Posts filed under 'कविता'

नाच्ने पर्व तीज (कविता) - उषा गिरी

- उषा गिरी

बर्षा ऋतुको बिदाइ र
शरद ऋतुको आगमनसंगै
थकाईको अनुभूतिलाई बिर्सेंर
मदमत्त भएर उर्लने सागर झै
बैसालु रहर साट्न
मादलुको घिन्ताङ्गे तालमा रमाउन
मीठामीठा लोक गीत गाउदै
खुला पहाड र कर्मशील बस्तीहरुमा
छमछमी आएकी छौ तीज।

आँखामा असीम करुणा र प्रेम पालेर
हामी उमङ्गका पारखीहरुको माझ
बिखण्डित नभै
मन्द मुस्कान छर्दै
सुन्दर हत्केलाहरु फैलाएर
हावाको मिठो स्पर्श सङ्गै
रौनक र चमक लिएर
आएकी छौ तीज।

मुस्कान पोतिएको ओठ
लालीले रङ्गिएका गाला
गाजलुले पोतिएका
गहिरा नयन
रातो चुरा र रातै गहुनमा
आभुषणहरुबाट बिभुषितभै
निरासाका पुराना स्मृतिहरुलाई
पन्छाउदै उल्लासमय भएर
अगरबतीको सुगन्ध भएर
आएकी छौ तीज।

ओइलिदै पलाउदै र पहेलिदै
बिभिन्न प्रलाप सहदै
तमाम दिदी बहिनीको माझ
शरीरको सारा बैस फुलाउँदै
आएकी छौ तीज।

अदम्य उत्साह बोकेर
यो बिछट्टै रङ्गीन र उर्बर समयमा
थुम्का र बस्तीका फेदीहरुमा
भावनामा छताछुल्ल पोखिदै
चकित र उल्लासित भएर
आँखा नझिम्क्याइ नौलो क्षण लिएर
असिनपसिन गर्दै मिर्मिरे बिहानी
आएकी छौ तीज।

जिन्दगी र समयको दोसाँधमा
थकाईको साईनो गास्तै
जीबनका पलहरुमा
खुशीका बेगमय पारामा
निरुत्तर कुइनेटोको ढुङ्गेनी ओरालिमा
मन भरि यौबन फक्राउदै
आएकी छौ तीज।
तिम्रो यो आगमनलाई
यो नाच्ने गाउँने महोत्सबको शुभकामना।

ब्रसेल्स, बेल्जियम

Recent Videos:

Popularity: 29%

Add comment August 25th, 2011

डायास्पोराको सिकारी र सिकार (कविता)- देश सुब्बा

रेखा कविता-३- अमूर्त रेखा
डायास्पोराको सिकारी र सिकार

- देश सुब्बा

म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
मैले सिकार गरेको पनि एक दर्जन वर्ष नाघेछ
मैले यहाँको तातो बालुवा, ढुङ्गामा सिकार गरेको छु
मैले रातमा ब्यूझेर सडक र गल्लीहरूमा सिकार गरेको छु
समुद्रको लु हावामा सिकार गरेको छु
मैले जिजिविषाको प्रत्येक भीर, पहरा र कन्दरामा सिकार गरेको छु

यो मुलुक अनौठो छ, दिन सुत्छ र रात उठ्छ
रात उठ्ने प्रत्येक पलहरूको सिकार गरेको हुँ
दिन सुत्ने प्रत्येक समयको सिकारी हुँ

यो कस्तो सिकार हो कुन्नि
यस सिकारमा मेरो खुट्टा भाँच्चिएको छ
दुर्घटनाले शरीर क्षतविक्षत भएको छ
बुद्धि रित्तिएर खोक्रो भएको छ
नोस्ताल्जिया फाटेर सिसा-टुक्रा भएको छ
राष्ट्रियताको अस्थिपिंजर ढुकढुकीमा अल्झेको छ

यस सिकारमा सपना ‘बर्मूढा’ र
म ‘टाइटानिक’ भएको छु

मैले स्वदेशमा पनि जीवनको सिकार गरेको थिएँ
खोलेपाँडो खाएर रमाउँदै
उब्जनि नहुने पाखाबारीमा सिकार गर्थे
त्यहाँ मलाई आनन्द थियो
मेरा फाटेका दुःखहरू हुन्थे,
मेरा जोडिएका सुखाहरू हुन्थे
गाउँलाई गोलबन्ध गर्ने धर्म र सँस्कार हुन्थ्यो
र मेरो स्वतन्त्रताको परेवा उड्थ्यो

तर यहाँ एक लाश मान्छेको जंगलमा
सिकार गर्दागर्दै उल्टै
मेरा दिन र रात सिकार भएका छन्
मेरा खुशी र पर्वको सिकार भएको छ
मेरा न्याय, अधिकार
स्वाभिमान सबैको सिकार भएको छ
हुँदाहुँदा म आफै यस अनौठो डायास्पोरिक मुलुकमा
काल र देशको सिकार भएको छु

म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
तर म अहिले डायास्पोराको सिकार भएको छु

अनुरोधः आदरणीय पाठक, समालोचक, कविज्यूहरू यस अदृश्य रेखामा कति रेखाहरू छन्, कृपया प्रतिक्रिया दिनुहोला।

Recent Videos:

Popularity: 32%

Add comment October 5th, 2010

‘दिलबहादुर’ को हत्यारा… (कविता) -रजिन राई

रजिन राई, खोटांग-

‘दिलबहादुर’ को हत्यामा
अस्वाभाविकरुपमा दुखे तिम्रा मुटुहरु
तर,
स्वाभाविकरुपमा तिमीहरु किन दुख्दैनौ ?
दिलबहादुरहरु उत्पादन गर्ने ब्याडहरुमा,
जन्मिरहेछ नव दिलबहादुरहरु
जोर्डनको काला गल्लीहरुमा,
कामतिनको झुपडीहरुमा
यहीँ-त्यहीँ तिम्रो मेरो सामीप्यमा
खै त दुखेका तिम्रा मुटुहरु ?
जिउदा दिलबहादुरहरुको वेदनामा
खै त पोखिएका तिम्रा सुन्दर शब्दहरु ?
उनीहरुलाई नवजीवन दिने योजनाहरुमा,
खै त ! तिम्रो ‘पाइलट प्रोजेक्ट’
नव ‘दिल बहादुरहरु’ फेरि
दिल बहादुर हुने नियति भोग्नुबाट रोक्ने ?
खै त ! तिम्रा ‘खलासी’ प्रोजेक्ट
नव दिलबहादुरहरुलाई
सामाजिक मृत्युबरणबाट रोक्ने?

(तिम्रो सामीप्यमा जिउदा दिल बहादुरहरु आउन खोज्दा)2
छातिमा हात राखेर भन ए ढोँगीहरु !!
तिमी कति मिटर पर भाग्यौ
उसले तिम्रो साथ खोजिहिंड्दा ?
तिमी कसरी तर्कियौ
उसले तिम्रो माया पाउन खोज्दा ?
उसलाई तिमीले कति घृणा गर्यौ
तिमीबाट सहानुभूति चाहँदा?

तिम्रा अपार घृणा र तिरस्काररुपी गोलीले
उसको मुटु छिया छिया भएपछि
तिम्रो अह्सयोगी भावनाले पराकाष्टा नाघेपछि
विचरा दिलबहादुर, तिमी हामीबीच रहेनन्
विचराले सामाजिक मृत्युवरण गरे।

दिलबहादुरको वास्तविक हत्यारा त
तिमी हौ….,
अनि म हुँ !!
‘होइका केइ’ त केवल निमित्त हुन्,
मात्र माध्यम हुन्
हामी आफू स्वयंले मारिसकेको
औ उ आफू स्वयं मरिसकेको
‘दिलबहादुर’ लाई मुक्त्ति दिने
मुक्तिदाता मात्र हुन्।

[होइका केइ ‘दिलबहादुर हत्या काण्ड’ मा संलग्न हङकङका प्रहरी हुन्।]

Recent Videos:

Popularity: 37%

Add comment October 4th, 2010

हरामी (कविता) - विक्रम सुब्बा

विक्रम सुब्बा-
कविताः हरामी
वकिल:
तर्क शक्तिले क्लाइण्टको पक्षमा आफ्नो
सफल भएकोछु सैयौँ फैसला गराउँन
राम्रो फिस दिन्छ जसले
वकिल-धर्म नै हो गर्नु उसैको काम
खाएर कसम यही धर्मको
जिताएको छु आमा मार्नेलाई पनि
र सरकारी गोप्य सूचना बेच्नेलाई पनि
हुन्छन् थर्कमान सबै गाउँमा मसँग
भेट्नासाथ ‘वकिल साप’ भनि सम्मान गर्छन्
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

पुजारी:
म पुजारी !
भगवान र मानिस दुबैको
बिचमा कल्याण गर्न उभिएको
नभए म यी दुबैको हुनेछ बिजोग
म छु र त मेरै हातमा
दिन्छन् भक्तजनले चढाउँने प्रसाद
भक्तजनले पाउँने आशिर्वाद पनि
देवताहरु पठाउँछन् आशिर्वाद मेरै हस्ते
म छु र त भक्त-देवता दुबैको
(मैले जो दुबैतिर प्रसाद सप्लाइ गरिदिएकोछु)
जीवनमा खुसहाली छाएकोछ
तथापी ‘सप्लाई’ मेरै तजबिजमा हुन्छ
कि कसलाई के कति दिने
र राख्ने प्रसाद कति आफैले?
यसरी म
भगवान र मानिस
दुबैको लागि कल्याणकारी पवित्र पुजारी हुँ
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

व्यापारी:
सानैदेखि पसेँ व्यापारमा
आपूर्ति गरेर चाहिने सामाग्रीहरू
‘सेवा’ समाजको गरेरै कमाएँ नाफा
बढाएँ जायजेथा, जोडेँ गाडी र बंगला
बढेको छ सबतिर बलियो पहुँच मेरो
कुलकुटुम्बका सामु छ मेरो ठूलो ईज्जत
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

हाकिम:
पहिरेको छु सिन्दुर सरकारको
गर्छु तमाम कामकुरा मिलाएर नियमहरू
ठानेर सेवक आफुलाई
गरेर अर्पित जनताको खुरुखुरु ‘सेवा’मा
पदोन्नति भएको छ भाग्यले सालैपिच्छे
हरेक साल थपेकोछु सम्पति पनि
बनाएपछि मैले घर यहाँ
नामै रहेकोछ ‘सिडिओ टोल’ यो बस्तीको
‘हाकिम’का रुपमा सुनाम चलेकोछ
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

पावर-ब्रोकर जो आफुलाई ‘नेता’ ठान्छ:
जितेकोछु चुनाव जसरी पनि बहुमतले
अखाडामै पुगेर बिरोधीको
गरेको छु अनगिन्ती सामाज सेवा
मुलुकका नदी बेच्ने दर-भाउको
निर्णय पार्टीमा गराएँ मैले नै
मिच्दा सिमाना देशको कसैले
कुटनैतिक सम्बन्ध मित्र राष्ट्रसँगको
नबिग्रने किसिमको
रणनीति तयार गरेँ मैले नै पार्टीमा
म अघि लागेपछि विकासका काममा
मौरीझेँ उर्लिन्छन् जनता
यी गाउँघरहरू म नभए
हुन्छन् माऊबिनाको चल्लाजस्ता
जता गए पनि भेट्नेले
गर्दछन् स्रद्धा ‘नेताजी’ भनेर
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर।’

Recent Videos:

Popularity: 36%

1 comment August 8th, 2010

‘तेलखानी बिनाको नेपाल र ठमेलहरु’ (कविता) - बृत आधार

तेलखानी बिनाको नेपाल र ठमेलहरु…
- बृत आधार

तेलखानी बिनाको नेपाल
आज इराक हुनु परेन
बारुदको तुवाँलोभित्र रुमलिनु परेन
हिटलरी दमनभन्दा दर्दमूलक
भयंकर अमेरिकी सेनाको
पदचापद्वारा कुल्चिइनु परेन
तर
साम्राज्यबादीका कमाराहरु
ठमेलमा
मिनी टोकियो बनाउदैछन्
मिनी मेक्सिकोको बिस्तार गर्दैछन्
मिनी भियतनाम पस्कदैछन्
अफ्गानिस्तानहरु रोप्दैछन्
कस्मिरका बिरालाहरुलाई दुध चटाउँदैछन्
बिहार स्पर्श गराउँदैछन्
तस्लिमाहरुमाथि पटक पटक बलात्कारका प्रयासहरु गर्दैछन्
आङ साङ सूकीहरुलाई अझ जन्जिर कस्दैछन्
अनुराधाहरुलाई ब्यस्त बनाइरहेछन्
अनि
मोफसलमा
रुवाण्डा
नाईजेरिया
सेरालियोन
सोमालिया
बोस्नियाहरु
हाइटीहरुको
बृतचित्र स्मरण गराउँदै
क्युबियन बास्पिकरणको भ्रमित समिकरण
मस्तिस्कमा पालेर
मिजुरम
गोरखालेण्ड
तामील
खम्पा
मृगतृष्णाहरु बिउँताईरहेछन्
धन्न
तेलखानी बिनाको नेपाल
जर्ज बुसहरु खेप्नु परेन
सद्दामहरु जन्मिनु परेन
तर के भो र ?
ठमेलहरु
इराकै नभएपनि
धार्मिक त्रिशुलहरुद्वारा डामिनु परेकै छ
जरजर्तालाई सहन गर्न परेकै छ
तानाशाहहरुलाई जन्म दिन निरन्तरता प्रदान गरेकै छ
शोषितहरुमाथि पीडाहरुको धाराबाहिक प्रबाह गर्न सफल भएकै छ
साँच्चै नै
तेलखानी भएको नेपाल जस्तै नै देखिन थालेको छ
बर्लिनका पर्खालहरु पुन: उठाउन खोजे झै देखिन थालेको छ
संग्संगै मोफसलहरु पनि
धमाधम
ठमेलहरुतिर रवाना भैरहेकै छ।
~~~~~
फार्नबोरो

Popularity: 53%

8 comments January 15th, 2009

जरासन्ध* (कविता) - कृष्ण प्रसाई

जरासन्ध*

- कृष्ण प्रसाई

जरासन्ध फेरि बिउँझिएको छ-
उसलाइ थाहा छ,
फैलिनुको मजा ।
उस्लाई थाहा छ,
बन्दी बनाउनुको मजा ।
अहिले यतिखेर -
तिम्रो भूखण्ड जो छ -
इतिहासको संकटकालको नाउँबाट-
नाजुक गुज्रिरहेछ ।
आफै इमान्दार नहुनुको नाउँमा-
तिमीलाई लान्छना लागो भने पनि,
अन्यथा नठाने हुन्छ तिमीले-
जस्लाई तिमी विश्वास गरिरहेछौ,
जरासन्धले उसलाई पनि किनेको छ ।
जरासन्ध ऊसंग पनि मिलिसकेको छ ।

उसले जरासन्धकै नुनको सोझो गर्दैछ ।
सपालु छ जरासन्ध,
कहिले दिए जस्तो गर्छ -
तर जति दिन्छ,
त्यसको दशौं दोव्वर लिन्छ ।
अभ्यस्त छ जरासन्ध,
तिम्रो सम्पदामा पासा फालिरहन्छ-
गाईको रङ्गमा स्यालको मन बोकेर,
कहिले साधुको भेषमा-
कहिले जालन्धरको भेषमा,

कहिले मृगको भेषमा
पल्किसकेको छ जरासन्ध-
खजाना लुट्नलाई,
लालपुर्जा मिच्नलाई

च्याखे थापिरहनलाई ।
किमार्थ डराउदैन जरासन्ध,
धोकामा पार्न तिमीलाई ।
कसैगरि लजाउदैन जरासन्ध,
बन्दी बनाउन तिमीलाई ।
खवरदार !
असंख्य बाहाना वनाएर,
जरासन्ध यतिखेर-
तिमीलाई धरापमा पार्न
विभिन्न जाल थापेर बसेको छ।
भेटेसम्म सिङ्गै निल्न-
भीमकाय जरासन्ध,
मात्रै दाउ हेरेर बसेको छ ।

अनामनगर, काठमाडौं

* महाभारतकालिन असुरराज जस्ले सयौं निमुखा राज्य प्रमुख हरुलाई बन्दी वनाएको थियो।

Popularity: 46%

Add comment January 15th, 2009

शहीद विद्युत र श्रद्धाञ्जलि..(कविता) - दीपेन्द्र के.सी.

शहीद विद्युत र श्रद्धाञ्जलि…

- दीपेन्द्र के.सी.

सुनसान, सामसुम, शान्त
उदाश, निराश, सन्तप्त चिमहरु
सूर्यको प्रकाशले गिज्याउछ
हरेक अँध्याराहरुले अंठयाउंछ
टुकी र मैनहरुले घेरिएर
कहीं कतै दियालाहरुमा वेरिएर
तातो राप र अरुको उज्यालोमा
आफूलाई देखाउदै चिन्तित,
सडकमा उभिएर
नेताज्यूको भाषण सुनेर लज्जित
नयाँ नेपाल सुनेर त्रसित र्
अर्थमन्त्रीहरुका योजना सुनेर आजित,
तिनै चिमहरु ! आज
अंध्यारा वस्तीहरुमा
विद्युतको शोक श्रद्धाजंलि मनाउदैछन
नेताहरुका योजनाका शोक शन्देस पढेर
जलश्रोतको पुराण भट्याएर
हरेक दिन १६ घण्टा मौन धारण गर्दैछन
विद्युतलाई शहीदको सूचीमा चढाएर । ।

लुभेन बेल्जियम

Popularity: 46%

3 comments January 15th, 2009

जाडो… (कविता) - ईन्द्र थापामगर

जाडो…

- ईन्द्र थापामगर

एक-
एक सरो लुगा यो जाडोमा ,
बाबै ! जीवनको सपना भयो ।
पैतलाहरु खिउदै जादाँ ,
अलि पर जीउने रहरहरु कठै !

यी ठण्डीहरुमा हिँउ बनेर ,
वस्तीहरु र सडकहरुमा छरपरस्त ।
हिमाल बन्न नसक्ने ।

नदी बनेर बग्न र बगाउन नसक्ने ।
प्राप्तिरहित फगतका यत्नहरु ,
निरन्तर अनि निरन्तर…..
यो दुने जीवन ।

दुई-
ताईमोसान र मंकीहिल हुदै क्लब र रेष्टुरेण्टहरुमा ,
जन्म दिन, विवाह आदिका उत्सवहरुमा ,
एक, दुई …. गर्दै वाईन र रेड लेभलका बोटलहरु ,
यी जाडोहरुमा ,
क्रमश : रितिदै जादाँ ,

दुई /तीन बीसे जीबनहरुलाई ,
परदेशी सोल्टीनीहरुसँग ,
खै कुन्नी कुन पार्कहरु हो ?
खै कुन्नी कुन ठाँउहरुको डाँन्स, रेष्टुरेण्टहरु हो ?
सप्ताहन्तका दिन र रातहरुमा ,
सर्लक्कै एक बीसे बैशहरु जस्तै ;
निसंकोच र निर्धक्क ,
मायाँ गर्ने यी जाडोहरुमा ,
आहाँ ! दुनै यतिबेला
यो हङकङमा भै दिए ।

तीन-
जीवनहरुलाई ,
जाडो- अभिसाप हो वा वरदान ?
वा अर्थ अङ्कको जोड/घटाउ ?

रत्नेचौर, म्याग्दी
हालः हङकङ

नोट : दुनै नेपालको डोल्पा जिल्लाको सदरमुकाम हो जहाँ जाडो मौसममा सबै हिउँले ढाक्छ र गरीबहरुको जीवन कष्टकर बनाउछ। (2009-01-06)

Popularity: 48%

4 comments January 12th, 2009

नयाँ नेपालको बृत्त चित्र.. (कविता)- गणेश खड्का ” प्रतिक्षा”

नयाँ नेपालको बृत्त चित्र..

- गणेश खड्का ” प्रतिक्षा”

साइँली बज्यै !
नातीको फोटो हेरेर
किन रुन्छ्यौ बेकार
सतीले सरापेको देशमा
अब फेरी तिम्रो सराप ?
चुपो लाग
यहाँ बोल्नु हुँदैन
अपहरित तिम्रो नाती
कहिल्यै फर्केर आउँदैन
यो नयाँ नेपाल हो,
ठूलीकान्छी भाउजु !
छोराको लुगा सुँघ्दै
घोप्टो परेर
किन भक्कानिन्छ्यौ बिना सित्ती
धर्म मासिएको मुलुकमा
तिम्रो आरधना
तिम्रो प्रार्थना
मन्दिरको गजुरमा ठोक्किएर
तिम्रो आवाज, तिम्रो चित्कार
तिमीतिरै फर्किन्छ
हराएको तिम्रो छोरो
कहिल्यै भेटिदैन
यो नयाँ नेपाल हो,
अन्तरे दाई !
पटुका कसेर
के मरिहत्ते गर्छौ वाहियात्
ठग र दालालहरुले
धावा बोलेको राष्ट्रमा
तिम्रो राष्ट्रियता
तिम्रो स्वाभिमान
युरिया मिश्रित
रक्सी भन्दा सस्तो
तिम्रो पसिनाले
कहिल्यै मूल्य पाउँदैन
सँस्कृति र परम्पराको त
झन् कुरै नगर
यो नयाँ नेपाल हो,
नयाँ नेपालमा -
सानो मर्छ -ठूलो बाँच्छ
गरीब रुन्छ - धनी हाँस्छ
हुनेले खान्छ -नहुनेले हेर्छ,
नयाँ नेपालमा -
पुलिसले चोर्छ
हाकिमले घूस खान्छ
मन्त्रीले ज्यान मार्छ,
बिर्खे भाई !
किन मर्नु पर्‍यो
देशको खातिर ताई न तुई
स्वार्थी, पापी
र पाखण्डीहरुको अखडामा
तिम्रो रगत
रजश्वला बिग्रेकी स्त्रीको जस्तै
सस्तो हुन्छ भने
गुमेको तिम्रो ज्यानले-आत्माले
कहिल्यै वीरगती पाउँदैन
फौजदारीमा मरेका
नेता-मन्त्रीका आफन्तहरु
धमा-धम
महान शहीदमा सूचिकृत भएपछि
तिम्रो पवित्रताले
कहिल्यै मोक्ष पाउँदैन
यो नयाँ नेपाल हो,
अन्त
जन हत्यारालाई दण्डित गरिन्छ
तर यहाँ
पुरस्कृत गरिन्छ
जसले बढी युद्द गर्छ-आतंक मच्चाउँछ
उसैले शान्ति पुरस्कार पाउँछ,
नयाँ नेपालमा -
बाघ हिंसक छ
शायद अब
उसले पनि
जङगलबाट दाबी गर्छ
र शान्ति पुरस्कार पाउँछ
नयाँ नेपालमा,
अब
हेर्न बाँकी छ
नयाँ नेपालबाट
पाठ सिकेर
विश्व नोबेल शान्ति पुरस्कारको
दाबेदार बन्न सक्छन्
थुप्रै बिन लादेनहरु
तामिल टाइगरका नाइकेहरु
र मुसरफहरु ।

तिवारी भञ्ज्याङग -४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Popularity: 52%

17 comments January 10th, 2009

सपनाहरू देख्ने गर्थे.. (कविता) - मनोज केसी

सपनाहरू देख्ने गर्थे..
- मनोज केसी

सपनाहरू देख्ने गर्थे
देख्दा देख्दै भताभुङग भए..
कल्पनामा कल्पिन साह्रै मजा हुन्थ्यो
मानस पटलमा नै आउन छाडे
यौटा मायाको छायाँ थियो
मलिन हुँदै विलिन भयो
त्यो सुन्दर झरना झर्थ्यो जहां
सुकेर बालुवा थुप्रिदै गयो
कलकल गर्दै झर्ने खोला पनि
सुकेर कमिला हिंड्ने बाटो भयो
त्यो पारीको सुन्दर हरियाली वन
एक उजाड पाखोमा बदलियो

खेत बारीका तरेली पनि
घरहरुका कुरुप थुप्रा बनिसके
भातृत्व र सदभाव पनि
शत्रुतामा बदलिए जस्तो

आफन्त पनि पराइ भए जस्तो
दशैं तिहारमा खेल्ने आताशबाजी
वास्तविक जीवनमा पड्कन थाले
खै कस्का आँखा लागे कुन्नि
सुन्दर, शान्त नेपाल
दिन दिनै बम र बारुदको धुवांले
कालो हुँदै मडारिन लाग्यो…

लण्डन

Popularity: 50%

Add comment January 10th, 2009

सैद्धान्तिक मृत्यु.. (कविता) –अप्जसे कान्छा

सैद्धान्तिक मृत्यु..
– अप्जसे कान्छा

ढुङ्गा
कट्टी
बन्दुक
मोर्टर
रकेट
मिसाइल
अणु बम
रासायनिक बम
जैविक बम
दार्शानिक बम
राजनैतिक बम
थाहा भएका
थाहा नभएका
विनाशक बम
बनाउने
चलाउने
जुनसुकै देश
अर्गनाइजेसन
जो केहि व्यक्ति
व्यक्तिले छानेको नेता
नेताको क्याविनेट
क्याविनेटको आदेश मान्ने
पुलिस
जल सेना
थल सेना
हवाई सेना
गोप्य सेना
तिनीहरुका सेनापति
सेनालाई पाल्ने जनता
जनतालाई बेला बखत दुख दिने
चोर
डाका
सुसाइड बम्बर
आतंककारी
कोहिसंग पनि
म डराउने छैन
किनकी
म भित्र
डर छैन
पीर छैन
अशान्ति छैन

मैले मेरो सैद्धान्तिक मृत्युमा
वर्तमानसंग हस्ताक्ष्रर गरिसके
अब म जीउदो सहिद भएको छु
तर प्रश्न उठ्‍न सक्छ
सैद्धान्तिक मृत्युको घोषणा किन?
आखिर वर्तमानसंग यत्रो डर किन?
जब म चौबीसै घण्टा
मैले ओड्‍ने आकाशभरि
जासुसी विमानहरु
पिउने पानीको सतहभरि
जलसेना र जलयानहरु
टेक्ने धरतीको माटोभरि
आइ.इ.डि. र माइनहरु देख्छु
म अतालिन्छु
चिच्याउंछु
कराउंछु
मलाई, वर्तमानसंग
मृत्युको डर छ
बिना पीर
बिना डर
शान्तिपूर्वक बाँच्न
नयाँ सिद्धान्त
नयाँ उपाय
नयाँ बाटो
खोज्न थाल्छु म
तर कहि पनि
बिना खतरा
बिना सन्त्रास
आफूलाई सुरक्षित पाईंन

भोजपुर हाल यु.के.

Popularity: 47%

3 comments January 10th, 2009

लोकतन्त्र .. .. (कविता) - खडकबिक्रम खाँड

लोकतन्त्र ..
- खडकबिक्रम खाँड

अन्याय र अत्याचारको जरै फयाँक्नु लोकतन्त्र
विकृति र बिसंगतीको अन्त्य गर्नु लोकतन्त्र ।।

राष्ट्रले रोजेको जनताले खोजेको बाटो देखाउदै
गरिव दुःखी जनताको बैसाखी बन लोकतन्त्र ।।
हुने खानेको मात्र हैन गरिवलाई पनि अधिकार दिदै
भेरी,कर्णालीका मान्छेलाई पनि नेपाली नै सम्झनु लोकतन्त्र ।।

दुःख गरे गरिवहरु आन्दोलनमा मरे किसान मजदुरहरु
संविधानमा उनको कुरा उल्लेख गर्नु लोकतन्त्र ।।
कसैलाई काखा कसैलाई पाखा नगर्नु पाप लाग्ला फेरि
सबैलाई समानता र सुखको अनुभब दिनु लोकतन्त्र ।।
चाहिदाको भाँडो, नचाहिदाको घाँडो होइनन् जनताहरु
जनताले अर्को विकल्प खोज्नु नपरोस् लोकतन्त्र
झुटो आश्वासन त हिजो पनि सबैले दिएका नै हुन्
असल काम गरेर आमालाई खुसी बनाउनु लोकतन्त्र
सच्चा तिमी देशभक्त हौ भने पूरा गर बाचा कसमहरु
भाषण र आश्वासनले पेट भरिंदैन लोकतन्त्र
घाँटी हेरी हाड निल्नु गहिराइ हेरी खोला तर्नु
काँचो मासु जस्तो निल्नु न ओकल्नु नहोस लोकतन्त्र
राष्ट्र हामी सबै नेपालीको एउटै राज्य नेपाल
अंशबण्डा गरेर महाभारत नबनाउ लोकतन्त्र
राम्रो काम असल शासन चाहन्छन् नेपालीहरु
राणा शासन शाही शासन नदोरियोस लोकतन्त्र
फुल्दै जाउ फूल सरी फैलँदै जाउ दुवो सरी
भोका नाङ्गा र गरिवी र अशिक्षालाई पार गर्ने गरि
जनताले चाहेको र तिमीले बोलेका कुरा पूरा होस
हरेक नेपालीहरुको यहि छ कामना
प्रवासी नेपालीहरुको तिमीलाई लाखौं लाख शुभकामना ।।

ढोर फिर्दी-५,तनहुँ

Popularity: 45%

Add comment January 10th, 2009

हामी धृतराष्ट्र, हाम्रो देश धृतराष्ट्र… (कविता) - विनोद रोका

हामी धृतराष्ट्र, हाम्रो देश धृतराष्ट्र …
-विनोद रोका

हामीलाई,
मान्छे र परिवेश चिन्न संजयका आंखा चाहिन्छन्
त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ।
कथंकदाचित चिनि हाल्यौ भने पनि
इर्ष्या वा डाहाले कसैलाई भन्दैनौ।
हाम्रै संस्कारबाट बनेको हाम्रो देश
धृतराष्ट भन्दा फरक छैन….
त्यसैले देशमा राजतन्त्र, प्रजानत्त्र एवं गणतन्त्र जे आएपनि
सत्तासिनहरुले आफनो उत्तराधिकारीमा
दुर्योधन नै खोज्दछन्।
पाण्डव देख्दैनन्।
हो हामी धृतराष्ट। हाम्रो देश धृतराष्ट।
विदृरको विवेक र ज्ञानको उपहास हुन्छ,
किन कि हाम्रा स्वार्थसंग उसको
विचार मिल्दैन, अनि
विदुर निरीह हुन्छ।
त्यसैले,
हाम्रो सत्ता प्राप्तिका आधार
सदा तरवार, वन्दुक र भय बने।
स्वतन्त्र जनमतको आधार वन्न सकेनन्।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामी बुद्धमा केवल शिद्धार्थ देख्छौ
उ हाम्रा लागि
राजकुमार सिवाय केही बनेनन्
हामीले उसलाई
एउटा वोधिवृक्ष दिई बृद्धत्व प्राप्त गर्ने
अवसर दिएनौ,
त्यसैले उ बुद्धत्व प्राप्त गर्न
पलायन हुनुपर्छ।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामी भृकृटी र अरनिमा सुम्नीमा र
बाबुचा मात्र देख्छौ
ज्ञानको ज्योति र कौशलता देख्दैनौ।
त्यसैले,
भृकृटीले ज्ञानको उज्यालो र
अरनिकोले आफ्नो कौशल देखाउन
परदेशीको सहारा र आंखा खोज्नु पर्छ।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामीलाई मान्छे र पशिवेश चिन्न
संजयका आंखा चाहिन्छ
देश चलाउन विदुरको ज्ञान र विवेक होईन
सकुनीको कुटील चाल र दुर्योधनको अहंकार चाहिन्छ।
त्यसैले हामी खोट मात्र देख्छौ अरुमा
गुणजति आफू र आफ्नामा मात्रै पाईन्छ।

न्युयोर्क, अमेरिका

Popularity: 46%

Add comment January 10th, 2009

शून्यतामा… (कविता) -उषा गिरी

शून्यतामा…

- उषा गिरी
आजकाल किन
दोबाटोमा अतृप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र शून्यतामा?
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य
पाइला पाइलामा
पछुताउछ
मौन रुन्छ एकान्तको
काखमा,
बिते थुप्रै बिभत्स
यामहरु यथार्थमा तिम्रा,
भबिष्यले तिम्रो
कृतिहरु कोरिरहेछ
असंख्य बिचारहरुमा
