गंगा खतिवडा / एचकेनेपाल डट कम-
एशियामा नेतृत्वदायी भूमिका खेलिरहेको आप्रवासी कामदारहरुको मञ्च माइग्रेण्ट फोरम इन एशिया (एम एफ ए) को सातौं सम्मेलन अक्टोबर २७ र २८, २०११ मा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको छ।
विगत लामो समयदेखि एशियाली आप्रवासी कामदारहरुको हक अधिकारको लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सक्रिय भूमिका निभाउंदै आएको एम एफ ए आप्रवासी मजदुरहरुको पक्षमा वकालत गर्ने एशिया कै प्रमुख संस्था मानिएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आई एल ओ), राष्ट्र संघिय समिति (यू एन कमिटी) बैठकमा समेत प्रवेश पाउने यो संस्था अन्तर्राष्ट्रिय आप्रवासी अधिकार (माइग्रेण्ट राइट्स इन्टरनेशनल एम आर आई) को एशियाली साझेदार समेत हो। २० वटा भन्दा बढी एशियाली देशहरुका आप्रवासी हक अधिकारमा कार्यरत अगुवा संघ संस्था यसका सदस्यहरु रहेका छन्।
हालै सम्पन्न सातौं सम्मेलनमा १६ वटा देशका संघ संस्थाहरु तथा १ क्षेत्रीय संस्था गरी करीब ५० वटा संस्थाहरुको सहभागिता रहेको थियो। सो सम्मेलनमा आप्रवासी कामदारहरुका समस्याहरु तथा उनीहरुको अधिकारको बारेमा छलफल गरिएको थियो। जम्मा ५ वटा विशेष प्रस्तावहरु पारित गरिएको सो सम्मेलनमा ती ५ प्रस्तावहरु मध्ये २ प्रस्तावहरु हङ्गकङ्गका आप्रवासी कामदारहरु सम्बन्धी थिए। ती दुइ प्रस्तावहरुमा पहिलो हङकङमा घरेलु कामदारहरुले स्थायी बसोबासको अधिकार पाउनु पर्ने कुरालाई अन्तर्राष्ट्रिय तहबाट दबाब सिर्जना गरियोस् तथा दोश्रो प्रस्तावमा हङकङमा नेपाली कामदारहरुमाथि लगाइएको भिसा प्रतिबन्ध खारेज गर्न दबाब सिर्जना गरियोस भन्ने थिए। ती प्रस्तावहरु हङकङका प्रतिनिधि कोलिशन फर माइग्रेण्ट राइट्स्का उपाध्यक्ष गंगा खतिवडाद्धारा प्रस्तुत गरी उठेका प्रश्नहरुको स्पष्टीकरण दिइएको थियो। ती प्रस्तावहरु सर्वसम्मतीद्वारा पारित गरिएको थियो।
एम एफ ए मा हङकङबाट कोलिसन फर माइग्रेण्ट राइट्स् (सिएमआर), एशियन माइग्रेण्ट सेन्टर (एएमसी) र इण्डोनेशियाली माइग्रेण्ट युनियन सदस्यहरु रहेका छन्। सी. एम. आर. नेपालर्, इण्डोनिशिया, फिलिपिन्स र थाईल्याण्डका आप्रवासी कामदारहरुको साझा संस्था हो जुन विगत लामो समयदेखि हङकङमा क्रियाशिल रहेको छ। नेपाली संस्थाहरुमा फियोना हङकङ र नेपाली घरेलु कामदार युनियन सीएमआरमा आवद्ध रहेका छन्। त्यसैगरी, सो सम्मेलनमा नेपालबाट पौरखी नेपाल, युथ एक्सन नेपाल, ओरेक र पि एन सी सी नामक ४ संस्थाहरुको सहभागिता रहेको थियो।
त्यसैगरी, गत जुन १६, २०११ मा अन्तर्राष्ट्रिय श्रम संगठनद्धारा घरेलु कामदारहरुको अभिसन्धी (Convention 189 on Domestic Workers) पारित गरिएको ऐतिहासिक दिनलाई अन्तर्राष्ट्रिय घरेलु कामदार दिवस (International Domestic Workers Day) घोषणा गरी अन्तर्राष्ट्रिय रुपमा मान्यता दिलाउन संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय श्रम संगठनलाई सिफारिस गरियोस् भन्ने प्रस्ताव समेत सर्वसम्मतीद्धारा पारित गरियो र आगामी जुन १६ देखि एम एफ ए का सदस्य संस्थाहरुद्धारा अन्तर्राष्ट्रिय घरेलु कामदार दिवस मनाउने निर्णयसमेत गरियो। सो प्रस्ताव सी एम आर को तर्फबाट गंगा खतिवडाद्धारा पेश गरिएको थियो भने ए एम सी का रेक्स भरोनाद्धारा समर्थन गरिएको थियो। हालसम्म आप्रवासी संगठनहरुले मुख्य रुपमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस (डिसेम्बर १८), अन्तर्राष्ट्रिय नारी दिवस (मार्च २३) र अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) मनाउंदै आइरहेका छन्।
सो सम्मेलनद्धारा आगामी दुइ वर्षको लागि एम एफ ए को नयां कार्यसमितिको निर्वाचन गरियो। प्रजातान्त्रिक पद्धतिबाट भएको निर्वाचनमा निम्न संस्थाहरु निर्वाचित भएका थिएः
१. कोलिशन फर माइग्रेण्ट राइट्स् (सिएमआर), हङकङ
२. होप वर्कर्स सेन्टर, ताईवान
३. महिला पुनर्स्थापना केन्द्र (ओरेक), नेपाल
४. रेफ्युजी एण्ड माइगे्रटोरी मुभमेण्ट युनिट, बंगलादेश
५. कान्लुन्गन सेन्टर फाउण्डेशन, फिलिपिन्स
६. लिगल सपोर्ट फर वुमन एण्ड चिल्डेन, कम्बोडिया
७. एशियन माइग्रेण्ट सेन्टर, हङकङ
कार्य समितिको आगामी बैठकमा सदस्यहरुले आफूहरु मध्येबाट एक जना अध्यक्ष र एक जना उपाध्यक्षको चयन गर्नेछन्। एम एफ ए को सचिवालय फिलिपिन्सको क्यूजन शहर (मनिला) मा रहेको छ र यसको दैनिक कार्य सञ्चालन क्षेत्रिय संयोजकको नेतृत्वमा ७ जना कर्मचारीहरुद्धारा गरिन्छ।
आगामी नोभम्बर २९ देखि डिसेम्बर २ तारिखसम्म स्वीट्जरल्याण्डको जेनेभामा हुन गइरहेको आप्रवासी कामदारहरु तथा उनीहरुको विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन Global Forum on Migration and Development मा एम एफ ए प्रतिनिधिहरुद्धारा आफ्ना क्षेत्रका विषयहरु उठाइनेछ। नागरिक समाज तथा सरकारी प्रतिनिधिहरुको उपस्थिति हुने सो विश्व सम्मेलनमा हङकङबाट एशियन माइग्रेण्ट सेन्टर (रेक्स भरोना) तथा कोलिशन फर माइग्रेण्ट राइट्स् (गंगा खतिवडा) बाट प्रतिनिधित्व गरिनेछ।
देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, १२ नोभेम्बर । नेपाली राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक समाज सुधारक महागुरु फाल्गुनन्दको १२७ औं जन्मजयन्ती हङकङमा समेत मनाइएको छ।
नोभेम्बर १२ तारिख साँझ हेनरी जी लेउङक कम्युनिटी सेण्टर हङकङको सभाहलमा किरात याक्थुम चुम्लुङले आयोजना गरेको थियो।
महागुरु फाल्गुनन्दको तस्बिरमा माल्यार्पण गरी शुभारम्भ गरिएको कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकार वुद्धिजीवीहरुले महगुरुको समाज प्रतिको देन र उहाँले किरात समाज सुधारमा अहिंसाको वकाललत गरी पुर्याउनु भएको योगदानको बारेमा चर्चा परिचर्चा गरेका थिए।
फाल्गुनन्दले नेपाल, नेपाली र किरात समुदायको मूल्यमान्यताहरु स्थापनार्थ जीवनमा भोगेका उतार चढावहरुको बारेमा पनि स्मरण गरिएको थियो। नेपाल सरकारले राष्ट्रिय विभूति घोषण मात्र गरेको तर किरात समुदायलाई उपेक्षा गरेको आरोपसमेत वक्ताहरुले लगाएका थिए।
कार्यक्रममा लिम्बुवानसँग आवद्ध राजनीति पार्टीका भातृसंघसंस्थाहरुका प्रतिनिधिहरुले उनको जीवनी सुने र सुनाएका थिए। नेपाललगायत अन्य मुलुकहरुमा रहेका किरात समुदायले पनि महागुरुको जन्मजयन्ती मनाइरहेका छन्।
