Posts filed under 'समीक्षा'

स्व. ईश्वर वल्लभ र देउरालीको फूल… - टंक वनेम

स्व. ईश्वर वल्लभ र देउरालीको फूल…
- टंक वनेम

दुईटा फूल देउरालीमा
संगै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदा खेरि ….
यो कर्णप्रिय गीतले मन छुदाँ भरखरै जीवनको बैँस उक्लि रहेको थियो । सम्भवतः धेरै नभए पनि दुई चार वटा देउरालीमा फूलका पातीहरु चढाई सकिएको हुनु पर्छ । त्यति बेला एउटा कर्णप्रिय गीत बन्नको लागि शब्द, संगीत र स्वरको तालमेल मिलेर मात्र सबैको मन छुने गीतको सिर्जना हुन्छ भन्ने ज्ञान नभएको हुनाले गीत सुन्यो गीतले मनको अन्तर कुन्तर छोएपछि स्वरको प्रसंशक मात्र हुने गरिन्थ्यो । नेपाली सांगीतिक आकासमा त्यो पूरानो चलनको बादल हटेर गई सकेको छैन। यही धरापको पासोमा परेर कति संगीतकार र गीत रचनाकारहरु ओझेलमा परेका थिए/छन् ।

तर दुईटा फूल टिपेर देउरालीमा चढाउँने साहित्यकार कवि एवं गीतकार स्व.इश्वर वल्लभ त्यो ओझेलमा पक्कै थिएनन् । यति खेर ह्वार हृवार्ती बल्ने उनका आगाका फूलहरुभित्र गीतका मधुर मूर्च्छनाहरु निभी सकेका छन्। पहिले पल्ट सन १९८६ सालतिर “आगोका फूलहरु हुन आगोका फूलहरु होइनन्” कविता संग्रह पढेको थिएँ। ति कविताहरु बुझन धेरै गाह्रो लागेको थियो। करीव दुई दशकपछि त्यही कविताहरु पढ्दा सजिलो लागेको छैन। तर ति आगो भित्रका आगोका रापहरुले भने मन, मुटु र मश्तिष्कलाई झम झम पोल्ने गर्दछ। तेश्रो आयामका एक प्रवर्तक र सिर्जनशील अराजकता सम्बन्धी लेखहरुमा साक्षत्कार गर्न पाए बाहेक प्रदेशकै आकास ओढ्ने होडबाजीमा उहाँसंग भेट हुने भाग्य संधैको लागि बिदा भएको छ। सुदूर अतितको एउटा लङ प्ले रेकर्ड रि विङ् गर्दा स्व. ईश्वर बल्लभका तिनै दुईटा फूल देउरालीले झस्काई रहन्छ। आम्बे पोजोमाको वारी लहरै उभेको घरका बार्दलीमा लेखनाथ दाई गिटार बजाएर यही गीत गुनगुनाई रहेका हुन्छन्। म भने जीवन भरी निको नहुने संम्झनाको बिरुवामा मल हालेर स्मृतिको ब्याडमा तिनै यादहरुलाई हुर्काई रहेको हुन्छु ।

गीतको लय र स्वरले मन छोएपछि दुईटा फूल देउराली मुखैमा झुण्डिन बेर नलागेर सुमधुर स्वरका धनी स्व.नारायण गोपाल हो भन्ने कुरा थाहा भए पनि गीतका रचनाकार ईश्वर बल्लभ हो भन्ने कुरा चाँहि धेरै पछाडि मात्र दिमाकभित्र घुस्न आई पुग्यो। तिनै कालजयी गीतकार, बिशिष्ट साहित्यकार एवं कवि ईश्वर बल्लभ संधैको लागि नभेटिने ईश्वरको अवतार अवतरण गर्न पुगेका छन्। अब उसो ईश्वरका अवतार लिएका ईश्वर बल्लभलाई आगोका फूलहरुमा भेट्न सक्ने छौं। देउरालीका गीतहरुमा मात्र सुन्ने छौं। उनको भौतिक शरीर मृत्युपछि जो हुनु पर्छ त्यही भई सकेको छ। इश्वरको रुपमा सबै मानवको आगमन हुन्छ तर धर्तीमा आएपछि थोरैले मात्र ईश्वरको कर्तव्य फत्ते गर्दछन्। तर स्व. ईश्वर बल्लभले नेपाली साहित्यको आकासमा नाम अनुसारकै कर्तव्य पूरा गरेर बिदा भएका छन्।

श्रोता र पाठकहरुलाई उनका कालजजी गीतका ति शब्द र जीवनमा ताप्नै पर्ने साहित्यका आगोका फूलहरुले न्यानो आभास गराइ रहने छ। आखिर जीवन के हो रहेछ र ? दुनियाँको कोमल मन मुटुभित्र बाँच्न पाउनु नैं मृत्युपछि को विजय हो। इश्वर बल्लभ त्यही कालजयी स्मरणको धागोमा उनिएका छन्। उनका आगोका लप्काहरु देखेर शायद अध्यारोको आगमन पर परै भाग्ने छ। देउरालीको आस्था अग्लि रहने छ। अनि आगोका फूलहरु निभे पनि जाग्ने छ फेरि हृवार हृवार्ती। उहाँकै संम्झनामा कस्ले भन्छ फुल्ने छैनन् -
“आगोका फूलहरु”
स्वरुप बदल्दै
हृवार् हृवार्ती बल्ने
ति आगोका लप्काहरुले
सल्काउँथ्यो डढेलो
र भाग्थे
प्रेतात्मामयी ऐंठनहरु
जब फुल्न लाग्थ्यो
रम रम रातो
आगोको फूल
टिप्न आउँथे
मायावी मनहरु
र आगोको बीउ लगेर
उमार्थे आगोकै फूलहरु ।
आगोकै फूलहरुले
नेपाली साहित्य संसारलाई
यहाँसम्म डोर्‍यायो
यही फूलहरु भित्र
एउटा आगोको थुङ्गा
प्रज्वलित थियो
पाएर ईश्वरीय वरदान
त्यो बरदानको अन्त्य
मृत्युले छोट्याई दिएको छ
अब आगो भित्र फुल्ने
रमरम आगोका फूलहरु
फुल्ने छैनन् फेरि
र सल्काउँने छैन
आयामको घमाइलो दुनियाँ
देखिने छैन
अध्यारोमा फुल्ने आगोका फूलहरु ।
आस्थाको देउरालीमाथि
दुई थुङगा फूल चढाउँने
ईश्वरीय मन
ईश्वरकै अवतार भएको छ
ईश्वरले सल्काएको आगो
सल्कने छ दनदनी
साहित्यको महायज्ञमा
तर
ऋतु परिवर्तन हुँदैमा
फुल्ने छैन
नयाँ नयाँ
आगोका फूलहरु
बरु
त्यही आगोकै बिरुवाहरु
रोपिने छन् जत्ता तत्तै
आगोकै फूलहरुको संम्झनामा
आगोकै फूलहरुले
ढाकिने छ यत्र तत्र
देखिने छ
आगै आगोका ज्वालाहरु
मानौं
वायुमण्डल टेकेर
आएको सूर्य किरण झैं
आयामको त्यो दुनियाँ
ईश्वरको अवतार अवतरण हो ।

Popularity: 30%

4 comments May 5th, 2008

रमेश पौडेलको ‘आभासित आलाप’ भित्र - राजेश राई

रमेश पौडेलको ‘आभासित आलाप’ भित्र
- राजेश राई
कला, साहित्य, संगीत र सञ्चारबाट कोही पनि टाढा रहन सक्दैन। युग यहाँ निरसम्म आईपुग्दा यी चारवटा चिजहरु प्रत्येक जीवनको एक अभिन्न पाटो वनिसकेका छन्। जो यी चिजहरुबाट बेखबर रहन्छ वास्तवमा ती मान्छेहरु साँचो जीवनबाट पनि बेखबर हुन्छन्। तर सत्य यो हो की युगको दैलामा यहाँनिर आईपुग्दा मान्छेहरु जीवनबाट बेखबर छैनन्।

r-cover-s

पलपलमा मान्छेहरु नयाँ जीवन बाच्न खोजिरहेका हुन्छन्। कला, साहित्य, संगीत र सञ्चार यिनै माध्यमहरुको बलमा मान्छेहरु जीवनको अर्थ र रङ्ग खोजिरहेका हुन्छन्। जो मान्छेहरु आफ्नो जीवनबाट बेखबर छैन ती मान्छेहरुलाई कला, साहित्य, संगीत र सञ्चार जीवन झैं प्रिय लाग्छ। यी चीजहरु प्रिय लाग्ने जो कोहीलाई पनि सायद रमेश पौडेल पनि प्रिय लागेको हुनुपर्छ। किनभने रमेश पौडेल कला, साहित्य, संगीत र सञ्चारको एउटा सुन्दर नाम हो जसले यो क्षेत्रलाई आफ्नो जीवनलाई खर्चेर एउटा सुन्दर इतिहास वनाएको छ र वनाउने क्रममा छ। यो क्षेत्रको युवापुस्ताको शक्तिशाली र प्रिय नाम हो रमेश पौडेल।

सुन्दर जीवन र जगतको रङ्ग पोखेर सबैको प्रिय वनेका चित्रकार रमेश पौडेल, कविताहरुमा जीवनका सुन्दर बिम्बहरु कोरेर सबैलाई जीवन बाच्नुको अर्थ खोज्न अभिप्रेरित गर्न शक्तिशाली कवि रमेश पौडेल, सुन्दर गीत मार्फत सबैको मनको संघारमा थाहै नपाई टेक्ने गीतकार रमेश पौडेल, रेडियो नेपाल मार्फत सबैको मनभित्र डेरा जमाउन सफल कार्यक्रम सञ्चालक रमेश पौडेल। उनको परिचय यही हो। बि.सं. २०२२ सालमा तनहूंमा जन्मिएका पौडेल हाल रेडियो नेपालमा कार्यरत छन्। साहित्य संसार, विम्ब प्रतिविम्ब जस्ता लोकप्रिय साहित्यिक कार्यक्रम सञ्चालन गर्ने पौडेल एउटा राम्रा कवि हुन्, सफल चित्रकार अझ त्यो भन्दा बढी गितकार हुन्। दर्जनौ पुस्तकहरुमा आवरण चित्र वनाएका छन् उनले। बहुआयमिक व्यक्तित्व र परिचय भएका पौडेलको पछिल्लो नयाँ परिचय हो गीत संग्रह आभासित आलाप दुई दशक अघिदेखि नै गीत लेखेर आम श्रोताहरुको मन जितेर गाउँघरको उकाली ओरालीमा, सहरको वजारको चोकहरुमा सबैको गोठहरुले सुनिरहने, सबैको ओठहरुले गुनगुनाई रहने सुन्दर गीतहरुको संग्रह हो आभासित आलाप । यो संग्रहभित्रको गीतहरु सबैको प्रिय वनि सकेका चर्चित गीतहरु नै हुन्। ८१ वटा गीतहरु मध्येका अधिकांश गीतहरु सबैको प्रिय वनिसेकेका गीतहरु हुन्। ती प्रिय गीतहरु मध्ये एउटा गीत हो…

के वर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउता सित
दुनियालाई नभने नि भन्न हुन्छ एउटा सित…

ढेड दशकअघि नै यि गीत लेखेका हुन् उनले। ढेड दशकअघि नै यति सुन्दर गीत लख्ने गीतकार रमेशका अन्य गीतहरु पनि उतिकै सुन्दर छन्। रमेश पौडेलले कुनै गीतमा दुखको समुन्द्रमा पौडिदै गामबेसीका उकाली ओराली गर्नहरुको पीडा कोरेका छन् त कुनै गीतहरुमा सहरका गल्ली र गचेल्डाहरुमा भौतारिदै जीवनको खोजि गरिरहने दुख लेखेका छन्। कुनै गीत मार्फत उनी गामबेसीका मेलापातहरुमा पर्म खेल्न पुगेका छन् त कहिले पागल प्रेमी भएर प्रेमिकाको शरणमा पुगेका छन्। उनी प्रेमका गीतहरुमा मात्र अल्भिmएका छनैन्। गरिव जनताहरुले पाएको उत्पिडन भोका नाङ्गा जनताहरुले बेहोरेका दुख पीडाप्रति पनि उतिकै सचेत छन्। उनले सचेतताका साथ गरिव जनताहरुको पीडा, आक्रोश र संवेदनालाई पनि समेटेका छन्। उनले कुनै वाद र आस्था भन्दामाथि उठेर आम मान्छेहरुको संवेदना, प्रेम पीडा र आक्रोशलाई गीतमा समेटेका छन्। उनको कुनै गीत प्रेमी प्रेमिकाको साहारा वनेको छ कुनै गीत गामबेंसीको आवाज वनेको छ कुनै गीत देशभक्तिको आवाज वनेको छ त कहिले गरिव जनताहरुको पीडा र आक्रोश वनेको छ। कुनै गीत क्रान्तिको लागि वनेको छ त कुनै शान्तिको लागि। यहाँ निर आईपुग्दा यसो भनौ उनी सबैको गीतकार हुन् ‘आभासित आलाप’ गीत सग्रह सबैको आवाज समेटिएको गीति संग्रह हो।

रमेश पौडेल सबैका प्रिय हुन् उनका सृजनाहरु सबैको प्रिय वनेका छन् उनको लोभलाग्दो र उज्यालो भविष्यको सुदूर यात्रा जारी रहोस्। सबैको प्रिय रमेशको प्रियताको उचाई सधै माथि चढुन् कहिल्यै फेदी नझरुन् मेरो सदिच्छा।

राजेश राई, धनकुटा / एचकेनेपाल डट कम।

Popularity: 28%

2 comments April 19th, 2008

कवि टंक वनेम, साँघुरी र बुढासुब्बा (समीक्षा) - मुलीवीर राई

- मुलीवीर राई
“रेक्रुट, पढ्नुको दुःखले भर्ती भएर आइस्, परिस् मेरो फेला ।” मेरो साख्खै गुरूजी जसले मलाई १५ वर्षअगाडि बन्दुक चलाउनुमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउँनुभएको थियो । बँच्न, बाँच्न र मार्न सिकाउँनुभएको थियो । उनी नै हुन मेरा साख्खै गुरुजी जो कविताको भन्दा ठीक विपरित भाषामा भन्ने गर्नुहुन्थ्यो “रेक्रुट, पढ्नुको गाह्रोले भर्ती भएर आइस् परिस् मेरो फेला ।” मलाई के थाहा उनी ‘मेन्जो..मेन्जो बाँचेर मेन्जो..मेन्जो जीवन काट्दै जिन्दगी ढाँट्ने’ मैवा खोलाको मैवा पानी पिएर ‘सपनामा सूर्यमुखी फूल’ फूलाउँने कविता मनका कवि टंक वनेम थिए भनेर । म उही कवि टंक वनेमभित्रका कविताहरूको सन्दर्भ उठाउँन खोजिरहेको छु । प्रसंग नबटारिनुपर्ने हो ।

एउटा नमौलाएको रूखमा सुन्दर चरी बास बस्न आएझैँ म नमौलाएको मान्छेको हातमा एउटा सुन्दर कृती उड्दै उड्दै आएर बास बसेको छ उही पन्द्र वर्षअगाडिका मेरो साख्खै गुरूजी टंक वनेमज्यूको कविता कृति ‘साँघुरी र बुढा सुब्बा” । यो कृतिउपर पाठकहरूको अदालतमा पहिलेनै उजुरी परिसके पनि मेरो हृदयले कसोकसो धरै दिएन । फेरि एकपल्ट कोट्याउँन मन लाग्यो । ‘हाम्रा दुःखाईहरू’ बाँड्न मन लाग्यो । त्यसो त कुनै कविता माथि मैले बोल्नु गाइनेको हातमा सारङगी पर्नु होइन ताकि कुनै धुन/अर्थ देवोस् । यद्यपि कम्तिमा अनर्थ नलाग्ला भन्ने कुरामा भरोसित छु ।

मनले भन्छ यो संग्रह भित्रका हरेक शब्दहरू अक्षरसः उदृत गरूँ । लोभ लाग्छ ती भावनाहरूको, ती शब्दहरूको । बन्दुकबाट निस्किएका हरेक गोलिहरू कवितामा अनुवाद भएका छन् । बन्दुक बोकेर विश्वको एकपाटा चाहरी सकेका कविका भोगाइहरू शब्दशब्दमा खिपिएका छन् । ‘..कालिकोटे आरनमा बसेर सिरुपाते खुकुरी अर्जपे झैँ कविताको आरनमा बसेर कविले कविता’ अर्जापेका छन् । अक्सर मान्छेले सोच्ने गरेको लाहुरे जो गुराँस कानमा स्युरेर बनपाखा रन्काउँदै हिँड्ने सोल्ठीनीलाई चार्लीको वासनाले हिप्नोटाइज गरेर भट्टीमा रात जिस्क्याउँछ, ऊ लाहुरे भन्दा धेरै फरक लाहुरे जो ‘तमोर सुसासाउँदा उसको सम्झना मुस्कुराउँछ, श्रद्धा र सम्झनाले बारेको मायालाई युद्ध भूमिबाट स्नेहको सलाम् ठोक्छ सोल्ठीनिहरूलाई ।’

“’झयालबाट जूनले चियाउँदा, सूर्यमुखि फूल फूलेको सपना’ देख्दा देख्दै सतीको सरापले ऐठन परेर आत्तिदै ब्युँझिएका कवि वनेमले मैवा खोलाको जँघार तरेपछि ढुङ्गे साँगुमा पाइतलाको डोब छाड्दै नियतिको कमारा हुन मुग्लान भासिदा धनुकाँण बोकेर शिकार खेल्दै उकालो चढ्दै गरेका बुढासुब्बासँग साँघुरी भन्ज्याङमा भेट भएको स्मरण गर्छन् -
“..ऊ सँग अब माया लाग्दा आँखाहरू मात्र छन्
ती माया लाग्दा आँखाहरूले प..र कोशी किनार हेर्ने गर्छ
..त्यही साँघुरीमा अब बुढा सुब्बा धनुवाँण बोकेर साँघुरी उकालो सिकार खेल्न आउँदैन ”

त्यसो त कवि वनेम स्ययंले पनि साँघुरीको भाकल फुकाएका छैनन् । साँघुरी र उनको साइनो धमिलिदै गएको भान हुन्छ कताकता मभित्र । आमालाई फरिया र बहिनीलाई रिविन किन्ने पैसाको हरहिसाब मिलाउँदा मिलाउँदै परदेशमा जोवन विष्णुमतीको किनारा भएका लाखौँ युवाहरूजस्तै कविको पनि हरहिसाब अहिलेसम्म मिलेको छैन । पन्ध्रवर्षपछि लाहुरेको पोषाक डिकिटिङ गरेपनि परदेश डिकिटिङ गर्न सकेनन् । त्यसैले उनले तीन जुरे डाँडाको गुराँस छुन र छाम्न सक्दैनन् । जलजले डाँडामा कात्तिके तुसारो भोग्न सक्तैनन् । केवल “’स्मृती प्वाँख’ उमारेर ‘दन्त्यकथाको राजकुमार जस्तो पहाड माथि माथि सुनाखरी टिप्दै जूनको आभामा मुस्कुराएको हिमाल वारिपारि नौरङगी डाँफेझै सिर्फवेग मार्न सक्छन’ र यसो भन्न सक्छन् -
“फागुमा भाङको लड्डु खाएर
फागुमा रङ्गीएका बैसालुहरू सम्झिदा
..हे प्रिय जन्मभूमि
तिम्रै यादले सताउँछ ।”

कवि टङ्क वनेम् सङग्रह भित्रका केही कविताहरूमा प्रायः परदेशीहरूको क्याङमी कुरा गर्ने लयभन्दा केही पृथक धारमा उभिएर प्रस्तुत भएका छन् । ‘धर्तीमाथि टेकेर मनका तारहरू रेट्ने, ..आफ्नै आँसुको मसिमा चोपिएर सुदामाको छाप्रोभित्र ओतिने कवि एउटा लाहुरे युद्धमा उपेक्षित शहिद भए जस्तै बहादुरी इतिहाससँग भत्कदै गएको पहाड मुन्तीर बसेर कविता लेख्छन्-
“श्राप बाट मुक्त भएर
जुनीको कर्तब्य पूरा गर्न
आऊ पापीहरू
अब एकैसाथ इन्द्रदहमा झवाम्म हामफालौँ”

‘टिष्टा र काँगडामा दुख्ने मुटु, रंङ्गुन रोड र इरावतीको किनारमा दुख्ने मुटु, बखनध्वज र हर्कजितको कथामा दुख्ने मुटु, गजे, गन्जु र लछुमनको ब्यथामा दुख्ने मुटु’हरू अब दुख्नको निम्ति मुग्लानबाट मृत्यूको खबर आउनुपर्दैन बस् नालापानिमा बैरी ताक्ने बन्दुकको मुजल आफ्नै घरतिर फर्काए भो । देशको कमसेकम अहिलेको निम्ति तात्कालिन बस्तुस्थिति देखेर वारवार मुर्छना भोगेका लाखौँ परदेशीहरूको प्रतिनिधि आवाजहरूलाई साँघुरी र बुढासुब्बाले ओकलेको छ प्रष्टसँग ।

वेलावखत तातो झिर झैँ लाग्ने कविताहरूलाई कवि वनेमको बडो सिल्पीयढड्गबाट प्रस्तुत गर्न सफल भएका छन् । त्यसैलेनै हरेक खाले आँखाहरूको निम्ति यो सङग्रह आफ्नै जस्तो लाग्छ । नोस्टाल्जीया अलि पगितो भएजस्तो कसैलाई अनुभव होला तर कवि परदेशी हुन त्यसो हुनु ठीकै पनि हो । सङग्रहले स्वतः केही टिप्पणीहरू बोकेको छ त्यसमा कविले आपत्ति मान्नुपर्ने कुनै कारण छैन । देशबाट टाढा भएपछि देशको यथार्थ वर्तमान साहित्यिसँग अपडेट नहुनुको परिणामहरू छन् त्यहाँ कतैकतै । यद्यपि सङग्रहको तराजुमा कुनै तर्फ त्यसलाई नराखे हुन्छ । केवल अव कवि वनेमले उप्रान्तका कविताहरूमा यथावतर्मान पक्रेमात्रै पनि नेपाली खास कविहरूको हुलमा घुस्न सक्छन् ।

Popularity: 40%

8 comments March 13th, 2007

‘राईफलको नालबाट…’ (समीक्षा)-रामकृष्ण बान्तावा

‘राईफलको नालबाट जीवन नियाल्दाको कथा’
का सम्बन्धमा समीक्षात्मक मन्तब्य

-रामकृष्ण बान्तावा

कतै मनोरञ्जनात्मक भने कतै दर्दनाक भावनामा सोच्न बाध्य बनाउने, कतै वाह! भन्नुपर्ने यी मार्मिक र साहसिक शब्दहरु कुनै दन्त्यकथाबाट ल्याईएका छैनन्, अनि कुनै धार्मिक ठेलीहरुका उपदेश पनि होईन।

रगतले इतिहास कोरिएको रक्ताम्य, सन् १९८२ सालको फोकल्याण्डको युद्धमा एक साहसिक र भावुक मुटु बोकेका अनि नयाँ नयाँ ठाउँका यात्राका एउटा नेपाली युवाले भोगेका यर्थाथ कथा हो यो। जुन युवा आफ्नो कल्कलाउँदो उमेरमा व्रिटिश आर्मीमा लागेर व्रिटिशको इतिहास निमार्णमा आफ्नो रगत र पसिना लगानी गर्ने उहाँ हुनुहुन्छ श्री गणेश राई।


एउटा तथ्य यहाँ के छ भने आर्मीका मान्छेहरु बन्दुक समाएर युद्ध भूमिका मान्छे मार्ने र आफू मर्ने मात्र हुँदैनन् । हो आर्मीका अनुशासन एकदमै चर्को हुन्छ, त्यही अनुशासनले गर्दा नै पनि हुनसक्छ आर्मीले विश्व विश्व प्रसिद्ध साहित्यकार, कलाकार, बैज्ञानिक र राष्ट्रपति धेरै जन्माईसकेको छ । उदाहरणकारुपमा सबैभन्दा पहिला अमेरिकी राष्ट्रपति जर्ज वाशिंगटन (George Washington) पहिलो राष्ट्रपति हुनुभयो। उहाँ राष्ट्रपति हुनुभन्दा पहिला सन् १७५४ मा Lieutenant Colonel आर्मीमा हुनुहुन्थ्यो। उहाँले नै Liberty to people वा स्वतन्त्र अमेरिकी जनतालाई दिलाउनु भयो।

सन् १७८९ अप्रिल ३० देखि सन् १७९७ मार्च ३ सम्म अमेरिकी राष्ट्रपति पदमा रहनुभयो । अर्का बेलायत प्रधानमन्त्री Winston Churchill पनि आर्मीकै हुनुहुन्थ्यो जो दोस्रो विश्वयुद्धको बर्वर संहार भैरहेको बेला उहाँ बेलायतका Prime Minister हुनुहुन्थ्यो।

सन् २००० नोभेम्बर ७ का दिन संयुक्त राज्य अमेरिकामा ४३ औं राष्ट्रपति पदका लागि निर्वाचनमा हाल विजयी राष्ट्रपति जर्ज डब्लु बुश जुनियर र पराजित तत्कालका ४५ औं उपराष्ट्रपति अल गोर दुवैजना एकजना आर्मीका र अर्का Air National Guard मा हुनुहुन्थ्यो । हालका प्रेसिडेण्ट जर्ज डब्लु बुश सन् १९६८ मा F-102 Fighter Pilot Texas Air National Guard हुनुहुन्थ्यो, भने लेखक बन्न चाहाने अलगोर सन् १९६९ मा सैन्यसेवा भर्ना हुनुभयो र भियतनाम पुग्नुभयो, सन् १९७१ मा सैन्यसेवा छोड्नुभयो। हाल उहाँ फेरि लेखन विद्यामा अंगालिरहनुभएको छ।

अर्को विश्वप्रसिद्ध Lord of the ring नसुन्ने मान्छे यो संसारमा शायद विरलै होलान् जसको लेखक विश्वप्रसिद्ध साहित्यकार बहुमुखी प्रतिभाका धनी John Ronald Revel Tolkien पनि आर्मीका Second Lieutenant हुनुहुन्थ्यो।

अर्का विश्वप्रसिद्ध फिल्मी अभिनेता बहुमुखी प्रतिभाशाली Arnold उहाँ पनि अष्टे्यिन आर्मी (Austrian Army) सन् १९६५ मा १८ वर्षै कलिलो उमेरमा Tank Division मा भर्ती हुनुभएको थियो । जसले पछि गएर बहुचर्चित फिल्महरु जस्तै Termination One, Two & Termination Three मा अभिनय गर्नुभयो। उहाँ हाल California को Governor हुनुहुन्छ।

नेपालकै सर्न्दभमा भन्ने हो भने पनि डायमन शमशेर राणा नेपालका एक प्रसिद्ध साहित्यकार उहाँ पनि नेपाल आर्मीमा हुनुहुन्थ्यो। उहाँले लेख्नु भएको बसन्ती र सेतो बाघ उपन्यास बहुचर्चित कृति हुन्, जहाँ तीन दशकको नेपाली राजनीतिक इतिहास पाईन्छ।

सन्तोष पन्त वहाँ पनि नेपाल आर्मीमा नै हुनुहुन्थ्यो, उहाँलाई प्रख्यात हाँस्यकलाकार भनेर हामी चिन्दछौं । कर्णेल गंगाराज मुकाङ हाल नेपाल आर्मीमा कार्यरत् हुनुहुन्छ उहाँलाई पनि हामी एक चर्चित गीतकार भनेर चिन्छौ । अर्का चन्द्र कुमार लक्सम्बा व्रिटिश सैनिकमा भर्ती भएर बन्दुक मात्रै समाएनन् उहाँले बन्दुकसँगै विद्यावारिधी पनि गरे । अर्का ब्यक्तित्व सन् १९६४ मा चौध वर्षमात्र पुगेका नारायण गुरुङ पक्लिहवा पुगेर अठार वर्षमुनिको उमेर ढाँटेर व्रिटिश सेनामा भर्ती भई सन् १९६८ मा मलाया इमर्जेन्सी सकिनुवित्तिकै सैनिक कटौतीमा उहाँ परेर घर र्फकनुभयो । हाल वहाँ सरस्वती क्याम्पसमा प्रमुख र राजनीतिशास्त्र विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका छन्। अहिले अर्न्तराष्ट्रिय मामिलामा विद्यावारिध गर्ने सोच पनि राख्नुभएको छ।

कहिल्यै विर्सन नसकिने स्व. नारदमुनि थुलुङ उहाँ पनि व्रिटिश सैनिकमै हुनुहुन्थ्यो । अर्का बेलायतले गोरखालीहरुमाथि गरेको भेदभाव र असमान ब्यवहारको विपक्षमा उभिएर लडिराख्नुभएका पदम बहादुर गुरुङ उहाँले पनि विश्वमै प्रसिद्धि कमाईराख्नु भएको छ। यसरी नै निकट भविष्यमा गणेश राई पनि आउने आशाका पात्र देखिनुभएका कारणले म हर्षविभोर भएर वहाँको ‘राईफलको नालबाट जीवन नियाल्दा’ संस्मरण उपन्यासका सम्बन्धमा समीक्षात्मक मन्तब्य लेख्न गईरहेको छु । म आफै पनि साहित्यकर्मी भएको नाताले साहित्यकै बोरेमा लेख्न बस्दा बढी नै भावविभोर बन्ने हुनाले भरसक लेख्न आँटै गर्दै गर्दिन।

यो भन्दा पहिला वरिष्ठ साहित्यकार तथा गीतकार साथै बहुचर्चित पत्रकार श्री राई चन्द्र दुमीज्यूले लेख्नुभएको मिठु कथा संग्रह बहुचर्चित कृतिका सम्बन्धमा लेख्न बस्दा जसको विषय बस्तु र हृदय विदारक मार्मिक प्रस्तुतिकरणले गर्दा मेरो भित्र आत्मादेखिनै अति दर्दनाक र आनन्दका दुवै अमूर्त तरङहरु यसरी नै लहरिन पुगेका थिए। यर्सथ फेरि आज पनि गणेशजीको संस्मरण कृतिले त्यसरी नै भावुकतामा डुबाईदिएको छ।

गणेश राई नेपाल बाहिर बसेर नेपाली साहित्यलाई सम्पन्न बनाउन लागिपरेका प्रतिभा हुन् । उनको जन्म वि.सं. २०१७ मा पूर्वी नेपाल खोटाङ दिक्तेल जिल्ला अर्न्तगत हाँडी खोला गाउँमा भएको हो। उहाँले भगवती माध्यमिक विद्यालय खोटाङबाट औपचारिक शिक्षा हासिल गरिराख्नुभएको बेला स्कूलको जन्मोत्सवमा प्रस्तुत गर्नुभएको उहाँको निबन्धले दुइवटा मोटो गातावाल होर्स कपि पुरस्कार प्राप्त गरिसक्नुभएको छ।

उहाँ वि.सं. २०३६ सालमा व्रिटिश गोर्खा सैनिकमा भर्ती हुनुभयो। वि.सं.२०३६ सालदेखि वि.सं. २०५२ सालसम्म हाम्रो नोकरीपछि उहाँ अवकाश प्राप्त गरी स्वदेश फकिर्नभयो र फेरि वि.सं. २०५४ सालमा हङकङ आउनुभयो । हाल उहाँ हङकङमै हुनुहुन्छ। गणेशजीले थुप्रै कविताहरु पनि यहाँका स्थानीय पत्र पत्रिकाबाट प्रकाशित गरिसक्नु भएको छ।

‘राईफलको नालबाट जीवन नियाल्दा’ (संस्मरण उपन्यास) नेपाली साहित्यका पाठकमा ऐतिहासिक दस्तावेजसहित जोडिएको एक सुन्दर रचना हो । यस कृतिको पृथक प्रकाशन ११०१ प्रति वि.सं. (सन् २००६) जनवरीमा सृजनशील साहित्य समाज हङकङबाट भएको हो । यसको मुल्य नेपाली रुपैया ९५, हङकङ डलर २० र अन्य देशहरुको लागि यूएस डलर ५ राखिएको छ । राईको यस संस्मरण कथाले पूर्वी नेपाल हुँदै हङकङ, बेलायत, बेलिज, फकल्याण्डको भीषण युद्ध, अष्ट्रेलियाको म्याग्नेटिक आईल्याण्ड, मलेशिया, सिंगापुर, बेइजिंगको ग्रेटवाल साथै विद्यार्थी जीवन र सर्वसाधारण मानिसका जीवनदेखि लिएर सैनिकको कठोर जीवनलाई प्रभावकारी ढंगले चित्रण गरेको छ।

सैनिकले बोल्ने आफ्नै प्रकारको भाषा उनीहरुले लगाउने भेषभुषा र युद्धभूमिमा होमिएका सैनिकको जिन्दगीलाई यसले संस्मरणमा जीवन्त अभिब्यक्ति दिईएको छ। यस कथानक यसरी कथा बढ्दै गएको छ-
मध्य अमेरिकातिर रुमलिई हिंड्दा, फोकल्याण्ड युद्धमा गोर्खाली जाँदै गर्दाको बेला,

‘फोकल्याण्ड इज आवर्स
किक् द आर्जेस आउट
ब्रेभ गोखार्ज आर अन द वे
गड ब्लेस यु अल
गुड बाइ टास्क फोर्स’

यस पछि लगातर सम्झनाको तरेलीमा त्यो अविस्मरणीय दिन, कङ्गारुको देशमा युद्ध अभ्यास गर्दा, क्यानाडाको सम्झना, जति भुल्यो त्यति बल्भिmने ब्रेकनको याद, बेइजिंङको सेरोफेरो घुमेर हेर्दा, सेन्तोषा आईल्याण्ड, ट्वीन टावर र हाम्रो गन्तब्य, सुजन, म र बेगवान समय यी माथिका कथाहरुमा प्रमुख पात्रको रुपमा स्वंय लेखक नै रहेर यस संस्मरणको कथानक सकिएको छ।

यस कथाका पात्रहरु भन्नु नै स्वंय लेखक हुनुहुन्छ, यता सिंगापुर, थाईल्याण्ड, मलेशियाको यात्रामा उहाँ र उहाँकै जीवन साथी दिदी अम्बिका, बेइजिंगको यात्रामा मात्र गाईडको रुपमा त्यहाँ थेनजिन सेनजेनको यात्रामा छोरी सुजन, मकाउको यात्रामा आफ्नै नम्बरी हर्क राई त्यहाँ गाईडका रुपमा यस कथाका उल्लेखनीय पात्रहरु हुन्।

गणेश राई एक भूपू व्रिटिश गोर्खा सैनिक मात्र नभएर प्रतिभाशाली लेखक पनि हुन् । उहाँको यो संस्मरण कथा पढेपछि मलाई लाग्यो उहाँ साँच्चि नै तीक्ष्ण दिमागको धनी र भावुक स्वभावको हुनुहुन्छ । उहाँको बाल्यकाल हाँडी खोला गाउँ खोटाङमै वितेको यस संस्मरण कथाबाट देखिन्छ । जब उमेर चढ्दै गयो तब उहाँ व्रिटिश सैनिकमा भर्ती हुनुभयो त्यसपछि विवाह बन्धनमा बाँधिनु भएको देखिन्छ। विवाहपछि विस्तारै उहाँलाई परिवारले घेर्दै लगे। पत्नी, छोरा छोरी सहितको परिवार पाल्नका लागि उहाँ व्रिटिश गोर्खा सैनिकमा अनेक दुःख कष्ट खेप्दै रात दिन परिश्रम गरिरहनुभयो र सैनिकको अवकाशपछि पनि अहिले उहाँ हङकङ जागिर गरिरहनुभएको छ।

उहाँलाई भन्नैपर्दा परिश्रमी मात्र हुनुहुन्न, आँटिला, दयावान स्वाभिमानी र नैतिकवान पनि त्यतिकै हुनुहुन्छ ताकि, फोकल्याण्डको युद्धमा अर्जेण्टिनी नौ सैनिकको लाशलाई एक निर्दयालु व्रिटिश सैनिकका गोराले लातले हान्दा उहाँले हृदयस्पर्शी कुरा गर्नु भएर रोक्नु भएको कथा पढ्दा नै पुग्छ। कथा पढ्दै जाँदा गणेशजी भाग्यवादी पनि देखिनुहुन्छ, आफ्नो दुःखको कारण आर्मीमा भर्ती भएर युद्धमा होमिएको वहाँ भाग्यलाई मान्नुहुन्छ।

उहाँ क्रान्ति चेत भएर पनि आफ्नो स्वदेश छोडी विदेशिएर एक सैनिकको जीवन अंगाल्नु परेकोले उहाँ क्रान्तिकारी र व्रि्रोही यस कथामा देखिनुहुन्न । मैले भन्नै पर्दा यो एउटा गतिलो ऐतिहासिक संस्मरणात्मक कालजयी कृति भन्छु, जहाँ भिन्न भिन्नै देशका भिन्न भिन्नै संस्कार संस्कृति प्राकृतिक र अर्न्तराष्ट्रको राजनीतिककोर् इतिहास पाईन्छन्, अनि युद्धभूमिको हृदयविदारक इतिहास । तर यो सम्पूर्ण यथार्थ इतिहास चाहिं पक्कै होईन र यो उपन्यास पनि होईन किनभने, उपन्यासमा प्राय काल्पनिक कुराहरु हुन्छन्, तर जहाँ वास्तविकता हुँदैहुँदैन भन्नु खोजेको चाहिं होईन ।

भन्छन्- साहित्यमा कल्पना असंभाब्यदेखि संभाब्यतर्फगई जीवनदायी सृजना हुनुपर्दछ । तर अधिकांश कल्पना यसको ठिक उल्टो संभाब्यदेखि असंभाब्यतर्फ गएका हुन्छन् । मेरो विचारमा यस कृतिलाई उपन्यास भन्दा यसको वजन घटेर जान्छ, त्यसैले पनि म यसलाई गणेशजीको संस्मरणात्मक एउटा महत्वपूर्ण कृति भन्छु।

अर्को कुरा, उपन्यासमा थुप्रै पात्रहरु हुन्छन् जुन पात्रहरुको चरित्र चित्रण गरिन्छ, भने यहाँ त मुख्य पात्र स्वंय लेखक मात्र हुनुहुन्छ । झलाकझुलक पत्नी र छोरी, ठाउँ ठाउँमा देखाईएको भएता पनि उहाँहरुको यहाँ राम्ररी चित्रण गरिएको छैन । उपन्यास सिलसिलाबद्ध हुन्छ यो सिलसिलाबद्ध पनि छैन । जहाँ लेखक स्वंयर् इमान्दार, श्रमजीवी, धैर्यशील, सहनशील र भाग्यवादी चरित्रको पात्र यस संस्मरण ऐतिहासिक कृतिमा देखा पर्नु भएको छ।

भन्नैपर्दा उहाँ सैनिकहरुको एक प्रतिनीधि चरित्रका रुपमा मात्र सटिक ढंगले देखापर्नु भएकोछ । राईफलको नालबाट जीवन नियाल्दा संस्मरण कथाको शीर्षकको सार्थकताको बारेमा म यसरी भन्छु, यो एक ठाउँबाट अर्को ठाउँको यात्रा अझ भएन विद्यार्थी जीवनदेखि सैनिक जीवन यात्रा र सैनिक जीवनबाट अवकाश लिएपछिको यात्रा संस्मरणको फाल्टो फाल्टै मज्जा भएतापनि फोकल्याण्डको युद्धले हरेक मान्छेको मुटु छुने यथार्थले यो कथा उद्घाटन भएको छ जसले गर्दा पनि यो एउटा काल्पनिक कथा नभएर यर्थाथबादी कथा हो।

बाध्यतावश गरीब र शोषित नेपालीहरु विशेषगरी जनजातिहरु हरेक वर्षइण्डिया र व्रिटिश सैनिकमा र सिंगापुर पुलिसमा थुप्रै भर्ती भएर गईरहेको हामी देख्नसक्छौ । कसलाई आफ्नो देशको माया र महत्व हुँदैनर? कसलाई आफ्नो जन्मभूमि र आफन्त साथी भाइहरुको प्रेम हुँदैन ? जसलाई छोडेर जानुपर्दा अझ अर्काका लागि युद्धमा होमिएर ज्यान दिनुपर्दा निश्चय नै दुःख लाग्छ, दुःख हुन्छ । त्यसमाथि युद्धमा जानु भनेकै मान्छेलाई मार्नु र मर्नु हो भने कसको मुटुमा आघात नपर्ला ?

यस संस्मरणमा यस्तै हृदयविदारक कथा-ब्यथा छ, युद्धभूमिमा परेका सैनिक जीवनको मार्मिक गाथा छ । तर यस संस्मरणमा लाहुरेको कथा या सैनिक जीवनको कथा मात्र नभएर विद्यार्थी जीवनका कथा, बेइजिंग यात्राको कथा, सेण्टोषा आईल्याण्ड, ट्वीन टावर र हाम्रो गन्तब्यको कथा, सुजन, म र बेगवान समयको कथा पनि समेटिएका छन्। जसले गर्दा यस संस्मरणको लागि शीर्षक राईफलको नालबाट जीवन नियाल्दा भन्दा फाल्टै राखेको भए अझ यस कृतिको शीर्षक सार्थक हुन्थ्यो कि जस्तो लाग्छ।

यस कथाका सैनिक जीवनका संस्मरणमा कम्ब्याट ड्रेस लगाएका थुप्रै नचिनिने पात्रहरु छन् । कोही छोटा कद भएका गोर्खाली कोही बेलायती । सन् १९८१ को सेप्टेम्बर व्रिटेनले बेलिजलाई स्वतन्त्र हस्तान्तरण गर्ने उद्घोषण भए लगतै बेलिजमा सैनिक चहलपहल नाटकीय ढंगले बढेको हुन्छ भने उता सन् १९८२ सालबाट फोकल्याण्ड टापुमा ती व्रिटिश नागरिकका अभिमत आईरहेको थियो, दुइ दर्जन मेरिन फौजलाई आक्रमणको झण्डा गाडेको समाचार बीबीसीबाट प्रशासरण हुँदा त्यहाँ कसको जीवनको के भरोसा थियो होला र ? यसबेला एक अर्कामा कुरा गर्दाको सैनिकता झल्काउँने सर्न्दर्भहरु भाषिक विशेषताको साथ प्रस्तुत गरेर पनि यस संस्मरण ऐतिहासिक कथालाई जीवन्त तुल्याईएको छ ।

निष्कर्षमा म यो भन्छु ‘राईफलको नालबाट जीवन नियाल्दाको कथा’ सैनिक जीवनको यो यर्थाथमा आधारित हृदयविदारक ऐतिहासिक संस्मरण कथा हो। यस कथामा अर्न्तराष्ट्रिय प्राकृतिक भौगोलिक र राजनीतिक संस्कार संस्कृतिकार् इतिहास पाईन्छन्। यिनै कुराहरु र सैनिक जीवनका तिब्र संवेदनालाई कलात्मक दिनु यस संस्मरण कृतिको साहित्यिक प्राप्ति हो।

लेखक स्वंय मुख्य पात्र भएर पनि उहाँ यस सैनिक जीवनको धरातलमा आधारित कथाका लागि प्रतिनिधीमूलक देखिनुभएको छ। फोकल्याण्डको युद्धभूमिमा होमिएका बीर गोर्खालीहरु र बेलायती सैनिकहरुको कारुणिक कथा प्रस्तुति यसका प्रमुख उल्लेखनीय कुरा हुन् । नयाँ नयाँ ठाउँको कथा बस्तुले गर्दा यो ज्ञानमूलक मात्र नभएर ऐतिहासिक, सरल, सहज र ठाउँ अनुसारको जनभाषामा गरिएकोले यो कृति प्रभावकारी बनेको छ। अर्को कुरा नेपाली चाहे जोसुकै होस् गरिबीको यथार्थलाई उद्घाटन गरी सैनिकमा भर्ती हुनुको बाध्यता र त्यसपछिको युद्धमा होमिनुको कारण स्पष्ट पार्नु नै यस कृतिको प्रमुख उद्येश्य देखिन्छ। आफ्नो ठाउँ अनुसारको भाषा, भाव शैली, कथात्वको समाविष्टीले समुचित उपयोग प्रभावकारी र ऐतिहासिक यो कृति जीवन्त बन्न सफल देखिन्छ । अन्त्यमा लेखक गणेश राईज्युलाई साधुवाद सहित उहाँको लेखाईमा अझ रंगहरु चढुन्, विचार निख्खर हुँदै कलम तिखारिंदै जाउन् ।

शुभकामना ।

Popularity: 42%

1 comment March 20th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

Top Commenters