Archive for June, 2008
- छबिलाल कडेल
देखेपछि आँखा मार्दै जोब्रो टोक्छिन् तिम्री छोरी
चुप्प खान्छिन् छेउमा आइ बाटो रोक्छिन् तिम्री छोरी
अचम्म छ, डर कर छैन, कली युगकी नारी अरे
भट्टी जान्छिन् मध्यरातमा, टन्न धोक्छिन् तिम्री छोरी
जे नगर भन्न्यो उहि पैले उनलाइ चहिन्छ
छिन छिन मै चुरोट तान्छिन्, रातभर खोक्छिन् तिम्री छोरी
स्कुल जान्छिन केटा हेर्न, सधै भरी क्लास बाहिर
पुस्तक बोक्ने झोलाभित्र रक्सी चुरोट बोक्छिन तिम्री छोरी
हेर बाबु होस पुराउ बेलै माथि, छोरी बिग्री सकिन्
नत्र एकदिन पछुताउदै टाउको ठोक्छिन तिम्री छोरी
हालः नेदरल्यान्द
Popularity: 41%
June 30th, 2008
शताब्दीकी नायिका !

- सबिना सिन्धु
ओ शताब्दीकी नायिका !
तिमी, उभिएर सडकमा
शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ ।
हार्दिकता स्विकार्न सक्छ्यौ
चिहान टेकेको त्यो पुरानो समय
युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर
एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत
स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ ।
गृहिणीको छेउमा उभिएको रित्तो सिलिण्डर
अभावका सपना र मट्टितेलका खाली जर्किन
उत्तिकै साटिएका छन्, तिमी र मसंग ।
मेटाएर छलकपटको अनुच्छेद
नयाँ अक्षर लेखिरहेकी छ्यौ ।
अर्थात-तिमी बराबर म र म बराबर तिमी
त्यो गणित अर्थात निर्माणाधिन इतिहास
र त्यही इतिहास लेख्न बसेका हामी ।
दुबै परिवर्तनको नयाँ नाम
….र त मेटाईरहेका छौं पृथ्वीको धुर्विय विभेद
सगौरव घोषणा गरेकी थियौ समताको आवाज
भनेकी थियौ,” स्वयम्भूमा टाँसिएका निरही दुई आँखा,
जसले पारिलो घाम तापेर न्याय लेखेनन् ।”
तिनमा धेरैपछि, ब्यूँझिएका थिए संचेतना ।
अहिले भीर र भुगोल, जीवन र समय, इतिहास र हामी
दुबै बगिरहेछौं समानान्तर
मुक्तिको छायाँ मुनी तिमी लेखिरहेकी छ्यौ वर्तमान,
र म तिमीमा अनुवाद भएको छु ।
Popularity: 33%
June 30th, 2008
‘पेन’ हङकङमा…

- होमनाथ सुवेदी
१
एच्के नेपालको यात्रा हङकङ भरी गरें
अनेसास समाएर शाखामा चोप्छु ‘पेन’ हे !
२
देश सुब्बा, उपन्यस्त सल्लाह-कार छन् भने
महासचिव शाखाका सम्वाहाम्फे बने भने ।
३
तमू अध्यक्षमा बस्दा नेपाली र चुरा थिए
अनेसास बनाएर एच्केमा शासनै गरे ।
४
संस्थाको स्थापना बेला फाँडेर जङ्गलैहरू
पशनैले गरे दुःख धन्यवाद दिए बरु ।
५
ऐले ता फेरियो दिन पशन केन्द्रमा गए
चामलिङ भए नेता अध्यक्ष चण्डिका भए ।
६
टंकको साथले ऐले प्रकाश कार्यमा जुटे
सुब्बा सल्लाहमा आए नयाँ निर्वाचनै गरे ।
७
नेता माथि सरे सर्छन् अरुमा गति आउँछ
प्रगतिको नमूना हो लोकतन्त्र फलाउँछ ।
८
साहित्यकारको काम लेख्नु मात्र हुदैन है
उदाहरण नै बन्नु न सके लेख्न हुन्न है ।
९
कोरा भाषणले मात्र साहित्य बिक्न सक्दछ
मन मस्तिष्कको साथ कविले हिड्नुपर्दछ ।
१०
निर्वाचन सभामा होस् छानियुन् कवि प्रेमले
प्रतिस्पर्धा गरुन् जित्न नगरे र्झछ कर्मले ।
११
लेख्ने मात्र गफाडी हो लेखेर गर्नु उत्तम
कुरा झैं काममा आउन् साहित्यकार भन्छु म ।
१२
लोकतन्त्र जमानाका आदि हुन् लेखकैहरू
निर्वाचन गरी भोगुन् आआफ्ना पदवीहरू ।
१३
साहित्यकारको संस्था सहृदयी भयो भने
राजनीति झुटो हुन्न लोकतन्त्र रहृयो भने ।
१४
स्वार्थको लागि लड्नेले नारा मात्र लगाउँछ
कलामा बोल्न सक्नेले सत्यको लागि लड्दछ ।
१५
अनेसास नमूना हो अभ्यास लोकतन्त्रको
साहित्यकारले गर्ने सीमाभित्र चुनाउको ।
१६
अनेसास बनोस् यौटा आदर्श लोकतन्त्रको
दार्शनिक कथाकार स्वयम् नापोस् चरित्रको ।
१७
लेखेर गाली गर्नाले मात्र हुन्न पदोन्नति
ढोगको मूर्ति पूजाले पाइन्न मुक्ति सङ्गति ।
१८
लेखौं यथार्थ भाषाको कला पोतेर सागर
मानवीय व्यथा पोखी ‘डायस्पोरा’ ‘बद’ सत्त्वर ।
१९
लेखनीमा समाएर ‘इन्टर्नेट’ भरी थिए
जमिनमा चुनाएर डायस्पोरा परी भए ।
२०
धन्यवाद तमूलाई वधाई चामलिङ्गमा
निर्वाचित सबैलाई कामना सत्य जित्नमा ।
२१
हङकङ गई दङ्ग भएर ‘पेन’ पल्टिएँ
‘पेन’ हुँ पीरले घुम्दा तपाईहरूमा पसें ।
२२
यायावर म हुँ यौटा देखेको लेख्न सक्तछु
‘पेन’ हुँ पेटमा राखी मसीले पोख्न सक्दछु ।
२३
माफ गर्नू विदा हुन्छु अर्को देश म पुग्नुछ
कुरा धेरै छुटे होलान् ‘लन्च’को लागि जानुछ ।
०
वुड्ब्रिज, भर्जिनिया
(कवि अनेसासका संस्थापक अध्यक्ष, १७ वटा पुस्तकका लेखक र ७ वटा एवार्डबाट सम्मानित हुनुहुन्छ-सम्पादक)
Popularity: 25%
June 30th, 2008
नेपाल एक दिन फर्कन्छु ..!
- दिनेश खरेल
नेपाल एक दिन फर्कन्छु,
नीदरल्यान्डमा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाई त पूरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका वर्ष बिताईयो,
खालि हात के जानु!
नेपाल एकदिन फर्कन्छु,
नीदरल्यान्डमा रमाउन सकिन्न!
तर केही वर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!
नेपाल एकदिन साँच्चै फर्कन्छु,
नीदरल्यान्डमा रमाउन सकिन्न!
अहिले बीस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरी हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचितसंग!
नेपाल एकदिन फर्कन्छु!
नीदरलैंडमा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठूलो त होस!
नेपाल एकदिन फर्कन्थेँ
यूरोपमा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथी भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम मसंगै छन्
मेरो यादमा, केवल यादमा!!
द हेग, नीदरल्यान्ड
Popularity: 29%
June 25th, 2008
केही हाइकू -मकाउ कविता यात्राको

- लारा
१। बुझ्नु न सुझ्नु
उद्घोषणबाट, कविता यात्रामा कुद्नु
लारा ।
२। विश्व-सञ्जाल सञ्चालन गर्ने मान्छे
एक घण्टाको दूरीमा, जहाजले मातेर ईन्तु न चिन्तु!
पशन तमू ।
३। “के” देखि “के” सम्म (कंगनदेखि, कुवँर हाउससम्म)
कमरेडलाई खानाको स्वादमात्रै फरक !
कमल पौड्याल ।
४। लागे, पागे भन्नेकै दोष, गजलकार कि भजनकार
निद्राको सुरमा, गजलको ताल!
अशोक राई ।
५। सल्काउँछ आगो कविताको
निकाल्छ दमदार धुँवा…….
“धुँवादार कवि” भोगेन एक्ले ।
६। सुन्नेहरु भन्दा सुनाउने लजाएको
“लज्जावती” कविताका नायक
प्रकाश केसी ।
७। जनवादी गीतकारका
डिप्लोम्याटिक कविता प्रस्तुति
गणेश ईजम ।
८। हङकङको साँढेको
मकाउमा पनि दादागिरी-”छैन कविता ।”
किसन राई ।
९। कामकुरो एकातिर, कविता लेख्छन् विज्ञानतिर
कोर्ट-कचहरी छोडी, मकाउतिर
“बैज्ञानिक कवि” भूपेन्द्र चेम्जोङ ।
१०। खिरिलो मान्छेको खँदिलो भारी
मकाउमा ‘रुङरी हराएको मान्छे……’
देवेन्द्र खेरेश ।
११। कवितालेखनदेखि ब्यापारतर्फउन्मुख कविको
क्यासिनोमा डलरको मूर्च्छना !
प्रदिप कंदङ्गवा ।
१२। आऊ ! हामी सामूहिक कविता गोष्ठी गरौं !
अराजक कविको साहित्यिक सकृयता
हाङयुग अज्ञात ।
Popularity: 28%
June 25th, 2008
जीवन, सपना र मृत्यु..

- नरेश सुनुवार
प्रकृतिद्वारा प्रतिपादित
यो ब्रम्हाण्ड
यो जगत
यो जीवन
प्राणी जीवनका दुई अस्तित्व
पशु
मान्छे,
पशु
जो यस्तो प्राणी
ऊ न चेतनशील छ
न संवेदनशील छ
तेसैले
उसले अस्तित्व बुझ्दैन
कुनै सपना देख्दैन
केवल जन्मन्छ
हुर्कन्छ
सिर्फ वर्तमानमा बाँच्दछ
र, मर्दछ,
मान्छे
जो यस्तो प्राणी
ऊ चेतनशील छ
सम्वेदनशील छ
तेसैले,
उसले आफ्नो अस्तित्व बुझ्दछ
जीवन जगतलाई चिन्दछ
मान्छे भएर जन्मनुको अर्थ जान्दछ
विगत सम्झन्छ
भविष्य सोँच्दछ
र वर्तमान बाँच्दछ
तेसैले मान्छे
सपना देख्छ
सपना बुन्छ
र तेही सपना साकार पार्न
कयौं संर्घषमा होमिन अग्रसर हुन्छ
र, सपना पूरा गर्नकै लागि जीवन बाँचेको हुन्छ,
त्यही प्राणी भित्रको
एउटा प्राणी मान्छे
र, त्यही मान्छे भित्रको
एउटा मान्छे म
अनगिन्ती अकाशिएका सपना देखेर
यावत विचार बोकेर
कयौ योजना तय गरेर
समयको द्रूत प्रवाहसँग
जीवन अगाडि बढ्दै थियो
र जीवनसँगै म अगाडि बढ्दै थिएँ,
यान्त्रिकतामा हतारिएको समय
जसको उचित अवसरका मौका छोप्न
आफ्नो लक्षित गन्तव्यतर्फ हतारिएर
स्वाँ स्वाँ गर्दै
फ्वाँ फ्वाँ गर्दै
देखिने तर नबुझिने
मात्र अनुमान गर्न सकिने
कुदिरहेका यी मान्छेहरुको
जो कहाली लाग्दो भीड छ
उनीहरु सँगसँगै
त्यस भीडमा म पनि कुदिरहेको थिएँ,
छिचोल्दै छिचोल्दै
मान्छेका भिडहरुलाई
पार गर्दै थिए सडकहरु
जो आफ्नै गन्तव्य ताकेर
निरन्तर अगाडि बढ्दै थिएँ
अचानक
चार पाङ्गाको खुट्टा टेकेर
सेतो रङले सिङ्गारिएर
अजङ्ग सवारी साधनको छदम् भेषमा
मृत्यु, मेरो सामुन्ने आएर
निर्मम प्रहारले बजारियो मेरो शरीरमा
म ढले सडकमा लम्पसार
यत्रतत्र छरपष्ट छरिए सपनाहरु
छताछुल्ल भए लक्ष्यहरु
जब म होसमा व्युझिएँ
मलाई घेरिरहेका थिए कालको जुलुसले
र, मृत्यु नङ्ग्रा फिँजाएर
पुनः झम्टीन तयार थियो,
म भाग्न खोजे
त्यो मृत्युको बधशालाबाट
म मुक्त हुन खोजे
मृत्युको पञ्जाबाट
तर, मेरा खुट्टाहरु
बेकम्बा भैसकेका थिए
मेरा अंगहरु निष्कृय थिए
मात्र मेरो चेत सक्रिय थियो
म घिसारिंदै घिसारिंदै सडक किनारा पुगेँ
र, छामे मेरा सवै शरीरहरु
मेरा तन्तुहरु शिथिल थिए
सशङ्कीत हुँदै
पुनः हेरेँ मैले मृत्युलाई
तर त्यस बखत
रित्तो झोला उचालेर
खाली हात लिएर
‘मृत्यु’ त्यहाँबाट कुलेलम ठोकिसकेको थियो
‘मृत्यु’ त्यो दिन पनि विफल भएर गयो,
मृत्यु अगाडिबाट आउन सक्दो रहेछ
मृत्यु पछाडिबाट आउन सक्दो रहेछ
मृत्यु दायाँ बायाँ तल माथि
सबै दिशाबाट आउँन सक्दो रहेछ
जुनै काल, समय र परिस्थितिहरुमा
अनेक रुप धारण गरेर
अनेक बहना बनाएर
अदृश्य मृत्यु
मौका छोप्न आउँदो रहेछ
र, जीवन छिनेर लाँदो रहेछ
सावधान ! मृत्युदेखि
जो प्रत्येकको जीवनमा आउँन सक्दछ
सावधान ! मृत्युदेखि
जसले पत्तो नदिई हामी आथि आक्रमण गर्नेछ,
तर म
पुनः जन्मेको छु दोश्रो पटक
र, भङ्ग भएको विचारहरुलाई
खल्बलिएको सपनाहरुलाई
पुनः निर्माण गर्न जुटेको छु
बाँचेर जीवन जीउनको लागि
जिएर जीवन बाँच्नको लागि ।
Popularity: 31%
June 23rd, 2008
नयाँ नेपाल (गीत गजल) …
- भोला बिक्रम राई
ठूलो सानो धनी गरिव, सबै जहाँ समान हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ
आफ्नो हक अधिकार खोज्दा, कोही त्यहाँ मर्ने छैन
दाजु भाई लडेर कहिले, गाउं वस्ती जल्ने छैन
शान्ति र सुरक्षाको, सधैं जहाँ आभास हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ
भाईचारा र भातृत्वको, गाँसिरहोस् मिठो प्रीत
सबै मिली गाईरहोस्, शान्तिको मिठो गीत
एकतामा बाँधिएको, तराई पहाड हिमाल हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ
अफ्गानिस्तान, काबुल
Popularity: 33%
June 19th, 2008
छेकिएका हिमश्रृंखलाहरु..

- डा.मधु माधुर्य
१
बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु
नागलाई महादेवको गलामा बेरिएको देख्छु
कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु…
जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म
वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म
तिनै सर्पहरुले फणा उठाउँदा -
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ !
तिनै सर्पका प्रेमालु ठुँगाईबाट शहीद हुनेहरु
संयमताको प्रदर्शनमा बुद्ध झैं मौन छन्
जब-जब साँपहरु अस्तित्व देखाउन हरियो घाँसमाथि उठ्छन्
अग्ला-अग्ला हिमश्रृंखलाहरु पनि होचा देखिन थालेका छन् ।
२
महिनैपिच्छे हरियो घाँस दिएर पालेको छाडा बसाहा -
पशुपतिनाथको जस्तो समाधिस्थ होइन, निकै चुलबुले छ
सहरको शोभा सम्झनेहरुलाई पनि कलात्मक आकृति झैं भ्रम छ
पुच्छरले काउकुति लगाउँदै खुरले दबाउने बसाहा -
जब-जब काम देखाउन तीखो सिङ लिएर डाँडामा बुद्रुक-बुद्रुक उफ्रन्छ
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ ।
३
बसाहा र साँपहरुको जंगलमा छु म
त्यसैले त निलडाम र घाउहरुले सजिएको छु
शताब्दीका पानाहरुमा जीवनको परिभाषा बदलिएको छ
टुलुटुलु अवलोकन, सहन र मौनतामा जीवन रोकिएको छ
अर्थात् कविता रोकिएको छ र थिचिएको छ
कविता छेकिएको छ र अस्वीकृत छ
कविता लेखिनु नलेखिनुको एउटै अर्थ छ
कविता सबैतिरबाट छेकिएको छ, पुरिएको छ
त्यसैले कविता-लेखनको नयाँ आन्दोलन सुरु गर्दैछुः
अझै नकुच्चिएको फणामा कविता लेख्दैछु
अझै नभाँचिएको सिङमा कविता लेख्दैछु
अस्तित्व देखाउन डाँडाहरुमा
जब-जब बसाहा र साँपहरु उठ्ने छन्
मान्छेका कविताका सामुन्ने
हिमश्रृंखलाहरु पनि होचा देखिन थाल्नेछन् !!
