Archive for January, 2009
तेलखानी बिनाको नेपाल र ठमेलहरु…
- बृत आधार
तेलखानी बिनाको नेपाल
आज इराक हुनु परेन
बारुदको तुवाँलोभित्र रुमलिनु परेन
हिटलरी दमनभन्दा दर्दमूलक
भयंकर अमेरिकी सेनाको
पदचापद्वारा कुल्चिइनु परेन
तर
साम्राज्यबादीका कमाराहरु
ठमेलमा
मिनी टोकियो बनाउदैछन्
मिनी मेक्सिकोको बिस्तार गर्दैछन्
मिनी भियतनाम पस्कदैछन्
अफ्गानिस्तानहरु रोप्दैछन्
कस्मिरका बिरालाहरुलाई दुध चटाउँदैछन्
बिहार स्पर्श गराउँदैछन्
तस्लिमाहरुमाथि पटक पटक बलात्कारका प्रयासहरु गर्दैछन्
आङ साङ सूकीहरुलाई अझ जन्जिर कस्दैछन्
अनुराधाहरुलाई ब्यस्त बनाइरहेछन्
अनि
मोफसलमा
रुवाण्डा
नाईजेरिया
सेरालियोन
सोमालिया
बोस्नियाहरु
हाइटीहरुको
बृतचित्र स्मरण गराउँदै
क्युबियन बास्पिकरणको भ्रमित समिकरण
मस्तिस्कमा पालेर
मिजुरम
गोरखालेण्ड
तामील
खम्पा
मृगतृष्णाहरु बिउँताईरहेछन्
धन्न
तेलखानी बिनाको नेपाल
जर्ज बुसहरु खेप्नु परेन
सद्दामहरु जन्मिनु परेन
तर के भो र ?
ठमेलहरु
इराकै नभएपनि
धार्मिक त्रिशुलहरुद्वारा डामिनु परेकै छ
जरजर्तालाई सहन गर्न परेकै छ
तानाशाहहरुलाई जन्म दिन निरन्तरता प्रदान गरेकै छ
शोषितहरुमाथि पीडाहरुको धाराबाहिक प्रबाह गर्न सफल भएकै छ
साँच्चै नै
तेलखानी भएको नेपाल जस्तै नै देखिन थालेको छ
बर्लिनका पर्खालहरु पुन: उठाउन खोजे झै देखिन थालेको छ
संग्संगै मोफसलहरु पनि
धमाधम
ठमेलहरुतिर रवाना भैरहेकै छ।
~~~~~
फार्नबोरो
Popularity: 54%
January 15th, 2009
जरासन्ध*

- कृष्ण प्रसाई
जरासन्ध फेरि बिउँझिएको छ-
उसलाइ थाहा छ,
फैलिनुको मजा ।
उस्लाई थाहा छ,
बन्दी बनाउनुको मजा ।
अहिले यतिखेर -
तिम्रो भूखण्ड जो छ -
इतिहासको संकटकालको नाउँबाट-
नाजुक गुज्रिरहेछ ।
आफै इमान्दार नहुनुको नाउँमा-
तिमीलाई लान्छना लागो भने पनि,
अन्यथा नठाने हुन्छ तिमीले-
जस्लाई तिमी विश्वास गरिरहेछौ,
जरासन्धले उसलाई पनि किनेको छ ।
जरासन्ध ऊसंग पनि मिलिसकेको छ ।
र
उसले जरासन्धकै नुनको सोझो गर्दैछ ।
सपालु छ जरासन्ध,
कहिले दिए जस्तो गर्छ -
तर जति दिन्छ,
त्यसको दशौं दोव्वर लिन्छ ।
अभ्यस्त छ जरासन्ध,
तिम्रो सम्पदामा पासा फालिरहन्छ-
गाईको रङ्गमा स्यालको मन बोकेर,
कहिले साधुको भेषमा-
कहिले जालन्धरको भेषमा,
र
कहिले मृगको भेषमा
पल्किसकेको छ जरासन्ध-
खजाना लुट्नलाई,
लालपुर्जा मिच्नलाई
र
च्याखे थापिरहनलाई ।
किमार्थ डराउदैन जरासन्ध,
धोकामा पार्न तिमीलाई ।
कसैगरि लजाउदैन जरासन्ध,
बन्दी बनाउन तिमीलाई ।
खवरदार !
