कागजमा दस्तखत (कथा) - नीलम कार्की निहारिका

February 13th, 2008

- नीलम कार्की निहारिका
मोटर साइकल गुड्छ, रोकिएको स्कुल बसको छेवैबाट ऊ सीट अगिल्तिरको डण्डीलाई झन् बलियोसँग समात्छ। यसैगरी यदाकदा देख्ने गर्छ त्यो मोटरसाइकल स्कुल जाने-आउने क्रममा । ऊ हेर्छ - हेरिरहन्छ आफूलाई छुपाएर।


लेखिका

साथीहरू कोही हिँडेर आउँछ आमाको औंला समातेर, कोही मोटरसाइकलमा आफ्नो बाबुसँग अनि कोही ऊझैं स्कुल बसमा । स्कुल बस चढ्छ साढे आठ बजे नै । त्यसको लागि आठ बजे खाना खाई सक्नुपर्छ । बाँकी समय लुगा फेर्न र बस स्टपसम्म पुग्नको निम्ति। साँझ बसले घुमाउदा घुमाउँदा पाँच नबजी घरभित्र पस्न पाउँदैन।
दिउँसोको खाजा खाने समय हिउँ भैसकेको हुन्छ तर खानुपर्छ कपाकप । होमवर्क सबै नभएको बेला टिचरको छडी खानुपर्छ, कुखुरा बन्नुपर्छ, कहिले त ट्वाइलेटमै थुनिनुपर्छ।
उसको दिनचर्याको कुरा गर्दा -
बिहान आँखा खुलेपछि मामुसँग भलाकुसारी गर्ने, मुख धोएर दूध पिउने, यसो किताब हेर्ने, खाना खाने, ड्रेस लाएर स्कुल निस्कने। घरबाट निस्कने समय कहिले उसको अगाडि हुन्छ, कहिले मामुको टुङ्गो छैन। बढी जसो मामु नै प्रथम हुन्छिन् । फर्कने बेला छोरा प्रथम । एक निद्रा बसको सीटमा बसेर नै पूरा गरेर फर्कन्छ प्रायः । आएर लुगा फेरेपछि खाजा अनि ट्यूशन मिसबाट होमवर्क । साँझको खाना घरमा काम गर्ने दिदीले खुवाइदिन्छिन् त्यसपछि मामुको प्रतिक्षा।

यही हो उसको दिनचर्या । कहिलेकाहीँको यसो फेरबदल । शनिबार भरसक मामु उसलाई घुमाउन लाने योजना सुनाउँछिन्। त्यो योजना कहिले कार्यान्वयन हुन्छ । कहिले त्यसै फाइल बन्द हुन्छ ।

मात्र उसले बाटो हेर्नुपर्छ मामु आउने । बाबा आउने बाटो पर्खन पर्दैन । मामु कुनै दिन आइपुगी पनि हाल्छिन् उसले निद्रालाई नभेट्दै । धेरैजसो न्रि्रामै मातृस्नेहको महसुस गर्नुपर्छ ।
हो, उसले कता-कता थाहा पाउँछ तानेर छातीमा चेपेर निधारमा म्वाइ खाएको । ‘सरी’ बेटा ! भन्दै खुट्टा मलिदिएको ।
हो, कहिलेकाहीँ जानेको छ मामुको आँसुले उसको गाला भिजेको । त्यो बेला अझै नजिक टाँसिन्छ र बिस्तारै बोल्छ -’मामु’ ।
प्रत्येक बिहान पहिला ऊ ब्यूँझन्छ र भन्छ ‘गुड मर्निङ मामु !’ थाहा छैन उसलाई यसको अर्थ के हो ? र कहिलेदेखि सिक्यो । तर सधैँ भन्छ, अटुट साथ उसको एक चुम्बन पनि टाँस्छ मामुको निधारमा ।
‘आज के ल्याइदिनु भा’ छ ? हरेक दिनको प्रश्न यो । घर र्फकँदा उनले केही ल्याएकै हुनुपर्छ । एउटा चकलेट होस् वा खेल्ने गाडी । कहिले अग्रिम ल्याएर राखेकी हुन्छिन् । कहिले भन्छिन् ‘सरी बेटा, मम्मी राति भएर डराएर दौडदै दौडदै’ आएको किन्न पाइन । भोलि ल ! यस्तो बेला ऊ स्वीकृतिमा टाउको हल्लाउँछ र गर्छ अलि ठूलो रकम पर्ने माग । कहिलेकाहीँ भनी पनि हाल्छ ‘अलि छिटो आउनू न त ।’

यतिबेला उही जवाफ रहन्छ ‘छोरा, या दुःख तिम्रै लागि त गरेकी छ नि । बाबुलाई मम्मी घर बनाइदिन्छु, गाडी किनिदिन्छु ।’
छोराले सोध्छ औधी उत्सुक भएर - ‘कस्तो गाडी - ठूलो चढ्ने गाडी हो ? म ठूलो भएपछि हो ? अनि म मामुलाई राखेर घुमाउँछु ल ।’ यी वाक्य बोल्छ आफ्नो बोली तोते बनाउँछ आफ्नो उमेरभन्दा तीन वर्षकम ।
‘मामु मोटर साइकल पनि है -’ माग थपिन्छ । ‘बाबाको जस्तै है ।’
आमा-छोरा व्यूँझिएपछि, यस्तो वार्ता हरेक दिन हुन्छ । साँचो मानेमा प्रत्येक दिनको भेट भनेको यति नै हो दुवैको एक आपससँग । त्यसपछि आमा आफ्नो तयारीमा, छोराको अर्कै तयारी ।
आमा-छोराबीचको वार्तालापको क्रममा, छोरा पनि आमालाई दैनिकी सुनाउँछ । ध्यान दिएर सुन्छ मामुको आमाले सोध्छिन् - ‘कसको माया लाग्छ -’ पहिला-पहिला भन्ने गथ्र्यो ‘ममीको र बाबाको’ । आजभोलि सधैँ एकै उत्तर रहने गर्छ - ‘मामुको’ अझै थप्छ ‘लाग्दैन त्यस्तो बाबाको माया, मामुको मात्रै लाग्छ व्यारे ।’
एक दिन छोरा रातिसम्म ननिदाई बसेको । आमा भित्र पस्नासाथ सुनायो - ‘मामु ! आज को आको मेरो स्कुलमा थाछ ? बाबा आ’ को नि ।’
प्रश्न पनि आफ्नै जवाफ पनि आफ्नै ।
‘अनि -’ यत्ति मात्र उत्सुकता ।
‘म लुकेँ, कुर्चीमुनि ।’
कुनै प्रतिक्रिया दिन सकिनन् मामुले ।
अर्को दिन फेरि भन्यो - ‘आज पनि आँको बाबा, म ट्वाइलेटमा पसेर निस्कदै निस्केन ।’
प्रश्न गर्ने ठाउँ नै राखेन उसले ।
एक बिहानको नयाँ खबर छोराको -
‘बाबालाई देखेको बसबाट मैले ।’
‘एक्लै -’ मामुको प्रश्न ।
‘मोटर साइकलमा । बाबाको दुलही बसेको । अनुहारमा दुई भाव सोहोरिन्छ ।
त्यही बिहानको कुराकानीमा -
‘मामु हजुरले मोटरसाइकल किन्नु न । अनि मलाई त्यसैमा स्कुल लैजानु । हुन्न मामु -’
फेरि छ वर्षउमेरबाट तीन वर्षमा र्झछ ऊ ।
‘हुन्छ । तिम्रै लागि नै यो दुःख गरेकी । हुन्छ किन्छु । भोलि पर्सी । मामुले पनि धेरै पैसा कमाउँछु अनि हुन्छ -’
‘कति पैसा यो घर जति -’ हो ?
‘होइन ।’
‘कति त ?’
‘थाहा छैन ?’
‘त्यै भएर त जागिर गरेको है मामु ? मलाई गाडी मोटरसाइकल किन्न । अहिले मामु चलाउने ठूलो भएपछि छोराले बाबुले’ शिवजीको घाँटीमा सर्प बेरिएझै बेरिन्छ ।

