हङकङमा जनयुद्घको १७ औं वार्षिकोत्सव सम्पन्न, सहसचिवको समूह अनुपस्थित
रविन लिङदेन/ एचकेनेपाल डट कम–
हङकङ, २० फेब्रुअरी । एकीकृत नेकपा (माआवादी) पार्टीको हङकङमा वैधानिक रुपमा कार्यक्रम संचालन गर्दै आएको संस्था ‘नेपाली जनसरोकार समाज हङकङ’ले महान नेपाली जनयुद्घको १७ औं वार्षिकोत्सव आइतवार सम्पन्न गरेको छ।
तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
एनेकपा (माआवादी) पार्टीको अघिल्लो महिना मात्र मेलमिलाप भएको दुइ समूहबीच, आर्थिक पारदर्शिताको सवालमा खटपट भएको समाचार आए लगतै सहसचिव पवन वस्नेत तथा उनको समूह र मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिले पार्टीको कार्यक्रममा उपस्थिति जनाएनन्।
कार्यक्रमका प्रमुख अतिथि ए. नेकपा (माओवादी) जिल्ला पार्टी सचिव जे. वी. ओख्रावुले महान जनयुद्घको बलबाटनै नेपालीहरु यहाँसम्म आएको वताए। उनले पार्टीको झण्डा मुनी गोलवन्द रहि वर्गीय, जातिय, क्षेत्रिय, मधेसी, दलित, महिला मुक्तिको लागि संघर्ष गर्ने साथीहरु झिनो मसिनो कुरामा अल्झिनु नहुने वताए। पार्टीको साथीहरु अनुपस्थित रहेकोमा ‘महान जनयुद्घलाई हामीले कतै उपहास गरिहेको त छैनौ’ भन्दै प्रश्न राखे। यसलाई आफू पार्टीको जिम्मेवार व्यक्ति भएकोले गम्भीर रुपमा लिएको सचिव ओख्रावुले बताए।
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका अध्यक्ष एम. वी. थोप्राले सदियौदेखि नेपालमा राजनैतिक रुपमा वर्गीय र जातिय समस्या भएको वताए। उनले जनयुद्घको बलवाट मात्र संघिय गणतन्त्रको सुरुवात भएको बताए। यसलाई संस्थागत गर्न एक जुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए।
कार्यक्रममा बोल्दै नेपाली जनसरोकार समाज हङकङका अध्यक्ष विष्णु गुरुङले जातीय समस्या यथावत रहेको बताए। उनले यो अवस्थामा पार्टी र जातिय मोर्चाहरु चाहे नेपालमा होस या विदेशमा होस एक जुट भएर मात्र समस्याको समाधान हुने बताए।
सहसचिव पवन वस्नेतले फोनमा कुरा गर्दै भने, महान नेपाली जनयुद्घलाई सर्वोपरि ठानेका छौं, भन्दै पार्टीको विचारलाई अंगिकार गर्ने बताए। उनले हङकङमा पार्टी एकता भए पनि केही व्यक्तिसंग भावनात्मक एकता भइनसकेको बताए। त्यस्ता व्यक्तिहरु सफा मन लिइ सुधारिनु पर्ने वस्नेतले बताए। उनले पार्टीलाई वुझाउनु पर्ने रकम आफूले पार्टी सचिवलाई बुझाइ सकेको बताए। पार्टीको कार्यक्रममा ज्यानको असुरक्षा हुने भन्दै अनुपस्थित भएको उनले बताए।
मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङको अध्यक्ष वसन्त थापा मगरले हिन्सको अध्यक्षसंग असहमत भएको कारण हिन्सलाई बहिष्कार गरेको हो, पार्टीको कार्यक्रमलाई होइन, फोनमा उनले भने। उनले हिन्स र मगर राष्ट्रिय मोर्चाको खटपट पार्टीसंग पनि जोडिएकोले, अव पार्टीमार्फत मात्र मिल्न सकिने वताए। हिन्स भन्दा वाहिर कार्यक्रम भएमा आफूहरुले सहभागिता जनाउने अध्यक्ष थापा मगरले बताए।
१७ औं वार्षिकोत्सवको अवसरमा नेपाली जनसरोकार समाज हङकङ र एनेकपा मओवादी पार्टीले दाश्रो अधिवेशनबाट आएका किराती राष्ट्रिय मुक्ति मोर्चा र काउलुन एरिया कमिटिलाई खदा ओढाएर स्वागत गरेका थिए। उक्त अवसरमा जनसरोकार समाजको उपाध्यक्ष धिरेन्द्र राई, महासचिव जिमि हाङखिम, सहसचिव राजु गुरुङ, सदस्य तथा पत्रकार चन्द्र दुमि राई, किराती राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष कमला राई, तमु राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष वेल बहादुर तमुले आ–आफ्नो मन्तब्य राखेका थिए।
एस/ एचकेनेपाल डट कम-
हङकङ, १९ फेब्रुअरी । हङकङ नेपाली तेक्वान्दो संघले दसौँ वार्षिक उत्सव काउलन पार्क गेमहलमा सम्पन्न भएको छ।
प्यट्रन तथा स्पाइरिङ प्रतियोगितामा हङकङ नेपाली तेक्वान्दो संघका ५ वटा क्लव (डोजाङ) गरि अरु केही स्थानिय नेपाली तेक्वान्दो क्लव थिए भने स्थानीय चाइनिज र गोन्जाउ र सेन्जेन्का दुइवटा क्लवहरुले समेत गरि १७ वटा क्लवले भाग लिएका थिए। प्रतियोगिता कार्यक्रममा चुङ डो क्वान न्यू जेनेरेसनको सहभागिता जनाएन। तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
बिहान ८ बजे सरु भएको प्रतियोगितामा प्यट्रन तथा स्पाइरिङ खेलाडीको कूलसंख्या ३७३ रहेको थियो भने प्यट्रन तर्फ २३ वटा श्रेणी र स्पाइरिङ तर्फ २० वटा श्रेणीमा खेल विभाजन गरिएको थियो।
दसौँ वार्षिक उत्सवको विशेष अवसरमा अध्यक्ष तुलसीकुमार गुरुङको मन्तव्यसहित विगुल फुकेर कार्यक्रमका सम्पूर्ण्लाई स्वागत गरिएको थियो। यहि संघका परिकल्पनाकार तथा पहिलो वार्षिक उत्सव २००३ का पदक प्रायोजक श्रीमती गंगा कुमारी गुरुङलाई संघले विशेष स्वागत गरेको थियो।
प्रमुख अतिथिमा नेपाल वाणिज्यदूत किरण शाक्य, र अन्य विशेष अतिथीमा इन्डोनेसीयन कन्सुलर र सोपाल समाजका अक्षय धरम् गुरुङ सहित अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो।
विगत वर्षरुमा भन्दा निकै व्यवस्थित किसिमले आयोजना गरिएको प्रतियोगितामा आधुनिक विधुतीय उपकरणहरुको प्रयोग गरिएको थियो। तर सहभागिताअनुसार कार्यक्रम स्थल सागुरो भएकाले निकै भिडको अनुभव भएको थियो। स्पाइरिङको अन्तिम चरणतिर एकजना महिला खेलाडी टाउकोमा किक् लागेर ढल्न पुगेकी थिइन् भने अक्सिजनको प्रयोग गर्दै अस्पताल लैजानेक्रममा केही क्षण कार्यक्रम रोक्नुपरेको थियो।
