद धारण गरेका देवी पन्थीले दुइ जनाको बीचमा मतियारको रुपमा काम गरेको देखिएको र लेखकबाट पैसा पनि बुझेर प्राध्यापक राजेन्द्र सुवेदीलाई रिसवत दिएको गम्भीर आशंका रहेकाले उनीमाथि ऐन अनुसार कारवाही गरियोस्।

३. स्तरीयताको कसीमा अहिले पाठ्यक्रममा परेको भनी चर्चामा आएको उपन्यास उत्कृष्ट छैन। आर्थिक लेनदेनको आधारमा उक्त विवादित उपन्यास पाठ्यक्रममा पार्न लागिएको छ । अतः यस्तो कार्य तुरुन्तै रोकियोस्।

४. पाठ्यक्रममा पर्दै नपरेको तर पुस्तक तेस्रो संस्करणको शीरमै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह नेपाली बिषय अन्तरगत ऐच्छिक पाठ्यक्रममा समावेश भनी किटेरै उक्त उपन्यास सघन तुँवालो १० हजार दुइ प्रति छापी अहिले बजारमा ल्याई धमाधम विक्री वितरण भइरहेको छ । यसको प्रकाशकले कसरी यस्तो अनधिकृत कार्य गरेको हो, त्यो छानविन गरी भ्रम उत्पन्न गर्ने यस उपन्यासलाई तुरुन्त जफत गरी प्रकाशक साथी प्रकाशन प्रालि बागबजार, काठमाडौंलाई पनि छानविनको घेरामा ल्याइयोस। अन्यथा लाखौं विद्यार्थीको भविष्यसमेत अन्योलमा पर्ने स्पष्ट छ।

५. यसअघि यो उपन्यासको दुइ संस्करण १८ हजार कपि विक्री भइसकेको दावी सार्वजनिक रुपमा पुस्तकका लेखकले गरेका छन्। उनले २०६७ साल जेठ २७ गते बिहीबारको अंकमा कान्तिपुर दैनिकमा अखण्ड भण्डारीलाई आफ्नो ब्यक्तित्व लेखाउँदै यस्तो दावी गरेका हुन्। कुनै पनि प्रकाशन संस्थाले आम्दानी अनुसारको कर तिर्नुपर्ने हुन्छ। १८ हजार प्रति विक्री भइसकेको र प्रति पुस्तक एक सय ६५ रुपैयाँ पर्ने पुस्तकको कर प्रकाशकले अहिलेसम्म बुझाएका छैनन्। र राजश्व अनुसन्धानले पनि यस्तो सार्वजनिक भइसकेको बिषयमा कुनै चासो राखेको छैन। अख्तियारले छानविनका लागि राजश्व अनुसन्धान विभागमा समेत लेखी पठाउन अनुरोध गर्दछु।

६. हुदै नभएको कुरालाई सत्य हो भन्दै झुट प्रचार गर्दै उपन्यासका लेखक रामकृष्ण बान्तवाले हङकङमा विभिन्न संघ संस्थाहरुबाट सार्वजनिक रुपमा अहिले सम्मान थापिरहेका छन्। यस्तै विभिन्न ब्यक्तिहरुबाट पनि सार्वजनिक रुपमा विज्ञापनमार्फ बधाई ग्रहण गरिरहेका छन्। यसमा नेपालको सबैभन्दा ठूलो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय नै मुछिएको छ। त्यसैले नभएको कुराको झुट प्रचार गर्दै हिड्ने हङकङबासी रामकृष्ण बान्तवा झिकाएर प्राध्यापक सुवेदी र पन्थीका साथमा छानविन कारवाही अगाडी बढाइयोस्।

यस उजुरी निवदेनसँगै मैले प्रमाणका लागि निम्न बमोजिमको प्रकाशित पुस्तक तथा कागजपत्रको फोटोकपि पेश गरेको पनि अनुरोध गर्दछु।

पेश भएका सामग्रीहरुः
१. उपन्यास सघन तुँवालोको तेस्रो संस्करण एक प्रति।
२ उपन्यास सघन तुँवालोको दोस्रो संस्करण एक प्रति।
३. उपन्यास सघन तुँवालोको पहिलो संस्करणको एक प्रति।
४. प्राध्यापक राजेन्द्र सुवेदीले मिति २०६६ साल चैत २० गते पुस्तक पाठ्यक्रममा परेको भनी पुस्तक लेखकलाई पठाएको पत्रसंख्या ३२०-०६६।०६७ नम्बरको पत्रको फोटोकपि एक प्रति।
५. प्राध्यापक राजेन्द्र सुवेदीले लेखक बान्तवालाई लेखेको सोही पत्रको अँग्रेजी अनुवाद एक प्रति।
६. हङकङ तथा नेपालबाट प्रकाशित हुने सनराइज पोष्ट साप्ताहिक अखबारमा मतियार रहेका देवी पन्थीले रामकृष्ण बान्तवाको उपन्यास सघन तुँवालो त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पर्दैछ भनी घोषणा गरिएको २०६६ साल असार २७ गते उक्त अखबारमा प्रकाशित अन्तरवार्ताको फोटोकपी एक प्रति।
७. सनराइज पोष्टको सोही अंकमा लेखकलाई बधाई ज्ञापन गर्दै प्रकाशन गरिएको विज्ञापनका फोटोकपि एक प्रति।
८. रामकृष्ण बान्तवाले झुट प्रचार गर्दै बधाई थाप्दै गरेकोमा त्यसको भण्डाफोर गरी हङकङबाटै प्रकाशित हुने २०६६ असार ३१ गतेको एभरेष्ट साप्ताहिकको समाचारको फोटोकपि एक प्रति।
९. रामकृष्ण बान्तवाको ब्यक्तित्व प्रकाशित भएको कान्तिपुर दैनिकको २०६७ साल जेठ २७ गतेको समाचार सामग्रीको फोटोकपि एक प्रति।
१०. झुट प्रचार गर्ने लेखक रामकृष्ण बान्तवाले आफ्नो बचाउ गर्दै आफ्ना सहयोगी चन्द्र दुमी राईमार्फत झुट कुराको भण्डाफोर गर्ने एभरेष्ट साप्ताहिकका प्रकाशक किसन राईविरुद्ध लेखिएको लेखसहित प्राध्यापक राजेन्द्र सुवेदीको पत्रसमेत प्रकाशित भएको सनराइज पोष्ट साप्ताहिकको २०६६ असार १२ गते प्रकाशित समाचार सामग्रीको फोटो कपि एक प्रति (यस अखबारको उक्त अंकमा २०६७ साल हुनुपर्नेमा भुलबश २०६६ लेखिएको हुनसक्छ)।
११. रामकृष्ण बान्तावाले सनराइज पोष्टमार्फ बधाई ग्रहण गरेको २०६६ असार ५ गतेको अंकको पृष्ठको सामग्रीको फोटोकपि एक प्रति (यसमा पनि २०६७ हुनुपर्नेमा उनीहरुको भुलबस २०६६ दोहरिएको हुनसक्छ।)

यी प्रमाणहरुका साथ मैले अनुचित कार्य गर्ने ब्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ शिघ्रातिशिघ्र हदैसम्मको कारबाही गरी त्रिविको छवि र लाखौं विद्यार्थीको भविष्य अन्धकारमा जानबाट रोकि पाऊँ।

निवेदक उजुरकर्ता
बेनामे
(यो समाचार हङकङसंग सम्बन्धित भएकोले जानकारीका लागि मात्र प्रकाशित गरिएको हो। सं.)

Popularity: 2%

4 comments September 17th, 2010

टेनिस लिग च्याम्पियनशिप आयोजना हुने

एस हङकङ/ एचकेनेपाल डट कम-
हङकङमा बैधानिक रुपमा दर्ता भएको पहिलो नेपाली टेनिस क्लवले आगामी अक्टुबर १७ देखि नोवेम्बर १४ सम्म लिग सञ्चालन गर्ने भएको छ।

नेपालीहरु माझ आपसी सदभाव, शारीरिक संतुलन तथा मनोरञ्जनका साथै टेनिस खेलको महत्व, विकास एवं प्रवर्द्धन गर्नका लागि लिगको आयोजना गर्न लागेको सोसाइटीका अध्यक्ष मगेन्द्र राईले बताएका छन्। डिविजन ए र बी मा खेलाईने उक्त लिगमा भाग लिन इच्छुक खेलाडीहरूले आगामी अक्टूबर १० अगावै नाम दर्ता गराई सक्नु पर्ने आयोजक संस्थाले जनाएको छ। उक्त खेलाडीहरू आगामी जनवरी २०११ मा आयोजना हुने वार्षिक च्याम्पियनशिपमा भाग लिन योग्य मानिने जनाएको छ।

यसका साथै सोसाइटीले बालबालिका तथा जुनियरहरुलाई विशेष प्राथमिकताका दिदै सबै उमेर र बर्गका टेनिसप्रेमिहरुलाई आधारभूत तालिम सञ्चालन गरिरहेको छ। भविष्यमा जुनियर इभेन्ट सञ्चालन गर्ने तथा हङकङमा आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा नेपालीहरुको प्रतिनिधित्व गराउने लक्ष्य लिएको छ।

सोसाइटीका अध्यक्ष राईले अन्तर्राष्ट्रिय टेनिस महासंघबाट लेभल-१ का प्रशिक्षण कोर्ष तथा हङकङ टेनिस एसोसियसनबाट एडभान्स कोर्स पूरा गर्नुका साथै अमेरिकामा सम्पन्न तेक्वानदो प्रतियोगितामा स्वर्ण पदक हात परेका ब्ल्याक बेल्ट होल्डर पनि हुन्।

च्याम्पियन तथा रनर अपहरुलाई आकर्षक ट्रफि तथा उपहार प्रदान गरिने सोसाइटीका सचिव संतोष राईले बताएका छन्।

Popularity: 2%

1 comment September 16th, 2010

‘भिसा बन्देज’ फुकुवा गर्न गोर्खा युनाइटेडको पहल

एस हङकङ/ एचकेनेपाल डट कम-
हङकङ सरकारले विभिन्न कारण जनाएर नेपालीमाथि लगाएको ‘भिसा बन्देज’ फुकुवा गर्न गोर्खा युनाइटेड सोसाइटीले पहल गर्ने जनाएको छ।

हालैमात्र स्थापना भएको सोसाइटीले एक जानकारी सभामार्फत हङकङका नेपाली समुदायको हक, हित, अधिकार र साझा सवालमा केन्द्रीत रहेर सोसाइटीले काम गर्ने जानकारी दिएको हो।

सोसाइटीका अध्यक्ष नरहाङ राईले एचकेनेपाल डट कमसंग बोल्दै हङकङ सरकारले सन् १९९८ देखि विभिन्न कारण देखाइ नेपालीमाथि लगाएको भिसा बन्देज फुकुवा गर्न संस्थाले पहल गर्ने बताए। भिसा बन्देज हटाउन १०/१२ वर्ष यता भैरहेका प्रशस्त पहल र प्रयाशलाई निरन्तरता दिंदै सरोकारवाला सबैसंग सहकार्य गरी विशेष र प्रभावकारी ढंगले अगाडि बढ्ने राईले बताए। ‘हामीले छिट्टै हङकङका कार्यकारी प्रमुख डोनाल्ड च्याङलाई ज्ञापन पत्र बुझाउदै छौं।’, राईले भने- ‘यसअघि पनि, धेरै पटक बुझाइएको हो। तर, ती सीमित क्षेत्रमा मात्र रहंदा प्रभावकारी हुन सकेन। यस पटक, हङकङ प्रमुखसहित सरकारका सम्पूर्ण निकायहरूमा ज्ञापन पत्र बुझाउने तयारी गरिरहेका छौं।’

त्यसै गरी, सोसाइटीका प्रवक्ता एकराज राईले सीमित व्यक्तिहरूका कमीकमजोरीको कारण देखाएर हङकङ सरकारले नेपालीमाथि भिसा प्रतिबन्ध लगाउन नहुने बताए। सरकारले भिसा रोकेपछि नेपाली समुदायको विकासमा प्रभाव परेको बताउंदै राईले चिन्ता व्यक्त गरे। ‘केही व्यक्तिहरूले फर्जी कागजपत्र बनाए भन्दैमा, दुर्व्यशनले लठ्ठिएर सडकमा लड्दै हिडे भन्दैमा सिंगो नेपाली समाजलाई प्रभाव पार्ने गरी भिसा बन्द गर्न मिल्दैन।’ प्रवक्ता राईले भने- ‘हिजोका दिनमा पनि भिसा फुकुवाका लागि प्रशस्त पहल भए। अब पनि हामी गर्छौं, हिजो सरकारमा मात्र सीमित थिए भने अब सरकार प्रमुख, सरकारका प्रमुख निकायहरू र जनस्तरसम्म भिसा फुकुवाका लागि पहल गर्नेछौं।’

जानकारी सभामा संस्थाका पदाधिकारीहरूसहित पत्रकारहरूको उपस्थिति रहेको थियो।
भिडीयोः


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

Popularity: 3%

5 comments September 8th, 2010

मोना हङकङको तीज पर्व सम्पन्न

ईन्द्र थापा मगर, हङकङ/ एचकेनेपाल डट कम-
म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको संयोजन तथा मोना महिला समितिको आयोजनामा यस वर्षको महिलाहरुको चाँड तीज पर्व मेला भव्यताकोसाथ सम्पन्न भएको छ।

संस्थाका वयोवृद्व महिला तमाँया फगामीको प्रमुख आतिथ्यमा सम्पन्न छोटो ‍औपचारिक कार्यक्रमलाई कार्यसमितिका सदस्य तथा महिला विभागकका प्रमुख बिना पुनले अध्यक्षता, समितिका सदस्य तथा महिला समितिका सचिव शीला चोचाङ्गीले संचालन र महिला समितिका अध्यक्ष धनकुमारी गर्बुजाले स्वागत भाषण गरेका थिए। उक्त अवसरमा पुन मगर समाज, आमा समूहका भू.पू. संयोजक पवि पुन, फियोना हङकङका सदस्य लक्ष्मी गुरुङ, घरेलु कामदार यूनियनका कोषाध्यक्ष हिमाली गुरुङ, मोना हङकङका सहसचिव रुपा चोचाङ्गी, वर्तमान तथा भू.पू. महिला समितिका पदाधिकारीहरुमा गोमा पुन, सुनिता पूर्जा र मगर महिला समितिका चन्द्र ज्योति आले मगरलगायतका अतिथिहरु थिए।

औपचारिक कार्यक्रमको समापन गर्दै कार्यसमितिका सदस्य तथा महिला विभागका प्रमुख विना पुनले महिलाहरुको राष्ट्रिय चाँड तीज पर्व विगत ३ वर्ष देखि नियमितरुपमा मोना हङकङले दरभोज सहित मनाउदै आइरहेको जानकारी दिदै यस कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई मोना महिला समितिको तर्फबाट हार्दिक धन्यवाद दिएका थिए। त्यसपछि मोना महिला समितिले एकल तथा समूहिक विभिन्न नाँच तथा गीतहरु प्रस्तुत् गरेका थिए। मंकिहिल त्यसवेला नेपालको प्रसिद्व स्थलमा मेला लागेको जस्तो लाग्थ्यो। उक्त अवसरमा मोना कार्यसमितिले उपस्थित महिलाहरुलाई नि:शूल्क दर तथा पेयपदार्थको र अन्य महानुभावहरुलाई नि:शूल्क दरभोज र सशूल्क पेयपदार्थहरुको व्यवस्था गरेको थियो भने यूनलङ तथा कामतिनबासी महिला, बालबच्चा तथा बृद्वहरुको लागि नि:शुल्क बसको पनि ब्यवस्था गरेको थियो।

तीज पर्व मेलामा उपस्थित महानुभावहरुले महिला समितिलाई सहयोग स्वरुप नगद हङकङ डलर १२,०५५/- तथा पेय पदार्थ दिएका थिए। हङकङकमा दरभोजसहित नाँच तथा गीतहरुको साथ भव्यरुपमा तीज पर्व मनाउने सायद हङकङमा मोना संस्था पहिलो हो। दरभोजमा खीर, केरा-दही, सेलरोटी, पूरी, आलुदाम, अचारका परिकार, ताजा कुखुराको परिकार तथा बंगुरको परिकार आदि मेला स्थलमा नै तयारी गरिएको थियो।

स्मरणरहोस्, मोना हङकङको पाँचौ अधिवेशन यही सेप्टेम्बर २६ तारिख आइतबार याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न हुन गैरहेको छ।

Popularity: 3%

Add comment September 8th, 2010

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug   Oct »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category