२ जून २००८ मास्को, रुस
Popularity: 26%
June 19th, 2008
धोकामा जलेको मन..

- भूपेन्द्र महत
धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न
माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न
हारजितको च्याँखेमा माया थापिएछ
सबैलाई मात दियौ नि तिमीले तिर चुन्न
बेनामी बजारमा लिलाम भएछ इज्जत
सकिएन कसै गरे नि धागोले शिर तुन्न
स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
छाडिनौ जीबनमा पहिरो जाने भिर बुन्न
Popularity: 34%
June 19th, 2008
रातको वेश्यावरण…

- शिव प्रकाश
रातको उन्मत्तता पिएर
मदोन्मत बाँचेको शहर
दुर्गन्धित ति हरेक साँझहरु
विहानीले पाखाल्न सकेको छैन
साँझका ति टाटा
रातका ति राग
यौवन निचोरिएका अँध्यारोका ति पीडा
बन्दबजारभित्र खुल्ला छ
वाध्यता बाँचेका जीवन
उम्लिएका यौवनका विचित्र विनिमय
यौन नायक-नायिका
मान्छेका आकृतिमा
उठेका नग्न जुलुसहरु
निष्ठुरतापूर्वक निर्वाध
शालिन सभ्यतालाई कुल्चदै
परेड खेल्दै मानवीय सँस्कारमाथि
ढुङ्गा जस्ता नाङ्गा र कठोर मनहरु
सल्बलाउँछन् मौन भाषामा
उदाङ्गो रातको उमङ्ग
निर्वस्त्र आदिम खेलको आनन्द
नाङ्गा शरीरका नवीनतम् अभ्यास
मान्छेले मान्छे पिउने प्यास
मान्छेले मान्छे टोक्ने भोक
निर्लान्त थकान
च्यातिएका कुमारीत्वहरु
भत्किएका कुमारत्वहरु
सहरको शान हो
सहरको मान हो
शहरको अभिमान हो
अँध्यारोभित्र हाँसेको शहर
सहरभित्रको एकल अँध्यारो सम्राज्यभित्र
गिद्धहरुबाट वलात्कृत परेवाहरु
नाजायज चीलहरुको जन्म
सर्प र मुसाको मित्रता
कुकुरहरु विरालाजस्ता
बिरालाहरु ब्वाँसाजस्ता
ब्वाँसाहरु मान्छेजस्ता
मान्छे कुमान्छे जस्ता
कुमान्छे मान्छे जस्ता
मदोन्मत बाँचेको शहर
टँडालमा कोपिएका
काममुद्राका प्राचीन परिचय
सडकका पेटीहरुमा सल्बलाइरहेछ
नाङ्गो अर्वाचीन सभ्यता अहिले
समयको चीरहण
रातहरु स्वयं वेश्यावरण गरिरहेछन्
निरन्तर गरिरहेछन्
धुमिलिसकको वाध्य आँखाहरु
दृश्यवरण गरिरहेछन्
निरन्तर गरिरहेछन् ।
बोस्टन, अमेरिका
Popularity: 28%
June 19th, 2008
राष्ट्रपति कसलाई ?

- हरिकृष्ण न्यौपाने (घायल)
सबै दलमा लुछा-चुडी, राष्ट्रपति कसलाई?
सबै मिलि छान्नु पर्छ, योग्य ब्यक्ति जसलाई!
पद अनि कुर्सि खोज्दै, हाना-थाप किन?
दलहरूकै हाना-थापले, बित्यो धेरै दिन!!
काँग्रेसलाई गिरिजा रे, अर्कै एमालेलाई,
जन-मत र जन-कदर छ रे,प्रचण्डलाई!
मधेशबाट मधेशी रे, पहाडीलाई अर्को,
यस्तै ब्यबहार देख्दा-देख्दै, लाग्न थाल्यो झर्को!!
ठूला दलले गठन गरे, एउटा छुट्टै टोली,
मिटिङ पछि भन्ने गर्छन, निचोड हुन्छ भोलि!
त्यस्ता भोलि निकै गए, अझै निश्चित छैन,
चुनाब भाको २ महिना भो, केही नयाँ भैन!!
“शान्ति-विकास-गणतन्त्र”, लिउँ एकै मन्त्र,
देशमा बल्ल जन्मेको छ, लोक गणतन्त्र!
सबै दल र नगरिकले, लिउँ एउटै नारा,
नयाँ नेपाल हेर्न लाई, आँतुर छन् सारा!!
खबरदार! सबै दललाई, चाडै निकाश खोजौं,
देशलाई हाँक्न सक्ने, योग्य ब्यक्ति रोजौं!
जन-मत र जन-भावको, सिकौं कदर गर्न,
फेरि पनि जनताले, नपरोस है मर्न!!
कालिका गा.बि.स. वार्ड नं. १ पुरानाकोट, सिन्धुपाल्चोक
हालः अनकुण्डा, बलाद ईराक
Popularity: 25%
June 19th, 2008
म अस्तित्व हराएको मान्छे…

- प्रेम पुन
म गोठमा जन्मेर गाँउमा हुर्केको मान्छे
दु:खको पहाड बोकेर हिंडेको मान्छे
लगाउनलाई मसंग चप्पल थिएन
लाहुरेको छोराहरुको जुत्ता हेरेर मक्ख पर्थे
पैतला फुटेर जमिन भासिए जस्तो हुन्थ्यो
तैपनि कपडाको भकुन्दो कुँदाएको हुन्थे
म कक्षामा जहिले पनि अगाडि हुन्थे
तर मेरो जाँघे पछाडि फाटेको हुन्थ्यो
सबै साथी-संगी ग..ल…ल.ल हाँसेको हुन्थे
पढ्नमा अगाडि खेलमा अगाडि
गुरुहरु स्याबासी दिन्थे
मेरो नामको गुणगान हुन्थ्यो
त्यसैले मेरो अस्तित्व जिउदै थियो।
जब म १८ बर्षको भएँ
मलाई भौतिक सुखका सपनाले
दिन रात सताउन थाल्यो
अरुले जस्तै पैसा कमाएको कल्पना गरेँ
ऋन काढेर भए पनि युरोप भित्रिएँ
परिस्थिति र विवशताले
म नक्कली शरणार्थी बने
ढाँट्नु नढाँत्न्नु गोरेहरुलाई ढाँटे
नाम ढाँटे थर् ढाँटे
अनि ठेगाना नै ढाँटे
नाम थर ठेगाना सबै नक्कली बनेपछि
अहिले म,
अस्तित्व हराएको मान्छे भएको छु।।
म्याग्दी दोबा,
हालः ओस्टेन्डे बेल्जियम
Popularity: 32%
June 19th, 2008
सेवारो है सेवारो १ ….

- कृष्ण प्रसाई
समय तिम्रो कित्तामा फर्केको ठान्दैमा-
वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा,
भाषाको कुराले-
धर्मको कुराले-
र जातको कुराले -
तिमी कदापि विभाजित हुन सक्दैनौ नेम्वाङ दाई !
मैले पनि तिमीसँग-
रात-रातभरि च्याब्रुङ नाचेकै हो ।
हामीले साझा सम्झेका-
संगिनी र रत्यौलीमा -
हाम्रो संसार चलेकै थियो,
तर कहाँबाट आयो यो रंगभेदको कुरा ?
कताबाट आयो यो आदि र अनादिका कुरा ?
कसरी आयो यो भूगोल विभाजनको कुरा ?
सत्य कुरालाई किन लुकाउनु र हामीले,
समुसुद्धिनले युद्धताका उपहार दिएको-
हाम्रो मोही र गुन्द्रुकलाई-
मेरा पुर्खाले तिम्रो भाते जाँडसँग साटेकै हुन् ।
एक पाथी कोदोको रक्सीमा-
एक कित्ता किपट हत्याएको कुरा लिएर-
अथवा शकुनी दाउमा जुवा खेलेर,
सिंगै थुम्को हत्याएको कुरा साँधेर -
किन सधै अत्तो थापिरहन्छौ चाम्लिङ दाइ ?
धर्ती लुटेर सम्पन्न हुन्छु भन्नेहरु,
अन्नतः आफै धर्तीबाट लुटिएका छन् ।
तिमीले कुल्चेको माटो र मेरा पुर्खाले टेकेको भूमि एउटै हो ।
सदियौदेखि म पनि सुकुम्वासी नै छु ।
पहिले मुगल राजाले डसे -
अलि पछि आएर -
गोरखा र लिम्बूवानका सामान्तबाट उठिबास हुँदै ,
पहाडबाट समेत खेदिएर-
मुगलानबाट पनि लखेटिंदै-
पुनः म शरणार्थी भएर -
फेरि, यसै देशमा फर्किएको छु ।
यता फर्कनुमा मलाई,
मेरा पुर्खाको माटोले तान्यो,
बाजेले पुजेका,
देवी देउरालीका साइनोले तान्यो,
जोड्दै जाने हो भने-
धेरै साइनाहरु छन् हाम्रा तिमीसँग-
भावनाको साइनो कहिलेकाही,
रगतको भन्दा पनि गाढा हुदो रहेद्धछ मादेन दाई !
विर्सेका छैनौ भने,
तिम्रा बाका मलामीलाई-
हामीले खुवाएको दही, चिउराको साइनो छ हाम्रो ।
मेरा बालाई बैतरनी तराउन,
तिम्रा बाले सित्तैमा दिएको बाछाको सम्बन्ध छ हाम्रो ।
बद्मासी आ-आफना होलान्-
स्यावासी आ-आफ्ना होलान्-
सात सालमा तिम्रा सगोत्रीले उठिबास लगाउंदा पनि,
मैले कहिल्यै तिमीलाई दुखेसो गरिन,
अलि पछि नाक र आँखाको विभाजन कोरिएपनि-
मैले कहिल्यै ननिको ठानिन ।
मात्रै मन बुझाउंन-
मात्र चित्त बाँधिरहन-
म पनि सधै कहा सक्छु र श्रवण भाई १
आखिर हाम्रा आमाहरु मिलेर,
रत्यौली खेलेको पनि साँचो हो ।
संक्रान्ति र मदन मेलामा,
धान नाचेको पनि साँचो हो ।
एक्कासी अहिले आएर पराय अरु कसैले ,
विद्यटनको खेल खेल्छ भन्ने लागेकै थिएन ।
तिमी-हामीलाई जुधाएर,
तमासा हेर्छ भन्ने सोचेकै थिएन ।
सोच है सोच केरुङ भाई !
