डायास्पोराको सिकारी र सिकार (कविता)- देश सुब्बा
October 5th, 2010
रेखा कविता-३- अमूर्त रेखा
डायास्पोराको सिकारी र सिकार
- देश सुब्बा
म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
मैले सिकार गरेको पनि एक दर्जन वर्ष नाघेछ
मैले यहाँको तातो बालुवा, ढुङ्गामा सिकार गरेको छु
मैले रातमा ब्यूझेर सडक र गल्लीहरूमा सिकार गरेको छु
समुद्रको लु हावामा सिकार गरेको छु
मैले जिजिविषाको प्रत्येक भीर, पहरा र कन्दरामा सिकार गरेको छु
यो मुलुक अनौठो छ, दिन सुत्छ र रात उठ्छ
रात उठ्ने प्रत्येक पलहरूको सिकार गरेको हुँ
दिन सुत्ने प्रत्येक समयको सिकारी हुँ
यो कस्तो सिकार हो कुन्नि
यस सिकारमा मेरो खुट्टा भाँच्चिएको छ
दुर्घटनाले शरीर क्षतविक्षत भएको छ
बुद्धि रित्तिएर खोक्रो भएको छ
नोस्ताल्जिया फाटेर सिसा-टुक्रा भएको छ
राष्ट्रियताको अस्थिपिंजर ढुकढुकीमा अल्झेको छ
यस सिकारमा सपना ‘बर्मूढा’ र
म ‘टाइटानिक’ भएको छु
मैले स्वदेशमा पनि जीवनको सिकार गरेको थिएँ
खोलेपाँडो खाएर रमाउँदै
उब्जनि नहुने पाखाबारीमा सिकार गर्थे
त्यहाँ मलाई आनन्द थियो
मेरा फाटेका दुःखहरू हुन्थे,
मेरा जोडिएका सुखाहरू हुन्थे
गाउँलाई गोलबन्ध गर्ने धर्म र सँस्कार हुन्थ्यो
र मेरो स्वतन्त्रताको परेवा उड्थ्यो
तर यहाँ एक लाश मान्छेको जंगलमा
सिकार गर्दागर्दै उल्टै
मेरा दिन र रात सिकार भएका छन्
मेरा खुशी र पर्वको सिकार भएको छ
मेरा न्याय, अधिकार
स्वाभिमान सबैको सिकार भएको छ
हुँदाहुँदा म आफै यस अनौठो डायास्पोरिक मुलुकमा
काल र देशको सिकार भएको छु
म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
तर म अहिले डायास्पोराको सिकार भएको छु
अनुरोधः आदरणीय पाठक, समालोचक, कविज्यूहरू यस अदृश्य रेखामा कति रेखाहरू छन्, कृपया प्रतिक्रिया दिनुहोला।
Recent Videos:
Popularity: 21%
Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed