नाच्ने पर्व तीज (कविता) - उषा गिरी
August 25th, 2011
- उषा गिरी
बर्षा ऋतुको बिदाइ र
शरद ऋतुको आगमनसंगै
थकाईको अनुभूतिलाई बिर्सेंर
मदमत्त भएर उर्लने सागर झै
बैसालु रहर साट्न
मादलुको घिन्ताङ्गे तालमा रमाउन
मीठामीठा लोक गीत गाउदै
खुला पहाड र कर्मशील बस्तीहरुमा
छमछमी आएकी छौ तीज।
आँखामा असीम करुणा र प्रेम पालेर
हामी उमङ्गका पारखीहरुको माझ
बिखण्डित नभै
मन्द मुस्कान छर्दै
सुन्दर हत्केलाहरु फैलाएर
हावाको मिठो स्पर्श सङ्गै
रौनक र चमक लिएर
आएकी छौ तीज।
मुस्कान पोतिएको ओठ
लालीले रङ्गिएका गाला
गाजलुले पोतिएका
गहिरा नयन
रातो चुरा र रातै गहुनमा
आभुषणहरुबाट बिभुषितभै
निरासाका पुराना स्मृतिहरुलाई
पन्छाउदै उल्लासमय भएर
अगरबतीको सुगन्ध भएर
आएकी छौ तीज।
ओइलिदै पलाउदै र पहेलिदै
बिभिन्न प्रलाप सहदै
तमाम दिदी बहिनीको माझ
शरीरको सारा बैस फुलाउँदै
आएकी छौ तीज।
अदम्य उत्साह बोकेर
यो बिछट्टै रङ्गीन र उर्बर समयमा
थुम्का र बस्तीका फेदीहरुमा
भावनामा छताछुल्ल पोखिदै
चकित र उल्लासित भएर
आँखा नझिम्क्याइ नौलो क्षण लिएर
असिनपसिन गर्दै मिर्मिरे बिहानी
आएकी छौ तीज।
जिन्दगी र समयको दोसाँधमा
थकाईको साईनो गास्तै
जीबनका पलहरुमा
खुशीका बेगमय पारामा
निरुत्तर कुइनेटोको ढुङ्गेनी ओरालिमा
मन भरि यौबन फक्राउदै
आएकी छौ तीज।
तिम्रो यो आगमनलाई
यो नाच्ने गाउँने महोत्सबको शुभकामना।
ब्रसेल्स, बेल्जियम
Recent Videos:
Popularity: 15%
Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed