हङकङेली नेपाली तेस्रो स्थानमा छन्- प्रा. डा. गोविन्दराज भट्टराई
February 13th, 2010
एस, हङकङ / एचकेनेपाल डट कम-
प्रा. डा. गोविन्दराज भट्टराईले विदेशमा रहेका नेपालीहरूमध्ये हङकङेली नेपाली तेस्रो स्थानमा रहेको बताएका छन्। नेपाली साहित्यका प्रशिद्ध समालोचक तथा प्राज्ञ डा. भट्टराईले विभिन्न विधा र गतिविधिको आधारमा अमेरिकामा बस्ने नेपाली पहिलो, बेलायतका नेपाली दोस्रो र हङकङमा बस्ने नेपाली तेस्रो स्थानमा रहेको बताएका छन्।
नेपाली साहित्य प्रतिष्ठान हङकङद्वारा शनिवार हङकङको जोर्डनस्थित याक एण्ड यतिको सभाहलमा आयोजित दशौं वार्षिक उत्सवको अवसरमा बोल्दै डा. भट्टराईले सो कुरा बताएका हुन्।
प्रवासी नेपाली स्रष्टाको साहित्यिक सृजनाहरूमाथि समालोचन गर्दै आएका डा. भट्टराई हङकङका नेपाली स्रष्टाका रचनाहरूसंग समेत परिचित छन्। नेपाली साहित्यिक प्रतिष्ठान हङकङले नेपाली साहित्यमा पुर्र्याएको योगदानको चर्चा गर्दै डा. भट्टराईले आफ्नो लिखित विचारपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै डा. भट्टराईले नेपाली साहित्यको श्रीवृद्धिका लागि हङकङेली नेपाली स्रष्टाहरूबाट भएका त्याग र तपस्याको मन खुलेर सराहना गरे। हालै मात्र नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभामा मनोनित भएका डा. भट्टराई नेपाली साहित्य प्रतिष्ठान हङकङको निम्तोमा हङकङमा आएका हुन्।
त्यसैगरी, धरान हङकङ मञ्चको निम्तोमा हङकङ आएका प्रा. डा. टंक न्यौपाने हङकङेली नेपाली तेस्रो स्थानमा रहेको मान्न तयार छैनन्। हङकङभन्दा अघि अमेरिका र बेलायतमा नेपालीले उपस्थिति जनाएको हुंदा त्यहाँका नेपाली अगाडि देखिएपनि थोरै समयअवधिमा हङकङेली नेपाली स्रष्टाहरूबाट भएको प्रगति हेर्दा नेपालपछि हङकङ दोस्रो स्थानमा रहेको डा. न्यौपानेले बताए। हङकङबाट नेपाली साहित्यमा देश सुब्बाको भयवाद र कवयित्री दिपा एवाईको समुच्च विचारको उदयले राम्रो लक्षण देखाएको उनले बताए। जनजातिको भाषा र साहित्यको पक्षमा कलम चलाउने डा. न्यौपानेले कार्यक्रममा बोल्दै नेपाली गीत संगीतको क्षेत्रमा जनजातिहरूको एकाधिकार रहेको प्रष्ट पारे।
धरान हङकङ मञ्चको निम्तोमा हङकङ आएका अर्का साहित्यकार, पत्रकार तथा कान्तिपुर धरान संवाददाता प्रदीप मेन्याङ्बोले हङकङेली नेपालीहरूसंग विचारको आदानप्रदान भन्दा पनि यहाँका नेपालीका अवस्थाबारे जानकारी लिन हङकङ आएको बताए। चलचित्रका कथाहरूमा देखिने हङकङलाई वास्तिवक रूपमा देख्न पाउंदा खुसी र अचम्भ लागेको बताए।
कार्यक्रममा प्रा. डा. भट्टराईले प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका र प्रा. डा. न्यौपानेले ९ वर्षीय बाल कथाकार बिदीप पालुङ्वाका छोटो कथा संग्रह विमोचन गरे। सोही कार्यक्रममा हङकङबाट साहित्यिक कृतिहरू प्रकाशन गर्ने लेखक तथा कविहरूलाई प्रसंशा पत्र वितरण गरिएको थियो भने औपचारिक कार्यक्रमपछि कवि कवयित्रीहरूबाट कविता वाचन भएका थिए।
नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डिबि पालुङ्वा, स्वागत मन्तव्य देश सुब्बाको रहेको थियो।
एचकेनेपाल डट कमसंग जम्का भेटः भिडियो वार्ता
कार्यक्रमको भिडीयो झलकः
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed