हामी धृतराष्ट्र, हाम्रो देश धृतराष्ट्र… (कविता) - विनोद रोका
January 10th, 2009
हामी धृतराष्ट्र, हाम्रो देश धृतराष्ट्र …
-विनोद रोका
हामीलाई,
मान्छे र परिवेश चिन्न संजयका आंखा चाहिन्छन्
त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ।
कथंकदाचित चिनि हाल्यौ भने पनि
इर्ष्या वा डाहाले कसैलाई भन्दैनौ।
हाम्रै संस्कारबाट बनेको हाम्रो देश
धृतराष्ट भन्दा फरक छैन….
त्यसैले देशमा राजतन्त्र, प्रजानत्त्र एवं गणतन्त्र जे आएपनि
सत्तासिनहरुले आफनो उत्तराधिकारीमा
दुर्योधन नै खोज्दछन्।
पाण्डव देख्दैनन्।
हो हामी धृतराष्ट। हाम्रो देश धृतराष्ट।
विदृरको विवेक र ज्ञानको उपहास हुन्छ,
किन कि हाम्रा स्वार्थसंग उसको
विचार मिल्दैन, अनि
विदुर निरीह हुन्छ।
त्यसैले,
हाम्रो सत्ता प्राप्तिका आधार
सदा तरवार, वन्दुक र भय बने।
स्वतन्त्र जनमतको आधार वन्न सकेनन्।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामी बुद्धमा केवल शिद्धार्थ देख्छौ
उ हाम्रा लागि
राजकुमार सिवाय केही बनेनन्
हामीले उसलाई
एउटा वोधिवृक्ष दिई बृद्धत्व प्राप्त गर्ने
अवसर दिएनौ,
त्यसैले उ बुद्धत्व प्राप्त गर्न
पलायन हुनुपर्छ।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामी भृकृटी र अरनिमा सुम्नीमा र
बाबुचा मात्र देख्छौ
ज्ञानको ज्योति र कौशलता देख्दैनौ।
त्यसैले,
भृकृटीले ज्ञानको उज्यालो र
अरनिकोले आफ्नो कौशल देखाउन
परदेशीको सहारा र आंखा खोज्नु पर्छ।
हो हामी धृतराष्ट्र। हाम्रो देश धृतराष्ट्र।
हामीलाई मान्छे र पशिवेश चिन्न
संजयका आंखा चाहिन्छ
देश चलाउन विदुरको ज्ञान र विवेक होईन
सकुनीको कुटील चाल र दुर्योधनको अहंकार चाहिन्छ।
त्यसैले हामी खोट मात्र देख्छौ अरुमा
गुणजति आफू र आफ्नामा मात्रै पाईन्छ।
न्युयोर्क, अमेरिका
Popularity: 38%
Share this Post[?]Entry Filed under: कविता







आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed