Posts filed under 'साहित्यिक गतिविधि'

देश सुब्बाको आदिवासीमाथि अन्तरक्रिया (+Photo)

एचकेनेपाल डट कम, जनवरी १५-
हङकङ प्रवासी साहित्यकार देश सुब्बाद्वारा भयवादीय अवधारणालाई आधार मानेर लेखिएको नवीनतम् उपन्यासकृति ‘आदिवासी’माथि आइतबार राजधानीमा एक अन्तक्रिर्यात्मक कार्यक्रमको आयोजना गरियो।

शब्द शताब्दी, नेपाल एवं सृजनशील साहित्य समाज, हङकङको संयुक्त आयोजनामा सम्पन्न अन्तक्रिर्या कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि वरिष्ठ आयामेली कवि बैरागी काइँलाले भन्नुभयो- ‘भयवादमा आधारित देश सुब्बाको ‘आदिवासी’ नामक यो उपन्यास ‘उपन्यास’ कम र ‘दर्शन’ बढी भएको हो कि जस्तो अनुभूति हुन्छ’ उहाँले अगाडि थप्नुभयो- ‘कुनै निश्चित वाद, विचार वा आग्रहमा बाँधिएर सिर्जना गर्दा यस्तो हुन्छ।’


त्यसैगरी अर्का लोकप्रिय साहित्यकार खगेन्द्र संग्रौलाले ‘लेखकले आफ्नो भयवादीय अवधारणालाई प्रष्ट्याउने प्रयत्न गर्दा उपन्यास जुन रुपमा पूर्ण हुनुपर्थ्यो त्यो रुपमा पूर्ण हुन नसके तापनि उपन्यास रोचक शैलीमा बुनिएको’ उल्लेख गर्नुभयो। प्रगतिवादी कवि गोविन्द वर्तमानले भन्नुभयो- ‘काव्यात्मक भाषा शैलीमा लेखिएको हुनाले उपन्यास पठनीय छ तर व्याकरणगत त्रुटी भने प्रसस्तै छन्।’ उहाँले उपन्यासको नाम ‘आदिवासी’ भन्दा पनि ‘तरुल-उत्सव’ राखिएको भए बढी सुन्दर हुने’ बताउनुभयो। उहाँको मतमा बैरागी काइँलाले पनि सही थप्नुभयो।

देश सुब्बाको उपन्यास कृति ‘आदिवासी’माथि चर्चित कवि श्रवण मुकारुङ, लीलावादी साहित्यकार कृष्ण धरावासी, चलचित्र निर्देशक नवीन सुब्बा, शब्द शताब्दी, नेपालका अध्यक्ष तथा चर्चित कवि शशी लुमुम्बू, सृजनशील अराजक कवि राजन मुकारुङ, रङगवादी कवि चन्द्रवीर तुम्बापो, लेखक अमर नेम्बाङ लिम्बू, मुक्त अभियानका तर्फबाट कवि प्रकाश आङदेम्बेले आ-आफ्नो विचार अभिव्यक्त गर्नुभएको थियो।

Popularity: 36%

Add comment January 15th, 2008

परिहासको सूत्र मंगल धुन प्रकाशित (समाचार संक्षेप)

एचकेनेपाल डट कम -
युवा गजलकार परिहास सुब्बाको गजल कृति सूत्र मंगल धुन भर्खरै प्रकाशित भएको छ।

कुम्मायक कुस्सायक क्लब यासोक पाँचथरको प्रकाशन रहेको उक्त पुस्तकको ब्यवस्थापकमा दिला मुक्साम याक्थङबा र देबेन्द्र लावती रहेका छन्।

कृतिमा जम्मा ६५ वटा गजलहरु समाबेश गरिएका छन्। पुस्तकमा नेपाल गजल मञ्च २०५८ का राष्ट्रिय सचिव धिरज गिरी कल्पितको भूमिका रहेको छ भने कवि मञ्जुलको शुभकामनाका साथै सशक्त युवा कवि स्व. स्वप्निल स्मृतिका केही शब्दहरु रहेका छन्।

देश बाहिर बस्दै आएका गजलकार परिहासले पुस्तकको विमोचन समय अभावका कारण धुमधामसंग गर्न नपाए पनि डिसेम्बर २१ का दिन सिङला होटल ललितपुरमा एक साहित्यिक भेटघाटको आयोजना गरी पुस्तकको विमोचन गरिएको थियो। कार्यक्रममा लेखक अमर नेम्वाङ, कवि नरेश शाक्य, राजन मुकारुङग, उपेन्द्र सुब्बा, धिरज गिरी, सनमान चेम्जोङ, प्रकाश विमिल, भद्रगोल किरातीलगायत साहित्यकार एवं साहित्यप्रमीहरुको उपस्थिति रहेका थिए।

Popularity: 37%

Add comment December 27th, 2007

‘आकाश खोज्दै जाँदा… ‘ विमोचित (+Photo)

एचकेनेपाल डट कम -
नरजीत राईद्वारा लिखित आकाश खोज्दै जाँदा.. साहित्यिक पुस्तक गत आइतबार जोर्डनस्थित सुनकोशी कम्पनी लिमिटेडको सभाकक्षमा एक समारोहबीच विमोचन गरियो ।

आकाश खोज्दै जाँदा एक जना साहित्यकारले भोगेका अनुभव, नियात्रिक संवेग, र नियतिको दस्तावेज हो। साहित्यकार तथा समाजसेवी नरजीत राईको आकाश खोज्दै जाँदा .. कृतिमा उनले आफ्ना अतितका स्मृति र वर्तमानको ताजागीलाई अक्षरमा उनेका छन्। एम.ए.सम्म अध्ययन गरिसकेका राईले आकाश खोज्दै जाँदा कृतिमा नेपालको परिवेश र नेपालबाट टाढा समुद्रपार हङकङको परिवेशमा आफूलाई र आफ्ना अनुभूतिलाई संयोजन गर्ने प्रयत्न गरेका छन्। खोटाङ खिदिम गाविस कोक्रुवाका नरजीत राईले हङकङे नेपाली साहित्य फाँटमा आकाश खोज्दै जाँदा .. नामक कृतिबाट आफ्नो उपस्थितिलाई अघि सारेका हुन्।

साहित्कार, पत्रकार, बुद्धिजीवि तथा समाजसेवीहरुको एक भेलाबीच आकाश खोज्दै जाँदा कृतिलाई कार्यक्रमका अध्यक्ष तथा नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई र विशेष अतिथि किरात राई यायोक्खा तथा आदिवासी जनजाति महासंघका अध्यक्ष नरहाङ राईले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो।

सोही अवसरमा कथाकार प्रदीप कन्दङ्वा, गीतकार तथा उपन्यासकार रामकृष्ण बान्तवा, अनेसास हङकङका अध्यक्ष तथा एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू, स्वतन्त्र पत्रकार राई चन्द्र दुमी, आदिवासी जनजाति महासंघका महासचिव तथा सनराईज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ, एभरेष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक किसन राई, लेखक इन्द्रसिंह राई, भोजपुर समाज हङकङका अध्यक्ष बसन्त निरौला, सुनकोशीका प्रबन्धक तथा नेपाल च्याम्बर्स अफ कमर्सका अध्यक्ष तेजबहादुर राई, अतिथिहरु र नेपालबाट आउनुभएकी मिथिला राईलगायतले नरजीत राईको नयाँ कृति आकाश खोज्दै जाँदा प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना मन्तव्य दिएका थिए।

विमोचन कार्यक्रमको सञ्चालन प्रेम राईले गर्नुभएको थियो।

तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 42%

15 comments April 5th, 2007

अनेसासद्वारा वासिंटन डिसीमा देवकोटा जयन्ती

एचकेनेपाल डट कम
वासिंटन डिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिंटन डिसीले २००४-२००५ का लागि सर्वोत्कृष्ट पुरस्कार वितरण एबम् महाकवि देवकोटाको ९७ औं जयन्ती विभिन्न सांस्कृतिक र साहित्यिक कार्यक्रमका साथ भर्जिनिया स्थित जर्ज मासन विश्वविद्यालयको जोन्सन केन्द्रको हलमा भव्यताका साथ सम्पन्न गर्‍यो।

अनेसासका अध्यक्ष मोहन सिटौलाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार सो कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष प्रा मोहन सिटौलाद्धारा गरिएको थियो । अनेसास की कोषाध्यक्ष कल्पना सत्याल द्धारा स्वागत मन्तव्य गरिएको सो कार्यक्रममा सर्वोत्कृष्ट पुरस्कार विजेता गोपाल पराजुली एवं विभिन्न विधामा पुरस्कृत हुनुहुने कमला सरुप, प्रमिला शर्मा, वन्या झा, ज्ञानेन्द्र गदाल, भरत भारद्धाज, लक्ष्मण गौतम र शाश्वत पराजुलीलाई अमेरिकाका लागि नेपाली राजदूत केदारभक्त श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको थियो । सुमन तिम्सिना र गोपाल रेग्मीद्धारा संचालित उक्त पुरष्कार कार्यक्रममा विजयी कृतिहरुमाथि डा हरिराज भटर्राई, सीता पाण्डे, डा. हरि भट्टर्राई , गोविन्द गिरी प्रेरणाले समालेचना गर्नु भएको थियो भने समालोचक एच बी भण्डारी प्रभातले नेपाली आप्रवासी लेखन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तर्क्रिया र पुरस्कार वितरण पश्चात् लेखकहरुले आ आफ्ना मन्तव्य प्रकट गर्नुभएको थियो । सो क्रममा कवि गोपाल पराजुलीले स्रष्टा र द्रष्टाहरु मानवीय चिन्तनका स्वतन्त्र किसान र संवाहक हुन् भन्नुभयो । महामहीम राजदूत केदारभक्त श्रेष्ठ तथा नेपालका पूर्व संयूक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि मुरारीराज शर्माले अमेरिकामा रहेका नेपाली समुदायलाई अनेसास एवं अन्य समुदाय मार्फ एकिकृत र संवृद्धशाली बनाउन ठोस सहयोग गरे बापत १४ जना प्रतिष्ठित व्यक्तित्वका साथै प्रशिद्ध समालोचक शिवप्रसाद सत्याल तथा प्रा.मोहन सिटौलालाई उच्च मूल्याङ्कनका साथ सम्मान गर्नुभएको थियो । त्यसरी सम्मानित व्यक्तिहरुको नाम यस प्रकार छः

गोपाल रेग्मी, अनुप पहाडी, डिबि तामाङ्ग, नोरा थापा, सरोज प्रजापति, टिका पुन, मोहन थापा, वासु श्रेष्ठ, सारङ्गा श्रेष्ठ , अमोद कटवाल, विदुर गुरुङ्ग, हृयान्स् स्वायर, पुरु सुवेदी, किरण सिटौला

कार्यक्रममा गायक खेम संग्रौला र मन्जु संग्रौलाले महाकविद्वारा रचित मुनामदनको गीत गाउनुभएको थियो भने गायिका , विजय शाहाले शास्त्रीय तथा जयन्ती माला खनालले आधुनिक गीत गाएर दर्शकहरुलाई मनोरन्जन गराउनुभएको थियो । साथै यसै संस्थाद्वारा अमेरिकामा संचालित नेपाली विद्यालयका विद्यार्थीहरुले स्कूलकी अध्यक्ष श्रीमती निभा प्रधानको सहयोगमा नृत्य र गायन प्रस्तुत गरेका थिए । मोती समस्यापूर्ति सिटौला कविता प्रतियोगीतामा प्रतियोगी र अप्रतियोगी कविता वाचन कार्यक्रममा पुरुसोत्तम सुवेदी, कमला प्रर्साईं ,राजाराम पौडेल , निरञ्जन भट्टर्राई लगायतका कवि कवयित्रिहरुले कविता वाचन गर्नुभएको थियो, जसमा राधा पौडेल प्रथम, टिका पुन ,दोस्रा , गोपाल रेग्मी तेसा्र र डिबि तामाङ्ग चौथा हुनु भएको थियो । सो पुरष्कार बयोबृद्धा मनमाया सिटौला द्धारा प्रदान गरिएको थियो । वहांले सँगिनीका केही गीतहरु पनि गाउनु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष्य एवं नेपाली प्रवासी लेखकका अग्रज उपन्यासकार होमनाथ सुबेदीले १४ वर्षेखि अनवरत गरिरहनुभएको योगदानको सबै वक्ताले कदर गरेका थिए ।

सो कार्यक्रममा गत जुलाइ महिनामा भानुभक्त जन्म जयन्तीमा सम्पन्न भएका भानु स्मृति भबिल प्रतियोगिताका विजयी टिमहरु क्रमश बाल्टिमोर ए र काली गण्डकीलाई कप सहित पहिला र दोस्रा नगद पुरष्कार, सोही भानु कार्यक्रमको गोरखबहादुर थापा कविता प्रतियोगितामा प्रथम, दोस्रा र तेस्रा हुने माल्लिका शाक्य, नारायन अधिकारी तथा टिका पुन अनि त्यस्तै गरी बाल कविता प्रतियोगितामा प्रथम, दोस्रा र तेस्रा हुने श्रुति मुक्तान, दक्षिण तामांग, तथा पुकार सुवेदी लाइ पनि नगद पुरष्कार दिइएको थियो ।

संस्थाका पूर्व अध्यक्ष भीम रेग्मीले संचालन गरेको सो कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका वर्तमान अध्यक्ष प्रा मोहन सिटौलाद्धारा सबै अतिथीहरु, कवि , लेखक, कलाकार, गायक, बक्ता सहयोगी ,तथा उपस्थित जनसमुदाय र जर्जम्यासन युनिभर्सिटिको नेपाली विद्यार्थी यनियन लगायत सम्बन्धित सबैलाई धन्यवाद मन्तव्यका पछि कार्यक्रम विधिवत विर्सजन भएको थियो ।

Popularity: 38%

1 comment November 9th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

Top Commenters