अभिसापको युग
सल्बलाउछ
स्वतन्त्रताको धरातलमा।

चारपाने झापा
हालः ब्रुस्सेल

Popularity: 40%

4 comments January 10th, 2009

उदाउँदै गरेको नयाँ संबिधानलाई… (कविता) - अर्जुन दुङ्मेन्

उदाउँदै गरेको नयाँ संबिधानलाई…

- अर्जुन दुङ्मेन्

पर्खाईमा छन् आमा-बाबा अनि नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोसाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई,
उहि धर्तिमा विलय भएका चिरात्माले पनि सलामी चढाउँनेछ,
आउँ तिमी, जात, जाति, भाषा, धर्म, लिङ्ग र बर्णलाई समेटी
जसले तिमीलाई गर्वको आशुँ चढाउँनेछ…

हो ! थाहा नहोला र कसलाई ? साहरा खोज्दैछौ तिमी बैशाखीको !
तर, बैशाखीको भरोसा त छैन यहाँ,
चम्चे र दादागिरीको दलदल भँगालोमा फस्ने बानी बसेकोछ ।
हे सहयोगी मित्रहरु !
निष्पक्ष एवंम् कर्मनिष्ठ भएर हातेमालो गरियोस् ,
जहाँसम्म भोलि आफूलाई ,
आफ्नो यथार्थ उपकार र कल्याणको भावनामा पोतियोस् ।
पखाईमा छन् आमा-बाबा अनि नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोसाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई

वनपाखाका प्राणी, भिरका सुनाखरी, देउराली र भञ्ज्याङ्गका बटुवा
अनि खर्कका चौरी पनि नछुटुन् ,
जसको चित्कार र मनोरञ्जनले तिमीलाई भोलि बासनादार फूल बनाई
सदा-सर्वदा फुलाई रहनेछ, फुलिरहनेछ।

पखाईमा छन् आमा-बाबा अनि नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोसाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई !

उदयपुर
हालः बगदाद

Popularity: 36%

Add comment January 10th, 2009

माटोको नयाँ गीत गाउँदै छु (कविता) - राजेश राई

माटोको नयाँ गीत गाउँदै छु..

- राजेश राई

यो गीत गाउँदा गाउँदै
वा गाई सकेपछि
म यो राष्ट्रको लागि
बिखण्डनकारी
अराष्ट्रिय
अथवा आंतककारी बन्नेछु
मेरो टाउकोको मुल्य तोकिने छ
र फरमान आदेशहरु जारी हुनेछ, मेरो नाउँमा
सम्भवत मेरो आफन्तहरु माथि पनि
यस्तै आदेशहरु जारी हुनेछ
मेरो जस्तै थेप्चो नाक र चिम्सो आँखा हुनुले
म मारिन सक्छु
मेरा आफन्तहरु मारिन सक्छन्
तर म मारिए पनि
मैले गाएको गीत सुनेर
धेरै गामबस्तीहरु जुरुक्कै उठेर
यो राष्ट्रसँग
इतिहास फिर्ता माग्ने छ ,
ओढेको आकाश र टेकेको धर्तीको
जितेर हार्नुको पीडा सुनेर
जितेर नजित्नुको दुःख बुझेर
चोमोलुङ्गमाका फेदीका गामबेशीहरु
नयाँ मुन्धुमहरु फलाक्दै
फेरि मैले जस्तै गाउने छन्
जबरजस्त खोसिएको इतिहासको गीत
जितेर इतिहास नमागेको गीत
र अब फिर्ता माग्नु पर्न माटोको गीत ।
त्यसैले मसंग मृत्यु हारिसकेको छ
मैले मृत्युसंगको युद्ध जितिसकेको छु
र म गाउँदै छु
मैले ओढेको आकाश
र टेकेको माटोको एउटा नयाँ गीत ।

धनकुटा

Popularity: 43%

9 comments November 8th, 2008

सतीढुङ्गानेर अरूण (कविता) - नवराज सुब्बा

सतीढुङ्गानेर अरूण (कविता)

नवराज सुब्बा

म अरुण !

बगेर यहाँ आइपुग्दा
सती जानेको होड देखेर
आफै अल्मलिएँ !
सर्वाङ्ग भइ सबै
आँ

खा चिम्लेर उफ्रन्छन्
एकअर्कालाई तान्छन् ठेल्छन्
मलामीहरू !

डम्फू आआफ्नो छ
ताल, सुर अलग छ
झन्डा, डन्डाका छाल उर्लेको छ
सतीढुङ्गामा चढ्न उक्साउँदै छन् मलामी
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छे
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म अरुण एकछिन रोकिएको छु !
सरगम नमिलेर
घरीघरी अल्मलिन्छन् मलामी
कहिले हेर्छन खरानी बग्ने खोलातिर
हेर्छन् कहिले धूवा

ँ उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म !