पानी बगे पछि फेरि फर्कदैन ।
मात्र सम्झना बनेर -
बगर रोइरहन्छ किनारमा ।
नराम्रोलाई विर्सन -
राम्रोलाई सम्झन निको लागेर नै,
मैले हाम्रा धेरै कुराहरु सम्झे ।
पखालाले सताएकै बेला पनि,
कान्ला बिगारेर हाम्रा बाहरुले,
संगै देउसी खेलेको सम्झे ।
देउसी कै भेटी उठाएर,
हामी पढ्ने स्कूलको छानो छाएको कुरा सम्झे ।
खाँडो जगाउन खप्पिस तिम्रा बा,
अनि सिलोक फट्कार्न सिपालु मेरा बा ,
संगसंगै जन्ती गएको सम्झे ।
मन्त्र फुकेर सिकारी मन्साएको साइनो होस् ।
वा दुइ इन्ची खुकुरी भसाउंदा समेत,
ख्याल-ख्यालै ठानेर-
दुइ गिलास रक्सीमै मिलेको साइनो होस्-
ज्यूँका त्यूँ छ अहिले पनि ।
कहाँ मेटिएको छ र हाम्रो साइनो !
अहिले आएर तिमीले,
विदेश किन्यौ भन्दैमा,
हाम्रो सम्बन्धलाई म कसरी विट मार्न सक्छु र थेवे दाई -
लुकाउने कुरा नै के पो बाँकी छ र ?
नाङ्गो मान्छेसँग बचेको नै के पो हुन्छ र ?
हामी सबैले मान्दै आएको,
हलेसी महादेव र पाथीभरा देवीलाई,
तिमी हामी सबैले मानेकै हौं ।
तिम्रा उघौलि, उभौली र बुढीबजु ,
अझै पनि मैले मानेकै छु ।
सिमेभूमे र सगुनेले पनि -
सुब्बे फाब्बे नै भएको छ ।
अहिले आएर सानो कुरामा,
किन रडाको मच्चाउछौ देवान भाई ?
मन्त्र साट्नु चानचुने कुरा हुनै सक्दैन,
देउता साट्नु सानो कुरा हुँदै होइन,
हामीले आपसमा देउता पनि साटेको छौं ।
तिमीले बिर्सेर ज्ञान -
तिमीले सम्झन छोडेको तिम्रै भाषा,
समयको जोर विजोरमा,
तिमीले भुल्नै लागेको हाम्रो साइनो,
एउटै मुन्धुमले ठिक पार्न सकिन्छ अव ।
जोखाना हेरिरहन जरुरी नै छैन अव ।
आउ म मन्त्र फुकिदिन्छु तिम्रो कमजोर आँखालाई ।
मसंग तिम्रो हजुरबाले मर्नु एकदिन अघि सिकाएको,
तिम्रो भाषाको फूलो झार्ने शक्तिशाली मन्त्र छ ।
—-
सेवारो है मादेन भाइ सेवारो !
सेवारो है नेम्बाङ दाइ सेवारो !!
—–
* लिम्बू भाषामा नमस्कार वा अभिवादन जनाउँदा भनिने शब्द ।
Popularity: 33%
June 13th, 2008
- विक्रम सुब्बा
लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्याइने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका हाँगाहरूमा
बेभिचारका सन्तानजस्तो फल फल्ने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट विष फुक्ने छैन
गाउँ-घर-टोलको सुरक्षाको निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानका ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्याउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे-थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान-अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छेन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?
Popularity: 23%
June 13th, 2008
खै मेरो घर ?
- दीपक जडित
आज पनि एउटा दिन गलेर गयो
बिहानको उमंग
दिन छिप्पिन नपाउंदै शिथिल भएको
मैले आफ्नै आँखाले देखें
बेलुकी सम्ममा थाकेर
लत्र्याकलुत्रुक म
आफ्नै मनको आँगनमा निस्किएं
मनकै आँगनको डिलमा थचक्क बसें
पछाडी फर्केर हम्केरा हाल्दै
बलेंसी हेरें
अझै छन त्यहाँ
बलेंसीमा बगेका रगतका टाटाहरु
कैले यो मन खुर्कीखार्की पारेर
फाल्नु रगतका ति टाटाहरु
र सफा पार्नु यो मनको घर आँगन ?
खुईय ! सुस्केरा काढेर
घर हेरें
अहँ छैन मेरो घर
अझै नियाँलेर हेरें
देखिनं कतै
मेरो मनको घर
यो रातको निश्पट्ट अंधकारले
घ्वाप्पै छोपेको हो कि
साँच्चै हराएको हो मेरो मनको घर ?
भाउन्न छुट्यो मलाई
अहो ! मेरो घर साँच्चै हरायो
जुरुक्क उठें
आँखा अगाडी तिर्मिर तिर्मिर
ताराहरु झिल्किए
के ले के ले मलाई
फन्फनी घुमायो
हैन म ढल्दिनं
ढल्नु हुंदैन मैले
आँखै सामु हेर्दाहेर्दै हराएको
मेरो घर खोज्नु छ
खै मेरो घर ?
Popularity: 22%
June 13th, 2008
गणतन्त्र कि कुर्सीतन्त्र ….?
- हरिकृष्ण न्यौपाने (प्रबासी)
गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गाह्रो भो
राजकाल भन्दा पनि आजकाल साह्रो भो !
नेता जति सबै ब्यस्त सबै जेशा-जोशमा
सबै आज लागेका छन् कुर्सी खोसा-खोसमा !!
चुनाब पहिले गरिबको टाउँको गन्दै जान्थे
हाम्लाई भोट दियौं भने विकाश गर्छौँ भन्थे!
