विविध कार्यक्रमहरुसहित ‘नेपाली सप्ताह’ सम्पन्न
January 1st, 2012
र्याली, सांस्कृतिक कार्यक्रम
एस /एचकेनेपाल डट कम-
हङकङ, १ जनवरी । प्रत्येक वर्ष डिसेम्बरको अन्तिम साता हर्षोल्लासका साथ मनाईने ‘नेपाली सप्ताह’ यस पटक पनि भव्यता साथ सम्पन्न भएको छ।
नेपाली सप्ताह २०११ को पहिलो दिन डिसेम्बर २५ तारिख झाँकीसहितको र्याली तथा सांस्कृतिक कार्यक्रम हङकङ नेपाली कला मन्दिरको आयोजना तथा हङकङ नेपलीज फाउण्डेसनको संयोजनामा सम्पन्न भयो।
सांस्कृतिक झाँकीसहितको र्याली युनलङ जकी क्लव टाउन स्क्वायर (घडी पार्क)देखि युनलङ थिएटरसम्म सम्पन्न भएको थियो। विभिन्न जातीय गाजाबाजासहितका सहभागीहरु जातीय पहिरनमा सजिएका थिए।
र्यालीमा युनलङ जिल्लापार्षदद्वय केन चाउ र माक यिप-सिङ, हङकङ नेपाली महासंघका अध्यक्ष दीप थापा, नेपालबाट आमन्त्रित कलाकारत्रय गणेश ‘रसिक’, धिरज राई र भुवन सुप्तिहाङलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, गोर्खा भूतपूर्व सैनिक, शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो।
र्याली युनलङ थियटरमा पुगेपछि साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो। उक्त अवसरमा जिल्ला पार्षद केन चाउ, मन्दिर तथा फाउण्डेसनका अध्यक्ष किसन राई र हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष तथा फाउण्डेसनका उपाध्यक्ष पशन तमूले सम्बोधन गरेका थिए।
‘हङकङको विकास र सम्बृद्धिको लागि नेपालीले पुर्याएको योगदानको हङकङले कदर गर्नु पर्छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला पार्षद चाउले भने, ‘जिल्ला पार्ष्को नाताले म हङकङमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको लागि सामर्थ्यले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’
फाउण्डेसनका अध्यक्ष राईले नेपाली सप्ताहको सन्देश नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई सम्मानको लागि स्थानीय जनतालाई आग्रह र संरक्षण र सम्बर्द्धनको लागि हङकङ सरकारसंग माग रहेको बताए थिए।
‘हङकङ हाम्रो घर हो, हामी यहाँको भाषा, संस्कृतिलगायत सिकिरहेका छौं र यहाँको मूलधारमा समाहित हुन आवश्यक छ,’ सम्बोधनको क्रममा राईले भने, ‘समाहितको नाममा हामी आफ्नो पहिचान गुमाउन चाहदैनौं। हामी नेपालीको पहिचानको रुपमा आफ्नै भाषा, साहित्य कला र संस्कृति भएकोले नेपाली सप्ताहमार्फत तिनलाई सम्मान गर्न स्थानीयलाई आग्रह र तिनको संरक्षण र सम्बर्द्धन गर्न हङकङ सरकारसंग माग गर्दछौं।’
उनले फाउण्डेसन र सो अन्तर्गतका संस्थाहरु अन्य संघसंस्थाका प्रतिस्पर्धी नरहेको बताउदै हङकङमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिलगायतका लागि अन्य संघसंस्थासंग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
फाउण्डेसनका उपाध्यक्ष तमूले हङकङमा नेपाली समाज बसाउनको लागि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास हुन आवश्यक रहेको विचार व्यक्त गरेका थिए। उनले नेपाली पुर्खाको रुपमा रहेका बेलायती गोर्खा भूपू सैनिकले हङकङको विकासको लागि महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए। उनले विशेष उद्धेश्यका साथ भेला भएको बताउंदै हङकङमा नेपालीको अस्तित्व र पहिचान खोज्दै सम्मुनत नेपाली समाजको निर्माण र नेपाली भाषा, कला, साहित्य र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न यी कार्यक्रमहरु आयोजना गरिएको बताए।
गोर्खाज सिमेट्रिज ट्रष्टका सचिव तथा फाउण्डेसनका कोषाध्यक्ष अमोद राईले आफ्नो स्वागत मन्तव्यको क्रममा नेपाली सप्ताहको बारेमा संक्षिप्त व्याख्या गरेका थिए।
कला मन्दिर तथा फाउण्डेसनका सचिव देवराज राईद्वारा संचालित कार्यक्रममा विभिन्न संघसंस्थाका कलाकार तथा विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक र आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए।
साँस्कृतिक कार्यक्रमको भिडियोः
शतवार्षिकी तथा साहित्यिक गोष्ठी
नेपाली सप्ताह २०११ को तेस्रो दिन नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको शतवार्षिकी तथा साहित्यिक गोष्ठी डिसेम्बर २७ तारिख युनलङ टाउन हलमा सम्पन्न भयो।
हङकङ नेपाली साहित्य परिषद्को आयोजना र हङकङ नेपलिज फाउण्डेसनको संयोजना रहेको कार्यक्रमका प्रमुखअतिथि साहित्यकार गणेश ‘रसिक’ रहेका थिए। परिषद्का अध्यक्ष पशन तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरुवातमा युगकविको तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएका थिए।