000 000

समाजमा महिला मुक्तिका आवाज दिनहुँ जसो उठ्छन् । पत्रिकाको एउटा स्तम्भ यस्तै विषयमा हुन्छन् । उनीहरूको लागि आवाज उठेको छ । ‘लोग्ने मान्छेले श्रीमती मरेको वर्षदिन नबित्दै अर्को स्वास्नी भित्र्याउँछन्, चाहे ऊ तन्नेरी होस् वा बूढो । तन्नेरी छ र बालबच्चा पनि छन् भने बच्चाको स्याहार-सम्भारको लागि भन्ने निहु बनाउँछन् । बूढो छ भने बुढेसकालमा कसले स्याहार्छ एक्लै परिन्छ भन्छन् । स्वास्नीमान्छे मान्छ भने बाल विधवा भए पनि त्यसै एक जुनी काट्नु पर्ने कस्तो न्याय हो ?
यो त भयो स्वास्नीको मृत्यु भएको अवस्थामा । स्वास्नी हुँदाहुँदै अर्की स्वास्नी ल्याउने । त्यसैले स्वास्नीमान्छे रोइरोइ नबाच्न सन्देश दिन्छन् महिला उत्थानमा लाग्नेहरू ।’
‘के महिलाले मात्र गर्नुपर्छ त्याग ? भोग्नुपर्छ नियति -’ - उनकी आमाको प्रश्न बाबुसँग ।
‘हामीले मात्र नसक्ने हो र - बिहे गरिदिने हो बाजा बजाएर । किन गर्ने लुकिछिपी ? जोरीपारी सबैलाई देखाएर गरिदिने । उमेर नै के भाँछ, हाम्री छोरीको बल्ल सत्ताइस न हो ।
उसले फेरि छोरो पायो भन्या हो ? बाबुको प्रश्न?
‘धुमधाम छैटी गरिसक्यो ।’
‘ऊ के भन्छे ?’
‘सबैले सम्झाएपछि मानेकी छ । भन्न पो नसकेकी होली, त्यसरी बाँच्ने इच्छा क-कसको हुन्छ ? लाउँलाउँ, खाउँखाउँ, देश विदेश घुमौं भन्ने बेला ।’
बाबु - आमाको निर्णय बिहेको निम्ति ।

000 0000

हतार-हतार घरभित्र पसेपछि लुगा नै नफेरि छोरासँग लिप्टिन्छिन् उनी । साँझ घर फर्कने समयमा केही फेरबदल भएको छ । अलि छिटो, भित्रिन्छन् उसको पाइला घरमा ।
केही दिनदेखि उनी काममा गएकी छैनन् ।
पूरा समय छोराको लागि ।
ठाउँ-ठाउँमा घुमाउन लैजान्छिन् । किनिदिन्छिन् औँला देखाएका जति सबै ।
चाहेको खेलौनाको प्राप्तिमा सयपत्री फुल्छ उसको अनुहारमा ।
उसले पनि सन्तुष्टिको एक थुङ्गा फूल टिप्छिन् ।
पिङ्, रेलगाडी, बन्दी जनावर देखाउँदा, ऊ उफ्री उफ्री रमाउँछ ।
‘त्यो के हो मामु ?’
‘गैंडा ।’
‘त्यसको पनि मामु मात्र हो ?’
‘होला ।’
‘बाबा कहाँ गयो होला है ?’
उत्तरमा केही बोल्न सक्दिन ।
फिल्म हेर्न लैजान्छिन्, सर्कस देखाउँछिन्, नाट्यघर पुर्‍याउँछिन् । मानौं अब देखाउन र हेराउन बाँकी छैन ।
बेला-बेला बज्ने मोबाइलले छोरासँगको समयलाई छोट्याए- खोट्याए झैं लाग्छ।
त्यो सापटी समय मात्र छोराको लागि । घर फर्केपछि असहज लाग्ने सहज प्रश्न छोराको - ‘किन मामु यति धेरै खेलौना यति धेरै लुगा ? मेरो बर्ड डे पनि होइन दसैँ पनि होइन ।’
कुनै जवाफ रहन्न उनीसँग ।
साँझ सुमसुमाउँदै छोरालाई भन्छिन् - ‘बाबा दश-पन्ध्र दिन हजुरबुबा-हजुरआमासँग बस है ।’
‘किन र मामु हजुर कहाँ जाने ?’
फेरि पनि जवाफ रहन्न कुनै ।
‘हजुरको एक्जाम छ हो ?’ पहिला परीक्षामा त्यसै गरी राखेकी थिइन् ।
‘हो ।’
छोरासँग लामो वार्तालाप अघि बढेन ।
उनी प्रस्ताव राख्छिन् बाबु आमासँग । ‘धुमधाम पार्टी गरौं । बाबु-आमाको ढिपी छ - ‘किन नगर्ने ? हामीसँग के कमी छ ? किन गर्ने लुकिछिपी ? दुनियाँ कहाँ पुगिसक्यो छाती खोलेर गर्ने ? उसले कसरी गर्‍या थियो त्यो भन्दा दोब्बर गर्ने । इँटको जवाफ पत्थरले दिनुपर्छ ।
दुलाहा बन्ने वालाको इच्छा पनि यही छ ।
अनि के ? घरबाटै बिहे गर्ने भो ।
घर त के पाटी प्यालेसबाट ।
पहिला कोर्ट म्यारिज अनि भव्य पार्टी
छोरालाई केही दिनको लागि कहाँ पठाउने ।
मात्र छलफको विषय यही रह्यो -
मामाघर ? - हुँदैन, आफन्तको आवातजावत बढ्छ ।
आफन्तकहाँ ? - त्यो पनि हुन्न ।
घुम्न ? - कति दिन ? कोसँग ? कहाँ ? हुँदैन । डेरामै ? - त्यो पनि हुन्न । आमा खोज्छ ।
सबैभन्दा राम्रो होस्टल । केही दिनको कुरा न हो ।
होस्टल पढाउने तयारी चल्छ । एक बिहेको भन्दा बढ्ता ।
फेरि सपिङ सपिङ। फेरि घुमाउने मनाउने ।
‘सबै किनेर पुग्यो, अब के किन्ने भन ?’
‘नाई म होस्टल नजाने ।’
‘ठूलो गाडी किनिदिन्छु ।’
‘नाई, नजाने ।’
‘ममी घर फर्कदा ढिला हुन्छ ।’
‘बाबुलाई निद्रा लाग्छ ।’
‘लाग्दैन मामु ।’
‘त्यहाँ गएपछि होमवर्क गर्न भ्याउँछ, सर मिसले पिट्दैनन्, ट्लाइलेटमा थुन्दैनन् ।’
‘सबै गर्छ, ज्ञानी हुँदा केही किन्न भन्दिनँ, के ल्याउनु भन्दिनँ कहिल्यै दुःख दिन्न, मलाई गाडी पनि चाहिन्न, मोटरसाइकल पनि चाहिन्न । केही माग्दिनँ, म जान्नँ ।’
राति अबेरसम्म सम्झाउँछिन् । ऊ नजाने ढिपीमा मामुलाई दुवै हातले घाँटीमा माला बनाएर बस्छ ।
जति-जति उनी सम्झाउँदै जान्छिन् उति-उति ऊ कस्तै जान्छ । बलियो गरी, अझै बलियो गरी । सासै फेर्न नमिल्ने गरी । उनी एकसाथ बलपूर्वक छोराको हात तानेर अलि पर हुत्याउँछिन् र आफू हुत्तिएर पस्छिन्, अर्को कोठातिर । सुक् सुक्को आवाज दुवै कोठाबाट निस्किरहन्छ । धेरैबेरपछि फर्कँदा छोरो डल्लो परेर निदाइ रहेको हुन्छ । सँगै निदाउने कोसिस गर्छिन् उनी पनि । भोलिपल्ट ऊ होस्टल पुग्छ, सारा समानसहित । एउटा कागजमा दस्तखत भएर एउटासँग पारपाचुके भएको थियो ।
अर्को कागजमा दस्तखत गरेर अर्कोसँग बिहे भयो ।
पार्टी भयो, भव्य । रातिसम्म चल्यो, नाचगानसहित ।
‘ठीक गरिस् । उसले भने दुई सन्तान जन्माइसक्यो, तँ भने उसैको जप गरेर बस्नुपर्ने थियो र ?
तैँले एक जिन्दगी त्यसै खेर फाल्नु ।’
साथीहरूले बधाइको शब्दमा बोले, यस्तै वाक्य ।
एक साता नबित्दै उनी छोरो भेट्न गइन् । सबैतिर उसको खोजी भयो । कहीँ भेटिएन ऊ ।
सारा खेलौना फुटिसकेका रहेछन् ।
यत्रतत्र छरिएका फुटेका खेलौनाहरू ।
ऊ भने कतै भेटिएन ।
खोजी भयो जहीँतहीँ ।
वार्डेनले भन्छिन् ‘कोहीसँग बोल्दैन, झोक्राएर बस्छ, खान मन गर्दैन, एक्लै बसिरहन्छ र बोल्छ कहिले आफैसँग ।’
धेरैबेरपछि ऊ बाहिरियो ट्वाइलेटको ढोका खोलेर ।
मामुलाई अघिल्तिर देखेर झस्कियो नराम्ररी ।
दौड्दै भन्यो - ‘मलाई थाहा छ, मलाई सबै थाहा छ ।’
पुनः पस्यो त्यही अनि ढोका थुन्यो ड्याम्म ।

Popularity: 41%

Entry Filed under: कथा

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. nirajan  |  February 23rd, 2008 at 10:34 am

    i appriceate it

  • 2. j gurung  |  February 24th, 2008 at 3:46 pm

    What a heart touching article!!!!!!!!!!!!! wonderful.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in February, 2008

Most Popular Posts