किरात याक्थुम चुम्लुङका अध्यक्ष कृष्णराज लाओतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अनिल आङबुहाङले गरेका थिए। उनको जन्मजयन्ती हरेक वर्ष कियाचुले यसरी नै मनाउँदै आएको छ।
बिश्लेषण जेबी पुन मगर-
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत संसारभर छरिरहेका थिए। कुरा नचपाएर भन्ने हो भने र्सवप्रथम हङकङेली नेपाली र तिनका मुद्दालाई विश्वव्यापीकरण गर्ने श्रेय डम्बरकृष्णलाई दिनुपर्ने हुन्छ।
‘हङकङका नेपाली’ का निर्देशक श्रेष्ठ
त्यसो त उनले लेख्नुअघि हङकङका कथाव्यथा शब्दचित्रमा नउधिनिएका होइनन् तर हङकङका स्थानीय सञ्चारकर्मीको त्यस्तो प्रयास यहींको चारदिवारीमा कैद थियो। चाहे त्यो यहाँको जातीय विविधता र तिनका सांस्कृतिक धरोहरका कुरा हुन् या घरेलु कामदार र गैरकानुनी रूपमा बसिरहेका नेपाली या लागुऔषधको कुलतले थलिएका युवाहरूका दुःख व्यथा सबै उनले आफ्नो लेखनीमार्फ् समेटिसकेका छन् । त्यस्ता लेखनीले यहाँको समाजले अपेक्षित लाभसमेत हासिल गरिसकेको छ । उनले देखाइदिएका मार्गमा हिड्नेहरू आज डम्बरकृष्णप्रति कृतज्ञ पनि होलान् । त्यस हिसाबले उनले हङकङलाई ठूलो गुण लगाइदिएका हुन् । तर त्यसरी निस्वार्थ काम गर्ने गुणकारी सञ्चारकर्मीलाई यस पटक हङकङका नेपालीहरूले बैगुनले स्वागत गरेका छन्।
३ वर्षअघि हङकङ छिर्दा उनी एउटा उत्साह बोकेर आएका थिए । सदा यहाँको नेपाली जनजीवनलाई शब्दचित्र र स्टिलचित्रमा उतार्दै आइरहेका उनले त्यसबखत नेपालीपनलाई चलचित्रमा उतार्ने योजना बुनेर आएका थिए । १ महिनाको बसाइमा एउटा पत्रकारले आफ्ना सम्बन्ध र सहयोगीको साथ लिई जेजे गर्न सक्छ, इमान्दारिताका साथ उनले त्यो प्रयास गरे र करिब ३० घण्टा लामो भिडियो खिची स्वदेश फर्किए । त्यसलाई एउटा स्टोरीको स्वरूपमा ढाल्नु पहिलोपटक ‘डिजिटल स्टोरी टेलिङ’ मा प्रवेश गरेका श्रेष्ठका लागि सहज थिएन । त्यसैले हुनुपर्छ, उनलाई फिल्माङ्कन गरिएका दृश्यहरूको सम्पादन र संयोजन गर्नै २ वर्षलाग्यो । सन २००८ को डिसेम्बर- जनवरी -१ महिनाको) कथालाई प्याकेज गरी सन् २०११ को अक्टोवरमा उत्साहका साथ उनी चौथो पटक हङकङ छिरे।
‘हङकङका नेपाली’ को भिडियो झलकः
यहाँका नेपालीका कथाव्यथा उनीहरूलाई नै देखाउन पाउँदाको जतिको खुसी अरु के नै हुन सक्ला र भन्ने स्वाभाविक उमङ्ग उनमा थियो । त्यसैले जोर्डनमा उनले एकैदिन दुइ सो आयोजन गरेका थिए। तर हङकङको समाज अध्ययन गर्न खोजिरहेका उनले त्यतिबेला मात्र बुझे, वास्तवमा उनले यहाँको नेपाली समाजको वास्तविक मुहार त चिनेकै रहेनछन्। तिनका मानसिकता बुझ्न उनलाई अझै धेरै समय लाग्ने रहेछ। उनले यहाँको समाजको चेपारे अनुहार मात्र देखेका रहेछन्, बुझेका रहेछन्। यो प्रकरणले उनलाई ठूलो तन्द्राबाट जगाएको हुनुपर्छ। त्यो समय उनको जीवनकै दुखदायी घडी हुनुपर्छ।
सुरुमा जुन उत्साह र उमङ्गले उनले आफ्नो सिर्जना यहाँका समूदायबीच पस्कन खोजे त्यो उत्साह वृत्तचित्र प्रदर्शनीपछि उनको मुहारमा भेट्न सकिएन। उनले स्वंय पसल पसल पुगी सो हेर्न आग्रह गर्दा उनलाई अनेकन ‘बात’ लगाइयो । दुइटा कुरा सुनाएर हतोत्साहित बनाउने प्रयास गरियो । कसैले ऐ तिम्रो सिनेमामा त राई, लिम्बु र पूर्वको मात्र कहानी छ रे उनीहरूको चुरीफुरी हेर्न हामी पश्चिमका किन जाने - भने । केहिले एकराज राईको आसेपासेको रामकहानी मात्र बुनेका छौ रे त्यस्तो पनि वृत्तचित्र हुन्छ र - भन्ने आरोप लगाए। केहीले चाहिं हङकङको बारेमा यहींकै स्थानीय हिम थापाले बनाइरहेको बृहत् बृत्तचित्रलाई फ्लप बनाउन रातारात षड्यन्त्र बुनेर कसैको उक्साहटमा यसो गरिएको बताए।
डम्बरको भनाइमा उक्त वृत्तचित्रका हर्ताकर्ता स्वंय हिम थापाले उनलाई फोन गरेरै त्यस्तो आरोप लगाएका थिए। यो कुरा आइतवार युङलुङ टाउनहलमा उनले सार्वजनिक रुपमै बताएर आफ्नो दुख सबैसंग बाँडे। अनेकन स्वरुपमा विभाजित हङ्कङेली समाजले उनलाई दिएको यो पीडा सामान्य छैन। तर पीडकहरूको विशेषता नै के हो भने उनीहरू अरुलाई पीडा दिन्छन् र त्यसको भरमग्दुर स्वाद लिएर इन्ज्वाय गर्दछन्। मलाई लाग्छ, डम्बर यहाँको समाजको त्यही परपीडक चारित्रिक विशेषताको जाँतोमा पिसिएका छन्।
हङकङमा बसेर नेपालीका निम्ति सर्वस्व लगानी गरेको फुइ लगाएर नथाक्ने यहाँका बगाले च्याउसरी उम्रिएका नेताहरूको व्यवहार त उदेक लाग्दो थियो। ती महाशयहरू बृत्तचित्रमा आफ्नो अनुहार नदेखिएको, आफ्नो बैरीलाई हाइलाइट गरिएको, आफ्नो संस्थाको बारेमा केही नबोलिदिएको भन्दै सो हेर्न नै आइदिएनन् भन्ने आयोजकको भनाइ छ। धेरैले धेरै थोक बहाना बनाए। तर अभीष्ट एउटै थियो- सो असफल तुल्याईदिने। रातारात सक्रिय मोबाइलका घण्टीहरूले एकजना पत्रकारको इमान्दार प्रयासमाथि कालो पोत्ने प्रयास गरियो र केही हदसम्म तिनका दुष्प्रयासले काम पनि गर्यो। करिब २ सय संस्था रहेका र ती संस्थाका नेताले नहेरी नहुने यो बृत्तचित्र हेर्न उनीहरू (फाट्टफुट्ट वाहेक) नै आइदिएनन् । तर तिनले फिल्म हेर्न आउने मान्छे रोकेर र आफूहरू स्वंय नआएर आर्जन भन्दा बढी गुमाएका छन् भन्ने कुरा विर्सन पुगे। राम्रो कुरा दु्स्मनबाट पनि सिक्नुपर्छ भन्ने कुरा धेरै भुइंफुट्टाहरूलाई सम्झाउन पनि सकिंदैन। त्यो डम्बरकृष्णको लागि हैन यो खाल्डोमा हराइरहेकाहरूलाई सबैभन्दा ठूलो गुरुमन्त्र हुन सक्थ्यो तर तिनलाई यस्ता राम्रा कुराले छुदैं छुएन।
उनले यो बृत्तचित्र यहाँका नेपालीका निम्ति भन्दा पनि बाहिर बस्ने नेपालीलाई यहाँको वस्तुस्थिति बुझाउन बनाएको हो। यहाँकोले हेर्नु र नहेर्नुसंग उनको त्यति ठूलो सरोकार पनि छैन। तर उनी यहाँको समाज र स्थानीय नेतासंग आफूले बनाएको कथामाथि विमर्श गर्न चाहन्थे। कमी कमजोरीमाथि छलफल र सुझावको अपेक्षा गरेका थिए। त्यसैले उनी नेताहरूलाई बिना टिकट आईदिन अनुरोध गर्दै हिडेंका पनि थिए। तर जो आफू स्वंय नाङ्गो छ, त्यस्ताबाट के अपेक्षा गर्न सकिन्छ भन्ने महत्वपूर्ण कुरा डम्बरले सोपछि मात्र बुझ्न सके।
वास्तवमा उनले यो वृत्तचित्रमा हङकङको दुर्वल र नकारात्मक पक्षभन्दा सकारात्मक र सवल पक्षको बढी चित्रण गरेका छन्। मैले गर्ने पत्रकारिताको ठीक उल्टो सकभर कोही रुष्ट नहोऊन् भन्ने उनको सकारात्मक सोचबाट उब्जने सकारात्मक समाचार उनको विशेषता हो। यस वृत्तचित्रमा त्यो प्रखर रुपमा झल्किएको छ। यदि मैले हङकङको नेपालीका बारेमा यस्तै बृत्तचित्र बनाएको भए यहाँ भएका कथित नेताहरूका बदमासी छरपस्ट हुन सक्थे। तिनका कर्तुत उत्खनन गरी तिनको कुरुप अनुहारको ऐना देखाइदिन्थें। तर उनको सकारात्मक सोचकै कारण बृत्तचित्र मैले गर्ने पत्रकारिताको ठिक उल्टो हुन पुगेको छ भनेको हुँ। बरिष्ठ पत्रकार कुन्द दीक्षितबाट प्राप्त गरेको डम्बरकृष्णको विशेषता हो, यो। म सहमत नभए तापनि यस्तो पत्रकारिताले सकारात्मक रोल खेलिरहेको मान्नेहरू धेरै छन्।
