Posts filed under 'कथा'

नौ नम्बरकी - (कथा)

इन्दिरा प्रसाई -
Padam Singh Subba आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्षपछि जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा लगेज भारी भएर उल्टै दण्ड पर्यो । यसपालि कसैको पनि कुनै सामानचै नलाने । साथीभाइको चिठीपत्र भने लगिदिन्छु कि कसो । रामचन्द्र घर जाने उत्साहमा बोल्दै थियो। रामचन्द्र जसलाई यहाँ साहेबले आर.सी. भनेर बोलाउछ, त्यसैले ऊ सबैको आर.सी. हो । त्यसै गरी आर.बी.चाहि रामबहादुर हो।

साहेबले लामो नाउ बोलाउने झन्झट नगरी सबैको नाउ छोट्टयाइदिन्छ । उनीहरू तीन जना नेपालीबाहेक दुई जना भारतीय केटीहरू र चार जना बङ्गलादेशी केटाहरू पनि यहाँ छन् । भारतीय केटीहरू चन्द्रावतीलाई सी. भन्छ साहेबले र मधुमालतीलाई एम. मात्रै भन्छ । बङ्गलादेशी केटाहरू चन्द्रशेखरलाई सी.एस., गोपीकृष्णलाई जी.के., कृष्णचन्दरलाई के.सी. र कालीप्रसादलाई के.पी. भनेर साहेबले बोलाउने गर्छ । तर रामबहादुरलाई यसरी नाउ छोट्टयाएको पटक्कै मन पर्दैन र ऊचाहि आफ्ना सबै सहकर्मीलाई उनीहरूको पूरै नाउले बोलाउछ । तर उसका सहकर्मीहरू भने साहेबकै नक्कल गर्छन् र एकआपसमा साहेबले छोट्टयाएकै नाउ चलाउछन्।

रामचन्द्रले घर जाने कुरा गर्नासाथ रामबहादुरलाई पनि आफ्नो घरको सम्झना भएर आयो । रामबहादुर घर नगएको पनि झन्डै छसात वर्षै भइसक्यो । यहाँबाट छुट्टी पाउनै गाह्रो छ । सुरुसुरुमा छुट्टी नपाएको झोकमा कहिलेकाही यो कामै छोडौ जस्तो पनि उसलाई नलागेको होइन । तर साहेब ज्यादै असल छ र रामबहादुरलाई खूबै माया गर्छ । साहेबले कामदारमध्ये सबैभन्दा बढी विश्वास पनि रामबहादुरलाई नै गरेको छ । यति ठूलो फर्मको सबैजसो जिम्मा हिजोआज रामबहादुरकै हातमा छ । साहेबको विश्वासपात्र भयो भनेर उसका सहकर्मीहरू उसको ईर्ष्या पनि गर्छन् । त्यसैले यहाँको कामै छोडेर साहेबको विश्वासलाई घात पार्न पनि ऊ चाहदैन।

रामबहादुरलाई घरै जाने पनि अब के नै आकर्षण रह्यो र ! आफूले मन पराएर बिहे गरेर घरमा छोडेर आएकी स्वास्नीले पनि पर्खिन सकिन । पाँच वर्षपछि घर जादा ऊ अर्कैकी भइसकेकी रहिछे । आमाले माया गर्थिन्, उनी पनि स्वर्गे भइसकिछन् । बाउ दाजुसँग बसेका रहेछन् । दाजुको परिवारमा भाउजूको हेरविचार र नातिनातिनाको रमझममा बाउ पनि रामबहादुरका लागि बिरानोझै भएछन् । कान्छा अब नजा परदेश, यतै बस्, घरजम गर् बाबै बाउले भन्न त भनेका थिए । तर आम्दानी गर्न नसकेको घरजम पनि दिगो हुदैन । कमलीसँग उसले घरजम गर्न खाजेकै त हो नि । दिनरातको अभाव र गरिबीसँग आजित भएपछि कमलीकै सल्लाह मानेर ऊ परदेशिएको हो । तर कमलीले आफैले कमाउन भनेर परदेश पठाएको लोग्नेलाई पर्खन सकिन । रामबहादुरले त्यस बेला मनभरि कुरा खेलाए पनि बाउलाई कुनै जबाफ फर्काएको थिएन । कान्छा सबै उस्तै हुदैनन्, सधै एकनास हुदैन, आइमाई जातलाई एक्लै छोड्नु हुदैन । आँट गर्, अब नजा, यतै बस्, म पनि बूढो भइसके, आमाले तेरै नाउ लिदालिदै प्राण छोडी । रामबहादुरको मनको कुरा पढेर बाउले भनेका थिए । तर उसले बाउले भनेझै गरेन । एकपल्ट पुगेर आउछु बा ! उसले यति मात्रै भनेको थियो । बाका कुरा पनि ठीकै हुन् कान्छा, अब नजा, यतै मिलीजुली काम गरौला । दाइले पनि भनेका थिए । तर रामबहादुरले दाजुको हिजोको व्यवहार बिर्सन सकेको छैन । दाजु र भाउजूले उसले कमाएन भनेर त्यस बेला अर्घेलो गरेको उसले कसरी बिर्सोस् ! अझ रामबहादुरले कमलीलाई बिहे गरेपछि दाजुले सगोलमा बस्न पनि रुचाएका थिएनन् र त्यसपछि दाजुकै आग्रहमा परिवार दुई टुक्रा भएको थियो । दाजुले कुलो पनि लाग्ने र राम्रो उब्जाउ हुने खेतजति आफ्ना भागमा पारेर रूखो र कुलो नलाग्ने खेत उसको भागमा पारिदिएका थिए । त्यसपछि बाउआमा पाल्ने जिम्मा पनि रामबहादुरलाई लगाएर दाजु पन्सिएका थिए । कुनै इलम नभएको रामबहादुर वर्षदनमै साहूको ऋणमा चुर्लुम्म डुबेको थियो । ‘अब परदेश नगई अर्को उपाय छैन’ कमली र उसले सल्लाह गरेका थिए । त्यसपछि खेतजति जम्मै साहूलाई जिम्मा लाएर दलाललाई पैसा खुवाएपछि रामबहादुरले परदेशमा जागिरको मुख देखेको थियो।

परदेशिएको अर्को वर्षेदेखि रामबहादुरले बाउको नाउमा पैसा पठाउन थालेको थियो । बाउको नाउमा पैसाको बिटो देखेपछि भाउजूको बुद्धि फर्केको थियो । बूढाबूढीलाई एकोहोर्याएर कमलीलाई पोइल हिडाउने जुक्ति पनि भाउजूकै थियो । कमलीलाई टिक्न नदिएपछि उनीहरूले बूढाबूढीलाई स्याहार्न आफ्नै घरमा पुर्याएका थिए । त्यसपछि रामबहादुरले पठाएको सबै पैसा दाजुकै हातमा पर्न थालेको थियो । त्यसैले आफ्नो दाजुको माया कतिसम्म गहिरो छ भन्ने कुरा रामबहादुरले राम्ररी बुझेको थियो । उसले पैसा कमाउन छोडेको भोलिपल्ट उसका दाजुभाउजूले उसलाई नचिन्न पनि बेर लाउदैनन् । त्यसैले छदाखादैको त्यस्तो राम्रो काम छोडेर बाउदाजुका कुरा मान्नु रामबहादुरलाई पटक्कै ठीक लागेन । त्यसैले चाडै र्फर्किनेछु भनेर ऊ पुनः विदेशिएको थियो ।
रामबहादुर फर्किएको छ महिनामै सेतो धागोले बेरिएको चिठी उसको नाउमा आएको थियो । बाउ बितेछन् । उसले आफूले जानेको किरिया यही बसेरै बार्यो । परदेशमा नियम त कसरी पुर्याओस्, तै बाउलाई बिदा गर्यो । बाउको देहान्तपछि अब नेपालै रित्तो लाग्यो उसलाई । त्यसैले पनि ऊ घर गएको छैन । किन जाने ! कसका लागि जाने ! ढुङ्गा र माटोबाहेक नेपालमा अर्थोक के छ र उसको । ढुङ्गा र माटो त यहाँ पनि छ । एकै पेटको दाजुको माया उसले कमाएको पैसासँग मात्र छ । बरु यही देशको साहेबले उसलाई बिरामी पर्दा पनि स्याहारेको छ।

यहाँ आएकै साल फुड प्वाइजन भएर ऊ झन्डै खुस्केको थियो । त्यस दिन दुईचार चोटि दिसाबान्ता हुदा पनि उसले खासै वास्ता गरेन र आफ्नो नियमित काम गरिरहेको थियो । अचानक उसलाई तारन्तारको दिसाबान्ताले छोपेको थियो । मधुमालतीले आत्तिएर तुरुन्तै साहेबलाई खबर गरेकी थिई । त्यस बेला साहेब हावाको गतिमा आइपुगेको थियो र हतारहतार उसलाई गाडीमा हालेर अस्पताल पुर्याएको थियो । आधा घण्टाको बाटोमा रामबहादुरले गोडा तीनचारेकपल्ट गाडीमै दिसा र बान्ता गरेको थियो । झन्डै बेहोसजस्तो अवस्थाको रामबहादुरलाई साहेबको गाडी खराब गरेको भन्नेचाहि सम्झना थियो तर ऊ यति शिथिल भइसकेको थियो कि त्यस बेला आफ्नै शरीर उसको वशमा थिएन।

तपाईंले फोहोर पारेको गाडी साहेबले सबै आफै सफा गरे नि आर.बी. दाइ ! पछि मधुमालतीले सुनाएकी थिई । भारतीय केटी मधुमालतीले साहेबको ड्राइभर नेपाली केटो हर्कबहादुरसँग बिहे गरेकी छ । मधुमालती र हर्के साहेबले दिएको साहेबकै घरसँग टासिएको क्वार्टरमा बस्छन् । रामबहादुरलाई अस्पतालमा तीन दिनसम्म सलाइन चढाएर राखिएको थियो । अस्पतालबाट साहेबले रामबहादुरलाई आफ्नै घरमा लगेको थियो । साहेबले आफ्नो कोठाकै छेउको कोठामा रामबहादुरलाई राखेर रामबहादुरको जम्मै हेरविचार आफैले गरेको थियो । साहेबको स्याहारसुसारले एक हप्तामा रामबहादुर तङ्ग्रिएर तन्दुरुस्त पनि भएको थियो । त्यसपछि मात्र साहेबले रामबहादुरलाई उसैको कोठामा फर्किन दिएको थियो । मानिसलाई मानिसले जित्ने भनेकै सद्व्यवहारले रहेछ । त्यस बेलाको साहेबको व्यवहारले गर्दा रामबहादुरका लागि साहेब भन्नु उसको जिउदो भगवान्जत्तिकै भएको छ।

वास्तवमा यो परचक्री भूमि पनि उसका लागि आफ्नो मातृभूमिभन्दा प्रिय भएको साहेबकै मायाले हो । उसलाई सम्झदा पनि अचम्म लाग्छ, साहेब उसको भाषा बुझदैन र ऊ पनि साहेबको भाषा बुझदैन । मानिसले मानिसलाई माया गर्न भाषा पनि नचाहिने रहेछ । आफ्नाहरूका माझ ऊ बिरानो भइसकेको छ र बिरानो साहेबले उसलाई मायाजालमा हालिसकेको छ।

रामबहादुरको साहेब वैज्ञानिक हो । हुन त ऊ डाक्टर हो तर उसले कहिले पनि डाक्टरी काम गरेर बिरामी जाचेन । उसलाई केटाकेटीदेखि नै आविष्कार र अनुसन्धानमा रुचि थियो । त्यसैले डाक्टरी विद्या पढेर पनि ऊ अनुसन्धानमा नै लागिरह्ययो । त्यसैले आज उसलाई सबैले वैज्ञानिक भनेर नै चिन्छन् । त्यसो त साहेबले आफ्नो आविष्कारलाई अहिले व्यापारमा परिणत गरिसकेको छ । अरबपति बाबुआमाको एक्लो छोरो हो साहेब । त्यसैले पैसा कमाउने कुरा उसले कहिल्यै सोचेन । नयानया काम गर्ने मात्रै लहड थियो साहेबको । गोरा साहेबहरूको उमेर त थाहा पाइदैन, तर दस वर्षअघि रामबहादुर यहाँ आउँदाको साहेब र अहिलेको साहेबको उमेर विचार गर्दा साहेबको उमेर साठी वर्ष नाघिसकेको जस्तो लाग्छ उसलाई । रामबहादुरको सहकर्मी बङ्गलादेशबाट आएको कृष्णचन्दरचाहि अङ्ग्रेजी भाषा राम्रै जान्दछ । उसैले साहेबका बारेमा लेखिएको किताब पढेर साहेबका बारेमा लेखिएका यी सबै कुरा रामबहादुरलाई भनेको हो । कृष्णचन्दरले सुनाएअनुसार उसको साहेबले बिहे पनि गरेको छैन र उसको घरपरिवारमा पनि कोही छैनन्।

साहेबको यो फर्म सहरबाट निकै नै टाढा छ । यहाँबाट मोटरमा आधा घण्टाको बाटोमा एउटा सानोसानो गाउ छ । तर यो फर्मको वरिपरि भने कतै पनि कुनै घर छैन । झन्डै नौ सय एकडजति जमिनलाई अग्लो पर्खाल लगाएर घेरिएको छ । एउटा ठूलो मूल द्वार छ । त्यहाँ हरहमेसा ताला लाग्ने गर्छ र त्यो तालाको साचो साहेबसँग मात्रै छ । यहाँ काम गर्ने विदेशीबाहेकका कर्मचारी बाह्र जना त्यहीका स्थानीय जातिका मानिसहरू छन् । ती किसानहरू अङ्ग्रेजी जान्दैनन्, उनीहरू आफ्नै भाषामा बोलीचाली गर्छन् । त्यसैले रामबहादुर र उसका साथीहरूसँग ती किसानहरूको कुनै कुराकानी हुदैन । कृष्णचन्दरले नै पत्तो लाएअनुसार ती किसान पनि त्यहाँका सुकुमबासी हुन् र त्यही परिसरमा साहेबले दिएको घरजग्गाबाहेक उनीहरूको अन्त कतै जाने ठाउ पनि छैन । उनीहरूले त्यस जमिनमा खनजोत गर्ने, तरकारी, फलफूल रोप्ने र स्याहार्ने काम गर्छन् । यहाँ हरेक मौसमका तरकारीहरू र फलफूलहरू पर्याप्त फल्छन् । साहेबको आफ्नै निजी हेलिकोप्टर पनि यही कम्पाउन्डको बीचभागमा राखिन्छ । कृष्णचन्दरकै भनाइअनुसार अस्पतालहरूमा आफ्नो उत्पादन पुर्याउने काममा साहेब यही हेलिकोप्टर प्रयोग गर्छ । पहिलो पटक यहाँ भित्रिदा त्यस ठाउमा एउटा अनौठो संसार देखेर रामबहादुर छक्क परेको थियो । चारैतिरको निर्जन एकान्त पार गरेपछि एउटा अर्कै संसारमा प्रवेश गरेको अनुभूति रामबहादुरलाई भएको थियो। एक किसिमको डरजस्तो पनि र अनौठोअनौठो, केटाकेटीमा आमाले सुनाएको दन्त्यकथाको सहरमा आइपुगेजस्तो अनुभूति पनि भएको थियो उसलाई।

यहाँ रामबहादुरको जिम्मामा चाहि एउटा पाँच सय मिटर चौडा र त्यति नै लामो घर छ । यो घर अचम्मको छ । यसमा बीसवटा कोठाहरू छन् । यी सबै कोठामा मानिसहरू छन्।

जब पहिलो दिन रामबहादुर कोठामा पुगेको थियो, यहाँका मानिसहरू देखेर अचम्म परेको थियो । यहाँका हरेक कोठामा दसबाह्र जनाको सङ्ख्यामा नाङ्गा मानिसहरू थिए । कुनै कोठामा लोग्नेमानिस मात्रै, कुनै कोठामा आइमाई मात्रै र कुनैकुनै कोठामा लोग्नेमानिस र आइमाई दुवै थिए । ‘ए यो त जेलखाना पो रहेछ’ उसले त्यस बेला मनमनै ठानेको थियो । ‘भो यस्तो जेलखानामा त काम नगर्ने’ उसले तत्काल निर्णयगरेको थियो । त्यस बेला उसलाई कृष्णचन्दरले नै त्यहाँ पुर्याएको थियो । नेपालमा जुन दलाललाई उसले पैसा तिरेको थियो त्यो त अब त्यहाँ थिएन । त्यसैले उसले कृष्णचन्दरलाई नै आफ्नो मनको कुरा टुटेफुटेको हिन्दीमा भन्यो । कृष्णचन्दर हिन्दी कुरा गर्थ्यो र अङ्ग्रेजी जान्दथ्यो । त्यसैले ऊ नै साहेब र विदेशी कामदारका बीचको भाषासाघु बनेको थियो । अब तिमीले एक वर्षत यहाँ काम गर्नै पर्छ, तिम्रो मालिकले तिम्रो एक वर्षको पैसा त लगिसक्यो । कृष्णचन्दरले रामबहादुरको निर्णयको जबाफ दिएको थियो । यो मानिस बनाउने फ्याक्टरी हो, जेल होइन । यी मानिसहरू हाम्रो साहेबले मेसिनले बनाएको हो । यिनीहरू मानिसजस्ता मानिस नै हुन् तर यिनले मानिसका कुरा बुझदैनन् । यी हेर्दा मानिस भए पनि पूरै मानिस भने होइनन् । कृष्णचन्दरले रामबहादुरको मनको भाषा पढेर यो जानकारी दिएको थियो।

यस्ता मानिस साहेबले किन बनाएको हो, के काम ! फेरि यिनीहरूलाई किन लुगा नदिएको ! राम बहादुरले नाङ्गा मानिसहरूलाई हेर्न नसकेर भनेको थियो । यिनीहरू लुगा लगाउन मन पराउदैनन्, लुगा लगाइदियो भने च्यातिदिन्छन् कृष्णचन्दरले भनेको थियो । अहिले संसारका जुनसुकै देशमा पनि यी मानिसको माग छ । हाम्रो साहेबबाहेक संसारमा कसैले पनि यस्ता मानिसको उत्पादन गर्न सकेका छैनन् । त्यसैले यहाँ कोही पनि बाहिरको मानिस आउन पाउदैन र यहाँका हामी कामदार पनि घरीघरी बाहिर जान पाउदैनौ । यसको मूल ढोकाको साचो त्यसैले साहेबसँग मात्रै छ । त्यसै दिन कृष्णचन्दरले भनेको थियो।

यी मानिसहरूमध्ये कसैको मृगौला, कसैको मुटु, कसैको आखा, कसैको हात वा खुट्टा बिक्री हुन्छन् । आजकल संसारका मानिसहरूका कुनै न कुनै अङ्गमा रोग लागेर ती अङ्ग फेर्नुपर्ने भइरहेको हुन्छ । त्यस्ता फेर्नुपर्ने अङ्गका लागि साहेबले यी मानिसहरू उत्पादन गरेको हो । कृष्णचन्दरले आफूले जानेका धेरैजसो जानकारी त्यसै दिन रामबहादुरलाई सुनाएको थियो।

यी मानिसहरूमध्ये कसैको आखाको भाग बलियो छ, कसैका हातखुट्टा, कसैको टाउको, कसैको पाठेघर, कसैको मृगौला र कसैको मुटु । साहेबले त्यसैअनुसार यिनीहरूलाई अलगअलग कोठामा राखेको हो । यहाँ राखिएका मानिसहरूमध्ये सबैभन्दा पुराना पाँच वर्षका भए । म यहाँ आएको आठ वर्षभयो । पहिलो पटक उत्पादन गरिएका सबै मानिस मरे । कुनै हिसाबमा गडबढी भयो भनेर त्यस बेला साहेब निकै मुर्मुरिएको थियो । कृष्णचन्दर रामबहादुरलाई सबै कोठा घुमाउदै थियो र आफूले जानेका कुरा भन्दै पनि थियो । यो कोठामा हामीले पस्नु हुन्न, यहाँ मानिसको बीउ भर्खरै राखिएको छ । सहरमा मानिसको वीर्यको पनि ब्याङ्क छ रे, त्यहाँबाट साहेबले मानिसको वीर्य किनेर ल्याउछ । उः ती सिसाका भाडा छन् नि, यसलाई साहेबले मदर भन्छ । हो ती भाडामा एक वर्षपछि मानिसका बच्चा देखा पर्छन् । यो कोठामा साहेब मात्रै बेलाबेलामा पस्ने गर्छ र ती भाडामा कुनै औषधी हाल्ने गर्छ । कृष्णचन्दरले बीचभागमा भएको एउटा कोठाको सिसाको ढोकाअगाडि पुगेपछि भनेको थियो । यो कोठाचाहि अपरेसन गर्ने कोठा हो । साहेबले संसारका कुनै पनि अस्पतालबाट माग भएअनुरूपका अङ्गहरू काटेर उसैले बनाएको खास किसिमको बट्टामा ती अङ्गहरू प्याकिङ गर्छ । त्यस्ता अङ्गहरू प्याकिङ गरेको ४८ घण्टाभित्र मानिसमा प्रत्यारोपण गर्न सकिन्छ।

योचाहि काम नलाग्ने मानिस पेल्ने कोठा हो कृष्णचन्दरले त्यसै घरको पल्ला छेउको एउटा कोठाअघिल्तिर पुगेपछि भनेको थियो । कोठाको ढोका बन्द थियो तर सिसाको ढोकाबाट भित्रको दृश्य छयाङ्गै देखिन्थ्यो । त्यहाँ भित्र एउटा कालो रङ्गको ठूलो मेसिन थियो र जुन चिम्नीको आकारले कोठाको छतमा टासिएको थियो । कुनैकुनै मानिसको कुनै पनि अङ्ग काम नलाग्ने हुन्छ, त्यस्ता मानिसलाई पाल्नुको कुनै औचित्य हुदैन । त्यसैले त्यस्ता मानिसलाई पहिले मृत्युको सुई दिइन्छ र त्यसपछि त्यो निर्जीव भइसकेको मानिसलाई यो चिम्नीमा हालिन्छ र त्यो बिजुलीको स्विच अन गरेपछि केहीबेरमै त्यो खरानी हुन्छ । कृष्णचन्दरका कुरा सुनेर रामबहादुरको अनुहारमा भयका चिन्नहरू प्रकट भएका थिए । डराउनु पर्दैन, तिमीहामीलाई साहेबले यसमा हाल्दैन । उसैले बनाएका फाल्तू मानिस मात्रै हाल्छ । कहिलेकाही कुनैकुनै मानिस मर्छ पनि, त्यस्तो बेलाका लागि मात्रै हो यो । फेरि सबै अङ्गप्रत्यङ्ग प्रत्यारोपणका लागि झिकिएपछि काम नलाग्ने भएर बाकी भएका भाग पनि यसै मेसिनमा हालेर पेलिन्छ । यसलाई इन्सिनेटर भनिन्छ । कृष्णचन्दरले रामबहादुरलाई ढाडमा धाप मार्दै आश्वस्त पार्न खोजेको थियो।

त्यस दिन रामबहादुरलाई फर्म हाउसका सबै कोठा र उसले गर्नुपर्ने काम पनि अराएपछि कृष्णचन्दर आफ्नो काममा लागेको थियो । तर रामबहादुरलाई भने कस्तोकस्तो भइरह्यो, दिगमिग लागिरह्यो र एक किसिमको डर पनि लागिरह्यो । रामबहादुरको जिम्मामा ती मानिसहरूलाई खाना खान दिने र उनीहरू बस्ने कोठा सफा पारिदिनुपर्ने थियो। ती मानिसहरूलाई खान एक किसिमको दाना दिइन्थ्यो । कुखुराले खाने दानाजस्तै किसिमको दाना उनीहरूलाई एउटा ठूलो प्लास्टिकको आरीमा हाल्दिनुपथ्र्यो र पानीचाहि प्लास्टिकका सिसीहरूमा भरेर राखिदिनुपथ्र्यो । प्रत्येक कोठामा सगै गासिएका शौचालय थिए र ती मानिसहरू शौचालयको कमोड प्रयोग गर्थे । कमोड प्रयोग गर्ने ती मानिसहरू फ्लस गर्न जान्दैनथे । त्यसैले हरेक पटक रामबहादुरले नै त्यहाँ पुगेर फ्लस गरिदिनुपथ्र्यो । रामबहादुरले इसारा गर्नासाथ ती मानिसहरू शौचालयमा प्रवेश गर्थे र उसले धारा खोलिदिन्थ्यो । झर्नाको पानीमा तिनीहरू केहीबेर नुहाउथे । हप्तामा एक दिन साबुनको फोहोरा पनि खोलिदिनुपथ्र्यो । जसले गर्दा उनीहरू सफासुग्घर देखिन्थे । रामबहादुरका लागि काम गाह्रो थिएन तर यस्तो अचम्मको र कहिल्यै सपनामा पनि नचिताएको काम गर्न भने उसलाई पटक्कै मन लागेको थिएन । ‘ठीकै छ एक वर्षत बस्नै पर्यो, त्यसपछि अर्कै काम गर्नुपर्ला’ बाध्य भएर रामबहादुरले निर्णय गरेको थियो।

यसैबीच अचानक रामबहादुर बिरामी परेको थियो र बिरामी निको हुनासाथ रामबहादुर साहेबलाई छोड्न नसक्ने भएर साहेबको मायामा बाधिएको थियो । त्यसैले त्यसपछि रामबहादुरले यही काममा आफूलाई डुबाएको थियो।

कोठा नम्बर तीनमा केटीहरू मात्रै राखिएका थिए । प्रत्येक केटीका ढाडमा नम्बर टासिएको थियो । तिनीहरूमध्ये नौ नम्बरकी चाहि रामबहादुरलाई असाध्यै राम्री लाग्थी । आफ्नी कमलीको शरीर पनि उज्यालोमा सम्पूर्ण नदेखेको रामबहादुर सुरुसुरुमा निर्वस्त्र आइमाईका शरीर देखेर लाजले भुतुक्क हुन्थ्यो । पाँच वर्षका केटीहरू पनि अठारबीस वर्षका जस्ता तरुनी थिए । यी मानिस विकासे कुखुराजस्तै हुन् आर.बी. । यिनको बुद्धि र तागत हुदैन । त्यसैले यी छिटोछिटो बढ्छन् रे । रामबहादुरको जिज्ञासाको जबाफ कृष्णचन्दरले नै दिएको थियो । यी कृत्रिम मानिस हुन् भन्ने जानेरै पनि नौ नम्बरकी केटीलाई देख्नासाथ रामबहादुरलाई भने कमलीको सम्झनाले आक्रान्त पार्थ्यो । छोटो समयसम्म भए पनि कमलीसँग भोगेको सुखको सम्झनाले उसलाई गाल्थ्यो । त्यसैले सबै कोठाको काम सक्नासाथ रामबहादुर तीन नम्बर कोठामा पुग्थ्यो र घण्टौसम्म नौ नम्बरकी केटीलाई हेरेर बस्थ्यो । पहिलेपहिले नाङ्गा मानिसहरू हेर्न नसकेर आखा चिम्लिने रामबहादुरलाई पछिपछि नाङ्गा मानिसहरू हेर्ने अभ्यास भएको थियो । बुझयौ आर.बी., साहेबले उसको किताबमा गजबको कुरा लेखेको छ ? प्रकृतिले बनाएका कुनै पनि जीवले कपडा लगाउदैनन् । मानिसले पनि कपडा लगाउन आवश्यक नै थिएन । सुरुमा एउटा मानिसले गरेको गल्तीका कारण मानिसले कपडा लगाउनुपरेको हो । मानिसको वास्तविक सुन्दरता नै कपडाले छोप्छ । संसारमा त्यसैले जीवजन्तुले यौनअपराध गरेको सुनिदैन तर असङ्ख्य मानिसहरू यौनअपराधमा संलग्न छन् । यो सबै मानिसले कपडा लगाएकाले भएको भन्ने उसको मान्यता छ । कृष्णचन्दरले एक दिन साहेबले लेखेको किताब पढेर रामबहादुरलाई अर्थ्याएको थियो । साहेबका कुरा ठीकबेठीक ठहर गर्ने क्षमता रामबहादुरसँग थिएन तर नौ नम्बरकी केटीको सुन्दरतामा मोहित रामबहादुर दिनप्रतिदिन त्यस केटीप्रति लालयितसमेत भने हुदै गएको थियो।

‘यो पनि त मानिस नै हो, साहेबसँग यो केटी माग्नुपर्यो, बरु पैसा जति परे पनि तलबबाट कटाऊ भन्नुपर्यो । आखिर साहेबले बेच्ने नै भएपछि कसो मलाई नदेला र !’ धेरै दिनपछि एक दिन रामबहादुरले निर्णयगरेको थियो।

हिजोआज रहदाबस्दा साहेब र उसका बीचमा सामान्य संवादका लागि कृष्णचन्दर नचाहिने भइसकेको थियो । साहेब प्रत्येक दिन बिहान सबेरै र बेलुकी गरेर दुई पटक फर्म हाउस घुम्न आउथ्यो । त्यस दिन बिहान रामबहादुरले साहेबलाई आफ्नो इच्छा व्यक्त गर्ने निधो गर्यो । साहेबले एक नम्बर घुम्यो, दुई नम्बर पनि घुम्यो र तीन नम्बर कोठामा साहेब पस्यो । रामबहादुरको मुटु ढक्क भयो, तर पनि उसले आज साहेबसामु आफ्नो माग राख्ने नै निर्णयगरिसकेको थियो । साहेब ! रामबहादुर नौ नम्बरकी आइमाईको अघि पुगेर उभियो । के भयो यसलाई ? साहेबले आफ्नो भाषामा सोध्यो । होइन, यसलाई होइन, यो मलाई रामबहादुर अकमकायो र आफ्नो कुरा राम्ररी भन्नै सकेन । ह, के भयो यसलाई ? साहेबले आफ्नो घाटीमा झुन्डिरहेको स्टेथोस्कोपले नौ नम्बरकी केटीलाई जाच्न थाल्यो । साहेब, मलाई यो राम्री लाग्छे रामबहादुरले दह्रो भएर भन्यो । अ, यो राम्री छ, मलाई पनि राम्री लाग्छ साहेबले नौ नम्बरकी केटीको शरीर र टाउकोसमेत सुमसुम्याउदै त्यसका गालामा च्वाप्प म्वाइ खायो । रामबहादुरलाई त्यसरी साहेबले नौ नम्बरकीलाई सुमसुम्याएको र चुम्बन गरेको पटक्कै मन परेन।

साहेब, यसको पैसा मेरो तलबबाट काट्नुहोस् र यो मलाई दिनुहोस् । रामबहादुरले साहेबको मुखमा हेर्दैनहेरी कठोर भएर हतारहतार भनेको थियो । तिमी के गर्ने, यसको त पाठेघर मात्रै राम्रो छ, तिमीलाई काम लाग्दैन आर.बी. । साहेबले छक्क परेर रामबहादुरलाई हेर्दै भनेको थियो। म योसँग बिहे गर्छु साहेब, यो मेरी स्वास्नी कमलीजस्तै छ । रामबहादुरले रुन्चे स्वरमा भनेको थियो।

तिमी लैजाऊ, तर यो स्वास्नी हुदैन, मैले झूटा कुरा गरेको होइन । तिमी मेरो कुरा पत्याउदैनौ होइन ? ल लैजाऊ यसलाई । साहेबले नौ नम्बरकी आइमाईका पाखुरा समातेर त्यसलाई रामबहादुरतिर ल्याइदियो । त्यसको ढाडमा टासेको नौ नम्बर पनि झिकिदियो । आर.बी., म तिमीसँग पैसा लिदिन तर तिमीलाई मन नपरे भोलि नै ल्याइदेऊ । तिमीले यसलाई क्वार्टरमा लैजादा यसको खाना पनि सगै लिएर जाऊ । यसले तिम्रो खाना खान सक्तिन । यसको स्वास्थ्यको हिसाबले पनि यसलाई यहाँको हावापानीबाहेकको प्राकृतिक हावापानीले बिगार्ने सम्भावना छ । एकैछिन पख, म यसलाई एउटा सुई लगाइदिन्छु, यो कोठाबाट बाहिर लैजादा यसलाई यो सुई लगाउनु पर्छ । बाह्र घण्टामा फेरि लगाउनुपर्छ साहेबले भनेको थियो । साहेबले भनेझै नौ नम्बरकी केटीलाई झट्टै उसले एउटा सुई लाइदियो।

त्यस दिन आफ्नो सबै काम सकेपछि नौ नम्बरकी केटीलाई लिएर रामबहादुर आफ्नो क्वार्टरमा पुगेको थियो । परदेशिएको एक्लो रामबहादुरलाई आज यतिका वर्षपछि उत्साह र उमङ्गले खपिनसक्नु भएको थियो । नौ नम्बरकीको नाउ उसले कमली नै राख्ने निर्णयगरेको थियो । एउटी कमली गुमाए पनि आज अर्की कमली पाउदा उसको हर्षको सीमै थिएन।

क्वार्टरमा पुगेपछि रामबहादुरले आफ्नो बाकसबाट सारीचोलो र पेटीकोट निकालेको थियो । कमलीका लागि किनेका यी सामान बोकेर नेपाल जादा कमलीसँग भेट नभएपछि उसले फाल्न पनि सकेको थिएन । कमलीकै लागि त्यसै बेला किनिएका लालीपाउडर र क्रिम पनि थियो उसको बाकसमा । उसले सबै कुरा पालैपालो नौ नम्बरकी केटी अर्थात् ऊद्वारा नामकरण गरिएकी कमलीलाई लगाइदियो । कमली चुपचाप बसिरही । शरीरमा लुगा परेपछि भने ऊ केही छटपटाई र लुगा खोल्ने प्रयत्नमा लागी । तर रामबहादुरले उसलाई इसारा गरेर लुगा लगाइरहन लगायो । प्रत्येक पटक ऊ भने लुगा फुकाल्न खोजिरहन्थी । लुगाफाटो र सिगारपटार सकेपछि रामबहादुरलाई नौ नम्बरकी केटी एकदमै ठयाम्मै कमलीजस्तै लाग्यो । उस्तै गोरो अनुहार, उस्तै आखा, उस्तै ओठ, उस्तै सम्पूर्ण बनोट । ‘कमली !’ रामबहादुरले आखाभरि आसु पारेर त्यसलाई बोलायो । अगालोमा कसेर फेरि बोलायो ‘कमली !, कमली !’
ऊ भोकाइहोली भनेर रामबहादुरले सगै ल्याएको दाना दियो । उसले कपाकप खाई । बोतलमा पानी पनि दियो, घटघट पिई । यतिका वर्षपछिको सुन्दरीको संसर्गले रामबहादुरलाई स्त्रीनशाले छोपिसकेको थियो । त्यसैले त्यसपछि उसले आफूले कमलीका रूपमा सिगारेकी केटीका कपडा खोलिदियो । कपडा खोलिदिदा त्यो केटी खुसी भई । त्यसपछि उसले त्यो केटीलाई नरनारीको भोगका लागि तयार गर्न खोज्यो । तर त्यो त भावशून्य थिई । उसले कुनै प्रतिक्रिया नै जनाइन । भावावेशमा रामबहादुरले आफूलाई पूर्ण पुरुषमा रूपान्तरित गर्यो तर त्यो भने आइमाई हुदैभइन । एउटा ढुङ्गाजस्तो चिसो शरीरसँग खेल्दाखेल्दै रामबहादुर आफै शिथिल भयो । त्यो आइमाईसँग आइमाईको जस्तै शरीर थियो तर त्यो आइमाई भने थिइन । उसले जति नै प्रयत्न गर्दा पनि त्यो आइमाई नै भइन । र, आखिरमा रामबहादुर हार्यो । त्यो आइमाई केहीबेरमै निदाएकी थिई र रामबहादुर त्यही निदाएकी आइमाईलाई हेर्दै रोइरह्ययो।
०००००
भोलिपल्ट बिहान साहेब फर्म हाउसमा आइपुग्नुअघि नै रामबहादुरले तीन नम्बर कोठामा त्यो आइमाईलाई पुर्याएर त्यसका ढाडमा नौ नम्बरको प्याच टाँसिदिएको थियो।

Recent Videos:

Popularity: 27%

Add comment November 29th, 2011

क्षणिक हाँसोका वीच अलमलिएका मानिस - कुमारी लामा

क्षणिक हाँसोका वीच अलमलिएका मानिस ….

- कुमारी लामा
‘ लौन म बर्बाद भएँ ‘ भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश फुङ्गै फुलेकी अनि दुब्ली कम्जोर देखिने बृद्धा आँखाभरि आँसु पार्दै कराउँदै थिइन्।

कोजाग्रत पूर्णिमाको दिन भएकाले फेवा किनारमा तालबाराही दर्शन गर्न जानेको भीड थियो। कुरा बुझ्दै जाँदा थाहा भयो , ती बृद्धा पनि ताल बाराही दर्शन गर्न आएकी रहेछिन्। तर त्यो भीडमा कुनै मौका छोपी बसेको बदमाशले उनको गलाको दुइ तोलाको सिक्री तानेर भागेछ । त्यही भएर ती वृद्धा बेहोस जस्तै भई हार गुहार गर्दैरहेछिन्। तर त्यो भीडमा चोरलाई समाउनु त सम्भव नै भएन । ती बृद्धाको अवस्थामा सहानुभूतिका शब्दहरू पस्कनेको भने बाक्लै भीड जम्मा भएको थियो त्यहाँ । मान्छे पिच्छेका कुराहरू पनि हुँदै थिए । कसैले ‘ बिचरा कस्तो बर्बाद भयो यो आमैको ‘ भन्दै थिए भने कसैले ‘ यस्तो भीडमा किन सुन लगाएर आउँनु पर्ने होला ‘ भन्दै थिए। जसले जे भने पनि ती बुढी आमाको पीडा आफ्नै ठाउँमा थियो । ती विभिन्न तर्क बितर्कका वीच मेरो मनमा भने अर्कै कुराले बेस्सरी अट्ठयाइरहेको थियो । म ‘ मानिस ‘ सँग त्रसित हुँदै थिएँ ।

त्यो चोरी अरू कसैले हैन एउटा मानिसले नै गरेको हो । ती बृद्धाको आँसु र मुटुभरि पीडाहरू मानिसले नै दिएको हो । अनि मानिस भन्दा डरलाग्दो जन्तु को होला र यस संसारमा ! मानिसले नै सधैँ आफै जस्तो अर्को मानिसलाई कहिले पार पाउँन नसक्ने दुःखको खाडलमा खसालिदिन्छ । मानव सभ्यताको विकासक्रमसँगै सम्पूर्ण हिंस्रक भन्दा हिंस्रक जनावरहरूलाई पनि मानिसले आफ्नो बशमा पारिसकेको छ । अब मानिसलाई ती जनावरहरूको डर छैन , छ त केवल आफै जस्तो रूप र गुण बोकेको अर्को मानिसको । यो बिडम्बनापूर्ण सत्यलाई हामीले आत्मासात गर्नु परेको अवस्था छ । हामी मानिसबाटै असुरक्षित छौँ । हामीले आफू जस्तै नाक , मुख , हात गोडा र मन मुटु भएकाबाट बच्नका लागि सुरक्षा गार्ड र घर टोलमा साइरन राख्नु परेको छ । हामी किन यसरी सभ्यताको विकाससँगै आफू चेतनशील मानिस हौँ भन्ने कुरा बिर्सदै छौँ ?

आफ्नो सुन्दरताले धपक्क बलेकी पोखरा त्यसैगरी खुलेकी थिइन् , माछापुछ्रे हिमाल खुसी भई आफ्नो आकृति फेवा तालमा निहृयाली रहेका थिए , फेवा तालले पनि आफ्ना उत्सुकताहरू मनमनै दबाई शान्त भई माछापुछ्रेलाई आफ्ना छातीभरि अटाइरहेकी थिइन् त्यो विहानीमा तर त्याँहा असुरक्षित र अशान्त थिए केवल ‘ मानिस ‘ । त्यही डर र असुरक्षालाई dmन् साथ दिनका लागि त्यही भीडबाट आफू जस्तै एउटा मानिस निस्किई ती वृद्धालाई त्यत्ति दुःखी बनाई भाग्यो । जब म मानिस यस्तो घिनलाग्दो काममा सामेल भएको देख्छु त्यत्तिखेर आफू मानिस भई जन्मेकोमा ज्यादै दुःख लाग्छ । हामी मानिसमा भन्दा पशुहरूमा वढी इमान्दारिता छ । पशुहरूको संसार चोरी चकारी र ढाँट छल भन्दा निकै पर छ । तर हामी मानिस निच भन्दा निच काम गर्न पनि पटक्कै हिच्किचाउदैनौँ । हामीलाई सिर्फआफ्नो खुसी र स्वार्थपूर्तिको ध्याउन्न हुन्छ । आफूले गरेको कार्यबाट अरूलाई कस्तो असर पुग्छ भनी हाम्रो चेतनाले कहिल्यै पनि मनन गर्न चाहदैन।

स्रिष्टिकर्ताले हामी मानिसलाई कर्म गनका लागि दुइ हात र सोचबिचारका लागि मस्तिष्क दिएका छन् । तर हामी हाम्रा वलिष्ठ हातहरू अर्काको सम्पत्ति हत्याउनमा प्रयोग गरिरहेका छौँ । हामीले हाम्रो मस्तिष्क सिर्जनशील कार्यमा भन्दा कसरी अर्कालाई बिगार्ने , ढाँट्ने र छल्ने भनी घुमाउनमा व्यस्त छौँ। मानिस भएर जन्मिनुको अर्थ यही हो त ? जब यस्ता घटनाहरूको साक्षी हुन्छु , बारम्बार मनमा यही प्रश्न दोहोरिरहन्छ । अनि उत्तरमा पनि एउटै कुरा गुन्जिन्छ , होइन , होइन , होइन । हाम्रो अमूल्य एकबारको मानव चोला यस्तो नचाहिदो कामको लागि हुँदै होइन । हामी मानिस यस धर्तीमा जन्मिएपछि मानिस जस्तै भएर बाँच्नु पर्छ । मानिसको मानवीय गुण भनेको ढाँट , छल र बेइमानी नभई इमान्दारीता , उद्धारता र कोमलता हो । आफूले पसिना चुहाएर मेहनत गरेर कमाएको मात्रै आफ्नो हो भन्ने कुरा हामीले बुझ्नु पर्छ । मेहनत नगरी अर्कालाई लुटेको सम्पत्तिले मानिसलाई कहिल्यै पनि पुग्दैन । त्यो जसरी आएको हुन्छ हामीलाई पत्तै नदिई त्यसै गरी जान्छ पनि।

त्यो वुढी आमाको सिक्री चोर्ने चोर केही दिन त पक्कै खुसी होला तर उसले जसरी सजिलो गरी पाएको थियो त्यो त्यसै गरी उडी जान्छ । चोरेर कोही पनि करोडपति हुन सक्दैन । चोरले जहिले पनि आफूभित्र हीनताबोध , ग्लानी र एककिसिमको पीडाबोध गरिरहन्छ । ऊ चोर भए पनि ऊ एउटा मानिस हो । अनि प्रत्येक मानिसभित्र एउटा भगवान हुन्छ । हामी मानिसले सारा संसारलाई ढाँटे पनि आफूभित्रको भगवानलाई कहिल्यै पनि झुक्याउन सक्दैनौँ । जब त्यो चोर एक्लै हुन्छ र आफूभित्रको भगवानसँग साक्षातकार गर्छ, ऊ अपराधबोधले फतक्क गल्न पुग्छ। उसले आफूभित्रको भगवान समक्ष ठाडो शीर गरी सामना गर्न सक्दैन। किन कि उसले धेरैलाई रूवाएको छ, दुःखी बनाएको छ अनि बिचल्ली पनि पारेको छ। हामीले जस्तो व्यबहार ग-यौँ त्यस्तै पाउँछौँ। अर्कालाई सधैँ काँडा दिनेले अरूबाट फूलको आशा गर्नु सिर्फ कल्पना हुन्छ।

हामी चेतनशील प्राणी ‘ मानिस ‘ हौँ त्यसैले हामीले मानिस भई जन्मेको धर्म निभाउने प्रयत्न गर्नुपर्छ। हामी माथि जन्मदिने आमा र हामीलाई उर्वर धर्ती दिने जन्मभूमिको सधैँ ऋण हुन्छ । त्यसलाई आ-आफ्नो तरिकाबाट जननी र जन्मभूमिको सेवा गरी तिर्ने प्रयास गर्नुपर्छ । हामीले आफ्नो जीवनकालमा सा-है ठूल-ठूलो काम गर्न नसके पनि एउटा इमान्दार व्यक्ति भई रहन भने पक्कै सक्छौँ । त्यत्ति गर्ने प्रयास गरिए पनि हाम्रो जीवन र्सार्थक हुन्छ । हामी यदि कसैलाई सुख र खुसी दिन सक्दैनौँ भने पनि कम्तिमा अरूलाई दुःख नदिने प्रयत्न गर्न सक्छौँ । आफ्नो कारणले कसैले दुइ थोपा मात्रै आँसु झारेको छ भने हामीले पनि कुनै न कुनै बखत चार थोपा आँसु झार्नै पर्छ । हामीले जस्तो दिन्छौँ त्यस्तै पाउँछौँ । यो संसारमा जति पनि क्रियाकलापहरू हुन्छन् , ती सबै चक्र झैं घुमिरहन्छन् । अनि हामी सबै जना त्यस चक्रमा घुमी फिरी आइपुग्छौँ।

त्यस चोरलाई कसैले समात्न नसके पनि ऊ आफूभित्रको भगवानबाट भाग्न सक्दैन । ऊ आफैबाट भागेर कही पुग्ने ठाउँ नै हुदैन। अन्तमा ऊ आफ्नै हीनताबोधको रापले डढेर खाक हुन्छ । अर्काको दुःखमा हाँस्ने हाँसो मात्र केही क्षणको हो । क्षणिक हाँसोको वीच नअल्मलिई इमान्दारीपूर्वक आफ्नो कर्ममा लाग्नु नै वास्तविक जीवन बाँच्नु हो । भ्रमका पर्दाहरू च्यात्नुपर्छ । अर्थपूर्ण जीवनले सधैँ हामीलाई पर्खिरहेको छ।
११ असोज २०६५

Recent Videos:

Popularity: 42%

15 comments January 10th, 2009

देखेपछि आँखा मार्दै (गीत गजल) - छबिलाल कडेल

- छबिलाल कडेल

देखेपछि आँखा मार्दै जोब्रो टोक्छिन् तिम्री छोरी
चुप्प खान्छिन् छेउमा आइ बाटो रोक्छिन् तिम्री छोरी

अचम्म छ, डर कर छैन, कली युगकी नारी अरे
भट्टी जान्छिन् मध्यरातमा, टन्न धोक्छिन् तिम्री छोरी

जे नगर भन्न्यो उहि पैले उनलाइ चहिन्छ
छिन छिन मै चुरोट तान्छिन्, रातभर खोक्छिन् तिम्री छोरी

स्कुल जान्छिन केटा हेर्न, सधै भरी क्लास बाहिर
पुस्तक बोक्ने झोलाभित्र रक्सी चुरोट बोक्छिन तिम्री छोरी

हेर बाबु होस पुराउ बेलै माथि, छोरी बिग्री सकिन्
नत्र एकदिन पछुताउदै टाउको ठोक्छिन तिम्री छोरी
हालः नेदरल्यान्द

Popularity: 43%

7 comments June 30th, 2008

शताब्दीकी नायिका ! (कविता) - सबिना सिन्धु

शताब्दीकी नायिका !

- सबिना सिन्धु

ओ शताब्दीकी नायिका !
तिमी, उभिएर सडकमा
शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ ।
हार्दिकता स्विकार्न सक्छ्यौ
चिहान टेकेको त्यो पुरानो समय
युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर
एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत
स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ ।

गृहिणीको छेउमा उभिएको रित्तो सिलिण्डर
अभावका सपना र मट्टितेलका खाली जर्किन
उत्तिकै साटिएका छन्, तिमी र मसंग ।
मेटाएर छलकपटको अनुच्छेद
नयाँ अक्षर लेखिरहेकी छ्यौ ।
अर्थात-तिमी बराबर म र म बराबर तिमी
त्यो गणित अर्थात निर्माणाधिन इतिहास
र त्यही इतिहास लेख्न बसेका हामी ।
दुबै परिवर्तनको नयाँ नाम
….र त मेटाईरहेका छौं पृथ्वीको धुर्विय विभेद
सगौरव घोषणा गरेकी थियौ समताको आवाज
भनेकी थियौ,” स्वयम्भूमा टाँसिएका निरही दुई आँखा,
जसले पारिलो घाम तापेर न्याय लेखेनन् ।”
तिनमा धेरैपछि, ब्यूँझिएका थिए संचेतना ।
अहिले भीर र भुगोल, जीवन र समय, इतिहास र हामी
दुबै बगिरहेछौं समानान्तर
मुक्तिको छायाँ मुनी तिमी लेखिरहेकी छ्यौ वर्तमान,
र म तिमीमा अनुवाद भएको छु ।

Popularity: 35%

7 comments June 30th, 2008

यतिबेला मेरो देश र मनहरु (कविता) - केशर थुलुङ्ग

यतिबेला मेरो देश र मनहरु
- केशर थुलुङ्ग

चैतका दिनहरु झैं
फुङ्ग उडेका मनहरु पनि
यतिबेला, सङ्कल्पित छन्
उच्छ्वसित देखिन्छन्
सुनाखरी, लालुपाते र लालीगुराँस झैं
मनहरु मात्र होइनन्
सिङ्गो मेरो राष्ट्र/देश
एउटा परिवर्तनको
सुगम लक्ष्य बोकेर
सङ्खघोष गरिरहेछ
निदाउनु हुन्न
हात बाँधेर बस्नु हुन्न
अब जुमुराउनु पर्छ, भन्दै ।
बाजी हारुन् या जितुन्
मनहरु
टोल-टोलमा
गाउं-गाउंमा
शहर-शहरमा
अति व्यस्त देखिन्छन्
कटिबद्ध देखिन्छन्
उत्सर्ग देखिन्छन्
विजय जुलुसका निम्ति
साँच्चै
देश पनि
यो समयको सँघारमा
कम खुसी देखिन्न
एउटा छुट्टै राष्ट्रको
अभिराम पहिचान पाउने
दृढसङ्कल्पमा ।
­
पाथेका-४, खोटाङ्ग
हालः काठमाडौं

Popularity: 30%

2 comments April 20th, 2008

कुखुरी काँ…(कविता) - ईन्द्र नारथुङ्गे

कुखुरी काँ..
- ईन्द्र नारथुङ्गे

रातको तेश्रो प्रहर
निक्कै टाढा
एउटा भाले बास्यो
कुखुरी काँ….
सधैं झैं
ऊ बास्यो
र, फेरी पनि बास्यो
कुखुरी काँ ….
भाले बास्नु
उस्को दिनचर्या
या भनौ
भाले हुनुको कर्तब्य
ऊ बास्नुमा
न कसैले स्याबासी नै दिन्थे
न कसैले कृतज्ञतानै जनाउथे
बरु
निन्द्रा खल्बिलिएकामा धेरै कुम्भकर्णहरु
सत्तो सराप गर्थे
‘स्यालको भूँडी भरेस्’
अहो ! आज अनौठो भो
भालेको पहिलो डाँकोमा
गावै जर्‍याक जुरुक्क उठ्यो
युवा-युवती, बुढा-बुढी, केटा-केटी
सबै-सबै
पूर्वी छितिजमा देखियो
एक सुनौलो आभा
र, घर-घरमा
डिबियाको दुधिया रोशनी
हिजोसम्म
नशाको तालमा गाँड फुलाउनेहरु गर्जिए
उज्यालो भो ….
साँच्चै,
धर्तीभरी कान्ति फैलियो
उज्यालोको पदचिन्ह खप्ट्याउदै
एक हूल
कुटो कोदालो लिएर
मक्किएको जरा उखेल्न कान्लामा उक्लिए
अर्को हुल
सगुनको जल बोकेर फुस्रो माटो भिजाउन हतारिए
विस्तारै तेस्रो हूल
छाँट-काँट मिलेको
बिरुवा लिएर
देखा पर्छन्
अचम्म !
हिजो आफू-आफू
खोसामारी, लुछाचुँडी
हानाहान, मारामार गर्नेहरु
शान्त, सौम्य भएर
आत्मियता दर्शाइ रहेका छन्
न चर्काचर्की
न भनावैरी
एका देशको महामानवहरु झैं
आफ्नो कर्तब्य निर्वाह गर्नमै
पुरानोलाई भत्काएर
नयाँ रेखाचित्र कोर्नमै
मस्त छन्
व्यस्त छन्
रिमालले भने झैं
एक युगमा बल्ल आई पुगेको एक दिन
चैत्र अठ्ठाईस
यानेकी
कुखुरी काँ ….

Popularity: 30%

2 comments April 20th, 2008

जिन्दगीलाई मैले… (गीत गजल) - भुवन सुनुवार ‘भानु’

जिन्दगीलाई मैले…

- भुवन सुनुवार ‘भानु’

जिन्दगीलाई मैले बुझिन कि कसो ?
बलेसीका पानीभन्दा सस्ता भए आँसु

उमंग र मेरो दूरी क्षितिज वारी पारी,
मुटु खाने रोग पन्साउ खै कसरी ?

जीवन खोज्दा गोरेटा नै भूले कि कसो ?
बलेसीका पानीभन्दा सस्ता भए आँसु ।

हुन्छ भन्थे सुखदुःख सधै वरावरी,
सुखका दिन कहाँ होला भेटौ कसरी ?

कोखभित्रै सुख जति जिएछु कि कसो ?
बलेसीका पानीभन्दा सस्ता भए आँसु !


छुरा हान्यौ मुटुमा, छाम्न मन लाग्यो,
नशा पिउदै एकान्तमा, रम्न मन लाग्यो !

तुफान ल्यायौ संकल्पमा, सपना उर्डाई लग्यो,
वेदनालाई रोदी घरमा, पोख्न मन लाग्यो !

फर्कि हेर्दा अतितमा, जीवन अति मीठो,
तिम्रो मायाँ तराजुमा, जोख्न मन लाग्यो !

भक्कानो भै मुटुमा, रहर फुटे धेरै,
किन पार्यौ जालमा, सोध्न मन लाग्यो !

टुट्या फुट्या सपनामा, गन्तव्यको खोजी गर्दा,
आफू एक्लै शिखरमा, चढ्न मन लाग्यो !

पर्दा हाल्दै आँखामा, बाँच्न मन लाग्यो
नशा पिउदै एकान्तमा, रम्न मन लाग्यो ।।

रामेछाप, रामपुर- ८
हाल: पो। ब। नं. ४८५१, दोहा, कतार

Popularity: 31%

3 comments April 19th, 2008

कागजमा दस्तखत (कथा) - नीलम कार्की निहारिका

- नीलम कार्की निहारिका
मोटर साइकल गुड्छ, रोकिएको स्कुल बसको छेवैबाट ऊ सीट अगिल्तिरको डण्डीलाई झन् बलियोसँग समात्छ। यसैगरी यदाकदा देख्ने गर्छ त्यो मोटरसाइकल स्कुल जाने-आउने क्रममा । ऊ हेर्छ - हेरिरहन्छ आफूलाई छुपाएर।


लेखिका

साथीहरू कोही हिँडेर आउँछ आमाको औंला समातेर, कोही मोटरसाइकलमा आफ्नो बाबुसँग अनि कोही ऊझैं स्कुल बसमा । स्कुल बस चढ्छ साढे आठ बजे नै । त्यसको लागि आठ बजे खाना खाई सक्नुपर्छ । बाँकी समय लुगा फेर्न र बस स्टपसम्म पुग्नको निम्ति। साँझ बसले घुमाउदा घुमाउँदा पाँच नबजी घरभित्र पस्न पाउँदैन।
दिउँसोको खाजा खाने समय हिउँ भैसकेको हुन्छ तर खानुपर्छ कपाकप । होमवर्क सबै नभएको बेला टिचरको छडी खानुपर्छ, कुखुरा बन्नुपर्छ, कहिले त ट्वाइलेटमै थुनिनुपर्छ।
उसको दिनचर्याको कुरा गर्दा -
बिहान आँखा खुलेपछि मामुसँग भलाकुसारी गर्ने, मुख धोएर दूध पिउने, यसो किताब हेर्ने, खाना खाने, ड्रेस लाएर स्कुल निस्कने। घरबाट निस्कने समय कहिले उसको अगाडि हुन्छ, कहिले मामुको टुङ्गो छैन। बढी जसो मामु नै प्रथम हुन्छिन् । फर्कने बेला छोरा प्रथम । एक निद्रा बसको सीटमा बसेर नै पूरा गरेर फर्कन्छ प्रायः । आएर लुगा फेरेपछि खाजा अनि ट्यूशन मिसबाट होमवर्क । साँझको खाना घरमा काम गर्ने दिदीले खुवाइदिन्छिन् त्यसपछि मामुको प्रतिक्षा।

यही हो उसको दिनचर्या । कहिलेकाहीँको यसो फेरबदल । शनिबार भरसक मामु उसलाई घुमाउन लाने योजना सुनाउँछिन्। त्यो योजना कहिले कार्यान्वयन हुन्छ । कहिले त्यसै फाइल बन्द हुन्छ ।

मात्र उसले बाटो हेर्नुपर्छ मामु आउने । बाबा आउने बाटो पर्खन पर्दैन । मामु कुनै दिन आइपुगी पनि हाल्छिन् उसले निद्रालाई नभेट्दै । धेरैजसो न्रि्रामै मातृस्नेहको महसुस गर्नुपर्छ ।
हो, उसले कता-कता थाहा पाउँछ तानेर छातीमा चेपेर निधारमा म्वाइ खाएको । ‘सरी’ बेटा ! भन्दै खुट्टा मलिदिएको ।
हो, कहिलेकाहीँ जानेको छ मामुको आँसुले उसको गाला भिजेको । त्यो बेला अझै नजिक टाँसिन्छ र बिस्तारै बोल्छ -’मामु’ ।
प्रत्येक बिहान पहिला ऊ ब्यूँझन्छ र भन्छ ‘गुड मर्निङ मामु !’ थाहा छैन उसलाई यसको अर्थ के हो ? र कहिलेदेखि सिक्यो । तर सधैँ भन्छ, अटुट साथ उसको एक चुम्बन पनि टाँस्छ मामुको निधारमा ।
‘आज के ल्याइदिनु भा’ छ ? हरेक दिनको प्रश्न यो । घर र्फकँदा उनले केही ल्याएकै हुनुपर्छ । एउटा चकलेट होस् वा खेल्ने गाडी । कहिले अग्रिम ल्याएर राखेकी हुन्छिन् । कहिले भन्छिन् ‘सरी बेटा, मम्मी राति भएर डराएर दौडदै दौडदै’ आएको किन्न पाइन । भोलि ल ! यस्तो बेला ऊ स्वीकृतिमा टाउको हल्लाउँछ र गर्छ अलि ठूलो रकम पर्ने माग । कहिलेकाहीँ भनी पनि हाल्छ ‘अलि छिटो आउनू न त ।’

यतिबेला उही जवाफ रहन्छ ‘छोरा, या दुःख तिम्रै लागि त गरेकी छ नि । बाबुलाई मम्मी घर बनाइदिन्छु, गाडी किनिदिन्छु ।’
छोराले सोध्छ औधी उत्सुक भएर - ‘कस्तो गाडी - ठूलो चढ्ने गाडी हो ? म ठूलो भएपछि हो ? अनि म मामुलाई राखेर घुमाउँछु ल ।’ यी वाक्य बोल्छ आफ्नो बोली तोते बनाउँछ आफ्नो उमेरभन्दा तीन वर्षकम ।
‘मामु मोटर साइकल पनि है -’ माग थपिन्छ । ‘बाबाको जस्तै है ।’
आमा-छोरा व्यूँझिएपछि, यस्तो वार्ता हरेक दिन हुन्छ । साँचो मानेमा प्रत्येक दिनको भेट भनेको यति नै हो दुवैको एक आपससँग । त्यसपछि आमा आफ्नो तयारीमा, छोराको अर्कै तयारी ।
आमा-छोराबीचको वार्तालापको क्रममा, छोरा पनि आमालाई दैनिकी सुनाउँछ । ध्यान दिएर सुन्छ मामुको आमाले सोध्छिन् - ‘कसको माया लाग्छ -’ पहिला-पहिला भन्ने गथ्र्यो ‘ममीको र बाबाको’ । आजभोलि सधैँ एकै उत्तर रहने गर्छ - ‘मामुको’ अझै थप्छ ‘लाग्दैन त्यस्तो बाबाको माया, मामुको मात्रै लाग्छ व्यारे ।’
एक दिन छोरा रातिसम्म ननिदाई बसेको । आमा भित्र पस्नासाथ सुनायो - ‘मामु ! आज को आको मेरो स्कुलमा थाछ ? बाबा आ’ को नि ।’
प्रश्न पनि आफ्नै जवाफ पनि आफ्नै ।
‘अनि -’ यत्ति मात्र उत्सुकता ।
‘म लुकेँ, कुर्चीमुनि ।’
कुनै प्रतिक्रिया दिन सकिनन् मामुले ।
अर्को दिन फेरि भन्यो - ‘आज पनि आँको बाबा, म ट्वाइलेटमा पसेर निस्कदै निस्केन ।’
प्रश्न गर्ने ठाउँ नै राखेन उसले ।
एक बिहानको नयाँ खबर छोराको -
‘बाबालाई देखेको बसबाट मैले ।’
‘एक्लै -’ मामुको प्रश्न ।
‘मोटर साइकलमा । बाबाको दुलही बसेको । अनुहारमा दुई भाव सोहोरिन्छ ।
त्यही बिहानको कुराकानीमा -
‘मामु हजुरले मोटरसाइकल किन्नु न । अनि मलाई त्यसैमा स्कुल लैजानु । हुन्न मामु -’
फेरि छ वर्षउमेरबाट तीन वर्षमा र्झछ ऊ ।
‘हुन्छ । तिम्रै लागि नै यो दुःख गरेकी । हुन्छ किन्छु । भोलि पर्सी । मामुले पनि धेरै पैसा कमाउँछु अनि हुन्छ -’
‘कति पैसा यो घर जति -’ हो ?
‘होइन ।’
‘कति त ?’
‘थाहा छैन ?’
‘त्यै भएर त जागिर गरेको है मामु ? मलाई गाडी मोटरसाइकल किन्न । अहिले मामु चलाउने ठूलो भएपछि छोराले बाबुले’ शिवजीको घाँटीमा सर्प बेरिएझै बेरिन्छ ।

000 000

समाजमा महिला मुक्तिका आवाज दिनहुँ जसो उठ्छन् । पत्रिकाको एउटा स्तम्भ यस्तै विषयमा हुन्छन् । उनीहरूको लागि आवाज उठेको छ । ‘लोग्ने मान्छेले श्रीमती मरेको वर्षदिन नबित्दै अर्को स्वास्नी भित्र्याउँछन्, चाहे ऊ तन्नेरी होस् वा बूढो । तन्नेरी छ र बालबच्चा पनि छन् भने बच्चाको स्याहार-सम्भारको लागि भन्ने निहु बनाउँछन् । बूढो छ भने बुढेसकालमा कसले स्याहार्छ एक्लै परिन्छ भन्छन् । स्वास्नीमान्छे मान्छ भने बाल विधवा भए पनि त्यसै एक जुनी काट्नु पर्ने कस्तो न्याय हो ?
यो त भयो स्वास्नीको मृत्यु भएको अवस्थामा । स्वास्नी हुँदाहुँदै अर्की स्वास्नी ल्याउने । त्यसैले स्वास्नीमान्छे रोइरोइ नबाच्न सन्देश दिन्छन् महिला उत्थानमा लाग्नेहरू ।’
‘के महिलाले मात्र गर्नुपर्छ त्याग ? भोग्नुपर्छ नियति -’ - उनकी आमाको प्रश्न बाबुसँग ।
‘हामीले मात्र नसक्ने हो र - बिहे गरिदिने हो बाजा बजाएर । किन गर्ने लुकिछिपी ? जोरीपारी सबैलाई देखाएर गरिदिने । उमेर नै के भाँछ, हाम्री छोरीको बल्ल सत्ताइस न हो ।
उसले फेरि छोरो पायो भन्या हो ? बाबुको प्रश्न?
‘धुमधाम छैटी गरिसक्यो ।’
‘ऊ के भन्छे ?’
‘सबैले सम्झाएपछि मानेकी छ । भन्न पो नसकेकी होली, त्यसरी बाँच्ने इच्छा क-कसको हुन्छ ? लाउँलाउँ, खाउँखाउँ, देश विदेश घुमौं भन्ने बेला ।’
बाबु - आमाको निर्णय बिहेको निम्ति ।

000 0000

हतार-हतार घरभित्र पसेपछि लुगा नै नफेरि छोरासँग लिप्टिन्छिन् उनी । साँझ घर फर्कने समयमा केही फेरबदल भएको छ । अलि छिटो, भित्रिन्छन् उसको पाइला घरमा ।
केही दिनदेखि उनी काममा गएकी छैनन् ।
पूरा समय छोराको लागि ।
ठाउँ-ठाउँमा घुमाउन लैजान्छिन् । किनिदिन्छिन् औँला देखाएका जति सबै ।
चाहेको खेलौनाको प्राप्तिमा सयपत्री फुल्छ उसको अनुहारमा ।
उसले पनि सन्तुष्टिको एक थुङ्गा फूल टिप्छिन् ।
पिङ्, रेलगाडी, बन्दी जनावर देखाउँदा, ऊ उफ्री उफ्री रमाउँछ ।
‘त्यो के हो मामु ?’
‘गैंडा ।’
‘त्यसको पनि मामु मात्र हो ?’
‘होला ।’
‘बाबा कहाँ गयो होला है ?’
उत्तरमा केही बोल्न सक्दिन ।
फिल्म हेर्न लैजान्छिन्, सर्कस देखाउँछिन्, नाट्यघर पुर्‍याउँछिन् । मानौं अब देखाउन र हेराउन बाँकी छैन ।
बेला-बेला बज्ने मोबाइलले छोरासँगको समयलाई छोट्याए- खोट्याए झैं लाग्छ।
त्यो सापटी समय मात्र छोराको लागि । घर फर्केपछि असहज लाग्ने सहज प्रश्न छोराको - ‘किन मामु यति धेरै खेलौना यति धेरै लुगा ? मेरो बर्ड डे पनि होइन दसैँ पनि होइन ।’
कुनै जवाफ रहन्न उनीसँग ।
साँझ सुमसुमाउँदै छोरालाई भन्छिन् - ‘बाबा दश-पन्ध्र दिन हजुरबुबा-हजुरआमासँग बस है ।’
‘किन र मामु हजुर कहाँ जाने ?’
फेरि पनि जवाफ रहन्न कुनै ।
‘हजुरको एक्जाम छ हो ?’ पहिला परीक्षामा त्यसै गरी राखेकी थिइन् ।
‘हो ।’
छोरासँग लामो वार्तालाप अघि बढेन ।
उनी प्रस्ताव राख्छिन् बाबु आमासँग । ‘धुमधाम पार्टी गरौं । बाबु-आमाको ढिपी छ - ‘किन नगर्ने ? हामीसँग के कमी छ ? किन गर्ने लुकिछिपी ? दुनियाँ कहाँ पुगिसक्यो छाती खोलेर गर्ने ? उसले कसरी गर्‍या थियो त्यो भन्दा दोब्बर गर्ने । इँटको जवाफ पत्थरले दिनुपर्छ ।
दुलाहा बन्ने वालाको इच्छा पनि यही छ ।
अनि के ? घरबाटै बिहे गर्ने भो ।
घर त के पाटी प्यालेसबाट ।
पहिला कोर्ट म्यारिज अनि भव्य पार्टी
छोरालाई केही दिनको लागि कहाँ पठाउने ।
मात्र छलफको विषय यही रह्यो -
मामाघर ? - हुँदैन, आफन्तको आवातजावत बढ्छ ।
आफन्तकहाँ ? - त्यो पनि हुन्न ।
घुम्न ? - कति दिन ? कोसँग ? कहाँ ? हुँदैन । डेरामै ? - त्यो पनि हुन्न । आमा खोज्छ ।
सबैभन्दा राम्रो होस्टल । केही दिनको कुरा न हो ।
होस्टल पढाउने तयारी चल्छ । एक बिहेको भन्दा बढ्ता ।
फेरि सपिङ सपिङ। फेरि घुमाउने मनाउने ।
‘सबै किनेर पुग्यो, अब के किन्ने भन ?’
‘नाई म होस्टल नजाने ।’
‘ठूलो गाडी किनिदिन्छु ।’
‘नाई, नजाने ।’
‘ममी घर फर्कदा ढिला हुन्छ ।’
‘बाबुलाई निद्रा लाग्छ ।’
‘लाग्दैन मामु ।’
‘त्यहाँ गएपछि होमवर्क गर्न भ्याउँछ, सर मिसले पिट्दैनन्, ट्लाइलेटमा थुन्दैनन् ।’
‘सबै गर्छ, ज्ञानी हुँदा केही किन्न भन्दिनँ, के ल्याउनु भन्दिनँ कहिल्यै दुःख दिन्न, मलाई गाडी पनि चाहिन्न, मोटरसाइकल पनि चाहिन्न । केही माग्दिनँ, म जान्नँ ।’
राति अबेरसम्म सम्झाउँछिन् । ऊ नजाने ढिपीमा मामुलाई दुवै हातले घाँटीमा माला बनाएर बस्छ ।
जति-जति उनी सम्झाउँदै जान्छिन् उति-उति ऊ कस्तै जान्छ । बलियो गरी, अझै बलियो गरी । सासै फेर्न नमिल्ने गरी । उनी एकसाथ बलपूर्वक छोराको हात तानेर अलि पर हुत्याउँछिन् र आफू हुत्तिएर पस्छिन्, अर्को कोठातिर । सुक् सुक्को आवाज दुवै कोठाबाट निस्किरहन्छ । धेरैबेरपछि फर्कँदा छोरो डल्लो परेर निदाइ रहेको हुन्छ । सँगै निदाउने कोसिस गर्छिन् उनी पनि । भोलिपल्ट ऊ होस्टल पुग्छ, सारा समानसहित । एउटा कागजमा दस्तखत भएर एउटासँग पारपाचुके भएको थियो ।
अर्को कागजमा दस्तखत गरेर अर्कोसँग बिहे भयो ।
पार्टी भयो, भव्य । रातिसम्म चल्यो, नाचगानसहित ।
‘ठीक गरिस् । उसले भने दुई सन्तान जन्माइसक्यो, तँ भने उसैको जप गरेर बस्नुपर्ने थियो र ?
तैँले एक जिन्दगी त्यसै खेर फाल्नु ।’
साथीहरूले बधाइको शब्दमा बोले, यस्तै वाक्य ।
एक साता नबित्दै उनी छोरो भेट्न गइन् । सबैतिर उसको खोजी भयो । कहीँ भेटिएन ऊ ।
सारा खेलौना फुटिसकेका रहेछन् ।
यत्रतत्र छरिएका फुटेका खेलौनाहरू ।
ऊ भने कतै भेटिएन ।
खोजी भयो जहीँतहीँ ।
वार्डेनले भन्छिन् ‘कोहीसँग बोल्दैन, झोक्राएर बस्छ, खान मन गर्दैन, एक्लै बसिरहन्छ र बोल्छ कहिले आफैसँग ।’
धेरैबेरपछि ऊ बाहिरियो ट्वाइलेटको ढोका खोलेर ।
मामुलाई अघिल्तिर देखेर झस्कियो नराम्ररी ।
दौड्दै भन्यो - ‘मलाई थाहा छ, मलाई सबै थाहा छ ।’
पुनः पस्यो त्यही अनि ढोका थुन्यो ड्याम्म ।

Popularity: 41%

2 comments February 13th, 2008

भेलेन्टाइन र सिपाही (कविता) - काङमाङ नरेश

भेलेन्टाइन र सिपाही
- काङमाङ नरेश
प्रेमको पैंचो माग्न
कतै नपाउनु
एउटी स्त्री
आँखैमा छम छम नाचि रहेको
मायाको जीवन्तता
मिलनको आभाष
लुकी छिपी
भोग्नु पर्ने
कतै लेखिएको छ ?
प्रेम र विवाह
यी दुईमा
मायाको भाइरस
क्लाउडीयस् दोस्रो
र रोम राज्य।
किशोर सिपाहीहरु
किशोरी प्रेमिकाहरु
मायाको चुस्की पिएकोमा
खुसी भए
भेलेन्टाइन पादरी
मायाको चुस्की
बैवाहिक सम्वन्धले
निरन्तरता र जीवन्तता पाए
जन्जिरले घेरिएको
मायाको वस्तीवाट
भेलेन्टाइनको
रगत
साहास
र बलिदानी जीवनवाट
सिपाहीहरुले उन्मुक्ति पाए
अध्यारो मायाको
जेलखानाबाट ।

Popularity: 40%

5 comments January 23rd, 2008

अनाम छापामारको नाममा (कथा) - इच्छा पूर्ण राई

- इच्छा पूर्ण राई
यो कथा होइन र पनि कथा भएको छ । यो कथा सहरले नसुनेको कथा हो र सहरबाट केहि टाढाको कथा हो। पूर्वको प्रसिद्ध डाँडा ट्याम्के र मैयुँको विचको सानो गाँउको कथा हो। यो गाउँ हिउदमा हिउँमा सुतेर विताउछ अनि वर्षामा हुस्सु र भूइँ कुहिरोले घ्याप्प ढाकिएको हुन्छ। यो गाँउको नाम छैन र अनाम भएको छ। आफू अनामे भएर पनि स्वच्छ, शान्त र पर्यटकीय छ। तर सदियौ देखि हासेको छैन। हाँस्न सकेको छैन। सानो गाउँ जहाँ वस्ने प्रत्येकको खुट्टा हरिनाठले पटपटी फुटेको छ भुइचालोले पृथ्वीको धाँजो फटाएको झैं। ती फुटेका खोपिल्टाबाट हल्का रगत वगिरहेको हुन्छ तर पनि वास्ता छैन। ती हरिनाठे खालि खुट्टाले कालो तुषारो र हिउँमा छ्याम छ्याम टेकेर हिड्दा लाग्छ वनमान्छे हिडेको हो। यो रहर होइन वाध्यता हो। र, यो कथा पनि होइन यथार्थ हो। यो संघर्षशील अनाम गाउँ पिखुवा वगेदेखि मलबुक वगेदेखि छदैछ। तर अझ सम्म ६० घर भन्दा बढ्न सकेको छैन।

किरातीहरुले बुढाले यो अनाम गाँउको पछि न्वरान गरिदिए कि यो मुढा या दाउरा पल्टाउने ठाँउ भएकोले राई कुरामा दाउरा पल्टाउने ठाउँ भन्दा भन्दै सुम्लिखा भएको रहेछ। यो सानो म जन्मेको गाँउ हो। त्यहि गाँउमा जन्मिएर उच्चशिक्षा हाँसिल गर्ने पहिले व्यक्तिको रुपमा दरिएँ र गएको बेलाबखत त्यहाँ वरपर मौका मौकामा सम्मान नि स्वीकार्नपर्छ। प्रमुख अतिथि भई टोपल्नुपर्छ र काठमाण्डौमा बसे वापत यसो बुझे झै एक दुई शब्द बोल्नु नि पर्छ। यी मेरा गाउँ फिर्दाका गर्नु पर्ने कामका नीजि श्रृङखलाहरु हुन्।

यसपाली दसैमा सिमलातिर जानुपर्ने भएकोले जान पाइन र तिहारमा म घर गएँ। घर पुग्ना साथ काकीले सोध्नु भाईलाई भेटिनस सहरमा ? मैले को भाई भने ? राम प्रसाद । उसलाई सजिलोको लागि सबैले गाउँमा प्रसाद भनेर बोलाउने चलन थियो। हो उहि प्रसाद। मैले कहाँ गयो भने र काकीले छापामार भएर गएको ५-६ महिना भयो भनेपछि म छक्क परेँ। मेरो गाँउका धेरै मान्छेले फोन देखेका छैनन् र अहिलेसम्म हुलाकबाट पढाएको चिठी पाउन पनि कठिन छ किनभने अनाम गाउँको सबैले चिन्ने राम्रो ठेगाना छैन। त्यहाँ गाउँमा हुलाक छैन। नजिकको हुलाक चार घण्टा जति टाढा छ। त्यहाँ पठाउंदा कोहि नाम मिल्नेले त्यतै खोलेर हेरिदिन्छन र च्यातिदिन्छन्। कोहि ल्याउनेले वाटोमै हराइदिन्छन्। यी र यस्ता बारम्बार घटिरहने घटना हुन्। त्यसैले सहरबाट आउने नयाँ मान्छेहरु नै भरपर्दो श्रोत हुन सहरका समाचार ल्याउने। म घरभित्रको त्यसमा पनि पढेलेखेको भाई खोजेर भाईको वारे खवर ल्यायो भनेर काकी ढुक्क हुनु भएको रहेछ। तर, अफशोच त्यो हुन सकेन म वेखवर थिएं भाईको बारेमा। त्यतिबेला सम्म मलाई सूचना थिएन र खोज्न सकिन तर भनिदिएँ मैले भेटिन। काकी, अव म गएर खोज्छु भनेर उहाँलाई आश्वस्त पारे। तिहार मान्न घर गएको भाईको अनुपस्थितिमा रमाईलो भएन। त्यो भाई जो अवोध थियो। ऊ गाँउबाट नजिकको विद्यालय ६ घण्टा टाढा गएर डेरा गरेर ९ कक्षामा पढदैथियो। त्यहाँ पढदा पढदै ऊ कसरी छापामार हुने निर्णय गर्‍यो भन्ने कुरा मन भरी खेलिरहृयो।अनेक तर्क वितर्क उठे तर त्यस्को कुनै उत्तर भेटिंन। पछि सुने पढदा उसलाई चार हजार ऋण लागेर जागिर दिन्छ भनेर पैसा कमाउन ऊ हिडेको रहेछ तर यो कति सच्चाइ हो थाहा भएन।

त्यो सानो गाउँ बस्ने सबै भाइहरु वाइसिएल बनेका रहेका गोरे साइलादेखि घनश्याम सम्मका मान्छेहरु राता मान्छे भएकारहेछन। र, राता कुरा गर्दा गर्दा रहेछन्। त्यहाँ निकै लाल सलाम बिक्दोरहेछ र सबै नामका अगाडि कमरेड भनेर कसिला हात मिलाउदा रहेछन्। भैसी गोठमा गोवर सोर्दै, दुध दिदै, महि पार्दै, पतकर सार्दै र मेलापातमा क्रान्ति र मुक्तिका कुरा गर्दा रहेछन् र भोलिको उज्वल भविष्यको सपनाका कुरा गर्दा रहेछन्। के साना केटाकेटी, के अधबैसे, के वुढापाका सवै वाइसिएल। परेड खेल्न र कम्व्याट लगाउन रहर गर्दारहेछन्। त्यहाँ पार्टी अनुपस्थिति र अनुमति वेगर केहि हुदोरहेनछ। हरेक कामका लागि पार्टी सल्लाह र निर्देशन आवश्यक पर्दोरहेछ। दुईवर्षको अन्तरालमा यी फरकपन मेरो लागि रुची कै विषय भयो हेर्न र सुन्नलाई।

संयोगवश यसपाली खोटाङको कलाकारहरु आएर भोजपुरमा कार्यक्रम गर्नेरहेछन् माओवादीको संयोजन र आयोजनमा। त्यस्मा पनि वाइसिएलको रहेछ। मलाई सानोमा खेलाउने सुमित्रा तामाङ दिदीको जिम्मामा भात खुवाउनेरहेछ। केहि भाईको जिम्मामा सुरक्षा रहेछ , कोहिको केहि न केहि जिम्मा रहेछ। धेरै जसो के के को अध्यक्ष के के को अध्यक्ष ? मलाई सबैको हेक्का भएन तर हिजो आफ्ना काम गरेर खानेहरु अहिले क्रान्ति र परिवर्तनका कुरा गर्दारहेछन्। अब त्यहाँ हात र मुख जोडन दिनभरी खटिनुपर्ने वाध्यता भएकाहरु पनि फुर्सदमा क्रान्ति मुक्ति र पार्टी कुरा गर्दारहेछ। माओबादी इतरका अब त्यहाँ कोहि पनि रहेनछ। सबै माओबादी।