असंख्य बाहाना वनाएर,
जरासन्ध यतिखेर-
तिमीलाई धरापमा पार्न
विभिन्न जाल थापेर बसेको छ।
भेटेसम्म सिङ्गै निल्न-
भीमकाय जरासन्ध,
मात्रै दाउ हेरेर बसेको छ ।
अनामनगर, काठमाडौं
* महाभारतकालिन असुरराज जस्ले सयौं निमुखा राज्य प्रमुख हरुलाई बन्दी वनाएको थियो।
Popularity: 41%
January 15th, 2009
उच्छवासले चाप्दै लग्यो ..
- एकलव्य राज
उच्छवासले चाप्दै लग्यो पहेलिने सन्ध्यामा
विदृण बन्दै गयो इच्छा ओझेलिने सन्ध्यामा
अलिनो प्रकाशमा छामछुम गर्दै प्रदीपक
छायो कलेटी अन्धकारको रुमलिने सन्ध्यामा
तारे भिरका पाखाहरु त्युरी फुल्दा सेतै
लाग्न थाले निमेश भरमै खुइलिने सन्ध्यामा
चारबीस टेकी जिन्दगी अव प्रसुप्त बन्दै
बगुन्द्र फुसफुसयो मृत्यु कहालिने सन्ध्यामा
प्रारव्ध सोची आफ्नो जोडघटाउ नसिहतको
मिल्दैन हिसाब कहिल्यै ओरालिने सन्ध्यामा
बयरवन ३ हरकपुर (मोरङ्ग)
Popularity: 42%
January 15th, 2009
शहीद विद्युत र श्रद्धाञ्जलि…
- दीपेन्द्र के.सी.
सुनसान, सामसुम, शान्त
उदाश, निराश, सन्तप्त चिमहरु
सूर्यको प्रकाशले गिज्याउछ
हरेक अँध्याराहरुले अंठयाउंछ
टुकी र मैनहरुले घेरिएर
कहीं कतै दियालाहरुमा वेरिएर
तातो राप र अरुको उज्यालोमा
आफूलाई देखाउदै चिन्तित,
सडकमा उभिएर
नेताज्यूको भाषण सुनेर लज्जित
नयाँ नेपाल सुनेर त्रसित र्
अर्थमन्त्रीहरुका योजना सुनेर आजित,
तिनै चिमहरु ! आज
अंध्यारा वस्तीहरुमा
विद्युतको शोक श्रद्धाजंलि मनाउदैछन
नेताहरुका योजनाका शोक शन्देस पढेर
जलश्रोतको पुराण भट्याएर
हरेक दिन १६ घण्टा मौन धारण गर्दैछन
विद्युतलाई शहीदको सूचीमा चढाएर । ।
लुभेन बेल्जियम
Popularity: 40%
January 15th, 2009
जाडो…

- ईन्द्र थापामगर
एक-
एक सरो लुगा यो जाडोमा ,
बाबै ! जीवनको सपना भयो ।
पैतलाहरु खिउदै जादाँ ,
अलि पर जीउने रहरहरु कठै !
यी ठण्डीहरुमा हिँउ बनेर ,
वस्तीहरु र सडकहरुमा छरपरस्त ।
हिमाल बन्न नसक्ने ।
र
नदी बनेर बग्न र बगाउन नसक्ने ।
प्राप्तिरहित फगतका यत्नहरु ,
निरन्तर अनि निरन्तर…..
यो दुने जीवन ।
दुई-
ताईमोसान र मंकीहिल हुदै क्लब र रेष्टुरेण्टहरुमा ,
जन्म दिन, विवाह आदिका उत्सवहरुमा ,
एक, दुई …. गर्दै वाईन र रेड लेभलका बोटलहरु ,
यी जाडोहरुमा ,
क्रमश : रितिदै जादाँ ,
र
दुई /तीन बीसे जीबनहरुलाई ,
परदेशी सोल्टीनीहरुसँग ,
खै कुन्नी कुन पार्कहरु हो ?
खै कुन्नी कुन ठाँउहरुको डाँन्स, रेष्टुरेण्टहरु हो ?
सप्ताहन्तका दिन र रातहरुमा ,
सर्लक्कै एक बीसे बैशहरु जस्तै ;
निसंकोच र निर्धक्क ,
मायाँ गर्ने यी जाडोहरुमा ,
आहाँ ! दुनै यतिबेला
यो हङकङमा भै दिए ।
तीन-
जीवनहरुलाई ,
जाडो- अभिसाप हो वा वरदान ?
वा अर्थ अङ्कको जोड/घटाउ ?
रत्नेचौर, म्याग्दी
हालः हङकङ
नोट : दुनै नेपालको डोल्पा जिल्लाको सदरमुकाम हो जहाँ जाडो मौसममा सबै हिउँले ढाक्छ र गरीबहरुको जीवन कष्टकर बनाउछ। (2009-01-06)
Popularity: 44%
January 12th, 2009
नयाँ नेपालको बृत्त चित्र..

- गणेश खड्का ” प्रतिक्षा”
साइँली बज्यै !
नातीको फोटो हेरेर
किन रुन्छ्यौ बेकार
सतीले सरापेको देशमा
अब फेरी तिम्रो सराप ?
चुपो लाग
यहाँ बोल्नु हुँदैन
अपहरित तिम्रो नाती
कहिल्यै फर्केर आउँदैन
यो नयाँ नेपाल हो,
ठूलीकान्छी भाउजु !
छोराको लुगा सुँघ्दै
घोप्टो परेर
किन भक्कानिन्छ्यौ बिना सित्ती
धर्म मासिएको मुलुकमा
तिम्रो आरधना
तिम्रो प्रार्थना
मन्दिरको गजुरमा ठोक्किएर
तिम्रो आवाज, तिम्रो चित्कार
तिमीतिरै फर्किन्छ
हराएको तिम्रो छोरो
कहिल्यै भेटिदैन
यो नयाँ नेपाल हो,
अन्तरे दाई !
पटुका कसेर
के मरिहत्ते गर्छौ वाहियात्
ठग र दालालहरुले
धावा बोलेको राष्ट्रमा
तिम्रो राष्ट्रियता
तिम्रो स्वाभिमान
युरिया मिश्रित
रक्सी भन्दा सस्तो
तिम्रो पसिनाले
कहिल्यै मूल्य पाउँदैन
सँस्कृति र परम्पराको त
झन् कुरै नगर
यो नयाँ नेपाल हो,
नयाँ नेपालमा -
सानो मर्छ -ठूलो बाँच्छ
गरीब रुन्छ - धनी हाँस्छ
हुनेले खान्छ -नहुनेले हेर्छ,
नयाँ नेपालमा -
पुलिसले चोर्छ
हाकिमले घूस खान्छ
मन्त्रीले ज्यान मार्छ,
बिर्खे भाई !
किन मर्नु पर्यो
देशको खातिर ताई न तुई
स्वार्थी, पापी
र पाखण्डीहरुको अखडामा
तिम्रो रगत
रजश्वला बिग्रेकी स्त्रीको जस्तै
सस्तो हुन्छ भने
गुमेको तिम्रो ज्यानले-आत्माले
कहिल्यै वीरगती पाउँदैन
फौजदारीमा मरेका
नेता-मन्त्रीका आफन्तहरु
धमा-धम
महान शहीदमा सूचिकृत भएपछि
तिम्रो पवित्रताले
कहिल्यै मोक्ष पाउँदैन
यो नयाँ नेपाल हो,
अन्त
जन हत्यारालाई दण्डित गरिन्छ
तर यहाँ
पुरस्कृत गरिन्छ
जसले बढी युद्द गर्छ-आतंक मच्चाउँछ
उसैले शान्ति पुरस्कार पाउँछ,
नयाँ नेपालमा -
बाघ हिंसक छ
शायद अब
उसले पनि
जङगलबाट दाबी गर्छ
र शान्ति पुरस्कार पाउँछ
नयाँ नेपालमा,
अब
हेर्न बाँकी छ
नयाँ नेपालबाट
पाठ सिकेर
विश्व नोबेल शान्ति पुरस्कारको
दाबेदार बन्न सक्छन्
थुप्रै बिन लादेनहरु
तामिल टाइगरका नाइकेहरु
र मुसरफहरु ।
तिवारी भञ्ज्याङग -४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )
Popularity: 45%
January 10th, 2009
फूल खोज्ने भमरा झैं..
- नरेश माङपाहाङ राई
फूल खोज्ने भमरा झैं यतातिर आईयो
विष छर्ने साँप जस्तो मायालुलाई पाईयो
मोटर साईकल चढी आउदा मुस्कान छर्न थाल्यो
रित्तो खल्ती देखेपछि कसिंगर झैं फाल्यो
भोको माया टार्नलाई यतातिर आईयो
घुर्दै सुत्ने सुंगुर जस्तो मायालुलाई पाईयो
जीउको लुगा राम्रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्जेल अंगालोमा सर्पले झै बे-यो
मिल्ने जोडी खोज्दै खोज्दै यतातिर आईयो
काठ पसेको मूला जस्तो मायालुलाई पाईयो
टाढा हूदा सम्झिएर लेख्नु चिठ्ठी लेखें
मायालूलाई भेट्न जांदा अर्कैसंग देखें
मनको कुरा पोखुं भन्दै यतातिर आईयो
दुध नदिने भैंसी जस्तो मायालुलाई पाईयो
फोक्स्टोन वेलायत
हाल: अफ्गानिस्तान
Popularity: 53%
January 10th, 2009
सपनाहरू देख्ने गर्थे..
- मनोज केसी
सपनाहरू देख्ने गर्थे
देख्दा देख्दै भताभुङग भए..
कल्पनामा कल्पिन साह्रै मजा हुन्थ्यो
मानस पटलमा नै आउन छाडे
यौटा मायाको छायाँ थियो
मलिन हुँदै विलिन भयो
त्यो सुन्दर झरना झर्थ्यो जहां
सुकेर बालुवा थुप्रिदै गयो
कलकल गर्दै झर्ने खोला पनि
सुकेर कमिला हिंड्ने बाटो भयो
त्यो पारीको सुन्दर हरियाली वन
एक उजाड पाखोमा बदलियो
खेत बारीका तरेली पनि
घरहरुका कुरुप थुप्रा बनिसके
भातृत्व र सदभाव पनि
शत्रुतामा बदलिए जस्तो
आफन्त पनि पराइ भए जस्तो
दशैं तिहारमा खेल्ने आताशबाजी
वास्तविक जीवनमा पड्कन थाले
खै कस्का आँखा लागे कुन्नि
सुन्दर, शान्त नेपाल
दिन दिनै बम र बारुदको धुवांले
कालो हुँदै मडारिन लाग्यो…
लण्डन
Popularity: 46%
January 10th, 2009
सैद्धान्तिक मृत्यु..
– अप्जसे कान्छा
ढुङ्गा
कट्टी
बन्दुक
मोर्टर
रकेट
मिसाइल
अणु बम
रासायनिक बम
जैविक बम
दार्शानिक बम
राजनैतिक बम
थाहा भएका
थाहा नभएका
विनाशक बम
बनाउने
चलाउने
जुनसुकै देश
अर्गनाइजेसन
जो केहि व्यक्ति
व्यक्तिले छानेको नेता
नेताको क्याविनेट
क्याविनेटको आदेश मान्ने
पुलिस
जल सेना
थल सेना
हवाई सेना
गोप्य सेना
तिनीहरुका सेनापति
सेनालाई पाल्ने जनता
जनतालाई बेला बखत दुख दिने
चोर
डाका
सुसाइड बम्बर
आतंककारी
कोहिसंग पनि
म डराउने छैन
किनकी
म भित्र
डर छैन
पीर छैन
अशान्ति छैन
मैले मेरो सैद्धान्तिक मृत्युमा
वर्तमानसंग हस्ताक्ष्रर गरिसके
अब म जीउदो सहिद भएको छु
तर प्रश्न उठ्न सक्छ
सैद्धान्तिक मृत्युको घोषणा किन?
आखिर वर्तमानसंग यत्रो डर किन?
जब म चौबीसै घण्टा
मैले ओड्ने आकाशभरि
जासुसी विमानहरु
पिउने पानीको सतहभरि
जलसेना र जलयानहरु
टेक्ने धरतीको माटोभरि
आइ.इ.डि. र माइनहरु देख्छु
म अतालिन्छु
चिच्याउंछु
कराउंछु
मलाई, वर्तमानसंग
मृत्युको डर छ
बिना पीर
बिना डर
शान्तिपूर्वक बाँच्न
नयाँ सिद्धान्त
नयाँ उपाय
नयाँ बाटो
खोज्न थाल्छु म
तर कहि पनि
बिना खतरा
बिना सन्त्रास
आफूलाई सुरक्षित पाईंन
भोजपुर हाल यु.के.
Popularity: 42%
January 10th, 2009
लोकतन्त्र ..