सती जाने र मलामीको हुल देखेर
मर्नु बाँच्नुको दोसाँधमा
बग्नु नबग्नुको दोधारमा छु
मान्छे उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक
सतीढुङ्गानेर ठोक्किएको छु
अक्मक्किएको छु, छट्पटिएको छु
म अरुण !

Popularity: 39%

7 comments November 8th, 2008

ओछ्यान, संम्भोग र समाधि… (कविता) - टंक वनेम

ओछ्यान, संम्भोग र समाधि…
- टंक वनेम

परमहंस रामकृष्णले सुत्ने गरेको ओछ्यान
प्रचण्डको पुनःसंरचनाको खटिया
खोई कहाँ छ त्यो तात्विक भिन्नता
त्यही ओछ्यानबाट
प्रमाणीक अस्तित्वको शुरुवात भयो
जहाँ पुरुषको सुक्रकिट र
स्त्रीको पाठेघरमा आरोपित भ्रुण
मानवीय आविस्कार थलो बन्यो
सम्भवतः
स्पिलबर्गले सेभिङ प्राइमेट यानको
अदृश्य स्वप्नवत् दृश्य देखे
त्यही ओछ्यानबाट
अलिफा कुटुरे प्लस
नवाङ सेचवलाई संगीतले हिप्नोटाइज गर्‍यो
शायद -
विकलाङग स्टेफन हकिन्सलाई
ब्रिफ हिस्ट्री अफ टाइमको
सौर्य मण्डलीय लोरी सुनायो
“क्युबिस्ट” ओछ्यानमा पिकासोले
चित्रांकित स्वप्नहरु देखे
येशु, बुद्ध, पेगाम्बर, कन्फुसियस
मुक्त नन्द, ओशो रजनीश
स्पिनोजा, साइबाबा
जे कृष्ण मुर्ति र महाश्वेतादेवीहरु
त्यही ओछ्यानको
सर्वोकृष्ट मानवीय आविस्कार हुन पुगे
त्यही ओछ्यानमा उनीहरु के गर्छन/गर्थे
सरोकार र महात्वको विषय बनेन ।

ओछ्यान - उपयुक्तकोण
उत्तर - दक्षिण दिशा
नौनी जस्तो कोमल डसना
त्यसमाथि ओछ्याएको
सेतो रङको सुकिलो तन्ना
सेतै रङको भुवादार सिरक
नबिझाउँने सिरानी
न्रि्रा एबं आरामको असिम आनन्द
अहा !
ओछ्यानमा ढल्केर
“एनी हृयुमन हार्ट” पढनुको मज्जा
सन्धयाकालिन डायरी लेख्नुको स्वाद
भविष्यबारे लामो घरेलु चर्चा

दम्पतिहरुको भविष्य ब्यालेन्ससिट
जन्म र जीवनको क्रिडा स्थल
वा जन्मन र मर्नको लागि कारण
जहाँबाट -
यो ओछ्रयानको कविता जन्मिरहेछ
त्यहीबाट हुन्छ
संम्भोग र समाधिको निरन्तर यात्रा
धर्तीबाट विदा लिने आखिरी ठाउँ
जीवनसंग गाँसि रहने
त्यो अमूर्त सम्बन्ध ।

Popularity: 44%

4 comments November 8th, 2008

नयाँ नेपाल ! (कविता) - दीपेन्द्र के.सी.

नयाँ नेपाल !
- दीपेन्द्र के.सी.

नयाँ नेपाल !
नयाँ नेपाल !
कहाँबाट शुरु हुन्छ ?
नयाँ नेपाल ।
कालीकोटको भोकमरीबाट
वा
काठमाडौको सोल्टीको किचेनबाट ?
हुम्लाको दुर्गमबाट
वा
वीरगंजको सुगमबाट ?
बनाउंछन नयाँ नेपाल
पशुपतिका मगन्तेहरुको हातमा केही दिएर
वा
काठमाडौंका गल्लीका खातेहरुलाई पन्छाएर ?
कि
बनाउंछन
बालुवाटार र बालाजुको
शान शौकतबाट
पुरानो नारायणहिटीको अवशेषबाट
सिंहदर्वारको खिचातानीबाट
वा
शीतलनिवासको मौनताबाट ?
कि भ्याउदैनन् ?
सत्तामात्रै थाम्ने माथापच्चीबाट
बेफुर्सदिला भएर
कि पाउदैनन् ?
यसले दिएन उसले दिएन भनेर
अपजस वोकिदिने केही नभेटाएर । ।

लुभेन बेल्जियम

Popularity: 37%

2 comments November 8th, 2008

ब्वाँसाहरु… (कविता) - केशर थुलुङ

ब्वाँसाहरु…

- केशर थुलुङ

के हो राम्रो
के हो नराम्रो
केही थाहा पाउदैनन्

को हो आफन्त
को हो पराई
कोही चिन्दैनन्

आफू के हो
कहाँ छु
के गर्छु
साँच्चै
चेतनहीन हुन्छन्
ब्वाँसाहरु

भावनाका कुरा
कहिल्यै गर्दैनन्
हितका कुरा गर्न
झनै रुचाउँदैनन्
दायाँ-वायाँ
केही सोच्दैनन्

केवल
सिकार गर्न जान्छन्
त्यो पनि
मात्र मासुको
मात्र आफूले
हेप्न/ठेल्न सक्ने प्राणीको ।
­

पाथेका-४, खोटाङ
हालः- काठमाडौ

Popularity: 30%

5 comments November 8th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

June 2018
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

Top Commenters