अनिज समाचार सेवा, पोखरा/ एचकेनेपाल डट कम-
मृगौला पीडित नर्स भक्ति गुरुङ बचाउ अभियान समितिलाई हङकङमा रहेका गंगाबहादुर गुरुङको नेतृत्वमा माछापुच्छ्रे घाचोक सेवा समिति हङकङमार्फत संकलित रकम एक लाख ८१ हजार तीन सय ८४ रुपैयाँ प्राप्त भएको छ।
जसमध्ये समितिलाई कमल गुरुङ डाँडास्वाँरा र श्रीमती आशा गुरुङ काहुले स्याङ्जा हाल अमेरिकाको लस एन्जलसबाट ५१ हजार चार सय ६० रुपैयाँ, बद्रीप्रसाद गुरुङ रिठेपानी-२, लेखनाथबाट पाँच हजार रुपैयाँ, गुराँसे भूमे युवा क्लब घाचोक र शंकर इलेक्ट्रीक वर्क्स बगरबाट पनि विशेष सहयोग प्राप्त भएको समितिका अध्यक्ष रूद्रकाजी गुरुङले जानकारी दिनुभयो।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
जनसरोकार समाज हङकङको एक टोलीले २८ अक्टोबर २०१० का दिन हङकङस्थित महावाणिज्यदूतावस गई विभिन्न मागहरु राखेको छ।
समाजका कार्यवाहक अध्यक्ष कृष्णवहादुर लिंखाले एक लिखित मागपत्र महावाणिज्यदूतावासलाई हस्तान्तरण गरेका छन्। महावाणिज्यदूतावास र सरोकार समाजबीच मागपत्रको विषयमा लगभग ३ घण्टा छलफल भएको छ।
माओवादी निकट सरोकार समाजले राखेका मागहरुमा हङकङमा माओवादीलाई दोष लगाई शरणार्थी बनाउने क्रम बढेको अवस्थामा उनीहरुलाई त्यस्ता नचाँहिदा गलत प्रलोभनबाट जोगाउन तथा उनीहरुलाई संरक्षण गर्न आग्रह गरेको छ। राष्ट्रिय पार्टीको रुपमा स्थापित भइसकेको अवस्थामा जनतालाई विस्थापित गराउने कुनै गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्न युएन तथा सम्बन्धित निकायमा स्पष्ट पार्न आग्रह गरेको छ।
यस विषयमा संयुक्त राष्ट्र संघीय उच्च आयोग कार्यालय तथा अन्य निकायमा महावाणिज्यदूतावासले शरणार्थी बनाईनु पर्ने कुनै कारण नरहेको जानकारी गराउने आश्वासन दिएको छ।
महावाणिज्यदूतावासमा ग्राहकको लागि बिगतमा भएका फोटोकपी, फोन लगायतका सुबिधा हाल कटौती गरिएको कुरामा समाजले ध्यानाकर्षण गराएको छ। सेमाजले ती सेवाहरू पुनः सुचारू गर्न दूतावाससंग आग्रह गरेको छ। तर, छलफलपछि ती सेवाहरू हाल उपलव्ध गराउन नसकिने महावाणिज्यदूतले जानकारी दिएको छ।
नेपालीहरुको सुविधालाई ध्यानमा राखी शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन १० बजेबाट १२ बजेसम्म कार्यालय खोल्न दूतावाससंग आग्रह गरेको भएपनि कर्मचारी अभावका कारण तत्काल लागू गर्न नसकिने दूतावासको भनाई उदृत गर्दै सरोकार समाजले जनाएको छ।
सरोकार समाजले बेलायती नागरिकताको सवालमा बेलायती नागरिकता स्वीकृत हुन अगाबै आबेदकहरुले आबश्यक सिफारिश पत्रका लागि नेपाली महाबाणिज्यदूताबासमा नेपाली नागरिकता तथा पासपोर्ट बुझाउन पर्ने प्रकारको निबेदन बुझाएको मितिदेखि स्वीकृत हुनु भन्दा अगाडिको समय ४ महिना वा सो भन्दा बढि पासपोर्ट तथा नागरिकताबिहीन अबस्थामा रहनु पर्ने तथा उक्त समयमा कुनै पनि हङकङ बाहिरको यात्रा स्वतः निषेधित अवस्थामा रहने साथै एक देशको नागरिकता स्वीकृत भई नसकी मौजुदा नागरिकता त्याग गराई राज्य बिहिन अबस्था बनाईनुमा गम्भीर आपत्ति रहेको व्यहोराको माग सरोकार समाजले बुझाएको छ।
