Archive for October, 2010

डायास्पोराको सिकारी र सिकार (कविता)- देश सुब्बा

रेखा कविता-३- अमूर्त रेखा
डायास्पोराको सिकारी र सिकार

- देश सुब्बा

म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
मैले सिकार गरेको पनि एक दर्जन वर्ष नाघेछ
मैले यहाँको तातो बालुवा, ढुङ्गामा सिकार गरेको छु
मैले रातमा ब्यूझेर सडक र गल्लीहरूमा सिकार गरेको छु
समुद्रको लु हावामा सिकार गरेको छु
मैले जिजिविषाको प्रत्येक भीर, पहरा र कन्दरामा सिकार गरेको छु

यो मुलुक अनौठो छ, दिन सुत्छ र रात उठ्छ
रात उठ्ने प्रत्येक पलहरूको सिकार गरेको हुँ
दिन सुत्ने प्रत्येक समयको सिकारी हुँ

यो कस्तो सिकार हो कुन्नि
यस सिकारमा मेरो खुट्टा भाँच्चिएको छ
दुर्घटनाले शरीर क्षतविक्षत भएको छ
बुद्धि रित्तिएर खोक्रो भएको छ
नोस्ताल्जिया फाटेर सिसा-टुक्रा भएको छ
राष्ट्रियताको अस्थिपिंजर ढुकढुकीमा अल्झेको छ

यस सिकारमा सपना ‘बर्मूढा’ र
म ‘टाइटानिक’ भएको छु

मैले स्वदेशमा पनि जीवनको सिकार गरेको थिएँ
खोलेपाँडो खाएर रमाउँदै
उब्जनि नहुने पाखाबारीमा सिकार गर्थे
त्यहाँ मलाई आनन्द थियो
मेरा फाटेका दुःखहरू हुन्थे,
मेरा जोडिएका सुखाहरू हुन्थे
गाउँलाई गोलबन्ध गर्ने धर्म र सँस्कार हुन्थ्यो
र मेरो स्वतन्त्रताको परेवा उड्थ्यो

तर यहाँ एक लाश मान्छेको जंगलमा
सिकार गर्दागर्दै उल्टै
मेरा दिन र रात सिकार भएका छन्
मेरा खुशी र पर्वको सिकार भएको छ
मेरा न्याय, अधिकार
स्वाभिमान सबैको सिकार भएको छ
हुँदाहुँदा म आफै यस अनौठो डायास्पोरिक मुलुकमा
काल र देशको सिकार भएको छु

म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
तर म अहिले डायास्पोराको सिकार भएको छु

अनुरोधः आदरणीय पाठक, समालोचक, कविज्यूहरू यस अदृश्य रेखामा कति रेखाहरू छन्, कृपया प्रतिक्रिया दिनुहोला।

Recent Videos:

Popularity: 21%

Add comment October 5th, 2010

‘दिलबहादुर’ को हत्यारा… (कविता) -रजिन राई

रजिन राई, खोटांग-

‘दिलबहादुर’ को हत्यामा
अस्वाभाविकरुपमा दुखे तिम्रा मुटुहरु
तर,
स्वाभाविकरुपमा तिमीहरु किन दुख्दैनौ ?
दिलबहादुरहरु उत्पादन गर्ने ब्याडहरुमा,
जन्मिरहेछ नव दिलबहादुरहरु
जोर्डनको काला गल्लीहरुमा,
कामतिनको झुपडीहरुमा
यहीँ-त्यहीँ तिम्रो मेरो सामीप्यमा
खै त दुखेका तिम्रा मुटुहरु ?
जिउदा दिलबहादुरहरुको वेदनामा
खै त पोखिएका तिम्रा सुन्दर शब्दहरु ?
उनीहरुलाई नवजीवन दिने योजनाहरुमा,
खै त ! तिम्रो ‘पाइलट प्रोजेक्ट’
नव ‘दिल बहादुरहरु’ फेरि
दिल बहादुर हुने नियति भोग्नुबाट रोक्ने ?
खै त ! तिम्रा ‘खलासी’ प्रोजेक्ट
नव दिलबहादुरहरुलाई
सामाजिक मृत्युबरणबाट रोक्ने?

(तिम्रो सामीप्यमा जिउदा दिल बहादुरहरु आउन खोज्दा)2
छातिमा हात राखेर भन ए ढोँगीहरु !!
तिमी कति मिटर पर भाग्यौ
उसले तिम्रो साथ खोजिहिंड्दा ?
तिमी कसरी तर्कियौ
उसले तिम्रो माया पाउन खोज्दा ?
उसलाई तिमीले कति घृणा गर्यौ
तिमीबाट सहानुभूति चाहँदा?

तिम्रा अपार घृणा र तिरस्काररुपी गोलीले
उसको मुटु छिया छिया भएपछि
तिम्रो अह्सयोगी भावनाले पराकाष्टा नाघेपछि
विचरा दिलबहादुर, तिमी हामीबीच रहेनन्
विचराले सामाजिक मृत्युवरण गरे।

दिलबहादुरको वास्तविक हत्यारा त
तिमी हौ….,
अनि म हुँ !!
‘होइका केइ’ त केवल निमित्त हुन्,
मात्र माध्यम हुन्
हामी आफू स्वयंले मारिसकेको
औ उ आफू स्वयं मरिसकेको
‘दिलबहादुर’ लाई मुक्त्ति दिने
मुक्तिदाता मात्र हुन्।

[होइका केइ ‘दिलबहादुर हत्या काण्ड’ मा संलग्न हङकङका प्रहरी हुन्।]

Recent Videos:

Popularity: 30%

Add comment October 4th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

October 2010
M T W T F S S
« Aug   Nov »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

Top Commenters