Archive for September, 2011

८ नं. को टाइफुन घट्यो

८ नं. को टाइफुन घट्यो
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ सेप्टेम्बर । बिहान सबेरैदेखि जारी टाइफुन नं. ८ (आँधी बेहरी) अपरान्ह ४ बजे घटेर ३ नं.मा पुगेको छ। यसअघि, टाइफुन नं. ८ आएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको थियो। टाइफुनका कारण विहीवार विद्यालय, कलेज, सरकारी कार्यालय तथा व्यापारिक प्रतिष्ठानहरु बन्द भएका थिए।

टाइफुन नं. ८ ले हङकङको जनजीवन ठप्प (भिडियोसहित)
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ सेप्टेम्बर । बिहान सबेरैदेखि आएको टाइफुन नं. ८ (आँधी बेहरी)ले हङकङको जनजीवन ठप्प बनाएको छ। बिहान करीव ४ बजेदेखि सुरु भएको ताइफुन नं. ८ का कारण विहीवार विद्यालय, कलेज, सरकारी कार्यालय तथा व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्।

अधिकांश यातायातका साधनहरु कम मात्रामा गुडेका छन्। एमटिएआर (भूमिगत रेल) र केसिआर गुड्ने समय घटाएको छ भने फेरी सेवाहरू पूर्णतय बन्द भएका छन्। त्यसैगरी, टाइफुनले हवाइ उडानलाई समेत प्रभावित बनाएको छ।

ताइफुनले कतिपय ठाउंहरुमा रुख र स्काईफोल्डिङ ढालेका छन्। स्काइफोल्डिङ खस्दा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक ट्याक्सी चालक रहेको समाचार स्रोतले जनाएको छ। टाइफुनले केही गगनचुम्बी भवनका झ्यालका सीसाहरु फुटालेका छन् भने एक कार्गो जहाजलाई क्षति पुर्र्याएको छ।

यसअघि, ताइफुनका कारण फिलिपिन्समा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ३३ जना बेपत्ता भएका छन्।

भिडियो रिपोर्टः




Recent Videos:

Popularity: 7%

Add comment September 29th, 2011

चलचित्र ‘अँगालो यो मायाको’ हङकङमा प्रदर्शन

एस, हङकङ/ एचकेनेपाल डट कम-
प्रशान्त तामाङ अभिनित चलचित्र ‘अँगालो यो मायाको’ युन लोङस्थित टाउन हलमा प्रदर्शन सम्पन्न भएको छ।


चलचित्र प्रदर्शनका लागि सिक्किमबाट हङकङ आइपुगेका निर्माता किशोर दुङमालीले सिक्किमको पृष्ठभूमिमा निर्मित यस चलचित्रलाई देशविदेशमा प्रदर्शन गरिदै लैजाने बताए। असार १५ गते अफ सिजनमा चलचित्र रिलिज गरेर आफूले गल्ति गरेको बताएका उनले नेपाली किसानको व्यस्तताको समय असार १५ गते फिल्म रिलिज गरेपनि चलचित्रले सरदर रूपमा कमाइ गरेको उनले बताए। हङकङमा प्रदर्शन गरेपछि आफ्नो छिमेकी शहर कालिम्पोङमा र त्यसपछि बेलायत र इजरायलमा ‘अँगालो यो मायाको’ प्रदर्शन गरिने बताए।

चलचित्र निर्माता किशोर दुङमाली र राधा थापा। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

हङकङमा चलचित्र प्रदर्शन गर्न सहयोग गर्ने किसन राई र चलचित्र निर्माणको प्रारम्भिक चरणदेखि अफिसियल मिडिया पार्टनरको भूमिका निर्वाह गर्दै आएको एचकेनेपाल डट कमका प्रधानसम्पादक तथा निर्देशक पशन तमूलगायत टिमप्रति निर्माता दुङमालीले आभार प्रकट गरे। ‘अँगालो यो मायाको’ चलचित्र हङकङमा पुनः प्रदर्शन गर्न नोभेम्बर महिना फेरि हङकङ आउने उनले बताए।

सिनाइ कमर्सियल प्रा.लि.को ब्यानरमा बनेको नेपाली सामाजिक चलचित्र ‘अँगालो यो मायाको’ ले बाबुआमाले समय दिन नसक्दा कुलतमा फँसेका छोराछोरी, समाजमा विद्यमान छोरा र छोरीबीचको विभदेसँगै आजका तन्नेरी पुस्ताको भावना आदानप्रदानलाई समेटेको छ। राधा थापाको प्रस्तुति रहेको फिल्मको निर्देशन विनोद सेरेङले गरेका हुन्। फिल्ममा प्रशान्तसँगै मुख्य भूमिकामा नयाँ नायिका हर्षिका श्रेष्ठले अभिनय गरेकी छिन्। राजधानीका धेरै र्‍याम्प मोडलिङ र म्युजिक भिडियोहरूमा देखापरिसकेकी हर्षिकाको यो पहिलो फिल्म हो।

नायक प्रशान्त तामाङ, निर्माता दुङमाली र नायिका हर्षिका श्रेष्ठ फाइल तस्वीरः अनुशील श्रेष्ठ

फिल्मबाटै सिक्किमका कलाकार विजेता बराइली र महेन्द्र गुरुङले सहनायिका तथा सहनायकका रूपमा ‘डेब्यु’ गरेकाछन् । अन्य कलाकारहरूमा प्रेम सुब्बा, महेन्द्र बागदाश, महेन्द्र बजगाईं, चुनीलाल घिमिरे, हेमन्त गिरी, सन्ध्या सुन्दाश, पन्नु गजमेर, अमर बानियाँ आदि रहेका छन्। फिल्ममा प्रशान्त लागूऔषधका दुर्व्यसनी र असल प्रेमी गरी दुइ फरक भूमिकामा देखा परेका छन् भने नायिका हर्षिकाले एक मध्यमवर्गीय परिवारकी छोरी र सामाजिक रूपमा सचेत युवतीको भूमिकामा अभिनय गरेकी छिन्।

निर्देशक विनोद सेरेङकै पटकथा, स्वर्गीय देवीमाया राईको कथा, इनोस गुरुङको संवाद, युवराज राईको छायाङ्कन, इजाक क्षेत्रीको सङ्गीत, गोविन्द राईको नृत्य, विपिन मल्लको सम्पादन, रत्न देवलाको द्वन्द्व, मेनुका दुङमाली राईको प्रोडक्सन डिजाइनर, विक्की राईको भेषशभूषा रहेको छ।

भिडियोः ‘अँगालो यो मायाको’ को केही झलक साथमा निर्माता किशोर दुङमालीको अन्तर्वार्ताः

भिडियोः

Popularity: 16%

Add comment September 26th, 2011

लिटल बर्डस किण्डरगार्टेनलाई सहयोग गर्न जुटे हङकङेली नेपाली

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, २५ सेप्टेम्बर । जोर्डनमा अवस्थित लिटल बर्डस किण्डरगार्टेनले आफ्नो वार्षिक कार्यक्रम नेपाली गायक दीप श्रेष्ठको एकल प्रस्तुतिसहित याउ मा तेइ हेनरी जी लेउङ कम्युनिटी सेन्टरमा सम्पन्न गर्यो।

कार्यक्रममा विद्यालयको आर्थिक उन्नतिका लागि च्यारिटीसमेत संकलन गरिएको थियो। कार्यक्रममा उपस्थित नेपाली समुदायका नेताहरु, व्यापारी र अभिभावकहरुले १ लाख ४४ हजार हङकङ डलर बराबरको सहयोग विद्यालयलाई प्रदान गरेका छन्।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

विद्यालयलाई नयाँ स्थानमा स्थानान्तरण गरिएपछि आर्थिक कठिनाई भइरहेका कारण च्यारिटी संकलनका लागि कार्यक्रम गरिएको विद्यालयका सुपरभाइजर धन थापाले बताए। उक्त विद्यालयलाई सहयोग गर्न सम्पूर्ण नेपाली समुदाय सक्रिय भएका थिए।

नेपाली सुगम संगीतका चर्चित गायक दीप श्रेष्ठले आफ्ना नयाँ पूराना १२ गीतहरु श्रीमती सोफिया श्रेष्ठ (गुरुङ) र सरला गुरुङको सहयोगमा श्रोता दशर्कहरुलाई सुनाएका थिए।

कार्यक्रममा विद्यालयका विभिन्न तहमा अध्ययनरत साना नानीहरुले विविध प्रस्तुतिहरु समेत प्रस्तुत गरेकाथिए। अपरान्ह १ बजेदेखि ४ः३० बजेसम्म प्रस्तुत साँस्कृतिक कार्यक्रममा केभिन थापाले सेक्साफोन र रिबेकानिकोलासले क्लारिनेट धुनको प्रस्तुत गरेका थिए।

संगीतकार दिनेश सुब्बाको संगीत संयोजनमा स्थानीय नेपाली कलाकार, विभिन्न संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष, आमा समूहरुले समेत आर्थिक संकलनका लागि सहयोग पुर्याएका थिए। उल्लेख्य दर्शक श्रोता, साना नानीहरु तीनका अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो।

अर्थिक संकलनका लागि हङकङ नेपाली महासंघ, एनआरएन हङकङ एवं हङकङका विभिन्न धार्मिक संस्थाहरुले समेत लिटल बर्डस किण्डर गार्टेनलाई सहयोग रकम हस्तान्तरण गरेकाथिए।

Recent Videos:

Popularity: 5%

2 comments September 26th, 2011

भिसा प्रतिवन्ध नीति विरुद्धको अभियान

नेपाली कामदारहरु माथिको भिसा प्रतिवन्ध नीति विरुद्धको अभियान सम्बन्धि नेपाली सामुदायीक नेताहरुको सभा।

सन् १९९३ देखि हङकङमा बसोबास गर्ने नेपाली समुदायबीच विभिन्न कार्यक्रमहरुमार्फत नजिक हुन सफल यस सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना हङकङ) ले सन् २००५ देखि नेपाली आप्रवासी कामदारहरुमाथि लगाईएको रोजगार भिसा प्रतिबन्ध फुकुवाको लागि विभिन्न प्रकारका दबाव मूलक कार्यक्रमहरु संचालन गर्दै आएको कुरा यहाँहरुलाई जानकारी भएकै विषय हो।

हङकङमा रहेका नेपाली संघ संस्थाको सहयोग एवं साझेदार गैरनेपाली संघ संस्था समेतको सहयोगमा फियोना र नेपाली घरेलु कामदार युनियनद्धारा हङकङ सरकार र नेपाल सरकारलाई दबाब दिनेलगायत यस भिसा प्रतिबन्धलाई नेपालीहरु माथिको भेदभावपूर्ण प्रतिबन्ध गरिएको भन्दै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जोडदार रुपमाउठाइएको छ। विभिन्न चरणका दबाव एवं ध्यानाकर्षणको वावजुद यस विषयलाई दुवै सरकारहरुले गम्भीरतापूर्वक लिइएको पाइंदैन।

यसै बीच, फियोना हङकङ र नेपाली घरेलु कामदार युनियनको आयोजना एवं UN Women को सहयोगमा हङकङमा नेपाली आप्रवासी कामदारहरु माथिको भिसा प्रतिबन्ध विरुद्ध एक अभियान संचालन गरिएको छ, जसको उद्धेश्य भिसा फुकुवाको लागि हङकङ सरकार तथा नेपाल सरकारबीच राजनैतिक स्तरको वार्ताको लागि सहजिकरण गर्नु रहेको छ।

यस क्रममा जुलाईदेखि सेप्टेम्वर २०११ सम्ममा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित ४ वटा कार्यशाला गोष्ठी सम्पन्न भइसकेका छन्।

भेदभावपूर्ण भिसा प्रतिबन्ध नीति विरुद्धको अभियानलाई निर्णाययक तहमा पुर्‍याउन हङकङमा रहेका नेपाली संघ संस्थाको भूमिका महत्वपूर्ण हुने विश्वासले हङकङमा दर्ता भई सक्रिय रहेका सबै नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई एउटै स्थानमा भेला गरी यस महत्वपूर्ण विषयमा छलफल गर्न आवश्यक भएकोले हङकङमा प्रथम पटक नेपाली सामुदायिक नेताहरुको सभा (Nepalese Community Leader’s Assembly) निम्न स्थान र मितिमा आयोजना गरिएकोले तपाईंको संस्थाबाट २ (दुई) जना प्रतिनिधिहरु पठाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंको संस्थाबाट प्राप्त हुने सुझावहरु यो अभियान सफल बनाउन महत्वपूर्ण हुनेछ।

