प्रेम कोरङ्गी / एचकेनेपाल डट कम-
संखुवासभा समाज हङकङले आफ्नो वार्षिक कार्यक्रम देउसी भैलो कार्यक्रम आइतवार इण्डिया क्लवमा सम्पन्न गरेको छ।
हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापाको प्रमुख आतिथ्य र समाजका वर्तमान अध्यक्ष प्रेम कुमार कोरङ्गीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमका अतिथिहरूमा संस्थाका सम्पूर्ण सल्लाहकारहरु, आजीवन सदस्यहरु, खोटाङ समाजबाट मोहन गुरुङ, खोटाङ गुरुङ समाजबाट गोपाल गुरुङ, द नेपालीज् यूथ फाउण्डेसनका संस्थापक अध्यक्ष राजु राई र भर्खरै मात्र नेपालबाट आएका कलाकार अभिनेता नवल खड्का रहेका थिए।
कार्यक्रममा सल्लाहकारत्रय उपेन्द्र कोरङगी, लव कमार गुरुङ र हेम राईले दिपावलीको शुभकामना मन्तब्य दिएका थिए भने प्रमुख अतिथि प्रदिप थापाले संखुवासभा समाज हङकङको महासंघ प्रतिको सहयोगलाई कहिल्यै भुल्न नहुने राय प्रकट गरेका थिए। कार्यक्रममा समाजको वेबसाइट www.hamrosankhuwasava.com मा संलग्नहरु विक्रम गुरुङ, बुद्ध लिम्बु, दिवस जिमी र कमान सिं गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो भने सभापति प्रेम कुमार कोरङ्गीले प्रचारप्रसारमा सहयोग गर्नुहुने सल्लाहकार डम्वर घले असइ, अर्का सल्लाहकार सल बहादर कोरङ्गी ब्यबस्थापनमा खट्नु हुने समाजका पदाधिकारीहरु कुमार गुरुङ, चन्द्र प्रसाद राई, एम बि राईलगायत कार्यक्रम सफल पार्न उपस्थित सबै महानुभावहरुमा समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। उपाध्यक्ष मनोज गुरुङबाट स्वागत मन्तब्य गरिएको सो कार्यक्रम सचिव अजम्वर घलेले संचालन गरेका थिए।
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ, २६ अक्टोबर । हङकङ नेपाली साहित्य परिषदको आयोजना तथा हङकङ नेप्लीज फाउण्डेशनको संयोजनामा बुधवार युन लङ थिएटर हलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती सम्पन्न भएको छ।
हङकङमा यसरी मनाइयो देवकोटा जयन्ती। भिडियोः अनुशील
उपस्थित सबै नेपालीको प्रतिनिधित्व गर्दै हङकङ नेपाली साहित्य परिषदका अध्यक्ष पशन तमू र नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य देश सुब्बाले महाकवि देवकोटाको तस्वीरमा पुष्पार्पण गरे।
कार्यक्रममा हङकङका नेपाली कविहरू देश सुब्बा, टंक सम्बाहाम्फे र विभिन्न विद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूले कविता वाचन गरे। कविता वाचन गर्ने विद्यार्थीहरूमा टिके प्राथमिक विद्यालयकी निसिम्मा राई, बेथल हाई स्कूलका सुना राई र धना मगर थिए। सोही अवसरमा नेपालबाट हङकङ आएका धरानका पत्रकारद्वय आनन्द श्रेष्ठ र जनक ऋषि राईसमेतले कविता वाचन गरेका थिए। हिमाल मिडियाका प्रबन्धक सम्पादक इन्द्र श्रेष्ठ र विशेष सम्वाददाता डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’सहित आनन्द र जनक हङकङ भ्रमणमा रहेका छन्।
बेथल हाई स्कूल, टिके प्राथमिक विद्यालय, आइकेटीएम कलेज तथा क्यारिटास चुनमुन सेकेण्डरी स्कूललगायतका विद्यार्थीहरूबाट आकर्षक लोक तथा आधुनिक नृत्यहरू प्रस्तुत भएका कार्यक्रमलाई हङकङ नेप्लीज फाउण्डशेनका अध्यक्ष किसन राईले सञ्चालन गरेका थिए। कार्यक्रममा बोल्दै फाउण्डशेनका अध्यक्ष राईले विगतका वर्षहरूदेखि मनाउंदै आएको देवकोटा जयन्तीलाई आफूहरूले पाएको छोटो समयमा पूर्ण तयारी गर्न नसके पनि निरन्तरता दिएको बताए।
कार्यक्रममा शिक्षक नन्दलाल थोकरको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमलाई सफल बनाउन बेथल हाई स्कूलका शिक्षक शिक्षिका दीपक गुरूङ र शारदा गुरूङ, टिके प्राथमिक विद्यालयका शिक्षिका पूर्णकला गुरूङ, आइकेटीएम कलेजका शिक्षकद्वय नन्दलाल थोकर, शैलेन बोगटीलगायतको विशेष भूमिका रहेको थियो।
हिन्दूहरूको महान चाड घरघरमा लक्ष्मी पूजा मनाई रहेको बेला आफूहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइएको हङकङ नेपाली साहित्य परिषदका अध्यक्ष पशन तमूले बताए। अर्को सालपनि भेट हुने वाचासहित अध्यक्ष तमूले कार्यक्रम समापण गरेका थिए।
नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमूखि प्रतिभाका धनी देवकोटाप्रति उच्च सम्मान व्यक्त गर्दै यहाँ प्रत्येक साल देवकोटा जयन्ती मनाइदै आएको छ।
वि. सं. १९६६ जन्मेका देवकोटाको निधन बिसं २०१६ मा भएको थियो। उनी नेपाली साहित्यका महाकवि हुन्। मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका देवकोटाको मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ, १६ अक्टोबर । नेपाली जनसरोकार समाज हङकङले एक कार्यक्रम गरी नेपालको प्रतिष्ठित बाह्रौं राष्ट्रव्यापी खुल्ला धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपको उपाधि विजेता लोकेन्द्र परियारलाई सम्मान गरेको छ।
माओवादी सदस्य तथा नेपाली जनसरोकार समाज काउलुन क्षेत्रका सदस्यसमेत रहेका लोकेन्द्रलाई समाजले बधाई ज्ञापन गर्दै अबिर तथा खादा लगाएर सम्मान गरेको हो।
सम्मानित परियारले कार्यक्रममा बोल्दै विदेशमा जे जति गरेपनि आफ्नै देशमा पाएको इज्जत र सम्मानले आफूलाई हर्षित तुल्याएको बताए। सोही कार्यक्रममा प्रमुख अतिथि कृष्णबहादुर लिङ्खाले लोकेन्द्रले धर्मश्री उपाधि जितेर हङकङका नेपालीको गौरव बढाएको बताए।
जनसरोकार समाजका अध्यक्ष बिष्णुबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष बेलबहादुर गुरुङ, मगरात राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष बसन्त थापा, किराती राष्ट्रिय मुक्ति मोर्चाका सहसचिव पिताम्बर राई, युनलङ क्षेत्रीय कमिटिका अध्यक्ष सन्दीप राई ,काउलुन कमिटिका अध्यक्ष प्रदिप नाल्बो अतिथिका रूपमा उपस्थित थिए। समाजका सदस्य दुर्गा गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए।
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ, १६ अक्टोबर । नेपाली साहित्य प्रतिष्ठान हङकङले कविता वाचन कार्यक्रमसिहत आफ्नो ११औं बार्षिकोत्सव मनाएको छ।
हालै निधन भएका कवि केवलपुरे किसानको निधनप्रति दुख व्यक्त गर्दै एक मिनट मौन धारणपछि कविता वाचन गरिएको थियो। कार्यक्रममा देश सुब्बा, शिव प्रधान, टंक सम्वाहाम्फे, अधिराज राई, पीतम्वर राई, बिष्णुनन्द चाम्लिङग, पवित्रा राई, नरजीत राई, चन्द्र मादेन आन्छान्, निङवाशक्ति मादेन, रुद्र नाल्वो, विनय शाह, पूर्णिमा शाह, नरेश सुनुवार, दिल पालुङवा, राजु आङदेम्वेलगायतले कविता वाचन गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदीप थापा, बिशेष अतिथि नरेश सुनुवार अन्य अतिथिहरुमा प्रदीप कन्दङवा, भूपेन्द्र चेम्जोङलगायत थिए। देश सुब्बाको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई शिव प्रधानले सञ्चालन गरेका थिए।