हङकङमा नेपालीहरुको गुण अवगुण गणना गर्न थाल्ने हो भने सकारात्मक भन्दा बढी नकारात्मकताको थुप्रोको भारीले थिचेको छ। तर पनि (उनले बृत्तचित्रलाई हङकङ चियाउने आँखीझ्याल भनेका छन्) यो बृत्तचित्र हेर्नेले हङकङका नेपालीको सकारात्मक चित्र नै बढी देख्न पाउँछ। दुइटा प्रसंगमा उल्लेख भए तापनि यहाँको नकारात्मकता मान्छेले भेऊ पाउन नसक्ने गरी उल्लेख भएका छन्। यसरी हेर्दा यो बृत्तचित्र बाहिरकाले हेर्दा सकारात्मक सन्देश जाने र हङकङको कुरुप अनुहारमाथि रङ्ग पोतिएको टिलिक्क टल्किएको आवरण भएकोले यसले यहाँका विभाजित समाज र त्यसका नेताहरूलाई अप्रत्यक्ष रुपमा झन बढी हिरो बनाउने काम गरेको छ। बिनसित्ति आफैंलाई त्यसरी प्रचार गर्ने बृत्तचित्र हेर्न नआउने र जान हतोत्साहित बनाउने हङकङका नेपाली नेताहरूको कुण्ठाको स्तर नाप्नै गाह्रो छ। एउटा नेपाली सञ्चारकर्मीले नेपालीको मुद्दा सकारात्मक रुपमा उठाउँदा असहयोग गर्ने कुण्ठा बोकेको जमातले कसरी नेपाली समाजलाई एकसूत्रमा डोर्याउने प्रयास गर्ला भन्ने प्रश्न बडो जटिल छ। यो उनीहरुले गुमाएको सबभन्दा ठूलो अवसर हो।
हो, धेरैले उठाए जस्तो यसमा सबै समेटिएनन् होलान्। पूर्व, पश्चिम, उत्तर, दक्षिण, जाति, जनजाति, दलीय, लैङ्गकि सन्तुलन तलमाथि पर्यो होला तर मूल कुरा त्यो होइन मूल कुरा त सत्प्रयास हो। साँच्चै भन्ने हो भने यसमा उनले सन्तुलन मिलाउन र सबैलाई खुसी पार्न बरु भरमग्दुर प्रयास गरेका छन्। त्यसैले बृत्तचित्र एउटै विषयमा मात्र फोकस छैन। धेरै विषयमा केन्द्रित भएकाले सूचनामूलक हुन पुगेको छ, यात्रा गाईडबुक जस्तो। यसमा प्रतिनिधिमूलक रुपमा सबैको कथा समेट्न खोजिएको छ। त्यसरी पात्र र विषयवस्तुमाथि न्याय त हुदैन तर हङ्कङेली समाजले अपनत्व महसुस गरोस् भनी यत्रो ‘रिस्क’ उठाउन उनी तत्पर देखिन्छन्। उनले नकारात्मक समाचारलाई महत्व नदिनुका कारण पनि त्यो हुन सक्छ। तर यसका वावजुद उनले पाउनुपर्ने जति हङकङका नेपालीको ‘रेस्पोन्स’ पाउन सकेनन्।
यो बृत्तचित्र हेरेपछि मलाई सबैभन्दा बढी महसुस भएको के हो भने यदि भोलि हङकङको बारेमा सकारात्मक समाचार पस्केबापत कोही पुरस्कृत हुने हैसियत राख्दछ भने त्यो डम्बरकृष्ण नै हुनेछन्। कसैले माने पनि नमाने पनि वास्तवमा यो बृत्तचित्रपछि हङ्कङेली नेपाली समाजको सदभावनादूत बन्ने लायक भएका छन्- डम्बर। यो उनको सफलता हो। यसपटक यहाँबाट नपाए पनि अरु ठाउँबाट उनले मनग्गे प्रशंसा र सहयोग बटुल्नेछन्, यस्तो ठोकेर भन्न सकिन्छ। त्यतिबेला उनी मात्र होइन हङ्कङेली समाजको हाँसेको अनुहार पनि विश्वभर फैलन्छ र सकारात्मक सन्देश प्रवाह हुनेछ। तर उनले भित्रभित्र कुहिएको हङ्कङेली नेपाली अनुहारमाथि रंग पोतेर बाहिर हाँसेको अनुहार विश्वलाई प्रस्तुत गर्न खोजे पनि आखिर यहाँको कुण्ठित समाजले सबैभन्दा पहिला त उनकै शिकार गर्यो … !
हङकङका नेपालीः
नेपालीहरूको संघर्ष, सफलता र पहिचानको दस्तावेज
एस हङकङ / एचकेनेपाल डट कम-
हङकङ, ७ नोभेम्बर । लामो समयदेखि हङकङेली नेपालीका बारे कलम चलाउँदै आएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले बनाएको ‘हङकङका नेपाली’ वृत्तचित्र ३ र ६ नोबेम्बरमा हङकङका जोर्डन र युनलङमा प्रदर्शन भएको छ। श्रेष्ठले तीन वर्षघिको एकमहिने हङकङ बसाइमा देखेभोगेको हङकङेली नेपाली समाजलाई जीवन्त पस्केका छन्। प्रवासको संघर्ष र सफलताभित्रै मातृभूमिप्रति देखाइएको मायालाई पनि वृत्तचित्रले उजागर गरेको छ।
‘हङकङका नेपाली’ का निर्देशक श्रेष्ठ। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
आइतबार युनलङ टाउन हलको प्रदर्शनीका प्रमुख अतिथि हङकङस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत किरण शाक्यले हङकङका नेपालीको नेपालप्रतिको माया, संघर्ष र सफलताका कथा वृत्तचित्रमा समेटिनु महत्वपूर्ण काम भएको बताए। उनले भने “आज वृत्तचित्रका रूपमा सार्वजनिक भएको वृत्तचित्रले हङकङका नेपालीले नयाँ इतिहास बनाएको छ। यसले हङकङ बाहिर रहेका नेपालीलाई यहाँको नेपाली जीवन बुझ्न सजिलो भएको छ।”
प्रदर्शनीको आयोजक संस्था नेपाल पत्रकार संघ हङकङका अध्यक्ष तथा वृत्तचित्र प्रस्तुत गर्ने एभरेस्ट मिडियाका सञ्चालक किसन राईले नेपालबाट हङकङ घुम्न आएका पत्रकारको एकमहिने यात्रालाई समेटेको भए पनि डकुमेन्ट्री हङकङमै बसोबास गर्ने र अन्यत्र रहने सबैका लागि जानकारीमूलक रहेको बताए। धेरै दर्शकले सीमित अवधिको ‘टाइम लाइन’ मा केन्द्रित रहेकाले वृत्तचित्रमा हङकङका सबै संघसंस्था र व्यक्तिहरू नसमेटिएको भए पनि यसले हङकङमा रहेका समग्र नेपालीको आवाज र नेपाली पहिचानलाई उजागार गरेको प्रतिक्रिया दिए।
टिके प्राथमिक स्कुल, युनलङकी शिक्षिका पूर्णकला गुरुङले आफू वर्षौदेखि हङकङमै रहेर पनि यहाँका नेपालीको काम र गतिविधिबारे बेखबर रहे पनि वृत्तचित्रमा सबै देख्न पाएकोमा खुसी व्यक्त गरिन्। एक्युट कन्सल्टेन्सीका कन्सल्टेन्ट दासुराम पराजुलीले छोटो अवधिमा हङकङका नेपालीको विविध क्षेत्रका संर्घष्ा र नेपालप्रतिको मोहलाई एकै ठाउँ समेटिनु डकुमेन्ट्रीको सबल पक्ष रहेको बताए। वृत्तचित्रभित्रका एक महत्वपूर्ण पात्रसमेत रहेका सङ्गीत सर्जक दिनेश सुब्बाले केही ब्याकग्राउन्ड सङ्गीत र ध्वनि संयोजनमा केही कमजोरी देखिए पनि समग्र हङकङका नेपालीको आरोह-अवरोह समेटिएकाले पत्रकार श्रेष्ठले ‘हङकङका नेपाली’ बनाएर एउटा कोसेढुङ्गा स्थापित गरिसकेको बताए।
यसमा समेटिएका सामान्य कामदारदेखि व्यापार व्यवसायीका रूपमा बेग्लै पहिचान बनाएका नेपालीहरूको समेत लोभलाग्दो कथा संघर्षरत जोकोहीका लागि प्रेरणादायी बन्न सक्छ। सात समुद्रपारिको यो वैभवशाली शहरमा नेपालका विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, रहनसहन, भेषभूषा र गीतसंगीत जीवन्त देखिन्छन्।
निर्देशक डम्बरकृष्ण श्रेष्ठले भने हङकङका नेपालीको नेपालप्रतिको मोह, भाषा, संस्कृति र मौलिक पहिचानप्रतिको लगाव, १२ घण्टे काम र संघर्षपछिको सफलता, कला, साहित्य, शिक्षा, खेलकुद क्षेत्रको विविधतालाई केन्द्रविन्दु बनाएर बनाएको डकुमेन्ट्रीलाई यहाँका केही संस्था, व्यक्ति तथा समूहले जातीय, क्षेत्रीय र व्यक्तिकेन्द्रित सोचले हेरेकोमा दुःख व्यक्त गरे।
‘हङकङका नेपाली’ प्रदर्शन हुने प्रचार सुरु भएदेखि नै प्रदर्शनी रोक्ने हिसाबले हङकङ नेपाली महासंघ, महावाणिज्य दूतावासदेखि स्थानीय जातीय, क्षेत्रीय संघसंस्था र तिनका नेतादेखि व्यक्ति व्यक्तिसम्म वृत्तचित्रका बारेमा भ्रम छर्ने समूह सक्रिय रहेको पाइएको छ। २००८ को डिसेम्बर र जनवरी २००९ अन्तिमसम्मको आफ्नो यात्राको सेरोफेरोमा केन्द्रित ‘ट्राभल लग’ शैलीको वृत्तचित्रविरुद्ध विभिन्न जातीय, क्षेत्रीय र संघसंस्था केन्द्रित भ्रम छर्दै एउटा समूह युनलङ र जोर्डनका पसल पसलसम्म पुगेको पाइएको थियो। त्यसैले पनि निर्देशक श्रेष्ठले आफ्नो वृत्तत्रचित्रलाई जातीय, क्षेत्रीय र व्यक्तिगत स्वार्थ केन्द्रित आँखाले नहेरी नेपाली नजरबाट हेरिदिन अनुरोध गरेका थिए। आफूले एउटै फ्रेममा समग्र हङकङेली नेपालीलाई देखाउने आँखीझ्यालका रूपमा बनाएको डकुमेन्ट्रीलाई हेर्न दर्शकबाट पाएको प्रतिक्रियाबाट भने उनी हौसिएका छन्।
हङकङपछि यो फिल्म हङकङेलीहरूका परिवार र आफन्तहरू रहेको नेपालको धरान र पोखरामा प्रदर्शन गरिने भएको छ।
______________________________________
पर्दामा ‘हङकङका नेपाली’
एस हङकङ / एचकेनेपाल डट कम-
हङकङ, ६ नोभेम्बर । लामो समयदेखि हङकङमा रहेका नेपालीहरूका विषयमा रिपोटिर्ङ गर्दै आएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले बनाएको हङकङका नेपाली नामक डकुमेन्ट्री फिल्म हङकङमा प्रदर्शन भएको छ। नेपाल पत्रकार महासंघ हङकङ र एभरेष्ट मीडियाको आयोजनामा ‘हङकङका नेपाली’ प्रदर्शन भएको हो।
‘हङकङका नेपाली’ का निर्देशक श्रेष्ठ
‘हङकङका नेपाली’ को भिडियो झलकः
हिमाल खबरपत्रिकाका विशेष सम्वाददाता श्रेष्ठले यसअघि हङकङमा रहेका नेपालीहरूको जीवनलाई सञ्चारमाध्यमहरुमा पस्कदै आएका थिए। यस पटक भने उनले डायोस्पोराको हङकङलेली जीवन, संर्घषलाई पर्दामै उतारेका हुन्। पत्रकार श्रेष्ठको हङकङको एक महिने यात्राका क्रममा भेटिएका विभिन्न क्षेत्रमा पहिचान बनाएका नेपालीहरू तथा देखिएको नेपाली जीवनहरू यसमा देख्न पाइनेछ। यसमा प्रवासको संघर्ष, सफलता, मातृभूमिको माया र नेपाली पहिचानको खोजी गरिएको छ। फिल्ममा सामान्य काम गर्नेदेखि स्वतन्त्र व्यवसाय र क्षेत्रमा पहिचान बनाएका नेपालीहरूको जीवनको संघर्ष, सफलता, जीवनशैली र नेपालप्रतिको माया समेटिएको छ।
डकुमेन्ट्रीमा रोजगारसँगै संघसंस्था सञ्चालन र सामाजिक कार्यदेखि कला-साहित्य, पत्रकारिता, खेलकुद र व्यापार व्यवसायसम्मको क्षेत्रमा फैलिएको नेपाली सक्रियता समेटिएको छ। स्कूले किशोर किशोरी, लागू औषधमा फँसेका युवा, रात्रि जीवन र फेशन मोडलिङमा रमाइरहेका तन्नेरीहरूका अनुभवसमेत डकुमेन्ट्रीमा छ।
९० मिनेटको डकुमेन्ट्रीमा १२ घण्टा काम गरेर पनि नेपाली पहिचानका लागि एकजुट भएर आफ्नोपन, भाषा-संस्कृति र पहिचानका लागि गरिरहेको संघर्षका कथा समेटिएका छन्। नेपालबाट मासिक एक डलर अभियान लिएर पुगेका महावीर पुनलाई हङकङका नेपालीहरूले गरेको सहयोग र साङ्गीतिक तथा हाँस्य प्रहसन लिएर पुगेका नेपाली कलाकारहरूले पाएको साथ पनि यो डकुमेन्ट्रीमा छ।
एभरेष्ट मिडिया लिमिटेड हङकङको प्रस्तुति रहेको डकुमेन्ट्री सरिता श्रेष्ठको निर्माण, मातृदीप राईको सह-निर्माण र छायाङ्कन रहेको छ। यसको डकुमेन्ट्रीको सम्पादन आलोक अधिकारीले गरेका हुन्, भने पार्श्व सङ्गीत कुटुम्ब समूहको रहेको छ।
यो डकुमेन्ट्री मूलतः एउटा नेपाली पत्रकारको आँखाले हेरेको हङकङका नेपालीहरूको चलायमान तस्बिर भएको निर्देशक श्रेष्ठ बताउँछन्। उनका भनाइमा यो एउटा पत्रकारको यात्रा डायरी हो तर, यसमा हङकङका नेपालीहरुको सबै पाटो केलाइएको छ। हङकङपछि यो फिल्म हङकङेलीहरुका परिवार र आफन्तहरु रहेको नेपालको धरान र पोखरामा प्रदर्शन गरिने भएको छ।
सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधीनमा रहेको हङकङमा बेलायती शासनको उत्तरार्द्धमा नेपालीको आगमन बाक्लिन पुगेको हो। ८० लाख जनसङ्ख्या र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहर हङकङमा करिब ३५ हजार नेपाली छन्।
खुम गुरुङ / एच केनेपाल डट कम-
हङकङ, ५ नोबेम्बर । पर्बत पैयूँखोला समाज हङकङको तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। गत शनिबार जोर्डनस्थित कंगन रेस्टुरेन्टमा आयोजित कार्यक्रम झम बहादुर गुरुङको सभापतित्व रहेको थियो भने सचिब निमबहादुर गुरुङले संचालन गर्नु भएको थियो।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
समाजका सम्मानित सदस्य दुर्गा सिं गुरुङ र मेख बहादुरगुरुङलाई आशन ग्रहण गराइएको कार्यक्रममा सल्लाहकार खुम गुरुङले स्वागत मन्तब्य तथा तिहारको शुभकामना ब्यक्त गरेका थिए। मनतब्यकै क्रममा पर्बत जिल्ला रानीपानी गाविस निबासी बल बहादुर परियार र कौशिल्या परियारका ५ अपाङ्ग दिदीबहिनीको बारेमा पनि जानकारी गराउदै समाजले आर्थिक संकलन गरि सहयोग गर्न लागेको जानकारी गराउदै सहयोगको लागि अनुरोध गरिएको थियो।
कार्यक्रमको समापन लगत्तै देउसी- भैलो सुरुवात महासचिब बिकाश गुरुङ र दुर्गा थापाले संचालन गरेको थियो। देउसी- भैलोबाट हङकङ डलर ६९६१.००(करीव ने.रु. ७०,०००) संकलन भएको जानकारी गराउदै थप रकम संकलन गरि अपांगको सहयोगार्थ सो रकम हस्तान्तरण गरिने अध्यक्ष झम बहादुर गुरुङले बताउनुभयो। कार्यक्रम राति अबेरसम्म रमाइलो नाच गानसहित सम्पन्न भएको थियो।