Archive for October, 2005

गजल - परिहास सुब्बा

- परिहास सुब्बा

अलिकती के चाखे थें मात्तिएर फेरी पिएं
झ्याम्पुतली सामु पर्दा ठांट्टीएर फेरी पिएं

यती पिउंदै के जान्छ र गए यत्रो खांचै सिती
सारौंला तिर्ने तिथी मिती आंटि्टएर फेरी पिएं

कोट माथी टाई छ अनि टेबुलमा मोबाईल राखी
घरी घरी चश्मा मिलाई झांटि्टएर फेरी पिएं

भताभूंग लथालिंग देखे पछि जीन्दगी यो
मैले पनि जीवन देखी आत्तीएर फेरी पिएं

आफू संगै कसम खाएं फेरी खान्न भनी तर
हरेक साझ प्यास संग ढांटि्टएर फेरी पिएं

२७,अक्टोवर,२००५

Popularity: 43%

18 comments October 29th, 2005

मुक्तक -भोगेन ‘एक्ले’

-भोगेन ‘एक्ले’

जिन्दगी सारै झुरपट्याँस भो ।
थोरै मात्र पुग्ने, बाँकी सब आशै आश भो
घर छाडी हिंडेको म, महलको तलासमा
जाहै, आज कुटीको बास भो ।
खै, मरें भनौं जिउँदै छु
बाँच्नुको नाम फगत फेर्नु सास भो
लौन, जिन्दगी सारै झुरपट्याँस भो ।

Popularity: 48%

10 comments October 29th, 2005

गजल -बिनय लामा

-बिनय लामा

थाहा थिएन यस्तै रहेछ यहांको रीत,
खेल न थियो हारें, भयो तिम्रो जीत।।

बसिरहें चट्टान सरि उनकै पर्खाइमा,
बसन्त फर्केन जिन्दगीमा, परिरह्यो शीत।।

फिका लाग्छ तिमीबिना, हर दिन र सांझ,
अझै पनि मरेको छैन, बांचिरहने धीत।।

नहंसाऊ अब मलाई, हांस्न छाडिसकें,
गाउन देऊ एक्लै मलाई बिरहका गीत।।

मुटु भरि उनको माया, तस्बीर आंखाभरि,
कति सांचु हृदयमा उनको झूठो प्रीत।।

Popularity: 39%

8 comments October 26th, 2005

रानीपोखरी ( कविता)- देवचन

- देवचन

एउटा रगं खुइलिएको दरवारजस्तो
फिक्का ! खल्लो !
एउटी बिधुवाझैं सेतिएर
बेरेर एउटा श्वेत फरिया !
एउटा कैदीझैं थुनिएर
बाधिंएर जन्जीरले,पर्खालले !
एउटा कोलाहलले घेरिएर
विवशता ! लाचार !
बिषाक्त कलमसहरुले पुरिएर
गन्ध ! मयल !
ठ्वास्स पोल्ने वायु !
एउटा घाइते आशिकझैं
छट्पटिएर ,
आदिल रोएर ,
बहाएर आशु !
एउटा खुइलिएको दम्भ
मेटिएको शान

बिलाएको गुमान लिएर ,
बतासिएर आवेगले
रिसाएर ,
बाफिएर,
आगो बनेर
आफ्ना कुण्ठाका इन्कलाबहरु
चिच्याएर पोख्दै छ - रानीपोखरी ।

प्रतिकृया : nilo.sagar@gmail.com

Popularity: 38%

5 comments October 26th, 2005

लांकुरीको रुख अनि म ( कविता)-आशा भुटिया

-आशा भुटिया

आज म फेरि अनायसै
त्यही जमीनमा उभिन आएं
जहां वर्षौं वर्षपहिले
तिमीले मलाई छाडेका थियौ । सबै सबै उस्तै त रहेछन् !
हामीले सुस्ताउने चप्लेटी ढुंगा
त्यो त्यसरी नै पल्टिरहेकोरहेछ,
जसरी हाम्रो स्वागतको लागि विगतमा त्यो लम्पसार परिरहन्थ्यो ।
हावाको सुरिलो वेग पनि
उसरी नै मन्दचालमा चल्दोरहेछ,
जसरी हाम्रो मिलनमा रमाएर
झनझन अधीर र चञ्चल बनी
सुस्तरी सुस्तरी हामीलाई स्पर्षगरिरहन्थ्यो ।
हामीले ऐंसेलु टिप्ने ऐंसेलुघारी पनि
केही थोरै पातलो मात्र भएछ,
तर ऐंसेलु त त्यसरी नै फल्दोरहेछ
जसरी तिमी र मैले कांडाको पर्वाह नगरी
टिपेर खांदाको बेला फल्ने गथ्र्यो ।
अनि पारि डांडाबाट खसिरहने झरना
त्यो उसरी नै उलूदै झर्दोरहेछ,
जसरी हाम्रो हृदयलाई पुलकित पार्दै
त्यतिखेर अनवरत बगिरहन्थ्यो ।
पश्चिमतिरको क्षितिज पनि उस्तै रहेछ
जसरी विगतको गोधुली सांझमा
हाम्रो तडपाईलाई निहारी निहारी
उपहासमा त्यो हामीप्रति हांस्ने गरथ्यो ।
तर अफशोच !
यो लांकुरीको रुख मात्र त्यस्तो रहेन,
यो त ज्यादै रुग्ण र बुढो भएछ !
यस्मा त पातहरु नै लाग्न छाडेछ !
मेरो मनभित्रको खडेरी झैं
यस्को भित्रमा पनि खडेरी लागेछ ।
मेरो अन्तरभित्रको व्यथाहरु जस्तै
यस्को भित्रमा पनि रोगहरु लागेछ ।
मैले उदाशीमा जिन्दगी बिताए जस्तै
यस्ले पनि पतझडमा समय बिताउनु परेछ ।
मेरो जिन्दगीको एक्लोपन झैं
यो पनि एकलासमा एक्लै परेछ ।
आखिर तिमीले चाहे झैं
यो लांकुरीको रुख र मेरो जीवन
एउटै ढांचामा रुपान्तरित भइसकेछ ।

Popularity: 49%

24 comments October 26th, 2005

म र सपनाहरु (कविता) - टंक सम्वाहाम्फे

- टंक सम्वाहाम्फे

कुमारी सपनाहरु एक हुल
विहानीले
घुम्टो नउघार्दै
वाधिन खोज्छन् म संग
आलिङ्गनमा

यात्रामा
पाइला नघिसार्दै
अनन्त वन्दै जान्छन् तिनीहरु

मन
अस्तित्वको खोजीमा
धुइपत्ताल
फैलाउछ साम्राज्य
र रोज्छ आस्थाले
एउटा देश
तर समयको पछि पछि
दगुर्दै
हैरानीले भिजेको छु निथुरु्क्क
तै पनि विश्वास आढेर
जीवन
संगालु लाग्छ त्यसरी नै
जसरी
अरुहरुले संगाल्छन्
तर आकृति काहा छ र -
सपनाको
मात्र भ्रम रहेछ
सपनाको तान बुन्नु पनि
परदेशीएको घामलाई देखेर
नियास्रीन्छु त्यसै
पहाड जत्रा
विवशताहरुले कुल्चे पनि
अङकुरीन खोज्छु खण्डहर छातीमा
तर छोप्छ निर्घात
दुखपीडाको तुषारोले
तर पनि उत्साह रोपेर
फक्रिने रहर
अझै
केवल
मिथ्या मात्र वनेको छ यहा
अन्जान क्षणहरुको नदीमा
वग्छु अर्को दिन
अध्यारो बढार्दै मिर्मीरेमा
तव पुन
कुमारी सपनाहरु एक हुल
विहानीले
घुम्टो नउघार्दै
वाधिन खोज्छन् म संग
आलिङ्गनमा

यात्रामा
पाइला नघिसार्दै
अनन्त वन्दै जान्छन् तिनीहरु

Popularity: 39%

3 comments October 24th, 2005

ओम् श्री गणेशाय नमः (कविता ) -राकेश कार्की

-राकेश कार्की

सीमाना हराएको मेरो देश
तीनतिर खुल्ला छैन बन्धन
त्यसैले सन्तुलन हराएको छ
तानि रहेछ तीनतिर
हुंदाहुंदा बुद्धिजिवी नेताहरु पनि
उतै तानिन्छन् ..
प्रफुल्ल हुन्छन् त्यहांका
ठूलाठालुसंग भेट्न पाउंदा
लज्जावती फूलझैं चाउरिन्छन्
उनीहरुको पाउ मोल्दा
विर्सन्छन् भुसुक्क
आफ्नो स्वाभिमानलाई,
राष्टि्य पोशाकलाई,
राष्टि्य झण्डालाई,
अनि जन्मिएको हुर्किएको
आफ्नो नशानशा गांसिएको
मुटुभन्दा पनि प्यारो राष्ट्रलाई ।

दक्षिणले सधैं सताउंछ
बलजफ्ती हड्प्छ
कहिले कोशी व्यारेजलाई
कहिले टनकपुरलाई
कहिले सानो गाउंको
स्कूलको कम्पाउण्डलाई ।

सीमाना घेर्नलाई
बंधीलो बनाउनलाई
आवश्यक छ लडाकु योद्धाहरुको
टीष्टा कांगडा हाक्ने
वीर गोर्खालीका सपुतहरुको ।

त्यसैले आउ
नमारौं आफूले आफैलाई
बांचौं, सीमाना कोरौं
शुभारम्भ गरौं
सीमाना बेर्नलाई ।

ओम् श्री गणेशाय नमः ।।

विन्डसर विश्वविद्यालय, क्यानाडा

Popularity: 38%

Add comment October 20th, 2005

उ (कविता ) - कमलाकान्त आचार्य

- कमलाकान्त आचार्य

छर्केर काँडा मेरो बाटो भरी
उ चढदछे फूलको डोलीमा
छाडीसक्यो घोचाइको दर्दले दुख्न
काँडा टिप्दै फाल्दै म हिँडीरहेछुं

मनको खुसी लुटेर मेरो
उ हास्दछे बिजयको मुस्कान
सक्दिन ल्याउन कुनै शब्द ओठमा
मनको भाका बुझने म खोजीरहेछुं

रातको नीद खोसेर मेरो
उ देख्छे सपनी मीठो भविष्यको
दोष अव म दिउँ कसलाई
आफ्नै भाग्यलाई सरापी रहेछुं

उजाड बनाइ मेरो बसन्त
उ रम्दछे हरियाली बिचमा
कहाँ सकिन्छ सधैं जीउन यसरी
मरेर पनि बाच्ने नाटक गरिरहेछुं

- भीयना बिश्व बिद्यालय
भीयना अष्ट्रिया

Popularity: 37%

Add comment October 19th, 2005

देशले चढाएको बलि ! (कविता ) - शिव प्रकाश

- शिव प्रकाश

यसपालीको दशैंमा पनि
धरैले धेरैथरि बलि चढाए होलान्
आफ्ना मनोरथ पुरा गर्न
कतिले पञ्चबलि चढाए होलान्
कतिले गच्छे र भाकल अनुसार
अण्डा फूटाले होलान्
कतिले कुखुरा-परेवाका
घाँटी चुँडाले होलान्
कतिले बोका-राँगाका गर्धन
धारिला खुँडाले छिमले होलान्
सहस्र निर्दोष प्राणीको
निर्मम हत्या गरेर
सधैं झैं यसपली पनि बलि चढाउने
होडबाजी नै चलाए होलान्
आफ्ना इष्ट देव-देवीलाई प्रशन्न बनाएर
कतिले अभिष्ट इच्छा पुरा गरे होलान्
कतिका अझै बाँकी होलान्
पशु-पंक्षीबलिको यो होडबाजीलाई उछिन्दै
खै ! कुन देउतालाई खुसी बनाएर
खै ! कसको अभिप्सा पुरा गर्न हो ?
यसपालीको दशैंको कालरात्रिमा
देशले पनि एउटा बलि चढाएछ !
प्रेस स्वतन्त्रताको घाँटी निमोठेर ।

हरैंचा/मोरङ , हाल: बोष्टन/अमेरिका ।
अक्टोबर १५, २००५ ।

Popularity: 38%

2 comments October 17th, 2005

गजल - बिनय लामा

-बिनय लामा

आधार नबनाऊ तिमी मलाई,भत्किएको पूल हुं म।
आफैं भित्र तडि्परहने प्यासी काकाकूल हुं म।।

मनको सुन्दर बागभरि नसजाइदेऊ मलाई
सुबास छर्न नसक्ने, उखेलिएको फूल हुं म।।

नदेखाऊ रंगीन सपना, भो,भयो, पुग्यो,
जिन्दगीको भरोसा छैन, खडेरीको मूल हुं म।।

दिन नखोज बास मलाई दिलको मझेरीमा,
आथाम्य पीडा दिने बाणरुपी शूल हुं म।।

रित्तिएको जिन्दगीको परिभाषा के गरुं खै?
माथमा सजिने सिन्दूर हैन, पाईतालाको धूल हुं म।।

Popularity: 46%

1 comment October 16th, 2005

शान्तिको लागि आवाज (कविता)- आशा भूटिया

- आशा भूटिया

बन्धन तोडेर एकजोडी परेवाको
उभिएर निमुखाहरुको भीडमा
नीलो आकासलाई सेतो परेवाको
यौटा कोशेली फ्याँकेर मात्र
शान्ति कसरी पो आउँदो रहेछ र !

कलम समाउने हातमा बन्दुक,
इलम गर्ने हातमा बन्दुक,
नारीको कोमल हातमा बन्दुक,
अझ निरीहहरुको रक्षा गर्न प्रतिबद्ध
शासकहरुको हातभरि बन्दुक
मस्तिस्क र मन भरि बन्दुक,
मीठो आश्वासन फ्याँकेर मात्र
शान्ति कसरी आँउदो रहेछ र !

भयातुर औ आतंकित मानसिकता,
अनिश्चित भविश्यको दोबाटोमा
उभिएको थर्कमान समय,
एक अर्काप्रति संशय मात्र बाँकी
कोही निर्धक्क बन्न नसकेको क्षण,
झुटो मुस्कान फ्याँकेर मात्र
शान्ति कसरी आउँदो रहेछ र !

बरु उठौँ यौटा सुन्दर कल्पना बोकेर
मनहरु मिलाउँ स्वार्थले नछुट्याउने गरी
आपसमा हृदय भित्रैबाट बोलौँ
एकैशब्द र सुरमा निकालौँ
सदा सदा ‘शान्तिको लागि आवाज ‘ ।

याउ मा तेइ, हंगकंग

Popularity: 39%

8 comments October 16th, 2005

स्वर्गको खोजी (कविता) - राकेश कार्की

- राकेश कार्की, क्यानाडा

सगरमाथाको टोपी थाम्न सकिंन
दौरा सुरुवालभित्र अटाउन सकिंन
बुद्धको दृष्टिले हेर्न सकिंन
मादलको भाखा बुझ्न सकिंन

ढुङ्गेधाराको चिसो पानीले पनि
मन भित्रको तीर्खा मेट्न सकिन
शितल चौतारीमा मायालुसंग
गांसेको मायाप्रीति संगाल्न सकिन

बामे सर्दै लडीबुडी खेलेको
आमाको काख भुलिसकें
सुख दुखमा होष्टे हैंसे गर्ने
गाउंका साथी बिर्सी सकें

ती अतीत भए सारा अतीत
केवल म मात्र छु वर्तमान
मेरो बोली अर्कै मेरो घर अर्कै
केवल म मात्र मेरो पहिचान

धेरै सोंचे धेरै विचार गरें
एक्लै आफ्नो हस्तरेखा पढें
आज आफैलाई थाहा छैन
म स्वर्गमा चढें या स्वर्गबाट झरें

Popularity: 38%

4 comments October 10th, 2005

दशैंको सम्झना ! (कविता) - शिव प्रकाश

- शिव प्रकाश

पूजनीय बाबा-आमा !
वाध्यताका कठोर पर्खालहरु
यसपाली पनि तोड्न सकिन,
भगवान् जस्ता तपाईहरुको हातबाट
अक्षताको रातो टीको
यसपाली पनि थाप्न पाईंन ।

मेरा बृद्ध बाबा-आमा !
म टाढा भए पनि
मेरो श्रद्धाको निधार
आफू सम्मुख भएको सम्झी
विश्वासका जमरा पर्सेर
यो छोरालाई त्यहीबाट
भावनाको टीको लगाई दिनु होला !
भक्तिले भरिपूर्ण मेरो शीरले
हजूरहरुका चरणकमलमा
दण्डवत् गरेको सम्झी
कर्तब्यपरायणताको शुभाशिर्वचन दिनु होला !
छोरो टाढा भएता पनि
छोराको माया-ममता, स्नेह र श्रद्धा
आफूसंग सधैं रहेको सम्झी
यो छोराले चढाएको
आस्थाको भेटी
यसपाली पनि स्विकारिदिनु होला !
यसपाली पनि स्विकारिदिनु होला !

हरैंचा/मोरङ, हालः बोष्टन/अमेरिका ।

Popularity: 48%

Add comment October 9th, 2005

मेरो गाँउटोल (कविता) -विश्वास दीप तिगेला

- विश्वास दीप तिगेला

उमेर र परिस्थतीले
मलाई कहाँ पुर्‍याएछ कुन्नि
बुडापाकाहरु भगवान झै लाग्छन्
गाँउघरको शोभा इज्जत झै लाग्छ

तर, छिमेकी बाजे बोजु,
छिमेकी वडाबा, वडिआमाले
सधैको लागि मेरो गाँउ
भर्खरै छोडेर जानु भयो रे
त्यसैले आजकल मलाई
मेरो गाँउ बेरमाइलो र उराठ लाग्छ ।

आँगनमा सुकाएको बिस्कुन
अब कस्ले रुङ्छ होला ?
रोइ रहेकी सानी नानीलाई कस्ले फकाउंछ होला ?
सधै वडाले टेक्ने लौरी
कता पर्‍यो होला ?

बुडापाकाका अर्तिउपदेश
अब त गाँउघरले बिर्सिन्छ होला
त्यसैले मेरो गाँउटोल
मलाई बेरमाइलो र उराठ लाग्छ ।

ब्रुनाइ, २५ मार्च २००५

Popularity: 39%

1 comment October 9th, 2005

राजा, नेता र जनता (कविता) -भोगेन ‘एक्ले’

- भोगेन ‘एक्ले’, हङकङ

राजा,
हे अज्ञानु, वृद्ध बालक, हाँडिघोप्टे
तिम्रो ज्ञान कहिले छिपिन्छ बा
आफ्नै सन्तान सोत्तर पार्यौ
बुढेसकालमा महाराजा बनियौ
अझै पुगेन तिमीलाई ?
अब हाम्रो भाग पनि खोस्न खोज्छौ हगि !
खोस्नै मन छ भने
च्याब्जुको जस्तो पराक्रम नै देखाउने रहर छ भने
लम्क त, टिष्टा र काँकडामा पाइला टेक्न ।
जुरुक्क उठी भिर त बन्दुक
कालापानीबाट वैरी लखेट्न ।
अनि तिम्रो स्तुति गाउला,
हैन भने फूर्ति नलगाउ, गाउँ डुलेर, माला भिरेर ।
दुईचारवटा स्वानहरुलाई पुच्छर बनाएर ।
हा.. हा.. हामीलाई थाहा छ,
यस्ता तिघ्रे, कति बिग्रे बिग्रे, इतिहास साँचि छ ।
तिम्रो पनि काल हिंडिसक्यो यमलोकबाट,
केवल आइपुग्नमात्र बाँकी छ ।

अब नेता,
हे नेता, यता पाए यता, उता पाए उता !!
बल्ल खाँदैछौ भवसागरमा गोता ।
चाख्यौ, खुचि, अँ
राख्छौ कि अब पनि दुई नाउँमा खुट्टा ?
देखिसक्यौं हामीले तिमीहरुको बुता ।
भो, अब खुरुक्क पछि लाग
कि वार कि पारको बाटो लागिसके जनता ।
हैन भने सकियो काजि हो
तिमीहरुको वर्तमान
आउदैन भविष्य
मात्र बाँकी रहन्छ केवल भूता ।

अन्त्यमा जनता जनार्दन,
बज्दैन ढोल हातले, गज्जाले ठटाऊ
शक्ति के हो ? गोली कि बोली ?
बेला आयो अब तिमी देखाउ ।
दियौ खेप सबलाई, अब तिम्रो पाली ।
स्याबास, स्याबास जन हो
बजाउनै पर्छ लोकतन्त्रको ताली ।

Popularity: 40%

5 comments October 4th, 2005

गजल - बिनय लामा

- बिनय लामा

सपना फगत दर्पण हो, चर्किएर फुटि जान्छ।
जिन्दगी हो बेटुंगो यात्रा, दुई दिनमै छुटिजान्छ।।

अतृप्त ती मृगतृष्णा नसांचिदेऊ मनभरि,
तिम्रो जीबन तिम्रो हैन, पलभरमै लुटिजान्छ।।

माया चिनेर लगाउनू, हजार अर्थ छ यसको,
नचिनेमा रुन्छ अतित, कमलो मन टुटिजान्छ।।

Popularity: 49%

3 comments October 3rd, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

October 2005
M T W T F S S
« Sep   Nov »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

Top Commenters