मागपत्रमा भनेको छ “कतिपय बेलायती नागरिकता निबेदक नेपालका स्कुलमा बिद्यार्थी तथा बालक रहेको र हङकङ भिसा भएको पासपोर्ट समेत नेपाली महाबाणिज्यदूताबासमा बुझाई निबेदन परिणामको लामो समय स्कुल जानबाट बञ्चित हुन परेका अबस्था छ।” र एक साधारण सिफारिश पत्रका लागि हङकङ डलर ५०० शुल्क अत्याधिक भएकोले यस बारेमा पुनः विचार गर्न समाजले अनुरोध गरेको छ।
बैठकमा महावाणिज्यदूतावासले नेपाली नागरिकता तथा पासपोर्ट बुझाईएता पनि आबश्यक परेमा ६ महिना सम्मको लागि उपलब्ध गराइने जानकारी दिएको थियो। सिफारिश पत्रको विषयमा ५०० डलर हाललाई घटाउन नसकिने जानकारी दिएको थियो। छलफलमा जनसरोकार समाज हङकङका महासचिव जीमी हाङ खीम सदस्यहरु रामकुमार राई, जगत अम्बु गुरुङ, जस ब. ओख्राबू, किशोर महरा, पूर्ण लोक्सोमको उपस्थिति रहेको थियो।
आनन्द श्रेष्ठ, धरान/ एचकेनेपाल डट कम-
पूर्वाञ्चलको महत्वपूर्ण शहर धरानको खानेपानी समस्या समाधानका लागि हङकङमा बस्ने धरानेहरुले पनि सहयोग गर्ने भएका छन्।
हङकङबासी नेपालीहरुको छाता संगठन हङकङ नेपाली महासंघका अध्यक्ष एवं धरान हङकङ मञ्चका पूर्व अध्यक्ष प्रदीप थापाले शनिवार यहाँ आयोजित पत्रकार सम्मेलनमा खानेपानीका लागि सहयोग गर्ने बताएका हुन्।
दसैंका लागि आएका उनले भने ‘धरानमा खानेपानीको समस्या भएको विषयमा हङकङमा बस्ने नेपालीहरुबीच छलफल भएको छ, सबैले सहयोग गर्छन्’ तर, यस विषयमा योजना निर्माण गर्न आवश्यक भएको उनको भनाई छ। थापाले हङकङमा बस्नेहरुले धरानमा बालबालिका र बृद्धबृद्धाहरुका लागि पार्क र भवन बनाउने चाहना व्यक्त गरेको समेत जानकारी गराए। ‘नगरपालिका लगायत सम्बन्धित निकायले चासो देखाए छाताचोकस्थित पुरानो अस्पताल क्षेत्रमा ‘बेबी पार्क’ र बृद्धबृद्धाका लागि व्यायाम गर्ने ठाउँ बनाउन पनि सहयोग गरिनेछ’ उनले भने।
यसअघि, हङकङमा बस्ने धरानेहरुकै सहयोगमा धरानमा घण्टाघर निर्माण भईसकेको छ भने हाल प्रस्तावित क्षेत्रीय रंगशालाको निर्माणाधीन प्रवेशद्वारमा उनीहरुले १२ लाख सहयोग गरेका छन्। हङकङमा करीब २५ हजार नेपाली बसोबास गर्दै आएका छन्।
पत्रकार महासंघ सुनसरीको सभाकक्षमा भएको सम्मेलनमा थापाले धरानको प्रचारप्रसारका लागि हङकङमा ‘धराने मेला’ आयोजना गरिएको जानकारी गराए। कार्यक्रममा पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष आनन्द श्रेष्ठले हङकङमा बस्ने धरानेहरुले धरानको विकासमा उल्लेखनीय सहयोग पुर्याउंदै आएकोमा प्रशंसा गरेका थिए।
यसै गरी, अध्यक्ष थापाले पूर्वक्षेत्रीय प्रहरी कार्यालय धरानका एसएसपी मिडमार लामासंग उहाकै कार्यकक्षमा भेटि धरानमा लागु औषध दुर्व्यसनीहरुको वारेमा जानकारी लिएका थिए। भेटका क्रममा एसएसपी लामाले धरानलाई दुर्व्यसन मुक्त क्षेत्र वनाउने अभियान अन्तर्गत
धरानका सम्पूर्ण संधसंस्था, नागरीक समाज,पूर्व दुर्व्यसनी युवाहरुको सहभागितामा गठन भएको समिति र त्यसका उद्धेश्यवारे प्रष्ट पार्नु भएको थियो।
धराननजिक भारतसंगको खुल्ला सीमानाको कारण लागु औषध ओसार पसार हुने गरेको र धरानमा दुर्व्यसनी वढेकोमा चिन्ता व्यक्त गर्नु हुदै यसलाई रोक्न धरानका सचेत नागरिकहरुले समयमा नै कदम नचाले धरानको भविष्य अन्धकार भएका वताउनु भयो। धरानमा प्रहरी र धरानका नागरिक समानले चाल्न लागेको दुर्व्यसनि विरुद्धको अभियानमा धरान हडकड मञ्चले तन, मन, धनले सहयोग पुर्र्याउने कुरा अध्यक्ष थापाले आश्वसन दिनु भयो। सो भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंध सुनसरीका पूर्व सभापति आनन्द श्रेष्ठ र वर्तमान उपसभापति जनककृषि राईको पनि उपस्थिति रहेको थियो।
ईन्द्र थापा मगर/एचकेनेपाल डट कम -
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले दशै र तिहारको उपलक्ष्यमा देउसी भैलो, बिबिक्यू र साँस्कृतिक कार्यक्रमको साथ ‘शुभकामना आदनप्रदान तथा भेटघाट’ कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ।
ई. हर्कमान मगरको प्रमुख आतिथ्यमामा सम्पन्न छोटो औपचारिक कार्यक्रमलाई अध्यक्ष दल सेर्बुजाले अध्यक्षता, सहसचिव रुपा चोचाङ्गीले संचालन र महिला विभागका उपप्रमुख शीला जुग्जालीले स्वागत भाषण गरेका थिए भने अतिथिहरुमा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका सदस्य तुल्मराज रामजाली, नेपाली आदिवासी जनजाति महासंघ हङकङ, पुन मगार समाज हङकङ, फियोना हङकङ, लम्जुङ सेवा समिति हङकङ र नेपाली निर्माण कामदार यूनियन हङकङका अध्यक्षहरु तथा हङकङनेपाली डटका कार्यकारी व्यवस्थापक नेत्र पहराई थिए।
दशै र दिपावलीको अवसरमा अध्यक्ष दल सेर्बुजालगायत सबै अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए। त्यसपछि साँस्कृतिक कार्यक्रम शुरु भएको थियो। विशेष गरी म्याग्दीको चिनारी थाल नाँचको साथ एकल तथा युगल नाँचहरु आकर्षकरुपमा प्रस्तुत् गरिएको थियो।
साँझ पख महिला विभागले देउसी भैलो खेलेका थिए। त्यस अवसरमा हङकङ डलर १७ हजार २८ दान रकम उठेको थियो। महिलाहरुको टोली देउसी भन्दै चुलाचुलामा गएको देख्दा गाउ घरमा देउसी भैलो खेलेको झलक देखिन्थ्यो। त्यसपछि राति अबेरसम्म डिजेमा म्याग्दीबासीहरु झुमेका थिए।
हरेक वर्ष मोना हङकङले यसप्रकारको कार्यक्रम उक्त स्थानमा गर्दै आइरहेको छ। ताइफूङ र वर्षा हुने शंकामा सशंकित भएपनि सफा मौसमको कारण म्याग्दीबासी र लम्जुङबासीहरुको अत्याधिक उपस्थित थियो।
एस हङकङ/ एचकेनेपाल डट कम-
मुलबाटो डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको ‘मुलबाटो कप २०१०’ को तयारी पूरा भएको छ।
अन्तर्स्कूल फुटबल प्रतियोगितामा १८ वर्षमुनिका खेलाडीहरू सहभागी हुने मुलबाटोले जनाएको छ।
काउलुन पार्कको फूटबल मैदानमा अक्टोबर २४ तारिख साँझ ६ बजेदेखि हुने प्रतियोगितामा सेन्ट मार्गरेट र डेलिया स्कूलमा अध्ययनरत बिद्यार्थी खेलाडीहरू सहभागी हुने जनाइएको छ।
विजयी खेलाडीहरूका लागि विभिन्न संघसंस्थाले कप तथा ट्रफिको प्रायोजन गरेका छन्।
एस हङकङ/ एचकेनेपाल डट कम-
सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) हङकङ र हङकङस्थित नेपाली महावाणिज्य दूतावासबीच सोमवार वार्ता भएको छ।
दूतावासको कार्यालयमा भएको वार्तामा फियोनाले दूतावाससमक्ष ३ बूदें प्रस्ताविक मागहरू राखेका छन्।
फियोनाले वार्तामा अगाडि राखेका प्रस्तावित मागहरूमा महावाणिज्य दूतावास हरेक आइतबार खुल्ला गर्ने, २००५ देखि नेपालीहरुमाथि लगाइएको भिषा प्रतिबन्ध फुकुवा गराउन दोश्रो चरणको वार्ताको निमित्त संयुक्त रुपमा पहल गर्ने र हङकङमा नेपाली नागरिकहरुको लागि एक आपतकालिन आश्रय स्थल (Emergency Shelter) को व्यवस्था गरी संचालन गर्ने रहेका छन्।
हङकङमा रहेका अधिकांश नेपालीहरुको नियमित विदा आइतबारको दिन हुने भएकोले दूतावाससंग सम्बन्धित सेवाहरु लिन व्यवहारिक कठिनाई भएको गुनासाहरु प्राप्त भएकाले यसलाई सम्बोधन गर्न आवश्यक भएकोले आइतबार दूतावासको कार्यालय खुल्ला गर्न फियोनाले माग गरेको छ।
भिषा प्रतिबन्धपछि फियोनाको संयोजन तथा संयुक्त राष्ट्र संघीय महिला विकास कोष (UNIFEM) को सक्रियतामा नेपाल सरकार तथा हङकङ सरकारबीच गत वर्ष भएको प्रथम वार्तालाई निरन्तरता दिंदै दोश्रो तथा निर्णायक वार्ता गर्न आवश्यक रहेकोले दोश्रो चरणको वार्ताको लागि संयुक्त रुपमा पहल गर्न फियोनाले माग राखेको छ।
त्यसै गरी, रोजगारको सम्झौताको समाप्तिपछि अर्को रोजगारको प्रक्रिया पूरा गर्न वा नेपाल फर्कनको लागि केही समय आश्रयविहीन हुन पुग्ने घरेलु कामदारहरु तथा आपतकालिन अवस्थामा रही आश्रयविहीन भएका नेपाली नागरिकहरुको लागि केही दिन आश्रय दिन आपतकालिन आश्रय स्थलको आवश्यकता महशुस भएकोले आपतकालिन आश्रय स्थलको व्यवस्था गर्न फियोनाले प्रस्तावित माग अघि सारेको छ।
वार्तामा फियोनाको तर्फबाट गणेश गुरुङ अध्यक्ष, गंगाकुमार खतिवडा उपाध्यक्ष, इन्द्र वनेम प्रवक्ता, ओमराज सोम्वाहम्फे सल्लाहकार, सत्यप्रसाद घले सल्लाहकार र मोहन राना सहभागी थिए। त्यसैगरी, महावाणिज्यदूतावासको तर्फबाट महावाणिज्यदूत विनोदकुमार उपाध्याय र वाणिज्यदूत किरण शाक्य सहभागी थिए।
छलफलमा भएका निर्णयहरुः
प्रस्ताव १.
हङकङमा रहेका नेपालीहरुको हित र सुविधालाई ध्यानमा राखी हरेक आइतबार वाणिज्य दूतावास खुल्ला राख्ने सम्बन्धमा दूतावास सकारात्मक रहेको। नेपाल सरकारसंग अतिरिक्त कर्मचारीको माग गरि सकिएको। दूतावासको जन शक्तिको बारेमा पुनर्विचार गरी के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी दूतावासको तर्फबाट यस विषयमा उपयुक्त निर्णय गरिने। यस विषयमा आगामी ३ महिना भित्रमा पुनः छलफल गरिने।
प्रस्ताव २.
प्रतिबन्धित रोजगार भिसा फुकुवा गराउने सम्बन्धमा हङकङ सरकार तथा नेपाल सरकारबीच गत वर्ष प्रशासनिक स्तरमा भएको वार्तालाई निर्णायक तहमा पुर्र्याउन दुवै सरकारबीच राजनैतिक तहमा उच्च स्तरीय वार्ताको आवश्यकता भएको कुरामा दुवै पक्ष सहमत। त्यस्तो वार्ताको लागि दूतावासको तर्फबाट नेपाल सरकार तथा हङकङ सरकारबीच वार्ता गराउन कुटनैतिक पहल गर्ने। सो वार्तालाई सहजिकरण गर्न संयुक्त राष्ट्र संघिय महिला विकास कोष (UNIFEM) लगायतका अन्तर्रराष्ट्रिय संघ संस्था एवं हङ्गकङ्गका नागरिक समाजसंग फियोनाको तर्फबाट आवश्यक पहल गर्ने।
प्रस्ताव ३.
हङकङमा अलपत्र पर्ने वा आश्रयहिन हुने नेपाली नागरिकहरुको लागि आपतकालिन आश्रय स्थल (Emergency Shelter) को व्यवस्था गर्न आवश्यक भएको कुरामा दुवै पक्ष सहमत। सो आश्रय स्थलको स्थापना र संचालनको निमित्त आवश्यक पर्ने आर्थिक व्ययभारको निमित्त दूतावासको तर्फबाट नेपाल सरकारसमक्ष अनुरोध गरी पठाउने। आर्थिक पक्ष समाधान भएमा सो प्रक्रिया अगाडि बढाउने।
विविध.
हङकङमा नेपाली महावाणिज्य दूतावासको आफ्नै भवन हुनु पर्ने विषयमा दुवै पक्ष सहमत। यसको लागि फियोनाको तर्फबाट नेपाल सरकारसमक्ष माग पेश गर्ने। हङकङमा नेपाल क्लबको स्थापनाको निमित्त वार्ताका दुवै पक्षको तर्फबाट हङकङस्थित सबै नेपाली संघ संस्था तथा हङकङ सरकारसंग आवश्यक पहल गर्ने सहमति।
तस्विरः सन्तोष देवान/एचके नेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
एस, हङकङ/ एचकेनेपाल डट कम, अक्टोबर १२-
पोखराका मृर्गौला पीडित नर्स भक्ति गुरूङको उपचारको लागि हङकङबाट आर्थिक सहयोग पठाइएको छ।
बेलवारी मोरङका ललित गुरूङको पहलमा उठेको १ लाख १५ हजार ३ सय रूपैयाँ हङकङबाट आइतवार पठाइएको हो।
माङ्गली इन्टरनेशन हङकङमार्फत मृर्गौला पीडित भक्ति गुरूङले नै पाउने गरि सो रकम पठाइएको ललित गुरूङले एचकेनेपाल डट कमलाई बताए। ‘रकम प्राप्त भएपछि सोमवार भक्ति गुरूङले फोनमा कुरा गर्दै सहयोगको लागि आभार व्यक्त गर्नुभयो’ -ललितले भने।
‘मृर्गौला पीडित भक्ति गुरूङको जीवन रक्षाको लागि सहयोग चन्दा प्रदान गर्ने हङकङका सबै सहयोगदाताहरूलाई म हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु’ -ललितले भने।
एचकेनेपाल डट कममा प्रकाशित समाचार पढेपछि सहयोग गर्ने ईच्छा जागेर ललितले व्यक्तिगत पहलमा सो सहयोग रकम संकलन गरेका हुन्।
देश सुब्बा, हङकङ/ एचकेनेपाल डट कम-
नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा ‘नेपाली साहित्यमा हङ्कङको योगदान” विषयक विमर्श आइतवार सनराइज पत्रिकाको कार्यालयमा सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौँ पत्रको प्रयोजनका लागि शोधार्थी दीपक सुवेदीले तयार पारेको शोधपत्रमाथि विमर्श भएको हो।
नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत प्रतिष्ठानका सदस्य डिबी पालुङवा, शोधपत्रबारे संक्षिप्त जानकारी सचिव देश सुब्बाले गराएका थिए। उनले नेपाल र भारतपछि हङकङको नेपाली साहित्यबारेमा यो पहिलो शोधपत्र भएको र हङकङको साहित्य बारेमा डा.गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट बि.ए.को तेस्रो वर्षको ऐच्छिक नेपालीमा पढाइ हुने कुरा पनि जानकारी गराए।
विमर्शमा सनराइज साप्ताहिकका भूपेन्द्र चेमजोङ, एभरेष्ट साप्ताहिकका किसन राई, साब्लाबुङ साहित्यिकका राजकुमार राई, कवि प्रकाश छाङछा, समुच्च विचारकी दीपा राई, प्रतिष्ठानका सदस्य दिल पालुङ्वा नेपाल कुश्शा र उपस्थित व्यक्तिहरूले सल्लाह र सुझाव दिए।
सबैको सल्लाह बमोजिम भोलिको कोशेढुङ्गा त्यो शोधपत्रलाई परिमार्जन गर्न छुटेको सामाग्री उपलब्ध गराउने र पत्र तयार भएपछि सबै मिलेर पुस्तकको रुपमा प्रकाशित गर्ने निर्णय भएको छ।
NRN Day Hong Kong / Nepali Festival 2010 Vidoes: Nepalese and Internationl bands - NRN Day 2010 Hong Kong :
Nepalese Dance- NRN Day 2010 Hong Kong:
NRN Day 2010 Hong Kong- Opening Ceremony:
NRN Day 2010 Hong Kong - Nepali National Anthem:
Uncut 2- NRN Day 2010 Hong Kong, Exhibition booths More videos coming soon…
नेपाली मेलाको तृष्णा मेटिएन
एस हङकङ/ एचकेनेपाल डट कम, अक्टोबर १०-
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद हङकङले एनआरएन दिवसको अवसरमा आइतवार ‘नेपाली मेला २०१०’ आयोजना गरेर नेपाली तथा विदेशीहरूलाई एकै ठाउंमा भेला गर्र्यो।
काउलनु पार्कस्थित पियाजामा आयोजित कार्यक्रममा उपस्थित विभिन्न देशका नागरिकहरू नेपालका बारेमा जान्न उत्सुक थिए।
नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसार गर्ने उद्धेश्यसमेत रहेको रमाइलो मेलामा नेपाली कला र संस्कृति झल्किने गीत संगीतदेखि पूर्वीय र पाश्चत्य संगीतहरू गुञ्जिएका थिए। मेलामा नेपालको पर्यटन र व्यवसायको प्रवर्धनका लागि सघाउ पुग्ने दर्जनभन्दा बढी प्रदर्शनी कक्षहरू राखिएका थिए।
रमाइलो मेलाको उद्घाटनपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि हङकङका लागि नेपाली बाणिज्यदूत विनोदकुमार उपाध्यायले कार्यक्रममा उपस्थित सबैलाई नेपाल पर्यटन वर्ष २०११ बारे जानकारी दिंदै अर्को वर्ष नेपाल भ्रमण गर्न निम्तो दिए।
त्यसै गरी, कार्यक्रमका अध्यक्ष यमकुमार गुरूङ (त्रिलोक)ले एनआरएन दिवसको भूमिका र महत्वबारे चर्चा गर्दै विदेशमा रहेका नेपालीहरूले देशको विकासमा योगदान दिनु पर्ने बताए। गुरूङले नेपाल पर्यटन वर्ष २०११ मा नेपाल भ्रमण गर्न विदेशी पाहुनाहरूलाई आग्रह गरे।
हङकङ नेपाल टुरिजम बोर्ड डिप्लोमेटिक मिसनका लिङ्कन लिनले नेपाल सरकारले २०१२ लाई नेपाल पर्यटन वर्षको घोषणा गरेको स्मरण गराए। ‘विश्वका सर्वोच्च शिखर सगरमाथासहित १४ उच्चत्तम शिखरहरू रहेका नेपाल विदेशी पर्यटकहरूको लागि सर्वोत्कृष्ट गन्तव्य हुन सक्छ।’ - लिङ्कनले भने। नेपाल सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका अन्तर्राष्ट्रिय पर्वतारोहीहरू ‘गुड विल एम्बास्डर’ छानिएको समेत लिङ्कनले जानकारी दिए।
त्यसैगरी, क्वालिटी हेल्थ केयर सर्भिसका डा. पाउल मुरेले नेपाल घुम्ने ईच्छा अझै अधुरो रहेको बताए। ‘अहिलेसम्म नेपाल गएको छैन भन्दा लज्जाबोध हुन्छ। म, नेपाल घुम्ने चाँजो मिलाउने प्रयाशमा छु’ - मुरेले भने। कार्यक्रममा वरिष्ठ प्रहरी निरीक्षक पाउल लुइस, याउ चिम मोङका जिल्ला अधिकारी भिकी क्वोकलगायतले मन्तव्य व्यक्त गरेका थिए।
औपचारिक कार्यक्रममा संघका उपाध्यक्ष दुर्गा (एनडी) गुरूङले स्वागत मन्तव्य दिएका थिए भने सचिव लिलिमा घलेले कार्यक्रम सञ्चालन गरेका थिए।
औपचारिक कार्यक्रम सकिनै लाग्दा पानी परेपछि कार्यक्रम विथोलिएको थियो। पानीबाट बच्न दर्शक ओत खोज्दै कार्यक्रमले पुनः निरन्तरता पाउने आशामा दर्शक पर्खिरहेका थिए। पानीभित्र रूझ्दै र भिझ्दै कलाकारहरूलाई साथ दिन दर्शक तयार भएपनि कार्यक्रमको उत्तरार्ध पूर्वघोषित कार्यक्रमहरू नेपाली जातिय फेशन शो तथा क्याटवाक, झाँकी र नृत्यहरू प्रस्तुत हुन सकेनन्। दर्शकले विदेशी र नेपाली गायकहरूका गीतहरूमा मात्र चित्त बुझाउन परेको थियो। देवराज राई र अञ्जु घिसिङले सञ्चालन गरेको कार्यक्रममा पानी परेपनि दर्शकले क्वेजर र इष्टलाइभ ब्याण्डलाई अन्तिम समयसम्म साथ दिएर हौसाएका थिए भने गायक कलाकारहरू नेपाली तथा अंग्रेजी गीतहरू पस्केर मनोरञ्जन दिनमा मस्त थिए।
तस्वीरः जगतअम्बु गुरूङ र सन्तोषकुमार देवान / एचकेनेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
कार्यक्रमको सुरूदेखि पानी परेकोले नेपाली मेलाको तृष्णा नमेटिएको गुनासो दर्शकको थियो। पानी परेपछि कामचलाउ पाल टाँगेर कार्यक्रम गर्नु पर्दा आधाभन्दा बढी पूर्वघोषित कार्यक्रमहरू आयोजकले रद्द गर्नु परेको थियो। झरीभित्र पनि कार्यक्रमको अन्त्यसम्म साथ दिएकोमा एनआरएन हङकङका अध्यक्ष यमकुमार (त्रिलोक) गुरूङले सबैलाई धन्यवाद दिंदै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोग पाउने आशा व्यक्त गरे।
————————————————————————
Raffle draw result : First Prize: Return ticket to Kathmandu from Hong Kong by Nepal Airlines:
Winner: Limbu Resna
