Archive for September, 2005

गीत - कमलाकान्त आचार्य

- कमलाकान्त आचार्य

फेरी आज कोही आयो मनको तरेलीमा
ढकढकाइ दिलको ढोका बास माग्यो परेलीमा

सुस्तरी शितल पवन बनी आयो की
गर्मीमा साउने झरी बनी आयो की

कसरी आयो कुन्नी भेटें मनको मझेरीमा
ढकढकाइ दिलको ढोका बास माग्यो परेलीमा

किरण पुणिर्माको यँहा छायो की
उषाले जीन्दगीको बहार ल्यायो की

अनायासै उज्यालो भो सून्य मनको अँधेरीमा
ढकढकाइ दिलको ढोका बास माग्यो परेलीमा

फेरी आज कोही आयो मनको तरेलीमा
ढकढकाइ दिलको ढोका बास माग्यो परेलीमा

भीयना बिश्व बिद्यालय
भीयना अष्ट्रिया

Popularity: 39%

Add comment September 30th, 2005

जोड्न बिर्स्यौं ( कविता) - राकेश कार्की

- राकेश कार्की

हामीले जोड्न बिर्स्यौं
हरेक पल घटाइरहेछौं
औंला भांची भांची
नेपाली घटाइरहेछौं

नेपाली जन्मनै दिंदैनन्
जन्मन्छन् पनि मर्नलाई
एक पेट खाने मेलोमा
जहानै एम्बुसमा पर्नलाई

भ्रष्ट देशद्रोही अत्याचारीलाई
क्रान्तिकारीको गोलीले छुंदैन
दुःखी ओत लाग्न नपाउनेलाई
खेदी खेदी नमारी छोड्दैन

हामीले गुन्न झन् बिर्स्यौं
तेरो मेरो भाग लगाई रहेछौं
नेपाल आमाको मुटुलाई
खुकुरीले भाग लगाई रहेछौं ।।

राकेश कार्की
विन्डसर विश्वविद्यालय, क्यानाडा

Popularity: 42%

2 comments September 30th, 2005

गजल - परिहास सुब्बा

- परिहास सुब्बा

मन बुझाउन मनका कुरा पानानेर कोरी हेरें
एक्लै भेट्दा गल्ली तिर उन्को मन चोरी हेरें

जिस्काउंथे हजुरबा मंसिर अब आयो भनी
मैले पनि मेरो पालो जमिन्दारकी छोरी हेरें

भाउजु दाजु जिस्काउंथे हांस्थे किन भने
आफू कालो भए पनि बुहारी चाहिं गोरी हेरें

बाबा आमा लखतरान् भाई बहिनी हैरान्
भन्छन् मैले बुहारी त नक्कचरी मोरी हेरें

Popularity: 39%

4 comments September 29th, 2005

म मातें (कविता) - भोगेन ‘एक्ले’

- भोगेन ‘एक्ले’

म मातें आज
सँधै जाँड पिएर मात्ने म
आज लाज पिएर मातें
घिन पिएर मातें
ए हङकङ,
तिम्रो अपमान पिएर मातें ।

मेरो जात अब नचल्ने भो तिम्रो भान्सामा
टाढाको कुरै छाडौं, लाग्यो तगारो छिमेकैमा
थुइक्क,
कुन दिनमा भासिएंछु यो वालुवाको थुप्रोभित्र
आधा यता आधा उता परें आज अलपत्र
त्यसैले मातें, म मातें आज
ए हङकङ,
तिम्रो छुवाछुत पिएर मातें
आफ्नै लाचारी पिएर मातें ।

म मातें आज
सँधै जाँड पिएर मात्ने म
आज लाज पिएर मातें
घिन पिएर मातें
ए हङकङ,
तिम्रो अपमान पिएर मातें ।

म मातें आज
शीरै थेग्न नसक्ने गरी मातें
खुट्टै नटेक्न गरी मातें ।

Popularity: 39%

4 comments September 28th, 2005

बौलाहाको बखान ! (कविता ) - शिव प्रकाश

- शिव प्रकाश

प्रभु ! म गरीव त छदैं थिएँ
हुँदा हुँदै अहिले तन्नम् भएँ
मेरो र्सवस्व हरण भयो
खोसिदाँ-खोसिँदा
अलिकति स्वतन्त्रता बचेको थियो
त्यो पनि हरण भयो,
अलिकति मौलिक हक बाँकी थियो
त्यो पनि निर्मूल भयो
एक त्यान्त्रो जनअधिकार बाँकी थियो
त्यो पनि प्रभुको कृपाबाट चुँडियो
गरीव नै भएता पनि
नागरिक भएर बाँच्न पाउँदा
केही बिषेक थियो,
दर्जा विहिन रैतीमा झरेपछि
त्यो पनि समाप्त भयो ।
प्रभु ! अब बाँच्ने इच्छा
अलिकति बाँचेको छ
त्यो पनि कतिन्जेललाई हो ?
प्रभुकै हातमा छ !

प्रभु ! हजूरले भरखरै रोपेको
त्यो बुढो सिमलको रुखलाई
हजूरका दूतहरुले सीधा देखे पनि
म त्यसलाई बाङ्गो देख्दैछु
प्रभु ! किन हो थाह छैन ?
मेरो गर्धन चिलाएर हो कि,
म बौलाएर हो ?

प्रभु ! मैले पनि त्यही ‘कखरा’
त्यही देबनागरी
त्यही राष्ट्रिय गीत पढेको हूँ,
आज कसरी म,
अराष्ट्रिय शिक्षाको विद्यार्थी भएँ !
थाह छैन प्रभु !
म बौलाइसकेको मान्छेले
राष्ट्रवादी शिक्षा कसरी पढ्ने हूं !

हो, प्रभु ! म बौलाए जस्तो लाग्दैछ
पानी देख्दा भाग्न मन लाग्छ,
आगो देख्दा जुध्न मन लाग्छ !
तन्नम् भएपछि मर्नुभन्दा पहिले
बहुलाउनु नै पर्दो रहेछ ।

प्रभु ! अहिले म हजूरलाई देवता होइन,
दैत्य जस्तो देख्न थालेको छु
प्रभुहरु जस्तो देवतालाई देखेर
बौलाहा कुकुर जस्तो भुक्न थालेको छु
हो प्रभु ! म बौलाएकै हो,
नत्र देवतालाई किन दैत्य देख्छु ?

हरैंचा/मोरङ, हालः बोष्टन/ अमेरिका ।
जून १३, २००५।

Popularity: 39%

3 comments September 25th, 2005

कुमारी प्रवाह (कविता) - टंक सम्वाहाम्फे

- टंक सम्वाहाम्फे

बग्छु समय
अबिरल,अबिछिन्न
नदिको किनारै किनार
उमेर
थप्दै
जीवन सागरमा र
उर्लन्छु छाल अनगिन्ति
र पछारिन्छु ज्वारभाटा त्यसैगरी
मात्रै टाढा पुग्नुको अनुभूति
संगाल्दै
वढ्छ वढीरहन्छ समय रथ
अनि
यात्रा आरोह अवरोहमा
भेट्छु थिग्रीएको
धमिलो विगत र निधारमा डामीएका समय रेखाहरु

रित्तिए जस्तो भोग्छु प्रताडीत जिवन
र छाम्छु असफल
गन्तब्यका गोरेटाहरु
तर ओझेल परेका दिनहरुले
बिनासित्ती
चाट्छ मनहरु
आकांक्षाहरुको मृत्युमा
खण्डहर वनेको छाती
शोकाकुल जिजीविषा
अङकुरीन खोजे पनि
ओइलेको छ त्यसै खडेरीले
वाध्यताको पासोमा
फसेको म
शिकार
खै काहा उम्कन सकेको छु र त्यहावाट
वरु निसासीएको छु झनझन
व्याकुलताले
र पनि हिडाए कै छु पाइला
अक्करै अक्कर
निर्जन टापूहरुमा
के थाहा र -
त्यहा पनि समयको धारीलो खुडाले
छप्किनु पर्छ भनेर
नियतीलाई
स्विकार्नु वाहेक
उपाय नै के छ र -
वाच्छु वर्तमान कोतार्दै
घाइते सपना
हास्छु खित्का छोडेर अहंकार
मान्छेले मान्छे पहिचान
विर्सीएको व्रम्हाण्डमा
फ्याक्छु प्रतिजिवन
कोलाहलमा
छरपस्ट
अनि भत्किन्छु आस्था
र थिचिन्छु पीडाका अदृश्य बोझहरुले

बग्छु समय
अबिरल,अबिछिन्न
नदिको किनारै किनार
उमेर
थप्दै
जीवन सागरमा र्
उर्लन्छु छाल अनगिन्ति
र पछारिन्छु ज्वारभाटा त्यसैगरी
मात्रै टाढा पुग्नुको अनुभूति
संगाल्दै
वढ्छ वढीरहन्छ समय रथ
अनि
यात्रा आरोह अवरोहमा
भेट्छु थिग्रीएको
धमिलो विगत र निधारमा डामीएका समय रेखाहरु
तर
कुमारी प्रवाह
छलाङ्ग मार्दै
वग्छु निरन्तर….निरन्तर…..
एउटा जिवित धड्कनको
मुहान नसुकुन्जेल

Popularity: 41%

2 comments September 24th, 2005

कविताको कर्म (कविता) - विक्रम सुब्बा

- विक्रम सुब्बा

हरेक मान्छे भित्रभित्र सँधै कविता लेख्छ
कविताका अक्षरहरूको कर्म -
सौन्दर्यको शिरदेखि पाउ सम्म जीवन भर्नु हो
‘जीवन’, सिम्फोनीहरूका छाल उराल्ने समुद्री वगैँचा हो
जहाँ बिछट्टका मोतीहरु प्रेमको सागरमा फल्छन्
गहिराईका मोतीहरू पिरतीको धागोमा लस्करै उनेर
ताजमहलतिर बढी रहेको प्रेमीलाई
अचानक, सम्राटको पानीजहाजबाट उत्रेको
समुद्री डाँकुले मोतीको माला लुटेर लग्यो
गीतभित्रको कर्णपृय संगीत लुटेर लग्यो
तर माला, समुद्री डाँकालाई छक्याएर
प्रेमीकाको छातीमा जुलुस भएर लर्किन पुग्यो
कविता, त्यही मालाको एउटा दाना हुनु पर्छ
आँधीको अनुहारमा चट्याङको आँखा हुनु पर्छ कविता !

हरेक काम कुराले एक टुङ्गो ताक्छ
कविताका लयहरूको निसाना –
हाड-छालाभित्र सुन्दर जिन्दगीको रुप हुल्नु हो
‘सुन्दर जिन्दगी’, तरेलीहरुले अँगालो मार्दा बनेको थुँगा हो
थुँगा जो छ –
पातहरूले काँडाका छड्के आँखा छल्दै-छल्दै
माथि कतै हाँगाको धुरीमा पुगेर मुस्कुराउँछ
घाम-जूनसँगको प्रितीका कुरा मनभरि खेलाउँछ, र -
सुगन्ध-लिखित प्रेमपत्र वतास हस्ते पठाइरहेको हुन्छ
ऐन मौकामा, पत्थरजस्तो मानिस फूललाई निमोठ्छ
रगतपच्छे फूलको फक्रँदो जवान लास लगेर
एक कोठाको बन्दी देवताका पाउमा चढाउँछ
मन्दिर, जवान फूलको हत्यामा शोकाकुल आँशु झार्छ
हातमा अस्त्रहरू उचालेर उभिएको उग्र देवता
न त्यो मानिसलाई सजाय दिन सक्छ
न फूललाई नयाँ जिन्दगी दिन सक्छ
कविता, फूलका हत्याराहरू विरुद्ध
हतियारमा धारिलो धार भएर सामेल हुनु पर्छ

हरेक कविता आफ्नै हत्केलाले आकाशमा
अलंकारका जगमगाउँदा ताराहरू थप्न चहान्छ
‘ताराहरू’को लास्कर
अँध्यारोसँग जुझ्ने पल्टनको आकाशगंगा हो
जहाँ कैयौँ ताराहरू दिनै शहीद भएर झर्छन्
मोर्चाबाट भाग्नेहरू पो दरवारमा टाउको घुसार्छन्
असंख्य योद्धाका लावा-लस्कर हर-साँझ सामेल हुन्छन्
आकाशगंगामा लाखौँ योद्धाले आठै प्रहर
संघर्षलाई सम्हालेर पुस्तौँ-पुस्तादेखि चालु राखेका छन्
कविता त्यही आकासगंगामा एक थप तारा हुनु पर्छ
ती योद्धाहरूको फौजमा एक अर्जुन हुनु पर्छ

कविताको अभिष्ट –
सभ्यताको मुटुमा ढुकढुकी भर्नु हो
‘ढुकढुकी’हरू, रगत र आँशुमा नुहाइरहेका आत्मा हुन्
आत्माहरू, जो दिनरात ढुकढुकी गाएर गुजारा गरिरहेथे
ढुकढुकीहरू, जो नयाँ युगको हुरी-वतास भएर उर्लिरहेथे
देख्दै छु, सहस्र धड्कनलाई ताकेर चिसा बन्दुकहरू
टुरिष्ट भिसामा समुद्र पारीबाट गौचरनमा उत्रिरहेछन्
तर धड्कनहरू सँधैझैँ -
नयाँ जङ्गेका गन्हाउँने सास विरुद्ध मोर्चाम सामेल छन्
कविताले त्यही मोर्चामा बुलन्द शंख फुक्नु पर्छ
बह्मास्त्र भएर निरंकुसताको गर्धन ताकेर घुँएँत्रिनु पर्छ

हो, हरेक मानिस भित्रभित्र सँधै कविता लेख्छ
हामी सबै कवि हौँ
र मुलुक, हामीले रचेको एक काव्य हो
‘काव्य’, चार-जात छत्तिस-वर्णका सर्गहरूले सजिएको वगैँचा हो
वगैँचा, जहाँबाट हरेक रैथाने विरुवाले
मुलुकको फोक्सोमा दिनै अक्सिजन तिरिरहेछन्
ठीक यसै बखत एक पुल्पुलिएको उदण्डले यो बगैँचामा
मात्र एक थरीलाई अध्यादेशका हातले अँगालो हालेर
अरु जातका विरुवालाई सम्विधानको थोत्रो बन्चरो हानिरहेछ
थरिथरिका मन्त्र गाउँने धाराहरूका नागार्जुनिय क्यानभासमा
आफ्नै मात्र ‘धारा’को पनीले एक-रङ्गे इन्द्रेणीको तस्बिर लेखिरहेछ
र त जात-जातका धाराले मुखबाट मसाल ओकलिरहेछन्
कविताले त्यही मसालमा राँको भएर सामेल हुनु पर्छ
युगलाई कालो कात्रोमा लपेट्ने तानाशाहलाई स्वाहा पार्न
हवन-कुण्डमा अग्नी भएर थपिनु पर्छ कविता !

Popularity: 38%

1 comment September 23rd, 2005

पुरानो अंकको लेख रचनाहरु..

पुरानो अंकको लेख रचनाहरुका लागि यहां क्लिक गर्नुहोस् ।

Popularity: 44%

Add comment September 21st, 2005

आक्रमण (कविता)- राकेश कार्की

- राकेश कार्की
विदेशमा आयो
भाषामा आक्रमण
स्वदेशमा बस्यो
जीवनमा आक्रमण

विदेशमा आफूलाई
अर्कैको सांचोमा ढाल्नुपर्ने
स्वदेशमा आफूलाई
अर्कैको कमाण्डमा चाल्नुपर्ने

विदेशमा जीवन छ
तर मन कहां मान्छ र ?
स्वदेशमा माया छ
तर रमाउन कहां पाईन्छ र ?

विदेशमा बडप्पन छ
तर आफ्नोपन कहां छ र ?
स्वदेशमा संस्कार छ
तर सपनी विपनीमै मरिने डर

विन्डसर विश्वविद्यालय, क्यानाडा

Popularity: 38%

1 comment September 20th, 2005

गजल - विनय लामा

- विनय लामा
जिउने चाह हुदां हुदै धेरै पटक मरेको छु।
तिम्रो लागि जिन्दगीको तारे भीर झरेको छु।।

सुनिदेऊ सारंगीको एक मधुर ध्वनी,
अन्तिम पटक जिन्दगीको मीठो धून भरेको छु।।

पाउन सकिन त्रि्रो माया लाख कोशीश गरें,
तिम्रै लागि साना ठूला जंघार तरेको छु।।

नजिक नआऊ बिन्ति छ, घाऊ बिथोल्याउन,
तिमी देखि धेरै टाढा डेरा सरेको छु।।

चाहिएन झुठा बाचा अनि झुठा कसम,
एक्लै बांच्न देऊ मलाई बिनय गरेको छु।।

Popularity: 40%

8 comments September 20th, 2005

रगत पर्व ! (कविता) -शिव प्रकाश

-शिव प्रकाश

समयलाई घिच्याउँदै
बन्दुक निरन्तर अघि बढिरहेछ
निर्धो समय लर्खराउँदै
बन्दुकका पछि-पछि घिस्रिरहेछ
अन्धो मस्तिष्कविहिन
विबेकहिन विचारशून्य बन्दुक
कुनै पूर्णीमालाई पर्खदैन,
दिनहूँ रगतको होली खेल्दै
रगत पर्व मनाईरहेछ ।

रगत पर्व धुमधाम भइरहेछ,
खोलाहरु आफैं रगतले नुहाइरहेछन्
बादलहरु रगत पहिरेर उडिरहेछन्
क्षितिजहरु रगत पोतेर रंगिएका छन्
आकाशहरु रगत ओछ्याएर बसेका छन्
यो धूमधाम् विवशताका बीच
बन्दुकहरु दिनहूँ रगत पर्व मनाइरहेछन् ।

जंगलहरु आफैं रगतमा लुकिरहेछन्
पोखरीहरु रगत पिएर टन्न भएका छन्
हिमालहरु रगत ओढेर लमतन्न छन्
पहाडहरु रगतले सिँगारिन वाध्य छन्
यो घमाशान विवशताका बीच
बन्दूकहरु दिनहूँ रगत पर्व मनाइरहेछन् ।

वर्षाहरु निरन्तर रगत छादिरहेछन्
मन्दिरहरु रगतले पखालिदैछन्
स्तूपहरु रगतले माझिदैछन्
देवताहरु टुलुटुलु रगत पर्व हेरिरहेछन्
यो घनघोर विवशताका बीच
बन्दुकहरु दिनहूँ रगत पर्व मनाइरहेछन्
धूमधाम् रगत पर्व दिनहूँ मनाइरहेछन् ।

हरैंचा/मोरङ, हालः बोष्टन, अमेरिका।

Popularity: 38%

1 comment September 20th, 2005

गीत- कमलाकान्त आचार्य

- कमलाकान्त आचार्य

सायद सकिन मैले मेरो चाहाना बुझाउन
या खोज्यौ तिमीले बुझीकनै बुझ पचाउन

रात भरी जागी जागी कति पत्र लेखें
कुनै शब्द बिझउला भनी केरें मेटें

पत्रै पठा“ए मैले सकिन दिल चिरी देखाउन
या खोज्यौ तिमीले बुझीकनै बुझ पचाउन

चोखो माया दिदै जादा म अविश्वासी भंए
त्रि्रो डोली उठी गयो हेरेको हेर्‍यै रहें

अविश्वासको कालो बादल सायद सकिन हटाउन
या खोज्यौ तिमीले बुझीकनै बुझ पचाउन

सायद सकिन मैले मेरो चाहाना बुझाउन
या खोज्यौ तिमीले बुझीकनै बुझ पचाउन

भीयना बिश्व बिद्यालय
भीयना अष्ट्रिया

Popularity: 48%

1 comment September 20th, 2005

छोराको पत्र आमालाई ( कविता)- कमल खनाल

- कमल खनाल
नरोइ बसे ए, आमा तिमी
म फर्की आँउला
छोराको पौरख कोसेली स्वरुप
बाडेर खाउँला ।

सम्झेर आमा, भएर टाढा
धुरुक्क मन रुन्छ
आमाले सम्झे निद्रामा पनि
बाडुकी लाइरहन्छ ।

के गरौं आमा बाँच्नका निम्ति
म टाढा भएँछु
आमा कै निम्ति केही गर्छु भनि
यो दुःख सहेछु ।

नविर्से आमा सम्झना सधैं
आइरहोस् छोराको
कुरेर बस्नु समय हुन्छ
दशैं र तिहारको ।

ए, आमा ! सधैं नझारे आँसु
सम्झेर छोरालाई
फिर्ने छन् दिन, पर्दैन बस्न
सधैं न नै दुःख पाई ।

(हालः बोष्टन, अमेरिका ।)

Popularity: 41%

2 comments September 20th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

September 2005
M T W T F S S
    Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

Top Commenters