कार्यक्रम
मितिः
०२ अक्टोबर २०११ आइतबार
समयः बेलुकी ७ बजेदेखि १० बजेसम्म
स्थानः भुइं तल्ला,हेनरी जी लिउङ्ग याउ मा तेइ सामुदायीक केन्द्र,
६० पब्लिक स्क्वायर स्ट्रीट, याउ मा तेइ,
G/F, Henry G Leong Yau Ma Tei Community Centre, 60 Public Street, Yau Ma Tei,
कार्यक्रमः बेलुकी ७(७:३० उद्घाटन, ७:३० देखि १० बजे सम्म सभा एवं जलपान।)

नोटः कारणबस कुनै संघ संस्थालाई औपचारिक पत्र वा सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्तिथ भै दिन हुन अनुरोध छ। उपरोक्त सभामा संस्थागत सहभागिता मात्रै स्वीकार गरिनेछ। यस विषयमा कुनै सोधपुछ गर्नु परेमा रित गुरुङ्ग ९०७० २४९० सम्पर्क गर्नु होला।

भवदियः
गणेश गुरुङ
अध्यक्ष
सुदूर पूर्बी प्रबासी नेपाली संघ (फियोना) हङकङ

चुनि थापा
अध्यक्ष
नेपाली घरेलु कामदार युनियन हङकङ


Popularity: 5%

Add comment September 21st, 2011

मिस्टर धर्मश्रीको उपाधि हङकङका लोकेन्द्र परियारलाई

आलोक श्री / एचकेनेपाल डट कम-
काठमाडौ, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेपालको प्रतिष्ठित बाह्रौं राष्ट्रव्यापी खुल्ला धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपको उपाधि हङकङका लोकेन्द्र परियारले जितेका छन्।


मिस्टर धर्मश्री २०११ को उपाधि विजेता लोकेन्द्र परियार तस्वीरः आलोक श्री / एचकेनेपाल डट कम

मिस्टर हङकङ नेपाल २००८ समेत रहेका परियारले आफ्नो समूहमा बिजयी भएर आएका ५ प्रतिस्पर्धीलाई पछि पार्दै “मिस्टर धर्मश्री २०११” को उपाधि माथि कब्जा गरेका हुन्। यो जितसंगै उनले १ लाख ५० हजार रुपैयाँसमेत हात पारे।

यसअघि पनि हङकङ चाइना बडीबल्डिङ एसोसियशनद्वारा आयोजित प्रतियोगिताहरूमा शीर्ष उपाधिसहित विभिन्न टाइटल जितिसकेका लोकेन्द्र हङकङ नेपाल बडी बिल्डिङ एसोसियशनका सदस्यसमेत हुन्।

प्रतियोगितामा विभिन्न ६ तौल समूहका ३८ खेलाडी छनोट भएका थिए। ८० केजी माथिको हेभी वेट समूहमा डिफेन्डिङ च्याम्पियन सानु गुरुङ, विलमजंग शाही, रत्नसुन्दर ङाखुसी, लोकेन्द्र परियार, कमल गुरुङ र श्रीकृष्ण श्रेष्ठ चुनिएका मध्ये लोकेन्द्र परियार समूहको बिजेता भएका हुन्। सानु गुरुङ र लोकेन्द्र परियारबीच कडा स्वस्थ प्रतिस्पर्धा भएको थियो। दुवै जना हङकङ नेपाल बडी बिल्डिंग एसोसियशनका सदस्य हुन्।

उनीहरुलाई समूह बिजेता हुनको लागि २ जनालाई मात्र निर्णायक मण्डलले सेभेन पोज गराएका थिए। अन्त्यमा लोकेन्द्र परियार समूह बिजेता बनेका थिए। प्रतियोगिताको अन्तिम चरणमा सबै समूहको बिजेता नरेश दिवाकर, सचिन प्रधान, श्याम श्रेष्ठ, सञ्जीवकुमार श्रेष्ठ, महेश्वर महर्जन र लोकेन्द्र परियारको बिचको प्रतिस्पर्धामा लोकेन्द्र परिवार बिजयी हुदै उपाधि माथि कब्जा जमाएर १ लाख ५० हजार रुपैयाँसमेत हात पारे।

६५ केजी तौल समूहका श्याम श्रेष्ठ दोस्रो र ६० केजी तौल समूहका सचिन प्रधान तेस्रो भए। श्यामले ७५ र सचिनले ५० हजार रुपैयाँ हात पारे।

यस्तै, ७० केजीका सजीवकुमार श्रेष्ठ चौथो, ७५ केजीका महेश्वर महर्जन पाँचौं र ५५ केजीका नरेश दिवाकर छैटांै भए। सजीवले ४०, महेश्वरले ३० र नरेशले २५ हजार रुपैयाँ हात पारे।


लोकेन्द्र परियार हङकङ चाइना बडीबल्डिङ एसोसियशनद्वारा २०१० मा आयोजित शारीरिक सुगठन प्रतियोगितामा नोभाइस समूहको शीर्ष उपाधि लिंदै। फाइल तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम।

Popularity: 5%

1 comment September 20th, 2011

सिपोरालाई हङकङबाट सहयोग

हुम तमु /एचकेनेपाल डट कम -
पोखरा, महिला भलिवलका राष्ट्रिय खेलाडी पोखरेली चेली सिपोरा गुरुङलाई लोकप्रिय वर्ष खेलाडी २०६७ बनाउन तमु ट्हो ह्युलले हङकङमा भलिवल प्रतियोगिता आयोजना गरी संकलन गरेको ४२ हजार ५०० रुपैयाँ सिपोरा गुरुङ सहयोग समितिलाई प्राप्त भएको छ।


उपाधि जितेपछि सिपोरो गुरूङ। तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

भलिवलका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक यमबहादुर गुरुङ र सहारा क्लव पोखराका पूर्व उपाध्यक्ष दिपक गुरुङको पहलमा उक्त रकम संकलन भएको हो।

सहयोग रकम मध्ये तमु ट्हो ह्युल हङकङले दश हजार रुपैयाँ र पर्वत मञ्च हङकङका अध्यक्ष बिसान गुरुङ दश हजार रुपैया सहयोग प्रदान गर्नु भएको थियो।

स्वेदश तथा विदेशमा रहेका महानुभाव र संघ संस्थाको सहयोगबाट नेपाल खेलकुद पत्रकार मञ्चद्वारा भदौ २५ गते काठमाण्डौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक समारोहका विच सिपोरा गुरुङ लोकप्रिय वर्षखेलाडी २०६७ घोषणा भइसक्नु भएको छ।

सिपोरालाई लोकप्रिय वर्षखेलाडी बनाउन गठित सिपोरा गुरुङ सहयोग समितिले शनिवार पोखरामा आयोजना गर्ने र्यालीसहित बधाई तथा सम्मान कार्यक्रममा अभियानको क्रममा बचत रकम सिपोरालाई प्रदान गर्ने जनाएको छ।

Popularity: 4%

Add comment September 15th, 2011

सवा २ करोड घाटा पार्ने मुसा पक्रियो

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, नेपाल वायुसेवा निगमलाई २ करोड २६ लाख रूपैयाँ घाटा पार्ने गरी विमानभित्र लुकेर बसेको मुसा अन्ततः शुक्रवार विहान समातिएको छ।

निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीका अनुसार शुक्रवार बिहान ६ बजे ग्लु म्याटमा मुसा टाँसिएको अवस्थामा फेला परेको हो।

मुसा फेला परेपछि विमानभित्रको तार काटेर खाएको छ वा छैन परीक्षणको लागि प्रयोगशाला लगिएको छ।

यसअघि, मुसा समातिएपनि फुत्किएपछि पुनः मुसा समात्ने प्रयाश भइरहेको थियो। मुसा समातिएपछि शुक्रबार साँझ ५:१० बजे चालक दल, क्याविन क्रु गरी ११ जना र ५ जना कर्मचारीका परिवार काठमाण्डौका लागि उडेको छ। विमानमा सर्वसाधारण यात्रु भने राखिएन।

मुसाको कारण निगमको बोइङ ७५७ मंगलवारदेखि हङकङमा ग्राउण्डेड हुंदा निगमलाई २ करोड २६ लाख रूपैयाँ घाटा परेको निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता केसीले बताए।

Popularity: 5%

Add comment September 10th, 2011


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category