Second Prize: One Way ticket to Kathmandu from Hong Kong by Nepal Airlines:
Winner: Narayan Kumar Gurung
Third Prize: Digital Camera
Winner: C. Thapa
————————————————————————
नेपाली मेलामा विदेशी कलाकार
एस हङकङ/ एचकेनेपाल डट कम, अक्टोबर ९-
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद हङकङले एनआरएन दिवसको अवसरमा आयोजना गरिन लागेको ‘नेपाली मेला-२०१०’ लाई स्थानीय नेपाली कलाकारहरूसहित विदेशी साँगीतिक समूहहरूले समेत साथ दिने भएका छन्।
काउलुन पार्कस्थित पियाजामा अक्टोबर १० तारिख आइतवार दिनभर हुने मेलामा स्थानीय नेपाली साँगीतिक समूह ईष्टलाइभ ब्याण्ड, स्थानीय कलाकार तथा जातिय संघसंस्थाका कलाकारहरूले नेपाली कला र संस्कृति झल्किने गीत संगीत तथा नृत्यहरू प्रस्तुत गर्ने छन्।
मेलामा नेपाली स्वादबाहेक बेलायती, अंग्रेजी, जापानीज तथा हङकङका चिनीयाँ सम्मिलित गायक कलाकारहरूले भिन्नभिन्नै स्वादका गीतहरू पस्कने भएका छन्। कार्यक्रममा एफबिआइ, नग्ट एण्ड एक्सेस, क्वेजर, हेल्टर स्केल्टर र गोङ वु गरी चार विदेशी साँगीतिक समूहहरूले सहभागिता जनाउने छन्।
नेपाली मेलामा ‘नेपाल पर्यटन वर्ष २०११’ को व्यापक प्रचारप्रसार गरिने भएकाले विदेशी दर्शकलाई आकर्षित गर्न विदेशी कलाकारहरूलाई समेत सहभागी गराइएको एनआरएन हङकङले जनाएको छ। विदेशी साँगीतिक समूहका सहभागिताले विदेशी दर्शक तान्न सक्ने अनुमान आयोजक संस्थाले गरेको छ।
नेपाली मेलामा गीत गुञ्जनमात्र नभै नेपालको पर्यटन व्यवसायलाई सघाउ पुग्ने खालका प्रचारात्मक सामाग्रीहरूको प्रदर्शन हुने छ।
यसै अवसरमा एनआरएन हङकङका अध्यक्ष यमकुमार गुरूङ (त्रिलोक)ले हङकङका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई नेपाली मेलामा उपस्थित भै कार्यक्रम सफल बनाई दिन आग्रह गर्नु भएको छ।
एनआरएन दिवसमा ‘नेपाली मेला २०१०’
एस हङकङ/ एचकेनेपाल डट कम, अगष्ट ३०-
गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङले नेपाली मेलासहित ‘एनआरएन दिवस’ भव्यरूपले मनाइने भएको छ।
संघद्वारा जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित जानकारी सभामा अक्टोबर १० तारिख काउलुन पार्क पियाजामा दिनभर रमाइलो मेलासहित एनआरएन दिवस मनाउने संघले जानकारी दिएको हो।
भिडीयोः
कार्यक्रममा बोल्दै एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरूङले ‘नेपाल पर्यटन वर्ष २०११’ को प्रवर्द्धनमा सहयोग पुग्ने गरी एनआरएन दिवस मनाउने निर्णय गरिएको बताउनुभयो। स्थानीय नेपाली व्यवसायीको स्टल, नेपाली कला र संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम तथा झाँकी र नेपाली युवाहरूद्वारा फेशन शो गरिने अध्यक्ष गुरूङले बताउनु भयो। एनआरएन सबै नेपालीको साझा संस्था भएकोले कार्यक्रम सफल पार्न हङकङका सबै नेपाली तथा संघसंस्थाहरूलाई सहयोग र सहकार्यको लागि अध्यक्ष गुरूङले आग्रह गर्नुभएको छ। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
उपाध्यक्ष दुर्गा (एनडी) गुरूङले एचकेनेपाल डट कमसंग बोल्दै अक्टोबर १० तारिखको एनआरएन दिवस विहान १० बजेदेखि राति १० बजेसम्म विविध कार्यक्रमसहित मनाउने तयारी भैरहेको बताउनुभयो। उहाँले सो दिन विविध साँस्कृतिक कार्यक्रमसहित नेपाली बुटिक, ह्याण्डीक्राफ्ट, अर्गानिक प्रोडक्टलगायत नेपाली व्यापार र नेपाल पर्यटनको प्रवर्द्धनमा टेवा पुग्ने सामाग्रीहरूको स्टल, नेपाल वायुसेवा निगमद्वारा प्रायोजित भाग्यशाली चिठ्ठा, फेस पेन्टिङ, महिलालाई निःशूल्क मेहदी सजावट, स्वास्थ्य शिविर र विभिन्न