उक्त अवसरमा प्रमुखअतिथि ‘रसिक’ले भाषा भनेको मानिसको पहिचान रहेको र त्यसको जगेर्नाको लागि व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउदै भने, ‘भाषा, साहित्य, संस्कृति नारालेमात्र बाच्दैन र सरकारलेमात्रै पनि बचाउन सक्दैन। तिनको जगेर्नाको लागि व्यवहारमा लागू गर्न आवश्यक छ। नेपालमा हेर्नुहोस् संस्कृतको लागि सरकारले करोडौं खर्च गरिरहेको छ, तर त्यो भाषा प्राय मृत छ।’
मन्तव्यकै क्रममा उनले हङकङमा गरिने नेपाली साहित्यिक कार्यक्रमले नेपालको विषय, नेपाली साहित्य र साहित्यकारको बारेमा जानकारी दिने र नेपाली भाषा र साहित्य पुस्तान्तरणमा सहयोग पुग्ने विचार व्यक्र गरेका थिए।
सोही क्रममा उनले युगकविसंग जोडिएका क्षणहरुलाई स्मरण गरेका थिए। उनले आफ्नो जन्मस्थल र क्षेत्रलाई कवितामा व्यक्त गर्ने प्रथम नेपाली कवि सिद्धिचरण श्रेष्ठ रहेको दावी गरेका थिए। उनका अनुसार अहिले पनि युगकविका कविताहरु सान्दर्भिक र आम नेपालीका लागि प्रेरणादायी रहेका छन्।
हङकङ नेपलीज फाउण्डेसनका अध्यक्ष किसन राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जनजाति साहित्य समूहका संयोजक भूपेन्द्र चेमजोङले परिषद् र फाउण्डेसनले नेपाली जनजाति साहित्यकारलाई पनि सम्झेर कार्यक्रम तय गर्नु पर्ने सुझाउ दिएका थिए।
त्यसैगरि नेपाली साहित्य प्रतिष्ठानका सदस्य देश सुब्बाले सिद्धिचरण श्रेष्ठको शतवार्षिकी नेपालपछि दार्जिलिङले मनाएको र त्यसैको नक्कल गरिएको आशंका गर्दै आउदा दिनमा परिषद्कोतर्फबाट मौलिक कार्यक्रम गर्नु पर्ने विचार व्यक्त गरेका थिए।
समारोहमा सिर्जनशील साहित्य समाज हङकङका सचिव नरेश सुनुवारले भाषा, साहित्य, कला र संस्कृतिभित्र मानिस बाँचेको हुन्छ भन्दै ती चिज मानिससंगै सर्ने विचार व्यक्त गरेका थिए।
परिषद्का सचिव नन्दलाल थोकरको संचालन रहेको कार्यक्रममा राजेन्द्र थापा, कमल पौडेल, राजेन्द्र केरुङ, विष्णुनन्द चाम्लिङ, पुष्प लामा, नरजीत राई, मोति चाम्लिङ, बालकवि निस्सिमा राई, चन्द्र मादेन, देश सुब्बा, नरेश सुनुवार, लक्ष्मी राई र शरण लिम्बूलगायतले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए। संचालक थोकरले कार्यक्रमको शुरुवातमा युगकविको संक्षिप्त परिचय दिएका थिए।
सोही अवसरमा लक्ष्मी राईले बेलायतका नेपाली सर्जकहरुद्वारा लेखिएका कृतिहरु परिषदका अध्यक्ष तमूलाई उपहारस्वरुप हस्तान्तरण गरिएका थिए।
कार्यशाला गोष्ठी
हङकङ नेपाली पाठ्यक्रम विकास परिषदको आयोजना तथा हङकङ नेपलीज फाउण्डेसनको संयोजनमा डिसेम्बर ३१ तारिख युन लङ थियटरको सभाकक्षमा विद्यार्थी र तिनका अभिभावकप्रति लक्षित कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
हङकङ नेपलीज फाउण्डेसनका अध्यक्ष किसन राई प्रमुख अतिथि र फाउण्डेसनका उपाध्यक्ष तथा हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष पशन तमू विशेष अतिथि रहेको कार्यशाला गोष्ठीमा विभिन्न विद्यालयमा अध्ययन विद्यार्थी तिनका अभिभावक तथा नेपाली शिक्षक शिक्षिकाहरु सहभागी थिए।
अतिथि वक्ता मिस ब्रेन्दाले नेपाली विद्यार्थीहरुको पहिलो भाषाको महत्व तथा बालबालिकाहरुलाई कसरी अभिभावकहरुबाट सहयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन्। शिक्षण पेशामा २० वर्षभन्दा बढी अनुभव सँगालेकी ब्रेन्दाले आफ्ना संस्कृति, संस्कार र नेपालसंग जोड्न नेपाली भाषा सिक्नु पर्ने बताइन्। विद्यार्थीले आफ्नो भाषा अध्ययन गर्न गौरव मान्नु पर्छ, उनले भनिन्।
कार्यशाला गोष्ठीमा डा. धिरज गुरुङ र डा. तुलाचनले बालबालिकाको मेन्टल हेल्थसम्बन्धी जानकारी दिएका थिए। गोष्ठीमा शिक्षिका पूर्णकला गुरुङले विद्यार्थीहरुलाई कसरी क्रियाटिभ राइटिङ लेख्ने भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन्।
त्यसैगरी, फाउण्डेसनका अध्यक्ष तथा एभरेष्टका सम्पादक प्रकाशक किसन राईले हङकङमा नेपाली पत्रपत्रिकाको महत्वपूर्ण पक्षबारे जानकारी दिएका थिए।
कला मन्दिर तथा फाउण्डेसनका सचिव देवराज राईद्वारा संचालित कार्यक्रममा हङकङबाट स्नातकोत्तर डिग्री गरेका शिक्षकद्वय बिमल गुरुङ र शैलेन्द्र बोगटीलाई बधाई ज्ञापन गरिएको थियो।
Recent Videos:
Popularity: 5%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed