Archive for September, 2006

लक्ष्मीप्रसादहरु मुनामदन लेख्छन् / लेखिरहन्छन् … - पशन तमू

(दुई बर्षअघि आजकै दिन अर्थात सेप्टेम्बर १ का दिन आतंककारी इस्लामिक लडाकु समूहले ईराकमा १२ निर्दोष नेपालीको घाँटी सेरेर अनि गोलीले भुटेर निर्मम हत्या गरिएको समाचार सार्वजनिक भएको थियो। पूरानो समाचार यहाँ छ। त्यही घटनाबाट मर्माहत भै केही दिनपछि लेखिएको यो कविता समसामायिक ठानेर पुनः यहाँ प्रकाशित गरिएको हो - पशन तमू )

लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् / लेखिरहन्छन् …
- पशन तमू

मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन्
मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् ।
भन्नेहरुले भन्ने गर्छन्
यो रहर होइन वाध्यता हो
भन्नेहरुले भन्ने गर्छन्…..

जहिले पनि विवसताका कुराहरु
जता पनि मनकाट्ने छुराहरु
त्यसैले त हो लक्ष्मीप्रसादहरुले जहिले पनि
मदनहरु भोटतिर अलाप विलापमा अल्झेको देख्छन्
र मुनाहरु पति वियोगका पीडामा कल्पेको देख्छन् ।
जेहोस् लेख्नेले त लेखें भन्लान्
कसैले माने के भो ? नमाने के भो ?
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् /
लेखिरहन्छन् ।

अस्ति भरखर त हो नि एक हूल मदनहरु
जीवनको प्रज्वलित घाम टिप्न भनेर हिडेका
अस्ति भरखर त हो नि एक हूल मदनहरु
भविष्यको तेजस्वी जून टिप्न भनेर हिडेका
वियोगमा मुनाहरु कति रोए कति
आंसुले मुजित्रो कति धोए कति
आंसुको कुनै सागर नबन्दो रैछ
र त कुनै महासागर बनेनन्
पीडाले कुने पिरामिड नबन्दो रैछ
र त कुनै आकार बनेनन्
जेहोस् सहनेले त सहें भन्लान्
कसैले माने के भो ? नमाने के भो ?
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् /
लेखिरहन्छन् ।

अस्ति भरखर त हो नि एक हूल मदनहरुको हूलबाट
एउटा मदन रोजेर
अल्लाहको नाममा बलिको बोकालाई झैं घांटी सेरेको
आ…आमा….कति दर्दानाक पीडा थियो त्यो
कति असहिष्णु पीडा थियो त्यो,
के तिमीले हेर्न सक्यौ ?
के तिमीले देख्न सक्यौ ?
के तिमीले सहन गर्न सक्यौ ?
अनि फेरि..
भूईमा लम्पसार परेर मृत्युको पालो पर्खिरहेका
अरु अरु मदनहरु
मृत्यु पनि समय गिन्ती गरेर आउंदो रहेछ
के त्यसलाई पनि तिमीले देख्यौ ?
के त्यसलाई पनि तिमीले अनुभूत गर्‍यौ ?

एक…दुई…तीन…
पिठ्यूंभरी गोलीका निशानाहरु
रगताम्मे मदनहरु
छट्पटिदा / छट्पटिदै मरिने मदनहरु
ए…ए…मुख छोप्ने मुहाररहीत मान्छेहरु
हामीले शान्तिको अभियानमा के दखल गर्‍यौ ?
हामीले तिमीहरुको आस्थामा के पत्थर मार्‍यौ?
हामीले तिमीहरुको भूगोलमा के धावा बोल्यौ ?
गरिबी नै हाम्रो दोष थियो त? हामीले के बिरायौं
त्यसरी घांटी नै रेट्नु पर्ने
विवशता नै हाम्रो कमजोरी थियो त? हामीले के बिरायौं
त्यसरी गोलीले भुट्नै पर्ने
बस् यति नै हो हाम्रो दोष, हामी गरीब थियौ
र त घांटी रेट्यौ तिमीहरुले
बस् यति नै हो हाम्रो दोष, हामी निरीह थियौं
र त पालै पालो गोली ठोक्यौ तिमीहरुले

हाम्रा मदनहरु त त्यहां आफ्नी प्यारी मुनाहरुको
सपना किन्न हिडेका थिए
हाम्रा मदनहरु त त्यहां आफ्नी प्यारी आमाहरुको
मुस्कान टिप्न हिडेका थिए
हाम्रो देशमा त कहिल्यै / कहिल्यै सपना फुलेन
हाम्रो देशमा त कहिल्यै / कहिल्यै घाम झुल्केन
त्यसैले त त्यसबेला पनि
महाकवि लक्ष्मीप्रसाद देवकोटाका मुनामदनमा
मदन भोट पसेकै थियो
अहिले पनि हाम्रा मदनहरु कुनै न कुनै भोट तिर पसेकै छन्
उनीहरु फर्केर आउन पनि सक्छन् र कहिल्यै नफर्किन पनि सक्छन्

उफ्, कस्तो नमिठो नियति छ हाम्रो
कोही / कोही देश बिर्सेर रुन सक्छन्
कोही / कोही देश सम्झेर रुन सक्छन्
त्यसैले फेरि फेरि लक्ष्मीप्रसादहरु कविता लेख्छन्
कसैले माने के भो ? नमाने के भो?
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् /
लेखिरहन्छन् ।

पशन तमू , हंगकंग

Popularity: 68%

25 comments September 1st, 2006

ईच्छा - प्रतीक चाम्लिङ्ग

- प्रतीक चाम्लिङ्ग

मैले दिएको मुटु,
कुनै त्यस्तो सस्तो चिज होइन ।
म त रिती सकेको छु ।
तिम्रो माया पाउन,
मैले तिमीलाई आधा छाती दिएको होइन ।
म त खाली,खाली, रित्तो भइसकेको छु ।

किन यो दिनहरु विरान लाग्छ ?
म आफ्नै छायांमा आफूलाई हराइरहेछु ।
रातहरु पनि कति स्वार्थी छन् !
मेरो नीद देवी लिई टाढा भागिदिन्छ ।
सम्झनाको त्यो झिनो धागो,
कल्पना भरी बेह्रीरहन्छ ।
भनौं…!
यो अथाहा पीडाले जीवन छटपटिरहन्छ ।
तिम्रो निश्फ्रक्ताभित्र जीवन निशासिरहन्छ ।

मैले दिएको माया,
कुनै त्यस्तो खेल्ने खेल होइन ।
म त दुखी रहेको छु ।
यो वेदना पाउन,
मैले तिमीलाई अविश्वास मागेको होइन ।
म त आशुं आशुं भएर बांचीदिएको छु ।
किन यो जीवन उजाड लाग्छ ?
म आफैदेखि आफैलाई टाढा पाईरहेछु ।
समय पनि कस्तो पापी छ !
जीवनको खुशी खोसेर शून्यतामा हराइदिन्छ ।
मायाको त्यो सानो त्यान्द्रो,
मन भरि छटपटिरहन्छ ।
भनौं…!!
एउटा अथाहा पीडामा जीवन दुखीरहन्छ ।
तिम्रो वेवास्ताको प्रहारले जीवन छटपटिरहन्छ ।

आखिरमा मैले ठूलै घात पाएं ।
चिन्ताको चित्तामा जलिरहेछु ।
अव,
म जीवन विर्सजन गर्न चाहन्छु ।
जीवनको अथाह पीडाबाट मुक्ती पाउन,
जीवनलाई किनारा लगाउन चाहन्छु ।
अन्तिम श्वास निभाउन चाहन्छु ।

Popularity: 49%

3 comments September 1st, 2006

यो बाटो - चन्द्र गुरुंग

- चन्द्र गुरुंग

यो बाटो हुदै
असंख्य अबला द्रौपदीहरु
आफ्ना निर्वस्त्र ईच्छाहरुलाई
इज्जतको टालोले ढाक्नको लागि
कौरवका कामुक नजरबाट बच्दै र
पाण्डवका लाचार नजरबाट लुक्दै मुग्लान झर्दै छन्
असंख्य जोडी खाली खुट्टाहरु
जुँघारेखीले सजिएका कलिला अनुहारहरु बोक्दै
वीर पुर्खाको बीडो थाम्न
विदेशमा परेड खेल्न जान्दै छन् र
लाहुरेहरु विदेशको अपमानलाई
खुट्टाहरुमा सजिएका बूटले ठोक्दै
बिदामा गाउँ फर्किदै छन् ।

यो बाटो हुदै
असंख्य आँखी नानीहरु
सपनाका रंगीन लुगाहरुमा सजिएर
विदेशी बजारहरुमा जीवनको रमाईलो मेला हेर्न जादै छन्
हूलका हूल भरियाहरु
मनको डोकोहरुमा जीवनलाई बोक्दै
आँसु र पसीनाको धारा चुहाउँदै
बाटोको छेउ लागेर सुस्तरी हिंडदै छन् र
असंख्य गाउँलेहरु यौवनको घुम्तीहरु काटेर
यो बाटोको नाङ्गो छातीमा टेक्दै
बुढेशकालको चौतारीमा
जीवनभरिको थकान बिसाउन गई रहेकाछन् ।

यो बाटोको छेउमा उभिएर
जीर्ण आमाहरुका बुढयौली आँखाले
परेलीरुपी झयालहरु उघार्दै
आफ्ना छोराहरुका सुनौला मुहार खोज्दै छन्
नवविवाहित दुलहीका सुनसान सिउँदोहरुले
जीवनको आकाशमा सिन्दुरी रंग र्छन
अधुरो सुहागरातलाई पर्खीदै छन् र
सासाना नानीहरुका चिसो गालाहरुले
एउटा नयाँ मुस्कानको निम्ति
बाबाहरुका न्यानो चुम्बन पर्खीदै छन् ।

गोर्खा हालः काठमाण्डौ

Popularity: 48%

5 comments September 1st, 2006

लुट्यौ श्रीपेच …- देव गुरुङ

- देव गुरुङ

लुट्यौ श्रीपेच र देश दाजुको वंश नांशी ,
हत्यारा भए भु पति जनता सुकुमबासी ।

चुस्यौ रगत जनताको डाले जुका झै टांसी ,
जनता छटपटाई रहृयो तिमी वस्यौ हांसी ।

तिमी चालक, गिरी कन्डक्टर, कमले खलासी ,
जिब्रो टोक्छन जनताले देखेर तिम्रो वदमासी ।

वनाएथे जनतालाई निरङकुशताको दासी ,
प्रजातन्त्र माग्नेलाई दियौ उपहार फांसी ।

वुझेनौ जनभावना तिमी नारायणहिटी पसी ,
धेरै रगत वगायौ भयो इतिहांस लेख्ने मसी ।

अभाव छैन रगतको वाट्ना गणतन्त्रको रसी ,
चेतनाशील छन जनता नसोच दशैको खसी ।

कर्फ्यु ओढेर उन्नाइस दिन झोपडीमा न वसी ,
निस्के जनता लिएर हातमा कलम, लौरो, आंसी ।

जनआन्दोलनको भेलले वगायो शक्तिको कसी ,
कान समातेर मध्यरातमा वसाल्यो घुंडा धसी ।

देश अतुर छन् पहिरिन गणतन्त्रको माला गांसी ,
बाटो नपाउला पछि समयमै भागि हाल काशी ।

देव गुरुङ
हङकङ

Popularity: 56%

7 comments September 1st, 2006

मनको फूलबारी - राजेन्द्र

- राजेन्द्र

यो माया ममताले सिंचिएको,
उत्साह उमङ्गले रमाईलो वातावरणमा रहेको,
यो मनको सुन्दर फूलवारीमा,
तिमी कोपिला भए फक्रिने छौ ।

फूल तिमी सूर्यमुखी, संधै सूर्यसंगै मुस्कुराउछौ,
त्यो तिम्रो चोखो मुस्कानलाई चुम्न भनी,
सूर्य सधै विहानीमा उदाईरहनेछ ।

सभ्य मानबको प्रतिक रुपमा,
सभ्य संस्कार छरिरहने छौ,
शान्तिको प्रतिक बुद्घ बनी,
शान्तिको भावना फैलाई रहने छौ ।

यो मनको सुन्दर फूलवारीमा,
हजार रस, रंग र सुगन्ध फैलाई रहने छौ ।

यो माली सधै यी फूलहरुलाई जिबन्त राख्न,
असल असल बिचारले गोडमेल,
माया ममताले सिंचित, उत्साह उमङ्गले,
रमाईलो, वातावरणमा राखिरहने छ, राखिरहने छ ।

सूर्य, फूल, फूलवारी र माली बिचको,
अमर सम्बन्ध अमरै रहिरहने छ, अमरै रहिरहने छ ।

Popularity: 53%

3 comments September 1st, 2006

मान्छेको परिचय ! - शिव प्रकाश

- शिव प्रकाश

मान्छे !
जब तिमीसंग बोल्छ
बोलेपछि तिमीले
मात्र अलिकति चिन्छौं
त्यही मान्छे !
जब तिमीसंग चल्छ
चलेपछि तिमीले
बोलेभन्दा मात्र अलिकति
केही बढी चिन्छौं
त्यही मान्छे !
जब तिमीसंग खेल्छ
खेलेपछि तिमीले
चलेभन्दा मात्र अलिकति
केही बढी चिन्छौं
त्यही मान्छे !
जब तिमीले झेल्छौ
झेलेपछि मात्र तिमीले
त्यो मान्छेको परिचय
राम्ररी पाउँछौ ।
हरैंचा/मोरङ, हालः बोष्टन/अमेरिका ।
२१ अगष्ट, २००६ ।

Popularity: 48%

3 comments September 1st, 2006

गीत - दिलिप योन्जन

- दिलिप योन्जन

उडेर आकाश छुन्छु भन्थें, प्वांख कहिले झरेछ
हासी खुशी जिउला भन्थे, जिउदै मर्नु परेछ

माया प्रिती चोखो हुन्छ्, सुनेको यिए मैले
जलाएर आफ्नो छाती आँफै, रोई रहेछु अहिले
अँगालो भरी बाधुला भन्थे, हात कहिले झरेछ
हासी खुशी जिउला भन्थे, जिउंदै मर्नु परेछ

दुईटा मुटु एउटै पारे, आँफै मरी गएं
सुख शान्तिमा रमाउंला भन्थे, आसु आँफै पिएं
युगौ युग बाँचौला भन्थे, कल्पना खरानी भएछ
हाँसी खुशी जिउला भन्थे, जिउदै मर्नु परेछ

दिलिप योन्जन
South America, Ecuador

Popularity: 50%

5 comments September 1st, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

September 2006
M T W T F S S
« Aug   Oct »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

Top Commenters