- खडकबिक्रम खाँड
अन्याय र अत्याचारको जरै फयाँक्नु लोकतन्त्र
विकृति र बिसंगतीको अन्त्य गर्नु लोकतन्त्र ।।
राष्ट्रले रोजेको जनताले खोजेको बाटो देखाउदै
गरिव दुःखी जनताको बैसाखी बन लोकतन्त्र ।।
हुने खानेको मात्र हैन गरिवलाई पनि अधिकार दिदै
भेरी,कर्णालीका मान्छेलाई पनि नेपाली नै सम्झनु लोकतन्त्र ।।
दुःख गरे गरिवहरु आन्दोलनमा मरे किसान मजदुरहरु
संविधानमा उनको कुरा उल्लेख गर्नु लोकतन्त्र ।।
कसैलाई काखा कसैलाई पाखा नगर्नु पाप लाग्ला फेरि
सबैलाई समानता र सुखको अनुभब दिनु लोकतन्त्र ।।
चाहिदाको भाँडो, नचाहिदाको घाँडो होइनन् जनताहरु
जनताले अर्को विकल्प खोज्नु नपरोस् लोकतन्त्र
झुटो आश्वासन त हिजो पनि सबैले दिएका नै हुन्
असल काम गरेर आमालाई खुसी बनाउनु लोकतन्त्र
सच्चा तिमी देशभक्त हौ भने पूरा गर बाचा कसमहरु
भाषण र आश्वासनले पेट भरिंदैन लोकतन्त्र
घाँटी हेरी हाड निल्नु गहिराइ हेरी खोला तर्नु
काँचो मासु जस्तो निल्नु न ओकल्नु नहोस लोकतन्त्र
राष्ट्र हामी सबै नेपालीको एउटै राज्य नेपाल
अंशबण्डा गरेर महाभारत नबनाउ लोकतन्त्र
राम्रो काम असल शासन चाहन्छन् नेपालीहरु
राणा शासन शाही शासन नदोरियोस लोकतन्त्र
फुल्दै जाउ फूल सरी फैलँदै जाउ दुवो सरी
भोका नाङ्गा र गरिवी र अशिक्षालाई पार गर्ने गरि
जनताले चाहेको र तिमीले बोलेका कुरा पूरा होस
हरेक नेपालीहरुको यहि छ कामना
प्रवासी नेपालीहरुको तिमीलाई लाखौं लाख शुभकामना ।।
ढोर फिर्दी-५,तनहुँ
Popularity: 37%
January 10th, 2009
हामी धृतराष्ट्र, हाम्रो देश धृतराष्ट्र …
-विनोद रोका
हामीलाई,
मान्छे र परिवेश चिन्न संजयका आंखा चाहिन्छन्
त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ।
कथंकदाचित चिनि हाल्यौ भने पनि
इर्ष्या वा डाहाले कसैलाई भन्दैनौ।
हाम्रै संस्कारबाट बनेको हाम्रो देश
धृतराष्ट भन्दा फरक छैन….
त्यसैले देशमा राजतन्त्र, प्रजानत्त्र एवं गणतन्त्र जे आएपनि
सत्तासिनहरुले आफनो उत्तराधिकारीमा
दुर्योधन नै खोज्दछन्।
पाण्डव देख्दैनन्।
हो हामी धृतराष्ट। हाम्रो देश धृतराष्ट।
विदृरको विवेक र ज्ञानको उपहास हुन्छ,
किन कि हाम्रा स्वार्थसंग उसको
विचार मिल्दैन, अनि
विदुर निरीह हुन्छ।
त्यसैले,
हाम्रो सत्ता प्राप्तिका आधार
सदा तरवार, वन्दुक र भय बने।
स्वतन्त्र जनमतको आधार वन्न सकेनन्।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामी बुद्धमा केवल शिद्धार्थ देख्छौ
उ हाम्रा लागि
राजकुमार सिवाय केही बनेनन्
हामीले उसलाई
एउटा वोधिवृक्ष दिई बृद्धत्व प्राप्त गर्ने
अवसर दिएनौ,
त्यसैले उ बुद्धत्व प्राप्त गर्न
पलायन हुनुपर्छ।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामी भृकृटी र अरनिमा सुम्नीमा र
बाबुचा मात्र देख्छौ
ज्ञानको ज्योति र कौशलता देख्दैनौ।
त्यसैले,
भृकृटीले ज्ञानको उज्यालो र
अरनिकोले आफ्नो कौशल देखाउन
परदेशीको सहारा र आंखा खोज्नु पर्छ।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामीलाई मान्छे र पशिवेश चिन्न
संजयका आंखा चाहिन्छ
देश चलाउन विदुरको ज्ञान र विवेक होईन
सकुनीको कुटील चाल र दुर्योधनको अहंकार चाहिन्छ।
त्यसैले हामी खोट मात्र देख्छौ अरुमा
गुणजति आफू र आफ्नामा मात्रै पाईन्छ।
न्युयोर्क, अमेरिका
Popularity: 40%
January 10th, 2009
माया भनिदेऊ…
- केदार श्रेष्ठ”गगन”
प्यार गर्दै नजिक आउछु माया भनिदेऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
छातिभित्रै पसूँ लाग्यो अलि वर सर
फूलझैँ फुलिदिन्छु शीत बनि झर
माया गर्छु अजम्वरी निष्ठुरी भै नजाऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
हिउँभन्दा चोखो माया लाईदेऊ भन मनमा जे छ
वस्ती बसाऔँ मायाको मरी लानु के छ
छ छैन माया मेरो अलिकति भनिदेऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.इ.च्याप्टर
Popularity: 42%
January 10th, 2009
क्षणिक हाँसोका वीच अलमलिएका मानिस ….

- कुमारी लामा
‘ लौन म बर्बाद भएँ ‘ भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश फुङ्गै फुलेकी अनि दुब्ली कम्जोर देखिने बृद्धा आँखाभरि आँसु पार्दै कराउँदै थिइन्।
कोजाग्रत पूर्णिमाको दिन भएकाले फेवा किनारमा तालबाराही दर्शन गर्न जानेको भीड थियो। कुरा बुझ्दै जाँदा थाहा भयो , ती बृद्धा पनि ताल बाराही दर्शन गर्न आएकी रहेछिन्। तर त्यो भीडमा कुनै मौका छोपी बसेको बदमाशले उनको गलाको दुइ तोलाको सिक्री तानेर भागेछ । त्यही भएर ती वृद्धा बेहोस जस्तै भई हार गुहार गर्दैरहेछिन्। तर त्यो भीडमा चोरलाई समाउनु त सम्भव नै भएन । ती बृद्धाको अवस्थामा सहानुभूतिका शब्दहरू पस्कनेको भने बाक्लै भीड जम्मा भएको थियो त्यहाँ । मान्छे पिच्छेका कुराहरू पनि हुँदै थिए । कसैले ‘ बिचरा कस्तो बर्बाद भयो यो आमैको ‘ भन्दै थिए भने कसैले ‘ यस्तो भीडमा किन सुन लगाएर आउँनु पर्ने होला ‘ भन्दै थिए। जसले जे भने पनि ती बुढी आमाको पीडा आफ्नै ठाउँमा थियो । ती विभिन्न तर्क बितर्कका वीच मेरो मनमा भने अर्कै कुराले बेस्सरी अट्ठयाइरहेको थियो । म ‘ मानिस ‘ सँग त्रसित हुँदै थिएँ ।
त्यो चोरी अरू कसैले हैन एउटा मानिसले नै गरेको हो । ती बृद्धाको आँसु र मुटुभरि पीडाहरू मानिसले नै दिएको हो । अनि मानिस भन्दा डरलाग्दो जन्तु को होला र यस संसारमा ! मानिसले नै सधैँ आफै जस्तो अर्को मानिसलाई कहिले पार पाउँन नसक्ने दुःखको खाडलमा खसालिदिन्छ । मानव सभ्यताको विकासक्रमसँगै सम्पूर्ण हिंस्रक भन्दा हिंस्रक जनावरहरूलाई पनि मानिसले आफ्नो बशमा पारिसकेको छ । अब मानिसलाई ती जनावरहरूको डर छैन , छ त केवल आफै जस्तो रूप र गुण बोकेको अर्को मानिसको । यो बिडम्बनापूर्ण सत्यलाई हामीले आत्मासात गर्नु परेको अवस्था छ । हामी मानिसबाटै असुरक्षित छौँ । हामीले आफू जस्तै नाक , मुख , हात गोडा र मन मुटु भएकाबाट बच्नका लागि सुरक्षा गार्ड र घर टोलमा साइरन राख्नु परेको छ । हामी किन यसरी सभ्यताको विकाससँगै आफू चेतनशील मानिस हौँ भन्ने कुरा बिर्सदै छौँ ?
आफ्नो सुन्दरताले धपक्क बलेकी पोखरा त्यसैगरी खुलेकी थिइन् , माछापुछ्रे हिमाल खुसी भई आफ्नो आकृति फेवा तालमा निहृयाली रहेका थिए , फेवा तालले पनि आफ्ना उत्सुकताहरू मनमनै दबाई शान्त भई माछापुछ्रेलाई आफ्ना छातीभरि अटाइरहेकी थिइन् त्यो विहानीमा तर त्याँहा असुरक्षित र अशान्त थिए केवल ‘ मानिस ‘ । त्यही डर र असुरक्षालाई dmन् साथ दिनका लागि त्यही भीडबाट आफू जस्तै एउटा मानिस निस्किई ती वृद्धालाई त्यत्ति दुःखी बनाई भाग्यो । जब म मानिस यस्तो घिनलाग्दो काममा सामेल भएको देख्छु त्यत्तिखेर आफू मानिस भई जन्मेकोमा ज्यादै दुःख लाग्छ । हामी मानिसमा भन्दा पशुहरूमा वढी इमान्दारिता छ । पशुहरूको संसार चोरी चकारी र ढाँट छल भन्दा निकै पर छ । तर हामी मानिस निच भन्दा निच काम गर्न पनि पटक्कै हिच्किचाउदैनौँ । हामीलाई सिर्फआफ्नो खुसी र स्वार्थपूर्तिको ध्याउन्न हुन्छ । आफूले गरेको कार्यबाट अरूलाई कस्तो असर पुग्छ भनी हाम्रो चेतनाले कहिल्यै पनि मनन गर्न चाहदैन।
स्रिष्टिकर्ताले हामी मानिसलाई कर्म गनका लागि दुइ हात र सोचबिचारका लागि मस्तिष्क दिएका छन् । तर हामी हाम्रा वलिष्ठ हातहरू अर्काको सम्पत्ति हत्याउनमा प्रयोग गरिरहेका छौँ । हामीले हाम्रो मस्तिष्क सिर्जनशील कार्यमा भन्दा कसरी अर्कालाई बिगार्ने , ढाँट्ने र छल्ने भनी घुमाउनमा व्यस्त छौँ। मानिस भएर जन्मिनुको अर्थ यही हो त ? जब यस्ता घटनाहरूको साक्षी हुन्छु , बारम्बार मनमा यही प्रश्न दोहोरिरहन्छ । अनि उत्तरमा पनि एउटै कुरा गुन्जिन्छ , होइन , होइन , होइन । हाम्रो अमूल्य एकबारको मानव चोला यस्तो नचाहिदो कामको लागि हुँदै होइन । हामी मानिस यस धर्तीमा जन्मिएपछि मानिस जस्तै भएर बाँच्नु पर्छ । मानिसको मानवीय गुण भनेको ढाँट , छल र बेइमानी नभई इमान्दारीता , उद्धारता र कोमलता हो । आफूले पसिना चुहाएर मेहनत गरेर कमाएको मात्रै आफ्नो हो भन्ने कुरा हामीले बुझ्नु पर्छ । मेहनत नगरी अर्कालाई लुटेको सम्पत्तिले मानिसलाई कहिल्यै पनि पुग्दैन । त्यो जसरी आएको हुन्छ हामीलाई पत्तै नदिई त्यसै गरी जान्छ पनि।
त्यो वुढी आमाको सिक्री चोर्ने चोर केही दिन त पक्कै खुसी होला तर उसले जसरी सजिलो गरी पाएको थियो त्यो त्यसै गरी उडी जान्छ । चोरेर कोही पनि करोडपति हुन सक्दैन । चोरले जहिले पनि आफूभित्र हीनताबोध , ग्लानी र एककिसिमको पीडाबोध गरिरहन्छ । ऊ चोर भए पनि ऊ एउटा मानिस हो । अनि प्रत्येक मानिसभित्र एउटा भगवान हुन्छ । हामी मानिसले सारा संसारलाई ढाँटे पनि आफूभित्रको भगवानलाई कहिल्यै पनि झुक्याउन सक्दैनौँ । जब त्यो चोर एक्लै हुन्छ र आफूभित्रको भगवानसँग साक्षातकार गर्छ, ऊ अपराधबोधले फतक्क गल्न पुग्छ। उसले आफूभित्रको भगवान समक्ष ठाडो शीर गरी सामना गर्न सक्दैन। किन कि उसले धेरैलाई रूवाएको छ, दुःखी बनाएको छ अनि बिचल्ली पनि पारेको छ। हामीले जस्तो व्यबहार ग-यौँ त्यस्तै पाउँछौँ। अर्कालाई सधैँ काँडा दिनेले अरूबाट फूलको आशा गर्नु सिर्फ कल्पना हुन्छ।
हामी चेतनशील प्राणी ‘ मानिस ‘ हौँ त्यसैले हामीले मानिस भई जन्मेको धर्म निभाउने प्रयत्न गर्नुपर्छ। हामी माथि जन्मदिने आमा र हामीलाई उर्वर धर्ती दिने जन्मभूमिको सधैँ ऋण हुन्छ । त्यसलाई आ-आफ्नो तरिकाबाट जननी र जन्मभूमिको सेवा गरी तिर्ने प्रयास गर्नुपर्छ । हामीले आफ्नो जीवनकालमा सा-है ठूल-ठूलो काम गर्न नसके पनि एउटा इमान्दार व्यक्ति भई रहन भने पक्कै सक्छौँ । त्यत्ति गर्ने प्रयास गरिए पनि हाम्रो जीवन र्सार्थक हुन्छ । हामी यदि कसैलाई सुख र खुसी दिन सक्दैनौँ भने पनि कम्तिमा अरूलाई दुःख नदिने प्रयत्न गर्न सक्छौँ । आफ्नो कारणले कसैले दुइ थोपा मात्रै आँसु झारेको छ भने हामीले पनि कुनै न कुनै बखत चार थोपा आँसु झार्नै पर्छ । हामीले जस्तो दिन्छौँ त्यस्तै पाउँछौँ । यो संसारमा जति पनि क्रियाकलापहरू हुन्छन् , ती सबै चक्र झैं घुमिरहन्छन् । अनि हामी सबै जना त्यस चक्रमा घुमी फिरी आइपुग्छौँ।
त्यस चोरलाई कसैले समात्न नसके पनि ऊ आफूभित्रको भगवानबाट भाग्न सक्दैन । ऊ आफैबाट भागेर कही पुग्ने ठाउँ नै हुदैन। अन्तमा ऊ आफ्नै हीनताबोधको रापले डढेर खाक हुन्छ । अर्काको दुःखमा हाँस्ने हाँसो मात्र केही क्षणको हो । क्षणिक हाँसोको वीच नअल्मलिई इमान्दारीपूर्वक आफ्नो कर्ममा लाग्नु नै वास्तविक जीवन बाँच्नु हो । भ्रमका पर्दाहरू च्यात्नुपर्छ । अर्थपूर्ण जीवनले सधैँ हामीलाई पर्खिरहेको छ।
११ असोज २०६५
Popularity: 41%
January 10th, 2009
शून्यतामा…

- उषा गिरी
आजकाल किन
दोबाटोमा अतृप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र शून्यतामा?
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य
पाइला पाइलामा
पछुताउछ
मौन रुन्छ एकान्तको
काखमा,
बिते थुप्रै बिभत्स
यामहरु यथार्थमा तिम्रा,
भबिष्यले तिम्रो
कृतिहरु कोरिरहेछ
असंख्य बिचारहरुमा
अभिसापको युग
सल्बलाउछ
स्वतन्त्रताको धरातलमा।
चारपाने झापा
हालः ब्रुस्सेल
Popularity: 39%
January 10th, 2009
उदाउँदै गरेको नयाँ संबिधानलाई…

- अर्जुन दुङ्मेन्
पर्खाईमा छन् आमा-बाबा अनि नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोसाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई,
उहि धर्तिमा विलय भएका चिरात्माले पनि सलामी चढाउँनेछ,
आउँ तिमी, जात, जाति, भाषा, धर्म, लिङ्ग र बर्णलाई समेटी
जसले तिमीलाई गर्वको आशुँ चढाउँनेछ…
हो ! थाहा नहोला र कसलाई ? साहरा खोज्दैछौ तिमी बैशाखीको !
तर, बैशाखीको भरोसा त छैन यहाँ,
चम्चे र दादागिरीको दलदल भँगालोमा फस्ने बानी बसेकोछ ।
हे सहयोगी मित्रहरु !
निष्पक्ष एवंम् कर्मनिष्ठ भएर हातेमालो गरियोस् ,
जहाँसम्म भोलि आफूलाई ,
आफ्नो यथार्थ उपकार र कल्याणको भावनामा पोतियोस् ।
पखाईमा छन् आमा-बाबा अनि नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोसाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई
वनपाखाका प्राणी, भिरका सुनाखरी, देउराली र भञ्ज्याङ्गका बटुवा
अनि खर्कका चौरी पनि नछुटुन् ,
जसको चित्कार र मनोरञ्जनले तिमीलाई भोलि बासनादार फूल बनाई
सदा-सर्वदा फुलाई रहनेछ, फुलिरहनेछ।
पखाईमा छन् आमा-बाबा अनि नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोसाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई !
उदयपुर
हालः बगदाद
Popularity: 37%
January 10th, 2009