Archive for June, 2011
एस / एचकेनेपाल डट कम -
नेपाललगायत किरात राईहरुको बसोबास रहेका मुलुक भारत, बेलायत, कोरिया, जापान, मलेशिया, कतार, ब्रुनाइलगायतका देशमा मैझारो भइरहेको बेला हङकङमा पनि उधौली साकेला मनाइयो।
‘वैशाखे पूर्णिमादेखि एक महिनासम्मै उधौलीमा साकेला नाचिन्छ,’ किरात राई यायोक्खा हङकङका सचिव पिताम्बर राई भन्दै थिए, ‘आज त बीस दिन न भो अझै दश दिन नाच्दा हुन्छ।’
तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम
हुन त यायोक्खाले मे २२ कै दिन उधौली साकेला मनाउने चाँजो नमिलाएको होइन तर, उक्त दिन प्रतिकूल मौसमको कारण कार्यक्रम स्थगित भएको थियो । यस विषयमा सहसचिव रजिन राईले भने, ‘अन्तिम अवस्थामा मुसलधारे वर्षासंगै ‘रेड रेन’को सिंग्नल आएपछि बाध्य भएर कार्यक्रम सार्न बाध्य भयौं । कतिपयलाई एकै हप्तामा विदा मिलाउन गाह्रो पर्ने भएकोले दुइ हप्ता पछि कार्यक्रम गर्दैछौं।’
आयोजककोतर्फबाट कलाकारहरुले प्रस्तुत गरेको प्रदर्शनी सिलीसंगै अन्य पनि सामेल हुने क्रममा फिलिपिनीदेखि पाकिस्तानीसम्म झुम्न पुगेका थिए। मच्चि-मच्चि ‘ढ्वाङकु… ढ्वाङकु…. ढ्वाङकु….’ ढोल बजाउने एक पाकिस्तानी भन्दै थिए, ‘हमारा भी ऐस्सैं ढोल होता है ।’ उनलाई साथ दिइरहेका थिए उनका अर्का साथी झ्याम्टा बजाउँदै।
‘दुइ-तीन वर्षदेखि उभौली उधौलीमा नियमित आइरहेका थिए यी पाकिस्तानी भैयाहरु,’ एक आयोजक भन्दै थिए, ‘मोराहरुको मनोबल बढेछ, यो वर्षत ढोल-झ्याम्टा बजाउनै पो निस्किए।’

ढोल बजाउँदै एक पाकिस्तानी। तस्बीरः देवमान लिम्बू।
याउमाते बस्ने देवमान लिम्बूले भने, ‘धरानमै जस्तो हुने भो । धरानमा क्षेत्री-बाहुनदेखि मारवाडीसम्म ढोल-झयाम्टामा नाचेको देखेको, यहाँ पनि फिलिपिनोदेखि पाकिस्तानीसम्म नाच्न थाले।’
पुरानो पुस्तासंगै मौलिक भेषभूषामा सजिएका नयाँ पुस्ता पनि अबेलासम्म उफ्रिरहेका थिए ‘ढ्वाङकु… ढ्वाङकु…. र झ्याम…. झ्याम….’संगै ‘सोइ ढोले सोइ, अर्को ढोले खोइ……..’ भन्दै।
बिहान ११ बजेदेखि शुरु भएको सिली करीव तीन बजेतिर केही क्षणको विश्राममा औपचारिक कार्यक्रम गरिएको थियो । औपचारिक कार्यक्रमका प्रमुखअतिथि थिए नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष मैनबहादुर थापामगर।
यायोक्खाका अध्यक्ष किसन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू ट्हो हृयुलकी उपाध्यक्ष श्रीमती रिता गुरुङ र हङकङ नेपाली महासंघका अध्यक्ष दीप थापामगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उपाध्यक्ष शशीमदन राईको स्वागत मन्तव्बबाट शुरु भएको कार्यक्रममा सल्लाहकार ज्ञानबहादुर राईले उधौली र साकेलाको बारेमा संक्षिप्त बताएका थिए । सचिव पिताम्बर राईले सञ्चालन गरेको कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आतिथ्य प्रदान गरिएको थियो।
सोही अवसरमा प्रमुखअतिथि थापामगरले यायोक्खाको मुखपत्र ‘यलम्बर’को १२औं अंकको विमोचन गरे । त्यसैगरि उनले किराता राई अन्तर्राष्ट्रिय सम्मेलन तथा किरात महोत्सव २०११ लाई नेपाली रुपैयाँ १० हजारभन्दा अधिक आर्थिक सहयोग गर्ने ६ जनालाई प्रमाणपत्र र ट्रफी वितरण गरे।
Popularity: 8%
June 6th, 2011
एस / एचकेनेपाल डट कम-
जुहाई (चीन), चीनको दक्षिणी सहर जुहाईको मध्यभागमा अवस्थित ‘अक्सफोर्ड स्ट्रिट’ हालै नेपालमय बन्यो। रंगीबिरंगी चिनियाँ र अंग्रेजी भाषाका नेपाल प्रवर्द्धनात्मक पोस्टर, झण्डा र तुललगायतका सामग्रीले समुद्री तटवर्ती यो सहर दुलही झैं सिंगारिएको थियो।
यस्तो अवसर जुटाइदिएका थिए, चिनियाँ नागरिक साइमन झुले। उनले नेपाल प्रवर्द्धन गर्न आफनै सक्रियतामा ‘भिजिट नेपाल कल्चरल फेस्टिभल’ गरेका थिए।
दुइदिने महोत्सवको खर्चको जोहो पनि ४४ वषीय झुले नै गरेका थिए। डम्फु बजाएर चीनका लागि नेपाली राजदूत टंक कार्कीले शनिबार चिनियाँ शैलीमै महोत्सवको शुभारम्भ गरेका थिए। नेपाली लोक तथा आधुनिक नृत्य, वाद्यवादनलगायत विविध सांस्कृतिक कार्यक्रमले दिनभर शहर गुञ्जायमान भएको थियो।
तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
सडक पेटी नै ढाकिने गरी ओइरिएका दर्शकको भीडमा नेपाली कला संस्कृति क्यामरामा कैद गर्नेको कमी थिएन। चिनियाँ र अन्य मुलुकका पर्यटकहरू जिब्रो फड्कार्दै महोत्सवमा राखिएको थरीथरीका नेपाली परिकारका स्वाद लिइरहेका थिए। कतिपय स्थानीय युवतीहरू गालामा नेपाली झण्डाको तस्बिर कोर्न लामबद्ध थिए। हङकङ र चीनका पर्यटन व्यवसायीहरू समेत सहभागी मेलामा अवलोकनकर्ताहरूले नेपालबारे विभिन्न कौतुहलता राखेका थिए। ‘छिमेकी मुलुकले अघि सारेको अभियानलाई सहयोग गर्नु हाम्रो पनि दायित्व सम्झी यस्तो योजना बनाएका हौं,’ गत वर्ष नेपाल भ्रमण गरेका झुले भने, ‘प्राकृतिक सौन्दर्यता र नेपालको कलासंस्कृतिले मलाई साँच्चिकै मोहित बनायो।’ टीपीआर अन्तर्रराष्ट्रिय स्कुलका सञ्चालक उनले नेपालमा चिनियाँ र जुहाईमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने योजनासमेत सुनाए। ‘आगामी दिनमा समेत नेपाल प्रवर्द्धनात्मक क्रियाकलापलाई निरन्तरता दिनेछौं,’ उनले भने। आयोजकका अनुसार महोत्सवमा करीब दस हजारले भ्रमण गरे।
चिनियाँ नागरिकले नेपालप्रति दर्शाएको सद्भाव र प्रेमको प्रशंसा गर्दै राजदूत कार्कीले भने, ‘यो नेपाल-चीन सम्बन्ध जनस्तरमै सामाजीकरण हुंदै गइरहेको उदाहरण हो। ‘ झुको योजनालाइ मूर्तरूप दिन उनका नेपाली मित्रद्वय कलाकार हरि श्रेष्ठ र चेतमान गुरुङको योगदानसमेत कम थिएन। ‘हामीलाई आफ्नो मुलुकको माया, ममता र चासो हुनु त सामान्य नै भयो,’ श्रेष्ठले भने, ‘तर अर्को मुलुकको प्रवर्द्धनका लागि तन, मन र धनले सहयोग गर्ने यस्ता सहयोगी विरलै भेटिन्छन्।’ पर्यटन वर्षको सरकारले एक लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। ‘यो वर्षविगतका तुलनामा ४२ प्रतिशत- सम्म चिनियाँ पर्यटक बढेका छन्,’ राजदूत कार्कीले भने, ‘लगभग शून्य प्रवर्द्धनात्मक खर्चमा समेत तोकिएको लक्ष्य पूरा हुने सम्भावना देखिएको छ।’ सन् २००१ मा चीनले नेपाललाई ‘आउटबाउन्ड टुरिज्म’का लागि खुला गरेको हो।
Popularity: 9%
June 1st, 2011