अनाम छापामारको नाममा (कथा) - इच्छा पूर्ण राई

December 16th, 2007

- इच्छा पूर्ण राई
यो कथा होइन र पनि कथा भएको छ । यो कथा सहरले नसुनेको कथा हो र सहरबाट केहि टाढाको कथा हो। पूर्वको प्रसिद्ध डाँडा ट्याम्के र मैयुँको विचको सानो गाँउको कथा हो। यो गाउँ हिउदमा हिउँमा सुतेर विताउछ अनि वर्षामा हुस्सु र भूइँ कुहिरोले घ्याप्प ढाकिएको हुन्छ। यो गाँउको नाम छैन र अनाम भएको छ। आफू अनामे भएर पनि स्वच्छ, शान्त र पर्यटकीय छ। तर सदियौ देखि हासेको छैन। हाँस्न सकेको छैन। सानो गाउँ जहाँ वस्ने प्रत्येकको खुट्टा हरिनाठले पटपटी फुटेको छ भुइचालोले पृथ्वीको धाँजो फटाएको झैं। ती फुटेका खोपिल्टाबाट हल्का रगत वगिरहेको हुन्छ तर पनि वास्ता छैन। ती हरिनाठे खालि खुट्टाले कालो तुषारो र हिउँमा छ्याम छ्याम टेकेर हिड्दा लाग्छ वनमान्छे हिडेको हो। यो रहर होइन वाध्यता हो। र, यो कथा पनि होइन यथार्थ हो। यो संघर्षशील अनाम गाउँ पिखुवा वगेदेखि मलबुक वगेदेखि छदैछ। तर अझ सम्म ६० घर भन्दा बढ्न सकेको छैन।

किरातीहरुले बुढाले यो अनाम गाँउको पछि न्वरान गरिदिए कि यो मुढा या दाउरा पल्टाउने ठाँउ भएकोले राई कुरामा दाउरा पल्टाउने ठाउँ भन्दा भन्दै सुम्लिखा भएको रहेछ। यो सानो म जन्मेको गाँउ हो। त्यहि गाँउमा जन्मिएर उच्चशिक्षा हाँसिल गर्ने पहिले व्यक्तिको रुपमा दरिएँ र गएको बेलाबखत त्यहाँ वरपर मौका मौकामा सम्मान नि स्वीकार्नपर्छ। प्रमुख अतिथि भई टोपल्नुपर्छ र काठमाण्डौमा बसे वापत यसो बुझे झै एक दुई शब्द बोल्नु नि पर्छ। यी मेरा गाउँ फिर्दाका गर्नु पर्ने कामका नीजि श्रृङखलाहरु हुन्।

यसपाली दसैमा सिमलातिर जानुपर्ने भएकोले जान पाइन र तिहारमा म घर गएँ। घर पुग्ना साथ काकीले सोध्नु भाईलाई भेटिनस सहरमा ? मैले को भाई भने ? राम प्रसाद । उसलाई सजिलोको लागि सबैले गाउँमा प्रसाद भनेर बोलाउने चलन थियो। हो उहि प्रसाद। मैले कहाँ गयो भने र काकीले छापामार भएर गएको ५-६ महिना भयो भनेपछि म छक्क परेँ। मेरो गाँउका धेरै मान्छेले फोन देखेका छैनन् र अहिलेसम्म हुलाकबाट पढाएको चिठी पाउन पनि कठिन छ किनभने अनाम गाउँको सबैले चिन्ने राम्रो ठेगाना छैन। त्यहाँ गाउँमा हुलाक छैन। नजिकको हुलाक चार घण्टा जति टाढा छ। त्यहाँ पठाउंदा कोहि नाम मिल्नेले त्यतै खोलेर हेरिदिन्छन र च्यातिदिन्छन्। कोहि ल्याउनेले वाटोमै हराइदिन्छन्। यी र यस्ता बारम्बार घटिरहने घटना हुन्। त्यसैले सहरबाट आउने नयाँ मान्छेहरु नै भरपर्दो श्रोत हुन सहरका समाचार ल्याउने। म घरभित्रको त्यसमा पनि पढेलेखेको भाई खोजेर भाईको वारे खवर ल्यायो भनेर काकी ढुक्क हुनु भएको रहेछ। तर, अफशोच त्यो हुन सकेन म वेखवर थिएं भाईको बारेमा। त्यतिबेला सम्म मलाई सूचना थिएन र खोज्न सकिन तर भनिदिएँ मैले भेटिन। काकी, अव म गएर खोज्छु भनेर उहाँलाई आश्वस्त पारे। तिहार मान्न घर गएको भाईको अनुपस्थितिमा रमाईलो भएन। त्यो भाई जो अवोध थियो। ऊ गाँउबाट नजिकको विद्यालय ६ घण्टा टाढा गएर डेरा गरेर ९ कक्षामा पढदैथियो। त्यहाँ पढदा पढदै ऊ कसरी छापामार हुने निर्णय गर्‍यो भन्ने कुरा मन भरी खेलिरहृयो।अनेक तर्क वितर्क उठे तर त्यस्को कुनै उत्तर भेटिंन। पछि सुने पढदा उसलाई चार हजार ऋण लागेर जागिर दिन्छ भनेर पैसा कमाउन ऊ हिडेको रहेछ तर यो कति सच्चाइ हो थाहा भएन।