त्यहि कार्यक्रमको सन्दर्भमा वुद्धिजिवीको पगरी मलाई पनि गुथाइदिए र गरे सम्मान। अविर र मालाले रातको समयमा मलाई पनि सजाइयो र अतिथिको रुपमा बोल्न लगाए। त्यहाँ अहिले बोल्नेहरुको लाम र बोल्ने कौशल देखेर म दङ्ग परे। एक से एक बोल्नमा माहिर। त्यसबेला मनमनै सोचे कि उनीहरुले भनेको जस्तो क्रान्ति होस् कि नहोस् तर बोल्दा माइक नै फुटला झै सुनिन्थ्यो। त्यतिबेला मलाई लागिरहेको थियो कि त्यी सबै युवाहरु चीनको लम्वे अभियानमा हिडे झै हिड्न खोजिरहेकाछन्। तयारी गरीरहेका छन्। तर ती मेरा सोझा सिधा गाँउले दाजुभाई, दिदीबहिनीहरुलाई के थाहा कि उनीहरुका सहरमा बस्ने नेताहरु के गर्दैछन भनेर ? के साच्चै उनीहरुको क्रान्तिप्रतिको भावना, मुक्तिको सपना सहर वस्ने सांसद र मन्त्री वनेका उनीहरुका नेताहरुले साकार पार्ला त ? उनीहरुको क्रान्तिप्रतिको भावनालाई मर्न दिनुहुदैन किनभने त्यी भावनाहरु स्वतस्फुर्त रुपमा सदियौ देखि नसुनिएका आवाजहरुका भावना हुन्। उनीहरुको क्रान्तिप्रतिको भावनालाई मर्न दिनु हुदैन किन भने ती भावनाहरु सहरदेखि टाढा कहिल्यै नसुनिएका भावनाहरु हुन्। त्यी भावनाहरु निर्दोष भावनाहरु हुन्। मैले उनीहरुको क्रान्ति प्रतिको भावनालाई सम्मान गरे तर त्यी सवै कति वुझेर लागेका हुन कति लहै लहैमा। थाहा छैन तर त्यी सवै कमरेडहरु हुन्।

वाइसिएललाई छाडेर वार्ताकाल यता घरको दुःखले जागिर पाइन्छ भनेर छापामार बन्न हिडेका मेरा दर्जनौ भाईहरु रहेछन्। तर धेरै जसोलाई छोरा छापामारमा दर्जा भएर बसेको ठाउँ पत्तो रहेनछ। तर उनीहरु भने यतिबेला घर संझिरहेको हुनुपर्दछ। ती मेरा छापामार भाईहरु यो पुष माघको जाडोमा गाँउमा भेला भएर ढोड बाल्दै आलु पोलेर खाएका कति सम्झिदा होलान्। बुलडाँडाँ, एकराते, रातोपोखरी र मुलडाँडाँहरु कति सम्झिदा हुन्। त्यस्तै पखुवा बजार र माघे संक्रान्ति पनि स्मृतिमा आइरहदा हुन्। यी सवैलाई त्यागेर देशको मुक्तिको लागि क्यान्टोनमेन्टमा खादिएका यी र यस्ता वर्ग वास्तवमा असली छापामार हुन्। त्यस्तै गाँउमा सुखदुखमा, मेलापातमा सघाउने वाइसिएल वास्तवमा असली वाइसिएल हुन्। मंसिरको चिसोमा अघिल्लो दिनदेखि राती ४ वजेसम्म अतिथिको सुरक्षामा वसेको गोरे दमाईहरु, लुकुनी ओढेर वढो फुर्तिसाथ अरुको सेवामा जुट्ने घनश्याम मामाहरु अरुको सेवामा रमाउदै भात खुवाएर अतिथि सत्कार गर्ने सुमित्रा दिदीहरु वास्तविक वाइसिएल हुन्। तर तिनीहरु सबैलाई यस्ता वाइसिएलहरु छन् जस्ले दानवीय आतंक मच्चाइरहेका छन् र मानव अधिकार हनन मात्र होइन निर्दोषहरुलाई पक्रिएर फाँसी समेत दिएका छन् भन्ने कुराबाट पुरापुर अनभिज्ञ छन् किनभने त्यो गाँउ शहरबाट टाढा छ जहाँ रेडियो नेपाल वाहेक अरु सुन्न पाइदैन। फोन वोल्नलाई, सहर देख्नलाई र एक काँटी सलाई किन्नलाई १ दिन पुरा हिडनुपर्दछ। नुन किन्नलाई, गाडि देख्नलाई ३ दिन हिडनुपर्छ धेरैले जीवन भरी शहर नदेखि मरे, गाडि नदेखि मरे।

यी सवै अनुभुत गरे यसपाली। आघौँ जान्छु कि जादिन गाउँ तर फिर्दा काकी र अरु गाउंले आफन्तलाई पुरा पुर आश्वस्त पारिदिएको छु कि ती छापामार बनेका भाईहरुलाई खोज्नेछु अनि भेटेर भन्नेछु एकपटक घर जाउ भनेर। यतिबेला आमा तिमीहरुलाई संझेर रुइरहेका छन्। र, अहिले म काठमाण्डौ आइपुगेको छु यहाँ आएर अरु आफन्त र काकीले भनेको कुरा सम्झिरहेको छु। काका घरको आर्थिक स्थिति सुधार्न कुल्लि काम गर्न वम्वई जानुभएको रहेछ। एउटा हाते चिठी चै गएको छ रे। कहिले आउनु हुन्छ थाहा छैन तर सानो वहिनीको मुटुको भल्भ फेर्नु पर्ने रे। यस्तै यस्तै समस्याका धेरै फेहरिस्त। तर, म काठमाण्डौ आइपुगेर अलमलमा परेको छु। मेरो भाई प्रसादको नाममा कुनै नाम राखिएको होला। उस्को कुनै लेवल लागेको होला कमरेड फलना। उस्को नाम थाहा छैन अव मैले कसरी पत्ता लगाउने? मेरा पुराना चिनेका केहि छापामार साथीहरुलाई हुल्या र ठेगाना दिएर खोज्न भनेको छु तर तिसौं हजारमा कसरी सम्भव छ? हो, छापामार भएर हराएको भाईहरु म खोजिरहेको छु। मेरो काकी जस्तै कंयौ आमाहरु, आज हराएको छोरा सम्झिरहेका होलान्। खोजिरहेका होलान् यी हाम्रा भाईहरु हाल कुनै कमरेडमा परिणत भएको होला तर उनीहरुको आमालाई त्यहि पुरानै प्रसादहरु चाहिएको छ र म असमान्जस्यतामा छु कि मेरो छापामार वनेर हराएको त्यी अनाम भाइहरुलाई भेट्टाएर कसरी उसको आमालाई समाचार पठाउने ?

Popularity: 41%

3 comments December 16th, 2007

एक झल्को प्रेम - लघुकथा - मिजास तेम्वे

लघुकथा - मिजास तेम्वे
…अन्त्यमा हाम्रो नातालाई माया गर्नु भएकोमा धेरै खुशी लागेको छ । सायद यहि नै मेरो निम्ती जिन्दगीको मिठो सपना हुनेछ ।
..अनि प्रिय माङ, तपाईको मेलको लागि धन्यबाद । हेर्नु न म आजकल एकदम ब्यस्त भएकी छु । रुन मात्र सकेकी छैन । के गर्नु सोचे जस्तो नहुने रहेछ, सायद नसोचे जस्तो भईदिनु पो जीवन हो की ?
…अ यता आए पछि मलाई कल गर्नु न ल । मलाई धेरै कुरा गर्न मन छ । समय अनुकूलता मिल्यो भने अझ धेरै कुरा गरुला नत्र हजूरको आवाज मात्र अलिकति सुनुला ।
..ए ! आज जाने है तपाई, मलाई एक्लो पारेर । हुन त तपाई मेरो हरेक पलमा बस्नु भएको छ । हरेक दृश्यहरुमा तपाईलाई पाएको छु । मलाई थाह छैन यो माया हो कि पाप हो , यदि पाप गरेको रहेछु भने निर्धक्क भन्न सक्छु हो भनेर । आखिर मन भरी तपाई नै बस्नुभएको छ ,
…साँची माङ ! जिन्दगी कति अनौठो रहेछ है , तपाई आउनु भो मेरो जिन्दगीमा, कति मिठो लाग्छ यी साथहरु, कति प्यारो लाग्छ यी भाकाहरु । हामी न त भौतिक शरीरमा आशक्त भएर एक अर्कामा हराएका हौं । न त कुनै आकंक्षा नै छ , यो मन मनको नाता हो । यहाँ कुनै सांसारीक स्वार्थ छैन । हाम्रो यो नाता त्यो बेलासम्म रहने छ जब सम्म हामी एक अर्कालाई महशुस गर्न सक्ने छौं ।
…थाह छ नी, तपाई मेरो प्राण हुनुहुन्छ, श्वास हुनुहुन्छ अनि मेरो रगतको प्रतिपल बहावहरुमा तपाईको न्यानो साथहरुको अनुभूति हुन्छ । मलाई कहिले पनि एक्लो पार्ने कोशिस नगर्नु है । म सधैं सधैं जिउन चाहन्छु यो मिठो पलसंग ।
…त्यहि भएर त म यति धेरै तपाईमा समर्पित छु नि । कहिलेकाही लाग्छ यो सपना पो हो कि ?
…बस् ! तपाई यसरी नै यो मनको तरेलीहरुमा यसै गरि मुटु समाएर बसिदिनू … माङ ! I love you सुन्नु न I love you so much भागि नजानु है मेरो प्राण लगेर, तपाईकी काली मर्छे तपाईको अनुभूति बिना ।
..हिजो पनि मेरो लागि पानीले खुब रुद्मनु भो । बाँकी दिनहरुमा म तपाईको यादहरुसंग हुनेछु । सम्भव भए केहि लेख्दै गर्नु नि ! आफ्नो ख्याल सधैं गर्नु । केहि नराम्रो सुन्न नपरोस् । तपाई चाँडै नै आउनु है… अब के गरुँ लेख्न बन्द गरुँ…..?
…”मैले के गरे भने तिमीलाई सम्झे जस्तो र माया गरे जस्तो लाग्छ, म त्यो काम गरिरहने छु” घरी घरी सम्झन्छु यी तपाईका उद्गारहरु । हो त नी मैले कसरी बुझ्ने कि तपाईले नि मलाई याद गरिरहनु भएको छ भनेर । म पो सधैं तपाईको यादहरुमा अल्झिरहन्छु अनि सम्झनाहरुमा बल्झिरहन्छु ।
…होइन, यो समयको सापेक्षता कहाँनेर छ ? यौटै समय घरि कति लामो ला…मो भईदिन्छ । घरि कति छोटो भई दिन्छ ।
…हेल्लो !!! काली,
ति म्रो माङ आईपुगे । कमसे कम बाँचेर आएको छु । भारी रहर साँचेर ल्याएको छु । कति उकुसमुकुस भएको छु म, महिनौं पोको पारेर राखेका कति कुराहरु एकै साथ बिस्फोट हुन खोज्छन् । भेटौं न काली ! कहाँ भेटौं - कहिले भेटौं ?
… आजलाई राखौं है । भोलि कुरा गरौं न ल ।
…रात अबेरसम्म काम गर्यो । थाकेर भारी जिउ बोकी घर फर्क्यो,
हतार हतार खाना बनायो , सरसफाई गर्यो अनि सुत्न गयो । बिहानदेखि फेरी सोहि नियमित कार्यतालिकाको पुनराबृत्ति कस्तो अचम्मको ब्यस्तता ।
…फोनमा एकछिन् बोल्ने सम्म फुर्सद छैन । माङ ! मलाई माफ गर्नुहोला । कृपया मलाई बुझ्ने कोशिस गर्नोस् ।
…काली ! हिजो जस्तै लाग्छ । तिमी एउटा सुन्दर केटी थियौ अनि मायालु प्रेमिका भयौ । तिमी एउटा भाबुक नारी अनि जम्मामा एउटा सच्चा स्वास्नी मान्छे थियौ । तर आज कति चाँडै यस्तरी यन्त्र झैं भएकी - मेसीन बनेकी ? …भावना शून्य…. माया… सून्य, संबेदना शून्य…. सब शून्य …. शून्य…. शून्य

Popularity: 46%

2 comments June 29th, 2007

म जलेको टुकी (कविता) -प्रतीक चाम्लिङ्ग

-प्रतीक चाम्लिङ्ग
जब सांझ हुन्छ,
मन्द बतासले मेरो छाती सुम्सुमाएर जान्छ ।
म तिमीलाई सक्दो सम्झन्छु,
सम्झनाको परिधि हुदो रैन छ,
मेरो मनको ऐनाभित्र
त्रि्रो शुन्दर रुप
एक तमासले खुलेर आउछ ।
आँखाको पर्दामा,
त्यो परको क्षितिज भएर तिम्रो तस्विर नाचिरहन्छ ।
प्रिय ! मलाई त थाहा भएन,
त्रि्रो हृदयमा चोट भयो भएन -
मलाई त विछट्टै गह्रौं भयो यो जिन्दगी ।
यसरी नै…………
यसरी नै …………..हरेक साँझ
मनहरु
विरहको रापमा जलेर खाग भइरहेछ ।
खै त प्रिय ! सपनाहरु,
सधैं सधैं एउटा ठूलो पीडा बोकेर
हरेक मेरा रातहरुलाई ऐठान पारेर छाडिदिन्छ ।
मध्य रातमा झस्किन्छु
किन्तु तिम्रो सम्झनामा प्रिय !
रातहरु कति कठिन छ !
यो त मेरा निदहरुलाइ थाहा छ ।
नपत्याए मेरो सपना भएर चियाउ त !
थुप्प्रै थुप्प्रै घाउहरु वेवारिसे भएर,
छात्ति भरी दुखी रहन्छ ।
अनि त आँखा रुन्छ त्रि्रो लागि ,
प्रिय म अव के गरुँ………..!
के तिमी खुशी छ्यौ ?
म चाहन्छु प्रिय !
तिम्रो काख भरी खुशी फुलोस् ।
आँखाभरी हांसो छाओस् ।
म त प्रिय,
हरेक सांझ तिमी छेऊमा जल्ने टुकी हुं ।
हरेका सांझ तिम्रो लागि जलिरहन्छु ।
तिम्रै लागि जलिरहन्छु ।
सधैं सधैं जलिरहन्छु ।

Popularity: 42%

3 comments April 26th, 2007

लक्ष्मीप्रसादहरु मुनामदन लेख्छन् / लेखिरहन्छन् … - पशन तमू

(दुई बर्षअघि आजकै दिन अर्थात सेप्टेम्बर १ का दिन आतंककारी इस्लामिक लडाकु समूहले ईराकमा १२ निर्दोष नेपालीको घाँटी सेरेर अनि गोलीले भुटेर निर्मम हत्या गरिएको समाचार सार्वजनिक भएको थियो। पूरानो समाचार यहाँ छ। त्यही घटनाबाट मर्माहत भै केही दिनपछि लेखिएको यो कविता समसामायिक ठानेर पुनः यहाँ प्रकाशित गरिएको हो - पशन तमू )

लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् / लेखिरहन्छन् …
- पशन तमू

मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन्
मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् ।
भन्नेहरुले भन्ने गर्छन्
यो रहर होइन वाध्यता हो
भन्नेहरुले भन्ने गर्छन्…..