प्रतियोगितापछि सम्पूर्ण विजयी खेलाडीलाई पदक विभिन्न विशेष अतिथिका बाहुलीबाट पालैपालो वितरण गरिएको थियो। स्मरण रहोस् गतसाल समयाभावका कारण कार्यक्रममा पदक वितरण गर्न नभ्याउँदा अधिकाँश मास्टर र खेलाडीहरु असन्तुट रहेका थिए। यस प्रतियोगितामा न्यू जेनेरेसनको सहभागिता नदेखिएता पनि ०१ में २०११ हङकङ तेक्वान्दो संघले आयोजना गरेको राष्ट्रिय स्तरको खेलमा गोकुल तामाङले स्वर्ण, ओमप्रसाद गुरुङ कास्य पदक जितेका थिए। सन् २००५ सालपछि यस्तो स्तरको स्वर्ण पदक जित्ने नेपाली न्यू जेनेरेसनका खेलाडी हुन्।
यायोक्खा र पत्रकारबीचको विवाद अन्त्य
एस / एचकेनेपाल डट कम-
हङकङ, किरात राई यायोक्खा हङकङले जारी गरेको प्रेस विज्ञप्ति निःसर्त फिर्ता लिएपछि किरात राई यायोक्खा हङकङ र पत्रकारबीचको विवाद अन्त्य भएको छ।
नेपाली सप्ताह २०११ अर्न्तगत ‘यलम्बर नाईट’ कार्यक्रमको कान्तिपुर र साप्ताहिकमा प्रकाशित समाचारको विषयमा यायोक्खाले आपत्ति जनाएर प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार निर्मल श्रेष्ठलाई एक वर्षसम्म कार्यक्रममा निमन्त्रणा नगर्ने निर्णय गरेको थियो।
प्रकाशित समाचारहरूमाथि पुनः अध्ययन गर्दा यायोक्खाले लगाएको आरोप निराधार, कपोलकल्पित भेटिएपछि किरात राई यायोक्खा हङकङले जारी गरेको प्रेस विज्ञप्ति निःसर्त फिर्ता लिएको हो।
किरात राई यायोक्खा हङकङले यस घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा पत्रकार श्रेष्ठलगायत हङकङका सम्पूर्ण सञ्चारकर्मीहरूसंग समधुर सम्बन्धको अपेक्षा राखेको छ।
किरात राई यायोक्खा हङकङको विज्ञप्ति
समाचारको विषय लिएर यस संस्थाद्वारा २० जनवरी २०१२ का दिन जारी गरिएको विज्ञप्ति निःर्सत फिर्ता लिइएको सम्बन्धित सम्पूर्णमा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।
विज्ञप्तिपश्चात प्राप्त नेपाल पत्रकार संघ हङकङको पत्र तथा पत्रसाथ नत्थी ‘कान्तिपुर’ दैनिक तथा ‘साप्ताहिक’ साप्ताहिकमा प्रकाशित समाचारका प्रतिलिपीहरुको अध्ययनबाट स्थानीय संवाददाता निर्मल श्रेष्ठको समाचार सम्प्रेषणमा कुनै कुनियत नरहेको यस संस्थाको ठहर रहेको छ।
यस घटनाबाट पर्न गएको असुविधाप्रति सम्बन्धित सम्पूर्णमा दुःख प्रकट गर्दै आगामी दिनमा संवाददाता निर्मल श्रेष्ठलगायत सम्पूर्ण सञ्चारकर्मीहरुसंग किरात राई यायोक्खा हङकङ सुमधुर सम्बन्धको अपेक्षा राख्दछ।
मितिः ३ फेबु्रअरी २०१२
…………………..
किसन राई
अध्यक्ष
किरात राई यायोक्खा हङकङ
नेपाल पत्रकार संघ हङकङको विज्ञप्ति
किरात राई यायोक्खा हङकङद्वारा २० जनवरी २०१२ मा प्रेषित विज्ञप्तिप्रति नेपाल पत्रकार संघ हङकङको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त विज्ञप्तिमा संघका सचिव तथा कान्तिपुर दैनिकका स्थानीय संवाददाता निर्मल श्रेष्ठद्वारा सम्प्रेषित समाचारलाई लिएर लगाइएको आरोपपूर्ण आधारहिन, भ्रामक, कपोकल्पित र कुत्सित नियतले अभिप्रेरित भएको संघको ठहर छ।
२५ डिसेम्बरका दिन आयोजित ‘यलम्बर नाईट’ नेपाली सप्ताह २०११ अर्न्तगत गरिएको आयोजक संस्था यायोक्खा र सप्ताहका संयोजक हङकङ नेपलिज फाउन्डेसनले सार्वजनिक गरेको प्रचार सामग्रीमा स्पष्ट उल्लेख छ। कार्यक्रम संयोजक र आयोजकद्वारा प्रकाशित जानकारी बमोजिम नै कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा कलाकार गणेश रसिक र धिरज राई नेपाली सप्ताहको साताव्यापी कार्यक्रम अन्तर्गत आयोजना हुने सांस्कृतिक प्रस्तुतिमा सहभागी हुन आएको उल्लेख छ। सोही आशयको समाचार स्थानीय केही वेवसाईटहरूले पनि सम्प्रेषण गरेका छन्।
तर यायोक्खाको दावी ‘…. कलाकार श्री गणेश ‘रसिक’ तथा श्री धीरज राईलाई हङकङ नेपलीज फाउण्डेसनले नेपाली सप्ताह अन्तर्गतको कार्यक्रममा बोलाइएको……..’ भनेर कान्तिपुरमा लेखिएको समाचार झुठा भनिएको छ। जुन कुरा प्रकाशित समाचारमा कहीं कतै उल्लेख छैन। पत्रिकामा सम्प्रेषित समाचारमा कोही कसैलाई चित्त नबुझे वा केही गुनासा भए सम्बन्धित संचारमाध्यमलाई नै सिधै लिखित प्रतिक्रिया जनाउन सकिने बाटा खुला छन्। तर वास्तविकता भन्दा पर गएर कपोकल्पित लाञ्छना लगाई कुत्सित नियतले सार्वजनिक रुपमा प्रेस विज्ञप्ति जारी भएकोमा नेपाल पत्रकार संघ हङकङ भर्त्सना गर्दछ। यो घटना स्वतन्त्र प्रेसप्रतिको ठाडो आक्रमण भएको यस संस्थाको ठहर छ।
पुनश्चः नेपाली सप्ताह र यलम्बर नाइटसंग सम्बन्धित प्रचार सामग्री र सम्प्रेषित समाचारका प्रतिलिपि यसैसाथ संलग्न गरिएको छ।
…………..
किसन राई
अध्यक्ष
नेपाल पत्रकार संघ, हङकङ
राजकुमार राई/ एचकेनेपाल डट कम-
विगत तीन वर्षदेखि साब्लाबुगं साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको साब्लाबुगं प्रकाशन हङकङले पुस्तकहरू प्रकाशन गर्ने क्रममा प्रकाश छाङ्छा राईका कविता नामक हालै विमोचन भएको छ।
एक कार्यक्रमबीच कन्याहरू सुरूचि राई र सुम्निमा राईले पुस्तकको लोकार्पण गरेका थिए।
कार्यक्रममा संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि, हङकङ साहित्यिक प्रठिष्ठानका अध्यक्ष टंक सम्बहाम्फे बिशेष अतिथि, नेपाली महासघंका अध्यक्ष प्रदिप थापा, सनराईज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ्गलगायत अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईले नेपालबाट पठाएका शुभकामना सन्देश पढेर सुनाइएको थियो। कार्यक्रममा बालकलाकार शक्ति मादेनले भ्वाइलेन्समा नेपाली सुमधुर धुनहरू बजाएका थिए।
कवि चन्द्रमादेन आङ्छानको उद्घोषण रहेको कार्यक्रममा खड्क राईको स्वागत भाषण रहेको थियो। साब्लाबुंग प्रकाशन हङकङका अध्यक्ष तथा साब्लाबुंग साहित्यिक पत्रिकाका सम्पादक राजकुमार राईले कार्यक्रमको सभापत्तित्व गरेका थिए।