त्यो सानो गाउँ बस्ने सबै भाइहरु वाइसिएल बनेका रहेका गोरे साइलादेखि घनश्याम सम्मका मान्छेहरु राता मान्छे भएकारहेछन। र, राता कुरा गर्दा गर्दा रहेछन्। त्यहाँ निकै लाल सलाम बिक्दोरहेछ र सबै नामका अगाडि कमरेड भनेर कसिला हात मिलाउदा रहेछन्। भैसी गोठमा गोवर सोर्दै, दुध दिदै, महि पार्दै, पतकर सार्दै र मेलापातमा क्रान्ति र मुक्तिका कुरा गर्दा रहेछन् र भोलिको उज्वल भविष्यको सपनाका कुरा गर्दा रहेछन्। के साना केटाकेटी, के अधबैसे, के वुढापाका सवै वाइसिएल। परेड खेल्न र कम्व्याट लगाउन रहर गर्दारहेछन्। त्यहाँ पार्टी अनुपस्थिति र अनुमति वेगर केहि हुदोरहेनछ। हरेक कामका लागि पार्टी सल्लाह र निर्देशन आवश्यक पर्दोरहेछ। दुईवर्षको अन्तरालमा यी फरकपन मेरो लागि रुची कै विषय भयो हेर्न र सुन्नलाई।

संयोगवश यसपाली खोटाङको कलाकारहरु आएर भोजपुरमा कार्यक्रम गर्नेरहेछन् माओवादीको संयोजन र आयोजनमा। त्यस्मा पनि वाइसिएलको रहेछ। मलाई सानोमा खेलाउने सुमित्रा तामाङ दिदीको जिम्मामा भात खुवाउनेरहेछ। केहि भाईको जिम्मामा सुरक्षा रहेछ , कोहिको केहि न केहि जिम्मा रहेछ। धेरै जसो के के को अध्यक्ष के के को अध्यक्ष ? मलाई सबैको हेक्का भएन तर हिजो आफ्ना काम गरेर खानेहरु अहिले क्रान्ति र परिवर्तनका कुरा गर्दारहेछन्। अब त्यहाँ हात र मुख जोडन दिनभरी खटिनुपर्ने वाध्यता भएकाहरु पनि फुर्सदमा क्रान्ति मुक्ति र पार्टी कुरा गर्दारहेछ। माओबादी इतरका अब त्यहाँ कोहि पनि रहेनछ। सबै माओबादी।

त्यहि कार्यक्रमको सन्दर्भमा वुद्धिजिवीको पगरी मलाई पनि गुथाइदिए र गरे सम्मान। अविर र मालाले रातको समयमा मलाई पनि सजाइयो र अतिथिको रुपमा बोल्न लगाए। त्यहाँ अहिले बोल्नेहरुको लाम र बोल्ने कौशल देखेर म दङ्ग परे। एक से एक बोल्नमा माहिर। त्यसबेला मनमनै सोचे कि उनीहरुले भनेको जस्तो क्रान्ति होस् कि नहोस् तर बोल्दा माइक नै फुटला झै सुनिन्थ्यो। त्यतिबेला मलाई लागिरहेको थियो कि त्यी सबै युवाहरु चीनको लम्वे अभियानमा हिडे झै हिड्न खोजिरहेकाछन्। तयारी गरीरहेका छन्। तर ती मेरा सोझा सिधा गाँउले दाजुभाई, दिदीबहिनीहरुलाई के थाहा कि उनीहरुका सहरमा बस्ने नेताहरु के गर्दैछन भनेर ? के साच्चै उनीहरुको क्रान्तिप्रतिको भावना, मुक्तिको सपना सहर वस्ने सांसद र मन्त्री वनेका उनीहरुका नेताहरुले साकार पार्ला त ? उनीहरुको क्रान्तिप्रतिको भावनालाई मर्न दिनुहुदैन किनभने त्यी भावनाहरु स्वतस्फुर्त रुपमा सदियौ देखि नसुनिएका आवाजहरुका भावना हुन्। उनीहरुको क्रान्तिप्रतिको भावनालाई मर्न दिनु हुदैन किन भने ती भावनाहरु सहरदेखि टाढा कहिल्यै नसुनिएका भावनाहरु हुन्। त्यी भावनाहरु निर्दोष भावनाहरु हुन्। मैले उनीहरुको क्रान्ति प्रतिको भावनालाई सम्मान गरे तर त्यी सवै कति वुझेर लागेका हुन कति लहै लहैमा। थाहा छैन तर त्यी सवै कमरेडहरु हुन्।

वाइसिएललाई छाडेर वार्ताकाल यता घरको दुःखले जागिर पाइन्छ भनेर छापामार बन्न हिडेका मेरा दर्जनौ भाईहरु रहेछन्। तर धेरै जसोलाई छोरा छापामारमा दर्जा भएर बसेको ठाउँ पत्तो रहेनछ। तर उनीहरु भने यतिबेला घर संझिरहेको हुनुपर्दछ। ती मेरा छापामार भाईहरु यो पुष माघको जाडोमा गाँउमा भेला भएर ढोड बाल्दै आलु पोलेर खाएका कति सम्झिदा होलान्। बुलडाँडाँ, एकराते, रातोपोखरी र मुलडाँडाँहरु कति सम्झिदा हुन्। त्यस्तै पखुवा बजार र माघे संक्रान्ति पनि स्मृतिमा आइरहदा हुन्। यी सवैलाई त्यागेर देशको मुक्तिको लागि क्यान्टोनमेन्टमा खादिएका यी र यस्ता वर्ग वास्तवमा असली छापामार हुन्। त्यस्तै गाँउमा सुखदुखमा, मेलापातमा सघाउने वाइसिएल वास्तवमा असली वाइसिएल हुन्। मंसिरको चिसोमा अघिल्लो दिनदेखि राती ४ वजेसम्म अतिथिको सुरक्षामा वसेको गोरे दमाईहरु, लुकुनी ओढेर वढो फुर्तिसाथ अरुको सेवामा जुट्ने घनश्याम मामाहरु अरुको सेवामा रमाउदै भात खुवाएर अतिथि सत्कार गर्ने सुमित्रा दिदीहरु वास्तविक वाइसिएल हुन्। तर तिनीहरु सबैलाई यस्ता वाइसिएलहरु छन् जस्ले दानवीय आतंक मच्चाइरहेका छन् र मानव अधिकार हनन मात्र होइन निर्दोषहरुलाई पक्रिएर फाँसी समेत दिएका छन् भन्ने कुराबाट पुरापुर अनभिज्ञ छन् किनभने त्यो गाँउ शहरबाट टाढा छ जहाँ रेडियो नेपाल वाहेक अरु सुन्न पाइदैन। फोन वोल्नलाई, सहर देख्नलाई र एक काँटी सलाई किन्नलाई १ दिन पुरा हिडनुपर्दछ। नुन किन्नलाई, गाडि देख्नलाई ३ दिन हिडनुपर्छ धेरैले जीवन भरी शहर नदेखि मरे, गाडि नदेखि मरे।

यी सवै अनुभुत गरे यसपाली। आघौँ जान्छु कि जादिन गाउँ तर फिर्दा काकी र अरु गाउंले आफन्तलाई पुरा पुर आश्वस्त पारिदिएको छु कि ती छापामार बनेका भाईहरुलाई खोज्नेछु अनि भेटेर भन्नेछु एकपटक घर जाउ भनेर। यतिबेला आमा तिमीहरुलाई संझेर रुइरहेका छन्। र, अहिले म काठमाण्डौ आइपुगेको छु यहाँ आएर अरु आफन्त र काकीले भनेको कुरा सम्झिरहेको छु। काका घरको आर्थिक स्थिति सुधार्न कुल्लि काम गर्न वम्वई जानुभएको रहेछ। एउटा हाते चिठी चै गएको छ रे। कहिले आउनु हुन्छ थाहा छैन तर सानो वहिनीको मुटुको भल्भ फेर्नु पर्ने रे। यस्तै यस्तै समस्याका धेरै फेहरिस्त। तर, म काठमाण्डौ आइपुगेर अलमलमा परेको छु। मेरो भाई प्रसादको नाममा कुनै नाम राखिएको होला। उस्को कुनै लेवल लागेको होला कमरेड फलना। उस्को नाम थाहा छैन अव मैले कसरी पत्ता लगाउने? मेरा पुराना चिनेका केहि छापामार साथीहरुलाई हुल्या र ठेगाना दिएर खोज्न भनेको छु तर तिसौं हजारमा कसरी सम्भव छ? हो, छापामार भएर हराएको भाईहरु म खोजिरहेको छु। मेरो काकी जस्तै कंयौ आमाहरु, आज हराएको छोरा सम्झिरहेका होलान्। खोजिरहेका होलान् यी हाम्रा भाईहरु हाल कुनै कमरेडमा परिणत भएको होला तर उनीहरुको आमालाई त्यहि पुरानै प्रसादहरु चाहिएको छ र म असमान्जस्यतामा छु कि मेरो छापामार वनेर हराएको त्यी अनाम भाइहरुलाई भेट्टाएर कसरी उसको आमालाई समाचार पठाउने ?

Popularity: 41%

Entry Filed under: कथा

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. देश/ विदे&hellip  |  December 16th, 2007 at 6:17 pm

    […] - इच्छा पूर्ण राई यो कथा होइन र पनि कथा भएको छ । यो कथा सहरले नसुनेको कथा हो र सहरबाट केहि टाढाको कथा हो। पूर्वको प्रसिद्ध डाँडा ट्याम्के र मैयुँको विचको सानो गाँउको कथा हो। यो गाउँ हिउदमा हिउँमा सुतेर विताउछ अनि वर्षामा हुस्सु र भूइँ कुहिरोले घ्याप्प ढाकिएको हुन्छ। यो गाँउको नाम छैन र अनाम भएको छ। आफू अनामे भएर पनि स्वच्छ, शान्त र पर्यटकीय छ। तर सदियौ देखि हासेको छैन। हाँस्न सकेको छैन। सानो गाउँ जहाँ वस्ने प्रत्येकको खुट्टा हरिनाठले पटपटी फुटेको छ भुइचालोले पृथ्वीको धाँजो फटाएको झैं। ती फुटेका खोपिल्टाबाट हल्का रगत वगिरहेको हुन्छ तर पनि वास्ता छैन। ती हरिनाठे खालि खुट्टाले कालो तुषारो र हिउँमा छ्याम छ्याम टेकेर हिड्दा लाग्छ वनमान्छे हिडेको हो। यो रहर होइन वाध्यता हो। र, यो कथा पनि होइन यथार्थ हो। यो संघर्षशील अनाम गाउँ पिखुवा वगेदेखि मलबुक वगेदेखि छदैछ। तर अझ सम्म ६० घर भन्दा बढ्न सकेको छैन। (more…) […]

  • 2. कान्छा  |  December 19th, 2007 at 6:17 am

    धेरै राम्रो कथा पढियो ,,। अहिलेको नेपालको वर्तमान घाउहरू बल्झेको छ कथामा ।

  • 3. BJ Bnatawa Rai  |  February 11th, 2008 at 5:11 pm

    malai dherai khsui lagyo yasto katha haru padhna feri feri pani paiyosh kepp it up.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in December, 2007

Most Popular Posts