जहिले पनि विवसताका कुराहरु
जता पनि मनकाट्ने छुराहरु
त्यसैले त हो लक्ष्मीप्रसादहरुले जहिले पनि
मदनहरु भोटतिर अलाप विलापमा अल्झेको देख्छन्
र मुनाहरु पति वियोगका पीडामा कल्पेको देख्छन् ।
जेहोस् लेख्नेले त लेखें भन्लान्
कसैले माने के भो ? नमाने के भो ?
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् /
लेखिरहन्छन् ।

अस्ति भरखर त हो नि एक हूल मदनहरु
जीवनको प्रज्वलित घाम टिप्न भनेर हिडेका
अस्ति भरखर त हो नि एक हूल मदनहरु
भविष्यको तेजस्वी जून टिप्न भनेर हिडेका
वियोगमा मुनाहरु कति रोए कति
आंसुले मुजित्रो कति धोए कति
आंसुको कुनै सागर नबन्दो रैछ
र त कुनै महासागर बनेनन्
पीडाले कुने पिरामिड नबन्दो रैछ
र त कुनै आकार बनेनन्
जेहोस् सहनेले त सहें भन्लान्
कसैले माने के भो ? नमाने के भो ?
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् /
लेखिरहन्छन् ।

अस्ति भरखर त हो नि एक हूल मदनहरुको हूलबाट
एउटा मदन रोजेर
अल्लाहको नाममा बलिको बोकालाई झैं घांटी सेरेको
आ…आमा….कति दर्दानाक पीडा थियो त्यो
कति असहिष्णु पीडा थियो त्यो,
के तिमीले हेर्न सक्यौ ?
के तिमीले देख्न सक्यौ ?
के तिमीले सहन गर्न सक्यौ ?
अनि फेरि..
भूईमा लम्पसार परेर मृत्युको पालो पर्खिरहेका
अरु अरु मदनहरु
मृत्यु पनि समय गिन्ती गरेर आउंदो रहेछ
के त्यसलाई पनि तिमीले देख्यौ ?
के त्यसलाई पनि तिमीले अनुभूत गर्‍यौ ?

एक…दुई…तीन…
पिठ्यूंभरी गोलीका निशानाहरु
रगताम्मे मदनहरु
छट्पटिदा / छट्पटिदै मरिने मदनहरु
ए…ए…मुख छोप्ने मुहाररहीत मान्छेहरु
हामीले शान्तिको अभियानमा के दखल गर्‍यौ ?
हामीले तिमीहरुको आस्थामा के पत्थर मार्‍यौ?
हामीले तिमीहरुको भूगोलमा के धावा बोल्यौ ?
गरिबी नै हाम्रो दोष थियो त? हामीले के बिरायौं
त्यसरी घांटी नै रेट्नु पर्ने
विवशता नै हाम्रो कमजोरी थियो त? हामीले के बिरायौं
त्यसरी गोलीले भुट्नै पर्ने
बस् यति नै हो हाम्रो दोष, हामी गरीब थियौ
र त घांटी रेट्यौ तिमीहरुले
बस् यति नै हो हाम्रो दोष, हामी निरीह थियौं
र त पालै पालो गोली ठोक्यौ तिमीहरुले

हाम्रा मदनहरु त त्यहां आफ्नी प्यारी मुनाहरुको
सपना किन्न हिडेका थिए
हाम्रा मदनहरु त त्यहां आफ्नी प्यारी आमाहरुको
मुस्कान टिप्न हिडेका थिए
हाम्रो देशमा त कहिल्यै / कहिल्यै सपना फुलेन
हाम्रो देशमा त कहिल्यै / कहिल्यै घाम झुल्केन
त्यसैले त त्यसबेला पनि
महाकवि लक्ष्मीप्रसाद देवकोटाका मुनामदनमा
मदन भोट पसेकै थियो
अहिले पनि हाम्रा मदनहरु कुनै न कुनै भोट तिर पसेकै छन्
उनीहरु फर्केर आउन पनि सक्छन् र कहिल्यै नफर्किन पनि सक्छन्

उफ्, कस्तो नमिठो नियति छ हाम्रो
कोही / कोही देश बिर्सेर रुन सक्छन्
कोही / कोही देश सम्झेर रुन सक्छन्
त्यसैले फेरि फेरि लक्ष्मीप्रसादहरु कविता लेख्छन्
कसैले माने के भो ? नमाने के भो?
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् /
लेखिरहन्छन् ।

पशन तमू , हंगकंग

Popularity: 55%

25 comments September 1st, 2006

मनको फूलबारी - राजेन्द्र

- राजेन्द्र

यो माया ममताले सिंचिएको,
उत्साह उमङ्गले रमाईलो वातावरणमा रहेको,
यो मनको सुन्दर फूलवारीमा,
तिमी कोपिला भए फक्रिने छौ ।

फूल तिमी सूर्यमुखी, संधै सूर्यसंगै मुस्कुराउछौ,
त्यो तिम्रो चोखो मुस्कानलाई चुम्न भनी,
सूर्य सधै विहानीमा उदाईरहनेछ ।

सभ्य मानबको प्रतिक रुपमा,
सभ्य संस्कार छरिरहने छौ,
शान्तिको प्रतिक बुद्घ बनी,
शान्तिको भावना फैलाई रहने छौ ।

यो मनको सुन्दर फूलवारीमा,
हजार रस, रंग र सुगन्ध फैलाई रहने छौ ।

यो माली सधै यी फूलहरुलाई जिबन्त राख्न,
असल असल बिचारले गोडमेल,
माया ममताले सिंचित, उत्साह उमङ्गले,
रमाईलो, वातावरणमा राखिरहने छ, राखिरहने छ ।

सूर्य, फूल, फूलवारी र माली बिचको,
अमर सम्बन्ध अमरै रहिरहने छ, अमरै रहिरहने छ ।

Popularity: 45%

3 comments September 1st, 2006

आवाज दबाउन खोज्ने - राकेश कार्की

- राकेश कार्की

आवाज दबाउन खोज्ने, हत्यारा गोली हेर
आखिर सकेन छेड्न लोकतन्त्रको बोली हेर

खहरे भइ सुके पनि बाढी आइ उर्ले पनि
आखिर सकेन मोड्न आंशू रगतको खोली हेर

अशान्ति अब सहन्नौं शान्ति हाम्रो मूलमंत्र
रगतले हैन खुशीले खेल्छौं सप्तरंगी होली हेर

भूपी जन्म फेरी मुलुकमा दुइचार सपुत मरे
लेख जनताको राष्टि्यगान विसाइ झोली हेर

खबरदारी गर्दै सधैं, परे देशको लागी मर्दै
पक्कै पनि जन्माउनेछौं गणतन्त्र भोली हेर

क्यानाडा


Popularity: 48%

1 comment August 3rd, 2006

रगत र पानी (कविता) -शिव प्रकाश

-शिव प्रकाश

मेरो देशमा
पानीको हाहाकार छ,
रगत भल्भल्ती बगेको छ
मेरो देशमा
रगत,
पानीभन्दा सस्तो भएछ !
मेरो देशमा
पानीका मूहानहरु
सुकिरहेछन्,
रगतका मूहानहरु
दिनहूँ फूटिरहेछन्
तिर्खाएको मेरो देश
अहिले रगतले
न्रि्रुक्क भिजेको छ !
मरो देशमा
रगतको जरुवा
घर-घरबाट फुटेको छ,
ओहो ! तिर्खाएको
मेरो देश
रगतले तिर्खा मेटिरहेछ !

हरैचा/मोरङ, हालः बोष्टन/अमेरिका ।

Popularity: 42%

2 comments April 3rd, 2006

आरोहीहरुलाई पछ्रयाऔं .. (कविता) -मोती चाम्लीङ्ग

-मोती चाम्लीङ्ग

हिमाल चढने आरोहीहरु
खुशी लिएर नर्फकन पनि सक्छन्
हिमपातसंग जुझ्दै जांदा
ग्यालेक्सि छिचोल्दै, पसिना कांड्दै
थाकेर उतै रमाएर
सधैंको लागी बास
बसिदिन पनि त सक्छन्

नफर्किए पनि आरोहीहरु
बिकराल हिमाक्करका पथप्रदर्शक हुन्
पछिल्ला यात्रीहरुले बढीरहंदा
बाटो हराएर अतालिदैं, भौतारिदैं
सास न बास भएर
अपुरो अधुरो बिश्वास
मनभरी अंगाल्दै कर्म जित्न सक्छन्

हामीले यस्तै धेरै
साहशका नामहरु सुनेर पनि
एक कानले उडाएपछि
समात्न सकिरहेका छैनौं
हिमचुलीको यात्रा गर्ने बेलीबिस्तार
बोलेर नथाक्दै ग्यालेक्सिको खोंच देखेर
अथाह त्रासमा मन सांगुरो पारिरहेका छौं

एक चोटी त उक्लिन नडराऔं
हिमालको चुचुरोबाट समतल भूमि हेर्न
कहां कहां कति पहिरो लडेका छन्
कता कता बस्ती जलेका छन्
कति नदीहरुले खेती कटान गरेका छन्
ज्वालामुखिको लाभा कहां कहां हुर्हुरिएका छन्
सबै हेर्न मन गर्नेले आरोहीहरुको बाटो पछ्रयाउनै पर्छ।

Popularity: 43%

2 comments March 23rd, 2006

एक जुग भयो विदेशिएको म (कविता) -देव गुरुङ

-देव गुरुङ

खण्डहर जस्तो घरको मझेरीमा
दुखी वुढी आमालाई छोडेर
पहिरो छेउको आगन डिलमा
दमको रोगी वुढो बा लाई छोडेर
मैलो टोपीले आँसु पुछ्दै
एक जुग अघि विदेशिएको म
हेर
उज्यालोले शहरमा पाइला नटेक्दै
जुनेली रातको वैश नढल्दै
म नापिरहेछु यी विरानो सडकहरु
पोखिरहेछु पसिना यो विरानो माटोमा
हर्राई रहेछु यो विरानो देशमा
एक जुग भयो विदेशिएको म
हेर
प्रेमीले प्रमिकालाई जिस्काए जस्तै
मलाई जिस्काइ रहेछ मेरै भाग्यले
कहिले रुवाउछ कहिले हसाउछ वेस्सरी
घरको एक तल थप्ने आशमा
तीन तल परि सकेछ निधारमा
एक जुग भयो विदेशिएको म
हेर
बिर्सेको छैन मैले दशै तिहार र ल्होछार
टीका, जमरा र सयपत्री फूलहरु
अनि घाँटो सोरठी र त्यो रोधी घर
छाती भित्र सुटुक्क मेरो गाउ राखेर
पैतला भरी मेरो देशको माटो वोकेर
एक जुग अघि विदेशिएको म
हेर
एक जुग भयो विदेशिएको म

घाचोक कास्की
हालः हङकङ

Popularity: 53%

11 comments March 13th, 2006

गजल - कुमार कार्की

- कुमार कार्की

अनुहारका राम्रा तिमी जाली भयौ देश भित्रै ।
मान र इमान बेचेर खाली भयौ देश भित्रै ।

मुर्ति बेच्यौ खुशी खोस्यौ स्वाभिमान बेच्यौ,
त्यसैले त जनताको गाली भयौ देश भित्रै ।

मानवताका स्वरहरु पैतालाले लत्याएर ,
सियो बनि पस्ने तिमी फाली भयौ देशभित्रै ।

सार्वभौम जनतालाई कुशासन लाद्न खोज्यौ,
त्यसैले त उपहासको ताली भयौ देशभित्रै ।

जनताको वालीमा साँढेहरु छोडी दियौ ,
त्यसैले कुसंस्कारको माली भयौ देशभित्रै

-दोहा कतार

Popularity: 44%

9 comments March 13th, 2006

पांच तांका - परिहास सुब्बा

- परिहास सुब्बा

१, युद्धमा लड्ने
योद्धाहरु अब त
घुर्नु पर्ने हो
घाम अस्ताई सक्यो
झूप्रोको भांग्रो संगै।

२, भीरहरुमा
सपनाहरु कुदेर
इच्छाहरुको
लहरामा अल्झेर
देहावशान भयो।।

३, खप्पर भीत्र
विर्य परेछ क्यारे
मन त सधैं
चिप्लिन खोज्छ रात
पाईला पनि त्यतै।।

४, झलक्क हेर्दा
आकाशको फांटमा
बादल देखें
आहा पानी पर्ने भो
थुक्क धुवां पो रै छ।।

५, वास्तविकता
त्यो मैले खोलें भने
को हुन सक्छ
यहां यो सस्तो मेरो
ज्यानको जिम्मेवार।।


Popularity: 43%

6 comments February 6th, 2006

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

June 2018
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

Top Commenters