एस, हङकङ/ एचकेनेपाल डट कम-
नेपालीहरुमाथि हङकङ सरकारद्वारा लगाइएको भिसा प्रतिबन्ध फुकुवा गराउन हङकङमा विशेष अभियान शुरु गरिएको छ।
हङकङ सरकारले बिना कुनै ठोस कारण सन् २००५ को जुन महिनादेखि नेपालीहरुमाथि रोजगार, विद्यार्थी भिसालगायत अन्य भिसाहरुमा प्रतिबन्ध लगाइएको छ।
भिसा प्रतिबन्धपछि नेपालीहरू हङकङमा काम गर्न पाउने अधिकारबाट वञ्चित छन्। भिसा प्रतिबन्ध फुकुवा गराउन यहाँका संघसंस्थाहरूले दबावमूलक कार्यक्रमहरु सार्वजनिक गरेका छन्।
हङकङमा नेपालीहरुको जेठो संस्था सुदूरपूर्वी प्रवासी संघ फियोना हङकङ तथा नेपाली घरेलु कामदार युनियनको संयुक्त आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरी अभियानको बारेमा जानकारी गराइएको हो।
हङकङमा आप्रवासी नेपाली कामदारहरु माथिको भिसा प्रतिबन्ध नीति विरुद्धको अभियान क्याम्पेन अगेन्स्ट भिसा पोलिसी अन नेपालीज माइग्रेण्ट वर्कर्स इन हङकङ नामक अभियानको विभिन्न चरणका कार्यक्रमहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।
युएन वुमेन (संयुक्त राष्ट्र संघको महिला शशक्तिकरण कार्यक्रम) द्वारा सहयोग प्रदान गरिएको सो अभियानमा २०१२ सालको मार्च ३१ सम्म विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाएको छ। आयोजकका अनुसार हङकङमा विभिन्न पक्ष (नेपाली र विदेशीहरुलाई) लाई समेट्ने गरी ४ वटा कार्यशाला गोष्ठीको आयोजना गरिनेछ। कार्यशाला गोष्ठीपछि हङकङमै नेपाली संघ संस्थाहरुका नेतृत्वलाई एकै ठाउंमा भेला गराई नेपाली सामुदायिक नेतृत्वहरुको सम्मेलन आयोजना गरिनेछ। त्यसपछि नेपालमा एक कार्यशाला गोष्ठी तथा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुसंग हङकङको विषय वस्तुमाथि केन्द्रित भई छलफल गरिनेछ। प्रतिबन्धित भिसा फुकुवाका लागि राजनैतिक स्तरमा दुइ सरकार बीच वार्ता गराउनु यी संस्थाहरले पहल गर्ने जनाएको छ। हङकङ सरकार तथा नेपाल सरकारबीच यसै वर्षको अन्त्यसम्म निर्णायक वार्ता गराउन हङकङस्थित नेपाली महावाणिज्य दूतावाससंग निकट रही कार्य गरिनेछ।
पत्रकार सम्मेलनमा भिसा प्रतिबन्ध फुकुवा हुनुपर्ने सन्देश सहितको पोष्टर, आव्हान पत्र तथा पोजिसन पेपर सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार अभियानको समर्थनको लागि हङकङ, नेपाल तथा फियोना एवं यूनियन आवद्ध अन्तर्राष्ट्रिय फोरमहरुमार्फत अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सहयोग माग गरि हस्ताक्षर अभियानसमेत सञ्चालन गरिनेछ। करीब ५ महिनामा प्राप्त हुने हस्ताक्षर तथा समर्थन पत्रहरुलाई संकलन गरी निर्णायक वार्ताको लागि दबाब दिन हङकङ तथा नेपाल सरकारलाई बुझाइनेछ।
यस अभियानमा हङकङमा एसियन माइग्रेण्ट सेन्टर, कोलिसन फर माइग्रेन्ट राइट्स, एशियन माइग्रेण्ट्स् कोअर्डिनेशन बडी, फेडेरेशन अफ एसियन डोमेस्टीक वर्कर्स यूनियन साझेदार संस्थाका रूपमा छन्। त्यसैगरी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेशनल माइग्रेण्ट्स् एलाइन्स र माइग्रेण्ट फोरम इन एशिया आयोजकका साझेदारहरु छन्। आयोजकहरुद्वारा हालै हङकङ अध्यागमन विभागलाई एक ज्ञापन पत्र समेत बुझाइएको छ।
पत्रकार सम्मेलनमा पत्रकार तथा अन्य सहभागीहरुद्धारा उठाइएका प्रश्न एवं जिज्ञासाको जवाफ फियोनाका अध्यक्ष गणेश गुरुङ, उपाध्यक्ष गंगा खतिवडा, प्रवक्ता इन्द्र वनेम, नेपाली घरेलु कामदार युनियनकी अध्यक्ष चुनी थापा तथा सचिव सुकमाया राईले दिएका थिए।
नेपाली घरेलु कामदारहरुमाथि अन्याय भएको तथा उनीहरु न्यूनतम तलबभन्दा कममा काम गर्न बाध्य पारिएको बताउंदै तोकिएको तलब दरभन्दा थोरैमा काममा लगाउनु र काम गर्नु दुबै गैरकानूनी भएकोले यदि नेपाली कामदारलाई न्यून पारिश्रमिकमा राखिएको पाइएमा त्यस्ता रोजगारदाताविरुद्ध कानूनी कार्यवाहीको पहल गरिने जानकारी दिए।
पत्रकार सम्मेलनपछि सञ्चालित प्रथम कार्यशाला गोष्ठीमा नेपाली घरेलु कामदारहरु तथा नेपाली कामदारआवद्ध युनियनका पदाधिकारीहरु, विभिन्न ६ समूहमा भिसा प्रतिबन्ध तथा घरेलु कामदारहरु सम्बन्धी विषयहरुमाथि छलफल गरेको थियो। तस्वीरहरूः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम
एस हङकङ/ एचकेनेपाल डट कम-
विगत सात वर्षदेखि हङकङमा भइरहेको पोखरेली झ्याल मेला यो बर्ष बेलायतमा आयोजना हुने भएको छ।
पोखरेली कला र संस्कृतिको विस्तार तथा सम्पूर्ण नेपालीबीच भाइचारा अभिवृद्धिका लागि हुदै गरेको पोखरेली झ्याल कार्यक्रम यो बर्ष बेलायतको बर्गफिल्ड रिडिङमा आयोजना हुने आयोजकहरूले बताएका छन्।
सेप्टेम्बर ११ तारिखका दिन हुने महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, बालबालिकाबीच चित्रकला प्रतियोगिता, युवाहरूबीच निवन्ध लेखन प्रतियोगिताका साथै ट्यालेन्ट प्रतियोगिताहरू हुने छन्। सोही अवसरमा पोखरास्थित फेवातालमा डुङ्गा प्रतियोगितासमेत आयोजना गरिने पोखरेली मञ्च युकेका महासचिव मानप्रसाद गुरूङले बेलायतबाट जानकारी दिएका छन्।
‘आठौं पोखरेली झ्याल २०११- युके’ पोखरेली मञ्च युके र मितेरी सेवा समिति हङकङ पोखराको संयुक्त आयोजनामा हुन लागेको हो। यस कार्यक्रमबारे जानकारी दिने क्रममा मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले हङकङमा हुंदै गरेको यस महोत्सवलाई विश्वव्यापी गर्न यस पटक बेलायत रोजेको बताए। बेलायतपछि अर्को वर्ष यो महोत्सवलाई पोखरामा गर्न गइरहेको गुरूङले बताए। ‘पोखरेली झ्याल आठौं’ बारे जानकारी दिदैं मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङ। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।
समितिले पोखरेली झ्याल मेलामा विविध साँस्कृतिक कार्यक्रम मात्र नभइ सृजनात्मक गतिविधिहरूसमेत गर्दै आएको छ। समितिले पशन तमूको संयोजनमा वृहत कविता प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ। प्रतियोगिताका निर्णायकहरूमा नेपाली साहित्यका हस्तीहरू पोखराका वरिष्ठ साहित्यकार, कवि तथा गीतकार सरूभक्त, तीर्थ श्रेष्ठ र प्रकट पगेनी शिव थिए। त्यसैगरी, समितिले सिक्स ए साइड फुटबल प्रतियोगिता ‘पोखरेली झ्याल कप’ र विगत दुई वर्षयता पोखरेली झ्याल आइडल गीत गायन प्रतियोगिता गर्दै आएको छ।
समितिले पोखरेली झ्याल आइडलहरू टोपराज तामाङ (आइडल २०१०), सन्तोष गुरूङ (आइडल २००९), रोशा लिम्बू (फस्ट रनरअप २०१०), सहित नृत्यका आइडल एलिना थापालगायतलाई बेलायतको कार्यक्रममा सहभागी गराइने जनाएको छ।
‘आठौं पोखरेली झ्याल २०११- युके’ मा कन्दरा ब्याण्डका विवेक श्रेष्ठ, रोविन श्रेष्ठ (नेपथ्य ब्याण्डका पूर्व सदस्य) ब्रोसिसका दिपु गुरूङ, इष्ट लाइभ ब्याण्डका राजु गुरूङ र शीतल पुनसहित हङकङका चर्चित वाद्य वादक टोलीहरू सहभागी रहने छन्।
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
एस, हङकङ/ एचकेनेपाल डट कम, जुलाई १३ - हामी जतिसुकै अंग्रेजी किन नबोलौं
हामी जतिसुकै चीना किन नबोलौं
तर, जब हामी नेपाली भएर नेपाली बोल्छौं
त्यहाँ हाम्रो हृदय बोलेको हुन्छ।
आदिकवि भानुभक्त आचार्यको १९८ औं जन्मजयन्तीको अवसरमा बुधवार साँझ नेपाली विद्यार्थीहरू युनलङ थियटर हलमा ओइरिए। नेपालका पहिला कवि भनेर पाठ्यक्रममा पढ्दै गरेका उनीहरूले भानुभक्तको स्मृतिमा नाचगानमात्र गरेनन् रामायणका श्लोकहरूसमेत वाचन गर्न भ्याए।
परदेशमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई अंगिकार नगरे नेपालीको अस्तित्व नरहने पाठ पढिरहेका उनीहरूले भानुजयन्तीलाई हरेक साल एउटा महोत्सवका रूपमा मान्ने गरेका छन्।
भानुभक्तप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सुरू भएको कार्यक्रममा आयोजकका तर्फबाट बोल्दै एकराज राईले हङकङका अल्पसंख्यक नेपालीले आफ्नो अधिकार प्राप्तिको लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताए। हङकङेली नेपाली समाज र भानुभक्त सम्बन्धी जानकारी दिने क्रममा उनले भने- ‘सन् २००१ सालदेखि केही विद्यालयमा र अहिले १२ वटा विद्यालयहरूमा नेपाली भाषाको कक्षा सञ्चालन भइरहेको छ।’ विद्यार्थी, शिक्षक तथा अभिभावक सामु राईले भने- ‘हाम्रा नानीहरू नेपाली भएर बाँच्नको लागि नेपाली भाषामा रम्नु पर्छ।’ नेपाली भाषा, कला, संस्कृतिप्रति जोड दिदैं उनले भने ‘जब हाम्रा नानीहरू नेपाली भाषामा बोल्छन्, नेपाली संस्कृतिमा रम्छन् त्यतिखेर हामी नेपालीपनमा बाँचेका हुन्छौं।’
पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, आइकेटी कलेज, टिके प्राथमिक विद्यालय, बेथेल हाई स्कूल, क्यारिटाज माध्यमिक विद्यालय, सगरमाथा किन्डरगार्टेन, इस्लामिक प्राइमरी विद्यालयलगायतका विद्यार्थीहरूले आफ्ना सिर्जना वाचन गर्नुका साथै गीत नृत्य प्रस्तुत गरे। बेथेल हाइ स्कूल, पिएच केन्द्रीय प्राथमिक विद्यालय र आइकेटी कलेजमा अध्ययरत विद्यार्थीहरूले सामुहिक रूपमा रामायणका विभिन्न काण्डहरू वाचन गरेका थिए।
गीत, संगीत, नृत्य र तथा कविता वाचनसहित भव्य रूपले मनाइएको भानु जयन्तीको आयोजक हङकङ नेपाली साहित्य परिषद, संयोजक हङकङ नेप्लीज फाउण्डेशन र अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कम थिए।
एस हङकङ/ एचकेनेपाल डट कम, जुलाई १२ -
नेपाल पत्रकार संघ हङकङले आयोजना गरेको ६ दिने फोटोग्राफी तथा फोटोपत्रकारिता तालिम सोमवार सम्पन्न भएको छ। प्रशिक्षण दिंदै वरिष्ठ फोटोपत्रकार विकास रौनियार। तस्वीरः जगतअम्बु गुरूङ, हङकङ/ एचकेनेपाल डट कम
नेपालका वरिष्ठ फोटोपत्रकार तथा कान्तिपुर दैनिकका फोटो सम्पादक विकास रौनियारले जुलाई ६ देखि ११ तारिखसम्म फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धी प्रशिक्षण दिएका थिए।
जोर्डनको फेरी स्ट्रीटस्थित लिटलबड्स किन्डरगार्टेनमा सञ्चालन भएको फोटोपत्रकारिता तालिममा यहाँका फोटोपत्रकार, सम्पादक तथा फोटोग्राफीमा रूची राख्नेहरू गरी २९ जना सहभागी थिए। सहभागीहरू
प्रशिक्षण सम्पन्नपछि एचकेनेपाल डट कमसंग बोल्दै वरिष्ठ फोटोपत्रकार रौनियारले भने- ‘नेपाली फोटोपत्रकारितामा मात्र होइन विश्वकै फोटोपत्रकारिताको लागि हङकङका फोटोपत्रकारहरूबाट राम्रो सम्भावना देखेको छु।’ फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धी थुप्रै अनुभव संगालेका रौनियारले राम्रो फोटोग्राफर बन्नलाई राम्रो दृश्य हेर्ने क्षमता हुनु पर्ने बताए।
नेपाल पत्रकार संघ हङकङले यहाँका फोटोपत्रकारहरूका रूची र आवश्यकता हेरी फोटोग्राफी तथा फोटोपत्रकारिता प्रशिक्षण दिने व्यवस्था गरेको हो। केही महिनाअघि गठन भएको संघले निकट भविष्यमै अन्य विविध कार्यक्रमहरू आयोजना गर्दै लैजाने जनाएको छ।
संघका उपाध्यक्ष पशन तमूद्वारा प्रशिक्षक रौनियारलाई प्रमाणपत्र प्रदान गरिदै।
संघका अध्यक्ष किसन राईद्वारा प्रशिक्षक रौनियारलाई मायाको चिनो प्रदान गरिदै।
भिडियोः कार्यक्रमको झलक, प्रशिक्षक रौनियार र सहभागीहरूको प्रतिक्रिया।