तर आज सबै नेता लागे कुर्सी तिर
त्यसैले त जनतालाई पर्यो सारो पिर !!
अझै काटमार बन्द भएन अपहरण दिन्-दिन
अझै शान्त छैन नेपाल बन्द हड्ताल छिन्-छिन!
महंगीले नेटो-काट्यो पेट्रोल डिजेल छैन
सरकार पनि छैन जस्तो जिम्बेवारी भैन!!
मन्त्री,सांसद सभासद ब्यस्त भेट-घाटले
एकै मन्चमा बस्छन संगै बोल्छन छेड-छेडले!
राख्ने भन्छन् राजालाई नि अर्को दरबारमा
सबैलाई कुर्सी मिठो बस्न सरकारमा!!
लेखौं राम्रो संबिधान गरौं देशको विकास
आशा गरौँ सबै मिली निकाल्नेछन निकास!
फेरि पनि नदोहोरियोस देशमा कुर्सीतन्त्र
सबै मिली सफल पारौं लोक गणतन्त्र!!
Popularity: 22%
June 13th, 2008
वाशिङ्गटनमा ‘र्याली’
- होमनाथ सुवेदी
(एन्टीकिङ्ग ‘र्याली’ वाशिङ्गटनमा भएको थियो र त्यसबारेमा होमनाथ सुवेदीको यो ‘वाशिङ्गटनमा ‘र्याली’ ‘ कविता लेखेर उहाँकै ‘आप्रवासका सुसेली’ नामक कविता संग्रहमा २००६ मा नै छापिइसकेको छ तर यहाँ ऐतिहासिक सन्दर्भ सफलतासाथ जोडिएकोले ‘बधाई’ कविता दिनु अगाडि यो कविता दिइएको छ )
म भैन जो गएनन् लौ पश्चात्ताप हुनी भयो,
वाशिङ्गटनमा ‘र्याली’ न पत्याए समान भो ।
अनु, पुरु थिए तारा जीतमा कटिबद्ध झन्
नेता सुमन हुन् यौटा अर्का कार्की अगाडि छन् ।
बलराम थिए द्यौता, गिरिजा प्रीति लाउने,
होमराज थिए दीपू क्रान्तिकारी बनाउने ।
तारा किरण धर्मै हुन्, टीका हुन् गीत गाउने,
नेता मोहन देखिन्थे साना तै न अटाउने ।
नामै त कतिको काढ्ने एक एक महान हुन्,
मानवी अधिकारैको लागि लड्ने जमात हुन् ।
आधाभन्दा बढी नेता अनेसास गए उता,
थोरै नेता बचे होलान् राजाको गीतमा यता ।
डेमोक्रेसी भनी नेता राजाले पनि बेस्करी
लुटे नेपाल हा! ऐले नाङ्गो पारेर यस्तरी ।
नारामा शारदी शोभा, क्रान्तिमा शान्ति दुन्दुभि,
थर्काई पहरालाई नारा लाए महौषधि ।
माओवादी भनी भन्लान् यो त यौटा उखान भो,
न्यायको माग गर्दैमा को हुन्छ ‘टेरोरिस्ट’ त्यो ।
स्वाधीन नै बनुन् रैती राजाले गद्दी नै दिऊन्,
‘रिपब्लिक’ बनोस् देश, जन-माग यिनै-न हुन् ।
पछुताउ मलाई छ जान पाइन के गरू,
मज्जा भो सबले भन्थे लेख्न पाइन लौ अरु ।
०
वुडब्रिज, भर्जिनिया
जेष्ठ १५, २०६५
(It was presented to the “Poems for the new republic of Nepal” on poetry evening, Sunday, June 1, 2008, at 405 Brewster Av., Silver Spring, MD, 20901, USA)
बधाई छ तिमीलाई आन्दोलन गरी लड्यौ !
साधुवाद सबैलाई शुभेच्छा माथमा दियौ ।
प्रशंसा छ सबैलाई जितेको शान्तिको दिन
संघीय गणतन्त्रैको राज्यको स्थापना पुनः ।
साठी वर्षबसी कैद फोरेर राजतन्त्रको
संविधान सभा जन्म्यो संघीय गणतन्त्रको ।
दीर्घायु कामना गर्र्छौं नयाँ नेपाल राष्ट्रको
नेपालका सबै जाति नेपाली लोकतन्त्रको ।
मान्छेको महिमा कस्तो परेपछि उतार्दछ
सन्ध्याको कालमा उस्ले राती साथै गुजार्दछ ।
मरेका सरि भै मान्छे रैतीमा पनि टिक्दछन्
क्रान्तिको दुन्दुभि बज्दा शान्तिको लागि लड्दछन् ।
जनताको मतैले नै फालेको राजतन्त्र हो
संविधान सभाले नै छानेको लोकतन्त्र हो ।
दुःखका दिन काटेर सुखका बिरुवाहरू
रोपेर शान्तिको पात फैलायौ जल्जलाहरु ।
जिल्ला प्रत्येकमा खोली विश्वविद्यालयैहरू
गर उत्पादनै मान्छे डायस्पोरा भरे वरु ।
उच्च शिक्षा लिएकाले संसार जित्न सक्दछन्
होस् नागरिकता द्वैध नेपाल भर्न सक्तछन् ।
मान्छेको वाग नेपाल खानी हो मानिसै हुने
उत्पादन गरी मान्छे वैज्ञानिक बनाउने ।
नेपालबाट निर्यात लाखौं मानिसको गर
वैज्ञानिक पठाएर राष्ट्र उद्योगले भर ।
खपेर्र इश्वरी राज दुइसय र चालिस
जन्मायौ भौतिकी शक्ति लोकतन्त्र मजासित ।
राजतन्त्र सफा पारी नयाँ नेपाल जन्म भो
खुशियाली गरौं आज लोकतन्त्र बहाली भो ।
तारिफ क्रान्तिकारीको ! स्याबासी छ शुभेच्छुको
कामना व्यक्त यै गर्छु शान्ति समृद्धिको ।
०
Popularity: 21%
June 13th, 2008
गजल बिनाश ….