एस/ एचकेनेपाल डट कम-
हङकङ, १५ अक्टोबर । रि. गोर्खा मेजर शरणकुमार लिम्बुले नेपालीको प्रतिनिधित्व गर्दै जिल्ला परिषद चुनावमा उम्मेदवारीको घोषणा गरेका छन्।
सदन डेमोक्र्याटिक एलाइन्स पार्टीको तर्फबाट याउ चिम मोङ जिल्ला सदस्यका लागि उनले उम्मेदवारीको घोषणा गरेका हुन्। उनको निर्वाचन क्षेत्र जोर्डन वेष्ट रहेको छ भने निर्वाचन क्षेत्र कोड नं. E03 रहेको छ। निर्वाचन आगामी नोभेम्बर ६ तारिख आइतवारका दिन हुने भएको छ।
बेलायती सेनामा २९ वर्ष सेवा गरिसकेका पूर्वी नेपाल घर भएका ६० वर्षीय लिम्बु राजनीतिमा समेत गहिरो अभिरूचि राख्छन्। यही अभिरूचिका कारण उनले हङकङको राजनीति धरातलमा प्रवेश गर्ने जमर्को गरे। फलतः उनी २००४ मा सदन डेमोक्र्याटिक एलाइन्स पार्टीमा आवद्ध भए। जेम्स लुङ वाइ उक्त पार्टीका अध्यक्ष रहेका छन्।
यसअघि, सोही पार्टीले २००८ को हङकङ विधान परिषद्को निर्वाचनमा काउलुन वेष्टबाट शुक्र वान्तवालाई उठाए पनि त्यति बेला पराजय भएको थियो। नेपाली समुदायसंग राम्रो समन्वय कायम गर्न नसक्दा पार्टीका नेपाली उम्मेदवार वान्तवाले पराजय भोगेका थिए।
यस पटक पनि उक्त पार्टीले जिल्ला परिषद निर्वाचनमा लिम्बूलाई आफ्नो पार्टीको तर्फबाट अगाडि सारेको छ। यतिबेला पार्टीले यस क्षेत्रका नेपाली समुदायसंग राम्रो समन्यव राख्न तथा नेपालीबीच सद्भाव र सहयोगको खाँचो देखिएको छ।
चुनावको मिति नजकिदै गर्दा पनि नेपालीबीच व्यापक छलफल र बहसको विषय बन्न सकेको छैन भने पार्टीले गम्भीरताका साथ नेपाली समुदायसम्म यसको प्रभाव विस्तार पार्न सकेको छैन।
यद्दपि, परिषदका उम्मेदवार लिम्बूले आफूलाई मत दिएर विजयी गराउन यस क्षेत्रमा बसोबास गर्ने सबै नेपालीसंग अनुरोध गरेका छन्। उनले हमेशा नेपाली समुदायको हित र लक्ष्य प्राप्तिका लागि दृढ रहने आफ्नो घोषणा पत्रमा प्रतिवद्धता व्यक्त गरेका छन्।
मतदान आगामी नोभेम्बर ६ तारिख आइतवारका दिन बिहान साढे ७ बजेदेखि राति साढे १० बजेसम्म हुने छ।
लिम्बुका बारे थप जानकारीका लागि तलका लिङ्कमा क्लिक गर्नुहोस्
>लिम्बूबारे थप जानकारी
>पार्टीको घोषणा पत्र
सम्वाददाता/ एचकेनेपाल डट कम-
हङकङ, ९ अक्टोबर । हङकङ सरकारले घोषणा गरेको ६ हजार हङकङ डलर स्किमअन्तर्गत सो सुविधा रकम लिनको लागि विहीबारसम्म २१ लाखभन्दा बढीको आवेदन परिसकेको छ।
सरकारले १८ वर्ष नाघेका २१ लाखभन्दा बढी हङकङको स्थायी परिचय पत्रवाहकबाट आवेदन पत्र प्राप्त गरिसकेको जनाएको छ। प्राप्त आवेदनहरूको छानविन गर्दै ६ हजार हङकङ डलर वितरण प्रक्रिया सुचारू भइरहेको फाइननसियल सर्भिसेस एण्ड ट्रेजरी ब्युरोले जनाएको छ।
सन् १९६६ देखि १९८१ सम्म जन्मेका हङकङ स्थायी परिचयबाहकको आवेदन संकलन आज अक्टोबर ९ तारिख आइतवारदेखि सुरू भएको समेत जनाएको छ।
सन् १९६६ सालभन्दा पहिले जन्मेका हङकङ स्थायी परिचयबाहकहरूले आवेदन दिन छुटाएका भए अझै दर्ता गर्न सकिने जनाएको छ। आवेदन बैंक तथा हङकङ पोष्ट अफिसहरूमा दर्ता गर्न सकिने छ।
सरकारले आफ्नो बजेट भाषणमा १८ बर्ष नाघेका सम्पूर्ण नागरिकलाई ६ हजार हङकङ डलर प्रदान गर्ने तथा ७५ प्रतिशतसम्म तलव कर छुट दिने घोषणा गरेको थियो। साठी लाख जनतामा जाने उक्त सुविधा रकमको रुपमा ३६ अरब र तलव कर छुट ४ अरव गरी ४० अरव डलरको हुने अनुमान गरिएको छ।
बिष्णु इङ्नाम/ एचकेनेपाल डट कम-
हङकङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समिति अन्तर्गतको हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिको पुनर्गठन भएको छ।
हङकङ आइल्याण्डस्थित वान चाइमा हालै एक कार्यक्रम गरी कुमारहाङ हुक्पा चोङ्बाङको अध्यक्षतामा सो हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिको पुनर्गठन गरिएको हो।
भेलामा प्रमुख अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष तथा मञ्च सम्बद्ध संलिराप लिम्बुवान, नेपालको केन्द्रीय सदस्य नबराज काम्बाङ र अर्का अतिथि परिषदकै प्रवास कार्य समिति हङकङका उपाध्यक्ष तथा लिम्बुवानका राष्ट्रिय पार्षद सदस्य बिष्णु इङ्नाम रहनुभएको थियो।
कार्यक्रम सञ्चालन मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिका निवर्तमान सचिव उर्मिला बेघाले गर्नु भएको थियो। भेलाले निम्न वमोजिमका व्यक्तिहरूलाई समितिको पदाधिकारी तथा सदस्यहरूमा संशोधनसहित सर्वसम्मतले चयन गरेको छ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, हङकङ आइल्याण्ड क्षेत्रीय कार्य समिति, हङकङ-
१. अध्यक्ष कुमारहाङ हुक्पाचोङबाङ
२. उपाध्यक्ष डम्बरकुमार काम्बाङ
३. सचिव अशोक माबो
४. महिला-सचिव उर्मिला बेघा
५. अर्थ-सचिव मोहन केदेम
६. संगठन सचिव बमबहादुर काम्बाङ
७. सदस्य डम्बर चोङ्बाङ लिम्बू
८. सदस्य हेम येङ्देन
९. सदस्य योगेन्द्र पन्धाक
१०.सदस्य वाली केरुङ
११.सदस्य नविन पन्धाक
१२.सदस्य हिमाल केदेम
१३. सल्लाहकार सुरेन्द्र योङ्हाङ
१४. सल्लाहकार कुलबहादुर एभेङ
१५. सल्लाहकार कुलमान तामाङ
१६. सल्लाहकार मनिकुमार मेन्याङ्बो
१७. सल्लाहकार कुमार हाङ्स्रोङ्बा
सो भेलामा अन्य पार्टी परित्याग गरी मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा नव प्रवेश गर्नुहुने मनिकुमार मेन्याङ्बो र वाली केरुङलगायतलाई प्रमुख अतिथि काम्बाङद्वारा स्वागत गरी लिम्बुवानको सदस्यता-पत्र प्रदान गर्नुभएको थियो।
पुनर्गठित मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिले संगठन विस्तारलाई व्यापक रुपमा अघि बढाउने प्रतिवद्धतासहित कुमारहाङ हुक्पा चोङबाङको अध्यक्षता मन्तव्यसहित कार्यक्रम समापन गरिएको थियो।
निर्मल श्रेष्ठ/ एचकेनेपाल डट कम-
मकाउ, मकाउबासी नेपालीहरूले पहिलोपटक नेपाली खबरपत्रिका प्रकाशन गरेका छन्। ‘गन्तव्य मकाउ’ नामक वार्षिक खबरपत्रिकाको आइतबार हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले विमोचन गरेका हुन्।
लेखन र अध्ययनमा रुचि राख्ने केही युवाहरूका सकृयतामा करीब एक वर्षको तयारीपछि पत्रिकाले मुर्तरुप पाएको हो।
‘गन्तव्य मकाउ’ सम्पादक टोलीका सदस्य तथा मुख्य व्यावस्थापक कास्कीका पूर्ण गुरुङले स्थानीय समाचारबाट टाढिनु परेकाले यस्तो सोच आएको बताएका छन्। ‘इन्टरनेटको सुविधाले विश्व समाचार नजिकबाटै नियाल्ने सुविधा भएपनि मकाउबासी नेपाली आफ्नै समूहभित्रका खबरबाट भने वञ्चित छन’, पत्रिका निकाल्नुको उद्देश्यबारे प्रष्ट्याउदै गुरुङले भने, ‘एक आपसमै चिनिन र यहाँ कार्यरत नेपालीहरूबीच आपसी सदभाव बढाउने सोच पनि हो।’ पत्रिकामा मकाउ इतिहास र वर्तमान झल्काउने लेख लगायत कुनै जमानाका ख्यातिप्राप्त राष्ट्रिय खेलाडीहरू बक्सर चित्रबहादुर गुरुङ र मानबहादुर श्रेष्ठ, सितेरियोका कृष्ण गुरुङ, भलिबल खेलाडी दीपक ताम्राकार र मधुकर थापालगायतले खेल क्षेत्रमा पुर्याएको योगदान समेटिएका छन्।
समारोहमा गैरआवासीय नेपाली संघ हङकङका निवर्तमान अध्यक्ष त्रिलोक गुरुङले पत्रिकाले मकाउबासी नेपालीहरू बीच सूचना तिर्सना मेटन दरिलो पुलको काम गर्न सक्ने भनाई राखे। मकाउबाट नेपाली पत्रिका प्रकाशन हुनुलाई ऐतिहासिक बताउदै नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राईले यसलाई निरन्तरता दिन सबैले सघाउनु पर्ने बताए। पत्रिका तीन वा छ महिनामा एकपटक निकाल्ने सोचिएका भएपनि आर्थिक समस्या र समयाअभावमा कारण अहिलेनै त्यसो गर्न नसकिने सम्पादक मण्डलका गुरुङको भनाई थियो। पहिलोपटक ५ सयप्रति छपाउदा करिब एकलाख रुपैयाँ खर्च भएको समेत उनले जनाए। २० पटाका (करीब दुइसय रुपैयाँ) मुल्य तोकिएको पत्रिका पहिलो दिनमै असीप्रति सकिएकामा भने उनले खुशी व्यक्त गरे। सम्पादक मण्डलमा पूर्णसंगै रामेन्द्रकुमार गुरुङ र वीरबल गुरुङ छन्। पूर्ण कास्की र अन्य दुइ स्याङजाका हुन्। ‘हामी कोही पनि यसक्षेत्रका अनुभवी होइनौ’, पूर्णले भने, ‘सानैदेखिको पत्रपत्रिका पढने बानीले धेरथोर लेख्न पनि सिकिएछ, यसपटक थुप्रै कमजोरी भए अर्कोपटक सुधार गर्दै लानेछौं।’
मकाउबाट पहिलोपटक प्रकाशित खबरपत्रिका ‘गन्तव्य मकाउ’ विमोचन गर्दै हङकङ तथा मकाउका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय(बायाँबाट दोस्रो) लगायत सहभागीहरू। तस्वीरः निर्मल श्रेष्ठ मकाउबाट पहिलोपटक प्रकाशित खबरपत्रिका ‘गन्तव्य मकाउ’ विमोचन पछि सामूहिक तस्बिर खिचाउदै मकाउमा कार्यरत नेपालीहरू। तस्वीरः जगतअम्बु गुरूङ
देवराज राई / एचकेनेपाल डट कम-
आँगनमा आइपुगेको दशैंले हङकङेली नेपालीहरुलाई पनि झपक्कै छोपेको छ। नेपालको गाउँघरको सम्झना गर्दै नेपालीहरुले शुभकामना आदनप्रदान गर्ने सानाठूला कार्यक्रमहरु यहाँका विभिन्न ठाउँहरुमा आयोजना गरिरहेका छन्।
यसै बीचमा गैर आवसीय नेपाली संघ हङकङ र नेपाल च्याम्बर अफ कमर्श हङकङले सेप्टेम्बर ३० तारिख शुक्रबार साँझ दशैं विशेष शुभकामना आदनप्रदान कार्यक्रम नेपालीहरुको बाक्लो वस्ती रहेको जोर्डनको कंगन रेष्टुरेण्टमा आयोजना गरिएको थियो। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
व्यापारी, विभिन्न संघसंस्थाका अगुगाहरु, विभिन्न पेशाकर्मी, पत्रकार, महिला तथा बालबालिकाहरुको व्यापक उपस्थितिमा दसैंलाई स्वागत गर्दै शुभकामना आदनप्रदान गरिएको थियो।
दुइ संस्थाको संयुक्त आयोजनामा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। दुबै संस्थाका अध्यक्षहरु च्याम्बरका जेएन ज्ञवाली तथा एनआरएनका दुर्गा गुरुङको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा एनआरएनका सचिव मिन गुरुङले स्वागत मन्तव्यसहित शुभकामना दिएका थिए।
च्याम्बरका महासचिव राजेन्द्र थापाले संचालन गरेको कार्यक्रममा हङकङस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत विनोदकुमार उपाध्याय प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा नेपाली महासंघका अध्यक्ष प्रदीप थापाले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
दसैं विशेष कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरु बिंगो एवं लक्की ड्र खेलहरु खेलाइएको थियो।