जातिय भेषभूषामा फेशन शो तथा नृत्य प्रदर्शन हुने बताउनु भयो। त्यसै गरी, सोही दिन ‘नेपाल पर्यटन वर्ष २०११’ को प्रवर्द्धनको लागि नेपाल टेलिभिजनको सहयोग र सहभागितामा नेपालका रमणीय दृश्य तथा जीवन शैली ठूलो टिभी स्क्रीनमा प्रदर्शन गरिने बताउनुभयो। भाग्यशाली चिठ्ठाको टिकट विक्रीबाट संकलित रकम नेपालको ग्रामिण तथा दूर्गम क्षेत्रको शैक्षिक संस्थानलाई सहयोगस्वरूप उपलव्ध गराउने निर्णय भएपनि कसलाई दिने भन्नेबारे निर्णय हुन बाँकी रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा मेख गुरूङले एनआरएनले तयार गरिन लागेको टिशर्टमा आकर्षक लोगो राख्ने तयारी भैरहेको बताउदै लोगो डिजाइनको प्रतियोगितासमेत आयोजना गरिएको बताउनुभयो। लोगो डिजाइनका विजयीलाई आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको उहाँले बताउनुभयो। थप जानकारीको लागि उहाँले एनआरएन हङकङको वेवसाइट भिसिट गर्न आग्रह गर्नुभयो।
कार्यक्रम सञ्चालन गर्दै एनआरएन हङकङका महासचिव अर्जुन गुरूङले एनआरएन दिवस भव्य रूपमा मनाउन सबैको सहकार्यको आवश्यकता रहेको बताउनुभयो। उहाँले ‘एनआरएन दिवस’ को अफिसियल मिडीया पार्टनर एचकेनेपाल डट कम रहेको कार्यक्रममा जानकारी दिनुभयो। एनआरएन हङकङका उपाध्यक्ष दुर्गा (एनडी) गुरूङको स्वागत मन्तव्य रहेको कार्यक्रममा तमु ट्हो ह्युल हङकङका अध्यक्ष ईच्छाकुमारी गुरूङ, फियोना हङकङका अध्यक्ष गणेश गुरूङ, नेपाली जनसम्पर्क समिति हङकङका सल्लाहकार कुलप्रसाद गुरूङ, एनआरएन हङकङका सल्लाहकार वाईबि राई, नेपाल वायुसेवा निगमका क्षेत्रिय प्रवन्धक किरण पन्थ र हङकङस्थित नेपाली वाणिज्यदूत किरण शाक्यले एनआरएन दिवसको सफलताको शुभकामना व्यक्त गर्दै आफूहरूबाट सक्दो सहयोग उपलव्ध हुने प्रतिवद्धता जाहेर गर्नुभयो।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
सोही कार्यक्रममा एनआरएन दिवस सफल पार्न १९ हजार ५ सय ५१ हङकङ डलर चन्दा संकलन गरिएको छ। कार्यक्रममा सहयोग तथा प्रायोजन गर्न चाहने व्यक्ति तथा संघसंस्थालाई एनआरएन हङकङकसंग सम्पर्क गर्न संघले आह्वान गरेको छ।
एस हङकङ/ एचकेनेपाल डट कम-
तनहूँ समाज हङकङको दोश्रो प्रस्तुतीका रूपमा ‘तनहूँ बराही साँझ-२’ आयोजना हुने भएको छ।
दशैं-तिहार शुभकामना आदानप्रदान तथा सन्देश प्रवाह कार्यक्रममा आयोजकले तनहूँ बराही साँझ-२ नोभेम्बर २१ तारिख याउ मा तेइ कम्युनिटी हलमा आयोजना गरिने जानकारी दिएको हो।
भिडियोः
तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम
तनहूँ बराही साँझ-२ साँगीतिक कार्यक्रममा पप तथा आधुनिक गायक शिव परियार, लोक गायक आर के गुरूङ, लोक दोहोरी तारा २०६६ तोला चन्द तथा नृत्यांगना निरूता लुङ्गलीको विशेष प्रस्तुती रहने छन्।
कल्पना गुरूङ र प्रीतिमा थापाको उद्घोषण रहने कार्यक्रममा लामो समयको अन्तरालपछि झटारो समूह स्टेचमा देखा पर्ने छ। झटारोका भिम गुरूङ र रोशन गुरूङले ‘महादेवको हङकङ यात्रा’ प्रहसन प्रस्तुत गर्ने छन्।
जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा शनिवार साँझ आयोजित कार्यक्रममा तनहूँबासी हङकङेलीहरूको व्यापक उपस्थिति रहेको थियो।
समाजका अध्यक्ष यम थापाको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा सन्देश प्रवाह कार्यक्रममा उपाध्यक्ष प्रेम गुरूङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समाजका सचिव सुबित गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अथितिका रूपमा उपस्थित रहेका कार्यक्रमको प्रमुख अतिथि पूर्णबहादुर खड्का थिए।