- दुर्गा राई
जन्म र मृत्यूको साँध यो जिन्दगी, त्रासै त्रास,
प्रहर प्रहर बिताई रहेछु आज बगदादको बास्,
यहाँ कतै कुनै भरोसा छैन, जे पनि हुन सक्छ,
पाईला पाईलामा फैलिएको छ मृत्युको सन्त्रास्,
भाग्यले पनि खै कस्तो ठाउमा ल्याई पुर्यायो,
आँखाको परिधि भन्दा पर पनि बिनाशै बिनाश,
यहाँ बाच्नलाई त अब देउतै चाहिन्छ हजुर,
चल्या छ यहाँ जता ततै बारुदै बारुदको बतास्,
अझै मर्या छैन यो “दुर्गा” मित्र हो बाँकी छ सास्
सारा सपना टुटे पनि राख्या छु अझै भेट्ने आश्
जरायोटार २ बसेरी
हालः ईराक, बगदाद - २०६५ बैशाख २०
Popularity: 26%
June 13th, 2008
आफ्नो संस्कार …

- रामकृष्ण वान्तवा
प्राणीमध्य बुद्धि विवेक भएको मानिस
बुद्धि भएर गर्दैन पुण्य किन - मानिस
धेरै छ यहा गर्ने गरी कुनै साध्य छैन
केही गरी जाउँ जन्मेर मर्नु मात्र हैन
प्राणी जन्मेर मर्नु त संसारको रितै हो
अमर नाम राखी जानु अतिनै राम्रो हो
छोरा तिमी के झुण्ड्याउँछौ कुण्डल कानमा
जुल्फी पाली जात फाल्छौ गुन्द्रुकको झोलमा
तिमी त मानिस हौ ऋतु त अवश्य होईनौ
किन रुप बदल्छौ तिमी पागल होईनौ
बिन्ती गर्छु जन्मेर मात्र नमर भन्छु म
बोलेर हुन्छ के गरेर देखाउ भन्छु म
हातमा हात काँधमा काँध कम्मर कसेर
गर काम हे मनु तिमी संसार हेरेर
फर्केर हेर घर कस्तो छ भनेर
आमाकी हालत घरमा के साध्य भनेर
चिच्याउँछे आमा खरानी घरमा हेरेर
सन्तान त्रि्रा रुदैछन भविष्य सम्झेर
हेर त्यो तिम्रो घरको के - हालत हुँदैछ
खरानी माथि हामफाली मुसात जाँदैछ
यहि कथा सुनेर माता झोक्रेर बस्दैछिन
बिचरी श्रृष्टिकर्ता माता सराप्दै रुदैछिन
यसरी बिकृति ल्याउँने नगरौँ भन्छु म
आफ्नोपन संस्कार हाम्रो नभुलौँ भन्छु म
मनु राम्रो रुपले हुन्न बुद्धिले हुँदछ
ढुङ्गो कुधि सुन त हुन्न यो कुरो सत्यछ
प्राणीमध्ये बुद्धि विवेक भएको मानिस
बुद्धि भएर किन गर्दैन पुण्य - मानिस
खोटाङ
हाल जोर्डन, हंगकंग
Popularity: 19%
June 13th, 2008
नेपालका प्रथम राष्ट्रपतिहरु ….

- मोती चाम्लिङ
लिगलिग कोटको दौडजस्तै
लाखौंवाट छानिएका धावकहरु
उछिनपाछिन धकेलेर
खुट्टा खुट्टामा छिर्के हालेर
तछांडमछांडको स्पर्धामा
हतास दौडिरहेका
देख्न आज दुर्लभ रहेन
नयाँ युगको नयाँ अवतार
धर्ती पलट गिराउने वराह अवतार
वन्चरोधारी पर्शुराम अवतार
महाभारतको कृष्णलीला अवतार
अयोध्यापुरीको रामचन्द्र अवतार
यस्तै थुप्रै अवतार भन्या जस्तै
आफ्नो जिकिरको आफ्नै अवतार
सपनै सपना देख्नेहरुले
लिगलिगकोटमा हंगामा चलाएर
एउटा तमासा रचिरहेका छन्
हामी रमितेहरु एकाग्र
ध्यानमग्न भएर आफनै उल्लासमा
गणतन्त्र दिवसको रात्रिभोजसंगै
आफ्नो अमिलो डकार आफ्नै नाकले तानेर
सिध्राको अचार जस्तै तिखो मान्दै
अनायास सुंघिरहेका हुन्छौ् ।।।
घुमाउंरो रिले दौडको
भञ्ज्याङ छिचोल्न सास्ती खेप्दै
मुखभरी तरेलीको गाज निकाल्दै
एकापसमा गाली थोपरेको
यहिं कानले सुन्न पाइयो
जनताको छाती कुल्चेर
वनावटी दुइ फूट उचाई थप्दै
लिगलिग कोट र नेपालकोटको
योग्य अधिकारी मै हुं,
आफ्नो आवाज भिडभित्रै
विलाउने डरै डरमा
मै ठिक वोल्ने खेतालाहरु खोजेर
हुकुमको सन्दुकभरी सपना वुनेर
उत्रेका छन् मैदानमा
वहिस्कृत कलुशित अनुहारहरु
नेपालका प्रथम राष्ट्रपतिहरु …..।।।
९ जून २००८
हेन्नेसि रोड, वानचाई, हंगकंग
Popularity: 19%
June 13th, 2008
Previous Posts